नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज बुझाउँदै प्रहरी
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले सरकारी वकिल कार्यालय काठमाडौंमा आज प्रतिवेदन बुझाउने भएको छ । आइतबार जिल्ला प्रहरी परिसर काठमाडौंले दुई महिना लामो अनुसन्धान सकेर सरकारी वकिल कार्यालयलाई प्रतिवेदन बुझाउन लागेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ । यस प्रकरणमा प्रहरीले १६ जनालाई पक्राउ गरेको छ । यस प्रकरणमा ठगी भएको उजुरी गत वर्ष जेठमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा परेको थियो । त्यसको करिब १० महिनापछि गत चैत १२ मा तीन आरोपितलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानका क्रममा गिरोहले करिब २६ करोड रुपैयाँ ठगी गरेको दाबीसहित सय जनाभन्दा बढीले प्रहरीमा जाहेरी दिएका थिए । गिरोहले १ अर्ब रुपैयाँभन्दा बढी रकम उठाएको अनुमान छ ।
जाजरकोटको दहमा जडीबुटी सङ्कलन केन्द्र स्थापना
जाजरकोट । जिल्लाकै सबैभन्दा बढी जडीबुटी पाइने बारेकोट गाउँपालिका–४ दहमा सङ्कलन केन्द्र निर्माण गरिएको छ । सडकको पहुँच रहेको दहमा सङ्कलन केन्द्रको भवन निर्माणले यहाँको जडीबुटीलाई सहजरूपमा व्यवस्थापन गर्न सहयोग पुग्ने बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले बताए । स्थानीय पूर्वाधार कार्यक्रमको साझेदारीमा गाउँपालिकाले उक्त सङ्कलन केन्द्रको भवन निर्माण गरेको उनले जानकारी दिए । ४१ लाख रुपैयाँमा निर्माण भएको उक्त भवनमा बारेकोटको पाटनबाट सङ्कलन गरी ल्याइएको जडीबुटी व्यवस्थापन गरिने छ । जाजरकोटबाट जुम्ला जाने बाटोको बीचमा रहेको र सडकको पहुँचमा रहेका कारण जडीबुटी भण्डार गरी निर्यात गर्न सजिलो हुने अपेक्षा गाउँपालिकाले लिएको छ । जडीबुटी सबैभन्दा बढी पाइने पाटन बारेकोट –४ मा रहेका सामुदायिक वनमा रहेको वडाध्यक्ष विष्णु रावतले बताए । तोकिएको समयभन्दा अगाडि निर्माण गरिएको उक्त भवनले बाहिरबाट आउने सङ्कलनकर्तालाई सहजता ल्याउने भएको छ । भवन नहुँदा स्थानीयवासीका घरमा जडीबुटी राख्दा चोरी हुने, मुसाले हानी पुर्याउनेदेखि कुहिने डरबाट मुक्त भएको उनले बताए । पच्चीस प्रकारका जडीबुटी बारेकोटमा पाउने गरेको डिभिजन वन कार्यालय जाजरकोटका प्रमुख राधाकृष्ण दासले बताए । जडीबुटी उत्पादन र सङ्कलनका दृष्टिकोणले बारेकोट–४ सबैभन्दा बढी उर्वरभूमि रहेको जनाइएको छ । अघिल्लो आर्थिक वर्षमा जडीबुटी सङ्कलनकर्ताबाट राजस्वस्वरुप ३३ लाख ७२ हजार एक सय २५ रुपैयाँ सङ्कलन भएको डिभिजन वन कार्यालयले जनाएको छ । जिल्लाको कुल भू–भागको करिब ५८ दशमलव एक सय ४५ भन्दा बढी क्षेत्रफल वन क्षेत्रले ढाकेको छ भने यहाँका नौ सय ३५ जनताको मुख्य पेसा कृषि र वन क्षेत्रसँग सम्बन्धित क्रियाकलापसँग आबद्ध रहेका छन् । वन व्यवस्थापनका विभिन्न पद्धतिमध्ये यस जिल्लामा मुख्यगरी सामुदायिक वन, सरकारीद्वारा व्यवस्थित वन, कबुलियती वन तथा निजी वन व्यवस्थापन पद्धतिद्वारा वनको संरक्षण, संवद्र्धन तथा सदुपयोग हुँदै आइरहेको छ । जिल्लाको कुल वन क्षेत्रको ३८ दशमलव ४२ प्रतिशत वन क्षेत्र सामुदायिक वनका रूपमा उपभोक्ता समूह गठन गरी वन व्यवस्थापन हुँदै आइरहेको छ । समग्र जिल्लालाई वन व्यवस्थापनको हिसाबले एक डिभिजन तथा छवटा सबडिभिजन वन कार्यालयमार्फत वन व्यवस्थापन कार्य हुँदै आइरहेको छ । सबैभन्दा बढी वन