फरार मेयरले प्रहरीलाई चिठी लेख्दै भने : तनावले गर्दा आरम गरिरहेको छु
काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले तनावले केही दिन आराम गर्न सम्पर्कबाहिर रहेको बताएका छन् । सहकारीको पैसा फिर्ता गर्न नसकेपछि फरार रहेका उनले आइतबार इलाका प्रहरी कार्यालय बुर्तिवाङमा पत्र लेख्दै यस्तो बताएका हुन् । आफन्तमार्फत प्रहरीलाई चिठफ पठाएका उनले आफूलाई धेरैले फोन गरेर तनाव दिएकाले केही दिन आराम गर्ने सम्पर्कबाहिर रहेको भनेर लेखिएको प्रहरीले जानकारी दिएको छ । इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष समेत रहेका उनले रकम हिनामिना गरेको बुझिएको छ । अहिले प्रहरीले उनको खोजी गरिरहेको छ ।
युट्युबबाट सिकेको च्याउ खेतीले फेरियो विरगंजको रामनाथको जीवन
वीरगञ्ज । केही वर्षअघिसम्म ‘मिस्त्री’ काम गर्दै आएका वीरगञ्ज महानगरपालिका २५ सिर्सिया निवासी रामनाथ पासवानको पहिचान यतिबेला फेरिएको छ । बस्ती नजिकै करिब आठ कट्ठा क्षेत्रफलमा व्यावसायिक च्याउ खेती गर्न सुरु गरेका ५० वर्षीय उनी अहिले जिल्लामा च्याउ उत्पादक किसानको रुपमा आफ्नो पहिचान बनाउन सफल भएका हुन्र । कुनै बेला राजमिस्त्री रामनाथ भनेर चिनिने उनलाई अहिले च्याउबाला रामनाथको रुपमा स्थानीयले सम्झिने गरेका छन् । स्थानीय साहुसँग पाँच वर्षका लागि भाडामा लिएको सात कट्ठा जग्गा र आफ्नो एक कट्ठामा गरी आठ कट्ठा क्षेत्रफलमा व्यावसायिक च्याउ खेती गर्दै आएका पासवानलाई अहिले कतिबेला च्याउ टिपेर बजारसम्म पु¥याउने भन्ने हतारो हुन्छ । सामान्य लेखपढ गर्न मात्र जान्नुभएका पासवान अहिले सिर्सिया कृषि फर्म दर्ता गराई व्यावसायिक रुपमा च्याउ उत्पादन गरी व्यापारीमार्फत वीरगञ्जसहित काठमाडौ्सम्म पु¥याएर राम्रो आम्दानी गर्दै आएको बताउँछन् । ‘पहिला चर्को घाममा उभिएर काम गर्नुपर्दा धेरै स्वास्थ्य समस्या हुन्थ्यो’, उनी भन्छन्, ‘त्यही भएर राजमिस्त्रीको काम छाडेर व्यवसायी गर्छु भनेर सोचे र च्याउ खेती सुरु गरे ।’ थोरै मिहिनेत र कम समयमा राम्रो आम्दानी हुने भएकाले च्याउ खेतीलाई आफूले व्यावसायिक रुपमा अघि बढाएको उनको भनाइ छ । ‘सुरु सुरुमा च्याउ खेतीबारे खासै कुनै जानकारी थिएन, त्यसैले के गर्ने नगर्ने अन्यौलतामा थिए’, किसान पासवान भन्छन्, ‘पछि युट्युव च्यानलबाट हेरेर यहीबाट सिक्दै च्याउ खेती सुरु गरे, अहिले यसबारे पूरा सिकिसके ।’ कृषि ज्ञान केन्द्र पर्साका प्राविधिकले पनि समय समयमा यसबारे परामर्श दिइरहेका छन् । स्थानीय कच्चा पदार्थ (सोतर)को प्रयोग गरेर उत्पादन सुरु गरेको च्याउ नै आम्दानीको गतिलो स्रोत बनेको उनको भनाइ छ । च्याउ उत्पादनका लागि चिसो मौसम उपयुक्त मानिन्छ । गर्मीयाम उत्पादन नहुने भए पनि च्याउ खेतीबाट वार्षिक तीन/चार लाखसम्म आम्दानी गर्ने गरेको पासवानको कथन छ । एक्लैले नभ्याइपछि पासवानले अहिले उत्पादित च्याउ टिप्न र प्याकिङ गर्न चार जना कामदारलाई रोजगारीसमेत दिएका छन् । ‘अहिले दैनिक ४०/५० किलो च्याउ उत्पदान हुन्छ, त्यो टिपेर प्याकिङ गर्न एक्लैले भ्याउँदैन्’, पासवान भन्छन्, ‘त्यसैले चार जनालाई कामदारको रुपमा राखेको छु, उहाँहरुले सघाइरहनुभएको छ ।’ च्याउ टिपेर प्याकिङ गरेपछि व्यापारी फर्ममै च्याउ खरिद गर्न आउने गरेको पासवानको भनाइ छ । कुनै बेला खान लाउनसमेत धौधौ हुने पासवानलाई अहिले घर खर्चदेखि सम्पूर्ण खर्च च्याउ खेतीकै आम्दानीले पुग्ने गरेको छ । उनले सोही व्यवसायबाट आफ्ना चार छोराछोरीलाई वीरगञ्जस्थित राम्रो विद्यालयमा पढाइरहेका छन् । च्याउ खेतीका लागि खासै ठुलो समस्या नरहेको बताउने किसान पासवान गर्मीयाम उत्पादन नहुने र पानी जम्ने हुँदा केही समस्या भइरहेको बताउँछन् । च्याउ खान स्वादिष्ट र स्वस्थकर हुने भएकाले बजारमा च्याउको माग बढी छ । च्याउ अहिले पर्साको वीरगञ्ज लगायतका बजारमा प्रतिकिलो एक सय ६० का दरले बिक्री भईरहेको च्याउ व्यापारी तेजीलालकुमार सर्राफ बताउँछन् । ‘बजारमा च्याउको माग बढी छ, तर उत्पादन त्यति छैन’, उनी भन्छन्, ‘जिल्लाको दुई ठाउँमा मात्र च्याउ खेती हुन्छ, त्यसले बजारको मागलाई धान्न सकिरहेको छैन ।’ हेटाैंडाबाट पनि च्याउ मगाउँछौँ तर पासवानको फर्मबाट उत्पादन भएको च्याउको जस्तो हेटौँडाबाट आउने च्याउमा स्वाद नभएकाले यहीको च्याउ नै धेरैले खोज्ने गरेको सर्राफ बताउँछन् । च्याउ खेतीलाई प्रवद्र्धन गर्न आवश्यक परामर्शसहित बिउबिजनसमेत सहयोग गरिरहेको कृषि ज्ञान केन्द्रका पर्साका प्रमुख मुनिलाल कुशवाह बताउँछन् । सुरुमा व्यवसाय सञ्चालनका लागि आफ्नै लगानी परे पनि अहिले यस्ता कृषकलाई आर्थिक तथा प्रविधि सहयोगसमेत गर्दै आएको प्रमुख कुशवाहको भनाइ छ । बजारीकरणको समेत राम्रो सम्भावना भएकाले च्याउ खेतीलाई प्रजद्र्धन गर्ने आफूहरुको नीति रहेको उनले बताए । रासस
रुकुममा प्रहरीले नष्ट गर्यो नक्कली मह
रुकुम । रुकुम पूर्वमा दुई सय २२ किलो नक्कली मह नष्ट गरिएको छ । रुकुम पूर्वको भूमे गाउँपालिका–२ खाबाङ बगरमा बेवारिसे अवस्थामा रहेको महलाई प्रहरीले नियन्त्रणमा लिइ नष्ट गरेको हो । शनिबार भूमे–२ स्थित इलाका प्रहरीचौकी काक्रिको टोलीले गस्तीको क्रममा आठ पहेलो जरकिनमा र १६ सानो प्लास्टिकको डिब्बामा राखेको अवस्थामा नक्कली मह फेला पारेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ । उक्त नक्कली महलाई सरोकारवाला निकायको रोहवरमा नष्ट गरिएको जिल्ला प्रहरी प्रमुख अन्जना श्रेष्ठले जानकारी दिए । उनका अनुसार यस्तो नक्कली मह बनाई बिक्री वितरण तथा अन्य प्रयोजनले नागरिकको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भएकाले सो कार्य कसले किन र कहिलेदेखि ग¥यो, यसमा कोको संलग्न छन भनी अनुसन्धान भइरहेको छ । प्रहरीले यस अगाडि पनि ८० किलो भिर मौरीको मह जिल्लाभित्रै बेवारिसे अवस्थामा फेला परेको थियो । यसलाई जिल्लाको डिभिजन वन कार्यालयमा पठाई परीक्षण पश्चात लिलाम गरिएको प्रहरीले जानकारी दिएको छ । रासस
