विकासन्युज

भूटानी शरणार्थी प्रकरणमा प्रहरी महानिरीक्षकको कुनै संलग्नता छैन : नेपाल प्रहरी

फाइल फाेेटाे काठमाडौं । नेपाल प्रहरीले भूटानी शरणार्थी प्रकरणमा प्रहरी महानिरीक्षकको कुनै संलग्नता नरहेको बताएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुवेर कडायतले एक विज्ञप्ति जारी गरी नक्कली भूटानी शरणार्थी प्रकरणमा नेपाल प्रहरीका महानिरीक्षक बसन्त कुँवरको कुनै संलग्नता नरहेको बताएको हो । ‘कुनै आधार, तथ्य र प्रमाणविना अपराध अनुसन्धान जस्तो संवेदनशील विषयमा सम्प्रेषण गरिएको समाचारले जनमानसमा भ्रम सिर्जना हुन जाने र नेपाल प्रहरी सङ्गठनकै विश्वसनीयता, छवि तथा चेन अफ कमाण्डमा समेत आँच आउने हुँदा उक्त समाचारप्रति नेपाल प्रहरी प्रधान कार्यालयको पूर्ण असहमति रहेको छ,’ प्रवक्ता कडायतद्वारा जारी विज्ञप्तिमा भनिएको छ । प्रहरीले कुनै दुई व्यक्तिले गरेको संवादकै आधारमा शरणार्थी प्रकरणका आरोपितबाट प्रहरी प्रमुख स्वयंले नै आर्थिक फाइदा लिएको भन्ने अतिशयोक्ति तथ्य स्थापित गर्न खोजी प्रहरी महानिरीक्षकलाई विवादमा तानिनु अत्यन्त निन्दनीय भएको बताएको छ । प्रवक्ता कडायतले नक्कली भूटानी शरणार्थी प्रकरणमा नेपाल प्रहरीले नै सफल अनुसन्धान गरी मुद्दा पेस गरिसकेको अवस्थामा कल्पितरूपमा समाचार बनाई आरोपित भगाउन प्रहरी महानिरीक्षक नै संलग्न भएको प्रचारबाजी गरिनु सङ्गठनकै लागि अत्यन्त दुःखद् रहेको बताए । ‘नेपाल प्रहरी सदैव संविधान, कानून र सङ्गठनको आफ्नै मूल्यमान्यतामा अडिग रही दोषी नछुटुन्, निर्दोष नफसुन् भन्नेमा सचेत र प्रतिबद्ध छ,’ विज्ञप्तिमा भनिएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले प्रहरी महानिरीषकले नक्कली भूटानी शरणार्थी प्रकरणमा आरोपीलाई जोगाउन भूमिका खेलेको भन्दै उहाँलाई निलम्बन गरी सत्यतथ्य छानविन गर्नुपर्छ भनी गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

बजेट अभाव भएपछि स्वास्थ्यकर्मीले पाएनन् ५ महिनादेखि तबल

काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीले ५ महिनादेखि तलब नपाएपछि हातमा कालोपट्टि बाँधेर आन्दोलन गरेका छन् । तिलोत्तमा नगरपालिकाअन्तर्गतका १७ वटा स्वास्थ्य संस्थामा कार्यरत ७८ जना स्वास्थ्यकर्मीले पुस महिनादेखिको तलब नपाएपछि बाध्य भएर आन्दोलित गर्नुपरेको बताएका छन् । नगरपालिका कार्यालयमै बुधबार पत्रकार सम्मेलन गरी कर्मचारीले तलब नपाएपछि जेठ १ गते सबै स्वास्थ्यकर्मीको तर्फबाट ज्ञापनपत्र विभिन्न निकायमा बुझाए पनि सुनुवाइ नभएपछि चरणबद्धरूपमा शान्तिपूर्ण आन्दोलनमा आएको बताएका छन् । स्वास्थ्यकर्मी सङ्घर्ष समितिका संयोजक ज्ञानप्रसाद पौडेलले आफूहरूले तलब प्राप्तिका लागि नगरप्रमुख रामकृष्ण खाँण, उपप्रमुख जगेश्वरदेवी चौधरी र प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालसँग पटकपटक मौखिक र लिखित माग गर्दा पनि सुनुवाइ नभएको गुनासो गरे । उनले प्रमुख जिल्ला अधिकारीमार्फत माथिल्लो निकायमा ज्ञापनपत्र बुझाए पनि सुनुवाइ नभएको बताए । ५ महिनासम्म तलब नपाउँदा घरखर्च चलाउन समस्या भएको भन्दै स्वास्थ्यकर्मीले छिटो तलब पाउने व्यवस्थाका लागि नगरपालिकासँग आग्रह गरिएको छ । यहाँ ४५ जना दरबन्दी तथा समायोजन संशोधन, कामकाज र कोभिड काज गरी ३२ जना दरबन्दीबाहेकका कर्मचारी छन् । तलब नपाएको विरोधमा अहिले कालोपट्टी बाँधेर काम गरिरहेका स्वास्थ्यकर्मीले जेठ १२ गतेदेखि नगरपालिका कार्यालयमा धर्ना दिने कार्यक्रम रहेको सङ्घर्ष समितिका सदस्य जनस्वास्थ्य निरीक्षक ठानेश्वर बस्यालले जानकारी दिए । तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले दरबन्दीभन्दा बढी कर्मचारी कार्यरत हुँदा तलब दिन नसकिएको बताए । उनले स्वास्थ्यले पठाएको बजेट पुगेको र त्यसपछि बजेट नपुगेपछि सबैको रोकिएको बताए । तर सङ्घर्ष समितिले स्वास्थ्यकर्मीको पाँच महिनाको करिब ४ करोड तलब दिन बाँकी रहेको जनाएको छ ।

