१५ सय रूखको बिरुवा रोप्दै बीवाइडीको विक्रेता साइमेक्स इंक
काठमाडौं । बीवाइडीको लागि नेपालको आधिकारिक विक्रेता साइमेक्स इंकले चखन्दोल सामुदायिक वनमा १५ सय रूखको बिरुवा रोप्ने भएको छ । साइमेक्स इंक प्रालिले ‘बिल्डिङ ड्रिम्स एण्ड फरेस्ट’ नामक अभियानको अन्तर्गत १५ स य रुखको बिरुवा रोप्ने भएको हो । कम्पनीले कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत विश्व जैविक विविधता दिवसको अवसरमा यो रणनीतिक अभियान सुरू गरेको बताएको छ । यस अभियानमार्फत कम्पनीले २०६२ सालमा अवैध बालुवा उत्खनन र वन फँडानीको शिकार भएको चखन्दोल सामुदायिक वनको पुनःस्थापना र पुनरुत्थान गर्ने लक्ष्य राखेको जनाएको छ ।रिभोलुसन प्रोजेक्टसँगको सहकार्यमा साइमेक्सले इनोभेटिभ मियावाकी टेक्निक प्रयोग बिरुवाहरु रोप्नेछ । विश्वको सबैभन्दा प्रदूषित सहरको सूचिमा परेको काठमाडौंलाई यो अभियानले ८२७ टन अक्सिजन उत्पादन गर्ने र ३१० टन कार्बन भण्डारण गर्ने प्रक्षेपण गरिएको कम्पनीले जनाएको छ । त्यसैगरी, पाँच वर्षको अवधिमा बीवाइडी फरेस्टले १५५० टन कार्बन सिक्युस्टेरिङ ९कार्बन डाइअक्साइड जस्ता हानिकारक पदार्थलाई सुरक्षित राख्ने तरिकाले छुट्याउनु र भण्डारण गर्दै चार हजार १३३ टन अक्सिजन उत्पादन गर्ने लक्ष्य राखेको छ ।
अख्तियार प्रमुख नै ठूल्ठूला भ्रष्टाचारमा जोडिए, राजीनामा माग
काठमाडौं । मंगलबार साँझदेखि सबैभन्दा चर्चामा रहेका पात्र हुन् अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएको प्रकरणमा संग्लन भएकोे भन्दै प्रहरीले पक्राउ गरेका अभियुक्तले दिएको बयानमा राई मुछिएका हुन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने प्रपञ्चमा लागेको गिरोहका नाइके सानु भण्डारी र केशवप्रसाद दुलालले सरकारी वकिलको रोहबरमा प्रहरीसँगको बयानमा अख्तियारका बहालवाला प्रमुख आयुक्त तथा पूर्व गृहसचिव राईको नाम लिएका हुन् । बयानका क्रममा उनले तत्कालीन गृहमन्त्री रामबहादुर थापाका प्रमुख सुरक्षा सल्लाहकार डा. इद्रजित राई मार्फत् सिंहदरबारमै सचिव राईको गाडीमा एक करोड रुपैयाँ राखिएको बताएका छन् । ‘हामीले सचिवको गाडीमा नगद राखेर उनलाई भेट्न कार्यकक्षमा गएका थियौं, नगद राखेर उनलाई भेट्न जाँदा काम हुन्छ तपाईहरु ढुक्क हुनुस् भनेपछि हामीहरु फर्कियौं,’ उनीहरुले प्रहरीलाई बयानका क्रममा भनेका छन् । प्रमुख आयुक्तका रुपमा अख्तियार प्रवेश गरेपछि उनले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान समेत नगरेको पाइएको छ । भुटानी शरणार्थीका रुपमा अमेरिका जानका लागि रकम बुझाएकाहरुले रकम फिर्ता नभएको भन्दै २०७८ को मंसिरमा अख्तियारमा उजुरी गरेका थिए । तर, प्रमुख आयुक्त राईले उनीहरुको उजुरी दर्ता नै नगरी अख्तियारको क्षेत्राधिकारभित्र नपर्ने भन्दै फिर्ता पठाएका थिए । पहिलो चरणमा उजुरी दर्ता गरेको अख्तियारले दोस्रो पटक आफ्नै प्रमुखलाई सम्बोधन गरेको उजुरी नै तामेलीमा राखेको पाइएको छ । उनले आफूविरुद्धको उक्त उजुरीलाई तामेलीमा पठाएका थिए । प्रमुख आयुक्त हुनुअघि उनीमाथि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको सचिव हुँदा समेत भ्रष्टाचार गरेको आरोप लगाइएको थियो । उनी आयल निगमको जग्गा र नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिदमा समेत मुछिएका थिए । अहिले राईमाथि प्रमुख आयुक्तबाट राजीनामा दिएर नक्कली भुटानी शरणार्थी प्रकरणमा सघाउन दवाव बढिरहेको छ । यदि