विकासन्युज

यस्तो बन्यो चन्द्र ढकाल नेतृत्वको टीम

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनको प्रक्रिया सम्पन्न भएको छ । चैत २८ गते सुरु भएको महासंघको निर्वाचनको प्रक्रिया आज सम्पन्न भएको हो । महासंघका हालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल स्वतः अध्यक्ष बनेका छन् भने वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्षका लागि तीन जनाबीच प्रतिस्पर्धा हुँदा रामचन्द्र संघई पहिलो चरणबाट बाहिरिएका थिए भने दास्रो चरणमा उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठ प्रवेश गरेका थिए । अन्ततः उमेशलाले अञ्जनलाई समर्थन गरेपछि अञ्जन महासंघको वरिष्ठ उपाध्यक्ष बनेका हुन् । यो सँगै चन्द्र ढकाल नेतृत्वको टीम तयार भएको हो । जिल्ला नगरको उपाध्यक्षमा बैद्य चन्द्र ढकाल नेतृत्वको जिल्ला नगर उपाध्यक्ष सुरुकृष्ण बैद्य बनेका छन् । वरिष्ठ उपाध्यक्षका उम्मेदवार संघईका समूहबाट प्रतिस्पर्धामा उत्रिएका उनले ४३ मत प्राप्त गर्दै दिनेश श्रेष्ठ र अरुणराजलाई पराजित गरेका हुन् । दिनेश श्रेष्ठले ३४ र सुमार्गीले ३७ मत पाएका हुन् । बैद्य नेतृत्वको जिल्ला नगर सदस्यहरुमा १८ जना उम्मेदवार विजयी भएका छन् । १८ सदस्यका लागि ३२ जनाको उम्मेदवारी परेकोमा निर्वाचनमार्फत् १८ जना विजयी भएका हुन् । एसोसिएट नेतृत्वको जिम्मा ज्योत्सनालाई एसोसिएटतर्फको उपाध्यक्ष पनि संघईको टीमबाट विजयी भएका छन् । उमशेलाल र अञ्जनका साझा उम्मेदवार भरतराज आचार्यलाई पराजित गर्दै ज्योत्सनाले जिल्ला नगरको नेतृत्व गर्ने अवसर पाएकी हुन् । श्रेष्ठले ८४६ मत पाएकी छन् भने आचार्यले ७९१ मत पाएका छन् । यस्तै, एसोशिएटतर्फ १९ जना सदस्य हुने व्यवस्था अनुसार १९ जना सदस्यहरु निर्वाचित भएका छन् । वस्तुगतमा ढकाल महासंघको वस्तुगत तर्फको उपाध्यक्षमा हेमराज ढकाल विजयी भएका छन् । उनले आफ्ना प्रतिस्पर्धी मनिषलाल प्रधान र सुकुन्तलाल हिराचनलाई हराउँदै विजयी भएका हुन् । उनले ६१ मत पाएर विजयी भए भने उनका प्रतिस्पर्धी प्रधानले ५२ र हिराचनले ७ मत पाएका छन् । यस्तै, उनी उपाध्यक्ष रहेको वस्तुगत सदस्यहरुमा १४ जना निर्वाचित भएका छन् । यी हुन् विजयी उम्मेदवार [pdf id=402600] को हुन् अध्यक्ष ढकाल ? नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकाल पहिलो पुस्ताका सफल उद्यमी–व्यवसायीका रुपमा परिचित छन् । महासंघको दुई कार्यकाल कार्यकारिणी समिति सदस्य रहेका ढकालले लगानी समिति, रोजगारदाता परिषद्को सभापति, एसोसिएट उपाध्यक्ष हुँदै वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन् । महासंघको ५७ औं साधारण सभाबाट आज अध्यक्षमा निर्वाचित ढकाल, आइएमई ग्रुपका संस्थापक अध्यक्ष हुन् । उनको व्यावसायिक यात्रा करिब चार दशक लामो छ । विसं २०२२ सालमा बागलुङको अमलाचौरमा जन्मेका ढकालले विसं २०४५ बाट आफ्नो व्यवसाय सुरु गरेका हुन् । त्यसपछि विसं २०४८ मा कार्गो कम्पनी हुँदै २०५७ मा नेपालको पहिलो रेमिट कम्पनी आइएमई रेमिट स्थापना गरेर अध्यक्ष ढकालले व्यावसायिक फड्को मारेका हुन् । हाल आइएमई ग्रुपसँग सम्बद्ध दुई दर्जन भन्दा बढी व्यवसाय तथा उद्योग प्रतिष्ठानहरु नेपालसहित विश्व बजारमा स्थापित छन् । ढकाल नेतृत्वको आइएमई ग्रुपले २० हजार जना भन्दा बढी प्रत्यक्ष र ४० हजार जना भन्दा बढीको संख्यामा अप्रत्यक्ष रोजगारी दिन सफल भएको छ । ढकालको नेतृत्वमा आइएमई ग्रुपले आफ्नो लगानी तथा उद्यमशीलतालाई सेवा क्षेत्र, पूर्वाधार विकास र उत्पादनमुलक क्षेत्रमा केन्द्रित गरी दुई