काठमाडौं । नेपाली अर्थतन्त्र अहिले सकारात्मक अवस्थामा छैन । अर्थतन्त्रमा आएको सकसको प्रत्यक्ष प्रभाव बैंक तथा वित्तीय संस्थासँगै सहकारीमा पनि परेको छ । सहकारीमा कतिपय वाह्य कारणले समस्या सिर्जना भइरहेको छ भने कतिपय संस्थामा नेतृत्वको नियतले पनि समस्या आइरहेको छ ।
यस्तै, नेतृत्वको नियतले समस्या आएको संस्था हो गतिशील बचत तथा ऋण सहकारी संस्था । ललितपुुरको लगनखेलमा रहेको गतिशील बचत तथा ऋण सहकारी संस्था अहिले संकटको अवस्थामा छ । बचतकर्ताले बचत गरेको पैसा फिर्ता पाउन सकेका छैनन् । सहकारीका बचतकर्ताले ५ हजार रुपैयाँ पनि फिर्ता गर्न सकेको छैन ।
हुन त धेरै संस्थाहरु तरलताको संकटमा छन् । तर, देशका अधिकांश ठूला भनिएका सहकारीहरु नेतृत्वको अब्बलता र व्यवस्थापकीय कौशलताले स्वस्थ किसिमले सञ्चालन भइरहेका छन् । ती संस्थाहरुलाई कुनै समस्या छैन । बचकर्ताले निरन्तर पैसा जम्मा गरिरहेका छन् भने ऋणाीहरुले निर्वाद रुपमा ऋण लिइरहेका छन् । तर, नेतृत्वको नियत खराब भएका सहकारीहरु भने अहिले ठूलो संकटमा छन् ।
यस्तै, नियत भएको नेतृत्व गतिशील बचत तथा ऋण सहकारी संस्थामा देखिएको छ । गतिशील बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हुन् डा. बलराम पाठक । अहिले उनले गतिशिल सहकारी छोडेर सरकारी स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंकको नेतृत्व सम्हालिरहेका छन् । उनी राष्ट्रिय वाणिज्य बैंकको अध्यक्ष हुन् ।
उनले सहकारीलाई समस्यामा पारेर राष्ट्रिय वाणिज्य बैंकको अध्यक्ष बने । तर, सहकारीको अध्यक्ष भने उनले छोडेका छैनन् । उनले विकास थापालाई कार्यवाहक अध्यक्षको रुपमा अगाडि सारेर राष्ट्रिय बैंकको अध्यक्ष बन्न पुगे ।
सहकारीका बचतकर्ताको रकम घरजग्गामा लगानी गरेर उनले सहकारीका लगानीकर्ताको रकम दुरुपयोग गरेका छन् । अहिले घरजग्गा क्षेत्रमा एक किसिमको मन्दी सिर्जना हुँदा सो सहकारीको रकम घरजग्गामा डुबेको हो ।

गत असारसम्मको तथ्यांक अनुसार कुल ९ करोड २८ लाख ४४ हजार रुपैयाँ सेयर पुँजी रहेको यस सहकारीको कुल पुँजी भने १८ करोड ४४ लाख ९३ हजार रहेको देखिएको छ ।
असार मसान्तसम्मको तथ्यांक अनुसार सहकारीमा ५.८३ प्रतिशत मात्रै तरलता अनुपात छ । तर, त्यो अहिले घटेको छ । यो सहकारीले अधिकांश लगानी व्यापारमा गरेको देखिएको छ । सहकारीले घरजग्गामा १ अर्ब ८७ करोड ३५ लाख रुपैयाँ लगानी गरेको छ भने गाडीमा ६८ लाख ५८ हजार, मुद्दति रसिद धितो कर्जामा ३ करोड ५१ लाख २ हजार र कर्मचारीलाई ७ लाख ८ हजार रुपैयाँ कर्जा लगानी गरेको प्रतिवदेनले देखाउँछ ।
संस्थाको कुल पुँजी तथा दायित्व भने २ अर्ब ७६ करोड ४ लाख ९ हजार रुपैयाँ छ । संस्थामा बचतकर्ताको कुल २ अर्ब २६ करोड ५७ लाख ३ हजार रुपैयाँ निक्षेप छ । गत आर्थिक वर्षको असार मसान्तसम्म सहकारीले सवा २ अर्ब रुपैयाँ लगानी गरेको छ ।
सहकारी विभागले पनि अहिले अधिकांश सहकारीमा संस्थाको नेतृत्व तथा अध्यक्षले आफुखुसी ऋण लगानी गर्ने, ऋण लगानी गर्दा विना प्रकृया आफू र आफन्तमा मात्रै असुरक्षित ऋण लगानी गर्ने र अनुत्पादक क्षेत्रमा लगानी गर्नाले समस्या सिर्जना भएको बताएको छ । सोही परिपाटी गतिशिल सहकारीमा पनि देखिएको हो ।
सर्वसाधारणको रकम डुबाउने तिनै पाठकलाई सरकारले सरकारी स्वामित्व भएको राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा नियुक्त गरेको थियो । उनी अहिले पनि सहकारीको अध्यक्षका रुमा छन् । उनले सहकारीमा राजीनामा दिएपनि स्वीकृत हुन सकेको छैन । अर्को अध्यक्ष सहकारीको वार्षिक साधारणसभाले नै चयन गर्नु पर्ने हुन्छ ।
यसअघि बीमा संस्थानको संचालक समेत भइसकेका पाठक पाटन क्याम्पसमा पार्ट टाइम पढाउने गरेका पनि छन् । पुरानो घर चितवन भएका उनी अहिले ललितपुरमा बस्छन् ।
उनी गत वर्षको कात्तिकमा बैंकको अध्यक्षमा नियुक्त भएका थिए । सरकारले सरकारी बैंकको अध्यक्षमा आफुलाई चाहेको व्यक्तिलाई अध्यक्ष बनाउन पाउँछ । विशेष गरेर सरकारका कर्मचारीहरु अध्यक्षका लागि सरकारी बैंकमा आउँछन् । तर, पाठक न कुनै सरकारी निकायमा काम गरेको नत उनको कुनै सेयर स्वामित्व राष्ट्रिय वाणिज्य बैंकमा छ ।

जनार्दन शर्मा अर्थमन्त्री हुँदा उनी माओवादी केन्द्रको कोटामा राष्ट्रिय वाणिज्य बैंकको अध्यक्ष बनेका थिए । वाणिज्य बैंकमा सञ्चालकलाई समितिको बैठकले बोर्ड अध्यक्ष चयन गर्ने व्यवस्था छ । त्यसपछि मात्र नेपाल राष्ट्र बैंकका गभर्नरले शपथ गराउने कानुनी प्रक्रिया छ । राष्ट्रिय वाणिज्य बैंकभित्र पनि उनले आफ्नो व्यक्तिगत स्वार्थको लागि बढी निर्णय गराउने प्रवृति बढेको स्रोतको भनाइ छ ।
हुनत गतिशील सहकारीमा पनि पाठकको बढी सेयर छैन । उनको यो सहकारीमा १ प्रतिशत पनि सेयर स्वामित्व छैन । संस्थामा सेयर स्वामित्व बिनै नेतृत्व पाउने अवसर पाठकले पाइरहेका छन् ।