नेप्सेमा ३ कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा विभिन्न ३ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । मंगलबार नेपाल हाइड्रोपावर डेभलपर, साविक लुम्बिनी जनरल इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्स कम्पनीको बोनस सेयर नेप्सृमा सूचीकृत भएको हो । नेपाल हाइड्रोपावर डेभलपरको ५ प्रतिशत बोनस वापतको १ लाख ५९ हजार ९६५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.०२६३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस्तै, साविक लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको ६.९९ प्रतिशत बोनस वापतको ९ लाख १७ हजार ६४४.५० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ६.९९ प्रतिशत बोनस सेयर र ०.३६७९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस्तै, साविक सगरमाथा इन्स्योरेन्स कम्पनीको १२.४० प्रतिशत बोनस वापतको १६ लाख ५३ हजार ६९९.९६ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १२.४० प्रतिशत बोनस सेयर र ०.६५७९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
बारा-२ बाट जसपा अध्यक्ष यादव निर्वाचित
काठमाडौं । प्रतिनिधिसभा सदस्यमा बारा क्षेत्र नं २ बाट जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन् । गए राति मत गणना सम्पन्न हुँदा निकटतम् प्रतिद्वन्द्वीलाई ५ हजार ८१ मतान्तरले पराजित गर्दै उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । विजयी उम्मेदवार यादवले २८ हजार ४१५ मत प्राप्त गरे । उनका निकटतम् प्रतिद्वन्द्वी जनमत पार्टीका शिवचन्द्र कुशवाहाले २३ हजार ३३४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिए । यस्तै नेकपा (एमाले)का पुरुषोत्तम पौडेलले १० हजार २१६ मत प्राप्त गरे भने राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २ हजार ८२९, आम जनता पार्टीका उम्मेदवार अरुणकुमार ज्ञवालीले २ हजार ७३८ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका सोनालाल साहले ११९ मत, नागरिक उन्मुक्ति पार्टीका कमरुल्लाह अन्सारीले १०९ मत तथा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार मुक्ति यादवले ६० मत प्राप्त गरे । बारा क्षेत्र नं २ मा गत आइतबार भएको उपनिर्वाचनमा ६८ हजार ८८७ जनाले मतदान गरेका थिए । गत वर्ष मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा जसपा अध्यक्ष यादव सप्तरी क्षेत्र नं २ मा जनमत पार्टीका अध्यक्ष डा.सिके राउतसँग पराजित भएका थिए । बारा क्षेत्र नं २ मा जसपाबाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि सो निर्वाचन क्षेत्रमा उपनिर्वाचन भएको हो । निर्वाचित भएका जसपा अध्यक्ष यादवलाई गए राति नै मुख्य निर्वाचन अधिकृत उपाध्यायले प्रमाणपत्र वितरण गरे ।
पहिला नेप्सेको निजीकरण, पछि नयाँ स्टक एक्स्चेञ्जलाई लाइसेन्स