दर्जनभन्दा बढी कम्पनी स्थापना तथा सञ्चालन गरी व्यवसाय विस्तार गरिरहेको छ । यसअन्र्तगत रेमिट, बैंकिङ, व्यापार, सूचना प्रविधि, सञ्चार, ऊर्जा, पर्यटन, होटल तथा रिसोर्ट, अटोमोबाइल, बिमा, खेलकुद तथा मनोरञ्जनको क्षेत्रका कम्पनीहरु बजारमा प्रतिस्पर्धी र गतिशील छन् । ग्लोबल आइएमई बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, आइएमई लिमिटेड, आइएमई जनरल इन्स्योरेन्स, आइएमई डिजीटल सोलुसन्स्, हिमालय पावर पार्टनर, माउन्टेन इनर्जी, चन्द्रागिरि हिल्स लिमिटेड, आइएमई मोटर्स, डिस मिडिया नेटवर्कलगायतका कम्पनीहरुमा आइएमई ग्रुपका हिस्सेदारी छ । पछिल्लो समय पर्यटन पूर्वाधारमा लगानी विस्तार गर्दै ढकाल सातवटै प्रदेशमा केवलकारसहितका नयाँ पर्यटकीय गन्तब्य निर्माणमा सक्रिय छन् । नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने रेमिट्यान्सलाई वैधानिक माध्यमबाट स्वदेश भित्र्याउने व्यवसाय मार्फत् देशको औपचारिक अर्थतन्त्र विकासमा अध्यक्ष ढकालको उल्लेखनीय योगदान छ । विदेशमा कमाएको रकम वैधानिक माध्यमबाट देश पठाउँदा लाखाँैं श्रमिकहरु अनावश्यक झन्झट र ठगी हुनबाट जोगिएका छन् । औपचारिक माध्यम मार्फत् ठूलो मात्रामा रेमिट्यान्स नेपाल ल्याउने सफल संस्थाको नेतृत्वको रुपमा ढकाल, नेपाल सरकारले पटक पटक ‘महत्वपूर्ण व्यावसायिक व्यक्ति सम्मान–सिआइपी’ बाट सम्मानित भएका छन् । यस्तै रेमिट्यान्स व्यवसायहरू मध्येबाट सबैभन्दा बढी कर तिरेको आधारमा लगातार चार पटकसम्म ‘ठूला करदाता सम्मान’ बाट आइएमई पुरस्कृत भएको छ । सेवा तथा उत्पादनमूलक उद्योगहरुमा थप लगानी प्रवद्र्धन र सर्वसाधारण समेतलाई नाफाको हिस्सेदार बनाउने उद्देश्य राख्दै आइएमई ग्रुपका कम्पनीहरु पब्लिक लिमिटेडमा लैजाने प्रतिबद्धतालाई ढकालले प्राथमिकताका साथ कार्यान्वयन गरिरहेका छन् । यसरी आइएमई ग्रुप, स्थापनाकालदेखि नै गुणस्तरीय सेवा प्रवाहमा उत्कृष्ट र विस्तारित सेवाहरूको माध्यमबाट राष्ट्रिय अर्थतन्त्रको विकास तथा आफ्ना ग्राहकहरूको आर्थिक–सामाजिक रुपान्तरणमा समर्पित देखिन्छ । २०७२ को भूकम्प र कोभिड–१९ को महामारी तथा अन्य विपद्का समयमा समेत उद्धार, तत्काल राहत वितरणमा आइएमई ग्रुपलाई नै परिचालन गर्न समेत अध्यक्ष ढकालले अग्रसरता लिँदै आएका छन् । कोभिड–१९ मा आइएमई ग्रुपले भरोसा कोष स्थापना गर्दै करोडौं रुपैयाँ बराबरको सहयोग गरेको थियो । ग्रुपले वैदेशिक रोजगारीमा रहँदा कोभिड १९ बाट मृत्यु भएका श्रमिकका परिवारलाई नगद सहयोग समेत गरेको थियो । नेपालका लागि गणतन्त्र इन्डोनेसियाको अवैतनिक वाणिज्यदूतको रुपमा रहेका ढकाललाई २०७२ को महाभूकम्पका समयमा उद्धार र राहतमा गरेको योगदानको प्रशंसा गर्दै गणतन्त्र इन्डोनेसियाको परराष्ट्र मन्त्रालयले समेत सम्मान गरेको थियो । अध्यक्ष ढकाल, नेपाल सरकारबाट प्रदान गरिने प्रतिष्ठित सुकीर्तिमय राष्ट्रदीप, गोरखा दक्षिण बाहु चौथो र प्रबल जनसेवाश्री चौथो लगायतका मानपदवीबाट सम्मानित व्यक्तित्व हुन् । पाँच प्रतिवद्धता महासंघको नव–निर्वाचित अध्यक्षको रुपमा ढकालले अबको कार्यकालमा पाँच वटा विषयहरु पहिलो– वर्तमान आर्थिक संकट समाधानको रणनीति तयार गर्ने प्रतिवद्धता गरेका छन् । उनले लगानीको वातावरण बनाउने, राज्य र निजी क्षेत्रबीचको साझेदारी सुदृढ गर्ने पनि प्रतिवद्धता गरेका छन् । यस्तै, उनले दक्ष जनशक्ति उत्पादन र रोजगारी सृजना गर्ने र व्यवसायीहरुको मनोबल उच्च बनाउन राज्यको मर्यादाक्रममा निजी क्षेत्रको स्थान निर्धारण गर्ने कामलाई प्राथमिकतामा राखेका छन् ।