नख्खु—भैंसेपाटी सडक खण्डको काम जेठ महिना भित्र सम्पन्न हुन्छ : यातायात मन्त्री
काठमाडौं । भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले नख्खु—भैंसेपाटी सडक खण्डको काम जेठ महिना भित्रमा सम्पन्न हुने बताएका छन् । सोमबार मन्त्रालयको टोलीले सडक खण्डको अवलोकन तथा निरीक्षण गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले आफू मन्त्री हुँदा यस सडक खण्डको विशेष चर्चा भइरहेको र आफूले चर्चा कम गर्न काम गरेर देखाउन निर्देशन दिएको बताए । उनले अहिले काम निकै उपलब्धिमुलक रहेको भन्दै अब नख्खु—भैंसेपाटी क्षेत्रका बासिन्दाहरुले लामो समयसम्म धुलो र सास्ती व्यहोर्नु नपर्ने उल्लेख गरे । उनले भने, ‘अबको एक हप्ताभित्र सडकखण्डको कालोपत्रे हुनुपर्छ । यसअघि सम्बन्धित निकायहरुसँगको समन्वय कम हुँदा विभिन्न व्यवधान आइरहेकाले समन्वय र सहजीकरणमा कमी हुनु हुदैन । निरीक्षणका क्रममा चाँडो काम सम्पन्न गर्नुपर्छ ।’ मन्त्री ज्वालाले आगामी दिनमा देशभरका सडक, पुलहरु निर्माणका लागि अन्तरमन्त्रालयसँग समन्वय गरी एकै पटकमा काम सक्ने गरेर काम गर्ने प्रतिबद्धता जनाए । उनले बजेट प्रश्तुत भइसकेपछि मन्त्रालयसँग सम्बन्धित विषयमा फिल्डमा नै गएर समस्या समाधान गर्ने बताए । उनले आगामी दिनमा अनुगमन र निरीक्षणको क्रमलाई तिब्रता दिने बताए । उनले सरकारले महत्वपूर्ण सडकका खाल्डाखुल्डी पुर्ने कामलाई प्राथमिकतामा राख्ने जानकारी दिए । मन्त्री ज्वालाले काठमाडौं उपत्यकामा खाल्डाखुल्डी पुर्ने काम तिब्र गतिमा अघि बढेको आगामी वर्षको बजेटमा खाल्डाखुल्डी पुर्नका लागि रोड एम्बुलेन्सको परिकल्पना गरेकोमा पनि जोड दिए ।
म्याग्दीको मौरिस हर्गोज पदमार्गमा पर्यटक भित्र्याउन सक्रियता बढ्यो
बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित नर्थ अन्नपूर्ण हिमालको आधार शिविर क्षेत्रमा पर्यटक भित्र्याउन गाउँपालिकाले सक्रियता बढाएको छ । नारच्याङदेखि आधार शिविर जोड्ने ‘मौरिस हर्गोज ट्रेल’मा पदमार्ग, झोलुङ्गे पुल, विश्रामस्थल, आश्रयस्थललगायतका पर्यटन पूर्वाधार तयार भएपछि पदमार्ग हुँदै पर्यटकको आगमन बढाउन गाउँपालिकाले प्रवद्र्धन अभियान सञ्चालन गरेको हो । अन्नपूर्ण प्रथम हिमालको पहिलो आरोही फ्रान्सेली नागरिक मौरिस हर्गोजको नामबाट पहिचान गरिएको आधार शिविर पुग्ने पदमार्गको प्रचारप्रसार र प्रर्वद्धनका लागि यही