विकासन्युज

नेपाल बैंकको ब्राण्ड एम्बास्डरमा डा.महावीर पुन नियुक्त

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंकले आफ्नो ब्राण्ड एम्बास्डरमा डा. महावीर पुनलाई पुनः नियुक्त गरेको छ । २०७६ सालदेखि नेपाल बैंकको ब्राण्ड एम्बास्डरमा नियुक्त भएका राष्ट्रिय अविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनसँगको सम्झौता अवधि पुनः १ वर्ष अवधि थप गरिएको छ । मंगलबार नेपाल बैक प्रधान कार्यालयमा आयोजित एक समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र डा. महाविर पुनका बिच उक्त ब्राण्ड एम्बास्डर नवीकरण सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । उक्त कार्यक्रममा एम्बास्डरमा नियुक्त डा. महावीर पुनले नेपाल बैंक जस्तो नेपालको बैकिङ्ग क्षेत्रको गौरवमय इतिहास बोकेको संस्थामा ब्राण्ड एम्बास्डरको रुपमा पुनः नियुक्त हुन पाएकोमा खुसी व्यक्त गरे । उनले नेपाल बैंकले देखाएको सम्मान र सहयोगप्रति आभार व्यक्त गर्दै नेपाल बैंकको वृद्धिमा आफ्नो सक्दो योगदान रहने बताए । त्यसैगरी प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले डा. महावीर पुन जस्तो विशिष्ट ब्यक्तित्व साथै आम नेपालीको प्रेरणाको श्रोतलाई नेपाल बैंकको ब्राण्ड एम्बासडर को रुपमा निरन्तरता दिन पाउनु आफैमा गर्वको विषय भएको बताए । साथै डा. पुनले नेपाल बैंकले छनौट गरेकोमा उनीप्रति हार्दिक आभार समेत व्यक्त गरे । नेपालभर २२८ शाखाहरु, २०३ एटिएम साथै, ५२ एक्सटेन्सन काउन्टर मार्फत करिब २३ लाख ग्राहकलाई वित्तीय सेवा पुर्याइरहेको छ । यो बैंकले हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ्ग प्रविधि मार्फत सेवा प्रवाह गरी प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।

नेपालमा ‘डिजिटल टक’ पोडकास्ट सुरु

काठमाडौं । नेपाल इन्टरनेट फाउन्डेसनले वैशाख पहिलो सातादेखि पोडकास्ट श्रंखला ‘डिजिटल टक’ सुरू भएको छ । उक्त पोडकास्ट सिरिज डिजिटल नेपाल फ्रेमवर्कमा भएका ८ क्षेत्र र ८० डिजिटल पहलहरूमा केन्द्रित हुनेछ । नेपाल इन्टरनेट फाउन्डेसनले संचालन गर्ने पोडकास्टमा डिजिटल नेपाल फ्रेमवर्क निर्माणमा महत्वपुर्ण भूमिका खेल्ने ब्यक्तिहरुसँग संवाद गरिनेछ । डिजिटल नेपाल फ्रेमवर्कमा केन्द्रित डिजिटल टक पोडकास्टले नेपालमा प्रविधिको पछिल्लो प्रवृति र विकासका बारेमा गहिरो छलफलका लागि प्लेटफर्म उपलब्ध गराउने छ । नेपाल इन्टरनेट फाउन्डेसनले आयोजना गरेको पोडकास्टमा सरकारी अधिकारी, प्रविधिप्रेमी, नागरिक समाज, व्यवसायरनिजी क्षेत्र जस्ता विभिन्न क्षेत्रका विज्ञहरू सहभागी हुनेछन्, जसले डिजिटल नेपाल फ्रेमवर्कले देशको डिजिटल परिदृश्यलाई कसरी रूपान्तरण गरिरहेको छ भन्ने बारेमा आफ्नो अन्तर्दृष्टि र अनुभवहरू साझा गर्नेछन् । डिजिटल नेपाल फ्रेमवर्क २०१९ले देशमा डिजिटल प्रविधिको प्रयोगलाई प्रवर्द्धन गर्न नेपाल सरकारले विकास गरेको बृहत् योजना हो। ढाँचाले दिगो आर्थिक बृद्धिलाई समर्थन गर्ने, सरकारी सेवाहरूमा सुधार गर्ने र नेपाली नागरिकहरूको जीवनस्तरमा सुधार गर्ने डिजिटल पूर्वाधार निर्माण गर्ने लक्ष्य राखेको छ । पोडकास्टले डिजिटल फाउन्डेसन, कृषिका लागि डिजिटल, स्वास्थ्यका लागि डिजिटल, शिक्षाका लागि डिजिटल, पर्यटनका लागि डिजिटल, वित्तका लागि डिजिटल र शहरी पूर्वाधारका लागि डिजिटल जस्ता डिजिटल नेपाल फ्रेमवर्कसँग सम्बन्धित विषयहरूको विस्तृत दायरालाई समेट्नेछ । डिजिटल नेपाल फ्रेमवर्क बारे सचेतना र जानकारी प्रदान गर्न, डिजिटल नेपालका आयामहरूबारे छलफल गर्न, डिजिटल नेपालको सम्भावित रोडम्याप र सफलताको बारेमा छलफल गर्ने लक्ष्य राखेको छ । पोडकास्टको पहिलो शृंखला डिजिटल नेपाल फ्रेमवर्क सार्वजनिक गर्दा महत्वपुर्ण भूमिका खेल्ने पुर्व सह९सचिव बिरेन्द्र मिश्रको रहेको थियो भने अबको पोडकास्ट फ्रेमवर्क लेखनमा भूमिका खेल्ने आइसिटी बिज्ञ मनोहर भट्टराईको रहेको संचालक बिक्रम श्रेष्ठले जानकारी दिए । श्रोताहरूले कसरी फ्रेमवर्कले विभिन्न क्षेत्रहरूमा प्रभाव पारिरहेको छ र कसरी उनीहरूले आफ्नो शिक्षा, व्यवसाय र दैनिक जीवनलाई बढाउन डिजिटल प्रविधिको लाभ उठाउन सक्छन् भन्ने बारे मूल्यवान अन्तरदृष्टि र व्यावहारिक ज्ञान प्राप्त गर्ने आशा नेपाल इन्टरनेट फाउन्डेसनले गरेको छ । पोडकास्ट युट्युब, स्पोटिफाई, एप्पल पोडकास्ट, हाम्रो पात्रो र नेपाल एफएममा सुन्न र हेर्न सकिने छ ।