फिल्ली क्याफेकाे पहिलो शाखा लाजिम्पाटमा, पाँच वर्षभित्र २५ ठाउँमा खोल्ने लक्ष्य

काठमाडौं । विश्व प्रसिद्ध ‘फिल्ली क्याफे’ को शाखा नेपालमा पनि खुलेको छ । ‘फिल्ली क्याफे’ को पहिलो शाखा काठमाडौंको लाजिम्पाटमा खुलेकाे हो । फिल्ली क्याफे नेपालले एनडी थर्टी नाइन बिजनेस ग्रुपसँगकाे सहकार्यमा ध्रुव रिजाल र नविन खड्काले सो क्याफे सञ्चालनमा ल्याएका हुन् । गत बिहीबारबाट काठमाडौंको लाजिम्पाटमा सञ्चालनमा आएको फिल्ली क्याफेको उद्घाटन महानायक राजेश हमाल लगायतले गरेका थिए । आगामी पाँच वर्ष भित्र नेपालमा २५ वटा नयाँ आउटलेट खोल्ने तयारी रहेको पनि सञ्चालक नविन खड्काले बताए । फिल्ली क्याफे युएई, ओमान, कतार, संयुक्त राज्य अमेरिका, युके, भारत र मौरिससमा विश्वभर एक प्रसिद्ध र प्रिय ब्रान्डको रूपमा स्थापित छ । अब, यो समृद्ध सांस्कृतिक सम्पदा र बढ्दो चिया संस्कृति भएको देश नेपालमा पनि विस्तार भएको सञ्चालकले जनाएका छन् । फिल्ली क्याफेमा चिया अर्गानिक रूपमा उत्पादन गरिन्छ र परम्परागत तरिकामा ताजापनका साथ बनाइने बताइएको छ । जसले चियाका पारखीहरूको लागि ‘फिल्ली क्याफे’ उपयुक्त हुनेछ । ‘हामी फिल्ली क्याफेको पहिलो शाखा नेपालमा खोल्न पाउँदा हर्षित छौं, हाम्रा क्याफेहरू जीवन्त ठाउँहरूका लागि डिजाइन गरिएका छन्, जहाँ मानिसहरू एकसाथ भेला हुन सक्छन् र उनीहरूको व्यस्त दिनहरूको बिचमा आरामले चिया गफ गर्न सक्छन्,’ कार्यक्रममा बोल्दै ध्रुव रिजालले भने । फिल्ली यसको सिग्नेचर ‘जाफ्रान टी’ को लागि परिचित छ । जुन केसरको साथमा चियाको अद्वितीय मिश्रण हो । फिल्ली विश्वभरका चिया प्रेमीहरूको लागि एक प्रतिष्ठित नाम हो ।