राईले राजीनामा दिएनन् भने सरकारले संविधानको धारा १०१ (उप धारा–२) अनुसार प्रतिनिधि सभामा महाभियोग प्रस्ताव दर्ता गरेर हटाउन सक्ने कानुनी व्यवस्था छ । संविधानको धारा १०१ (उप धारा–२) अनुसार प्रतिनिधि सभाका एक चौथाई सदस्यले महाअभियोग प्रस्ताव दर्ता गरेमा धारा १०१ को उपधारा (६) अनुसार स्वत निलम्बन हुने व्यवस्था छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले तत्काल राजीनामा दिनुपर्ने बताउँछन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा संग्लनतामा उनको नाम जोडिएपछि अनुसन्धानका लागि उनले तत्काल संवैधानिक नियुक्तीबाट राजीनामा दिनुपर्ने उनको भनाइ छ । ‘भ्रष्टाचारको अनुसन्धान गर्ने व्यक्ति अर्थात् संवैधानिक आयोगका प्रमुख नै भ्रष्टाचारमा संग्लन भएको भन्ने विषय आएपछि उनले तत्काल राजीनामा दिनुपर्छ, जतिसुकै ठूलो पदमा बसेको व्यक्ति किन नहोस् प्रहरीले तत्काल अनुसन्धान गरेर छानविन गर्नुपर्छ, अनुसन्धानलाई सघाउन राईले राजीनमा दिनु पर्छ’, उनले भने । उनले उक्त प्रकरणमा मुछिएका सबैमाथि छानविन हुनुपर्ने बताउँदै कसैले कुनै पनि छुट तथा अन्मुक्ती पाउन नहुने धारणा राखे । यो गम्भीर विषय हो, राज्य भित्रभित्रै कति खोक्रो भइसकेको छ भने कानुनको संरक्षणकर्ता नै कति भ्रष्ट छन् भन्ने उदाहरण यो हो, एउटा गृह सचिव भएको व्यक्तिलाई रातारात संबैधानिक निकायको प्रमुख बनाइन्छ, उनको विगतलाई नहेरी भ्रष्टाचारमा मुछिएका व्यक्तिलाई भ्रष्टाचार नियन्त्रण गर्ने आयोगको जिम्मा दिनु नै गलत हो’, उनले भने । संविधानविद् भिमार्जुन आचार्य नैतिकताको आधारमा प्रमुख आयुक्त राईले राजीनामा दिनुपर्ने बताउँछन् । ‘उहाँ जतिको मान्छेलाई हामीले के भन्नु र, नक्कली भुटानी शरणार्थी प्रकरणमा उहाँको नाम जोडिएपछि नैतिकताको आधारमा स्वतन्त्र भएर उहाँले राजीनामा दिनुपर्नै हो, अनुसन्धानका लागि प्रहरीलाई सहयोग गर्नु बाहेक अर्काे विकल्प छैन’, उनले भने । उनले भ्रष्टाचारकोे छानवीन गर्ने आयोगकै प्रमुख भ्रष्टाचार मुद्धामा संग्लन भएको भनिरहँदा संवैधानिक आयोग माथि नै प्रश्न खडा भएको बताए । यस्तै, प्रक्राउ परेका दुई अभियुक्तले सरकारी तहबाट काम गराउन सिंहदरबारदेखि मन्त्री क्वाटर र प्रधानमन्त्री निवास बालुवाटारसम्म पुगेर पैसा विभिन्न व्यक्तिलाई नगद बुझाएको दाबी गरेका छन् । तत्कालीन गृहमन्त्री रामबहादुर थापा, उनकी पत्नी नैनकला, छोरा प्रतीक, सुरक्षा सल्लाहकार इन्द्रजित राई, तत्कालीन गृह सचिव प्रेमकुमार राई, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप, त्यस बेलाका प्रधानमन्त्री केपी शर्मा ओलीका स्वकीय सचिव राजेश वज्राचार्य तथा सल्लाहकार अजयक्रान्ति शाक्य, तत्कालीन गृहमन्त्री बालकृष्ण खाण यो प्रकरणमा जोडिएका छन् । यस्तै, खाणका स्वकीय सचिव नरेन्द्र केसी, गृह सचिव टेकनारायण पाण्डेलगायत ३० जनाविरुद्ध मुद्दा दायर गरेको भएकाे छ । बुधवार जिल्ला सरकारी वकिलको कार्यालयले उनीहरूलाई ठगी, किर्ते, राज्यविरुद्धको अपराध, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दर्ता गरेको हो । प्रहरीले चारवटा अभियोगमा मुद्दा दर्ता गर्न सिफारिस गरेको भए पनि जिल्ला सरकारी वकिल कार्यालयले किर्तेसम्बन्धी थप मुद्दा पनि दायर गरेको छ । काठमाडौं जिल्ला अदालतमा दर्ता गरिएको मुद्दामा आरोपितहरूबाट २८ करोड ८१ लाख रुपैयाँ बिगो दाबी गरिएको छ ।
बजेटमा एसेम्बलिङ उद्योगमा कर बढ्ने सूचना कसले चुहायो ?