क्षेत्र बारेकोट गाउँपालिका २५ दशमलव ९७प्रतिशत तथा सबैभन्दा कम भेरी नगरपालिका नौ दशमलव ८९ प्रतिशतमा पर्दछ । यातायातको दृष्टिले निकै कठिन रहेको र प्राकृतिक स्रोतको हिसाबले निकै धनी जिल्लाको रुपमा रहे पनि हाल यातायातको पहुँच केही हदसम्म सहज भएको मानिन्छ । अन्य भौतिक पूर्वाधार अभावका साथै यातायात र सञ्चारको उचित विकास तथा जिल्लाको सबै क्षेत्रमा सडकमार्ग जोडिन नसकेकाले जिल्लाको विकासलाई थप कठिन बनाएको छ । प्राकृतिक सम्पदा खासगरी वन जङ्गल तथा जडीबुटी जुन सम्पदा यहाँ जिल्लाको प्रमुख प्राकृतिक सम्पदाका रूपमा रहेको छ । भू–उपयोगिताअनुसार भू–क्षेत्रको प्रयोगको अभावले भू–उत्पादकत्वमा कमी, भू–क्षय, बाढी, पहिरोको प्रकोप दिनप्रतिदिन बढ्दै गई भू–क्षेत्रबाट प्राप्त हुने निरन्तरको लाभबाट बच्चित हुने अवस्था सिर्जना हुँदै गएको छ । जलवायु विविधताले प्राप्त वन, वनस्पति, जडीबुटीलगायत अन्य जीवहरूको विविधतालाई विकास गर्नु जिल्लाको कठिन भू–बनोट, भिरपहरा आदिले गर्दा अपरिहार्य रहेको छ । छरिएर रहेको गाउँ बस्तीको वरिपरि रहेका वन क्षेत्रको विकास स्थानीय जनताको सहभागिताबिना सम्भव नभएकाले स्थानीय समुदायमा भएको आवश्यकता र महत्वबारे वोध गराई वन विकासकार्यमा सहभागी गराउन उत्प्रेरित गर्ने लक्ष्य लिएको बारेकोट डिभिजन प्रमख दासले बताए । यसैबीच जाजरकोटको भेरी नगरपालिका–३ स्यालापाखा राताचौरमा जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र स्थापना गर्न संरचना निर्माणको काम जारी रहेको छ । जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडले राताचौरमा आठ करोड रुपैयाँको लागतमा कार्यालय भवन र जडीबुटी प्रशोधन केन्द्रका अन्य भौतिक संरचना निर्माण गरिरहेको छ । प्रशोधन कम्पनीको कार्यालय भवनको निर्माण गर्न ज्ञान ज्योति बिल्डर्स प्रालि कोटेश्वर–१३ काठमाडौंले जिम्मा लिएको थियो । अहिले पनि भवन निर्माणको काम चलिरहेको छ । जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्रले समग्र कर्णाली प्रदेशकै आर्थिक समृद्धिमा टेवा पुर्याउने विश्वास लिइएको छ । सरकारको स्वामित्वमा रहेको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीले औषधिजन्य जडीबुटीको उत्पादन, सङ्कलन तथा प्रशोधन गर्नुको साथै बजारीकरण गर्दै आएको छ । कम्पनीले जाजरकोटमा जटामसी, तेजपत्ता, टिमुरलगायतका औषधिजन्य जडीबुटीको उत्पादन गर्नुका साथै प्रशोधन गरेर बजारीकरण गर्ने लक्ष्य लिएको छ । वार्षिक १० करोड रुपैयाँको कारोबार गर्ने लक्ष्य राखिएको छ । वनबाट काठजन्य उद्योग सञ्चालन गरेर, जडीबुटी तथा गैरकाष्ठको व्यापार गरेर, कार्वनको कारोबार गरेर, वन्यजन्तुको पालन गरेर, पर्यापर्यटनको माध्यामबाट लाभ हासिल गर्न सकिने छ । जिल्लामा स्थापना भएको प्रशोधन कम्पनीले जिल्लामा मात्र नभएर कर्णाली प्रदेशकै आर्थिक समृद्धिमा योगदान पुग्ने जनाइएको छ । रासस
एकैदिन तोलामा ८ सयले बढ्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा साताको पहिलो दिन आईतबार सूनको मूल्य बढेको छ । आज नेपाली बजारमा सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको हो । नेपाली सुनचाँदी व्यवसायीका अनुसार आज बढेको मूल्य अनुसार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । साथै, आज नेपाली बजारमा चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेको छ । आज बढेको मूल्य अनुसार चाँदीको मूल्य १ हजार ३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।
