नयाँ वर्षका अवसरमा पशुपतिनाथमा पूजाआजा
काठमाडौं । नयाँ वर्ष २०८० को अवसरमा आज बिहानैदेखि भगवान् पशुपतिनाथको मन्दिरमा दर्शनार्थीले पूजाआजा गर्दैछन् । नयाँ वर्षका अवसरमा आज बिहान ४ बजेदेखि नै पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ । पशुपतिनाथको दर्शनका लागि आज भक्तजनका लागि विशेष पूजाको व्यवस्था गरिएको छ । पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले नयाँ वर्षमा दर्शन गर्ने भक्तजनको सहभागिता बढ्ने भएकाले विशेष व्यवस्था गरिएको बताए । ‘पशुपतिनाथ मन्दिरका चारै ढोका खुला गरी दर्शनको व्यवस्था मिलाइएको छ’, उनले भने । भक्तजनलाई उत्तर, पश्चिम र दक्षिण मूलढोकाबाट दर्शन गर्न मिल्ने गरी व्यवस्था मिलाइएको खतिवडाले बताए । केही वर्षयता नयाँ वर्षमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको सङ्ख्या उल्लेख्यरुपमा बढ्न थालेपछि कोषले विशेष व्यवस्था गरेको हो । महानगरीय प्रहरी बृत्त गौशालासँग थप जनशक्ति लिएर शान्ति सुरक्षाको प्रबन्ध मिलाइएको उनको भनाइ छ । रासस
नयाँ वर्षमा बन्दीपुर आन्तरिक पाहुनाले भरिभराउ
बन्दीपुर । नयाँ वर्ष २०८० मनाउन तनहुँको पर्यटकीय नगरी बन्दीपुर आन्तरिक पाहुनाले भरिएको छ । गण्डकी प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा विकसित भइरहेको बन्दीपुरमा नयाँ वर्ष मनाउन आन्तरिक पाहुनाको भीड लागेको हो । नयाँ वर्षलाई स्वागत गर्दै रमाउन बिहीबारदेखि नै बन्दीपुरमा पर्यटकको भीड बढेको बन्दीपुर पर्यटन विकास समितिका सचिव वसन्त पौडेलले जानकारी र्दिए । नयाँ वर्षका अवसरमा बन्दीपुरमा सडक खाना महोत्सव आयोजना गरिएकाले पनि यहाँ पर्यटक तानिएका हुन् । ‘हिजो राति सबैले हर्षोल्लासका साथ नयाँ वर्षको स्वागत गरेका छन्, पाहुना भरिभराउ छन्’, पौडेलले भने, ‘दिउँसैदेखि पर्यटकको चहलपहल बढेको थियो । त्यसमध्ये बास बस्ने पर्यटकको सङ्ख्या अधिक थियो ।’ हेरिटेज होटलका सञ्चालक किसान प्रधानले नयाँ वर्षमा बन्दीपुर पर्यटकले भरिएको जानकारी दिए । ‘बन्दीपुरको पर्यटन विस्तारै लयमा फर्किँदैछ, नयाँ वर्षमा आयोजना गरिएको सडक खाना महोत्सवले पर्यटन प्रवद्र्धनमा सहयोग पुगेको छ’, उनले भने । आज नयाँ वर्षको दिन सार्वजनिक बिदा भएकाले थप पर्यटकको आगमन बढ्ने विश्वास गरिएको उनले बताए । ‘बिदामा घुम्ने संस्कृति विकास भएकाले पनि आज थप पर्यटक बन्दीपुर आउने आशामा छौँ’, उनले भने । बन्दीपुरका होटल व्यवसायीले आज होटलमा आउने पहिलो पाहुनालाई एउटा कोठा एक रुपैयाँमा उपलब्ध गराउँनेछन् । ‘सुस्ताएको बन्दीपुरको पर्यटन प्रवद्र्धनका लागि यो प्याकेज ल्याएका हौँ, होटलमै आएर कोठा बुक गर्दा पर्यटकले एक रुपैयाँमा कोठा पाउँछन्’, प्रधानले भने, ‘त्यसका लागि होटलमै खाना, ब्रेकफास्ट गर्नुपर्छ ।’ कोठाको एक रुपैयाँ भए पनि खानालगायत अन्य सुविधाको भने मूल्यसूची अनुसारको पैसा लाग्ने प्रधानले बताए । बन्दीपुरमा क्षेत्रीय होटल सङ्घसँग आबद्ध ६६ वटा होटल छन् । त्यसमध्ये केही होटलले यो प्याकेज ल्याएका छन् । बन्दीपुर हिमालय दरबारका सञ्चालक वैश गुरुङले सङ्घमा आबद्ध सबैमा यो प्याकेज नभए पनि धेरैजसो होटलमा एउटा कोठा एक रुपैयाँमा उपलब्ध गराउने निर्णय भएको बताए । तनहुँ उद्योग वाणिज्य सङ्घ बन्दीपुर बजार एकाइ, बन्दीपुर पर्यटन विकास समिति, क्षेत्रीय होटल सङ्घ, रेबान तनहुँको संयुक्त आयोजनामा नयाँ वर्षको अवसर पारेर बिहीबारदेखि तीन दिन सडक खाना महोत्सव सुरु भएको छ । ‘सडकमा खाऔँ, सडकमै रमाऔँ, आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धन गरौँ’ भन्ने मूल नारासहित सडक खाना महोत्सव आयोजना गरिएको जनाइएको छ । सडक खाना महोत्सवका अवसरमा बजारमा रहेका होटल अगाडि नै बसेर पर्यटकले खान पाउँनेछन् । साथै तीन दिनसम्म नै विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ भने विभिन्न जातजातिका संस्कृति प्रदर्शन गरिनेछ । नयाँ वर्षमा जिल्लाका युवायुवती पोखरा, चितवन जाने गरेकाले आफ्नै जिल्लाभित्र रमाउने वातावरण सिर्जना गर्न महोत्सव आयोजना गरिएको र यसले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए । बन्दीपुरमा विशेषगरी चीन, फ्रान्स, जर्मनबाट विदेशी पर्यटक आउने गरेका छन् । विदेशी पर्यटक यहाँको हावापानी, रहनसहन, रीतिरिवाज र पुरानो घर देखेर आकर्षित हुने गरेको होमस्टे सञ्चालक राजु बानियाँले बताए । सदरमुकाम दमौलीबाट १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । जहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ«े, धवलागिरिलगायतका हिमशृङ्खला देखिने भएकाले यहाँ पुग्ने जो कसैको मन लोभिने गर्दछ । बन्दीपुरमा होटल सङ्घसँग आबद्ध साना–ठूला गरी ७७ होटल सञ्चालनमा छन् । बन्दीपुरमा ग्रिनपार्क, होटल दरबार हिमालय फेवा, गामघर, वोल्डइन, बन्दीपुर माउन्टेन रिसोर्ट, बन्दीपुर प्यालेस, मगर भिजेललगायत होटल सञ्चालन छ । भक्तपुरे शैलीमा निर्माण गरिएको घर, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायतका स्थल यहाँ आउने पर्यटकको आकर्षणको केन्द्रबिन्दु बन्ने गरेको छ । बन्दीपुरको पर्यटन प्रवद्र्धनका लागि गाउँपालिकाले पनि पहल गरिरहेको छ । बन्दीपुर आउने पर्यटकको बसाइ लम्ब्याउन विभिन्न पूर्वाधार निर्माण गरिएको छ । रासस
एक वर्षमा २१.४५ प्रतिशतले बढ्यो बेरुजु, एक खर्ब १९ अर्ब ७७ करोड पुग्यो
काठमाडौं । नेपालमा संघ, प्रदेश र स्थानीय तहको एकमुस्ट बेरुजु १ खर्ब १९ अर्ब ७७ करोड ७० लाख रुपैयाँ पुगेको छ । बिहीबार महालेखा परीक्षकले सार्वजनिक गरेको ६० औं प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७८/७९ मा तीनवटै तहका सरकारको एकमुस्ट बेरुजु रकम १ खर्ब १९ अर्ब ७७ करोड ७० लाख रुपैयाँ पुगेको हो । महालेखापरीक्षक टंकमणि शर्मा दंगालले संघीय सरकारी कार्यालयको बेरुजु ५६ अर्ब ३१ करोड, प्रदेशमा ७ अर्ब २० करोड र स्थानीय तहमा ४२ अर्ब ८८ करोड र समिति तथा अन्य संस्थाको ११ अर्ब ९७ करोड देखिएको बताए । ‘यो वर्ष ६ हजार ५४६ सरकारी निकायको ७१ खर्ब ३८ अर्ब १६ करोड रुपैयाँ बराबरको लेखापरीक्षण गरिएको छ, बेरूजुलाई असुल गर्नुपर्ने, नियमित गर्नुपर्ने र पेस्की गरी तीन वर्गमा वर्गीकरण गरिएको छ, असुल गर्नुपर्ने बेरूजुमा हिनामिना र फ्छ्र्यौट, हानी नोक्सानी र अन्य असुल गर्नुपर्ने बेरूजु उल्लेख गरिएको छ,’ उनले भने । उनले नियमित गर्नुपर्ने बेरूजुमा अनियमित भएको, प्रमाण कागजात नपुगेको, जिम्मेवारी नसारेको र शोधभर्ना नलिएको बताए । उनले अद्यावधिक बेरूजु गत वर्षको भन्दा २१.