काठमाडौं । एशियाली विकास बैंकका कन्ट्री हेड अर्नौड कौकोइसले एडीबीले लगानी गरेका नेपालका विकास परियोजनाहरुको पोर्टफोलियो सुधारिएको बताए । सोमबार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठसँगको भेटवार्तामा उनले यस्तो बताएका हुन् ।
उनले नेपालमा गरेको लगानीको पोर्टफोलियो रिभ्यू भएको जानकारी दिदै नयाँ सरकारले ल्याएका नयाँ परियोजनाहरुमा लगानी गर्न एडिबी तयार रहेको बताए ।
एडीबीले नेपालको भौतिक पूर्वाधारलगायतका क्षेत्रमा करिब चार खर्ब २१ अर्ब (३.२ विलियन) बराबरको लगानी गरेको छ ।
सन् २०२२ सम्ममा बैंकले ऊर्जा, यातायात, कृषि, खानेपानी, शहरी पूर्वाधार, सेवा क्षेत्र, ग्रामीण विकास र प्राकृतिक स्रोत, स्वास्थ्य शिक्षालगायतका क्षेत्रमा त्यस्तो लगानी गरेको हो । गत वर्ष मात्र एडीबीले नेपाललाई २५ करोड ५० लाख अमेरिकी डलर बराबर ऋण लगानी गरेको थियो ।
मेलम्ची खानेपानी आयोजना, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, माथिल्लो त्रिसुली जलविद्युत् आयोजना लगायतमा दर्जनौँ आयोजनाहरुमा एडिबीले लगानी गरेको छ ।