पछिल्लो ५ वर्षमा मात्रै नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले औसतमा ९० प्रतिशतका दरले सरकारलाई लाभांश दिएको छ । अर्काे स्टक एक्सचेन्ज खोल्न दिने निर्णय मुलुककै उत्कृष्ट सार्वजनिक संस्था नेप्से सिध्याउने ग्रान्ड डिजाइन हो । नेप्सेको निजीकरण गर्ने वर्षाैंदेखिको योजनालाई थाँती राखेर अर्को स्टक एक्सचेञ्ज ल्याउने र प्रतिस्पर्धा गराउने गरी गरिएको निर्णय हाँस्यास्पद छ । नियोजित रुपमा नेप्सेको छवि धुमिल्याउने र यसै बहानामा अर्को स्टक एक्सचेञ्ज सञ्चालनको अनुमति दिएर अनुचित लाभ लिन खोजिएकोले यस्तो नीतिगत भ्रष्टाचारको हरसम्भव प्रतिकार गर्नुपर्छ । मुलुकका लागि अर्को स्टक एक्सचेञ्ज आवश्यक छ भन्ने अध्ययन प्रतिवेदनको आधारमा निर्णय गरिएको भन्ने सञ्चार माध्यमहरु आएको सन्दर्भमा उक्त अध्ययन तुरुन्त सार्वजनिक गर्नुपर्छ । त्यो अध्ययनमा यी प्रश्नहरुको जवाफ छ कि छैन ? हेर्नुपर्छ : १. वित्तीय क्षेत्र विकास रणनीति, २०७३ मा नेप्सेमा आर्थिक वर्ष २०७३/७४ भित्र रणनीतिक साझेदार भित्र्याउने, आर्थिक वर्ष २०७४÷७५ मा नेपाल सरकार र नेपाल राष्ट्र बैंकको स्वामित्वमा रहेको सम्पूर्ण सेयर विनिवेश गर्ने उल्लेख छ । यसलाई कार्यान्वयन गर्ने निकायका रुपमा अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्डलाई तोकिएको छ । यस सम्बन्धी कार्य कहाँ पुग्यो ? २. नयाँ स्टक एक्सचेञ्जका आकांक्षीहरुलाई नेप्सेकै सेयर किन बिक्री नगर्ने ? ३. नेप्सेको निजीकरण गर्नु अगावै अर्को स्टक एक्सचेञ्ज थप्ने निर्णय कसरी कुन नीति, योजना अनुसार आएको हो ? घोषित नीति, रणनीति अनुसारका कामलाई थाँती राखेर अध्याँरो कोठामा बुनिएको तानाबानालाई अगाडि बढाउने कार्य आपराधिक हो कि होइन ? ४. नेपाल धितोपत्र बोर्ड सरकारी निकाय हो । झण्डै ६० अर्ब रुपैयाँ बराबरको जायजेथा भएको सरकारी संस्थान नेप्सेको जगेर्ना तथा संरक्षण गर्ने कार्य उसको दायित्व भित्र पर्छ कि पर्दैन ? ५. नियामक निकाय संरक्षक पनि हुन आफैले लाइसेन्स प्रदान गरेको, आफ्नै नियमन तथा सुपरिवेक्षकीय मातहतमा रहेको नेप्सेलाई कुनै निकास नै नदिई जबर्जस्ती प्रतिस्पर्धा गराउँछु भन्नु अख्तियार दुरुपयोग हो कि होइन ? ६. हाम्रोभन्दा ६ हजार गुणा ठूलो अर्थतन्त्र र ५० गुणा धेरै जनसंख्या भएको चीनमा दुई स्टक एक्सचेञ्ज छन् । हाम्रो भन्दा हजार गुणा ठूलो अर्थतन्त्र र ५० गुणा जनसंख्या भएको भारतमा पनि २ राष्टिय स्तरका स्टक एक्सचेञ्ज छन् । हाम्रो अर्थतन्त्र पनि २ वटा स्टक एक्सचेञ्ज चाहिने गरी विकास भएको हो ? ७. समाचारहरुमा नेप्से अन्तर्राष्ट्रिय स्तरको भएन भनिएको छ । अन्तराष्ट्रिय स्तर भनेको के हो ? नेप्सेले कुन–कुन अन्तराष्ट्रिय मापदण्ड पुरा गरेको छैन ? ती मापदण्ड पुरा गर्न नसक्नुका कारण के हुन् ? ८. समाचारहरुमा नेप्सेले नियामक निकायको निर्देशन पालना गरेन भनिएको छ । ती निर्देशनहरु कुन–कुन हुन ? त्यस्ता निर्देशन पालना नगरेवापत नेप्सेलाई के–कस्ता कार्बाही गरियो ? गरिएको छैन भने किन नगरिएको हो ? भारतमा बम्बै स्टक एक्सचेञ्जले नटेरेको हुँदा नेसनल स्टक एक्सचेन्ज ल्याइएको भनेर तथ्य बंग्याएर प्रचार गरिएको छ । जबकी ब्रोकर एशोसिएसनका रुपमा चलिरहेको अनुशासनहिन संस्था बम्बै एक्सचेञ्जलाई बाटोमा ल्याउन सरकारको अप्रत्यक्ष लगानी हुने गरी नेसनल स्टक एक्सचेञ्ज ल्याइएको हो । ९. समाचारहरुमा नेपाल धितोपत्र बोर्डले अध्ययन प्रतिवेदनका आधारमा स्टक एक्सचेञ्ज थप्ने निर्णय गरेको भनिएको छ । उक्त अध्ययनको प्रायोजक को हो ? अध्ययनका लागि कति रकमको प्रायोजन प्राप्त भएको थियो ? अध्ययन गर्ने