विकासन्युज

मेन्छियाम हाइड्रोपावरको आईपीओ बाँडफाँट, ४ जनाले पाए ११ कित्ता

काठमाडौं । मेन्छियाम हाइड्रोपावरको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । बुधबार कम्पनीले सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओ बाँडफाँट भएको हो । कम्पनीले बैशाख ४ गतेदेखि ७ गतेसम्म सर्वसाधारणका लागि कुल ९ लाख ५४ हजार ११४ कित्ता सेयर निष्काशन गरेको थियो । सो सेयरमा कुल ११ लाख ७८ हजार ७३९ आवेदकले १ करोड ३७ लाख २० हजार ३० कित्ता शेयरका लागि आवेदन परेको थियो । जसमध्ये ११ लाख ७४ हजार २२८ आवेदन स्वीकृत भएको छ भने ६५ हजार ६४६ आवेदन रद्द भएको छ । स्वीकृत आवेदनमध्ये कुल ९५ हजार ४११ जनाले १० कित्ताका दरले सेयर बाँडफाँट गरिएको छ । सोमध्ये पनि भाग्यमानी ४ जनाले थप एक कित्ता अर्थात कुल ११ कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन् ।

नेपालमा सामसङ एलइडि टिभीको उत्पादन सुरु

काठमाडौं । बुधबारदेखि नेपालमा सामसङको टिभी कारखाना संचालनमा आएको छ । योसँगै अब नेपालमै सामसङ एलइडि टिभिको उत्पादन सुरु भएको छ । गोल्छा ग्रुपले सामसङ कोरियासँगको सहकार्यमा नवलपरासीको रामग्राम नगरपालिकामा उद्योग स्थापना गरी सामसङ टेलिभिजन उत्पादन थालेको हो । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल सो कारखानाको उद्घाटन गरेका छन् । मन्त्री रिजालले बुधबार नवलपरासीमा नेपालका लागि कोरियाली राजदूत जोनसङ पार्कसँग संयुक्त रुपमा उक्त कारखानाको उद्घाटन गरेका हुन् । कारखानाको उद्घाटन गर्दै मन्त्री रिजालले सामसङ र गोल्छा ग्रुपको सहकार्यले आगामी दिनमा अन्य उद्योगमा पनि लगानी आउन सक्ने बताए । यस्तै, राजदूत जोनसङ पार्कले नेपालमा संसारकै प्रसिद्ध इलेक्ट्रोनिक सामान उत्पादन गर्ने उद्योग स्थापना हुनु गर्वको विषय भएको बताए ।

