नेपाल बैंकको नयाँ शाखा ललितपुरको खुमलटारमा
ललितपुर । नेपाल बैंक लिमिटेडले ललितपुर महानगरपालिका–१४, खुमलटारमा नयाँ शाखा स्थापना गरेको छ । बुधबार ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन तथा नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले संयुक्त रुपमा ताम्रपत्र अनावरण गरि शाखा उद्घाटन गरेका हुन् । कार्यक्रमका अधिकारीले स्थानीय जनता तथा संघसंस्थाको धेरै पहिलेदेखिको अनुरोधलाई मनन गर्दै खुमलटारमा शाखा खोलिएको बताए । ललितपुर महानगरपालिकाबासीलाई प्रतिस्पर्धात्मक माध्यमबाट सुलभ र सहज बैंकिङ सेवा दिने उनले प्रतिबद्धता जनाए । ललितपुर महानगरपालिका प्रमुख महर्जनले नेपालको जेठो नगरपालिकाको रुपमा रहेको ललितपुरमा नेपालको जेठो बैंक नेपाल बैंकको शाखा आगमनको संयोगले खुमलटार र सम्पूर्ण महानगरपालिकाको आर्थिक क्षेत्रमा नयाँ उमंग पलाएको बताए । देशभरका २२८ शाखा, २०३ एटीएमका साथै ५४ एक्सटेन्सन काउन्टरमार्फत नेपाल बैंकले करिब २३ लाख ग्राहकलाई वित्तीय सेवा पुर्याइरहेको छ ।
टाटा मोटर्सको नयाँ शोरुम अब भक्तपुरमा
काठमाडौं । टाटा मोटर्सको सिप्रदी ट्रेडिङ्गले ग्राहकको लागि भक्तपुरमा नयाँ शोरुमको सुभारम्भ गरेको छ । उक्त सोरुमको सिप्रदी ट्रेडिङ्गका तर्फबाट कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेर जबराणा तथा टाटा मोटर्सका तर्फबाट पेसेन्जर भेहिकल एवं टाटा पेसेन्जर इलेक्ट्रिक मोबिलिटीका प्रबन्ध निर्देशक शैलेस चन्द्र संयुक्त रुपमा नयाँ शोरुमको उद्घाटन गरे । नयाँ शोरुम उद्घाटन सँगै टाटा मोटर्स्ले बजारमा आफ्नो सेवा विस्तार गरेको छ भने नयाँ शोरुममा टाटा मोटर्स्को पेसेन्जर भेहिकलहरु प्रदर्शन गरिएका छन् । ग्राहकहरुलाई विक्रीपश्चात् पनि भरपर्दो सेवा तथा सुविधाहरु प्रदान गर्ने उद्देश्य स्वरुप टाटाको सर्वश्रेष्ठ सर्भिस नेटवर्क नेपालभर फैलिएका छन् । नयाँ शोरुम उद्घाटन गर्ने क्रममा सिप्रदी ट्रेडिङ्ग कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेर जबराणाले सिप्रदीको आफ्नै नयाँ शोरुमहरु खोली ग्राहकलाई सेवा दिन पाउँदा निकै खुशी लागेको बताए । साथै, उक्त नयाँ शोरुमले ग्राहकहरुलाई गाडी खरिद गर्दा र खरिदपश्चात्को नयाँ विश्वसनीय अनूभूति प्रदान गर्ने समेत जानकारी गराए ।
निगममा आफूखुशी राजनीतिक नियुक्ती बढ्न थालेपछि योग्यता तोक्दै प्राधिकरण