सिटिजन लाइफको बीमालेख नवीकरणमा शतप्रतिशत छुट पाइने
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सका बीमितले व्यतित बीमालेख नवीकरण गर्दा ब्याज तिर्न नपर्ने भएको छ । इन्स्योरेन्सले आइतबार एक सूचना जारी गर्दै उक्त बीमालोख नवीकरणमा शत प्रतिशत छुट दिने जानकारी गराएको हो । इन्स्योरेन्सले व्यतित भएका बीमालेखहरु बीमितले चालु राख्नका लागि भुक्तानी गर्नुपर्ने नवीकरण बीमाशुल्कमा लाग्ने विलम्ब शुल्क (ब्याज) पूर्ण रुपमा छुट प्रदान गरेको हो । यो सुविधा जेठ ७ गतेदेखि असार १५ गतेसम्मको लागि लागू हुने छ । साथै, यो छुट बीमा अवधिभरी एक पटक मात्र पाइने भएकाले बीमितले असार १५ गतेभित्र नवीकरण बीमाशुल्क भुक्तानी गरी बीमालेख सक्रिय बनाउन सक्ने छन् । यस्तै, यो विलम्ब शुल्क (ब्याज) छुट सुविधा बीमालेख निरन्तर गर्ने प्रयोजनका लागि मात्र रहेको कम्पनीले जनाएको छ ।
तिलोत्तमामा ट्राम रेल निर्माण गरेर वार्षिक ७५ करोड कमाउँछौं : प्रबन्ध निर्देशक शर्मा
काठमाडौं । तिलोत्तमा पब्लिक रेल्वे कम्पनीले ट्राम रेल निर्माणको तयारी गरेको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको चक्रपथ क्षेत्रमा रेल सञ्चालनको योजना बनाएको रेल्वे कम्पनी अहिले बजेट व्यवस्थापनमा लागेको छ । नेपालकै पहिलो तिलोत्तमा ट्राम रेलले नगरपालिका साथै प्रदेशकै आर्थिक विकास तथा आन्तरिक पर्यटनमा टेवा पुग्ने बताइएको छ । तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणले केही समय अगाडि ट्राम रेलको शिलान्यास गरेका थिए । नगरपालिकाकै गौरवको आयोजनाका रूपमा अगाडि सारेको यो योजनामा स्रोत सुनिश्चित गर्न सकस परेको बताइन्छ । यस्तो अवस्थामा ट्राम रेलको निर्माण कार्य, बजेट व्यवस्थापन लगायत विषयमा तिलोत्तमा पब्लिक रेल्वे कम्पनीका प्रबन्ध निर्देशक भोला शर्मासँग विकासन्युजका लागि राजिव न्यौपानेले कुराकानी गरेका छन् । तपाईंहरुले ट्राम रेल निर्माणको प्रक्रिया अगाडि बढाउनु भएको छ, के हो ट्राम रेल ? ट्राम रेल मान्छेलाई सहज तरिकाले एक ठाउँबाट अर्को ठाउँसम्म पुर्याउने विद्युतीय यातायात हो । यो रेल युरोपियन मुलुक तथा भारतमा पनि सञ्चालनमा छ । यो बिजुलीमा चल्छ भने निर्माण लागत तथा सञ्चालन खर्च पनि कम छ । यसका लागि अलग्गै बाटोको आवश्यकता पर्दैन । यसलाई गाडी हिँड्ने सडकमा ट्र्याक हालेर सञ्चालन गर्न सकिन्छ । हामीले नेपालमा सडकको बीचमा ४ फिट ८ इञ्चको ट्र्याक राखी ८ फिटको ट्राम रेल सञ्चालन गर्न खोजेका हौं । यसको धेरै विशेषता र नेपालको लागि उपयुक्त प्रविधि ठानी नेपालमा ल्याउन खोजिएको हो । वि.सं. २०६६ सालमा तिलोत्तमा नगरपालिकाले अन्तर्राष्ट्रिय लगानी सम्मेलन गरेको थियो । त्यो सम्मेलनमा विभिन्न क्षेत्रका विज्ञहरू बसेर ट्राम रेलको आवश्यकतालाई मध्यनजर गरेर अगाडि बढाउने योजना आएको हो । तिलोत्तमाले लगानी सम्मेलन गरेको हुनाले नगर भित्रको चक्रपथमा ट्रामको स्थापना गर्ने योजनाका साथ अगाडि बढेका हौं । चक्रपथमा करिब ५० किलोमिटर ट्राम रेल सञ्चालनका लागि आवश्यक पूर्वाधारको निर्माण गर्ने भनेर लागेका छौं । यो प्यासेन्जरमा मात्र नभई यसबाट सामान ढुवानी पनि गर्न पनि सकिन्छ । पहिला चक्रपथ क्षेत्रमा ट्राम रेललाई नमुना