जावलाखेल र लगनखेलमा स्मार्ट पार्किङ बनाउँदै ललितपुर महानगर

फाइल तस्बिर काठमाडौं । ललितपुर महानगरपालिकाले पार्किङलाई व्यवस्थित गर्नका लागि स्मार्ट पार्किङ निर्माण गर्ने योजना बनाएको छ । महानगरले आधुनिक प्रविधिको स्मार्ट पार्किङ बनाउने योजना अघि सारेको हो । सो पार्किङ जावलाखेल र लगनखेलमा निर्माण गर्ने योजना रहेको महानगरपालिकाले बताएको छ । महानगरपालिकाले चालु आर्थिक वर्ष २०७९/८० मा जावलाखेल र लगनखेलको फुटबल ग्राउन्डमा अन्डरग्राउन्ड पार्किङको सम्भाव्यता अध्ययन तथा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्नको लागि बजेट पनि छुट्याएको थियो । वार्षिक नीति तथा कार्यक्रममा राखेको योजना अन्तर्गत पार्किङ बनाउने योजना अगाडि बढ्न लागेको ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले बताइन् । उनका अनुसार चालु आवमा जावलाखेल र लगनखेलको फुटबल ग्राउन्डमा अन्डरग्राउन्ड पार्किङको सम्भाव्यता अध्ययन र डीपीआर गर्नका लागि २० लाख रुपैयाँ बजेट छुट्याइएको छ । सवारी साधनको चाप र अव्यवस्थित सवारीसाधनको पार्किङलाई व्यवस्थित गर्ने उद्देश्यले महानगर पार्किङ स्थल निर्माणको तयारीमा जुटेको पनि उनले बताइन् । महानगरपालिकाले सो ठाउँमा चालु अवभित्र सम्भाव्यता र डीपीआर गरी आगामी आर्थिक वर्ष २०८०/८१ मा बजेटको सुनिश्चित गरी पार्किङ बनाउने लक्ष्य लिएको थियो । तर, महानगरपालिकाले पार्किङ स्थलको डीपीआर निर्माणको काम यो वर्ष गर्न सकेन । जग्गा व्यवस्थापन र जग्गा विवादको कारण कामलाई समयमा नै अगाडि बढाउन नसकेको उपमेयर शाक्यले बताइन् । ‘हामीले यही वर्ष डिपिआर तयार गर्ने भनेर लागेका थियौं, जग्गाको समस्या भएकाले समयमा नै काम अगाडि बढाउन सकिएन, आगामी आर्थिक वर्षमा डीपीआर गरी काम अगाडि बढाउने लक्ष्य लिएका छौं,’ उनले भनिन् । महानगरले डीपीआरको काम पूरा गरी आगामी आवको अन्तिम तिरबाट पार्किङ निर्माणको काम शुरु गर्ने शाक्यले बताइन् । उनका अनुसार महानगरपालिकाले पार्किङ निर्माणको जग्गा तथा बजेट व्यवस्थामा सहरी विकास मन्त्रालय लगायतका निकायसँग पनि आवश्यक समन्वय गरिरहेको छ । पार्किङ स्थलको निर्माण गर्दा कति खर्च लग्छ भन्ने जानकारी डीपीआर तयार भएपछि मात्र आउने पनि शाक्यले बताइन् । ‘महानगर भित्र पार्किङको आवश्यकता छ, अहिले हामीले सडकमा पार्किङ गर्न दिएका छैनौं, त्यसैले अर्को विकल्प नदिने हो भने अर्को समस्या आउँछ, त्यसैले पनि महानगर भित्रका विभिन्न ठाउँमा पार्किङ बनाउन आवश्यक छ,’ उनले भनिन् । अहिले ललितपुर महानगरपालिका भित्रका धेरै स्थानमा सवारी पार्किङ गर्दा शुल्क लाग्दैन । महानगर भित्र जहाँ गयो त्यही शुल्क बुझाउनु पर्ने अवस्थालाई अन्त्य गर्नको लागि पार्किङमा लाग्ने शुल्क हटाएको पनि शाक्यले बताइन् । ‘हाम्रो लक्ष्य महानगर भित्र पूर्वाधार विकास गरी सफा सहरको रूपमा विकास गर्नु हो, यो उद्देश्य अन्तर्गत सहरमा पार्किङ नहुँदा उपत्यका भित्र धेरै जाम हुने समस्या आयो, त्यसपछि हामीले पार्किङ बनाउनको लागि लगानी गरिदिने सोच बनाएका हौं,’ उनले भनिन् ।