ग्लोबल आइएमई बैंकको बचत खातामा मुद्दतीको प्रतिफल पाइने

काठमाडौं । ग्लोबल आइएमई बैंकको एउटै खातामा बचत र मुद्दती दुबैको प्रतिफल पाइने भएको छ । बैंकले सञ्चालनमा ल्याएको सोचे जस्तै बैंक खाता अन्तर्गत ग्राहकले उक्त प्रतिफल पाउने भएका हुन् । बैंकले नयाँ वर्षको अवसरमा आफ्ना ग्राहकलाई उक्त खाता सञ्चालनमा ल्याएको हो । बैंकले ल्याएको नयाँ खातामा ग्राहकहरुको इच्छा बमोजिम तोकिएको न्यूनतम् रकम बचत खातामा रही सो भन्दा माथिको रकम लाखको गुणनमा मुद्दतिमा स्वतः परिणत हुन सक्नेछ । यसका साथै, सोचे जस्तै बैंक खाता खोल्ने ग्राहकहरुले तीन वर्षसम्मको लागि मोबाइल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा तथा भिजा डेबिट कार्डको सुविधा निशुल्करुपमा प्राप्त गर्नेछन् । साथै, लकर सुविधा लिदा पहिलो एक वर्षको लागि ५० प्रतिशत छुट पनि समावेश गरिएको छ । ग्राहकहरुमा नियमित बचत गर्ने बानिको विकास गर्ने अभिप्रायले बैंकले आफ्ना ग्राहकहरुलाई लक्षित गरी समयसमयमा यस्ता योजनाहरु ल्याउने गरेको छ । ग्लोबल आइएमई बैंक ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । मुलुकको लगभग सबै वित्तीय सूचकाङ्कहरुमा पहिलो बैंकले ३६४ शाखा कार्यालय, ३६३ एटिएम, ३२१ शाखा रहित बैंकिङ्ग सेवा, ६४ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट ४० लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।