सटिजन्स बैंकका ग्राहकलाई क्याट क्याफेमा छुट हुने

काठमाडौं । सिटिजन्स बैंक र क्याट क्याफेबीच समझदारी भएको छ । बैंक र क्याफेबीच ग्राहकहरुलाई विशेष छुट दिने सम्झौता भएको हो । बैंक इन्टरनेसनल र ललितपुर स्थित क्याट क्याफबीच बैंकका कार्डबाहक ग्राहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले क्याट क्याफमा ५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ । सिटिजन्स बैंकले आफ्ना १८२ वटा शाखा, १३९ वटा एटिएम, ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १५ लाख ४० हजार भन्दा बढि ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

सिटिजन्स सुपर ३० ले औषतमा २०.४१ प्रतिशत प्रतिफल दिने प्रक्षेपण गरेको छ : सीईओ श्रेष्ठ

काठमाडौं । सिटिजन्स क्यापिटलले बैशाख ६ गतेदेखि बन्दमुखी सिटिजन्स सुपर ३० म्युचुअल फण्ड निष्काशन तथा बिक्री खुला गरेको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य दरका १० करोड इकाईमध्ये १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाई कोष प्रबद्र्धक सिटिजन्स बैंक र बाँकी ८ करोड ५० लाख इकाईमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री गरेको हो । क्यापिटलको फण्डमा बैशाख २० गतेसम्म न्यूनतम १ सय इकाईदेखि अधिकतम १ करोड इकाईसम्म खरिद गर्न सकिनेछ । सिटिजन्स क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सबिर बादे श्रेष्ठसँग विकासन्युजले सिटिजन्स सुपर ३० म्युचुअल फण्ड लगायतका विषयवस्तुमा रहेर कुराकानी गरेको छ । सिटिजन्स सुपर ३० म्युचुअल फण्ड ल्याउँदै हुनुहुन्छ । यो कस्तो प्रकारको योजना हो ? यो इक्विटीमा फोकस फण्ड हो । ८० प्रतिशत लगानी इक्विटीमा गर्छाैं । नेप्सेमा सूचीकृत भएका ३० वटा उत्कृष्ट स्टक छनोट गर्छाै । ती ३० वटा स्टकमा घुमीफेरी लगानी गर्छाैं । बजार अहिले घटेको छ । बजार १९ सय अंकको हाराहारीमा कारोबार भइरहेको छ । बजारमा प्रवेश गर्ने उचित समय छ । बैंकहरुको सेयर न्यूनतम मूल्यमा कारोबार भइरहेको छ । अहिले सेयर किन्नु भनेको ‘डिस्काउन्ट’मा खरिद गरे सरह हो । भोलिका दिनमा बजार ‘रिभाइव’ भएर बढ्यो भने बढी भन्दा बढी प्रतिफल दिन सक्छौं । बजार धेरै तल झरिसक्यो । योभन्दा तल झर्ने वाला छैन । त्यसैले यहि बेलामा ३० वटा स्टक छनोट गरेर लगानी गर्ने फण्डको विशेषता हो । सेयर बजार घटेर तल्लो तहमा पुगेको छ । म्युचुअल फण्डमा पनि आकर्षण कम देखिन्छ । लगानीकर्ताको मनोबल पनि घट्दो छ, यो बेला फण्ड बिक्री हुन सक्छ ? हालै बजारमा आएका ३/४ वटा फण्डमा राम्रो आवेदन परेको छ । बजार बढेको बेला लगानीकर्ता आफैं आएर सेयर खरिद गर्नुहुन्छ । तर, घटेको बेला कोही पनि आउनु हुन्न । म्युचुअल फण्डको सबैभन्दा मुख्य कुरा भनेको ‘न्याभ’ (नेट एसेट भ्यालू) हेर्नुपर्छ । सिटिजन्स सुपर ३० बन्दमुखी योजना हो । बन्दमुखी योजनामा लगानी होल्ड गर्नुपर्ने हुन्छ । त्यसपछि मात्रै न्याभले लय समात्छ । सिटिजन्स सुपर ३० फण्डको पहिलो वर्ष १२ रुपैयाँ र बन्द हुने समयमा १४ रुपैयाँ न्याभ हुनेछ । म्युचुअल फण्डको फाइदा दीर्घकालका लागि हो । आजको भोलि फाइदा हेर्नु हुँदैन । त्यसैले सिटिजन्स सुपर ३० फण्ड पनि बिक्री हुने