विकासन्युज

लुम्बिनीको जग्गा फुकुवा गर्न मन्त्रीलाई जिम्मा

लुम्बिनी । लुम्बिनी प्रदेशको राजधानी देउखुरी क्षेत्रको रोक्का रहेको जग्गा फुकुवा गर्नका लागि प्रदेश सरकारले मन्त्री धनबहादुर मास्कीलाई जिम्मा दिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले जग्गा फुकुवाका लागि अध्ययन गर्न काम उनको जिम्मा लगाएको छ । राप्ती उपत्यकामा लुम्बिनीको स्थायी राजधानी तोकिएपछि त्यहाँ जग्गा किनबेच रोकिएको थियो । जग्गा फुकुवा नगर्दा जीवन निर्वाहमा समस्या भएको भन्दै स्थानीयवासी आन्दोलित भएका थिए । यस विषयमा मन्त्री मास्कीले आन्दोलनरत पक्षसँग छलफल गरेका थिए । छलफलमा एक महिनाभित्र जग्गा फुकुवा गर्ने गरी प्रतिवेदन तयार गरेर मन्त्रिपरिषद्मा लैजाने निर्णय गरेपछि आन्दोलन रोकिएको थियो । ‘एक महिनाभित्र जग्गा फुकुवाका लागि मैले प्रतिवेदन तयार गरेर मन्त्रिपरिषद्मा लैजान्छु’, मन्त्री मास्कीले भने, ‘त्यसपछि जग्गा फुकुवाको काम अघि बढ्छ ।’ लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी क्षेत्रमा ३२ महिनादेखि जग्गा किनबेच रोक्का थियो । लामो समयदेखि जग्गा रोक्का हुँदा दैनिक जीवनयापनसहित उद्योग, व्यापार सञ्चालनमा समस्या भएको थियो । त्यस्तै अंशवन्डा तथा बैंक एवं वित्तीय संस्थाबाट कुनै पनि प्रकारको ऋण लिन समस्या भएको छ । लुम्बिनी प्रदेशको क्षेत्र रहेको राप्ती गाउँपालिकाको पूरै नौवटा वडा, गढवा–१, २ र ३ वडा तथा सितगङ्गा नगरपालिका–८ र ९ मा जग्गा रोक्का गरिएको छ । रासस

ॐ हस्पिटलले सिन्धुपाल्चोकमा निःशुल्क स्वास्थ्य परिक्षण शिविर गर्ने

काठमाडौं । ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरले सिन्धुपाल्चोक जिल्लाको बाह्रविसेमा एकदिने बृहत निःशुल्क स्वास्थ्य परिक्षण शिविर सञ्चालन गर्ने भएको छ । नयाँबर्षको अवसर पारेर ॐ हस्पिटलले बाह्रविसे हरिमाया फाउण्डेशन र वाह्रविसे नगरपालिकासँगको सहकार्यमा बाह्रविसे प्राथमिक स्वास्थ्य केन्द्रमा भोली बैशाख ३० गते शनिबार स्वास्थ्य परिक्षण शिविर सञ्चालन गर्न लागेको हो । अस्पतालले रेडियोलोजी, सामान्य चिकित्सा, जनरल सर्जरी, स्त्री तथा प्रशुतीरोग, मुटुरोग, छाति तथा स्वासप्रस्वास रोग, दन्तरोग, हाड जोर्नी, चर्म तथा यौनरोग, मनोरोग तथा फार्मेसी सेवा लगायतका विषयहरुमा ३० जना भन्दा बढी विशेषज्ञ चिकित्सक सहित शिविर सञ्चालन गर्न लागेको हो । शिविरमा स्वास्थ्य परिक्षण गर्न आउने सम्पूर्णलाई निःशुल्क स्वास्थ्य परिक्षण तथा निःशुल्क औषधी उपलब्ध गराइने ॐ हस्पिटल संचालक समितिका अध्यक्ष समेत रहएका सिनियर कन्सल्ट्यान्ट रेडियोलोजिष्ट डा। आनन्द प्रसाद श्रेष्ठले जानकारी दिए । शिविरमा वरिष्ठ चिकित्सकहरुद्धारा स्वास्थ्य परिक्षण गरिनुका साथै केहि अत्यावश्यकीय परिक्षण र परामर्श गर्न सकिने ब्यवस्था मिलाइएको र थप उपचारका लागि काठमाडौंस्थित ॐ हस्पिटलमा विशेष छुट समेत प्रदान गरिने ॐ हस्पिटलका मेडिकल डाइरेक्टर डा। हरिश जोशीले बताए । ॐ हस्पिटलले आगामी दिनहरुमा पनि स्वास्थ्य सेवामा सहज पहुँच नभएका समुदाय लक्षित निःशुल्क स्वास्थ्य शिविर लगायत विभिन्न सचेतनामूलक कार्यक्रमहरु समेत सञ्चालन गर्दै जाने प्रतिवद्धता व्यक्त गरे ।