काठमाडौं । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले नेपाल वायुसेवा निगमको कार्यकारी प्रमुखको न्यूनतम योग्यता तोक्ने भएको छ । निगममा राजनीतिक शक्तिको आडमा योग्यता नै नपुगेका मान्छेलाई कार्यकारी अध्यक्ष वा महाप्रबन्धक नियुक्ती दिदा उनीहरुले उडड्यन नियम मिच्न थालेको भन्दै प्राधिकरणले त्यसलाई नियन्त्रण गर्न नयाँ कार्यविधि ल्याउन लागेको हो । उक्त कार्यविधि एक साताभित्रै सार्वजनिक गर्ने तयारीमा प्राधिकरण रहेको छ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले वायुसेवा कम्पनीमा ‘एकाउन्टेबल म्यानेजर’ (सीईओ) बन्न न्यूनतम योग्यता र अनुभव निर्धारण गर्न लागिएको बताए । ‘अहिले ‘एकाउन्टेबल म्यानेजर’ बन्नका लागि योग्यता तोकिएको छैन्, योग्यता नतोक्ता सरकारी स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगम र हेलिकप्टर कम्पनीमा अराजक गतिविधिहरु बढ्न थाल्यो, वायुसेवा कम्पनीको अनुगमन तथा निरीक्षण गर्न थप सहज गर्न कार्यविधि लागू गर्न लागिएको हो’, उनले भने । ‘हामीले प्रमुख कार्यकारी अधिकृतको योग्यता, काम, कर्तव्य र अधिकार सम्बन्धि मापदण्ड छिट्टै सार्वजनिक गरेपछि होटल, रेष्टुरेन्ट चलाएकोे व्यक्तिले एयरलाइन्स कम्पनी खोल्ने परिवेशको अन्त्य हुन्छ’, उनले भने । अहिले पनि निजी एयरलाइन्सका एकाउन्टेबल म्यानेजर बन्न प्राधिकरणको सेफ्टी विभागबाट अनुमति भने लिनुपर्छ । तर, कार्यविधि नै बनाएर न्यूनतम योग्यता भने तोकिएको छैन । योग्यता नतोक्दा सरकारी स्वामित्वमै सञ्चालित वायुसेवा निगमको बहालवाला कार्यकारी अध्यक्ष तथा महाप्रबन्धक हटाएर संस्कृति, पर्यटन तथा नागरिक उडड्यन पर्यटनमन्त्रीले आफू खुशी नियुक्त गर्ने परिपाटी रहेको छ । आर्थिक अवस्था खस्किएर कर्मचारीलाई नियमित रुपमा तलब समेत भुक्तानी गर्न नसक्ने अवस्थामा पुगेको निगमलाई उक्त कार्यविधि लागू भएसँगै ठूलो राहत मिल्ने जानकारहरु बताउँछन् । निगमका पूर्व महानिर्देशक डिमप्रकाश पौडेल नयाँ कार्यविधि लागू भएका निगमको व्यवसायिक छवि पनि उच्च र निगमभित्र सुधार पनि हुने बताए । निगमको कार्यकारी अध्यक्षमा नियुक्त भएको व्यक्तिले योजना अनुसार ४ वर्षसम्म ढुक्क भएर काम गर्ने वातावरण बन्ने हो भने निगममा धेरै सुधार हुने उनको विश्वास छ । ‘जति राम्रो काम गरे पनि सरकार परिवर्तन वा पर्यटनमन्त्री हुँदा निगमका अध्यक्ष वा कार्यकारी प्रमुख तारोको रुपमा रहन्छन्, कार्यविधि लागू भएपछि विभिन्न आरोप प्रत्यारोप लगाएर निलम्बन गर्ने परिपार्टीको अन्त्य हुनेछ’, उनले भने । लगानीकर्ताको लगानी सुनिश्चित गर्नकै लागि भए पनि जवाफदेही व्यवस्थापक नियुक्तीका लागि मापदण्ड तोक्न लागिएको प्राधिकरणले जनाएको छ । यसअघि जवाफदेही व्यवस्थापकका रुपमा गर्नुपर्ने कार्य नगरेको भन्दै प्राधिकरणले तीन पटकसम्म निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई स्पष्टिकरण सोधेको थियो ।
बालेनसँगै बदलिँदै काठमाडौं (फोटोफिचर)