आशा छ । अहिले म्युचुअल फण्डको खुद सम्पत्ति मूल्य (नेट एसेस्ट भ्यालू) र सेयर मूल्य घटेको छ । कसरी लगानीकर्ताको आकर्षण बढ्छ ? बजार घटेपनि बढेपनि लगानी बजारमै गर्ने हो । वितगका म्युचुअल फण्डहरुले औषत १७/१८ प्रतिशतसम्म प्रतिफल दिएका छन् । अहिले पनि वार्षिक औषत ३२ प्रतिशत प्रतिफल दिइरहेका छन् । बजार धेरै तल झरेको हुँदा अब घट्ने ठाउँ छैन । बजार घटेको बेलामा लगानी गर्याे भने इकाईधनीहरुलाई उच्च प्रतिफल दिन सकिन्छ । अहिले पनि अधिकांश कम्पनीहरुले राम्रो ‘पफर्ममेन्स’ गरेको छन् । अर्थतन्त्रमा समस्या परेको हुँदा राम्रो कम्पनीको सेयरमा असर गरेको हुन सक्छ । अहिले राम्रा कम्पनीको सेयर ‘डिस्काउन्ट’मा खरिद गर्ने बेला हो । ओभर भ्यालू भएका कम्पनी पनि बजारमा छन् । वित्तीय विवरणदेखि सबै ग्रोथ राम्रो भएका कुनै कम्पनीको सेयर मूल्य धेरै तल झरेको पनि छ । तर, ती कम्पनीहरुको ग्रोथ बजारमा देखिएको छैन । यस्ता ३० वटा स्टकलाई छनोट गरेर लगानी गर्छाैं । राम्रो पर्फमेन्स भएका कम्पनीको सेयरमा लगानी गर्न डराउनु पर्ने स्थिती हुँदैन । किनभने हाम्रो अनुसन्धान टिमले भेरिफाइड गरेर त्यस्ता कम्पनी छनोट गरेको छ । ती कम्पनीहरुको तीन महिना वा एक वर्षमा राम्रो विकास भएकै हुन्छ । कसैले बढेको बेला म्युचुअल फण्ड खरिद गर्नुपर्छ भन्नुहुन्छ भने कसैले घटेको बेला खरिद गर्नुपर्छ भन्नुहुन्छ । यसले लगानीकर्तामा दुविधा पार्दैन ? बजारमा ठूल्ठूला लगानीकर्ताहरु हुनुहुन्छ । सेयर बजारमा सबै लगानीकर्ताका आ–आफ्नै अनुभव छन् । बजार घटेको बेला खरिद गर्ने र बढेको बेला बिक्री गर्ने सबै लगानीकर्ताहरुले भन्नु हुन्छ । बजार घटेको बेलामा सबैको सेयर घटेको हुन्छ । कुनै घट्न योग्य हुन्छन् भने कुनै घट्न योग्य हुँदैनन् । घट्नयोग्य नभएका स्टकलाई लगानीकर्ताहरुले आत्तिएर बेचेका पनि हुन्छन् । सेयर बजारलाई बैंक ब्यालेन्स, घरजग्गाको मूल्य, सुनचाँदी मूल्य जस्तै सोच्नु हुँदैन, जुन आज बढ्ने भोलि घट्ने । बैंकमा राखेको रकमबाट आएको ब्याजदर जस्तो सेयर बजार होइन । प्रत्येक दिन उठ्ने वित्तीकै बैंकमा राखेको रकम बढेको बढ्यै जस्तो पनि बजार होइन । सेयर बजारमा जोखिम अनुसारको प्रतिफल पनि छ । प्रतिफलको आकार ठूलो छ । एउटा म्युचुअल फण्डले औषतमा वार्षिक ३२ प्रतिशतसम्म प्रतिफल दिएको छ । यति धेरै प्रतिफल बैंकमा राखेको रकमबाट पाइँदैन । बजारमा जोखिम भएपनि गुणात्मक प्रतिफल पनि लिन सकिन्छ । बजार जहिले पनि माथि नै उक्लिने हो । नेप्से सूचक २ सय, ७ सय, ११ सय, १८ सय र ३२ सय अंक सबैले देखेको छ । नेप्से ११ सय अंकबाट तल झर्दा लगानीकर्ता आत्तिए । बजारमा फसे भनेर सोचेका हुन सक्छन् । तर, नेप्से १८ सय, ३२ सय अंक पुग्दा त राम्रो नाफा पनि गरेका छन् नी । बजारमा होल्ड गर्याे भने लगानीकर्ताले कमाउँछन् । सिटिजन्स सुपर ३० म्युचुअल फण्डले कुन-कुन क्षेत्रमा लगानी गर्छ ? यस म्युचुअल फण्डले इक्विटीमा ८० प्रतिशतसम्म लगानी गर्छ । बण्ड तथा ऋणपत्रमा १० प्रतिशत, एफडीमा १० प्रतिशत लगानी गर्ने योजना छ । यो भन्दा बाह्य क्षेत्रमा लगानी गर्न म्युचुअल फण्डलाई अनुमति पनि दिइएको छैन । सिटिजन्स सुपर ३० म्युचुअल फण्डले कमाएको नाफाबाट इकाईधनीहरुलाई कतिसम्म प्रतिफल दिन सक्छ ? सिटिजन्स सुपर ३० म्युचुअल फण्डको अवधि १० वर्ष हो । यस फण्डका इकाईधनीहरुलाई वार्षिक २०.