पर्यटकीय गन्तव्य बन्दै ‘बराह ताल’

ढोरपाटन । वरपर जङ्गल र बस्ती । बीचमा छ बराह ताल । शान्ता वातावरण, स्वच्छ हावापानी र चिरबिर चराचुरुङ्गीको आवाजले धेरैको मन फुरुङ्ग हुन्छ । बागलुङ नगरपालिका–१० भकुन्डेमा पर्ने बराह ताल प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । एक हजार तीन सय २६ मिटरको उचाइमा रहेको बराह ताल जिल्ला सदरमुकाम बागलुङ बजारबाट सबैभन्दा नजिकको ताल हो । ताल बजार नजिक हुँदा आन्तरिक पर्यटकको रोजाइमा परेको छ । दिनप्रतिदिन यहाँ घुम्न पुग्नेको सङ्ख्या बढिरहेको छ । गाडी र पैदल सहजै पुग्न सकिने हुँदा बराह तालप्रति आन्तरिक पर्यटक आकर्षित हुने गरेका छन् । ताललाई थप व्यवस्थित गरेपछि यसको सुन्दरता बढेको पाइन्छ । बागलुङ बजारबाट गाडीमा आधा घण्टा र पैदलयात्रामार्फत करिब साढे एक घण्टामा बराह ताल पुग्न सकिन्छ । तालका बीचमा रहेका रुखले पर्यटकलाई थप आकर्षित गरेको छ । गोलाकार आकारमा रहेको ताल करिब सात रोपनी क्षेत्रफलमा फैलिएको छ । पहिले अव्यवस्थित रहेको ताल अहिले व्यवस्थित बनेको छ । ताल वरपर मन्दिर निर्माण गरिनुका साथै घेरा गरिएको छ । पछिल्लो समय बराह तालमा घुम्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको स्थानीय सोमबहादुर थापामगरले बताए । उनका अनुसार बिदाका दिन अझ बढी पर्यटकको भीडभाड हुने गरेको छ । बराह ताल धेरै पहिलेदेखि चर्चित भए पनि विभिन्न पूर्वाधार बनेपछि पछिल्लो समय पर्यटक बढी आउने गरेको थापामगर बताउँछन् । उनी भन्छन्, ‘बराह ताल पहिले अलि फरक थियो, अहिलेको जस्तो व्यवस्थित थिएन, यसको व्यवस्थापन गरेपछि अहिले धेरै राम्रो बनेको छ, पहिले अहिलेको जस्तो गोलाकार थिएन, अहिले घेराबार लगाएर गोलाकार आकारको बनाइएको छ, पहिलेको तुलनामा अहिले घुमफिर गर्ने मान्छे बढेर होला यहाँ आउनेको सङ्ख्या पनि बढेको पाइएको छ, प्रचार पनि हुँदै गएको छ ।’ बराह तालको गहिराइ अहिलेसम्म कति छ भन्ने पत्ता नलागेको थापामगरको भनाइ छ । पछिल्लो समय फोटो, भिडियो खिच्ने र सामाजिक सञ्जालमा पोस्ट्याउने गर्दा प्रचार–प्रसारमा व्यापक बनेको थापामगरले बताए । बराह तालमा हरेक जेठको पूर्णिमा र कार्तिक पूर्णिमामा ठूलो मेला लाग्ने गर्छ । मेला अवलोकनका लागि बागलुङका विभिन्न स्थानसहित पर्वत, म्याग्दी, कास्कीलगायतका ठाउँबाट पर्यटक घुम्न आउने