विज्ञ को–को हुन् ? १०. नेप्सेका कारण सर्वसाधारण जनता के कस्ता सुविधाबाट वञ्चित भएका छन् ? थपिने भनिएको स्टक एक्सचेञ्जले नेप्सेले नदिएका के कस्ता सुविधा दिने हो ? ११. संसारभर २०० मुलुक छन् । कतिपय मुलुकले साझा स्टक एक्सचेन्ज प्रयोग गरिरहेका छन् । कतिपय मुलुकमा स्टक एक्सचेञ्ज नै छैनन् । भएकामध्ये ९९ प्रतिशतमा एउटा मात्रै स्टक एक्सचेञ्ज छ । नेपालमा आजको दिनमा आएर एक्कासी २ वटा स्टक एक्सचेञ्जको आवश्यकता किन परेको हो ? कसलाई चाहिएको हो २ वटा स्टक एक्सचेञ्ज ? १२. करदाताको पैसाबाट पालिएको संस्थालाई कसैको व्यक्तिगत लहडमा बलि चढाउन मिल्छ ? सरकारी सम्पत्ति सिध्याउने यो खेलमा सरोकारवाला चुप लागेर बस्लान् ? १३. स्टक एक्सचेञ्ज भनेको अग्रपंक्तिको नियमाक पनि हो । नियामकीय कामकार्वाहीमा प्रतिस्पर्धा हुन्छ ? हाम्रो अड्डा अदालत, प्रहरि प्रशासनले काम गरेन भनेर समानान्तर प्रकृतिको उस्तै संरचना (संयन्त्र) खडा गर्न मिल्छ ? उल्लेखित प्रश्नहरुको सन्तोषजनक जवाफ सार्वजनिक नगरी सरकारले उत्कृष्ट करदातका रुपमा पुरस्कृत गरेको, पूँजी, प्रविधि तथा जनशक्तिको प्रभावकारी तथा चुस्त परिचालन गर्दै सरकारलाई प्रत्येक वर्ष उच्च दरमा लाभांश प्रदान गर्दै आएको, हाल सञ्चालनमा रहेका ४० सार्वजनिक संस्थानमध्ये सबैभन्दा उत्कृष्ट संस्थानलाई क्षति पुग्ने गरी अमुक व्यक्ति वा समूहको स्वार्थमा काम गरियो भने त्यसको खुलेर विरोध गर्नुपर्छ । अझै पनि सच्चिने मौका छ । राज्यका निकायहरुलाई लाईसेन्स विक्री गर्ने थलो बनाउनु हुँदैन । हाम्रा निकायहरु क्रमिक रुपमा लाइसेन्स बिक्री गर्ने थलो बनिरहेका छन् । लाइसेन्स बिक्री गर्नकै लागि तत् तत् निकायमा राजनीतिक नियुक्ती गर्ने डरलाग्दो प्रवृत्ति विकास हुँदै गएको छ । संसदले यसलाई तुरुन्त रोक्नुपर्छ । प्रतिस्पर्धा नै गर्ने मनशाय हो भने सरकारले नेप्सेलाई पनि बन्धनमुक्त गर्नुपर्छ । समान धरातल उभ्याएर प्रतिस्पर्धा गर्न दिनुपर्छ । सरकारले तुरुन्तै निर्णय गरोस नेप्सेको सेयर बिक्री गर्ने । यसपालीकै बजेटमा ल्याइयोस नेप्सेको सेयर खुला बोलकबोलबाट बिक्री गर्ने कार्यक्रम । प्रतिस्पर्धा नै चाहिएको हो भने किन एउटा मात्रै स्टक एक्सचेन्ज थप्ने । अरु पनि थपौं । जति धेरै स्टक एक्सचेञ्ज त्यति धेरै प्रतिस्पर्धा । (स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले मंगलबार प्रतिनिधिसभाको बैठकमा राखेको मन्तब्य)
लक्ष्मी लघुवित्तको सीईओमा सुन्दर प्रसाद श्रेष्ठ नियुक्त
काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा श्रेष्ठ नियुक्त भएका छन् । लघुवित्तको सीईओ प्रकाशराज शर्माको कार्यकाल सकिएपछि सञ्चालक समितिको बैठकले सुन्दर प्रसाद श्रेष्ठलाई सीईओमा नियुक्त गरेको हो । सीईओ शर्माको कार्यकाल बैशाख १७ गते सकिने भएपछि श्रेष्ठले बैशाख १८ गतेदेखि लघुवित्तको सीईओको कार्यभार सम्हाल्ने छन् । श्रेष्ठलाई आगामी ४ वर्षको लागि लघुवित्तको सीईओमा नियुक्त गरेको बताइएको छ । लक्ष्मी लघुवित्तमा विगत १० वर्षदेखि कार्यरत श्रेष्ठ हाल नायव महाप्रबन्धक छन् । लघुवित्त क्षेत्रमा २० वर्षको अनभुव सँगालेका श्रेष्ठले निर्धन उत्थान लघुवित्तबाट आफ्नो करियर सुरु गरेका हुन् । उनीसँग विकास बैंकमा काम