काठमाडौं । अर्थमन्त्रालय आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट लेखनको अन्तिम चरणमा पुगेको छ । बजेट लेखनकै लागि मन्त्रालयले सोमबारदेखि अर्थमन्त्रालयको ढोका नै बन्द गरेको छ । बाहिरि व्यक्तिहरु मन्त्रालय प्रवेश गर्दा बजेट लेखनमा प्रभाव पर्नेभन्दै सोमबारदेखि अर्थमन्त्रालय बाहेकका अन्य कर्मचारीहरुलाई बाहिरै रोकेर मन्त्रालय बजेट लेखनमा केन्द्रित भएको हो । गत चैतदेखि नै मन्त्रालयले ६ सदस्यीय बजेट लेखन समूह बनाएर बजेटको काम गरिरहेको छ । कोर टिम बनाएर बजेट लेख्दा वा भनु मन्त्रालयकै ढोका बन्द गरेर काम गर्दा बजेटमा समावेश हुने करका दर हेरफेरको सूचना बाहिरिएको छ । आगामी बजेटमा करको दर हेरफेरको सूचना चुहिएसँगै उद्योगी व्यवसायीहरु बजेटमा समावेश नगर्न लविङ सुरु गरेका छन् । मंगलबार नै नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले एक विज्ञप्ती नै जारी गरेर करका दर हेरफेर नगर्न आग्रह गरेको छ । ‘हामीले गोप्य सूचना मार्फत आगामी बजेटमा नेपालमा नै सवारी उत्पादन गर्ने (एसेम्बलिङ) उद्योगमा दिँदै आएको कर छुट हटाउने जानकारी पाएका हौँ, सरकारले प्रत्येक वर्ष करको दरमा परिवर्तन गर्दा व्यवसायमा संकट आउने देखिपछि नबढाउन आग्रह गरेका हौँ’, नाडा स्रोतले भन्यो । ‘सरकारले ल्याउन लागेको बजेटमा त्यस्ता सवारी साधन एसेम्बलिङ्ग उद्योगहरुलाई दिइदै आएको महशुलमा छुट लगायत नीतिगत सुविधाहरुलाई कटौटी गर्न लागेको भन्ने विषयमा सुनिएको छ’, नाडाले सार्वजनिक गरेको विज्ञप्तीमा भनिएको छ । नाडाका महासचिव सुरेन्द्र कुमार उप्रेतीले जारी गरेको विज्ञप्ती अनुसार सरकारले एसेम्बल उद्योगमा छुट दिँदा हाल नेपालमा २ वटा कम्पनीले दुई पाँग्रे सवारी उत्पादन गर्दै आएका छन् भने अन्य तयारीको चरणमा रहेका छन् । ‘नाडाले धेरै समय अघिदेखि राख्दै आएको मागलाई दृष्टिगत गदैं सरकारले नेपालमा सवारी साधनहरुको एसेम्बली उद्योग स्थापनाका लागि नीजिक्षेत्रलाई आकर्षित र प्रोत्साहित गर्न त्यसमा लाग्ने महशुलहरुमा विभिन्न छुट र नीतिगत सुविधाहरुको व्यवस्था गरेको छ, यसैको फलस्वरुप नेपालमा ४ वटा दुई पाँग्रे सवारी साधनहरुको एसेम्बल उद्योगहरुले उत्पादन गरिरहेको, अरु दुईवटा उद्योगहरु तत्कालै उत्पादनको अवस्थामा रहेको र केही अरु यस्ता एसेम्बल उद्योगहरु खुल्ने तयारीमा रहेका छन्’, विज्ञप्तीमा भनिएको छ ।
सगरमाथा खुट्टाले होइन आत्मबलले चढेँ : कीर्तिमानी आरोही हरिबहादुर
काठमाडौं । सगरमाथा आरोहणसँगै मैले नयाँ कीर्तिमान कायम गरेको छु । झट्ट हेर्दा म एक्लैले सगरमाथा चढेकोजस्तो देखिन्छ । तर यथार्थमा मलाई सगरमाथा चढ्न धेरै मनकारीहरुको साथ र सहयोग छ । विशेष गरी शेर्पा पथप्रदर्शक र सहयोगी बिना यो सम्भव हुने थिएन । मेरो परिवार यतिबेला बेलायतमा छ । मेरो यो सफलतामा बेलायतमा रहेको परिवारले ठूलो साथ दिएको छ । त्यति मात्रै होइन, नेपाल र विश्वका कुना–कुनाबाट मलाई फोन कल र सन्देशमार्फत हौसला प्रदान गर्ने धेरै छन् । म कुनै समय विक्षिप्त भइ आत्महत्या गर्ने