जेठ ४ गतेदेखि ७ गतेसम्म सरोकारवालाको सहभागितामा स्थलगत अध्ययन अवलोकन भ्रमण गरिएको छ । जिल्लास्थित पत्रकार, गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, शिक्षक, पर्यटन व्यवसायी, स्थानीयवासी, लगायतका सरोकारवालासमेतको ३६ जनाको टोलीले पदमार्ग हुँदै आधार शिविर पुगेर स्थलगत अवलोकनसहित पर्यटन सम्भावना र चुनौतीका विषयमा अन्तक्र्रिया गरेकाहुन् । नारच्याङदेखि कूल ४२ किलोमिटरको दूरीमा रहेको नर्थ अन्नपूर्ण आधार शिविर पुग्नका लागि हुमखोलासम्मको २० किलोमिटर दूरीको बाटोमा सडकको पहुँच पुगेको छ भने हुमखोलादेखि आधार शिविरसम्मको २२ किलोमिटर दूरीमा पदमार्ग निर्माण भएको छ । सडक र पदमार्गसँगै पर्यटकका लागि ठाउँ ठाउँमा आश्रयस्थललगायतका पूर्वाधार निर्माण भएपछि एकै दिनमा आधार शिविर पुग्न सकिने अवस्था तयार भएकाले यस क्षेत्रको प्रचारप्रसारका लागि प्रवद्र्धन अभियान सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष भारतकुमार पुनले बताए । ‘मौरिस हर्गोजले अन्नपूर्णको आरोहण गर्दा प्रयोग गरेकै बाटोलाई समेटेर पदमार्ग तयार भएको छ, प्राकृतिक सुन्दरताले भरिएको अन्नपूर्ण आधार शिविरमा एकै दिनपुग्न सकिने भएपछि यसको प्रवद्र्धनमा गाउँपालिकाले अभियान चलाएको छ, अध्ययन टोलीको सुझाव र प्रतिवेदनका आधारमा यस क्षेत्रका समस्याको पहिचान र निराकरणमा हाम्रो पहलकदमी रहन्छ’, उनले भने । गाउँपालिका अध्यक्ष पुन, उपाध्यक्ष दिवाकुमारी तिलिजा पुन र प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीको टोलीले आधार गत महिना शिविर क्षेत्रको स्थलगत अवलोकन गरेपछि सरोकारवालालाई समेटेर प्रवद्र्धनात्मक कार्यक्रम तय गरिएको थियो । गाउँपालिकाले आयोजना गरेको नर्थ अन्नपूर्ण प्रवद्र्धन टोलीमा सहभागीमध्ये १५ जनाको टोली गाउँपालिकाको केन्द्र पोखरे बगरदेखि एकै दिनमा आधार शिविर पुग्न सफल भएका थिए । टोलीले आधार शिविर क्षेत्रको सम्भावना, समस्या र चुनौतीका विषयमा समुद्री सतहदेखि चार हजार तीन सय पाँच मिटरको उचाइँमा रहेको अन्नपूर्ण प्रथमको आधार शिविरमा अन्तक्र्रियासमेत गरेका थिए । सम्भावनाले भरिपूर्ण नर्थ अन्नपूर्ण आधार शिविरलाई प्रचार प्रसारका माध्ययममार्फत आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढाउन प्रवद्र्धन अभियानलाई व्यापक बनाउने टोलीले निष्कर्ष निकालेको टोलीमा सहभागी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताए । ‘नर्थ अन्नपूर्णको प्रवद्र्धनमा गाउँपालिकाबाट भएको यो पहिलो प्रयास हो, यहाँ लुकेर रहेको अथाह सम्भावनालाई उजागर गर्नसके यस क्षेत्रमा पर्यटन विकासको मूल फुटाउन सकिन्छ, गाउँपालिकाले समेत यसका लागि आवश्यक योजना तयार गरिरहेको छ’, उनले भने । उक्त टोलीमा सहभागीले गाउँपालिकाले आधार