गरेको पनि अनभुव छ । लघुवित्त क्षेत्रमा साढे ३ दशकभन्दा बढी काम गरेका शर्मा आगामी दिनमा पनि यहि क्षेत्रमा नै सक्रिय रहने बताउँछन् । साढे ४ दशक बैंकिङ्ग क्षेत्रमा काम गरेका शर्मा लघुवित्त संस्थाहरुको संस्थापक मध्येमा पर्छन् । नेपाल लघुवित्त बैंकर्स संघको अध्यक्ष समेत रहेका शर्मा आगामी दिनमा पनि लघुवित्त क्षेत्रको विकास, विस्तारको लागि सक्रिय रहने बताउँछन् । तर, कार्यकारी भूमिकामा भने नरहने उनले बताए । ‘अब कार्यकारी तहमा बसेर सक्रिय नभएपनि वित्तीय क्षेत्रमा कलम चलाउने, लबिङ गर्ने, मेरो अनुभव, ज्ञानलाई आदान प्रदान गर्ने काम गर्छु,’ उनले भने ।
ईङवा हाइड्रोको आईपीओ बिक्री खुला, २० हजार कित्ता खरिद गर्न पाइने
काठमाडौं । ईङवा हाइड्रोपावरले आज बैशाख १३ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले जारी पूँजी ६० करोड रुपैयाँको २० प्रतिशत अर्थात् १२ करोड रुपैयाँ बराबरको आईपीओ सर्वसाधारणलाई बिक्री गरेको हो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १२ लाख कित्ता र आयोजना प्रभावित क्षेत्रका स्थानियलाई बिक्री गर्दा बाँकी रहेको २ लाख ९३ हजार १६० कित्ता थप गरी कूल १४ लाख ९३ हजार १६० कित्ता सेयर सर्वसाधारण लगाीकर्तालाई बिक्री खुला गरेको हो । जसमध्ये १ लाख २० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली, २९ हजार ८६३ कित्ता कर्मचारी र ७४ हजार ६५८ कित्ता सामूहिक लगानी कोषलाई बिक्री गरी बाँडफाँट गरिसकेको कम्पनीले जनाएको छ । बाँकी रहेको १२ लाख ६८ हजार ६३९ कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आजदेखि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म खरिद गर्न सक्नेछन् । कम्पनीको आईपीओमा लगानीकर्ताले बैशाख १७ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग रहेको छ । लगानीकर्ताले स्वीकृत प्राप्त सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालय र मेरो सेयरबाट कम्पनीको सेयर खरिद गर्न सक्नेछन् । केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
सिटि होटलले बैशाख २५ गतेदेखि आईपीओ बिक्री खुला गर्ने
काठमाडौं । सिटि होटलले बैशाख २५ गतेदेखि सर्वसाधारण लगानीकर्तालाई आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले जारी पूँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँको १० प्रतिशत अर्थात् १६ करोड ७४ लाख रुपैयाँ बराबरको सेयर बिक्री गर्नेछ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १६ लाख ७४ हजार कित्ता सेयर बिक्री गर्नेछ । जसमध्ये ५ प्रतिशत अर्थात् ८३ हजार ७ सय कित्ता सामूहिक लगानी कोषलाई, ४ प्रतिशत अर्थात् ६६ हजार ९६० कित्ता कर्मचारीलाई र बाँकी १३ लाख ५५ हजार ९४० कित्ता सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । सर्वसाधारणलाई छुट्याइएको १० प्रतिशत अर्थात् १ लाख ६७ हजार ४ सय कित्ता विदेशमा रोजगारी गरिरहेका नेपालीलाई बिक्री गरी बाँडफाँट पनि गरिसकेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा २ हजार कित्ता सेयरसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा सर्वसाधारण लगानीकर्ताले बैशाख २८ गतेसम्म आवेदन दिन पाउनेछन् । यदि सो समयमा पूर्ण आवेदन नपरेमा जेठ ८ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । लगानीकर्ताले स्वीकृत प्राप्त सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालय र मेरो सेयरबाट कम्पनीको सेयर खरिद गर्न सक्नेछन् । केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।