रेलको रूपमा विकास गर्ने भनेर हाम्रो तिलोत्तमा नगरपालिकासँग सम्झौता भएको छ । सम्झौता पश्चात् हामीले तिलोत्तमा पब्लिक रेल्वे कम्पनी दर्ता गर्यौं । नगर र रेल्वे कम्पनीले सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा रेलको काम अगाडि बढाएका छौं । यसका लागि नगरपालिकाले पनि पहल गरिरहेको छ । प्रदेश, संघ, स्थानीय तह तथा पब्लिकको सेयर लगानीमा रेलको काम गर्न खोजेका हौं । धेरैलाई यसलाई रेल भनेर बुझ्नु भएको छ । यो रेल भन्दा विल्कुलै फरक छ । ट्राम रेल निर्माणको लगानी कसरी जुटाउनु भएको छ, कति लगानीमा रेल निर्माण हुन लागेको हो ? तिलोत्तमा पब्लिक रेल्वे कम्पनी ५ सय १ जना सेयर होल्डर भएर दर्ता भएको कम्पनी हो । सेयरधनीले कम्पनीमा १÷१ लाख रुपैयाँ लगानी गर्नु भएको छ । सेयरधनीबाट लगभग ५ करोड एक लाख रुपैयाँ उठेको छ । हामीले ५० करोडको कम्पनी दर्ता गराई ३५ करोड संस्थापकहरूबाट र बाँकी पब्लिक सेक्टरबाट उठाउने गरी कम्पनीको स्थापना गर्यौं । काम अगाडि बढाउन पूर्व सम्भाव्यताको अध्ययन गरी नगरपालिकाको सहयोगमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्यौं । अहिले डीपीआरको काम सम्पन्न गरी आवश्यक कामहरू अगाडि बढाएका छौं । ट्राम रेल निर्माणको लागि साढे ८ अर्ब रुपैयाँ लाग्ने अनुमान गरेका छौं । भ्याट सहित १० अर्ब रुपैयाँ रकम लाग्ने देखिएको छ । सो लगानी लाग्ने देखिएता पनि स्रोत सुनिश्चित भइसकेको छैन । हामी अन्तर्राष्ट्रिय संघ तथा संस्थाबाट लगानी भित्र्याउन सकिन्छ कि भने काम गरिरहेका छौं । ट्राम रेलको प्रक्रिया तत्कालीन मेयर वासुदेव घिमिरेबाट अगाडि बढेको थियो । अहिलेका नगर प्रमुख रामकृष्ण खाँण पनि सकारात्मक हुनुहुन्छ । उहाँले केही समय अगाडि यसको शिलान्यास पनि गर्नु भएको थियो । उहाँ पनि लागि राख्नु भएको छ । सहरी विकास मन्त्रालय अन्तर्गतको नगर विकास कोषमा पनि यस विषयमा कुरा उठाएका छौं । रुपन्देही जिल्लाका पालिका सहित प्रदेशलाई राखेर यसको विषयमा कुरा गरोका छौं । सबै ठाउँबाट सकारात्मक कुरा आएको छ । पुँजी जुटाउन तर्फ पनि लागि रहेका छौं । तपाईंले अहिलेसम्म स्रोतको सुनिश्चित भएको छैन भन्नु भयो, पुँजी नै नभई काम कसरी अगाडि बढाउनु हुन्छ ? लगानीको टुङ्गो नगरपालिकाले लगाउने भनेको छ । बजेटको छिटै सुनिश्चितता गर्न तर्फ हाम्रो ध्यान केन्द्रित छ । कसरी १० अर्ब रुपैयाँ जुटाउने भन्ने विषयको छलफल पनि भइरहेको छ । बजेटको लागि तत्कालीन अर्थमन्त्री जनार्दन शर्मासँग पनि छलफल गरेका थियौं । उहाँले पूर्वाधार विकासको लागि कम ब्याजदरमा विश्व बैंक र एडीबीसँग कुरा गर्नुहोस् भनेर भन्नु भएको थियो । कुन संस्थाबाट कति लिने रकम भन्ने ढुङ्गो छैन । पुँजी जुटाउने प्रक्रियामा छौं । छिट्टै पुँजी जुटाउँछौं । यसको लागि ११ जनाको कार्य समिति छ । त्यो समितिले आवश्यक कागजात सम्बन्धित ठाउँमा पेस गर्छ । पहल गर्ने काम गरिरहेको छ । नगरपालिकाले यसको लागि कति बजेट छुट्याएको छ ? नगरपालिकाले बजेट व्यवस्थापनको लागि केन्द्र तथा संघसँग समन्वय गरेर अगाडि बढाउने भनेको हो । नगरपालिकाले यसको लागि बजेट छुट्याएको छैन । ट्राममा कति सेयर नगरले हाल्ने हो त्यो पनि टुङ्गो भइसकेको छैन । यसको केही महिना पछि टुङ्गो लगाउँछौं । रेलका कस्ता स्टेशन हुन्छन्, कहाँ–कहाँ यसका स्टेशन हुन्छन् ? हामीले प्रत्येक २ किलोमिटरमा ट्राम