शिविरको चार हजार एक सय मिटरमा आयोजना गरेको मैत्रीपूर्ण एक सय मिटर दौड, छेलो फाल्ने र अन्ध निसान प्रतियोगितामा समेत सहभागिता जनाएका थिए । उच्च उचाइँमा आयोजित खेलकुद प्रतियोगिताले अन्नपूर्ण आधार शिविरको महत्वलाई थप उजागर गरेको अध्ययन अवलोकन टोलीले निचोड निकालेको छ । पदमार्ग र झोलुङ्गे पुलको मर्मत सुधारका लागि गाउँपालिकाले पहल थालिसकेको छ । अहिले आधार शिविर, धरमढुङ्गा, भुसकेटमेला, गुफाफाँट, सांधीखर्क, हुमखोला र छोटेपा गरी सात ठाउँमा आश्रयस्थलका पूर्वाधार तयार भएका छन् । पर्यटकको आगमन बढ्ने सम्भावनालाई मध्यनजर गर्दै आधार शिविर र भुसकेट मेलामा थप आश्रयस्थल निर्माण, खानेपानीको सुविधा विस्तार, मोबाइल फोनको पहुँच विस्तारलगायतका काम गर्न आवश्यक रहेको नारच्याङका पर्यटन अगुवा तेज गुरुङले बताए । ‘एकै दिनमा आधार शिविर पुग्न सकिने पूर्वाधार तयार भएको कुरा प्रचारप्रसार नहुँदा ओझेलमा परेको छ, अझै पनिपर्यटक हेलिकप्टरमार्फत आधार शिविर पुग्ने गर्छन, कम्तीमा पदमार्गको प्रचारप्रसार गर्नसके पदमार्ग हुँदै आन्तरिक पर्यटकको आगमन ह्वात्तै बढ्न सक्छ’, उनले भने । सन् १९५० जुन ३ तारिकका दिन फ्रान्सका मौरिस हर्गोजले अन्नपूर्ण प्रथम हिमालको आरोहण गरेका थिए । हर्गोजले आरोहणका लागि आधार शिविर जानप्रयोग गरेको पदमार्गलाई पछ्याउँदै विसं २०६८ मा ‘मौरिज हर्गोज पदमार्ग’ को पहिचान गरिएको थियो । छोटो पैदलयात्रा र सुरक्षितरुपमा सुरक्षित अन्नपूर्ण आधार शिविरमा पुग्ने पदमार्ग, झोलुङ्गे पुल, आश्रयस्थललगायतका पूर्वाधार बनाउन पर्यटन मन्त्रालयले दुई करोड ८० लाख रुपैयाँ र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले ४० रुपैयाँ लाख बढी लगानी गरेका छन् । अन्नपूर्ण र नीलगिरि हिमालको फेदीबाट बग्ने मिस्त्रीखोलाको किनारै किनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै आधार शिविर पुग्न सकिन्छ । अन्नपूर्णको फेदीमा करिब २० हजार वर्गमिटरमा फैलिएको मनोरम पञ्चकुण्ड ताल यहाँका थप आकर्षणको रुपमा रहेको छ । यस पदमार्गको प्रचारप्रसारका लागि गाउँपालिकाको आयोजनामा विसं २०७६ मा प्रथम अन्नपूर्ण महोत्सवको आयोजना गरिएको थियो । अन्नपूर्ण आठ हजार मिटरभन्दा अग्लो पहिलो मानव पाइला परेको जेठो हिमाल हो । मौरिस हर्जोगले अन्नपूर्ण आरोहण गरेको दुई वर्षपछि सगरमाथाको पहिलो आरोहण भएको थियो । हर्जोगले मुस्ताङको टुकुचेबाट अग्ला हिमाली पहाड हुँदै नारच्याङको भुसकेटमेला भएर अन्नपूर्ण प्रथमको सफल आरोहण गरेका थिए । अन्नपूर्ण गाउँपालिकाले हर्जोगले हिमाल आरोहण गर्दा वास्तविकरुपमा प्रयोग गरेकै आधार शिविरमा उहाँका सालिक बनाउने योजनासमेत तयार गरेको जनाएको छ । रासस
किन लगायो भारतीय रिजर्ब बैंकले २ हजारको नोटमाथि प्रतिबन्ध ?