अर्थमन्त्री डा. महतले एडिबीको बैठकमा भाग लिन पाउने, सरकारले दियो स्वीकृति

काठमाडौं । सरकारले आगामी वैशाख १९ देखि २२ गतेसम्म कोरियामा आयोजना हुने एसियाली विकास बैंकको ५६औँ बैठकमा भाग लिन अर्थमन्त्री नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय गरेको छ । यही चैत २८ गते बसेको मन्त्रिपरिषद् बैठकले आगामी जेठ ९ देखि १२ गतेसम्म मङ्गोलियामा आयोजना हुने एसियाली उत्पादकत्व सङ्गठनको बैठकमा भाग लिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव (उद्योग)लाई स्वीकृति दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिए । बैठकले आगामी वैशाख १३ देखि १५ गतेसम्म भारतको नयाँ दिल्लीमा हुने कार्यक्रममा कर्णाली प्रदेशका प्रमुख सचिव डा गोपीकृष्ण खनाललाई सहभागी हुन स्वीकृति दिएको छ । यसैगरी बैठकले उद्योग वाणिज्य प्रवद्र्धन संवाद परिषद् (गठन) आदेश, २०७५ को अनुसूची संशोधन गर्ने, व्यापार घाटा न्यूनीकरणसम्बन्धी राष्ट्रिय कार्ययोजना, २०७९ स्वीकृत गर्ने, कुखुराको दानाको गुणस्तर वा मात्रा निर्धारण गर्ने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्न स्वीकृति दिने निर्णय गरेको छ । बैठकले खाद्य पदार्थमा जीवनाशक विषादीको अवशेषको अधिकतम सीमा निर्धारण गर्ने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्न स्वीकृति दिने, प्रशोधित फोहोर पानी उत्सर्जनसम्बन्धी मापदण्ड, २०७९ स्वीकृत गरेको छ । सरकारले सुपर काबेली खोला क्यास्केड जलविद्युत् आयोजना निर्माणका लागि राष्ट्रिय वन क्षेत्रको दुई दशमवल २८ हेक्टर, जुम खोला जलविद्युत् आयोजनाका लागि गौरिशङ्कर संरक्षण क्षेत्रको राष्ट्रिय वनको १५ दशमवल १७२ हेक्टर र सुपर काबेली ए जलविद्युत् आयोजनाका लागि राष्ट्रिय वन क्षेत्रको दुई दशमवल २८ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिएको छ । जुगल हिमशृङ्खलाअन्तर्गतका हिमचुलीहरु पर्वतारोहणका लागि खुला गर्ने, सन् २०२३ को वसन्त ऋतुमा सगरमाथाको चुचुरोमा नेपालको राष्ट्रिय झण्डा, नेपाल प्रहरी र अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) को झण्डा फहराउने कार्यका लागि प्रहरी वरिष्ठ नायब निरीक्षक पुरुषोत्तम नेपालीलाई सगरमाथा आरोहणका लागि लाग्ने सलामी दस्तुत छुट दिने निर्णय गरेको मन्त्री शर्माले जानकारी दिए । बैठकले लोक सेवा आयोगको सिफारिस बमोजिम विभिन्न सेवा समूह र उपसमूहको दुई राजपत्राङ्कित प्रथम श्रेणी प्राविधिक सहसचिव पदमा नियुक्ति गरी पदस्थापन गर्ने निर्णय गरेको छ । रासस

‘करोडौंको चलखेल गरेर फोहोरी खेल खेल्न चाहिनँ, महासंघको विधान पुनर्लेखन गर्नु पर्छ’