४१ प्रतिशत प्रतिफल दिने प्रक्षेपण गरेका छौं । १० वर्षको अवधिमा १४.५१ रुपैयाँमा न्याभ हुने प्रक्षेपण छ । अहिले इकाईधनीहरुले १० रुपैयाँ लगानी गर्नु भएको छ भने प्रत्येक वर्ष २०.४१ प्रतिशत प्रतिफल दिन्छौं । १० वर्षपछि प्रतिइकाई १४.५१ रुपैयाँमा फिर्ता दिन्छौं । बजारको परिस्थती अनुसार राम्रो नाफा कमायो भने धेरै लाभांश पनि दिन्छौं । यसअघिका केही म्युचुअल फण्डले १० रुपैयाँ लगानीलाई २० रुपैयाँ रिटर्न दिने भनेका छन् । यो हेर्दा परिकल्पना गरेको जस्तै लाग्छ । किनभने १० वर्षमा न्याभ दोब्बर हुन्छ । हरेक वर्ष बजारमा बुल आएको देखिन्छ । तर, सिटिजन्स सुपर ३० म्युचुअल फण्डको कल्पना गरेको छैन । वास्तविक प्रक्षेपण गरेर प्रतिफल दिने भनेको हो । पहिलो वर्ष १२ रुपैयाँ न्याभ हुनेछ भने अन्तिम वर्ष १४.४१ रुपैयाँ न्याभ हुनेछ । हामीले न्याभमा खेलेका छैनौं किनभने १० वर्षको अवधिमा बुल र वेयरिस दुवै आइरहन्छन् । अहिलेको सिनारियो हेर्दा पक्कै पनि बुल आउने देखिन्छ । त्यो बुल आएपछि सिटिजन्स सुपर ३० म्युचुअल फण्डको न्याभ १४.४१ रुपैयाँ सहजै पुग्छ । त्यसैले बजारमा भएका अन्य म्युचुअल फण्ड जस्तो सिटिजन्स सुपर ३० फण्डलाई डर छैन । यसअघि जारी गरेका म्युचुअल फण्डको अवस्था कस्तो छ ? ती म्युचुअल फण्डबाट कस्तो अनुभव बटल्नु भएको छ ? ७ वर्ष अवधिका सिटिजन्स म्युचुअल फण्ड–१ र सिटिजन्स म्युचुअल फण्ड–२ सञ्चालनमा छन् । सिटिजन्स म्युचुअल फण्ड–१ अर्काे वर्षको फागुनमा परिपक्व हुँदैछ भने सिटिजन्स म्युचुअल फण्ड–२ केही वर्ष बाँकी छ । सिटिजन्स म्युचुअल फण्ड–१ले हालसम्म ६२ प्रतिशत प्रतिफल दिइसकेको छ भने सिटिजन्स म्युचुअल फण्ड–२ ले ५० प्रतिशत प्रतिफल दिएको छ । समग्रमा हाम्रो फण्डको सेलेक्सन एकदमै राम्रो छ । बजारमा भएका म्युचुअल फण्डसँग तुलना गर्दा सिटिजन्स म्युचुअल फण्ड–१ र सिटिजन्स म्युचुअल फण्ड–२ टपटेन फण्डभित्र पर्दछन् । यो हाम्रो उपलब्धि हो । सिटिजन्स म्युचुअल–१ ले ७, १५ र ४० प्रतिशत लाभांश दिएको छ । ४० प्रतिशत प्रतिफलले २/३ वर्षको प्रतिफल कभर गरेको छ । त्यसैले हामीले प्रक्षेपण गरेको प्रतिफलभन्दा धेरै लाभांश इकाईधनीहरुलाई दिएका छौं । गत आर्थिक वर्ष २०७८/७९ मा पनि दुवै फण्डको २० प्रतिशतभन्दा बढी प्रतफिल दिन सक्ने क्षमता थियो । तर, न्याभले सपोर्ट नगरेका कारण दिन सकेनौं । लगानी गर्नको लागि अहिले कस्तो समय हो ? बजारलाई कसरी हेरिरहनुभएको छ ? लगानी गर्नका लागि अहिले सुनौलो मौका हो । ४/१२ को सीमा, बैंकहरुको सीडी रेसियो टाइट, आयात निर्यातमा आएको गिरावट लगायतका कारण बजार ३२ सय अंकबाट तल झर्याे । बैंक तथा वित्तीय संस्थाहरुको तेस्रो त्रैमासको वित्तीय प्रतिवेदन पनि आएको छ । तर, बजार १८ सय अंकभन्दा तल झर्न मानेको छैन । १८ सय अंक नै न्यूनतम विन्दु होकी भन्ने संकेत गरेको छ । विगत हेर्दा असारमा बजार बढेको देखिन्छ । किनभनेर असारमा सरकारको खर्च धेरै हुन्छ । साथै, राष्ट्र बैंकले आगामी मौद्रिक नीतिमा पनि केही सहजीकरण गर्ने आशा गरेका छौं । यसअघि कडाइ गरेका कारण