४५ प्रतिशतले बढेको बताए । उनले ४ हजार ६८ संघीय सरकारी निकायको विनियोजिततर्फ १२ खर्ब ४ अर्ब ८८ करोड, राजस्वतर्फ ९ खर्ब ८६ अर्ब ६७ करोड धरौटीतर्फ ७० अर्ब ८ करोड र अन्य कारोबारतर्फ ९४ अर्ब ७१ करोड गरी २३ खर्ब ५६ अर्ब ३४ करोडको लेखा परीक्षण गरिएको बताए । उनले ७ प्रदेशका १ हजार २१८ निकायको ३ खर्ब १२ अर्ब ७३ करोड लेखा परीक्षणमा गरिएको बताए । महालेखापरीक्षण कार्यालयका अनुसार यो वर्ष सबै स्थानीय तह, प्रदेश,संघीय र विश्व विद्यालय, समिति, संस्थान र संगठित संस्थाहरूको समेत गरी ७१ खर्ब ३८ अर्ब १७ करोडको लेखा परीक्षण गरिएको छ । ‘अघिल्लो आर्थिक वर्षमा १५ अर्ब रुपैयाँ मात्रै बेरुजु फछ्र्र्र्याैट थियाे, अघिल्लो वर्षको बेरुजुबाट यो वर्षको बेरुजुमा १ खर्ब ४ अर्ब रुपैयाँ थपिएको हाे,’ उनले भने । संघीय निकायमा सबैभन्दा धेरै बेरुजु अर्थ मन्त्रालयमा रहेको पाइएको छ । महालेखाको प्रतिवेदन अनुसार आर्थिक वर्ष (आव) २०७८/७९ मा अर्थ मन्त्रालयको बेरुजु ३२ अर्ब ४६ करोड रुपैयाँ रहेको छ । संघीय निकायका सबै कार्यालयको कुल बेरुजु ५६ अर्ब ३१ करोड रुपैयाँ रहेकोमा अर्थ मन्त्रालयको मात्र ५७.६६ प्रतिशत देखिएको हो । यो वर्ष अर्थ मन्त्रालयको १६ खर्ब ३६ अर्ब १६ करोड रुपैयाँ बराबरको लेखा परीक्षण गरिएको थियो । दोस्रो स्थानमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय ८ अर्ब ७९ करोड रुपैयाँ थप भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको २ अर्ब ७० करोड, कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको २ अर्ब ५३ करोड, गृहको १ खर्ब ५७ करोड, भूमि व्यवस्थाको १ अर्ब ३४ करोड, उर्जा, जलस्रोत तथा सिंचाईको १ अर्ब २९ करोड, शहरी विकासको १ अर्ब ९ करोड, खानेपानी मन्त्रालयको ८७ करोड र स्वास्थ्य तथा खानेपानी मन्त्रालयको ८६ करोड बेरुजु थप भएको छ ।
एनसेल भोल्टे सेवा अब आईफोनमा पनि उपलब्ध
काठमाडौं । यो नयाँ वर्षबाट आईफोन प्रयोग गर्ने एनसेलका ग्राहकहरूले अब स्पष्ट सुनिने हाई डेफिनिसन (एचडी) भ्वाइस कल सेवाबाट फाइदा लिन सक्नेछन् । एन्ड्रोइड प्लेटफर्ममा आफ्नो भ्वाइस ओभर लङ टर्म इभोलुसन (भोल्टे) सेवा ‘एनसेल भोल्टे’ सञ्चालन गरे पश्चात एनसेलले अब आईओएस प्लेटफर्ममा पनि यो सेवा ल्याएको छ । दूरसञ्चार सेवाका क्षेत्रमा भोल्टे एक नयाँ प्रविधि हो जसले एचडी र छिटो कनेक्ट हुने भ्वाइस कल सेवा प्रदान गर्दछ । भोल्टेमा फोरजी नेटवर्क प्रयोग गरी गुणस्तरीय भ्वाइस कल गर्न सकिने एनसेलले जनाएकाे छ । एनसेलकाे अनुसार ग्राहकले अब फोरजी नेटवर्कमा रही फोन गर्दा सामान्य कल शुल्कमा नै उच्च गुणस्तरको भ्वाइस कलका साथै डेटा सेवाको एकै साथ फाइदा लिन सक्नेछन् । एनसेल भोल्टे सेवा लिने आईफोन प्रयोगकर्ता ग्राहकहरूले २८ दिनको लागि मान्य रहने १०० मिनेट अन–नेट भोल्टे टक टाइम पाउनेछन् । आईफोन ८ र त्यसपछिका आईफोन सिरिज प्रयोग गरिरहेका