विकासन्युज

निजी विद्यालयले शुल्क वृद्धि र पाठ्यपुस्तक परिवर्तन गर्न नपाउने

दोधारा चाँदनी । कञ्चनपुरको भीमदत्त नगरपालिकाले निजी विद्यालयले शुल्क वृद्धि र पाठ्यपुस्तक परिवर्तन गर्न नपाउने निर्णय गरेको छ । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशीले संस्थागत विद्यालयले शुल्क वृद्धि र पाठ्यपुस्तक परिवर्तन गर्न नपाउने निर्णय गरेको बताए । ‘हामीले निजी विद्यालयलाई गत वर्षकै शुल्क र पाठ्पुस्तकलाई निरन्तरता दिने गरी निर्णय गरेका छौँ, शुल्क वृद्धि गर्नुपर्ने अवस्थामा प्रस्ताव तयार गरी नगरपालिकाबाट स्वीकृत लिन भनेका छौँ,’ उनले भने । यसै शैक्षिक सत्रदेखि कक्षा ५, ८ र १० बाहेकका कक्षाका पाठ्यपुस्तक परिवर्तन गर्न नपाउने उनले बताए । संस्थागत विद्यालहरूले हरेक शैक्षिक सत्रमा शुल्क वृद्धि गर्ने र पाठ्यपुस्तक परिवर्तन गर्नेलगायत गतिविधि गर्न थालेपछि नगरपालिकाले यस्तो निर्णय गरेको उनको भनाइ छ । पाठ्यपुस्तक परिवर्तन गर्नुपर्ने बाध्यात्मक अवस्था आए नगरपालिकाबाट पूर्वस्वीकृति लिन नगरभित्रका संस्थागत विद्यालयहरूलाई निर्देशन दिएको छ ।

पुँजी बढाउन विदेशी पाटर्नर भित्र्याउँदै प्रभु, नेपाल इन्स्योरेन्सलाई घरजग्गा बेच्न स्वीकृति दिइँदै