सोचमा समेत पुगिसकेको थिए । रक्सीको लतमा फसेर जीवन बर्बाद गर्ने अवस्थासम्म आएको थियो तर त्यसबाट बाहिर निस्किर आज यो अवस्थामा आइपुग्न साथ दिने सबै मेरो यो सफलतामा म जत्तिकै हकदार हुन् । हामी नेपालीहरु सगरमाथा, बुद्ध र गोरखालीको देशका रुपमा विश्वभर परिचित छौँ । यी तीन वटै कुरामा म व्यक्तिगत रुपमा जोडिएको छु । स्कुल पढ्दा हामीले सगरमाथाबारे पढेका थियौँ । तेञ्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले सगरमाथा चढेका कथा सुन्दा म पनि चढ्न पाए हुन्थ्यो भन्ने हुन्थ्यो । तर करिअर बनाउने सिलसिलामा ब्रिटिस आर्मीमा भर्ना हुन पुगे । त्यहाँ केही समय सेवारत भए । सेवाकै क्रममा अफगानिस्तान तैनाथ हुँदा युद्धमा परी म घाइते हुन पुगे । फलस्वरुप मेरा घुँडासम्मका दुवै खुट्टा गुमे । घाइते भएपछि मेरा पीडाका दिन सुरु भए । शारीरिक र मानसिक पीडाले लामो समयसम्म दुःख दियो । मेरो भाग्य र कर्ममै खोट रहेछ, पुरानो जन्मको फल होला भन्दै आफैलाई कैयन पटक धिक्कारेको छु । अब मेरो जिन्दगी नै सकियो भन्ने निचोडमा पुगिसकेको थिए । त्यही बेला पीडा भुलाउन रक्सी बाहना बन्यो । करिब डेढ वर्षसम्म रक्सीको लतमा जीवन डुब्यो । यतिसम्म कि रक्सी नपिउँदा शरीर काम्न थाल्यो । हरेक दिन रक्सी अनिवार्य जस्तै बन्यो । कतिपटक आत्महत्या गर्ने सोच पलायो अहिले भन्न सक्दिन । तर आफू मरेर परिवार र सन्तानलाई किन पीडा दिनु ? भन्ने सोचले आत्महत्या पनि गर्न सकिन । लामो समयसम्म रक्सीको लतमा फसेपनि केही समयपछि भने मनमा बाँच्ने रहर पलाएर आयो । घर परिवार र सन्तानको मायाले मलाई आफू बाँच्नुपर्छ भन्ने लाग्यो । म आफूलाई खेल तथा साहसिक गतिविधिमा केन्द्रित गराए । यो मेरो जीवन परिवर्तन गर्न सहयोगी बन्यो । यसैक्रममा स्की खेल्न युरोप र अमेरिकामा पनि पुगे । एड्भेञ्चर खेल खेल्दा विद्यालयमा छँदा पढेको आफ्नै सगरमाथाको तस्बिरले पछ्याउन थाल्यो । विश्वका अन्यत्र स्थानका हिमाल देख्दा सगरमाथाको झल्को अझ बढ्न थाल्यो । यसबीच मैले माउन्टेनरिङसम्बन्धी तालिम लिएँ । माउन्टेन प्रशिक्षक भएर काम पनि गरेँ । अपाङ्गता भएर पनि स्की खेल खेल्ने नेपालमा पहिलो खेलाडी पनि बने । तालिमका क्रममा गोसाइँकुण्डसम्म पुगे । हाइ अल्टिच्युडमा कस्तो हुन्छ रु शारीरिक रुपमा सम्भव छ वा छैन भन्ने अनुभव भयो । स्की खेल्दा सुरुमा दुवै खुट्टाले खेले पनि पछि बसेर खेल्न थाले । जर्मनी र अष्ट्रियामा रहँदा भेटिएका म जस्तै १२÷१५ जना साथीहरुका बीचमा आफूलाई अब्बल सावित गर्न सफल भएँ । यी सबै अनुभवले मलाई इच्छाशक्ति भयो भने असम्भव केही छैन भन्ने पाठ सिकायो । मलाई सगरमाथा चढ्नका लागि भने लामो समय लाग्यो । मैले सन् २०१८ मै सगरमाथा आरोहणको योजना बनाएको थिएँ । तर सरकारले दुई आँखा र दुई खुट्टा नहुनेलाई आरोहणमा प्रतिबन्ध लगायो । यसका विरुद्ध हामी अदालत गयौँ र त्यहाँबाट बाटो खुल्यो । सन् २०१९ मा आरोहणका लागि आवश्यक रकम जुटाउन सकिन । त्यसपछि कोरोना महामारीका कारण योजना पाँच वर्ष पछाडि धकलियो । तर यसपटक भने सफल