रेलको स्टेशन राख्ने सोच बनाएका छौं । र, रेलको वर्कसप तथा पनि यहाँ बनाउने योजना बनाएका छौं । तिलोत्तमामा ट्राम रेल सञ्चालन आएपछि थप विस्तार गर्ने पनि योजना छ । कसत वर्षभित्र काम सम्पन्न हुन्छ ? हामीले १५ किलोमिटर २ वर्षमा सक्छौं । यसको ट्र्याक बनाउँदै सञ्चालन गर्दै अगाडि बढाउँछौं । चक्रपथमा यो रेल बनाइ सकेपछि बिस्तारै अन्य ठाउँमा पनि विस्तार गर्दै लैजाने योजना हाम्रो हो । अहिले हामीले लक्ष्य लिएको ठाउँमा बनी सकेपछि लुम्बिनी, बुटवल भैरहवा जोड्ने एक सय किलोमिटर ट्«याक १० वर्ष भित्र निर्माण गर्ने लक्ष्य छ । केही समय अघि तिलोत्तमामा नगरपालिकाका नगर प्रमुखले ट्राम रेलको शिलान्यास गर्नु भयो, शिलान्यास गरेपछि काम अगाडि बढ्न सकेन नी ? स्रोत जुटाउन सकेको भए काम हुन्थ्यो । ट्राम बनाउने ठाउँमा विद्युतीय पोल हटाउनु पर्ने छ । त्यसको लागि विद्युत प्राधिकरणमा पत्राचार गरेका छौं । अहिले अहिले सिभिलको कामहरू गरिरहेका छौं । पुँजीको काम जुटी सकेपछि बिस्तारै काम अगाडि बढ्छ । लगानी नै सुनिश्चित नगरी रेलको शिलान्यास गर्न हतार भएछ है ? त्यस्तो होइन, यो निर्माण गर्नको लागि समय लाग्छ । यसको काम अगाडि बढाउनको लागि शिलान्यास गरेको हो । काम गर्दै गयो भने लगानी जुट्दै जान्छ भन्ने हाम्रो संकल्प थियो । कामको थालनीको लागि चाहिँ शिलान्यास भएको हो । तिलोत्तमामा ट्राम रेल निर्माण गर्नमा स्थानीयले विरोध जनाए, त्यसपछि काम अगाडि बढेन भन्छन् नी ? रेल्वे कम्पनीसँग स्थानीयको विवाद छैन । नगरपालिकासँग चक्रपथको बाटो विस्तारको विषयमा उहाँहरूले बुझ्न खोज्नु भएको हो । रेल आउँदा थप बाटो विस्तार हुन्छ कि भनेर जानकारी लिन खोज्नु भएको छ । यसप्रति तिलोत्तमामा वासी पनि सकारात्मक नै हुनुहुन्छ । रेलका कारणले बाटो विस्तार हुँदैन । सडक विस्तार गर्नु पर्यो भने दुवै तिर बराबर बढ्छ । सम्भवतः नबढ्ला । उहाँहरू र नगरपालिका बिच सहमति भएको भनेर रेल्वेमा आइसकेको छ । अब त्यही अनुसार अगाडी बढ्छौं । ट्राम रेल कति क्षमताको हुन्छ, एक पटकमा कति संख्यामा यात्रा गर्न सकिन्छ ? ट्राम रेलको डिब्बाहरु हुन्छन् । त्यी डिब्बालाई १/१ वटा गरी सञ्चालन गर्ने हो । एउटा डब्बामा ७० जना मान्छे अट्छन् । हामीले चक्रपथ भित्र पहिलो चरणमा ३ वटा ट्रामका डब्बा सञ्चालन गर्ने हो । ७० जनाका दरले ३ वटा डब्बामा २ सय १० जना यात्रा गर्न सकिन्छ । यात्रुको संख्या बढे पनि ट्रामका डब्बा थपेर सञ्चालन गर्न सकिन्छ । यो सञ्चालनमा आएपछि कति नेपालीले रोजगारी पाउँछन् र रेलको वार्षिक आम्दानी कति हुन्छ ? यो सञ्चालनमा आएको खण्डमा सयौंले नेपालीले रोजगारी पाउने छन् । १५ किलोमिटरमा ६० जनाले रोजगारी प्रत्यक्ष पाउँछन् । चक्रपथ पुरैमा यो सञ्चालनमा आउँदा १२० बढीले रोजगारी पाउने अनुमान छ । हामीले यसको वार्षिक आम्दानी ७५ करोड रुपैयाँ हुने विश्वास गरेका छौं । नेपाल रेल कुदाउन सक्ने जनशक्ति छैन, यो सञ्चालन गर्दा पनि बाहिरबाटै त जनशक्ति ल्याउनु पर्ला होइन ? ट्राम बसको स्वरुप जस्तै हुन्छ । यसलाई लामो समयसम्म सञ्चालन गर्न सकिन्छ । यसको लागि बाहिरबाट जनशक्ति ल्याउनु पर्दैन । नेपालीलाई नै यसको तालिम दिई ट्राम कुदाउन सक्ने बनाउँछौं । भारतका कोलकत्तामा ट्रामको मुख्य केन्द्र छ । त्यहाँ लगेर ट्राम सञ्चालन र यस प्रविधिको शिक्षा दिनेछौं । यसमा नेपाली जनशक्तिको परिचालन हुनेछ । यसको लागि तपाईंहरुले भाडा दर पनि तोक्नु भएको छ ? हामीले यसको भाडा दर तोकेका छैनौं । सञ्चालनको तयारी रहेको बखतमा यसको निर्धारण गर्ने हो । हामीले आफ्नो हिसाबले यसको भाडा तोक्न मिल्दैन । भाडा दरको विषयमा पछि छलफल गर्छौं । यसले कति विद्युत खपत गर्छ ? यसले विद्युतको खपत कम मात्रामा गर्छ । कति खपत हुन्छ भन्नेका कुराको जानकारी चाहिँ सञ्चालनमा आए पछि थाहा हुन्छ ।