लड्दै, भिड्दै, घुम्दै, फिर्दै, कहिलेकाहीँ बाटोमा अञ्जन भाइसँग भेट्दै मुडभेड पनि गर्दै हामी यो क्षणमा आइपुगेका छौं । करिब शून्य दशमलब ५ को कारणले म दोस्रो भएँ । वस्तुगतका साथीहरुले गर्दा म दोस्रो स्थानमा झरें । चुनाव दोस्रो चरणमा जाने भएपनि केही पूर्व अध्यक्षहरुले के गर्ने ? कसो गर्ने ? गोला पर्था गर्ने, यो गर्ने उ गर्ने भन्ने लगायत अनेक कुराहरु गर्नु भयो । तपाईंहरुलाई थाहा होला, यसअघिको कार्यक्रममा मैले जोडदार भाषण गरेको थिएँ । त्यस्तो भाषण कहिल्यै पनि गरेको थिइनँ । मैले त्यो बेला इंकित गरेर गलत कुरा पनि गरेको थिइनँ । तर, तपाईंहरुको थपडीको ध्वनी मेरो कानमा गुञ्ज्यो । र, मलाई पनि भिडौं जस्तो लाग्यो । त्यहाँ ६०/७० जना अध्यक्षहरु हुनुहुन्थ्यो । रामचन्द्रजी भाषण पढ्दै हुनहुन्थ्यो । म भोट बढ्छ कि भन्ने हिसाबले सबैसँग हात मिलाउँदै थिएँ । आधा घण्टा जति बसेँ । बाहिर निस्केपछि सेलिब्रेटी जस्तो भइयो । धेरैले अंकमाल गरेर दाजू आजको भाषणले १० भोट बढ्यो भने । मैले सोचेँ ५० त छँदै थियो । अब ६० पुग्यो । म महामुर्ख रहेछु । मेरो भोट आयो २८ । यसको कारण के हो ? ४ घण्टासम्म जिल्लाका साथीहरु भोट दिन पनि आउनु भएन । जब भोट गर्न आउनु भयो, सँगै आउनु भयो । मैले केही शंका गरें । २८ जना अध्यक्षज्यूहरुले मलाई भोट दिनु भएको रहेछ, उहाँहरुलाई हार्दिक बधाई । धन्यवाद । करिब ६३६ जना एसोशिएटका साथीहरुले मत दिनु भएको रहेछ उहाँहरु सबैलाई धन्यवाद । अञ्जन जवान छ, काम पनि गर्न सक्छ । तर, मेरो केही सर्तहरु पनि छन् । मेरो एउटा मात्रै सर्त भनेको महासंघको चुनावी प्रक्रिया फोहरी भयो । म यसलाई थप फोहरी गर्न चाहन्नँ । करोडौंको चलखेल नहोस् भनेर म ब्याक भएको हुँ । नत्र ४÷५ करोडा फालेको भए त हुन्थ्यो । यसमा मलाई सरम पनि छैन लाज पनि छैन । यो क्षेत्रमा खराबी छ । हामीले विधान संशोधन होइन, विधान पुर्नर्लेखन गर्नु पर्छ । यो मेरो महासंघ हो । म नमरुञ्जेल महासंघ छोड्दैन । मलाई पद चाहिएको होइन । दियो भने सहर्ष स्वीकार नदियो भने चाहिँदैन । चुनावको बीचमा सायद यस्तो कमै देखिन्छ । मान्छेहरुले मलाई त्यागी भन्लान, यो सम्झेर कतिपयले जोगी पो हुन लाग्यो कि भन्लान् । यो कठिन अवस्थामा म तपाईं सबैको साथमा हुनेछु । महासंघलाई मेरो आवश्यकता भयो भने म आउनेछु । सम्झनेछु । तपाईंहरुलाई साथ दिनेछु । अहिलेको सम्झौताले महासंघमा नयाँ ढोका खोल्नेछ । नयाँ सहमतिको बाटो खुल्नेछ । मैले ६ वटा चुनाव लडिसकेको छु । सदस्यमा ल्डदा रमाइलो नै हुन्छ । त्यहाँ धेरै खेला पनि हुँदैन । तर जति माथि आइन्छ त्यति धेरै खेला हुने गरेको छ । हामीले के गर्न लागेको हो ? हामीले यस्तो आचरण लिएर राजनीतिज्ञहरुलाई गालि गर्ने अधिकार छ ? छैन । हामी राजनीतिज्ञभन्दा पनि एक चरण तल खसेका छौं । त्यो कुरा हामीले स्वीकार गर्नु पर्छ । नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष हो तपाईंहरु । वस्तुगत संघको अध्यक्ष हो । जिल्ला नगरको अध्यक्ष हो । तपाईंहरुमाथि कम्प्लेन आउँछ, फोन किन उठाउनु हुँदैन ? बाँकी सबै कुरा भइसकेपछि मैले फोन उठाउनु पर्छ ? छातिमा हात राखरे भन्नुस् महासंघको विधान परिवर्तन गर्नुपर्छ । पुनर्लेखन गर्नु पर्छ । त्यो नभएसम्म स्वच्छताको परिचय दिन सकिँदैन । हुन त म जितेको जसरी भाषण दिइरहेको छु । मैले अहिले रुनु पर्ने हो । तर, मलाई रुन आउँदैन । केहीछिन अगाडि अञ्जनसँग गला मिलाउँदा केही भावुक बनेको थिएँ । मलाई नबोलौं कि जस्तो लागेको थियो तर म बोलें । आज मेरै दिन हो जस्तो लाग्छ । अञ्जनले जित्यो धन्यवाद । कुसकुमार जोशीजीले पहिले नै सहमतिका लागि पहल गर्नु भएको थियो । अध्यक्ष, वरिष्ठ उपाध्यक्षज्यू लगायत धेरैले सहयोग गर्नु भएको थियो । उहाँहरुलाई धेरै धन्यवाद दिन चाहन्छु । चन्द्र प्रसाद ढकाललाई एउटा मात्रै आग्रह गर्न चाहन्छु, बैशाख २ गतेदेखि फरक महसुस हुने महासंघ बनाउनुस् । पदाधिकारीको एक मत बनाउनुस् । पदाधिकारी चार ठाउँमा फर्किए भने हामीले के आश गर्ने ? महासंघको पदाधिकारीहरुकै कुरा मिल्दैन भने वस्तुगत, जिल्लानगरहरु कसरी मिलाउनु हुन्छ । महासंघको सदस्यता एउटा महत्वपूर्ण विषय हो । सदस्यता बढाउनु आवश्यकता हो वा होइन यस विषयमा बिचार गर्नु पर्छ । महासंघको सदस्यता भनेको दही चिउरा होइन । तपाईंहरुसँग आएर भोट पनि माग्नु छैन । सबैलाई बधाइ र धन्यवाद दिन चाहन्छु