भएँ । मलाई धेरैले प्रश्न गर्छन्, दुवै खुट्टा नभएकाले कसरी सगरमाथा चढिस रु म भन्छु, मैले खुट्टाले होइन, आत्मबलले सगरमाथा चढेको हुँ । यसअघि मैले मोन्ट ब्लाङ्क चार हजार आठ सय १० मिटर, चुलु सुदूरपूर्व छ हजार ५९ मिटर, किलिमन्जारो पाँच हजार आठ ९५ मिटर र मेरापिक छ हजार चार सय ७६ मिटर लगायतका हिमाल आरोहण गरिसकेको छु । साथै सगरमाथा आधार शिविर पुग्ने र सगरमाथामाथि स्काई ड्राइभ गर्ने ‘डबल एम्प्युटी एभोब एभोब नी’ को रेकर्ड पनि मेरो नाममा छ । आधार शिविरमा १८ दिन सगरमाथा आरोहणका क्रममा हामी अप्रिल ५ मा मेरापिक बस्यौँ । दुई पटक मेरापिक चढेपछि हामी सगरमाथाको आधार शिविर पुग्यो । मौसम बिग्रिएकाले आधार शिविरमा १८ दिन बस्यौ । मौसम सफा हुँदै गएपछि दोस्रो आधार शिविरतर्फ लाग्यौँ । त्यहाँ मौसमले साथ नदिएपछि म पहिलो आधार शिविर फर्किए । साथीहरुले त्यहीँ बसेर अन्य व्यवस्थापकीय काममा जुट्नुभो । जब मौसम अनुकुल भयो हामी सगरमाथा चढ्न सक्यौँ । सगरमाथा आरोहणमा निकै ठूलो पीडा भोग्यौँ । समूहका सबै साथीहरु चुचुरोसम्म पुग्न सक्नुभएन । सगरमाथा चुचुरोबाट धेरै फोटो खिच्ने र त्यहाँबाट हिमालहरु हेर्ने सपना भने मौसम बिग्रिएकाले पूरा हुन सकेन । अब मैले बाँकी जीवन सामाजिक काममा सक्रियताक साथ बिताउने योजना बनाएको छु । पुरानो उपलब्धिका आधारमा सामाजिक कार्यमा सक्रिय हुनेछु । मलाई जस्तै अवस्था अरुलाई नआओस् भन्ने चाहना छ । अब फाउन्डेसनमार्फत सशक्तिकरणमा लाग्ने योजना बनाएको छु । यसमार्फत एकजनाको मात्रै जीवनमा सुधार ल्याउन सकियो भने त्यसले सकारात्मक ऊर्जा दिन्छ । अवसरबाट वञ्चित र साहसिक कार्यप्रति रुचि भएकालाई हौसला दिने योजना बनाएको छु । ममा अझै पनि खुट्टा गुमाउँदाको पीडा ठूलो छ । युद्धका कारण मैले दुवै खुट्टा गुमाएको छु । युद्धका कारण मेरो जीवनमा परेको असर म भुल्न सक्दिन । त्यसैले विश्वमा अशान्ति मच्चाउनेहरुलाई सगरमाथाको शीरबाट शान्तिको कामना गर्न चाहन्छु । कृत्रिम खुट्टाको भरमा सगरमाथा आरोहण गरी विश्व रेकर्ड बनाउनुभएका भूतपूर्व गोरखा सैनिक हरि बुढामगर आरोहण सकेर मङ्गलबार काठमाडौ फर्किएर पत्रकार सम्मेलनमार्फत आफ्नो अनुभव सुनाएका हुन् । बुढामगरलाई कृत्रिम खुट्टाले सगरमाथा चढेर विश्व रेकर्ड बनाएको भन्दै राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेटेर बधाई दिए । बुढामगरले जेठ ५ गते अपराह्न ३ः१० बजे सगरमाथाको सफल आरोहण गरी कृत्रिम खुट्टाको बलमा सगरमाथा चढ्ने पहिलो व्यक्तिका रुपमा विश्व रेकर्ड बनाएका थिए । यससँगै पूर्वगोर्खा सैनिक बुढामगर सगरमाथाको चुचुरो चुम्ने पहिलो ‘डबल एम्प्युटी एभोब नी’ घुँडा माथिबाट दुवै अङ्ग विच्छेदन व्यक्तिको विश्व रेकर्ड कायम गरेका छन् । कृत्रिम खुट्टा प्रोस्थेटिकको सहायताले बुढामगरले सगरमाथा आरोहण गरेका हुन् । झन्डै पाँच वर्षको प्रयासपछि बुढामगरले सगरमाथाको सफल आरोहण गरेका हुन् । रोल्पाको थबाङ गाउँपालिकाको मिरुल घर भएका बुढामगरले ब्रिटश सेनामा रहँदा अफगानिस्तानको लडाइँमा सन् २०१० मा आफ्ना दुवै खुट्टा घुँडाभन्दा माथिबाट गुमाएका थिए ।