अमेरिकी राजदूतले गरे ग्रोबाईडेटाको नयाँं शाखाको उद्घाटन

काठमाडौं । अमेरिकी राजदूत डीन आर थम्पसनले इन्टेलिजेन्स फर्म ग्रोबाईडेटा नामक संस्थाको नयाँं शाखाको उद्घाटन गरेका छन् । बोस्टन र काठमाडौंमा आधारित मार्केटिङ इन्टेलिजेन्स फर्म ग्रोबाईडेटाको नयाँं शाखाको सानेपामा उद्घाटन गरिएको हो । कार्यक्रममा संस्थाका व्यवस्थापकीय साझेदार प्रसन्न ढुङ्गेलले ग्राहकहरुको बृद्धिका कारण नयाँं शाखा विस्तार गर्नुपरेको बताए । नयाँ भवन विश्वसनीयता बृद्धि गर्न र क्रस–टीम सहकार्यलाई प्रवर्द्धन गर्न डिजाइन गरिएको उनले सुनाए । हामी शीर्ष मार्केटिङ फर्महरूको मार्केटिङ इन्टेलिजेन्स साझेदार बन्ने आकांक्षा राख्छौं, उनले भने, यसले उनीहरूलाई नयाँ रणनीतिहरू बनाउन समर्थन गर्न सहयोग प्रदान गर्दछ । ग्रोवाईडेटाको नयाँ कार्यालयको उद्घाटनले ब्लु–चिप ग्राहकहरूलाई विकसित डिजिटल मिडिया परिदृश्यमा उद्योग–अग्रणी अन्तरदृष्टि प्रदान गर्न इन्जिनियरिङ, ग्राहक सफलता र मार्केटिङमा क्रस–टीम सहयोगको महत्वलाई समर्थन गर्न सहयोग पुग्ने उनको विश्वास छ । सन् २०१४ मा ग्रोवाईडेटा नक्सलमा एक कोठाको साझा कार्यालय स्थानबाट भएको थियो । ६ जना सदस्यहरूको टोलीसँग सुरु भएको यो संस्थामा हाल बोस्टन र काठमाडांै कार्यालयहरूबाट काम गर्ने १०० भन्दा बढीको संलग्नता रहेको कार्यक्रममा बताइयो । हामीले २०१४ मा केवल एक ग्राहकलाई सेवा दिन थालेका थियौं र अब आधा दर्जन एजेन्सीहरूमार्फत एक सय भन्दा बढी ब्रान्डहरूसँग सहकार्य गर्दैछौं, कार्यक्रममा संस्थाको अपरेशनका भीपी सुबिन श्रेष्ठले भने । स्थानीय समुदायलाई सहयोग गर्न धेरै सीएसआर कार्यक्रमहरूसँगै अमेरिका र नेपाल दुवै अर्थतन्त्रमा योगदान दिन पाउँदा उनले हर्ष प्रकट गरे । २०१४ मा स्थापित ग्रोवाईडेटाले मार्केटिङ अन्तर्दृष्टि प्रदान गर्न, आवाजको साझेदारी, मूल्य निर्धारण, प्रवर्द्धन, ग्राहक समीक्षा, प्रतिस्पर्धी गतिशीलता र अन्य डिजिटल विशेषताको रिपोर्टिङ सक्षम गर्ने जनाइएको छ । फर्मले सफलतापूर्वक विश्वव्यापी विज्ञापन एजेन्सीहरू र उनीहरूको घरेलु ब्रान्ड ग्राहकहरूलाई सेवा प्रदान गर्ने जनाइएको छ ।

एनआईबीएल एस क्यापिटल र डियरवाक अटो सर्भिसबीच सम्झौता

काठमाडों । एनआईबीएल एस क्यापिटल र डियरवाक अटो सर्भिसबीच सम्झौता भएको छ । सम्झौता अनुसार एनआईबीएल फण्ड अन्तर्गत सञ्चालित एनआईबीएल सहभागीता फण्डमा कर्पोरेट पेरोल एसआइपी मार्फत उक्त कम्पनीले लगानी गर्ने भएको हो । यस योजना अनुसार डियरवाक अटो सर्भिसका विभिन्न तहका कर्मचारीले आफुले इच्छा गरे अनुरुप मासिक रुपमा आफ्नो तलबको केहि अंश लगानी गर्न सक्नेछन् । उक्त सम्झौतामा डियरवाक अटो सर्भिसका तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत दबे श्रेष्ट र एनआईबीएल एस क्यापिटलको तर्फबाट कम्पनीका म्युचुअल फण्ड प्रमुख पोस्कर बस्नेतले हस्ताक्षर गरेका थिए ।