काठमाडौं । ८ नोभेम्बर २०१६ राति ८ बजे टेलिभिजनबाट सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोही रातको १२ बजेबाट एक हजार र पाँच सयका नोटलाई चलनचल्तीलाई हटाएका थिए । प्रधानमन्त्री मोदीको सो घोषणासँगै भारतीय मुद्रा बजारका १५.४४ करोड नोट चलनचल्तीबाट बाहिरिएको थियो । सो प्रतिबन्धसँगै भारतीय रिजर्ब बैंकले दुई हजारको नोट छाप्न शुरु गरेको थियो । यसले नोटको अभावलाई पूर्ति त गरेको थियो तर, नयाँ समस्या पनि सिर्जना गर्न पुग्यो । त्यस्तै, १९ मे को दिन भारतीय रिजर्ब बैंकले दुई हजारको नोटको सर्कुलेसन बन्द भएको घोषणा गर्यो । किन प्रतिबन्ध गरियो नोटलाई ? यो विषय बुझ्नको लागि सबैभन्दा पहिले कालोधनको विषयलाई बुझ्नुपर्ने हुन्छ । पहिलो विषय यो हो की कालोधन जहिलेपनि नोटको रुपमा नै सञ्चित गरिएको हुन्छ । कालोधन सुन, चाँदी, जमिन तथा अन्य सम्पत्तिको रुपमा समेत सञ्चिति गरिएको हुन्छ । विशेष गरी गैरकानूनी सम्पत्तिमा कर छली गरिएको हुन्छ । भारतमा सन् २०१६ को ८ नोभेम्बरमा सोही कालोधनलाई निशाना बनाएर पाँचसय र एक हजारको नोटमाथि प्रतिबन्ध लगाइएको थियो । अचानक भारतमा ८५ प्रतिशत नोट नचल्ने भएका थिए । कतिपय मानिसहरुसँग लेनदेनको लागि नोट नै नभएको अवस्था सिर्जना भएको थियो । कतिपय मानिसको जीवनमा निकै कठिनाईको अवस्था सिर्जना भएको थियो । सोही समयमा छापिएको दुई हजारको नोट जहाज र हेलिकप्टरको प्रयोग गरेर देशको विभिन्न भागमा पुर्याइएको थियो । भारतमा ५, १०, २०, ५० र १०० का नोट प्रतिवर्ष ३३ प्रतिशतका दरले बिग्रने गरको छ । अर्थात साना मूल्यका एक तिहाई नोट हरेक वर्ष एक तिहाई संख्यामा बिग्रने गरेको छ । जहाँ ५ सयको नोट २२ र एकहजारको नोट ११ प्रतिशत मात्रै बिग्रने गरेको छ । नोट बिग्रने यस्तो दर कालोधनको भण्डारमा भने कम हुने गरेको अनुमान गरिएको छ । भारतीय रिजर्ब बैंकले सन् २०१६ मा कालोधन ७ दशमलब ३ लाख करोड भएको अनुमान गरेको थियो तर सो अनुमान मिल्न सकेको थिएन । जबकी ९९.३ प्रतिशत नोट बैंकमा जम्मा हुन आएका थिए । रिजर्ब बैंकले त्यो नोटबन्दी पछि दुई हजारका नोट छपाएर भुलसुधार गरेको थियो । जसलाई ४ वर्ष अगाडिदेखि चलनचल्तीबाट हटाउने कोशिष गरिएको थियो, तर शुक्रबारबाट मात्रै कार्यान्वयनमा ल्याउने काम भयो । निकट चुनाव अगाडि रिजर्ब बैंकले अगाडि सारेको यो कदमलाई महत्वपूर्ण रुपमा लिइएको छ । किनकी चुनावमा खर्च हुनसक्ने कालोधनलाई यो कदमले रोक्न सक्ने अनुमान गरिएको छ । ‘सामान्य चुनाव अगाडि यस्तो कदम चाल्नु बुद्धिमानी निर्णय हो, यी नोटहरु भण्डार गरेर प्रयोग गर्ने मानिसहरुले असुविधाको सामना गर्नुपर्ने हुन्छ’, एलटी एन्ड फाइनान्सकी सहायक प्रमुख तथा अर्थशास्त्री रुपा रेगेलाई उदृत गर्दै रोयटर्सले लेखेको छ । अहिले चलनचल्तीको रुपमा ४४.