हामीले कर्मचारी मागेका छैनौं, सामाजिक संजालको सूचना गलत हो : टेलिकम
काठमाडौं । नेपाल टेलिकमले सामाजिक संजालहरुमा कम्पनीले कर्मचारीकाे माग गरेकाे बारेमा आएको सूचना गलत रहेको बताएको छ । कम्पनीले एक सूचना जारी गर्दै कम्पनीको पदाधिकारीहरुको नाम समेत जोडि विभिन्न फेसबुक ग्रुप, म्यासेन्जर तथा ह्वाट्सएपमा टेलिकमले कर्मचारी मागेको बारे गलत सूचना प्रवाह भइरहेको बताएको हो । कर्मचारी सम्बन्धी सूचना टेलिकमले राष्ट्रिय दैनिक गोरखापत्र तथा कम्पनीको वेबसाइटमा मात्र आधिकारिक रुपमा सार्वजनिक गर्ने गरेको जानकारी दिएको छ । यस्तै, आधिकारिक माध्यमबाट सम्प्रेषित सूचनालाई मात्र ग्रहण गर्ने कम्पनीले सबैलाई आग्रह गरेको छ ।
सिटिजन्स बैंकमा आर्कषक रोजगारीको अवसर
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले विभिन्न पदको लागि कर्मचारीको माग गरेको छ । बैंकले विभिन्न तीन पदका लागि कर्मचारी माग गरेको हो । बैंकले म्यानेजमेन्ट ट्रेनीका लागि केही र ट्रेनि असिस्टेन्टका लागि केहि र ट्रेनी असिस्टेन्ट, लेगल एण्ड सेयर डिपार्टमेन्टका लागि केही संख्यामा कर्मचारी माग गरेको छ । उक्त पदहरुमा आवेदन दिनको लागि इच्छुक उम्मेदवारले स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने बैंकले जनाएको छ । बैंकले हेड अफिस, शाखा तथा उप शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले जेठ ३० गतेभित्र आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।
काठमाडौं महानगरका सबै विद्यालयले छात्रवृत्ति वितरणको विवरण पठाउनु पर्ने
काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र रहेका सबै संस्थागत विद्यालयलाई छात्रवृत्ति वितरणको विवरण पठाउन परिपत्र जारी गरेको छ । महानगरको शिक्षा विभागले आज एक सूचना प्रकाशित गरी संस्थागत विद्यालयले शैक्षिक सत्र २०८० का लागि कक्षा १० सम्मका विद्यार्थीलाई उपलब्ध गराउने छात्रवृत्ति यही जेठ १५ गतेसम्म वितरण गरी १६ गते कार्यालय समयभित्र विवरण पठाउन आग्रह गरेको छ । महानगरको शिक्षा ऐन २०७५ को दफा ५० को उपदफा ३ अनुसार छात्रवृत्ति छनोट समितिबाट निर्णय गराई छात्रवृत्ति वितरण गर्न, विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४ को नियम ५८ अनुसार छात्रवृत्तिको प्रावधानका आधारमा कम्तीमा १० प्रतिशत विद्यार्थीलाई वितरण गर्न र नियमावलीको नियम ५९ अनुसार छात्रवृत्ति पाउनेको नामावली विद्यालयको वेबसाइटमा प्रकाशन गर्न उक्त सूचनामार्फत सूचित गरिएको छ । यसैगरी, महानगरले कुनै पनि अभिभावक, विद्यार्थी तथा सरोकारवालाको गुनासो भएमा त्यसको सुनुवाइका लागि अवसर प्रदान गर्न पनि निर्देशन दिएको छ । तोकिएअनुसार समयमा छात्रवृत्ति वितरण नगर्ने विद्यालयको विवरण सार्वजनिक गर्ने चेतावनी दिइएको छ । महानगरले वडाध्यक्ष तथा जनप्रतिनिधिलाई छात्रवृत्ति वितरण तथा विवरणको काममा सहयोग र अनुगमन गर्न पनि उक्त सूचनामार्फत आग्रह गरेको छ ।
सुन्दरता के हो ?