गर्छन् । बराह ताल नजिकै रहेको मन्दिरमा पूजाआजा गर्दा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । तालको प्रचार–प्रसारमा तीव्रता दिएसँगै पर्यटक बढ्दै गएको बागलुङ नगरपालिका–१० भकुण्डेका अध्यक्ष तिलबहादुर थापामगरले बताए । उनले बराह ताल नजिकै ‘पिकनिक स्पट’ रहेको हुँदा बिदाका दिन विभिन्न सङ्घसंस्था, विद्यार्थी, व्यापारी रमाइलोका लागि आउने गरेको बताए । ताललाई थप व्यवस्थापन गर्नका लागि नगरपालिकाबाट पहल भइरहेको अध्यक्ष थापामगर बताउँछन् । ‘जिल्लामै सबैभन्दा राम्रो तालका रूपमा रहेको छ यो बराह ताल, अरु ठाउँका ताल पनि देखियो तर योजस्तो व्यवस्थित छैनन्, बागलुङ बजार नजिकै रहेको भएर पनि होला बेला–बेला विदेशी पर्यटक पनि आउने गर्छन्’, अध्यक्ष थापामगरले भने, ‘तालसम्म आउने सडकको अवस्था अलि कमजोर छ, यसलाई थप व्यवस्थित बनाउनुपर्ने छ, यो सडक व्यवस्थित भयो भने यहाँ आउने पर्यटको सङ्ख्या दोब्बरले बढ्ने देखिन्छ, हामीहरू ताल व्यवस्थापनका लागि योजना बनाइरहेका छौँ ।’ ताल घुम्न पुग्ने पर्यटकले यहाँको लोकल परिकार पनि चाख्न पाउँछन् । ताल वरपर नै घरबास होमस्टे सञ्चालनमा रहेको हुँदा बराह ताल पुग्ने पाहुनालाई बास बस्न र खानाको समस्या हुँदैन । बराह ताल क्षेत्रबाट उच्च पहाडी क्षेत्रसँगै एकैपटक धवलागिरि, माछापुच्छ«े, अन्नपूर्णलगायत २२ वटा हिमशृङ्खालाको अवलोकन गर्न सकिन्छ । भकुण्डे पुग्ने पर्यटकलाई स्थानीय उत्पादनबाट बनेका परिकार खुवाउने गरेको अतिथि सत्कार सामुदायिक होमस्टेकी उपाध्यक्ष इन्द्रा थापामगरले बताए । उनले पाहुनालाई लक्षित गरी गाउँमा घरबास पनि व्यवस्थित बनाइएको बताए । घरबास लामो समयदेखि सञ्चालनमा रहेको भन्दै घुम्न आउने पर्यटकलाई खाना र बस्नको समस्या नहुने उनको भनाइ छ । पाहुनालाई सिन्कीको अचार, कोदोको रोटी ढिडो, लोकल कुखुरालगायतका परिकार खान दिने गरेको थापामगरले बताए । रहेक वर्ष विदेशी पर्यटक पनि आइराखेको उनी बताउँछन् । थापामगर भन्छन्, ‘कोरोना आउनुभन्दा पहिले पर्यटक धेरै आउँथे, बीचमा केही कम भएको थियो, अहिले फेरि बढ्न थालेको छ, बराह तालमा दैनिकजसो आन्तरिक पर्यटक आउने गरेका छन्, त्यहाँ आउने पर्यटक हाम्रो होमस्टेमा पनि आउने गरेका छन्, पाहुनाका सुविधाका लागि नेटलगायतका सेवा थप गरेका छौँ, पहिलेभन्दा व्यवस्थित हुँदै गएका छौँ ।’ रासस

नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स वितरण प्रक्रिया रोकियो

काठमाडौं । मन्त्रीपरिषदको निर्देशन पछि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स वितरण प्रक्रिया रोकेको छ । गत बुधबार बसेको मन्त्रीपरिषदको बैंठकले निर्देशन दिएसँगै तत्काल नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स वितरण प्रक्रिया रोकिएको हो । सेबोनले नयाँ स्टकको लाइसेन्स वितरणका लागि आवेदनहरु अध्ययन गर्न समीति नै बनाइसकेको छ । सो समितिले आवेदनहरु अध्ययन थालनि गरिसकेको छ । नयाँ स्टकका लागि हिमालयन, नेशनल र अन्नपूर्ण स्टक एक्सचेञ्जले आवेदन दिएका छन् । तर, मन्त्रीपरिषदको निर्देशनले तत्काल प्रक्रिया रोकिएको बोर्ड स्रोतले बताएको छ । मन्त्रीपरिषदको बैठकले बुधबार निर्णय गरेको भएपनि जानकारी भने बिहीबार मात्रै गराएको बोर्ड स्रोतले बतायो । बिहीबार मौखिक जानकारी आएपनि शुक्रबार पत्र नै पठाइनेछ । सर्वोच्च अदालतको गत चैत २६ गतेको फैसलाले नयाँ स्टक कम्पनीको लाइसेन्स वितरण गर्न बोर्डलाई बाटो खुलेको थियो । धितोपत्र बोर्डले गत असोज २ गते नयाँ स्टक र धितोपत्र दलाल व्यापारीको अनुमतिपत्रका लागि निवदेन मागेको थियो । बोर्डको उक्त निर्णयविरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जसमेतलाई विपक्षी बनाई अधिवक्ता दीपक विक्रम मिश्रले गत असोज ३१ गते सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । तर, उक्त मुद्दा सर्वोच्चको चैत २६ गतेको फैसलाले खारेज गरेपछि धितोपत्र बोर्डले चैत ३० गते सूचना जारी गर्दै वैशाख १० गतेसम्म आवेदन खुला गरेको थियो । धितोपत्र बजारको विकास तथा विस्तारका लागि नयाँ स्टक एक्सचेन्ज तथा कमोडिटी मार्केट खोल्न र थप ब्रोकर लाइसेन्स खुलाउन आवश्यक रहेको बोर्डले बताउँदै आएको छ । धितोपत्र बजारलाई थप प्रतिस्पर्धी, प्रभावकारी, लगानीकर्ता मैत्री एवम् अन्तर्राष्ट्रियस्तरको प्रविधि सहितको बनाउन पनि बजारमा नयाँ स्टक चाहिने बोर्डको भनाइ छ ।

सानिमा जिआईसीको नाफा १०३ प्रतिशत बढ्यो, दाबी भुक्तानीमा छलाङ

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सको चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा १०३ प्रतिशत बढेर २१ करोड ३२ लाख ३५ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १० करोड ५० लाख १८ हजार रुपैयाँ नाफा कमाएको थियो । चैत मसान्तसम्म कम्पनीको खुद बीमा शल्क ११४.४१ प्रतिशत बढेर ४७ करोड ६८ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २२ करोड २४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । ९ महिनाको अवधिमा कम्पनीको खुद दाबी भुक्तानी १७४.२४ प्रतिशत बढेर १८ करोड १३ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ६ करोड ६७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ, जगेडा कोष ३० करोड ७७ लाख रुपैयाँ, बीमा कोष ३९ करोड ३२ लाख रुपैयाँ र माहाविपत्ति कोष ३ करोड ३४ लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १४ रुपैयाँ २२ पैसा, प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ७२ पैसा र मूल्य आम्दानी अनुपात ३१.६६ गुणा रहेको छ ।

नेप्सेमा ३ कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा विभिन्न ३ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । बिहीबार ग्लोबल आइएमई लघुवित्त, ज्योति विकास बैंक र नेपाल ल्युव आयलको बोनस सेयर नेप्सृमा सूचीकृत भएको हो । ग्लोबल आइएमई लघुवित्तको १२ प्रतिशत बोनस वापतको ६ लाख ६३ हजार १०७.१९१२ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १२ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस्तै, ज्योति विकास बैंकको ३ प्रतिशत बोनस वापतको १२ लाख ८० हजार ३२५.९९ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ३ प्रतिशत बोनस सेयर र ३.८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस्तै, नेपाल ल्युव आयलको २५ प्रतिशत बोनस वापतको ९७ हजार ५६४ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई २५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