काठमाडौं । तपाईंहरुले काठमाडौं बदलिएको अवस्थालाई कत्तिको महसुस गर्नु भएको छ ? यदि छैन भने काठमाडौंको पहिले र अहिलेको अवस्थाको स्वरूपलाई आँफै मनन् गर्नुहोस, तपाईंले महसुस गर्न सक्नुहुन्छ की बद्लिँदैछ काठमाडौं । पछिल्लो समय काठमाडौंको स्वरुपमा निकै परिवर्तन भइरहेको छ । महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) निर्वाचित भएर आएपछि काठमाडौं भित्रका धेरै विषयहरुमा सकारात्मक परिवर्तनको शुरुवात हुँदै गरेको देख्न सकिन्छ । प्राविधिक रुपमा इञ्जिनियर र र्याप गायन क्षमता बोकेका बालेन महानगरको मेयरको उम्मेदवार भएदेखि अहिलेसम्म निरन्तर चर्चाको शिखर छन् । मिडियालाई आफूसम्म प्रत्यक्ष पहुँच दिन नचाहने मेयर बालेन विभिन्न कामहरुको पहलकै कारण मिडियामा छाएका छन् । ७ सय ५३ वटा स्थानीय तह मध्ये विवादित तथा सकारात्मक काम दुबै हिसाबले देशमै बालेन अगाडि छन् । स्थानीय तहको निर्वाचन भएको एक वर्ष पुग्नै लाग्दा उनले अगाडि सारेका कामले विस्तारै आकार लिन लागेको र काठमाडौं बद्लिँदैछ भन्ने आभास दिलाउन थालेको महसुस गर्न सकिन्छ । काठमाडौं भित्र दृश्य होस् या पूर्वाधार विकासको क्षेत्र हरेक हिसाबले काठमाडौं परिवर्तन हुँदै गरेको महसुस गर्न सकिन्छ । सरसफाइ, खुला फुटपाथ, पार्किङ व्यवस्थापन, होर्डिङ बोर्ड व्यवस्थापन, अव्यवस्थित तार व्यवस्थापन, हाइड्रेन्ट विस्तार लगायत धेरै क्षेत्रमा विगतको भन्दा अहिलेको काठमाडौंमा नयाँपन पाउन सकिन्छ । मेयर बालेन चुनाव अगाडि गरेका प्रतिबद्धता कम चर्चाको बीचबाट पूरा गर्ने कसरतमा जुटेका छन् । महानगरपालिकाको सेवा प्रवाह, विद्यालय शिक्षामा रुपान्तरण लगायतका क्षेत्रमा पनि मेयर बालेनले धेरै नै नयाँपनको शुरुवात गरिसकेका छन् । तर, हामीले यहाँ हामीले उनले पहल गरेका काठमाडौंको बाहिरी परिवेशका केही बद्लिँदै गरेका विषयहरुको बारेमा सचित्र प्रस्तुत गर्न खोजिरहेका छौं । फोहोर व्यवस्थापन काठमाडौंको फोहोर व्यवस्थापन सबै भन्दा ठूलो चुनौतीको विषय हो । बालेनले मेयरमा उम्मेदवारी दिँदा नै काठमाडौंको फोहोर व्यवस्थापनलाई आफ्नो मुख्य एजेण्डा बनाएका थिए । उनको एजेण्डामा फोहोरको सास्ती भोगेका काठमाडौंवासीले सुन्दर काठमाडौंको कल्पना गरेर साथ दिएका थिए । काठमाडौंको फोहोरको निरन्तर व्यवस्थापन गर्ने विषय अझैपनि चुनौतिपूर्ण नै छ । तर, महानगरसँग भएको जनशक्तिको उच्चतम प्रयोग गरेर बालेनले फोहोरलाई घर र सहरबाट समयमा नै उठाउने विषयलाई कार्यान्वयन गरेका छन् । जसले गर्दा हामीले काठमाडौंका सडकमा विगतमा जस्तै फोहोरको डंगुर देख्नुपर्ने अवस्था छैन । फुटपाथ व्यवस्थापन सहरी योजना विना निर्माण भएको काठमाडौंमा सहज फुटपाथ कायम गर्ने कुरा आँफैमा चुनौतिपूर्ण विषय हो । हजारौं व्यवसायीहरु जीवन जोडिएको अव्यवस्थित फुटपाथ व्यवस्थापनमा मेयर बालेन निर्मम भएर प्रस्तुत भए । फुटपाथमा अव्यवस्थित ढंगले व्यापार