काठमाडौं । निर्जीवन बीमा व्यवसाय गर्दै आएको प्रभु इन्स्योरेन्सले पुँजी बढाउन विदेशी पाटर्नर भित्र्याउने भएको छ । कम्पनी सम्बद्ध श्रोतका अनुसार कम्पनीले नेपाल बीमा प्राधिकरणबाट तोकिएको डेढ अर्ब रुपैयाँ बराबरको चुक्ता पुँजी पुर्याउन विदेशी पाटर्नर भित्र्याउनको लागि छलफल अघि बढाएको हो । ‘विदेशी पाटर्नर भित्र्याउनको लागि छलफल भइरहेको छ,’ कम्पनी उच्च श्रोतले विकासन्युजसँग भन्यो । उक्त श्रोतका अनुसार कम्पनीले सो विषयमा हाल छलफल मात्रै गरेको हो, तर निर्णय भने गरिसकेको छैन । प्राधिकरणले तोकेको चुक्ता पुँजी पुर्याउनको लागि प्रभु इन्स्योरेन्सले हाल दुई वटा विकल्प अघि सारेको छ । ‘यसमा कम्पनीले दुईवटा अप्सनलाई अघि बढाएको छ, एउटा विदेशी पार्टनर भित्र्याउने, अर्को मर्जरमा जाने,’ श्रोतले भन्यो- ‘योमध्ये एउटा विकल्प रोजेर छिट्टै पुँजी वृद्धिको प्रकृया अघि बढाउने तयारीमा छौं ।’ हाल प्रभु इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब ३७ करोड रुपैयाँ छ । पुँजी वृद्धिको लागि विदेशी पार्टनर भित्र्याउने विषयमा हाल छलफल मात्रै रहेकोले के कति पुँजी थपिन्छ भन्ने बारे पनि कुनै टुंगो लागेको छैन । यता बीमा प्राधिकरणको जानकारीमा पनि प्रभु इन्स्योरेन्सले विदेशी पार्टनर ल्याउनको लागि छलफल गरिरहेको भन्ने छ । जसमा प्राधिकरण पनि सकारात्मक देखिएको छ । ‘कम्पनीले पुँजी थप्नको लागि पैसा हाल्न पायो, तर हकप्रद सेयर जारी गर्न पाएन,’ प्राधिकरण उच्च श्रोतले विकासन्युजसँग भन्यो । त्यस्तै, नेपालको पहिलो निर्जीवन बीमा कम्पनी नेपाल इन्स्योरेन्सले पुँजी थप्नको लागि घरजग्गा बेच्ने भएको छ । कम्पनीले काठमाडौंको न्यूरोडको भवन, नारायणगढ, वीरगञ्ज र विराटनगरको जग्गा बेच्न नेपाल बीमा प्राधिकरणसँग स्वीकृति मागेको हो । इन्स्योरेन्सले करिब एक महिनाअघि नै प्राधिकरणसँग उक्त स्वीकृति मागेको हो । जसको लागि हालसम्म कुनै प्रतिकृया नदिएको प्राधिकरण अब भने छिट्टै स्वीकृति दिने मुडमा छ । ‘सम्पत्ति बेचेर पुँजी वृद्धि गर्ने इन्स्योरेन्सको प्रस्तावलाई छिट्टै स्वीकृति दिँदैछौं,’ प्राधिकरणको उच्च श्रोतले भन्यो । हाल नेपाल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ४९ करोड रुपैयाँ छ । कम्पनीले सम्पत्ति बेचेर करिब ४४ करोड रुपैयाँ बराबरको बोनस सेयर जारी गर्ने योजना बनाएको छ । बोनस सेयरपछि कम्पनीको पुँजी करिब १९३ करोड रुपैयाँ पुग्ने छ । ३० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न बीमा प्राधिकरणले स्वीकृत दिने भएकोले त्यो सुविधा पनि उपयोग गरी पुँँजी २५० करोड पुर्याउने कम्पनीको योजना रहेको छ । निर्जीवन बीमा व्यवसाय गर्दै आएका यी दुई कम्पनी प्रभु र नेपाल इन्स्योरेन्स हाल नेपाल बीमा प्राधिकरणको विशेष निगरानीमा छ । मर्जरमा जान्छु भनेर सहमति गरेर पनि नगएका यी दुई कम्पनीलाई प्राधिकरणले पुँजी पुर्याउन थप तीन महिनाको समय दिएको छ । यससँगै कम्पनीहरुले आगामी असार मसान्तसम्ममा तोकिएको पुँजी पुर्याइ सक्नु पर्ने छ । यदि सो अवधिसम्ममा पुँजी नपुर्याएमा प्राधिकरणले कम्पनीलाई कारवाही गर्ने चेतावनी दिएको छ । ‘पुँजी नपुर्याउनेलाई केही समय थप गरेर पुँजी पुर्याउनको लागि अवसर दिन्छौं, त्यसमा पनि पुर्याएनन् भने की त फोर्स मर्जर गराउँछौं, कि त कारोबार घट्ने गरी कारवाही गर्छौं,’ अध्यक्ष सिलवालले विकासन्युजसँग भने । यस्तै पुँजी वृद्धिको प्रकृया अघि बढाएर पनि तोकेको पुँजी नपुर्याएका कम्पनीहरुले भने हकप्रद सेयर जारी गर्न पाउने भएका छन् । सम्बन्धित समाचार पुँजी वृद्धिको लागि समय थप्दै बीमा प्राधिकरण, अधिकांशले हकप्रद सेयर जारी गर्न पाउने पुँजी वृद्धिको समय थप्न बीमा कम्पनीहरुको माग, कारवाहीको तयारीमा प्राधिकरण

राहुल गान्धीको पुनरावेदन खारेज

नयाँदिल्ली । मानहानी मुद्दामा दोषी ठहरिएका भारतको विपक्षी दलका नेता राहुल गान्धीको पुनरावेदन खारेज भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीका कट्टर आलोचक गान्धीलाई गत महिना गुजरातको सुरत अदालतले मानहानी मुद्दामा दोषी ठहर गर्दै पुनरावेदनको अवसर दिएको थियो । अदालतको आदेशसँगै नेता गान्धीले सांसद् पद गुमाएका थिए । सन् २०१९ को चुनावी सभामा नेता गान्धीले मोदी थर भएकाहरू ‘बदमास’ हुन्छन् भनेको विरोधमा भारतीय जनता पार्टीका नेता पूर्णेश मोदीले गन्धीविरुद्ध मानहानी मुद्दा दायर गरेका थिए । यद्यपि उनको प्रधानमन्त्री मोदीसँग कुनै सम्बन्ध छैन । अब नेता गान्धीले उच्च अदालतमा पुनरावेदन गर्नुहुने उनको दलका नेताहरूले बताएका छन् । दलका नेता तथा कानुन व्यवसायीसँग छलफल भइरहेको छ । रासस