आइजीआई प्रुडेन्सियलले पायो धितोपत्र बोर्डबाट अन्तिम स्वीकृति

काठमाडौं । मर्जर प्रकृयामा रहेका आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सले एकीकृत कारोबारको लागि नेपाल धितोपत्र बोर्डबाट अन्तिम स्वीकृति पाएको छ । दुई कम्पनीले मंगलबार बोर्डबाट मर्जरको लागि अन्तिम स्वीकृति पाएको हो । यी दुबै कम्पनीले आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नामबाट आगामी बैशाख अन्तिम सातादेखि एकीकृत कारोबार शुरू गर्ने योजना बनाएको छ । मर्जरपछि बन्ने नयाँ कम्पनीको अध्यक्ष हेमराज ढकाल र सीईओ युगेश भक्त बादे श्रेष्ठ बन्ने छन् ।ढकाल र श्रेष्ठ दुवै आइएमई जनरल इन्स्योरेन्सका हुन् । त्यस्तै, श्रवण रावल वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) हुनेछन् । रावल प्रुडेन्सियल इन्स्योरेन्सका सीईओ हुन् । मर्जपश्चात आईजीआई प्रुडेन्सियलको चुक्ता पुँजी ३ अर्ब २ करोड रुपैयाँ पुगेको छ । दुई कम्पनी बराबरी हैसियत अर्थात स्वाप रेसियो एक बराबर एकको अनुपातमा मर्ज हुने सहमति भएसँगै कम्पनीको पुँजी बढेर ३ अर्ब नाघेको हो । जुन निर्जीवन बीमा क्षेत्रमा सर्वाधिक पुँजी रहेको सिद्धार्थ प्रिमियरको तुलनामा बढी हो । साथै, कम्पनीले कर्मचारी समायोजन पनि बराबरी हैसियतमा गर्ने भएका छन् ।

मनाङवासी यार्सागुम्बा टिपेर आम्दानीको स्रोत जुटाउँदै

मनाङ । बहुमुल्य जडीबुटी यार्सागुम्बा सङ्कलनका लागि मनाङवासी लेकतर्फ लागेका छन् । आम्दानीको स्रोतका रूपमा रहेको औषधिजन्य जडीबुटी यार्सागुम्बा सङ्कलनका लागि उनीहरु यतिबेला जिल्लाका विभिन्न ठाउँ पुगेका छन् । मौसम अनुकूल भएसँगै मनाङवासी यार्सागुम्बा सङ्कलनमा व्यस्त हुन थालेका छन् । मनाङवासीको आयस्रोत कृषि तथा जङ्गली औषधिजन्य जडीबुटी हो । जडीबुटी सङ्कलनका लागि नासों गाउँपालिकाअन्तर्गत पहिलो चरणमा यार्सागुम्बा टिप्न नाम्के खर्क मनाङवासी पुगेका छन् । यससँगै माथिल्लो मनाङअन्तर्गत खाङ्सारखर्क र नारफुखर्क पुगेर मौसम र समयका आधारमा यार्सागुम्बा टिप्नने गरेको स्थानीय बताउँछन् । चामे गाउँपालिका–४ जगबहादुर गुरुङ भन्छन्, ‘अहिले उपयुक्त मौसम भएकाले यार्सागुम्बा टिप्न लेकतर्फ जाँदै छौँ ।’ जडीबुटी सङ्कलनका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप इलाका कार्यालय मनाङको बैठकले यार्सागुम्बा सङ्कलन गर्न इजाजत प्राप्त भएपछि समितिमार्फत पूर्जी दिने निर्णय गरिएको थियो । बैठकको निर्णयबमोजिम नै यार्सागुम्बा सङ्कलन गर्न पाउने भएपछि मनाङवासीलाई चटारो छ । जडीबुटी सङ्कलन मनाङवासीको मुख्य आयस्रोत मानिन्छ । यार्सा सङ्कलनका लागि जिल्लावासी मात्रै नभएर बाहिरी जिल्लाबाट पनि यहाँ आउने गर्दछन् । प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलले यार्सागुम्बा सङ्कलकको सुरक्षाका लागि आवश्यक व्यवस्था गरिएको बताए । नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन थालिएको छ । नारफु र माथिल्लो मनाङको खाङ्सार खर्कमा पनि यार्सा सङ्कलन गर्न सकिने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप इलाका कार्यालय मनाङका प्रमुख लेखनाथ गौतमले जानकारी दिए । असार पहिलो हप्तासम्म यार्सा सङ्कलन गरिनेछ । मनाङ बाहिरबाट यार्सागुम्बा तथा अन्य जडीबुटी सङ्कलन र खरिद गर्न आउने व्यक्तिले अनिवार्यरूपमा कोभिड–१९ विरुद्धको खोप लगाएको परिचयपत्र लिएर आउनुपर्ने छ । रासस