२७ बिलियन डलर बराबरको दुई हजारको नोट रहेको बताइएको छ । यो भनेको भारतमा चलनचल्तीमा रहेको कुल मुद्राको जम्मा १०.८ प्रतिशत मात्रै हो । सोही कारण सो नोटमाथिको प्रतिबन्धले समाजमा कुनै समस्या सिर्जना नगर्ने धेरैको अनुमान रहेको छ । सरकारले जनतालाई आगामी सेप्टेम्बर ३० सम्म आफ्ना नोटहरु साट्न अनुरोध गरेको छ । यसले बैंकिङ क्षेत्रको निक्षेपमा सुधार हुने समेत अपेक्षा गरिएको रेटिङ एजेन्सी इक्रा समूहका प्रमुख कार्तिक श्रीनिवासनले बताएका छन् । यसका साथै बैंकिङ ब्याजदरमा पनि केही कटौती हुनसक्ने अनुमान सम्बन्धित क्षेत्रका विज्ञहरुले गरेका छन् । अहिले भारतीय जनता पार्टीका नेताहरुले रिजर्ब बैंकको निर्णयलाई स्वागत गरेका छन् । उनीहरुले जनतासमक्ष सो नोट धेरै मात्रामा नभएकाले समस्या सिर्जना नगर्ने तर्क गरेका छन् । तर, समग्र भारतीय बजारमा भने नोट प्रतिबन्धको असर देखापरेको छ । नोट प्रतिबन्धको कारण गुजरात लगायत कतिपय राज्यमा सुनको मूल्यमा वृद्धि भएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
१ सय प्रतिशत हकप्रद बिक्री गर्न अरुण भ्याली हाइड्रोपावरले पायो अनुमति
काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले हकप्रद सेयर जारी गर्न अनुमति पाएको छ । कम्पनीले विद्युत नियमन आयोगबाट १ सय प्रतिशत हकप्रद सेयर निष्काशन गर्न अनुमति पाएको हो । कम्पनीको सञ्चालक समितिको वैशाख ६ गते बसेको बैठकले १ः१ को अनुपात अर्थात् १ सय प्रतिशत हकप्रद सेयर जारी गर्न प्रस्ताव गर्दै पूर्व स्विकृतीका लागि विद्युत नियमन आयोगमा निवेदन पेश गरेको थियो । कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँका दरले एक बराबर एक कित्ताले हुन आउने १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता सेयर हकप्रद मार्फत बिक्री गर्ने प्रस्ताव गरेको हो । सोही प्रस्ताव विद्युत नियमन आयोगले जेठ ५ गते स्विकृत दिएको कम्पनीले बताएको छ । अब सो हकप्रद प्रस्ताव नेपाल धितोपत्र बोर्डले स्वीकृति दियो भने बिक्री खुला गर्नेछ । कम्पनीले हकप्रद सेयरबाट संकलन रकम मध्ये ९३ करोड ३९ लाख ८१ हजार ३ सय पिके हाइड्रोपावर प्रालिले विकास गरेको ३० मेगावाटको लिखु खोला जलविद्युत आयोजना लगानी गर्नेछ । साथै, बाँकी रहेको रकम ९३ करोड ३९ लाख ८१ हजार ३ सय रुपैयाँ बैंकको ऋण भुक्तानी गर्नेछ । कम्पनीको चुक्ता पूँजी १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६ सय रुपैयाँ रहेको छ ।
