विकासन्युज

दातृ निकायसँग अर्थमन्त्रीको आग्रह : वैदेशिक ऋण र अनुदान बढाइदिनुस्

काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले नेपालमा रहेका अन्तर्राष्ट्रिय विकास साझेदारहरुसँग आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटका विषयमा छलफल गरेका छन् । छलफलमा विश्व बैंक, एशियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र अन्तर्राष्ट्रिय वित्त निगम जस्ता बहुपक्षिय विकास साझेदार, अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग, जापान, कोरिया, स्विजरल्याण्ड, नर्वे, फिनल्याण्ड, युरोपियन युनियन, जर्मनी लगायतका द्वपक्षीय विकास साझेदार संस्थाहरुका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । छलफलका क्रममा अर्थमन्त्री डा. महतले नेपाल सरकारका आगामी दिनका प्राथमिकता, आगामी बजेटले लिने मार्ग दर्शन, सिद्धान्तका विषयमा धारणा राख्दैँ नेपाल सरकारले उपलब्ध साधन र स्रोतको उच्चतम सदुपयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । नेपाल सरकारको ऋण बढ्दोक्रममा रहेको सन्दर्भमा आगामी दिनमा सावा ब्याज तिर्न सक्ने खालका उत्पादनशील क्षेत्रमा लगानी गर्ने प्राथमिकता रहेको जानकारी समेत उनले गराएका थिए । साथै उनले आगामी दिनमा सिर्जना हुने दायित्वका विषयमा नेपाल सरकार अत्यन्तै सजग रहेको समेत उल्लेख गरेका थिए । डा.महतले वैदेशिक ऋण संगसंगै उल्लेख्यरुपमा अनुदान उपलब्ध गराउन र जलवायु परिवर्तनको कारक नेपाल नभएको हुँदा यस क्षेत्रमा आउने सहायता पनि अनुदानकै रुपमा परिचालन गर्न आग्रह गरेका छन् । छलफलका क्रममा विकास साझेदारहरुबाट प्राप्त राम्रा सुझाव सल्लाहलाई धन्यवाद दिदै डा. महतले आगामी दिनमा सहकार्य गर्दै जाने उल्लेख समेत गरेका थिए । अन्तर्राष्ट्रिय विकास साझेदारका प्रमुख एवम् प्रतिनिधिहरुले नेपाल सरकारले बजेटमा लिने प्राथमिकता र कार्यक्रममा साथ, सहयोग र समर्थन हुने विश्वास दिलाएका छन् । नेपाल सरकारले लिएको लक्ष्य र प्राथमिकतालाई नै विकास साझेदारहरुले अबलम्वन गर्ने, नेपालको राष्ट्रिय नीति, प्रणाली र संरचनाको माध्यमबाट वैदेशिक सहायता परिचालन गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै विदेशी साझेदारहरुसंग समेत समय–समयमा गरिने संवादको श्रृंखलाका लागि धन्यवाद दिदै आगामी दिनमा संयुक्त सहकार्यलाई थप घनिष्ठ पार्दै जाने विश्वास व्यक्त गरेका थिए । छलफलका क्रममा अन्तर्राष्ट्रिय विकास साझेदारहरुले विभिन्न सुझावहरु दिएका छन् । पूँजीगत खर्चमा सुधार गर्नुपर्ने, सार्वजनिक संस्थान व्यवस्थापनमा सुधार गर्नुपर्ने, खर्चमा दोहोरोपना घटाउने, आन्तरिक स्रोत परिचालनका लागि सुधार खाका तयार गर्ने, सार्वजनिक र निजी वित्तीय साधन राष्ट्रिय प्राथमिकतामा प्रवाह गर्ने सुझाव दिएका छन् । त्यसैगरी स्वास्थ्य, शिक्षा, सामाजिक सुरक्षा र पोषणमा लगानी वृद्धि गर्ने, करको दायरा विस्तार गर्ने, न्यून पूँजीगत खर्च र कमजोर खरिद क्षमतामा सुधार गर्ने, अनौपचारिक क्षेत्रलाई क्रमशः औपचारिक क्षेत्रमा परिवर्तन गर्दै करको दायरा विस्तार गर्ने सुझाव दिएको जनाईएको छ ।