गर्ने र पेशेवर माग्नेहरुलाई महानगरले बल प्रयोग गरेर हटाउने कामको शुरुवात गर्यो । बल प्रयोगको विषयलाई लिएर बालेनले निकै आलोचना समेत खेप्नुपर्यो । जसकारणले सर्वसाधारण मानिसहरु आवतजावत गर्न नै नमिल्ने फुटपाथहरु अहिले खुला भएका छन् । यद्यपी काठमाडौंमा भविष्य खोजेर दुरदराजबाट आएकाहरुको दुःखसँग काठमाडौं नभएको प्रश्न भने कायम नै छ । रत्नपार्क क्षेत्रमा अव्यवस्थित ढंगले फुटपाथमा रहेको भवन भत्काएर बनाइएको नयाँ संरचना अव्यवस्थित पार्किङलाई व्यवस्थित राजधानी सहितको महानगर भएकाले काठमाडौंभित्र चल्ने सवारी साधनको संख्या पनि निकै बाक्लो रहेको छ । सवारी साधनको संख्या बाक्लो मात्रै छैन, उचित पार्किङको व्यवस्था समेत नरहेको छ । व्यवसायीहरुको परम्परागत तरिकाको व्यवसायसँग समेत जोडिएको अव्यवस्थित पार्किङलाई व्यवस्थित गर्ने विषय मेयर बालेनको लागि निकै चुनौतिपूर्ण रहेको थियो । किनकी यस अघिका मेयर विद्यासुन्दर शाक्यले पार्किङलाई व्यवस्थित गर्नुको सट्टा मिलेमतोमा पार्किङको काम व्यवसासायीलाई जिम्मा लगाएका थिए । मेयर बालेनले आफ्नो कार्यकाल शुरुवात भएको केही समयबाट नै निजी क्षेत्रका अन्डरग्राउन्ड पार्किङलाई कार्यान्वयनमा ल्याउने, सडकमा अव्यवस्थित पार्किङ गर्न नदिने र कतिपय स्थानमा पार्किङ क्षेत्र निर्माण गर्ने काम गरे । जसले गर्दा अहिले काठमाडौंका सडकहरु खुला र यातायात सञ्चालनको लागि सहज बनेका छन् । अव्यवस्थित पार्किङ हटाउने विषयमा व्यवसायीहरुकै आन्दोलनको सामना गरेर पनि मेयर बालेन पछाडि नहट्दा मेयर बालेन सफल हुँदै गएका छन् । भृकुटीमण्डप प्रदर्शनी मार्गमा अव्यवस्थित पार्किङ हटाएपछिको दृश्य अनधिकृत संरचना हटाइयो काठमाडौंको एउटा मुख्य ठूलो र पूरानो समस्या हो सार्वजनिक क्षेत्र मिच्ने र त्यस ठाउँमा आफ्ना निजी संरचना निर्माण गर्ने काम । मेयर बालेनले महानगरभित्र अनधिकृत ढंगले सार्वजनिक क्षेत्र मिचेर बनाईका र मापदण्ड विपरित बनाइएका संरचनालाई हटाउने कामलाई अभियानकै रुपमा अगाडि बढाएका छन् । मैतीदेवीमा सडकमा बनाइएको प्रहरी बिट हटाएपछिको अवस्था अहिलेसम्म धेरै ठाउँमा यस्ता काम सम्पन्न भइसकेको छ भने कतिपय ठाउँमा महानगरले अझैपनि सो अभियानलाई जारी राखेको छ । कतिपय संरचनाको विषयलाई लिएर अदालतमा मुद्दा परेको अवस्था छ । तर, यी सबै प्रकारका अवरोधका बाबजुद सार्वजनिक क्षेत्र मिचेर बनाइएका घर, सार्वजनिक भवन, प्रहरी बिट जस्ता संरचनाहरु महानगरले हटाउने काम गरेको छ । जसले गर्दा सडक र चोकहरु विस्तारै अवरोधविहिन बन्दै गएका छन् । मापदण्ड विपरितको संरचना हटाइएपछिको काठमाडौं मल अगाडिको दृश्य होडिङ बोर्ड हट्यो केही समय अगाडिसम्म काठमाडौं होडिङबोर्ड मय थियो । होडिङबोर्डको कारणले कसैको घरको