आईएमई अटोमोटिभ एस्कर्टस्द्वारा महिलालाई हेभी इक्यूपमेन्ट अपरेटर तालिम

काठमाडौं । आईएमई अटोमोटिभ एस्कर्टस्ले महिलाहरुलाई नि:शुल्क हेभी ईक्यूपमेन्ट अपरेटर, ब्याक हो लोडर तालिम सुरु गरेकाे छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले बिहीबारदेखि सुरुभएको उक्त तालिमको उद्घाटन गरे । कार्यक्रममा अध्यक्ष ढकालले महासंघको अध्यक्षको रुपमा आफूले राखेका पाँचवटा प्राथमिकतामा सीपयुक्त जनशक्ति उत्पादन उच्च प्राथमिकतामा रहेको बताए । जनशक्तिलाई दक्ष बनाउन सकेमा उद्योग व्यवसायमा आवश्यक दक्ष जनशक्तिको अभाव पुरा हुने र वैदेशिक रोजगारमा जाँदा पनि प्रतिष्ठित र उच्च तलबमान पाउन सकिने हुनाले आफूले सीपमूलक तालिम र दक्ष जनशक्ति उत्पादन तथा विकासमा विशेष पहल लिने अध्यक्ष ढकालले उल्लेख गरे । अध्यक्ष ढकालले महिलालाई सीप दिई दक्ष बनाउन सकेमा महिला सशक्तीकरणमा समेत विशेष योगदान पुग्ने धारणा राखेका छन् । उनले यस तालिमले सीप आर्जन गरी रोजगारीको अवसर पाउने र महिलालाई हेर्ने पुरातन सामाजिक सोँचमासमेत परिवर्तन आउने बताए । ‘हामीले सवारी चालक भन्ने वित्तिकै पुरुषलाई बुझ्ने गर्छौँ, तर समय बदलिएकोसँगै, हेभी ईक्यूपमेन्ट अपरेटरमासमेत महिलाहरुले आफूलाई प्रमाणित गर्न सुरुगरिसकेका छन्,’ उनले भने ।  तालिममा सहभागी महिलाहरुलाई सुरक्षित र प्रभावकारीरुपमा ब्याक हो लोडर अपरेशन गर्न आवश्यक सबै किसिमका सीप तथा ज्ञान प्रदान गरिनेछ । तालिममा १५ जना महिलाहरु सहभागि छन् ।

ठूलीभेरी बेलीब्रिज घटना : मृतकको पहिचान खुल्यो

रुकुम । भेरी करिडोरअन्तर्गत ठूलीभेरी नदिमाथि निर्माणाधीन बेलीब्रिज भाँचिदा मृत्यु हुने दुई जनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा भारतको बहराइचका ४० वर्षिय प्रशान्त राजकुमार र सोही ठाउँका ३० वर्षीय धर्मेन्द्र हरीजन चमार रहेका छन् । जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईका अनुसार उक्त घटनाा क्रेन चालक नवलपरासीका २६ वर्षीय निरजकुमार चौधरी, भारतको बहराइचका ५० वर्षीय मैकु गौतम, सोही ठाउँका ३० वर्षीय गोरख नाथ, २५ वर्षीय सञ्जय गौतम, १९ वर्षीय सोनु चमार, ४९ वर्षीय गोपाल चमार र ६० वर्षीय राजकुमार हरीजन चमार रहेका छन् । सख्त घाइते तीनजनालाई थप उपचारका लागि हेलिकोप्टरमा बाँकेको नेपालगञ्ज लगिएको प्रहरीले जनाएको छ । अन्य चार घाइतेको जाजरकोटको नलगाड नगरपालिका–७ दल्लीस्थित अस्पतालमा उपचार भइरहेको छ । जाजरकोटको नलगाड नगरपालिका–१२ र रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–४ जोड्ने ठूलीभेरी नदीमाथि बनिरहेको बेलीब्रिज आज भाँचिएको हो । मृतक र घाइते उक्त पुल निर्माणका कामदार रहेको बताइएको छ ।