हावाहुरीसँगै वर्षा हुन थालेपछि…
फुङ्लिङ । हावाहुरीसँगै वर्षा हुन थालेपछि सुरेश लिम्बूको मन भौँतारिन थाल्छ । उनी यसो माथि घरको छानो हेर्छन् । छानोदेखि तपतप पानी चुइरहेको हुन्छ । पानीका थोपाले लुथ्रुक भिजेर पानीको थोपा नझर्ने घरको कतै कुना खोज्दाखोज्दै उज्यालो हुन्छ । यो दृश्य हो ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ साँवाका लिम्बूको घरको बसाइको अवस्था । गाउँपालिकाको प्रशासकीय केन्द्र रहेकै वडामा एक परिवार जीर्ण घरमा जोखिमपूर्णपमा बस्दै आएका छन् । मिक्वाखोला –४ साँबाका स्थानीय लिम्बूको परिवार फुस खरले छाएको चुहिने घरमा जोखिम मोलेर बस्दै आएका हुन् । निकै जीर्ण बनेको घर पुनःनिर्माण गर्ने आर्थिक अवस्था नहुँदा लिम्बूको परिवार जोखिमयुक्त घरमा बस्न बाध्य भएको छ । फुसले छाएको छानो धेरै नै पुरानो भएकाले घामपानी र हावाहुरी छेक्न नसक्ने अवस्थाको जीर्ण घरमा लिम्बूको परिवारको बसोबास रहेको छ । झट्ट हेर्दा हालको उक्त संरचनामा मानिसको बसोबास नरहेको अर्थात् पहिले नै छाडिसकेको जस्तो देखिने जीर्ण घरमा लिम्बूको परिवारको बास रहेको छ । लिम्बूको परिवारमा दुई छोरा, दुई छोरी र श्रीमती छन् । परिवारमा छ जनाको सङ्ख्या रहे पनि अधिकांश समय लिम्बूकी श्रीमती रीता र कान्छी छोरी माया लिम्बू बस्दै आएका छन् । दुई दाजु काम वा अन्य सिलसिलामा बाहिरै बस्ने गरेको, दिदी फुपूको घरमा र आफूचाहिँ आमासँगै रहेको १४ वर्षीया माया लिम्बूले बताए । बाबु सुरेश गाउँघरतिरै डुलघुम गर्दै घर आउने टुङ्गो नरहने मायाले सुनाए । उनले यस वर्ष बर्खा नलाग्दै हावाहुरी र पानी पर्न थालेकाले घर चुहिएर बसिनसक्नुरहेको बताए । केही ठूलो पानी पर्दा घरभित्र आहाल पानी जम्ने हुने र चुल्होमा आगो बाल्नै नमिल्ने अवस्था रहेको छोरी मायाले सुनाइन् । ‘कुनै समय ठूलो पानी परेका बेला रातभर नसुती जाग्राम बस्ने गरेका छौँ’, उनले भनिन् । गाउँपालिका र वडाका जनप्रतिनिधिले सहयोग गर्ने कुरा के छ ? भन्ने प्रसङ्गमा आफूलाई केही थाहा नभएको उनले बताइन् । उनले घरको एकछेउमा थोरै जस्तापाताले छाएको छाल्की रहेकाले टाउको ओताउने ठाउँ भएको बताइन् । यसरी पानी चुहिएर घर जीर्ण भई दयनीय अवस्थासँगै लिम्बूको परिवारमा दैनिकी चलाउनलाई पनि मुस्किल रहेको स्थानीयले बताएका छन् । घरमुली लिम्बूले आफ्नो घरको व्यवस्थापन गर्नेतर्फ खासै चासो नदिएकाले पनि थप संरचना जीर्ण बन्दै गएको छरछिमेक बताउँछन् । स्थानीय छिमेकीले परिवारमा अभिभावकीय भूमिका निभाउने कार्यमा पनि लिम्बूको कमजोरी औँल्याएका छन् । लिम्बूको घरको दयनीय अवस्थाबारे आफूलाई हालसम्म कुनै जानकारी नै नगराइएको मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्कीले बताए । उनले लिम्बूको घर संरचनाको अवस्था हेरेर तत्काल छानो व्यवस्थापनमा सहयोग गर्ने बताए । साँवाका वडाध्यक्ष सदनकुमार साँवा लिम्बूले फुसको छाना विस्थापन