काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन सरकारको सल्लाहमा आन्दोलन गर्न गएको बताएका छन् । सोमबार प्रेस सेन्टर नेपाल चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।
उनले वैशाख १४ गते महावीर पुन बालुवाटार गएको र आफूसँग सल्लाह गरेर नै आन्दोलनमा उत्रिएको बताए । उनले महावीर पुनले आफूसँग केही मँग राखेको र ती माग पूरा गर्न सरकार तयार रहेको बताए । उनले सरकारले महावीर पुनलाई वास्ता गरेन भन्नु गलत भएको बताए ।
उनले भने, ‘महावीर पुन माईतीघर मण्डलामा बस्ने अघिल्लो दिन मसँग आउनुभएको थियो, बालुवाटारमा । केही माग गर्नुभएको छ । म त माईतीघरमा बस्छु है कस्तो हुँदो रहेछ भनेर भन्नुभएको थियो, मैले नै भन्न त मिलेन, तर तपाई बस्नुभए सजिलो हुन्छ बजेट बनाउन भनेको थिएँ, सरकारले वास्ता गरेन भन्ने झुटो कुरा हो । सरकारसँगै छलफल गरेर, सल्लाह भएर उहाँ बस्नुभएको हो ।’
प्रधानमन्त्री दाहालले पूर्वलडाकुलाई रकम दिने विषय विसं २०७१ को सरकारले गरेको निर्णय भएको उनले बताए । उनले तत्कालीन समयमा अर्थमन्त्री विष्णु पौडेल रहेको र काँग्रेस एवं एमाले सरकार रहँदा छलफल भएर टुङ्गिएको विषय भएको बताए ।
तत्कालीन समयमा सर्वोच्च अदालतमा मुद्दा परेका कारण रोकिएको र अहिले दिन मिल्नेगरी फैसला भएकाले रकम दिन लागिएको बताए । उनले आर्थिक समस्याका कारण लडाकुलाई किस्ताबन्दीमा रकम दिने विषयमा छलफल भइरहेको पनि बताए ।
प्रधानमन्त्री दाहालले रास्वपा आफू नेतृत्वको सरकारमा आउने पनि बताए ।