काठमाडौं । सुन्दरता के हो ? बाहिरी जरुरी छ कि भित्री ? यसको परिभाषा के हुनसक्छ ? यी र यस्तै विषयमा बौद्ध धर्मका गुरु खिन्से नोर्बु (जोङसार खिन्से रिम्पोछे) ले चर्चा गरे । विश्वमै फरक फरक रूपमा आफूलाई परिचित गराउन सफल नोर्बुले ‘ब्युटी इज अ ट्र्याप’ (सुन्दरता एउटा जाल हो) विषयमा चर्चा गर्दै आफ्नो बुझाइ राखे । जेठ ५ गतेबाट प्रदर्शनरत चलचित्र ‘डाकिनी’ को नेपाल प्रदर्शनका लागि उनी नेपालमा छन् । चलचित्र ‘द कप’,‘ट्राभल्स एन्ड म्याजिसियन्स’, ‘हिमा हिमा ः सिङ्ग मी अ सङ ह्वाइल आई वेट’ लगायतका उनी निर्देशित चलचित्र विश्वभर प्रख्यात छन् । त्यसैले पनि उनको नेपाल आगमन चलचित्र प्रेमीका निमित्त खास छ । विश्वभरका चलचित्रकर्मीसँग काम गरेका निर्देशक नोर्बुले ‘चलचित्रको सुन्दरता’ के बुझेका छन् त ? उनको सरल जफाव छ,’जे तटस्थ छ, त्यहीँ सुन्दर छ ।’ उनले चलचित्रलाई बुझ्ने तरिका र शैली अन्यभन्दा फरक छ । अङ्ग्रेजी नाम ‘लुकिङ फर अ लेडी विथ फ्याग्स एन्ड मुस्टाच’ मार्फत विश्वभर प्रदर्शन भएको चलचित्र ‘डाकिनी’मा बौद्ध ग्रन्थमा बज्रयोगिनी, ताराजस्ता देवी (डाकिनी)का कथा छन् । देवी खोजिने चलचित्रमा बौद्ध ग्रन्थको सुन्दर आयामलाई प्रस्तुत गरिएको छ । काठमाडौँमा क्याफे सञ्चालनको तयारीमा रहेका तिब्बती मूलका युवालाई सपनामा केही संकेत मिल्छ । उसको साथीले सपनाको अर्थ खुलाइदिन्छ र भन्छ, ‘तिमी सात दिन बाँच्छौँ ।’ तर, जब उसले यो संकट डाकिनीले हटाउन सक्ने थाहा पाउँछ अनि सुरु हुन्छ डाकिनीको खोजी । उसले डाकिनी कहाँ फेला पार्छ ? उसको जीवन बच्छ कि बच्दैन ? यसकै वरपर चलचित्रको कथा बगेको छ । सामान्यतया चलचित्रमा सात दिनमात्र बाँच्छ भन्ने थाहा पाएको पात्रले के–के गर्छ होला ? हामीले केही यस्ता चलचित्र हेरेका पनि छौँ । तर ‘डाकिनी’ फरक छ । त्यहाँ पात्रले आफ्नै दिनचर्यामा खोजी गर्छ । उसको पीडा र संघर्ष उस्तै छ, तर व्यक्त गर्ने तरिका फरक । किनकि यसलाई निर्माण गर्दा तटस्थ रहेर निर्माण गर्ने प्रयास गरिएको छ । उनले भने झैँ चलचित्रमा प्रस्तुत हुने चरित्र सकारात्मक होस् या नकारात्मक हामीले यस्तो होला ? भन्ने अनुमान गरिहाल्छौँ । चलचित्रमा गीत हुनुपर्छ, द्वन्द्व हुनुपर्छ भन्ने हाम्रो मानसिकता नै छ । अभिनेताले नकारात्मक चरित्र निर्वाह गरेका सयौँलाई पिट्न सक्छ । यो हामीले देख्दै आएको चलचित्रको शैली वा प्रस्तुतीकरण हो । तर, पर्दा भन्दा बाहिर सम्भव छ त ? छैन भने समाजसँग कसरी जोडिएको छ ? वा समाजको कथालाई पर्दामा न्याय गरेको छ त ? निर्देशक नोर्बु भन्छन्, ‘चलचित्र बनाउँदा चरित्रलाई पर्दामार्फत दर्शकसम्म पुर्याउनु पर्छ । तर, चलचित्रहरूमा निर्देशकको स्वार्थअनुसार चरित्र निर्माण भइरहेका छन् । ती स्वतन्त्र छैनन् ।’ उनले निर्देशन गरेको ‘डाकिनी’ सरल छ । ‘प्रयास गर्नुपर्छ । पात्रलाई चरित्र अनुसार छोड्नु पर्छ । ऊ पर्दामा नभई दैनिकीमा हिरो बन्न सक्नुपर्छ’, उनले भने, ‘चलचित्र भन्ने बित्तिकै तयार हुने वा बुझिने चित्रलाई भत्काउनु जरुरी छ । अनिमात्र चलचित्र बनाउन सकिन्छ ।’ चलचित्रलाई निर्देशकले निर्देशन गरेता पनि आफ्नो रोजाइलाई प्रस्तुत गर्न नहुने उनी बताउँछन् । निर्देशक चरित्र बाँचिरहेका पात्रलाई सोही अनुरुप पर्दामा ल्याउने माध्यम मात्र बन्नुपर्ने उनको बुझाइ छ । चलचित्रका बारेमा निर्माण भएको भाष्यशैलीलाई परिवर्तन गर्न सकेमात्र फरकपन महसुस हुने उनको भनाइको तात्पर्य थियो । ‘हाम्रो शैलीमा भिन्नता आए कथा फरक हुन्छ । म चलचित्रमा नदेखिउँ (निर्देशककै स्वार्थमा मात्र नबनोस्) भन्ने लाग्छ । अनिमात्र म कथा भन्न सफल हुन्छु । नत्र त्यो मेरोअनुसार चल्ने चित्र बन्छ’, उनले भने । लगभग तीन सय चलचित्रकर्मी र प्रेमीमाझ उनले आफूले गरेको काम र आफ्नो बुझाइलाई प्रस्तुत गरिरहेका थिए । सुन्दरताको स्थापित मान्यता वा खोजिन सक्ने तथ्यलाई महसुस गर्न उनले सुझाए । चलचित्रलाई उनी माध्यमका रुपमा बुझ्छन् । उनको चलचित्रमा ठूला घटना क्रम हुँदैनन्, छैनन् पनि । किनकि उनी समाज वा वास्तविकताभन्दा बाहिरका चित्रमार्फत दर्शकलाई प्रभावित पार्न चाहन्न । वास्तविकतासँग नजिक रहेर पात्रलाई यात्रा गराउन चाहन्छन् । उनले चलचित्र निर्देशन गर्ने तय गरेपछि अनुसन्धान गरे । आम मानिस भेला हुने, बस्ने शैलीलाई नियाले । चलचित्रभित्र एउटा चिया पसल देखाइएको छ । जहाँ बज्ने गीतसङ्गीतका विषयमा उनले सोही ठाउँमा पुगेर अध्ययन गरेका रहेछन् । ‘चिया पसलमा नेपाली साथीहरुसँग पुगेँ । त्यहाँको माहोल बुझ्ने कोसिस गरेँ । रेकर्ड गरेँ । नबुझेका कुरा नेपाली साथीलाई सोध्थेँ’, उनले भने । त्यसो त यो चलचित्र बन्ने तय एक ट्रेकिङको समयमा भएको रहेछ । नेपाली कथालाई पर्दामा ल्याउने तय भएपछि ‘डाकिनी’ तयार भयो । झन्डै १० करोड बजेटको यो नेपाली निर्माता संलग्न भएको संवत् अहिलेसम्म कै महँगो चलचित्र हो । तर, यसको व्यापारको विषयमा कहिले चर्चा भएन । यसको निर्माणमा षट्कोण आर्टससमेत रहेको छ । यसले जात्रा, जात्रै जात्रा र महापुरुष जस्ता समीक्षात्मक र व्यावसायिक रूपमा सफल चलचित्र निर्माण गरिसकेको छ । “यो एउटा कला हो । किनकि यो स्वतन्त्र रहेर निर्माण गरियो । अहिले प्रदर्शनमा पनि कति चलचित्र भवन ? सो सङ्ख्या ? यो विषयमा चर्चा नै हुँदैन । यसको प्रभाव वा कस्तो बनेको छ भन्ने विषयमा मात्र हामी छलफल गरिरहेका छौँ”, निर्माता मध्येका एक रवीन्द्रसिंह बानियाँले भने । चलचित्र निर्माण हुँदा र अहिले प्रदर्शन हुँदासम्म उनको बुझाई फरक भइसकेको छ । आफू निर्मित पछिल्ला चलचित्र कही कतैबाट निर्देशित त होइनन् ? भन्ने सोच उनमा आउँछ । यसमा ६० प्रतिशत तिब्बती र ४० प्रतिशत नेपाली भाषाको प्रयोग भएको चलचित्रको छायांकन पनौती र पाटनमा भएको छ । चलचित्रमा छिरिङ तासी, तेन्जिङ कुन्सेल, कार्म, दिव्यदेव लगायतले अभिनय गरेका छन् । रासस