ज्योति विकास बैंकको गोकर्ण शाखा उद्धघाटन

काठमाडौं । ज्योति विकास बैंकले गोकर्णमा शाखा उद्धघाटन गरेको छ । बैंकले बिहीबार काठमाडौंको गोकर्णमा १२०औं शाखाको औपचारिक उद्धघाटन गरेको हो । उक्त बैंकले ग्राहक समक्ष बैंकिङ्ग सेवाको पहुंच विस्तार गर्दै गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले बैंकले नयाँ शाखा सञ्चालनमा ल्याएको हो । गोकर्णेश्वर नगरपालिका वडा नं. ४, काठमाडौंस्थित गोकर्ण शाखाको समुद्धघाटन गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक कुमार रिसाल र बैंकका संचालक राम कुमार श्रेष्ठले संयुक्त रुपमा गरेका थिए । उद्धघाटन समारोहमा बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत कपिल ढकाल लगायत विभिन्न पदाधिकारी, कर्मचारीहरु, ग्राहकवर्ग तथा स्थानीय व्यवसायीहरुको पनि उपस्थिति रहेको थियो । उक्त उद्धघाटन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक कुमार रिसालले बैंकको नयाँ शाखाले सो क्षेत्रका ग्राहकहरुका लागि बैंकिङ सेवा थप सुलभ र सहज बनाई वित्तीय समावेशीकरणलाई प्रवद्र्धन गर्नुका साथै उत्पादनशील क्षेत्रमा लगानी गर्दै सो क्षेत्रको आर्थिक वृद्धि र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे । साथै, बैंकका संचालक राम कुमार श्रेष्ठले नयाँ शाखा मार्फत बैंकिङ्ग सेवा थप विस्तार भएको र आगामी दिनहरुमा पनि ज्योति विकास बैंकले सेवाग्राहीलाई अझ सहज, सरल र आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । यसका साथै, बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले कार्यक्रममा बोल्दै ज्योति विकास बैंक देशको उद्यमशीलता र अर्थतन्त्रमा योगदान गर्ने ध्येय बोकी नागरिकहरुको समृद्धिमा सधैँ साथ दिन र उच्चतम बैंकिङ्ग सेवा प्रदान गर्न अग्रसर रहेको कुरामा थप प्रकाश पारे । शाखा विस्तारसँगै उपत्यका र उपत्यकाबाहिर गरी ज्योति विकास बैंकको १२१ वटा शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम पुगेको छ ।

कसैको दवाव छैन, शरणार्थी प्रकरणका सबैलाई कारबाही गर्छु

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भनेर ठगी गर्ने गिरोहको सबै नेक्ससलाई कारबाहीको दायरमा ल्याइने बताएका छन्। बिहीबार आफूसँग भेट गर्न आएका नेकपा एसका नेता तथा जनवर्गीय संगठनका नेताहरूसँगको छलफलका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले दोषीलाई कुनै पनि हालतमा नछाड्ने र निर्दोष कुनै पनि हालतमा नफस्ने गरी सरकार अगाडि बढेको बताएका हुन । ‘निर्दोष कुनै पनि हालतमा पर्ने छैनन्, दोषी कुनै पनि हालतमा छुट्ने छैनन्’, श्रेष्ठले भने । श्रेष्ठले यो कार्य सामान्य भ्रष्टाचार मात्रै नभएर संगठित अपराध भएको उल्लेख गरे । अझ त्योभन्दा बढी यो राज्यविरुद्धकै अपराध भएको पनि उनको भनाइ छ । ‘यो भ्रष्टाचार मात्रै होइन माथिदेखि तलसम्म मिलेर चलाइएको संगठित अपराध हो । यो यतिमा मात्रै सीमित नभएर आफ्नो देशका नागरिकलाई अनागरिक बनाउने राज्यविरुद्धकै अपराध हो’, उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘यो यसकै सबै नेक्ससलाई कानुनी कारबाहीको दायरामा ल्याउनेतर्फ हामी अगाडि बढेका छौँ ।’ श्रेष्ठले यो प्रकरणमा आफूलाई कुनै पनि नेताले दबाब नदिएको उल्लेख गर्दै दबाब आए त्यसलाई थेगेरै भए पनि अनुसन्धान प्रक्रियालाई निष्कर्षमा पुर्‍याइने दृढता व्यक्त गरे । शरणार्थी प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट आफूले दह्रो साथ र आडभरोसा पाएको उपप्रधानमन्त्री श्रेष्ठको भनाइ छ । ‘मलाई अहिलेसम्म शीर्ष नेताले यसलाई नपक्रनुस् उसलाई नपक्रनुस् भनेर दबाब दिनुभएको छैन, दोषी नफसोस् र निर्दोष नउम्कियोस् भन्ने नै उहाँहरूको कुरा छ’, श्रेष्ठले भने, ‘प्रधानमन्त्रीको निर्देशन र आडभरोसा छ । दोषीलाई कारबाही गरियोस् निर्दोस नपरुन् भन्ने छ सबैको कुरा ।’ सिंगो देश भ्रष्टाचार र कमिसनले आक्रान्त बनेको उल्लेख गर्दै श्रेष्ठले त्यसबाट मुक्त गराइने बताए। ‘राजनीतिक दबाबको सामना गर्ने म छु, तपाईंहरू पनि अन्य चलखेलमा नलागी अनुसन्धान गर्नुहोला भनेर प्रहरीलाई भनेको छु’, श्रेष्ठले भने ।