एनसेलका ग्राहकहरु भोल्टे सेवा लिन र १०० मिनेट बोनस टक टाइमका लागि योग्य हुनेछन् । एनसेलकाे अनुसार यस्ता ग्राहकले *१७२०१# डायल गरि भोल्टे सेवा लिन र यसमा पाइने बोनस प्राप्त गर्न सक्नेछन् । भोल्टेका साथै एनसेलले आफ्नो नेटवर्कमा आईफोन प्रयोगगर्ने ग्राहकहरुका लागि एउटा अर्को पनि योजना ल्याएको छ । यस अन्तर्गत आफ्नो भौतिक सिमलाई ई–सिममा अपग्रेड गर्ने ग्राहकले ७ दिन मान्य रहने २ जीबी बोनस डेटा पाउनेछन् । बोनस डेटा नेपालमा नै अवस्थित आईफोनको आधिकारिक विक्रेता मार्फत आईफोन खरिद गरेका ग्राहकहरुका लागि लागू हुने एनसेलले जनाएकाे छ । आईफोन प्रयोगकर्ताले १७१२५ डायल गरि आफ्नो सिमलाई ई–सिममा अपग्रेड गर्न सक्नेछन् । यसका लागि ग्राहकले आफ्नो नागरिकता नम्बर, इमेल ठेगाना टाइप गरी १७१२५ मा एसएमएस पठाउनु पर्नेछ । अन्य ग्राहकले भने आफ्नो नजिकैको एनसेलबाट नयाँ ई–सिम नि:शुल्क लिन सक्नेछन् ।
माई खोला हाइड्रोले बैशाख ८ गतेदेखि आईपीओ बिक्री गर्ने, कति कित्ता आवेदन दिने ?
काठमाडौं । माई खोला हाइड्रोपावरले बैशाख ८ गतेदेखि सर्वसाधारण लगानीकर्तालाई आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले जारी पूँजी ३९ करोड २९ लाख ५६ हजार रुपैयाँको ३९ प्रतिशत अर्थात् १५ करोड २९ लाख रुपैयाँ बरारबको आईपीओ निष्काशन गर्ने भएको हो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १५ लाख २९ हजार ४११ कित्ता सेयर निष्काशन गर्नेछ । जसमध्ये ७६ हजार ४७९ कित्ता सामुहिक लगानी कोष, ३० हजार ५८८ कित्ता कर्मचारी र बाँकी १२ लाख ६९ हजार ४११ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगार रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेर बाँडफाँट पनि गरिसकेको छ । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ता सेयरसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले बैशाख १२ गतेसम्म आईपीओ खरिद गर्न सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।। इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी आईआर इस्यूअर रेटिङ्ग डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।
बैंकको ब्याजसम्बन्धी चिन्तालाई सम्बोधन गरेका छु : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ वर्षमा विश्वास, आशा र साहसका साथ राष्ट्रका कमजोरी नभई राष्ट्रका क्षमता उजागर गर्ने बताएका छन् । नयाँ वर्ष–२०८० को अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । ‘सङ्कल्प गरौँ, सिङ्गो राष्ट्रको साझा सङ्घर्ष र सङ्कल्पबाट यो वर्ष केवल क्यालेन्डर परिवर्तन गर्ने छैनौँ, राष्ट्रको आर्थिक र सामाजिक जीवनमा पनि रचनात्मक परिवर्तन ल्याउनेछौँ,’ उनले भने । उनले परम्परागत प्रकृतिको विकासको मोडेल र योजना तर्जुमा प्रक्रियामा क्रमभङ्ग गर्न गइरहेको बताउन एउटा सकारात्मक वातावरण बनिरहेको उल्लेख गरेका छन् । ‘बैंक ब्याजदर कम हुँदै गएको छ, व्यवसायीहरूको बैंक ब्याजसम्बन्धी चिन्तालाई सम्बोधन गर्न सकारात्मक छलफल भइरहेको छ, राजश्व सङ्कलनमा वृद्धि भइरहेको छ तर, हाम्रै पुस्ता र नयाँ पिँढीको गुणस्तरीय