ठूला तथा मझौला उद्योगको समस्या समाधान गर्छौँ : मुख्यमन्त्री कार्की
मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले छिमेकी मुलुकको कच्चा पदार्थबाट सञ्चालन हुने ठूला तथा मझौला उद्योगको समस्या समाधानका लागि उचित पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा आज आयोजित उद्योग सङ्घ र सङ्गठनमा आवद्ध उद्योगी एवं व्यापारीसँगको छलफलमा उहाँले उद्योग सञ्चालनका क्रममा देखिने विभिन्न समस्या समाधानका लागि प्रदेश सरकारको क्षेत्र अधिकारभित्र पर्ने कार्यलाई आवश्यक विधि विधान बनाउने तथा सङ्घीय सरकार समक्ष आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । मुख्यमन्त्री कार्कीले उद्योग क्षेत्रमा गरिएको अघोषित लोडसेडिङको समस्या समाधान गर्न आजै सङ्घीय ऊर्जा मन्त्रालय तथा विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकसँग कुरा गरेको तथा व्यापारीसँग आवश्यक छलफल एवं भेटघाटका लागि व्यवस्थापन गर्न पहल भएको जानकारी दिए । उद्यमीहरुले लिएको ऋणको ब्याज दर घटाउने सम्बन्धमा नेपाल राष्ट्र बैंकका गभर्नर र डेपुटी गभर्नरसँग विचार विमर्श हुनुका साथै समस्या समाधानका लागि आग्रह गरेको उनले जानकारी दिए । मुख्यमन्त्री कार्कीले पुनः यस सम्बन्धमा उद्यमीको टोलीसँग अर्थमन्त्री र राष्ट्र बंैकका गभर्नरलाई छलफल गराउने विश्वास दिलाए । उहाँले निजी क्षेत्र बलियो, सुदृढ र चिन्तामुक्त भए मात्र मुलुकको आर्थिक विकास एवं समृद्धि कायम हुने विश्वास व्यक्त गर्नुभयो । मुख्यमन्त्री कार्कीले कोशी प्रदेश नामकरणका सम्बन्धमा पहिचानवादीको विरोध प्रदर्शन हिंसात्मक एवं गालीगलौज र दुव्र्यवहार गर्ने विषयमा उद्योगी व्यापारी एवं विराटनगरवासीको स्पष्ट धारणा आउनुपर्नेमा जोड दिए । प्रदेश सरकारले राखेको प्रदेशको नामका सम्बन्धमा गल्ती वा ठीक गरेको विषयमा जनतासमक्ष जानकारी दिन उनले आग्रह गरे । नेपाल उद्योग वाणिज्य महासङ्घका प्रदेश अध्यक्ष राजेन्द्र राउतले उद्यमीले उद्योग बन्द गर्न चाहेमा त्यसको वातावरण मिलाइदिन अनुरोध गर्दै सरकारले निर्माणाधीन पूर्वाधारलाई चाँडै सम्पन्न गराउन आवश्यक पहल गर्नुपर्ने सुझाव दिए । उद्योग सङ्गठन मोरङका अध्यक्ष सुयस प्याकुरेलले विद्युत् प्राधिकरणले उद्योग क्षेत्रमा नियमित विद्युत् आपूर्ति गर्नुपर्ने वा लोडसेडिङको तालिका सार्वजनिक गर्न आग्रह गर्नुभयो । होटल सङ्घ कोशीका राजन श्रेष्ठले यस क्षेत्रमा पर्यटक आवागन वृद्धिका लागि विराटनगरबाट लुक्ला हवाई सेवा सञ्चलन गर्न पहल गर्नुपर्नेमा जोड दिए । रासस
सूर्यज्योती लाइफ इन्स्योरेन्सको संचालकमा चुडामणी देवकोटा
काठमाडौं । सूर्यज्योती लाइफ इन्स्योरेन्सको संचालकमा चुडामणी देवकोटा नियुक्त भएका छन् । कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले देवकोटालाई स्वतन्त्र संचालकमा नियुक्त गरेको हो । देवकोटालाई कम्पनीले आगामी ४ वर्षको लागि संचालकमा नियुक्त गरेको हो ।