महोत्तरीमा खानेपानीको संकट, बालीनाली सुक्न थाले

महोत्तरी । घामको प्रचण्ड राप र तातो हावा बहने क्रम सुरु भएसँगै महोत्तरीको उत्तरी क्षेत्रमा खानेपानीको सङ्कट बढेको छ । गर्मीयाममा खानेपानीका स्रोतका मुहान सुक्दै र गहिरिँदै गएपछि बर्दिबास नगरपालिकासहित उत्तरी क्षेत्रका बस्तीमा खानेपानीको हाहाकार भएको छ । ‘इनारको पानी सुक्दै गएको छ, पानी तान्न झारिएको डोल (बाल्टिन) डुब्न छाड्यो’, बर्दिबास–९ पशुपतिनगर, झ्याकुलेटोलका राजकिशोर महतोले इनार देखाउँदै भने, ‘बयलगाडा जोतेर पानी लिन दुई/तीन किलोमिटर परका बस्तीमा जानुपर्ने दिन आउँदैछन् ।’ खानेपानीको सङ्कट व्यहोर्दै आएका पशुपतिनगरका बासिन्दाले यसअघि कयौँ साल बयलगाडा जोतेर पानी ल्याएको सम्झिरहेका छन् । करिब चार हजार जनसङ्ख्या रहेको पशुपतिनगरका सात–आठ टोल बस्तीमा गरी एक सयभन्दा बढी इनार छन् । सबैजसो इनारमा अहिले पानी जमौट (इनारको सबभन्दा तलको बन्धन, जहाँबाट इनार ठड्याउँदै लगिन्छ)को घेरामा पुगेको सो बस्तीकै ब्रह्मदेव महतो बताउँछन् । सामान्यतया प्रत्येक वर्ष वैशाख–जेठमा यहाँका इनारमा पानीको सतह गहिरिँदै जाने भए पनि यसपालि भने चैतदेखि नै यो समस्या बढेको हो । यसपालि हिउँदे वर्षा नहुँदा इनारमा पानीको सतह चैतमै गहिरिएको पशुपतिनगर गोमस्ताटोलका उत्तमबहादुर राना बताउँछन् । हिउँदे वर्षा कम भएकाले खानेपानीको सङ्कट भएको पशुपतिनगरका बासिन्दाको अनुभव छ । झ्याकुले टोलका इनार पूरै सुकिसकेका स्थानीय सुरेन्द्र महतोको भनाइ छ । ‘हामी यो टोलका आठ–दश घर त पानी लिन साइकलमा गाग्री झुण्ड्याएर करिब दुई किलोमिटर परको खेतको इनारमा जान थालेका छौँ’, उनले भने । बस्तीका धेरैजसो इनारमा पानीको सतह जमौटमै पुगिसकेको छ । मोटरबाट पानी तान्न ओछ्याइएका पाइपको काम सकिएको छ । इनार धमाधम सुक्दै गएपछि बालीनाली सुक्न थालेका छन् । तरकारीखेती मुख्य बाली लगाइने यहाँ लहरे तरकारीका बोट पानी नपाएर सुक्दै गएका छन् । अहिले लटरम्म फल्नुपर्ने वैशाखी सिजनका लौका, फर्सी, करेला, घिरौला र झिमनीका लहरा चर्को घामको रापले सुकेपछि किसानलाई खानेपानीसँगै अबको गुजाराको चिन्ताले पनि पिरोल्न थालेको छ । पशुपतिनगरमा खानेपानीको सङ्कट टार्न बोरिङबाट मोटरले पानी तानेर टयाङ्कीमा भण्डारण गरी घरघरै धाराबाट पानी दिने व्यवस्थाका लागि काम भइरहेको छ । ‘खानेपानीका धारा सञ्चालनमा ल्याउने योजना छ’, बर्दिबास–९ का वडाध्यक्ष घुरन महतोले भने । बर्दिबासमा पशुपतिनगरमात्र नभएर बिजलपुरा, विजयबस्ती, प्रेमनगर, फुलबारीटोल, किसाननगर, मनहरिपुर र