कार्यक्रमअन्तर्गत लिम्बूको नाम पनि सूचिकृत भएको जानकारी दिए । वडाका १८ परिवारको सूचीकृत भएका नाममा लिम्बूको नाम रहेको वडाध्यक्ष साँवाले बताए । सरकारी अनुदान लिने उद्देश्य राखेर कतिपय परिवारले आफ्नो घरको बेवास्ता गर्ने गरेको पाइएको पनि वडाध्यक्ष साँवाको भनाइ छ । उनका अनुसार समयमा आफ्नो घर वा संरचनाको सुरक्षाप्रति घरधनीले बेवास्ता गर्दा छाना चुहिएर घर थप जीर्ण बन्ने गरेको पाइएको छ । ढुङ्गा र माटोले बनेको घरको वाल गारो धराप हुने गरेको छ भने छानाका डाँडाभाटा, दलिन, सेप्रीमा प्रयोग गरिएका काठहरु मक्काउने गरेका छन् । रासस
गङ्गा दशहरा स्नान : पाप कट्ने धार्मिक विश्वास
काठमाडौं । ज्येष्ठ शुक्ल प्रतिपदादेखि दशमीका दिनसम्म वाग्मतीलगायत देशभरका विभिन्न तीर्थमा लाग्ने गङ्गादशहरा स्नान मेला सुरु भएको छ । गोकर्णेश्वर नगरपालिका वडा नंं १ सुन्दरीजलस्थित वाग्मतीमा शैलमती मिसिएर बनेको तीर्थ सिद्धगयाको प्राकृतिक सुन्दरतालाई थप आकर्षक बनाइरहेका दुई झरनाको नजिकमा शनिबारदेखि नै स्नान गर्न भक्तजन भेला भएका छन् । यसै वर्षदेखि यहाँ व्यवस्थितरूपमा स्नान गर्ने व्यवस्था गरिएको छ । वाग्मती र शैलमतीको सङ्गममा गङ्गादशहरा स्नान गरी भगवान् शैलमतेश्वरको दर्शन गरेमा पापमोचन भई मुक्ति प्राप्त हुने धार्मिक विश्वास छ । दश प्रकारका पाप हरण गर्न ज्येष्ठ शुक्ल पक्षमा स्वर्गबाट पृथ्वीमा भागीरथीले गङ्गा अवतरण गराएको सम्झनामा देशभरका नदीमा दशहरा स्नान गरिन्छ । ज्येष्ठ शुक्ल पक्षका १० दिनमा गङ्गा वा नदी किनारमा गई स्नान गरेमा १० प्रकारका पाप नाश हुने धार्मिक विश्वास छ । कसैले नदिई कुनै वस्तु लिनु, विनायज्ञ हिंसा गर्नु, परस्त्री गमन गर्नु, कठोर वचन बोल्नु, असत्य बोल्नु, परनिन्दा गर्नु, बेमतलवको प्रलाप गर्नु, अरुको सम्पत्ति हडप्ने इच्छा राख्नु, अरुलाई हानी पु¥याउने इच्छा राख्नु र बिनाकारण दुराग्रह राख्नेजस्ता पाप दशहराका अवसरमा गङ्गा, त्रिवेणी वा नदीमा गई स्नान गरेमा नाश हुने शास्त्रीय मान्यता छ । सिद्धगयाका साथै काठमाडौँको हत्यामोचनघाट, रसुवाको गोसाइँकुण्ड, कपिलवस्तुको वाणगङ्गा, नवलपरासीको त्रिवेणीसङ्गमलगायत देशभरका नदीमा दशहरा स्नान मेला लाग्ने गर्दछ । शरीर, मन र वचनले गरिने १० प्रकारका पाप दशहराका अवसरमा स्नान गरेर नाश हुने विश्वासमा गङ्गा दशहरा भनिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिए । कागेश्वरी मनोहरा र गोकर्णेश्वर नगरपालिकाको सङ्गमस्थित वाग्मती नदी किनारमा रहेको हत्यामोचनघाटमा पनि स्नान मेला लागेको गङ्गा दशहरा स्नान एवं पूजा समितिका अध्यक्ष रोहित लिम्बूले जानकारी दिए । पौराणिक कथाअनुसार परशुरामले पिता ऋषि जमदग्निको आदेशानुसार माता रेणुकाको हत्या गरेपछि यही स्थलमा स्नान गरी हत्याको पापमोचन गरेकाले यो स्थानलाई हत्यामोचनघाट भनिएको विभिन्न पुराणमा उल्लेख गरिएको छ । यसअघि परशुरामले भारत वर्षका हजारौँ तीर्थमा स्नान गर्दा पनि मातृ हत्याको पापमोचन भएको थिएन । पापमोचन स्वरुप परशुरामकी आमा रेणुकाले पुनर्जीवनसमेत पाएको पौराणिक कथन छ । दशहराका १० दिने अवधिमा जेठ महिना, शुक्ल पक्ष, दशमी तिथि, बुधबार, हस्ता नक्षत्रलगायत १० योग पर्ने गरेको छ । पौराणिककालमा यही १० दिन लगाएर स्वर्गबाट गङ्गा पृथ्वीमा अवतरण भएको शास्त्रीय मान्यता छ । गङ्गा किनारस्थित भारतको काशीको दशाश्वमेधघाटमा पनि यो १० दिने अवधिमा विशेष मेला लाग्छ । यसैगरी त्रेतायुगमा भगवान् रामले सेतुबन्धमा स्थापना गरेको रामेश्वरघाटमा यस अवसरमा मेला लाग्ने गर्छ । यी तीर्थमा स्नान गरी भगवान्को दर्शन गरेमा १० प्रकारको पाप नाश हुने धार्मिक विश्वास रहिआएको छ । रासस