कलाकृति र आकार नै देख्न सकिँदैनथ्यो । तर बालेनले कानून अनुसार होडिङ बोर्डको साइज कार्यान्वयनको शुरुवात गरेर पूराना भद्दा होडिङ बोर्डहरु महानगरको प्रहरी नै परिचालन गरेर हटाउने काम गरे । महानगर प्रहरीद्वारा मापदण्ड विपरितका साइनबोर्ड हटाउँदै जसले गर्दा आज काठमाडौंका घरहरुले आफ्नो स्वरुप पाएका छन् भने महानगरले होडिङ बोर्डबाट कर आम्दानी पनि गर्न थालेको छ । फायर हाइड्रेन्ट जडान सहर सँधै नै धेरै प्रकारका जोखिमहरुसँग जोडिएको हुन्छ । त्यो मध्ये एउटा जोखिम हो आगलागी । अव्यवस्थित तार र अन्य धेरै कारणहरुले काठमाडौंका धेरै क्षेत्रमा आगलागीका घट्ना हुने गरेका छन् । काठमाडौं महानगरले चालु आर्थिक वर्षमा महानगरको अधिकांश स्थानमा आगो नियन्त्रणमा लिन सकिने हिसाबले फायर हाइड्रेन्ट निर्माण गर्ने काम गरेको छ । यसलाई महानगरले अभियानकै रुपमा अगाडि बढाएको छ । जसले गर्दा भविष्यमा हुनसक्ने आगलागीको घट्नाबाट हुनसक्ने क्षतिको जोखिमलाई घटाउने काठमाडौं गल्ली अथवा आगजनी हुँदा दमक नपुग्ने ठाउँमा फायर हाइड्रेन्ट जडान गरिएको छ । महागरले केही ठाउँमा फायर हाइड्रेन्टको जडान गरेको हो । यस्ता फायर हाइड्रेन्टको जडान अझै धेरै ठाउँमा जोड्ने योजना महानगरको छ । अव्यवस्थित तार पनि हटाइँदै अव्यवस्थित तार काठमाडौंलाई कुरुप बनाउने एउटा महत्वपूर्ण विषय हो । लामो समयदेखि चर्चामा रहने गरेको तर, समाधानको पहल नगरिएको सो विषयलाई मेयर बालेनले कार्यान्वयनको लागि पहल अगाडि बढाएका छन् । काठमाडौंमा अव्यवस्थित तारको दृश्य मेयर बालेनको पछिल्लो निर्णयसँगै तारको माध्यमबाट सेवा प्रवाह गर्ने कम्पनीहरु पनि आफ्नो तार व्यवस्थित गर्ने दिशामा अगाडि बढेका छन् । अव्यवस्थित तारको व्यवस्थापन गरेपछि काठमाडौंले विस्तारै आफ्नो पहिचानको मार्ग समात्न सक्ने अनुमान गरिएको छ । सो सँगै काठमाडौंमा आगलागीको जोखिम पनि न्यून भएर जान्छ । अन्य तस्बिरहरु
कुमारी बैंकले गर्यो १० लाख रुपैयाँको बीमा रकम भुक्तानी
काठमाडौं । कुमारी बैंकले १० लाख रुपैयाँको बीमा रकम भुक्तानी गरेको छ । बैंकले परिवार सुरक्षा बचत खाता योजना अन्तर्गत खाता धारकको परिवारलाई १० लाख रुपैयाँको दुर्घटना बीमा रकम भुक्तानी गरेको छ । बैंकले उक्त खाता धारकको परिवारको तर्फबाट हेमु खत्री भण्डारीलाई रकम हस्तान्तरण गरेको थियो । उक्त रकम बैंकको नेपालगञ्ज शाखाबाट हस्तान्तरण गरिएको थियो । बैंकले कुमारी परिवार सुरक्षा बचत खातामा आकर्षक बीमा सुविधा उपलब्ध गराउँदै आएको छ । यस खातामा खातावाला सहित परिवारका चार जाना सदश्यले २६ लाख रुपैयाँसम्मको बीमा सुविधा प्राप्त गर्न सकिन्छ । सो खातामा दुर्घटना मृत्यु, चिकित्सा उपचार र गम्भीर रोगहरुका लागि बीमा सुविधा प्रदान गरिन्छ । बैंकले विगत ४ वर्ष देखि ग्राहकहरुको सुविधाका लागि परिवार सुरक्षा बचत खाता योजना मार्फत बिमा लगायत अन्य उत्कृष्ट सुविधा प्रदान गर्दै आएको छ । विगत २२ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारीले आफ्ना देशभर रहेका ३०२ शाखा, ४८ एक्सटेन्सन काउन्टर, २९६ ए.