ठूला पूर्वाधार योजनालाई अगाडि बढाउँदै लगानी बोर्ड, बैठकले गर्यो निर्णय

काठमाडौं । स्वदेशी, विदेशी र ठूलो आकारका आयोजनाहरु नेपाल लगानी बोर्ड मार्फत् अगाडि बढाइने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको लगानी बोर्डको ५३ औं बैठकले यस्तो आयोजना अगाडि बढाउने निर्णय गरेको हो । अर्थमन्त्री डा. प्रकाशशरण महतका अनुसार ऊर्जा क्षेत्रमा जलविद्युत् आयोजनालाई अघि बढाउने निर्णय भएको छ । तल्लो अरुण, माथिल्लो मर्स्याङ्दी, दूधकोशी-२ लगायत जलविद्युत आयोजनालाई अगाडि बढाउने लगानी बोर्डको बैठकले निर्णय गरेको छ । त्यसैगरी सिमेन्टमा लगानी भएका आयोजनामा उत्पादन तहमा पुगेका छन् । त्यससँग जोडिएको विषयमा पनि केही निर्णय भएको मन्त्री डा. महतले बताए । रसायनिक मल उत्पादनको चासो सर्वत्र छ । त्यस विषयमा पनि लगानी बोर्डले केही निर्णय गरेको छ । लगानी बोर्डका उपाध्यक्ष समेत रहेका अर्थमन्त्री डा. महतले भने, ‘मल उत्पादनका लागि वैदेशिक लगानीकर्ताले विस्तृत अध्ययन गर्न अनुमति पर्खिरहनु भएको छ, दुईवटा वैदेशिक लगानीकर्तालाई अनुमति दिने प्रकृया अगाडि बढाउने निर्णय भएको छ ।’ लगानीसँग जोडिएको अन्य धेरै विषयमा बोर्डमा छलफल भएको मन्त्री डा. महतले बताए । उनले भने, ‘यतिबेला लगानी विभिन्न चरणमा छन्, कोही अध्ययनको चरणमा छन्, कोही सम्पन्न हुने चरणमा छन्, कोही कार्यान्वयनको चरणमा पुगेका छन् । यी विभिन्न चरणमा भएका आयोजनाहरुलाई अगाडि बढाउने र त्यो सँगसँगै आगामी दिनमा लगानी बोर्डको प्राविधिक लगायत अन्य क्षमतामा वृद्धि गरेर भविष्यमा थप लगानीको परिवेश निर्माण गर्ने कुरामा छलफल भएको थियो ।’ बोर्ड बैठकमा कार्यविधि, ऐनमा संशोधन गर्नुपर्ने कुरा उठेका थिए, त्यस विषयमा सरकारले आवश्यकताअनुसार निर्णय लिने मन्त्री डा. महतले बताए । उनले भने, ‘आगामी दिनमा लगानी सम्मेलन गर्ने विषय पनि उठेको थियो, त्यसको उपयुक्त मिति छलफल पछि टुंग्याइने छ ।’