घट्यो सेयर बजार, सबैभन्दा बढी कमाउने र गुमाउने दुवै लघुवित्त

काठमाडौं । बिहीबार सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार बिहीबार सेयर बजार ३.३४ अंकले घटेर १८३८.५९ विन्दुमा पुगेको छ । नेप्से सामान्य घट्दा कुल २१ लाख ५ हजार ६५७ कित्ता सेयर किनबेच हुँदा ५७ करोड रुपैयाँको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार नेपाल दुरसन्चार प्राधिकरणले तीन करोड १५ लाख रुपैयाँको कारोबार भएको छ । यस्तै, आज सबैभन्दा बढी आत्मानिर्भर लघुवित्त वित्तिय संस्थाका सेयरधनीले कमाएका छन् । संस्थाका सेयरधनीले प्रति कित्ता ३८ रुपैयाँ कमाएका छन् । यस्तै, सबैभन्दा बढी गुमाउनेमा फर्वर्ड माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्थाका सेयरधनीले गुमाएका छन् । कम्पनीका सेयरधनीले प्रतिकित्ता ७१.१० रुपैयाँ गुमाएका छन् ।

जेठमा बैंकहरुको कर्जाको ब्याजदर घट्ने, निक्षेपको भने स्थिर रहने

काठमाडाैं । जेठमा वाणिज्य बैंकहरुकाे निक्षेपको ब्याजदर स्थिर रहने भएकाे छ । बिहीबार बसेकाे बैंकर्स संघको बैठकले जेठमा निक्षेपको ब्याजदर स्थिर राख्ने निर्णय गरेको हो । हाल वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ९.९९ र संस्थागत मुद्दतीमा अधिकतम ७.९९ प्रतिशत ब्याजदर दिँदै आएका छन् । गत चैतमा बैंकहरुले व्यक्तिगत मुद्दतीमा ११ र संस्थागत मुद्दतीमा ९ प्रतिशत दिँदै आएका थिए । यद्यपि बैंकहरुले जेठमा निक्षेपको ब्याजदर नघटाए पनि कर्जाको ब्याजदर भने घट्ने भएकाे छ ।हरेक महिना ब्याजदर परिवर्तन गर्न पाउने नेपाल राष्ट्र बैंकको नीतिगत व्यवस्थाका कारण जेठमा कर्जाको ब्याजदर घट्ने भएको हो । पछिल्ला महिनाहरुमा बैंकहरुको आधार दर घट्दो क्रममा रहेको छ । बैंकहरुले कर्जाको ब्याजदर निर्धारण गर्दा पछिल्लाे ३ महिनाको बेस रेटलाई आधार मान्नुपर्ने भएकोले जेठदेखि कर्जाको ब्याजदर घट्ने भएको हो । हाल कर्जाको औसत ब्याजदर १३.३ प्रतिशत छ ।

बुढानीलकण्ठ बस्ने भाउजुलाई चाकडी गर्न मनले नमान्दा बढुवा भइन र जागिर छाडेँ

काठमाडौं । नेपाल प्रहरीका पूर्व एसपी लब बिष्टले डा. आरजु देउवालाई लक्षित गर्दै पैसाको बिटोसहित नभेट्दा आफ्नो बढुवा रोकिएको आरोप लगाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै बिष्टले डा. देउवाको नाम नलिइकन लेखेका छन्, ‘बि सं २०७३ मा Seniority मा १ नम्वरमा रही कार्य सम्पादनमा अव्बल हुँदा हुँदै पनि नोटको बिटो सहित बिमलेन्द्र निधि मार्फत बुढानीलकण्ठ बस्ने भाउज्यू लाई चाकडी गर्न मनले नमान्दा बढुवा हुन बाट बन्चीत भई अवधि नै नपुगी प्रहरी सेवा बाट हटनु परेको ।’ उनले आफू प्रहरी सेवामा रहँदा राजनैतिक आक्रमण भएको भन्दै पहिलो आक्रमण सप्तरीबाट दार्चुलामा सरुवा गरेर गरिएको बताएका छन् । सो सरुवा गिरीजाप्रसाद कोइरालाका विश्वासपात्र नेपाली कांग्रेस सप्तरीका नेता रामकुमार चौधरी गराएको उनले आरोप लगाएका छन् । ‘ बि सं २०४७ मा सप्तरीबाट २४ घन्टामा दार्चुला सरूवा गरेको । कारण: रूपनी का निमुखा गांउले हरुलाई फसाउन रचिएको झुठा डांका मुद्दा दर्ता गर्न नमानेको । सरुवा गराउने नेपाली कांग्रेस सप्तरीका नेता राम कुमार चौधरी (प्रजातन्त्रका सेनानी श्री गीरीजा प्रसाद कोइरालाका बिश्वास पात्र) ।’ विष्टले लेखेको स्टाटस https://www.facebook.com/chintan55/posts/10218611678042675