कर्जा ग्रोथ हुन सकेन । कर्जा विस्तार गर्न राष्ट्र बैंकले सहज व्यवस्था गर्न सक्छ । यी सबै कारणहरु हेर्दा बजार माथि नै उक्लिन्छ । बजार उच्च हुँदा म्युचुअल फण्डले शतप्रतिसम्म लाभांश वितरण गरे । बजार घटेको बेला लाभांश नै वितरण गरेनन् । त्यसैले पनि बजार बढेको बेला लगानी गर्नुपर्छ भन्ने मानसिकता छ नी ? म्युचुअल फण्डलाई सेयरसँग मात्रै तुलना गर्न मिल्दैन । सेयर खरिद गरेपछि घटबढ भइरहन्छ । तर, म्युचुअल फण्ड परिपक्व हुँदासम्म लगानी होल्ड गर्नुपर्छ भन्ने सोच बनाउनुपर्छ । हो, बजार बढ्दा म्युचुअल फण्डको न्याभ बढ्छ । किनभने म्युचुअल फण्डले पनि सेयर खरिद गरेका हुन्छन् । त्यसैले विगतमा परिपक्व भएका म्युचुअल फण्डहरुले राम्रो प्रतिफल वितरण गरेका छन् । घटबढ हुन बजारको सुन्दरता हो । हामी राम्रा ३० कम्पनी छनोट गर्छाै । ती ३० कम्पनीले गरेको ग्रोथले बजारको मूल्यसँग म्याच नगरेको हुन सक्छ । त्यसैलाई समातेर हामी अघि बढ्ने हो । बजार राम्रो लयमा आएपछि ती कम्पनीहरुको सेयर मूल्य पनि लयमा आउँछ । बजार बढेको बेलामा लाभांश धेरै आउने पक्कै हो । त्यो लाभांश उच्च मूल्य भएको बेला लगानी गरेको हुन्छ । दीर्घकालिन लगानीबाट आउने प्रतफिलमा लगानीकर्ताहरुले जोड दिनुपर्छ । लाभांश तलमाथि भएपनि न्याभ भने एकनाश नै रहन्छ । समग्र म्युचुअल फण्डको भविष्य कस्तो देख्नु भएको छ ? सामूहिक लगानी कोषमा म्युचुअल फण्डलाई दिइएको ५ प्रतिशत कोटा हटाउने भनिरहेको छ । त्यो म्युचुअल फण्डलाई पहिलादेखि नै दिईएको अधिकार हो । जनताको फण्ड व्यवस्थापन गर्ने भएकाले त्यो सुविधा दिएको हो । यो एकैपटक हटाउन हुँदैन । यस विषयमा नेपाल धितोपत्र बोर्डसँग मर्चेन्ट बैंकका सीईओहरु छलफल गरिरहेका छन् । भारत, अमेरिका लगायत देशमा पनि म्युचुअल फण्डले बजारको जोखिमलाई कम गरेको देखिन्छ । लगानीको सुनौलो लहर म्युचुअल फण्ड हो भन्छन् । म्युचुअल फण्डमा स्टक डाइभर्सिफाइड हुन्छ । बजारमा जोखिम बढी भएपछि प्रतिफल पनि बढी हुन्छ । जति जोखिम कम भयो त्यति प्रतिफल पनि कम हुन्छ । म्युचुअल फण्डले जोखिमलाई मिनिमाइज गर्छ भने प्रतिफल माथि गर्छ । यसकारण पनि म्युचुअल फण्ड नेपालका लागि राम्रो नै छ । १० वर्षमा कति बुल आउन सक्छन् ? बजारलाई विभिन्न उपकरणहरुले सपोर्ट गरेको हुन्छ । कसैले पनि ठ्याक्कै यहि हुन्छ भन्न सक्दैन । यो बजारको सुन्दरता हो । जसले राम्रो कमाएको छ, उसले गुमाएको पनि छ । त्यसैले बजारमा यो बेला के यो हुन्छ भनेर ठ्याक्कै भन्न सक्दैन । तर, हामीले विभिन्न विधि वा अनुसन्धान गर्दा अहिले खरिद गर्नुपर्ने समय हो भन्न सक्छौं । अहिलेसम्म म्युचुअल फण्डले सेयर बजारमा मात्रै लगानी गरेका छन् । यदि आगामी दिनमा बोर्डले अन्य क्षेत्र सुनचाँदी, घरजग्गा लगायतका क्षेत्रमा लगानी गर्न अनुमति दियो भने राम्रो अवसर हुनेछ । जुन क्षेत्रमा लगानी गर्न अनुमति दिएपनि लगानीकर्तालाई धेरै प्रतिफल दिने हाम्रो लक्ष्य हुन्छ । यदि बोर्डले बाटो खुलायो स्वागत गर्छाैं । सिटिजन्स क्यापिटलले अन्य कुनै फण्ड ल्याउने योजना बनाएको छ ? क्यापिटलले निकट भविष्यमा खुलामुखी योजना म्युचुअल फण्ड ल्याउने तयारी गरेको छ । खुलामुखी योजनामा पनि सुनौलो अवसर छन् ।