सिटिजन्स बैंक १७औं वर्षमा प्रवेश, विभिन्न सामाजिक कार्य गरी मनायो

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल १६ वर्ष पूरा गरी १७ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा बैंकले सातवटै प्रदेशका कूल २७ स्थानबाट करिब ७२६ जना रक्तदाताको सहभागीतामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । साथै, बैंकको कोशी प्रदेश अन्तर्गत धरान शाखाले विराट मेडिकल कलेजको सहकार्यमा रेलवे चोक धरानमा निःशूल्क स्वास्थ्य शिविर समेत संचालन गरेको छ । शिविरमा करिब १५० जनाले निःशुल्क स्वास्थ्य परीक्षण गराएका थिए । शिविरमा बैंकले आवश्यक औषधीहरु समेत निःशूल्क वितरण गरेको थियो । यस्तै, बैंकले स्नो याक फाउन्डेशनलाई एक लाख रुपैयाँ आर्थिक सहयोग गराएको छ । बैंकले हालसालै भारतको मेदान्त मेडिसिटि अस्पतालसँग पनि बैंकका कार्डवाहक ग्राहकलाई अस्पतालको सेवा शुल्कमा १५ प्रतिशतसम्म छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरिसकेको छ । सातवटै प्रदेशमा फैलिएको १८२ वटा शाखाहरु मार्फत चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकको कूल निक्षेप करिब १ खर्ब ६२ अर्व रहेकोमा कर्जा तर्फ १ खर्ब ४३ अर्ब रहेको छ । यसै अवधिमा बैंकले करिब १ अर्ब २४ करोड खुद मुनाफा गर्न सफल भएको छ ।

निजी क्षेत्रलाई अख्तियारले अनुसन्धान गर्ने व्यवस्था हटाउनुपर्छ : चन्द्र ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्रलाई अख्तियार दूरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्ने गरि आएको ऐन प्रस्ताव हटाउनुपर्ने बताएका छन् । बिहीबार रक्षा तथा कानून मन्त्री पूर्ण बहादुर खड्कासँग भएको भेटवार्तामा उनले यस्तो बताएका हुन् । अख्तियारले निजी क्षेत्र हेर्ने अधिकार संविधानमा समेत नभएको अवस्थामा मुलुकको अर्थतन्त्रको ८० प्रतिशत हिस्सा ओगट्ने निजी क्षेत्रलाई यस्तो गर्दा लगानीको वातावरण विग्रिने र मुलुकको अर्थतन्त्रमा समेत असर पर्ने उनको भनाइ छ । निजी क्षेत्र समस्यै समस्याले थलिएको समयमा यस किसिमको व्यवस्था हुँदा व्यवसायि थप हतोत्साहि हुने तर्फ अध्यक्ष ढकालले कानुन मन्त्रीको ध्यानाकर्षण गराए । भेट वार्ताको क्रममा मन्त्री खड्काले मुलुकको अर्थतन्त्रको ठूलो हिस्सा ओगट्ने निजी क्षेत्रका व्यवसायीहरु अप्ठेरोमा नपर्ने गरी उक्त विषय संशोधन हुने बताए । महासंघका तर्फबाट राखिएका सुझावलाई ध्यानमा राखी सरकारको तर्फबाट पहल गर्ने उनले प्रतिवद्धता जनाए । महासंघको प्रतिनिधिमण्डलमा अध्यक्ष ढकाल सहित नवनिर्वाचित उपाध्यक्षहरु सुरकृष्ण वैद्य, हेमराज ढकाल, ज्योत्सना श्रेष्ठ, कोषाध्यक्ष्ँ निरक के।सी। लगायत कार्यकारिणी समिति सदस्यहरुको सहभागिता थियो ।

गाउँपालिकाका तत्कालीन अध्यक्षसहित २३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । सिरहा लक्ष्मीपुर पतारी गाउँपालिकाका तत्कालीन अध्यक्षसहित २३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । पुल/कल्भर्ट निर्माणका क्रममा भ्रष्टाचार गरेको अभियोगमा गाउँपालिकाका तत्कालीन अध्यक्ष रामबल्लभ साह, उपाध्यक्ष आशादेवी यादव, प्रमुख प्रशासकीय अधिकृतसहित २३ जनाविरुद्ध बिहीबार भ्रष्टाचार मुद्दा दर्ता भएको हाे । लक्ष्मीपुर-४ स्थित धन्छुवारको पश्चिम कटनिया नयाँ नदीमा पुल/कल्भर्ट निर्माण समयमै सम्पन्न नगरेको, भएका काम पनि कम गुणस्तरका देखिएको र भुक्तानी नै गर्न नमिल्ने ३१ लाख ७४ हजार ४६७ रुपैयाँ मिलेमतोमा उपभोक्ता समितिलाई भुक्तानी दिने/लिने गरेको पुष्टि गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार उनीहरूविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो । धन्छुवारको नयाँ नदीमा पुल/कलभर्ट निर्माण कार्य बीचमै अलपत्र पारेको, भए/गरेको कार्यसमेत न्यून गुणस्तरको सामग्री प्रयोग गरिएको, सोही पुल/कल्भर्ट अर्को उपभोक्ता समितिबाट निर्माण गराउँदा पनि उक्त भौतिक संरचना बेकम्मा भई संरचना पूर्ण गर्न नसकिने अवस्थामा भुक्तानी दिएकोलगायत विषय अख्तियारको आरोपपत्रमा उल्लेख छ ।