
काठमाडौं । विश्व प्रसिद्ध ‘फिल्ली क्याफे’ को शाखा नेपालमा पनि खुलेको छ । ‘फिल्ली क्याफे’ को पहिलो शाखा काठमाडौंको लाजिम्पाटमा खुलेकाे हो । फिल्ली क्याफे नेपालले एनडी थर्टी नाइन बिजनेस ग्रुपसँगकाे सहकार्यमा ध्रुव रिजाल र नविन खड्काले सो क्याफे सञ्चालनमा ल्याएका हुन् ।
गत बिहीबारबाट काठमाडौंको लाजिम्पाटमा सञ्चालनमा आएको फिल्ली क्याफेको उद्घाटन महानायक राजेश हमाल लगायतले गरेका थिए ।
आगामी पाँच वर्ष भित्र नेपालमा २५ वटा नयाँ आउटलेट खोल्ने तयारी रहेको पनि सञ्चालक नविन खड्काले बताए । फिल्ली क्याफे युएई, ओमान, कतार, संयुक्त राज्य अमेरिका, युके, भारत र मौरिससमा विश्वभर एक प्रसिद्ध र प्रिय ब्रान्डको रूपमा स्थापित छ । अब, यो समृद्ध सांस्कृतिक सम्पदा र बढ्दो चिया संस्कृति भएको देश नेपालमा पनि विस्तार भएको सञ्चालकले जनाएका छन् ।
फिल्ली क्याफेमा चिया अर्गानिक रूपमा उत्पादन गरिन्छ र परम्परागत तरिकामा ताजापनका साथ बनाइने बताइएको छ । जसले चियाका पारखीहरूको लागि ‘फिल्ली क्याफे’ उपयुक्त हुनेछ ।
‘हामी फिल्ली क्याफेको पहिलो शाखा नेपालमा खोल्न पाउँदा हर्षित छौं, हाम्रा क्याफेहरू जीवन्त ठाउँहरूका लागि डिजाइन गरिएका छन्, जहाँ मानिसहरू एकसाथ भेला हुन सक्छन् र उनीहरूको व्यस्त दिनहरूको बिचमा आरामले चिया गफ गर्न सक्छन्,’ कार्यक्रममा बोल्दै ध्रुव रिजालले भने ।
फिल्ली यसको सिग्नेचर ‘जाफ्रान टी’ को लागि परिचित छ । जुन केसरको साथमा चियाको अद्वितीय मिश्रण हो । फिल्ली विश्वभरका चिया प्रेमीहरूको लागि एक प्रतिष्ठित नाम हो ।