बिक्री आम्दानीसँगै युनिलिभर नेपालको नाफा ६९ प्रतिशत बढ्यो

काठमाडौं । युनिलिभर नेपालको चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ६९.०५ प्रतिशत बढेर ३७ करोड २६ लाख रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २२ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चैत मसान्तसम्म कम्पनीको बिक्री आम्दानी १९.१४ प्रतिशत बढेर १ अर्ब ९६ करोड ५७ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ६४ करोड ९८ लाख रुपैयाँ बिक्री आम्दानी गरेको थियो । कम्पनीको तथ्याङ्क अनुसार कूल आम्दानी २०.२३ प्रतिशत बढेर २ अर्ब २ लाख भन्दा बढी रहेको छ । गत वर्ष यस अवधिमा १ अर्ब ६८ करोड २२ लाख रुपैयाँ कूल आम्दानी गरेको थियो । ९ महिनाको अवधिमा कम्पनीको कूल खर्च ९.२३ प्रतिशत बढेर १ अर्ब ५४ करोड ८४ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ४१ लाख ७५ हजार रुपैयाँ कूल खर्च गरेको थियो । कम्पनीको प्रतिसेयर आम्दानी ४०५ रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ४ हजार १२६ रुपैयाँ र मूल्य आम्दानी अनुपात ११.१६ गुणा रहेको छ।

नेपाल लाइफको नाफा साढे ४४ करोड, डेढ खर्ब पुग्यो जीवन बीमा कोष

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा धनात्मक रहेको छ । कम्पनीले चैत मसान्तसम्म ४४ करोड ६५ लाख ४९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको नाफा १९ करोड ४५ लाख ६१ हजार रुपैयाँ ऋणात्मक थियो । चेत मसान्तसम्म कम्पनीको खुद बीमा शुल्क ३.२३ प्रतिशत बढेर २६ अर्ब ८३ करोड ९२ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २५ अर्ब ९९ करोड ७९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । ९ महिनाको अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ११.५० प्रतिशत बढेर ११ अर्ब ८२ करोड २४ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा १० अर्ब ६० करोड ८६ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । तेस्रो त्रैमासमा कम्पनीको कूल बीमाशुल्क आर्जन ३.०९ प्रतिशत बढेर २७ अर्ब २५ करोड ७७ लाख रुपैयाँ रहेको छ । गत वर्षको सोहि अवधिमा २६ अर्ब ४३ करोड ९८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । आकर्षित प्रतिफल, समयानुकुल बजार प्रबद्र्धन रणनीति बढ्दो जनचेतना र बीमितको सर्वोपरी हितका लागि गर्दै आएका प्रयासका कारण बजार हिस्सा ओगटेको कम्पनीले बताएको छ । यस अवधिमा कम्पनले कूल दाबी भुक्तानी १० अर्ब ९५ करोड ३५ लाख रुपैयाँ गरेको छ । कम्पनीले सकेसम्म छिटो र छरितो तरिकाले बीमितहरुको दाबी भुक्तानी गर्ने नीति अवलम्बन गरेको बताएको छ । कम्पनीले १ खर्ब ६२ अर्ब २८ करोड ८ लाख रुपैयाँ सुरक्षित क्षेत्रमा लगानी गर्न सफल भएको छ । गत वर्षको सोही अवधिमा १ खर्ब ३५ अर्ब १५ करोड २८ लाख रुपैयाँ लगानी गरेको थियो । गत वर्षको तुलनामा २० प्रतिशत लगानी बढाएको हो । सीमक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी ८ अर्ब २० करोड ७९ लाख रुपैयाँ, जगेडा कोष ४८ करोड ६७ लाख ७४ हजार रुपैयाँ, जीवन बीमा कोष १ खर्ब ५७ अर्ब १६ करोड ९१ लख रुपैयाँ महाविपत्ति कोष ८३ करोड ३७ लाख १३ हजार रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ७.२५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११६.०१ रुपैयाँ र मूल्य आम्दानी अनुपात ९३.१९ गुणा रहेको छ ।