टि.एम. तथा ६२ शाखा रहित बैंकिङ्ग ईकाई सहितका सञ्जालहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
कञ्चनपुरमा रक्तचन्दन र श्रीखण्डको व्यावसायिक खेती
कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ भासीका विजयराज पन्त आठ वर्षदेखि श्रीखण्ड र रक्तचन्दनको व्यावसायिक खेती गर्दै आएका छन् । उनी श्रीखण्ड र रक्तचन्दनको व्यावसायिक खेती गर्ने सुदूरपश्चिमकै पहिलो व्यक्ति हुन् । विसं २०५० यता झण्डै दुई दशकसम्म विभिन्न गैरसरकारी संस्थामा काम गरेका पन्त अहिले सबै काम छाडेर श्रीखण्ड, रक्तचन्दन र अगरउडको बिरुवा उत्पादनमा सक्रिय छन् । ‘कृषिमा आधारित कुनै नयाँ व्यवसाय गर्ने सोचअनुसार अघि बढ्दै जाँदा यसमा राम्रो हुने देखेँ, उनले भने । पन्तले २०७२ सालमा नेपाल चन्दन फार्म खोले । वन विभागको अनुमति लिएका पन्तले भने, ‘रक्तचन्दनको खेतीबारे यहाँका किसान जानकार छैनन ।’ काठमाडौँमा छँदा विभिन्न बालीका विषयमा अनुसन्धानसमेत गर्नुभएका पन्तले सन् २०१६ मा दक्षिण भारतबाट तालिमसमेत लिए । हाल उनले झण्डै डेढ बिघा जग्गामा श्रीखण्ड, रक्तचन्दन र अगरउडको खेती गरेका छन् । ‘वार्षिक १८ लाखदेखि २० लाख रुपैयाँसम्मको कारोबार हुन्छ’, पन्तले भने । महेन्द्रनगरेको भासीमा एक बिघा जमिन भाडामा लिएर उनले खेती गर्न थालेका हुन् । पन्तले भने, ‘व्यवसाय बढाउन जिल्ला वन कार्यालयदेखि प्रदेश सरकारसम्म धाए पनि कुहीँकतैबाट सहयोग प्राप्त भएन ।’ सुदूरपश्चिममै पहिलोपटक श्रीखण्ड र रक्तचन्दनको व्यावसायिक खेती गर्न थालेका पन्तले उत्पादन गरेका बिरुवा स्थानीय बजार, सङ्घसंस्थाका साथै वन कार्यालयले खरिद गर्ने गरेका छन् । ‘श्रीखण्डको भित्री काठ अहिले तीन हजार पाँच सयदेखि चार हजार सम्ममा बिक्री हुने गरेको छ’, उनले भने, ‘रक्तचन्दनको कारोबार भने हालसम्म यहाँ भएको छैन ।’ सुरुआतमा खेती गर्ने उद्देश्यले व्यवसाय थालिए पनि पछि जमिन नपाउँदा नर्सरी बनाएर बिरुवा उत्पादनमा लागेको पन्त बताउँछन् । ‘अहिले खेतीबाट भएको मुनाफाको ५० प्रतिशत दिने गरी जमिन भाडामा लिएको छु’, उनले भने । महेन्द्रनगरकै उल्टाखाममा अर्का एक किसानले पनि आठ कठ्ठामा यो व्यवसाय सुरुआत गरेका उनले जानकारी दिए । कृषिमा आधारित व्यवसाय गरेर आत्मसन्तुष्टि मिलेको उल्लेख गर्दै पन्तले कानुनीरूपमा स्वीकृति लिएर व्यवसाय गर्न कुनै समस्या नरहेको बताए । उनले आफ्नो फार्ममा एक जनालाई रोजगार दिएका