४२० खानीलाई ‘लाइसेन्स’ प्रदान, खानीको रिपोर्ट आउन भने समस्या
काठमाडौं । खानी तथा भूगर्भ विभागले ४२० खानी खोजतलास गर्नका लागि अनुमति पत्र (लाइसेन्स) प्रदान गरेको छ । विभागले चालु आवमा नेपालको खनिज जन्य उद्योग प्रवर्द्धनका लागि मुलुकमा सम्भावित खानीको खोजतलास गर्न चार सय २० खानीलाई लाइसेन्स प्रदान गरेको हो । विभागका सूचना अधिकारी नारायण बाँस्कोटाले फलाम, तामा, सुन, चुनढुङ्गा, ग्रेनाइट, रुवी, डोलोमाइटलगायतका सम्भाव्य खानीको खोजतलासको लागि विभागबाट लाइसेन्स प्रदान गरिएको जानकारी दिए । उक्त विभागले गत वर्ष चार सय पाँच खानी खोजतलासको लागि लाइसेन्स प्रदान गरेको थियो । सो विभागले चालु आवमा एक सय ५९ खानीलाई उत्खननका लागि अनुमति दिएको छ भने गत वर्ष एक सय ५८ खानीलाई उत्खननका लागि अनुमति दिएको थियो । सूचना अधिकारी बाँस्कोटाले धौवादी फलाम उत्खननका लागि नवलपरासीमा विभागले खानी प्रदान गरेको बताए । वि.सं २०३३ देखि आधिकारिक रुपमा स्थापना भई खानी र भूगर्भको क्षेत्रमा काम गर्दै आएको सो विभागले हालसम्म ५० खानीको पहिचान गरी उत्खननका लागि विभिन्न कम्पनीलाई लाइसेन्स प्रदान गरेको छ । उदयपुर सिमेन्ट कारखाना, हेटौँडा सिमेन्ट उद्योगलाई चाहिने चुनढुङ्गा खानी विभागले अध्ययन गरेर प्रदान गरेको चुनढुङ्गा हो । विभागका महानिर्देशक डा सुधीर रजौरेले खानी विभागले यस वर्ष मात्रै दशभन्दा बढी स्थानमा खानीको अध्ययन गरिरहेको बताए । उनका अनुसार सङ्खुवासभाको लुहाकोटमा फलाम, भोजपुरको दिङ्लामा तामा, सिन्धुलीको खनियाखर्कमा ग्रेनाइट, धादिङको सुनौला बजारमा डोलोमाइट, धादिङको गणेश हिमालमा रुवी, रुकुममा तामा, उदयपुरको रतुवामाइमा फलाम, मधेस प्रदेशमा सेरामिक्स र धादिङको बेनीघाटमा चुनढुङ्गाको अध्ययन भइरहेको छ । सो विभागले खानीको सम्भाव्यता अध्ययन गरिरहे पनि ल्याबमा प्राविधिक कर्मचारी कमी हुँदा समयमा खानीको रिपोर्ट आउन भने समस्या हुने गरेको छ । विभागले प्रत्येक वर्ष देशका छुट्टाछुट्टै स्थानमा खानीको सम्भाव्यता अध्ययन गरे पनि त्यसको रिपोर्ट आउन भने वर्षौ लाग्ने गरेको छ । खनिज जन्य पदार्थको चेकजाँचको लागि विभागको ल्याबमा ११ जनाको दरबन्दी रहे पनि हाल दुई जना मात्र कार्यरत छन् । थोरै जनशक्ति भएको कारण विसं २०७२ सालमा अध्ययन गरेको खानीको रिपोर्ट अहिलेसम्म आउन सकेको छैन । सो विभागले चालु आवको फागुन महिनासम्म खानी उत्खननका लागि अनुमति प्रदान तथा लाइसेन्स प्रदान गरेर ३५ करोड ६६ लाख ३३ हजार ४४ राजस्व सङ्कलन गरेको छ । गत वर्ष फागुन मसान्तसम्म ९३ करोड ४५ लाख राजस्व सङ्कलन गरेको थियो । रासस