ठमेलमा करिब डेढ अर्ब लगानीमा होटल ‘बाराही काठमाडौ’ सञ्चालन
काठमाडौं । बाराही हस्पिटालिटी अन्तर्गत काठमाडौंको ठमेलमा नयाँ होटल ‘बाराही काठमाडौं’ आइबारदेखि सञ्चालनमा आएको छ । फोर स्टार स्ट्यान्डर्ड होटलमा आठ वटा सुइट र ७२ वटा डिलक्स रुम गरि ८० वटा रुम रहेका छन् । डिलक्स रुमको अफर शुल्क सय डलर रहेको बाराही हस्पिटालिटीका कर्पोरेट डाइरेक्टर योगेन्द्र थापाले बताए । होटलमा कफी सप, रेष्टुरेण्ट, बार, प्राइभेट डाइनिङ हल रहेका छन् । लाउन्ज र थिएटर सेटअपमा १२० जना अट्ने सभा हल केही हप्तामा तयार हुँदैछ । केशरमहलको अगाडि चोकैमा रहेको होटलको सातौं तलामा इन्फिनिटी स्वीमिङ पुलु छ । स्वीमिङ पुलको मोहोडा तर्फ नारायणहिटी दरबार रहेकाले मनमोहक दृश्य रहेको पौडेल बताउँछन् । साँढे चार फिट गहिरो स्वीमिङ पुल करिब ११०० स्क्वायर फिटमा फैलिएको छ । बाराही ग्रुपले व्यवसायिक कम्प्लेक्ससहितको होटल निर्माण गरेको हो । कम्प्लेक्सको भुँइतलादेखि तीन तलासम्म अफिस र विभिन्न पसल रहने छन् भने बाँकी ६ तलामा होटल रहेको छ । काठमाडौंको ‘मिड पोइन्ट’मा रहेको होटल बाराहीबाट काठमाडौं उपत्यकाको चारैतिरका सुन्दर दृश्यावलोकन गर्न सकिन्छ । वीर शमसेरले बनाएको फोहोरा दरबार, स्वप्न बगैंचा र नारायणहिटी दरबार होटलको आँगनमै भएको अनुभुति हुन्छ । त्यस्तै घण्टाघर, धरहरा, वसन्तपुर दरबार, ठमेल बजार, स्वयम्भू तथा उत्तरतर्फ शिवपुरीको हरियालीसँगै हिम श्रृंखला देख्न सकिन्छ । सपिङ कम्प्लेक्स सहितको होटल निर्माण गर्न करिब एक अर्ब चालिस करोड रुपैयाँ खर्च भएको थापाले बताए । पसल तथा अफिसका लागि बुकिङ पनि खुल्ला रहेको छ । सपिङ कम्प्लेक्स सहित होटल रहेको बाराही प्लाजाको आर्किटेक्टको काम ‘डिजाइन सेल’का अरुण देव पन्त र अन्जन श्रेष्ठले गरेका हुन् भने इन्टेरियर डिजाइनको काम सिद्धार्थ गोपालानले गरेका हुन् । नेपालली पर्यटनको गोल्डेन ट्र्याङ्गलु मानिएको पोखरा, चितवन र काठमाडौं मध्ये यस अगाडि पोखरा र चितवनमा बाराही ग्रुपको प्रिमियम प्रपर्टीु रहेको थियो । बाराही काठमाडौंको सुरुवातसँगै अब बाराहीले गोल्डन ट्र्याङ्गल भरी आफ्नो सेवा विस्तार गर्न सफल भएको छ । ४ दशक अगाडि पोखराको लेकसाइडमा हरिप्रसाद पौडेलले ९ कोठा प्याराडाइज गेस्ट हाउस सुरू गरेका थिए, सोही होटलमा पछि सुबिधा थप गरि होटल बाराही नामाकरण गरिएको हो । पौडेलले हस्पिटालिटी क्षेत्रमा देखाएको बाटो पछ्याउँदै उनका छोराहरू विप्लव र वैभव सोही व्यवसायमा आवद्ध छन् । सामान्य स्तरबाट सुरू भएको बाराहीमा त्यतिबेला प्रतिकोठा १० रुपैयाँ रहेको थापाले बताए । बाराही ग्रुपको लगानीमा चितवनमा बाराही जंगल लज, पोखरामा होटल बाराही, व्यञ्जन रेस्टुरेन्ट, सराङकोट माउन्टेन लज, आवास पोखरा, द बिच बार एन्ड लज समेत सञ्चालनमा छन् । बाराही ग्रुपको नेतृत्वमा पोखराको सेदीमा पाँचतारे होटल निर्माणाधीन छ, जहाँ १२ सय क्षमताको सभाहल समेत बन्दैछ । पब्लिक लिमिटेड कम्पनी रहेको बाराही सेदी लिमिटेड सर्वसाधारणका लागि प्राथमिक सेयर आइपीओमा समेत जाने थापाले बताए ।