पुरानै लयमा फर्कियो हेलम्बुको पर्यटन व्यवसाय

हेलम्बु । विसं २०७२ को भूकम्प र कोरोना महामारीले सबै संरचनामा क्षति पुगेर खस्किएको हेलम्बुको पर्यटन व्यवसाय अहिले भने पहिलाकै लयमा फर्किएको छ । भूकम्पले क्षति पु¥याएका व्यक्तिको घर, गुम्बा, होटल र होमस्टे घरबासको पुनःनिर्माणपछि हेलम्बु आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढेको हो । बाटैभरि बौद्ध धर्मावलम्बीको सेता आकर्षक माने, रङ्गीन ध्वजापताकाले सिङ्गारिएको सिङ्गो गाउँ, आँखै अगाडि मनै लोभ्याउने सेता हिमाल । गर्मी महिनामा सिरसिर हावा चल्ने मनमोहक डाँडाकाँडा र हिमाली वनस्पति तथा वन्यजन्तु हेलम्बुका आकर्षण हुन् । हेलम्बु आएका ललितपुरको जाउलाखेलका विपुल शाक्य यहाँको मनमोहक दृश्य देखेर मोहित भएका छन् । काठमाडौं उपत्यकाको प्यास मेटाउने मेलम्ची खानेपानीको सुरुङ हेर्ने क्रममा हेलम्बु आइपुगेका उनी आँखै अगाडि पहिलोचोटी हिमाल देखेर दङ्ग परे । भूकम्पले गुम्बाको सहर भनेर चिनिने हेलम्बुको चहलपहल ह्वात्तै घटेको थियो । पुनःनिर्माणका क्रमाम आएका विविध समस्या यहाँका स्थानीयले समाधान गरेपछि अहिले माने र गुम्बा ठडिएका छन् । पदयात्राका क्रममा बाटैभरि ध्वजापताका, गुम्बा, मानेले मनै लोभ्याएको शाक्यले बताए । हेलम्बुभित्रको पर्यटकीय गाउँ शेर्माथाङमा रहेको होमस्टे अनि पाहुनालाई सत्कार गर्ने स्थानीयको शैलीले आफू प्रभावित भएको उनले सुनाए । ‘गाउँका मान्छेमा पाप हुँदैन भन्थे, यहाँ आएर थाहा भयो’, शाक्यले भने, ‘यहाँको सुन्दरताको वर्णन गरी साध्य छैन ।’ यहाँको परिवेश, संस्कृति नेपालकै नमूना भएको उहाँको ठम्याइ छ । भूकम्प र कोरोनाले थलिएका पूर्वाधार, धार्मिकस्थलको पुनःनिर्माणसँगै हेलम्बु गाउँपालिकाको पर्यटन तङ्ग्रिन थालेको छ । क्षतिग्रस्त बस्ती र धार्मिकस्थल विस्तारै उठ्न थालेपछि हेलम्बु गाउँपालिकाअन्तर्गतको प्रसिद्धस्थलमा दैनिक आउने पर्यटकको सङ्ख्या बढेको हो । हेलम्बु आइपुग्नुभएका रविन महर्जनलाई पनि एकैनासका ह्योल्मो संस्कृति झल्काउने लहरै उभिएका हरिया घर देख्दा लोभिए । ‘यहाँको कृषि क्षेत्र पनि उदाहरणीय लाग्यो’, उनी भन्छन्, ‘स्याउ फल्छ भन्ने सुनेको मात्रै थिएँ, यहाँ प्रत्यक्षरुपमा देख्न पाइयो ।’ उनले यहाँ गरिएको किवीखेती लोभलाग्दो रहेको बताए । अझै समथर भू–भागमा मिलेर बसेको तार्केघ्याङ र मेलम्चीघ्याङ बस्ती निकै सुन्दर रहेको महर्जनले बताए । ‘हामीलाई एउटै बस्तीमा रङ्गीन ध्वजापताका र गुम्बाले निकै आकर्षित गरेको छ’, उनले भने । शाक्य र महर्जनमात्रै होइन, भूकम्पपछिको पुनःनिर्माणले देखिएको सुन्दरता देखेर यहाँ आइपुग्ने पर्यटक मोहित हुने गरेका छन् । गुम्बाको पुनःनिर्माणले यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटक बढेका छन् । वार्षिक ३६ हजार पर्यटक हेलम्बु पदमार्ग हुँदै आमायाङ्ग्री, मेलम्ची घ्याङलगायत स्थलमा पुग्ने गरेको तथ्याङुक छ । अहिले पूर्वाधार र धार्मिक संरचना निर्माण भएकै कारण दैनिक ४० देखि ५० आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । पर्यटकीय पदमार्गमा चहलपहको छ । आन्तरिक मात्र होइन यहाँ बाह्य पर्यटक पनि दिनहुँ आउन थालेका छन् । उनीहरूले अधिकांश माथिल्लो क्षेत्र घुम्न जाने गरेका हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए। उनले भने, ‘पर्यटकीय गाउँ हेलम्बुमा गुम्बालगायत अन्य भौतिक पूर्वाधार र आराल बढेमदायी बास बस्ने रिसोर्टको सुविधा सहज बनेपछि पर्यटक आउन थालेका छन् ।’ ह्योल्मो जातिको उद्गमस्थल मानिने तार्केघ्याङ, गुरु रिन्पोछेको गुफा, चिरी गुम्बा, मेलम्चीघ्याङ, महादेव पाइलामा पर्यटक पुग्ने गर्छन् । समुद्री सतहबाट तीन हजार सात सय ७० मिटरमा पर्ने आमायाङ्ग्री पर्यटकको पहिलो रोजाइमा पर्छ । पदयात्रा रुचाउने प्रायःजसो आमायाङ्ग्री पुग्ने गरेको अध्यक्ष शेर्पाले जानकारी दिए । यो ठाउँमा पुग्न सवारीसाधन पुग्ने स्थानबाट झन्डै चार घन्टा उकालो लाग्नुपर्छ । किउलको सेर्माथान, मेलम्चीघ्याङस्थित पर्यटकका लागि लक्ष्य गरेर बनाइएको होटल, रिसोर्ट पहिलेकै सुविधासम्पन्न अवस्थामा ल्याइसकिएको छ । दुई दर्जन सडक, बिजुली, खानेपानीलगायत सबै सुविधा एकैसाथ गरिएपछि पर्यटकको रोजाइमा हेलम्बु परेको शेर्पा बताउँछन् । हेलम्बुबाट गोसाइँकुण्ड पदमार्ग हुँदै पुग्न सकिन्छ । सिमसिसाङ हिमाल, गन्जलापास–लाङटाङ क्षेत्र पुग्ने दुईदिने दुईवटा पदमार्ग बन्दै छ । त्यसैगरी सुन्दरीजल–कुन्टुङसाङ, घोप्टेघ्याङ–मेलम्चीघ्याङ, तिम्बु–मेलम्चीघ्याङ, पाल्चोक–ककनी, निगाले–ककनी, सेर्माथान–पाल्चोक भगवती, निन्देश्वरी महाकाल–आमायाङ्ग्रीजस्ता दर्जन पदमार्ग मर्मतको कामसमेत भइरहेको छ । ह्योल्मो जातिको पहिचान गुम्बा, गुफा र मन्दिर भएकाले हेलम्बु आउनेको सङ्ख्या बढेको छ । पर्यटक आउने क्रम बढिरहेकाले किउल, हेलम्बु भेगका होटल, रिसोर्ट भरिन थालेको होटल सञ्चालक रोशनी लामा बताउँछिन् । ‘भूकम्प र कोरोनापछि साम्य बनेको पर्यटन फेरि उठ्न थाल्यो, पर्यटक आउन थालेपपछि यहाँका रिसोर्ट ‘बुकिङ’ गर्ने क्रम बढ्न थालेको छ’, लामाले भनिन् । हेलम्बुको सुन्दरताबारे जानकारी पाएपछि यहाँ आइपुगेका पर्यटक बास बस्न तिम्बु झर्ने गरेको उनले जानकारी दिए । पर्यटकीय बस्तीका होमस्टे र कला संस्कृतिले पर्यटक लोभिँदै हेलम्बु आउने गरेका लामाको उनको भनाइ छ । ‘धार्मिक र प्राकृतिक सम्पदाले पर्यटक आकर्षित हुँदैगएका छन्’, उनले भनिन् । अधिकांश पर्यटक यहाँ पदयात्राका लागि आउने गरेका छन् । रासस

