दाङ । दाङ तुलसीपुर उपमहानगरपालिका–६ स्थित माधव शर्माले यस वर्ष उत्पादन गर्नुभएको २ टन मह बिक्री भएको छैन । उनी मह बिक्री नहुँदा त्यतिकै थन्काएर राख्नुपर्ने बाध्यतामा परेका छन् ।
त्यस्तै तुलसीपुर–१५ का किसान आशिष अधिकारीले उत्पादन गरेको ६ टन मह मध्ये साढे २ टन मात्रै बिक्री गरेका छन् । ‘साढे ३ टन मह थन्काएर राखेको छु,’ उनले भने ।
उनीहरु उदाहरण मात्रै हो । विगत दुई वर्षदेखि दाङमा उत्पादन भएको महले बजार पाउने गरेको छैन । भारतबाट आउने महले गर्दा जिल्लामा उत्पादन भएको महले बजार नपाउने गरेको किसानको गुनासो छ ।
‘बिना भन्सार भारतबाट मह आउँछ, भारतबाट आउने कम गुणस्तरको महले हाम्रो मह बिक्री हुने गरेको छैन,’ किसान शर्माले भने ।
विगतमा मौरीबाट राम्रै आम्दानी गर्ने गरेका किसान पनि पछिल्लो समय यसप्रति भविष्य देख्न छाडेका छन् । कच्चा पदार्थ एक वर्षसम्म पनि नबिग्रिने भएपछि जिल्लामा किसान यो पेसामा आकर्षित थिए तर, उत्पादित महले बजार नपाएपछि भने यो पेसाप्रति भविष्य देख्न छोडेका किसान आशिष अधिकारीको भनाइ छ ।
‘यो पेसाप्रति किसान आकर्षित थिए, विगतमा राम्रै आम्दानी थियो, तर, अहिले मह बिक्री नभएपछि पलायन हुने अवस्था छ,’ उनले भने ।
बिक्री नभए पनि एक वर्षसम्म राख्न सकिन्छ तर, त्योभन्दा बढी समय भएमा मह बिग्रिने समस्या हुन्छ । भारतबाट ल्याइएको मह पातलो हुने भएकाले उपभोक्ताले पनि त्यही मह नै मन पराउँछन् तर, गुणस्तर मह जम्छ, भन्ने कुरा उपभोक्ताले नबुझ्दा त्यही भारतीय मह नै किक्ने गरेको किसानको गुनासो छ ।
जिल्लामा हाल ५ सय हाराहारीमा मौरी पालक किसान छन् । किसानको सङ्ख्या बढे पनि उत्पादित मह बजारीकरणमा ध्यान नदिनु सरकारको पनि कमजोरी रहेको किसान अधिकारीले बताए । दाङमा मात्रै करिब २ सय टनभन्दा बढी मह बिक्री नभएको उनले बताए ।
उपभोक्ताले पनि स्थानीय उत्पादन नचिन्दा जिल्लामा उत्पादन भएको महले बजार पाउन नसकेको तुलसीपुर उपमहानगरपालिका कृषि महाशाखा प्रमुख धनराज गौतमले बताए ।
‘जडीबुटी, चरण क्षेत्रमा उत्पादन भएको महले बजार पाउन सकेको छैन, भारतबाट आएको मह सस्तो पनि पाउने र नजम्ने भएकाले पनि उपभोक्तालाई त्यसलाई नै मन पराउने गर्नुहुन्छ, तर, यहाँ उत्पादन भएको गुणस्तर मह किन्नुहुन्न, त्यसले गर्दा पनि समस्या बनाएको छ,’ उनले भने ।
मह बिक्री नभएपछि किसान समस्यामा परेका छन् । जिल्लाका किसानले मौरी चराउनका लागि बर्दिया, कैलाली लैजाने गर्थे । मह बिक्री नहुने भएपछि खर्च कटौती गर्दै यस वर्ष बाहिर नलगेको किसान शर्माले बताए ।
किसानको यही कारणले यस वर्ष जिल्लामा मह उत्पादन पनि घटेको छ । यस वर्ष जिल्लामा करिब ३ सय टन मह उत्पादन भएको छ । गत वर्ष जिल्लामा करिब ४ सय ५० टन मह उत्पादन भएको थियो ।रासस