भविष्यका लागि हामीले अझै धेरै मेहेनत गर्नुछ,’ सन्देशमा भनिएको छ । उनले सामूहिकताको संस्कृति विकास गर्दै थुप्रै चुनौतीलाई सहमति र सहकार्यबाट परास्त गरेका सफल अनुभव व्यक्त गर्दै नयाँ वर्षलाई पनि सहमति र सहकार्यमार्फत समृद्ध नेपालको आधार निर्माण गर्ने वर्षका रूपमा मनाउन आम जनसमुदायमा विशेष अपिल गरेका छन् । निर्देशनको तहलाई कार्यान्वयनमा लैजान परम्परागत अवरोधबीच पनि यो बीचमा सकारात्मक सुरुआत भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले अर्थतन्त्रमा देखिएका सङ्कट र चुनौती क्रमशः कम हुँदै गएको बताए । ‘मेरा केही ठोस सङ्कल्प छन्, वैदेशिक रोजगार व्यवस्थित हुँदै गएको छ, श्रमिकको अधिकार सुरक्षित गर्न महत्त्वपूर्ण सामाजिक सुरक्षा अभियानमा उनीहरू जोडिएका छन्, नागरिकले प्राप्त गर्ने सेवाहरू झन्झटमुक्त बनाउने अभियान सुरु भएको छ,’ उनले भने । उनले राष्ट्रले आफूलाई दिएको भूमिकामाथि आभार प्रकट गर्दै प्रधानमन्त्रीका रूपमा समस्त नेपाली जनसमुदायसँग नयाँ वर्षका हरेक दिन र हरेक क्षण संविधानको कार्यान्वय, गणतन्त्रको सुदृढीकरण, स्थिरता र समृद्धिका लागि समर्पित हुने प्रतिबद्धता व्यक्त गरे । ‘हरेक नयाँ वर्ष एउटा सुरुआत हो, विगतको समीक्षासहित नयाँ सङ्कल्प गर्ने दिन हो, हामीले आत्मसमीक्षा गर्नैपर्छ तर हामीलाई निराश हुने छुट छैन,’ शुभकामनामा सन्देशमा उल्लेख छ । उनले २०८० लाई राष्ट्रिय उपलब्धिहरूको ऐतिहासिक वर्ष बनाउने प्रणसहित समस्त नेपाली जनसमुदायको शान्ति, प्रगति र सुस्वास्थ्यको कामनासमेत गरेका छन् ।
वर्ष २०७९ : स्टारडम नचलेको वर्ष, सर्वाधिक कमाइ गर्ने ५ चलचित्र
काठमाडौं । वर्ष २०७९ नेपाली चलचित्रका लागि फलदायी रह्यो । कोरोना भाइरसको महामारी र ओभर दी टप अर्थात् ओटिटीको बढ्दो दर्शकका कारण वर्षको सुरुआतमा चलचित्र क्षेत्रले पुरानै लय समात्ला ? भन्ने जिज्ञासा थियो । विस्तारै दर्शक चलचित्र भवनमा बढ्दै गर्दा वर्षको पहिलो दिन नै प्रदर्शन भएको ‘ए मेरो हजुर ४’ ले राम्रो सङ्केत देखायो । पर्ख र हेरको अवस्थामा रहेका चलचित्रकर्मीले प्रदर्शन मिति तय गर्न थाले । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको विवरणअनुसार २०७९ सालमा नेपाली ५२ र विदेशी ८३ गरी १३५ चलचित्र प्रदर्शन भए । यही वर्ष प्रदर्शन भएको चलचित्र ‘कबड्डी ४ ः द फाइनल म्याच’ घरेलु बजारमा सर्वाधिक कमाइ गर्न सफल रह्यो । बोर्डको विवरणअनुसार चलचित्रको २१ करोड ३८ लाख १३ हजार ४६२ रुपैयाँ ग्रस व्यापार भएको छ । यो सङ्ख्यामा घरेलु बजारमा अहिलेसम्म कुनै नेपाली चलचित्रले व्यापार गर्न सकेको छैन । विशेषतः वर्ष २०७९ मा हास्य विधाका चलचित्रमा दर्शकको रुचि भएको पाइयो । मुनाफा आर्जन गर्ने अधिकांश चलचित्र हास्य विधामै रहेर निर्माण भएका छन् । यसका साथै शृङ्खलाबद्ध रूपमा आएका चलचित्र पनि दर्शकको रोजाइमा परेका छन् । यी बाहेक सफल हुने चलचित्रको सङ्ख्या न्यून छ । हास्य विधामा रहेर निर्माण भएका ‘कबड्डी ४ ः द फाइनल म्याच’, ‘झिङ्गेदाउ’, ‘दुई नम्बरी’, ‘के घर के डेरा’, ‘महापुरुष’ र ‘छक्का पञ्जा ४’ सफल भए । शृङ्खलाबद्ध रूपमा यी