आन्तरिक उडानका लागि २ वटा जहाज किन्दै निगम

फाइल फाेटाे काठमाडौं । नेपाल वायुसेवा निगमले आन्तरिक उडानका लागि २ थान जहाज खरिद गर्ने तयारी गरेको छ । हाल अन्तराष्ट्रिय र दुर्गमका रुटमा मात्रै उडान गर्दै आएको निगमले ट्रक रुटमा उडान गर्न एटीआर जहाज खरिद गर्ने तयारी गरेको हो । केही समय अघि निगमले दुर्गम क्षेत्रका विमानस्थलमा उडानकोलागि स्टोल (सर्ट टेक अफ एन्ड लेन्ड) जहाज खरिद गर्ने योजना सार्वजनिक गरिसकेको छ । शहरी क्षेत्रका विमानस्थलमा उडान भर्न सक्ने जहाज खरिदका लागि निगमले उपसमिति गठन गरेको छ । निगममले वरिष्ठ क्याप्टेन सुधिर शमशेर राईको संयोजकत्वमा ९ सदस्यीय उपसमिति गठन भएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । उनका अनुसार उक्त समितिलाई २१ दिनको समय दिईएको छ । समितिले अध्ययन गरेर बुझाएको प्रतिवेदनका आधारमा जहाज खरिद गर्ने तयारीमा निगम रहेको छ । निगमले दुई वटा जहाज खरीद गरेपश्चात काठमाडौ, विराटनगर, भैरहवा, पोखरा, नेपालगञ्ज, धनगढी लगायतका शहरी क्षेत्रबाट प्रादेशिक उडान गर्नेछ । नेपाल एयरलाइन्सले हाल २ वटा ट्वीनअट्टर जहाजबाट हिमाली क्षेत्रको उडान गर्दै आएको छ । ट्रक रुटका लागि भनेर ल्याईएको चिनियाँ जहाज चलाउन नसकेको निगमले एटीआर ७२ जहाज खरिद गर्ने योजना बनाएको छ । ६ थान चिनियाँ जहाज २०७६ देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ वे मै थन्किएर बसेका छन् ।

एशियन पेन्ट्सको कलर नेक्स्ट २०२३ सम्पन्न

काठमाडौं । एशियन पेन्ट्स नेपाले कलर नेक्स्ट २०२३ आयोजना सम्पन्न गरेको छ । उक्त पेन्ट्समा सोसाइटी अफ नेपालिज आर्किटेक्ट्स र इन्टेरियर डिजाइनर एसोसिएसन नेपाल लगायतका संस्थाबाट प्रख्यात आर्किटेक्टको सहभागिता रहेको थियो । एसियन पेन्ट्सले वार्षिक रूपमा कलर नेक्स्ट आयोजना गर्दै आएको छ, जसले विश्वव्यापी, सामाजिक–सांस्कृतिक योगदान पु¥याउँदै आएको कम्पनीले जनाएको छ । साथै, वातावरणीय प्रवृत्तिहरूको अध्ययन गरेर डिजाइनको दिशानिर्देश हासिल गरेको छ । उक्त्त कार्यक्रमका सहभागीले डिजाइन उद्योगमा प्रासंगिकतायुक्त फरक प्रवृत्ति पत्ता लगाउन विशेषज्ञ अन्तरवार्ता र संयुक्त कार्यशाला गर्नुपर्ने हुन्छ । साथै, अनुसन्धानमार्फत ६ महिना कडा अनुसन्धान गर्नुपर्ने हुन्छ । उक्त कार्यक्रम बिहीबार हयात रिजेन्सी होटलमा आयोजित कलर नेक्स्ट २०२३ कार्यक्रममा एशियन पेन्ट्स ग्लोबलका प्रमुख कार्यकारी अधिकृत प्रज्ञान कुमारले स्वागत मन्तव्यबाट आरम्भ गरेका हुन् । पेन्ट्स ग्लोबलका क्षेत्रीय प्रमुख सिरीश राव र एशियन पेन्ट्स नेपालका प्रमुख कन्ट्री हेडजी गोपालकृष्णनद्वारा संक्षिप्त प्रस्तुति गरेका थिए । साथै, जसमा आर्किटेक्ट तथा इन्टेरियर डिजाइनरसँग एशियन पेन्ट्सको सहकार्यलाई जोड दिईएको कम्पनीले जनाएको छ ।