म्याग्दी नदीमा दुईवटा मोटरेबल पुल निर्माण

म्याग्दी । मङ्गला गाउँपालिकाको बरंजा र अर्मनलाई सडक सञ्जालसँग जोड्न म्याग्दी नदीमा दुई मोटरेबल पुल निर्माण गरिएको छ । सडक डिभिजन कार्यालय बागलुङले मङ्गला–२ बाबियाचौरको माटेबगर र वडा नं ५ अर्मनको पोक तथा बेनी नगरपालिका–४ फापरखेतबाट मङगला गाउँपालिका–३ पखेर जोड्ने पक्की मोटरेबल पुल निर्माण गरेको हो । पुल बनेपछि जिल्लाको मुख्य बेनी–दरवाङ सडक हुँदै ठूलो भूगोल र बस्ती भएका बरंजा र अर्मन सिधा सडक सञ्जालमा जोडिएका मङ्गला गाउँपालिकाका–३ का वडाध्यक्ष याम रोकाले बताए । ‘पखेरको पुलले जिल्ला सदरमुकाम बेनी र पोक–माटेबगरको पुलले गाउँपालिकाको केन्द्र बाबियाचौरलाई तीन वडासँग सिधा यातायात सम्पर्क स्थापित गरेको छ’, उनले भने, ‘घुमाउरो सडकमा यात्रा गर्नुपर्ने बाध्यता हटेको छ ।’ बरंजाका बासिन्दालाई म्याग्दी नदी पारि रहेको बाबियाचौर गाडी चढेर पुग्न बेनीबजार पुगेर ४० किलोमिटरभन्दा बढी घुमाउरो यात्रा गर्नुपर्ने समस्या थियो । मङ्गला गाउँपालिकाको वडा नं ३ र ४ बरंजा तथा वडा नं ५ अर्मनका दुई हजार पाँच सयभन्दा बढी घरधुरी लाभान्वित भएका छन् । मङ्गला गाउँपालिका–५ अर्मनका वडाध्यक्ष भूपेन्द्र खत्रीले औपचारिक हस्तान्तरण हुन बाँकी भए पनि पुलबाट यातायातका साधन आवतजावत गरेका बताए । ‘म्याग्दी नदीबाट जोखिम मोलेर सवारीसाधन तार्नुपर्ने समस्या हटेको छ’, उनले भने, ‘स्थानीयवासीलाई आवतजावतका साथै कृषि उपज निकासी, दैनिक उपभोग्य र खाद्यान्न तथा निर्माण सामग्री ढुवानीमा सहज भएको छ ।’ भरियामार्फत झोलुङ्गे पुल तारेर सामान वारपार गराउनुपर्ने बाध्यता हटेको छ । अर्मन र बरंजामा सडक निर्माण भए पनि मोटरेबल पुल नहुँदा स्थानीयवासी यातायात सुविधाबाट बञ्चित थिए । बिरामीलाई समयमै अस्पताल पुर्याउन सहज भएको पखेरका बासिन्दा समबहादुर थापाले बताए । पुल बनेसँगै पखेरमा यसअघि प्रतिमिटर ४० हजार रुपैयाँका दरले बिक्री हुने घडेरीको मूल्य बढेर प्रतिमिटर दुई लाख रुपैयाँ पुगेको उनले बताए । तीन पिलर भएको माटेबगर–पोक ८० र चार पिलर भएको फापरखेत–पखेर जोड्ने पुल एक सय १७ मिटर लामो छन् । दुईवटै पुल ११–११ मिटर फराकिला छन् । रङरोगन भइसकेको पुललाई जोड्ने पहुँचमार्गलाई अन्तिम रुप दिने काम भइरहेको छ । दुईवटै पुल निर्माणका लागि विसं २०७५ पुसमा लुम्बिनी–प्राकृतिक जेभी र सडक डिभिजन कार्यालय बागलुङबीच २२ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । विसं २०७७ पुस २५ मा सम्पन्न गर्ने लक्ष्य थियो । निर्माण व्यवसायीले पर्याप्त उपकरण, मजदुर परिचालन गर्न, निर्माण सामग्री जुटाउन नसक्नु, कोरोना भाइरसको महामारी र बाढीका कारण लक्ष्यभन्दा दुई वर्ष ढिला गरी पुल निर्माण सकिन लागेको हो । विसं २०७८ माघमा फापरखेत–पखेर पुल ढलानका क्रममा फर्मासँगै पुल दबेपछि विवाद र छानबिन गर्नुपर्दा ढिलाइ भएको निर्माण कम्पनीका प्रतिनिधिको भनाइ छ । रासस