राष्ट्रिय गौरवका आयोजनाको काम कछुवा गतिमा, सम्पन्न भएका पनि सञ्चालनमा आउन सकेनन्

काठमाडौं । सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा अगाडि सारेका अधिकांश आयोजनाको काम अति सुस्त गतिमा भएका छन् । महालेखा परीक्षकको कार्यालयले २४ वटा राष्ट्रिय गौरवका आयोजनाको प्रगति सन्तोषजनक नभएको जनाएको छ । आयोगले बिहीबार महालेखापरीक्षकको ६० औं प्रतिवेदनको सारांश सार्वजनिक गर्दै माथिल्लो तामाकोशी बाहेक सम्पन्न भएका आयोजना पनि पूर्ण रुपमा कार्यान्वयनमा नआएको प्रतिवेदनमा उल्लेख गरेको छ । विस्तृत आयोजना प्रतिवेदन तयार नगरी निर्माण कार्य शुरु गर्नु, आयोजना कार्यान्वयन मोडालिटी स्पष्ट नहुनु, जग्गा प्राप्ति र क्षतिपूर्ति विवाद हुनु, युटिलिटी सर्भिस स्थानान्तरणमा अन्तर निकाय समन्वय नहुनु सीमांकन रेखांकन विवाद, वातावरणीइ प्रभाव मूल्यांकन प्रतिवेदन स्वीकृत, निर्माण क्षमताको अभाव, कमजोर अनुगमन मूल्यांकन लगायत समस्याले गर्दा आयोजना निर्माणको समय र लागत दुवै वृद्धि भएको महालेखापरीक्षकको कार्यालयले औंल्याएको छ । राष्ट्रिय गौरवका आयोजनाको कामको प्रगतिको अवस्था

नयाँ वर्षमा नेपालपे इन्स्टन्टबाट निःशुल्क फण्ड ट्रान्सफर गर्न सकिने

काठमाडौं । नयाँ वर्षमा नेपालपे इन्स्टन्टबाट निःशुल्क फन्ड ट्रान्सफर गर्न सकिने भएको छ । नयाँ वर्ष २०८० को उपलक्ष्यमा ग्राहकहरुले नेपालपे इन्स्टन्ट मार्फत निःशुल्क फन्ड ट्रान्स्फर गर्न सक्ने अफर ल्याएको हाे । उक्त्त फन्ड मार्फत बैशाख १ देखि ३१ गतेसम्म लागू हुने यस अफरमा नेपालपे इन्स्टन्ट मार्फत मोबाइल नम्बरको आधारमा कनेक्ट आइपिएस, मोबाइल बैंकिङ्ग तथा वालेटका प्रयोगकर्ताहरुलाई सजिलै फण्ड ट्रान्स्फर गर्न सकिने कम्पनीले जनाएकाे छ । कम्पनीले नयाँ वर्षमा नगदको सट्टा डिजिटल माध्यमबाट फण्ड ट्रान्स्फर गर्न थप प्रोत्साहन गर्न उक्त व्यवस्थाले थप सहयोग गर्ने अपेक्षा राखेकाे बताए । नेपालपे इन्स्टन्ट मार्फत फण्ड ट्रान्स्फर गर्न प्रयोगकर्ताले कनेक्ट आइपिएसको वेब अथवा मोबाईल एपमा लग इन गरी फण्ड ट्रान्स्फर भित्रने कम्पनीले जनाएकाे छ । नेपालपे इन्स्टन्टमा क्लिक गरी नेटवर्क भित्र कनेक्ट आइपिएस, मोबाइल बैंकिङ्ग वा वालेट मध्यको विकल्प छनोट गरी भुक्तानी प्राप्त गर्ने व्यक्तिको रजिष्टर मोबाइल नम्बर दाखिला गरी सजिलै फण्ड ट्रान्स्फर गर्न सकिनेछ । कनेक्ट आइपिएसका साथै नेपालपे इन्स्टन्टको उक्त सेवा केहि मोबाइल बैंकिङ्ग र वालेटमा पनि रहेकाे कम्पनीले जनाएकाे छ । एनपीएस अन्तर्गत इन्ट्रोपरएबल फण्ड ट्रान्स्फरको लागि लागू गरिएका नेपालपे इन्स्टन्टले विभिन्न उपकरण तथा नेटवर्क बीच अन्तरआबद्धता कायम गर्न सम्भव भएको छ । साथै, सम्पूर्ण कारोबर रिटेल पेमेन्ट स्विच मार्फत प्रोसेस हुने व्यवस्था सहित सञ्चालनमा रहेको छ ।