कृष्णपुरसहितका बस्तीमा पनि खानेपानीका मुख्य स्रोत इनार नै हुन् । यी बस्तीका इनार पनि धमाधम सुक्दै जाँदा खानेपानी र सिँचाइको समस्या बढ्दो छ । बर्दिबासबाहेक उत्तरी क्षेत्रकै गौशाला नगरपालिकाका भरतपुर, लक्ष्मीनियाँ (पहिलेका गाविस क्षेत्र) र भङ्गाहा नगरपालिकाका रामनगर, भूचक्रपुर, प्रेमनगर र टोकासहितका बस्तीका इनार पनि सुक्दै गएका छन् । ‘पहिले खन्दा १५–१६ हातमै पानीको मूल फुट्थ्योे’, ३० वर्ष पहिले खनिएको इनार देखाउँदै भङ्गाहा–४ रामनगरका ७५ वर्षीय दीपबहादुर फुँयालले भने, ‘त्यसयता इनार सुक्दै गएपछि भित्र सानाकोठी थप्दै लगेर अहिले इनार ४० हात गहिरो भइसकेको छ ।’ पानी सुक्दै गएपछि इनार गहि¥याउँदै लगिएसँगै पानीको सतह झन्–झन् गहिरिँदै गएको फुँयालको भनाइ छ । पछिल्ला वर्षहरूमा प्राकृतिक सम्पदा (पहाडी थुम्का, नदी किनार, नदीउकास र वनक्षेत्र)को अनियन्त्रित दोहन बढेसँगै सन्तुलित वर्षा हुन छाडेको हुँदा पानीका स्रोतका मुहान गहिरिँदै गएको सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिबासका अध्यक्ष नागदेव यादव बताउँछन् । प्राकृतिक सम्पदाको अनियन्त्रित दोहन बढेसँगै वातावरणीय सन्तुलन खलबलिएको छ । यसले गर्दा अल्पवृष्टि, अनावृष्टिसँगै बाढीपहिराका समस्या बढ्दैछन् । चुरे क्षेत्रका खोल्साखोल्सीको व्यवस्थापन हुन नसक्दा त्यहाँबाट बाढीसँगै झर्ने गेग¥यान नदीमा थुपरिने गर्दा कतिपय बस्ती नदी सतहभन्दा होचिएर डुबानमा र सिरानका बस्ती कटानको जोखिममा पर्ने गरेका यादव बताउनुहुन्छ । यसैगरी यसको प्रतिकूल प्रभाव जलाधार क्षेत्रमा पर्दा यस्ता क्षेत्र सुक्खा बगरमा परिणत हुँदैछन् । ‘यसको स्थायी समाधानका लागि प्राकृतिक सम्पदाको सन्तुलित उपयोग, सघन वृक्षरोपण, खोल्साखोल्सी व्यवस्थापन गरेर गेग¥यान नदीमा नझर्ने व्यवस्था र ठाउँ–ठाउँमा पानी पुनःभरणका लागि पोखरी निर्माणमा लाग्नुपर्छ’, यादवले भने । पूर्वपश्चिम राजमार्ग माथि (उत्तर)को चुरे पहाडी क्षेत्रमा खनिने पोखरीले तलसम्मकै जमिनको सतहमा पानी रसाउँदै गएपछि इनार, बोरिङ सुक्ने समस्या घट्दै जाने यादवको भनाइ छ । यस कार्यमा पूर्वपश्चिम राजमार्ग वरपरका स्थानीय तहले संयुक्तरूपमै पहलकदमी बढाए यो बढी प्रभावकारी हुने यादवले बताए । धनुषाको मिथिला र महोत्तरीको बर्दिबास र गौशाला नगर क्षेत्रमा पानी पुनःभरणका एक सय ८८ पोखरी खनिएका छन । खोल्सी व्यवस्थापन र पानी पुनःभरणका पोखरी बनाउन महोत्तरीका मात्र नभएर कमला पश्चिम र बागमती पूर्वका धनुषा र सर्लाहीका स्थानीय तहले पनि तत्काल पहलकदमी बढाउनुपर्ने देखिन्छ । रासस