सूर्यज्योति लाइफको साधारणसभा आह्वान, यस्ता छन् एजेण्डा

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले १५ औँ साधारणसभा बोलाएको छ । कम्पनीको बैशाख ११ गते बसेको सञ्चालक समितिको बैठकले जेठ ४ गते बिराटनगर स्थित होटेल हैरिसनमा सभा बोलाएको हो । कम्पनीको सभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिकिो प्रतिवेदन, साविक ज्योति लाइफको लेखापरीक्षकको प्रतिवेदन र आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पारित गर्नेछ । यस्तै, संस्थापकसमूह ‘क’बाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालक र सर्वसाधारण सेयरधनी ‘ख’ बाट प्रतिनिधित्व गर्ने ३ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्नेछ । सञ्चालक समितिमा रिक्त स्वतन्त्र सञ्चालकको पदमा भएको नियुक्तिको जानकारी तथा अनुमोदन गर्नेछ । यस्तै, कम्पनीको संस्थापक सेयर तथा सर्वसाधारण सेयरको अनुपात बमोजिम सञ्चालक समितिमा प्रतिनिधित्व हुने गरी सञ्चालक समितिको गठन सम्बन्धमा कम्पनीको नियमावलीको नियम ३१ मा आवश्यक संशोधन गर्ने, संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भएका खर्चको अनुमोदन गर्ने, सञ्चालक समितिका सदस्यहरु तथा अन्य समिति र उप समितिका सदस्यहरुले प्राप्त गर्ने बैठक भत्ता तथा अन्य सुविधा परिमार्जन गर्नेछ । वार्षिक साधारण सभा प्रयोजनार्थ कम्पनीले वैशाख २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले वैशाख २० गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् ।

कुमारी बैंकको ४ तल्ले पक्की भवन भत्काइने

काठमाडौं । कुमारी बैंकको नक्सालस्थित भवन भत्काइने भएको छ । बैंकको स्वामित्वमा रहेको काठमाडौं महानगरपालिका–१ नक्सालमा अवस्थित करिव ९ हजार वर्ग फिट क्षेत्रफल भएको ४ तल्ले पक्की भवन भत्काइने बैंकले जनाएको छ । बैंकको भवन पाताल गर्दा निस्कने भग्नावशेषहरु सो ठाउँबाट हटाएर जग्गा पूर्ण रुपमा सफा गर्नु पर्ने भएकाले ईच्छुक फर्म, कम्पनी, संस्था तथा व्यक्तिहरुले १५ दिनभित्र निवेदन पेश गर्न आग्रह गरेको हो । भवन भत्काए पश्चात् निस्कने इंटा, फलामे छड, झ्याल, ढोका, इलेक्ट्रिकल फिटिङस्, बाथरूम फिटिडस् लगायत सम्पूर्ण सामाग्री भत्काउने फर्म, कम्पनी, संस्था तथा व्यक्तिले लिन पाउने बैंकले जनाएको छ । सो कार्य के कसरी सम्पन्न गर्ने हो र सो बापत बैंकलाई के कति रकम भुक्तानी गर्ने हो सम्पूर्ण व्यहोरा खुलाउनु पर्ने बैंकले बताएको छ । साथै कार्य सम्पादन गर्न लाग्ने समय समेत आवेदनमा उल्लेख गर्नु पर्नेछ । उक्त भवन भत्काउँदा आवश्यक पर्ने जनशक्ति, विद्युत व्यवस्था एवं उपकरणहरु सम्पूर्ण रुपमा सम्बन्धित आवेदक स्वयंले व्यवस्था गर्नु पर्नेछ ।