बाहेक ‘ए मेरो हजुर ४’, ‘प्रेम गीत ३’ सफल रह्यो । सामाजिक विषयवस्तु उठान गरिएको चलचित्र ‘फूलबारी’ ले राम्रो व्यापार गर्यो । उल्लिखित चलचित्रहरूमा हास्य विधा हावी छ । दर्शकले खुसी खोजिरहेको निर्देशक प्रदीप भट्टराईले बताए । ‘सायद अहिले समाजमा हाँसोको अभाव भएको हो कि ? जे अभाव हुन्छ त्यसैको माग बढी हुन्छ, सफल भएका चलचित्र हास्य विधामा छन्, यसले खुसी दिएको छ, चुनौती पनि थपेको छ,’ उनले भने, ‘कुनै समय सानो पर्दामा दिनहुँ जसो हास्यशृङ्खला आउँथे, लोकप्रिय थिए तर अहिले अवस्था फेरिएको छ, त्यसैले जति दर्शकको विश्वास बढ्छ, त्यति नै दायित्व पनि ।’ उनले भने झैँ अहिले हास्य विधामा चलचित्र बनाउने लहर झैँ छ । प्रायः चलचित्रको प्रस्तुतीकरणमा हास्य शैली जोडिन्छ । योसँगै शृङ्खलाबद्ध रूपमा आएका चलचित्रमा दर्शकको विश्वास देखिएको छ । ‘कबड्डी ४ ः द फाइनल म्याच’ सर्वाधिक कमाइ गर्ने चलचित्र बन्दा दोस्रो स्थानमा ‘छक्का पञ्जा ४’ छ भने तेस्रो स्थानमा ‘प्रेम गीत ३’ । ‘शृङ्खलाबद्ध रूपमा आउने चलचित्रमा दर्शक पहिले परिचित भएका हुन्छन्, पात्र र परिवेश बुझ्ने हुँदा ती चलचित्रको प्रचारप्रसार पनि सहज हुन्छ, त्यसैले त्यस्ता चलचित्रमा निर्माता र दर्शकको आकर्षण मिलेको छ,’ वितरक करण श्रेष्ठले भने, ‘जाँदै गरेको वर्षको सूची हेर्न हो भने शृङ्खलाबद्ध रूपमा आएका र विश्वस्त समूहले निर्माण गरेका चलचित्र सफल रहे ।’ चलेका कलाकार र समूह नहुँदा पनि सफल भएको चलचित्र हो ‘झिङ्गेदाउ’ । यसलाई चलचित्रको भाषामा ‘क्लिन हिट’ भनिन्छ । जहाँ चलेका कलाकार वा निर्देशक हँुदैनन् । वर्षांैपछि निर्देशनमा आउनुभएका ज्ञानेन्द्र देउजाले नेपालीपन अझै दर्शकको रोजाइमा रहेको बताए । ‘मैले निर्देशन प्रारम्भ गर्दा नै साँचेको कथा हो । मैले बजारअनुसार आफूलाई प्रस्तुत गर्दै गर्दा यसलाई कागजमै सीमित राखेँ तर, आफैँ निर्माता बन्दा यो कथा पर्दामा ल्याउनुपर्छ भन्ने लागेर निर्देशन गरेँ,’ उनले भने । उनले अहिले चलचित्रको बजेट महँगो भएकाले धेरै निर्माताले घाटा बेहोर्नुपरेको बताए । कलाकारको पारिश्रमिककै कारण निर्माण लागत बढिरहेको उहाँको निष्कर्ष छ । यद्यपि बजारबाट गर्ने व्यापारका आधारमा कलाकारलाई पारिश्रमिक दिनुपर्नेमा उनी सहमत छन् । ‘५० को दशकमा बन्ने चलचित्रमा कलाकारले लिने पारिश्रमिकको तुलनमामा ५÷६ गुना बढी व्यापार हुन्थ्यो तर, अहिले कलाकारको पारिश्रमिककै कारण बढिरहेको बजेटले हामी जस्ता चलचित्र बुझेकाहरू अगाडि आउन कठिन भइरहेको छ,’ उनले भने । निर्माता तथा कलाकार रवीन्द्र सिंह बानियाँ वर्ष २०७९ देखि सन्तुष्ट छन् । ओटिटीका कारण विश्वका चलचित्र सहजै हेर्ने वातावरणमा नेपाली चलचित्रले गरिरहेको व्यापारले निराश बनाउने उनले बताए । ‘हाम्रो बजारको सम्भावना त देखिसकेका छौँ, नेपाली मात्र नभई विदेशी चलचित्रले गर्ने व्यापारले पनि बजार छ भन्ने प्रमाणित गरेको छ,’ निर्माता बानियाँले भने, ‘दर्शकको विश्वास जितिरहेका निर्माता तथा निर्देशकले निराश नबनाउने हो भने हाम्रो सम्भावना राम्रो छ । बजार अझै बढ्नेमा विश्वस्त छु ।’ स्टारडम नचलेको वर्ष वर्ष २०७९ स्टार भनिने कलाकारका लागि सुखद रहेन । अभिनयभन्दा पनि पारिश्रमिकका कारण चर्चामा आइरहने अनमोल केसी, प्रदीप खड्का, धीरज मगर, पूजा शर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित चलचित्रले न त राम्रो व्यवसाय नै गर्न सके न त समीक्षा नै राम्रो पाए । अभिनेता केसी अभिनित दुई चलचित्र प्रदर्शन भयो । ‘ए मेरो हजुर ४’ ले बक्स अफिसमा राम्रो व्यापार गरेता पनि उनको अभिनयले तारिफ पाउन सकेन । चलचित्रलाई समीक्षकले राम्रो भनेनन् । त्यसपछि प्रदर्शन भएको चलचित्र ‘२.० छड्के’ ले अभिनेता केसीको पारिश्रमिक बराबरको ग्रस व्यापारसमेत गरेन । बोर्डको सार्वजनिक विवरणअनुसार ‘ए मेरो हजुर ४’ को ३ करोड ३८ लाख ७७ लाख ४२४ रुपैयाँ र ‘२.० छड्के’ ले २७ लाख ६६ हजार ६३३ रुपैयाँको ग्रस व्यापार गरेको छ । यस्तै, अभिनेता खड्का अभिनित ‘प्रेम गीत ३’ बक्सअफिसमा सफल भयो । नेपालीसँगै हिन्दी भाषामा प्रदर्शन भएको चलचित्रले १० करोडको व्यापार गरेको छ । यद्यपि शृङ्खलाकै कमजोर चलचित्रका रूपमा समीक्षा भयो । उनी अभिनित अर्को चलचित्र ‘प्रकाश’ ले दर्शक पाउन सकेन । चलचित्रले १ करोड ५७ लाख ८ हजार ६८८ रुपैयाँको व्यापार गरेको छ । यस्तै, अभिनेत्री शर्मा अभिनित दुई चलचित्र ‘सम्झना बिर्सना’ र ‘सम्हालिन्छ कहिले मन’ सफल हुन सकेनन् । बोर्डको विवरणअनुसार ‘सम्झना बिर्सना’को २१ लाख ३४ हजार २८० रुपैयाँ र ‘सम्हालिन्छ कहिले मन’को ७५ लाख २४ हजार ४७५ रुपैयाँको व्यापार भएको छ । यस्तै, अभिनेत्री शाह अभिनित चलचित्र ‘तिम्रो मेरो साथ’को १० लाख १२ हजार ७८२ रुपैयाँ र ‘ह्यारी कि प्यारी’को ७४ लाख १६ हजार २६९ रुपैयाँको व्यापार भएको छ । अर्थात दर्शक उहाँहरू चलचित्रमा भएका कारण हलसम्म आएनन् । सर्वाधिक कमाइ गर्ने पाँच चलचित्र ‘कबड्डी’कै शृङ्खलाका रूपमा अगाडि बढिरहेको ‘कबड्डी ४– द फाइनल म्याच’ सर्वाधिक कमाउने चलचित्र बन्यो । रामबाबु गुरुङले निर्देशन गर्नुभएको चलचित्रले बोर्डको विवरणअनुसार ७ लाख ६६ हजार ७ सय टिकट बिक्री भएबापत २१ करोड ३८ लाख १३ हजार ४६२ रुपैयाँ ग्रस व्यापार गर्न सफल भएको छ । हास्यकलाकारको समूहले टेलिशृङ्खलामा पाइरहेको लोकप्रियतालाई ठूलो पर्दामा ल्याउन अभिनेता दीपकराज गिरीले ‘६ एकान ६’ मार्फत चलचित्र निर्माण सुरु गरे । त्यसपछि ‘वडा नम्बर ६’ हुँदै ‘छक्का पञ्जा’ निर्माण गरेको समूह अहिले यसकै शृङ्खलालाई अगाडि बढाइरहेका छन् । गत फागुन १९ देखि प्रदर्शनरत चलचित्र ‘छक्का पञ्जा ४’ ले बोर्डको विवरणअनुसार ६ लाख ८ हजार ४०२ टिकट बिक्री भएबापत १६ करोड ९४ लाख ३४ हजार ६ सय ३४ रुपैयाँ ग्रस व्यापार गरेको छ । प्रदर्शनरत भएकाले यसको व्यापार अझै बढ्ने देखिन्छ । ‘प्रेम गीत’ को तेस्रो शृङ्खलाका रूपमा निर्माण भएको ‘प्रेम गीत ३’ नेपालीसँगै हिन्दी भाषामा प्रदर्शन भएको थियो । सन्तोष सेन र छेतेन गुरुङले निर्देशन गर्नुभएको चलचित्रमा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, मनिष राउत, सुनिल थापा र शिव श्रेष्ठलगायतको अभिनय छ । चलचित्रले नेपाली भाषामा २ लाख ६९ हजार ७ सय ४४ टिकट बिक्री भएबापत ७ करोड ७० लाख ३५ हजार ५५८ रुपैयाँ र