छन् । व्यावसायिक कृषिले आर्थिक अवस्थामा सुधार आउनसक्ने सम्भावना धेरै भए पनि त्यसतर्फ खासै ध्यान पुग्न नकसकेको उनको भनाइ छ । बिरुवा उत्पादन भए पनि बजारको अभाव रहेको पन्तले बताए । सुरुआतमा तीन लाख रुपैयाँको लगानीमा खेती सुरु गरेका उनले बिरुवा उत्पादन बढाउँदै लैजाने योजना रहेको बताए । छ वर्षअघि रोपेका चार सय रक्तचन्दन र श्रीखण्डका बिरुवा हाल हुर्किरहेका छन् । धार्मीक कार्यमा रक्तचन्दन र श्रीखण्डको बढीजसो प्रयोग गरिन्छ । रक्तचन्दनको बिरुवा रोपेको १८ वर्षमा तयार हुने पन्त बताउँछन् । एक बिरुवाको तौल तीन क्विन्टलदेखि पाँच क्विन्टलसम्म हुनुका साथै विभिन्न किसिमका आयुर्वेदिक औषधि उत्पादनमा यसको प्रयोग हुने गरेको छ । श्रीखण्डको डाँठ र जराबाट बहुमूल्य तेल उत्पादन गर्न सकिन्छ । रासस
बाजुराको बिछ्या केन्द्रविन्दु भएर भूकम्प
बाजुरा । बाजुरा जिल्लाको बिछ्या केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाजुराको बिछ्या केन्द्रविन्दु भएर आज बिहान ५ बजेर १५ मिनेट जाँदा ४ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि बाजुराकै बिछ्या केन्द्रविन्दु भएर यही वैशाख २३ गते ४ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको थियो । पछिल्लोे समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी छ । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रको रुपमा लिने गरिन्छ ।
२६.१९ प्रतिशत खुद बीमा शुल्क बढाएको एनएलजी इन्स्योरेन्सको नाफा कति ?
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ४ प्रतिशत बढेर १७ करोड ७४ लाख रुपैयाँ आर्जन रेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १७ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चैत मसान्तसम्म कम्पनीको खुद बीमा शुल्क २६.१९ प्रतिशत बढेर ७० करोड ३९ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५५ करोड ७८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । ९ महिनाको अवधिमा कम्पनीको खुद दाबी भुक्तानी १५.८८ प्रतिशत घटेर ३४ करोड ६९ लाख रुपैयाँ गरेको छ । गत आर्र्थिक वर्षको सोही अवधिमा कम्पनीले ४१ करोड १२ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी १ अर्ब ४५ करोड रुपैयाँ, जगेडा कोष २४ करोड ४४ लाख रुपैयाँ, बीमा कोष १ अर्ब २३ करोड ८३ लाख रुपैयाँ र महाविपत्ति कोष ६ करोड २५ लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १६.२१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २०५.८९ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३६.७१ गुणा रहेको छ । तथ्याङ्क अनुसार कम्पनीको ५ हजार ५३ दाबी वापत १ अर्ब १२ करोड ७२ लाख रुपैयाँ भुक्तानी हुन बँँकी रहेको छ ।