हिन्दी भाषामा ८३ हजार १४४ रुपैयाँ टिकट बिक्री भएबापत २ करोड २७ लाख २९ हजार ३६७ रुपैयाँको ग्रस व्यापार गरेको छ । चलचित्र ‘महापुरुष’ ले २ लाख ४७ हजार ५१७ टिकट बिक्री भएबापत ७ करोड ३८ लाख ९० हजार ६७० रुपैयाँको ग्रस व्यापार गरेको छ । प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, नरेश पौड्याल, अरुण क्षेत्री, अञ्जना बराइली लगायतका कलाकारले अभिनय गरेका छन् । दीपेन्द्र लामाको निर्देशनमा तयार भएको ‘दुई नम्बरी’ सर्वाधिक व्यापार गर्ने चलचित्रको सूचीमा पाँचौँ नम्बरमा छ । चलचित्रको १ लाख ४१ हजार ६३९ टिकट बिक्री भएबापत ३ करोड ८४ लाख ७३ हजार ५२० को ग्रस कलेक्सन भएको छ ।
५ जलविद्युत् आयोजनामा साढे १ खर्ब बढीको लगानी स्वीकृत
पाँच जलविद्युत् आयोजनामा एक खर्ब ६७ अर्ब बराबरको लगानी स्वीकृतकाठमाडौं । बिहीबार बसेको लगानी बोर्डको ५३औँ बैठकले विभिन्न पाँचवटा जलविद्युत् आयोजनाका लागि १ खर्ब ६७ अर्ब बराबरको लगानी स्वीकृत गरेको छ । बिहीबार स्वीकृत भएकामध्ये १ खर्ब ४६ अर्ब वैदेशिक र २१ अर्ब रुपैयाँ स्वदेशी लगानी हो । लगानी बोर्डको बैठकले तल्लो अरुण जलविद्युत् परियोजनाको मात्रै ९२ अर्ब ६८ करोड रुपैयाँ लगानी स्वीकृत गरेको लगानी बोर्डको कार्यालयका प्रवक्ता अमृत लम्सालले जानकारी दिए । भारतीय कम्पनी सतलज जलविद्युत् निगमले बनाउन लागेको तल्लो अरुणमा परियोजना विकास सम्झौता (पीडीए) गर्नका लागि दस्तावेज तयार पार्न लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा वार्ता समितिसमेत गठन गरिएको छ । बोर्डको बैठकले १०२ मेगावाट विद्युत् उत्पादन क्षमताको माथिल्लो मस्र्याङ्दी–१ परियोजनाका लागि ३३ अर्ब १९ करोड रुपैयाँ र ७० मेगावाट उत्पादन क्षमताको दूधकोशी–२ (जलेश्वर) जलविद्युत् परियोजनाका लागि २० अर्ब ३५ करोड रुपैयाँ बराबर लगानी स्वीकृत गरेको छ । त्यसैगरी, ७०.३ मेगावाट उत्पादन क्षमताको सिम्बुवा खोला जलविद्युत् परियोजनाका लागि १३ अर्ब ४४ करोड रुपैयाँ र ४३ मेगावाट उत्पादन क्षमताको अप्पर मादीखोला जलविद्युत् आयोजनाका लागि ७ अर्ब ९३ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत भएको छ । साथै, रासायनिक मल कारखाना स्थापनाका सम्बन्धमा अध्ययन अनुमतिका लागि पेस भएको प्रस्तावअनुसार विकासकर्ता कम्पनीसँग गरिने समझदारीपत्रको मस्यौदालाई पनि स्वीकृत गरेको छ । त्यस्तै, ग्रिन क्याल्सियम एमोनियम नाइट्रेट मल उत्पादन गर्न अध्ययन अनुमतिपत्रका लागि मलेसियाको रेनिकोला होल्डिङ्सको प्रस्तावलाई स्वीकृत दिने निर्णयसमेत भएको छ । डाबर नेपालको पूँजी तथा क्षमता वृद्धिका लागि गरिने समझदारीपत्रको मस्यौदा पनि आजको बैठकले स्वीकृत गरेको छ । पश्चिम सेती र सेती नदी–६ जलविद्युत् परियोजनाको विकासका लागि भारतीय कम्पनी एनएचपीसी लिमिटेडसँग भएको समझदारीपत्रका व्यवस्थाअनुसार प्रारम्भिक अध्ययन प्रतिवेदन तयार पार्न विकासकर्ता कम्पनीले गरिरहेको कामबारे पनि बोर्डले जानकारी लिएको छ । त्यस्तै, बोर्डमा तमोर जलाशययुक्त जलविद्युत् परियोजना र भेहिकल म्यानुफ्याक्चरिङ एसेम्बली प्लान्टको प्रगतिबारे पनि छलफल भएको जनाइएको छ ।