सुकुम्वासी बस्तिका कारण साढे दुई दशकमा पनि बनेन वाग्मती करिडोर

काठमाडौं । निर्माण सुरु भएको साढे दुई दशक बित्दासमेत अव्यवस्थित बसोबासका कारण वाग्मती करिडोरको निर्माण सकिएको छैन । सहरको मध्यभागमा समस्या नभएका ठाउँमा ट्र्याक खोलिइसकिएको भए पनि तिलगङ्गा, थापाथली, बल्खुलगायतका क्षेत्रमा अव्यवस्थित बस्तीले गर्दा ट्र्याक खुल्न बाँकी रहेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका सूचना अधिकारी कमल अर्यालले बताए । बानेश्वर क्याम्पस क्षेत्रमा एकातिर मात्रै खुलेको छ भने अर्कातर्फ खुल्न सकेको छैन । तिलगङ्गाबाट अगाडि देब्रे सडक मात्रै खुलेको छ । ‘तीनकुने पुलबाट दायाँतर्फ सिनामङ्गल पुल नजिकै दुई किमी सडक खुल्न सकेको छैन,’ उनले भने । अव्यवस्थित बसोबासीका विषयमा राष्ट्रिय मुद्दा बनेको र यसको समाधान भएपछि मात्रै ती स्थानमा सडक निर्माण गर्न सकिने उनले बताए । तिलगङ्गादेखि सिनामङ्गलसम्म ५/६ सय र थापाथलीमा २४३ घरधुरीको बसोबास करिडोर सडक निर्माण गर्ने स्थानमा रहेको छ । राष्ट्रिय भूमि आयोगले पहिले त्यस समस्याको समाधान गरेपछि मात्रै करिडोर निर्माण अघि बढ्नसक्ने सूचना अधिकारी अर्यालले बताए । आयोग र सम्बन्धित स्थानीय तहको भूमिका बढी रहेको उनको भनाइ छ । ‘वास्तविक सुकुम्बासी को हुन् को होइनन् भन्ने भएपछि थप काम गर्न सकिनेछ,’ उनले भने । तीनकुनेबाट बुद्धनगर हुँदै थापाथलीसम्मका खण्डमा सडक बनिसकेको छ । शङ्खमूलमा च्यासल मैदानबाट मनोहरातर्फबाट आउँदाका खण्डमा ट्र्याक खुल्न बाँकी रहेको अर्यालले बताए । शङ्खपार्क क्षेत्रमा काठमाडौँतर्फ ट्र्याक खुलेको छ भने ललितपुरतर्फ खुलेको छैन । शङ्खमूलबाट ललितपुरतर्फ निरन्तर जाँदा चक्रपथ बल्खु हुँदै सुन्दरीघाटसम्म सडक पुग्छ । सुन्दरीघाटबाट पनि अस्थायी बाटो चोभारको मोर्डन इन्डियन स्कुलको अगाडिसम्म पुगेको उनले जानकारी दिए । ‘थापाथलीमा अस्थायी बसोबासीको घर धेरै हुँदा समाधान नहुँदासम्म गर्न सकिँदैन,’ उनले भने । विष्णुमती दोभानबाट अघि बढ्दा फलफूल बजारतिर अघि ट्र्याक खुलेको र अबका दिनमा त्यसलाई स्तरोन्नति गरिने समितिको योजना छ । समितिको कार्यक्षेत्र बागद्वारबाट कटुवाल दहसम्म ४४ किमी हो । सुरु र अन्तिम खण्डमा निर्माण हुन बाँकी छ भने बीचका खण्डमा पनि समस्या नभएका खण्डमा मात्रै निर्माणको काम भएको छ । करिडोर निर्माणको काम अव्यवस्थित बस्ती भएको ठाउँमा नै बढी बाँकी रहेको समितिले जनाएको छ । अरु कतिपय ठाउँमा अरु संरचनाका कारण पनि करिडोर निर्माण अघि बढ्न नसकेको पाइएको छ । कतै विद्यालय, क्याम्पस र वृद्धाश्रमलगायतका संरचना रहेकाले निर्माण हुन नसकेको उनले बताए । अहिले त्यो सारेर काम अघि बढिरहेको उनको भनाइ छ । काठमाडौँका मुख्य सडकमा रहेको सवारी चाप कम गर्नेसँगै बाग्मती र त्यसको सहायक नदीको संरक्षण गर्ने उद्देश्यले सडक निर्माण र नदी संरक्षणको काम सुरु गरिएको थियो । समिति एक्लैले नसक्ने हुँदा अहिले आएका समस्या समाधानमा सरोकार राख्ने सबै निकाय मिलेर गर्नुपर्ने सूचना अधिकारी अर्यालले बताए ।रासस

रातो मच्छिन्द्रनाथको भोटो आज देखाइने

काठमाडौं । वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो बिहीबार देखाइने भएको छ । भोटो जात्रालाई करिब ८ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छेन्द्रनाथको भोटो जात्राको साइत हेर्ने काममा सक्रिय हुँदै आएका नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य कीर्तिमदन जोशीले जानकारी दिए । भूत, प्रेतलाई खाना दिन यो जात्रा गरिएको विश्वास छ । भोटो जात्रा सुरु भएको यकिन तिथिमिति अहिलेसम्म पत्ता नलागेको उनले बताए । मच्छेन्द्रनाथको यात्रा भने करिब १ हजार ३ सय वर्ष अघि नै सुरु भएको हो । किम्वदन्तीअनुसार यो यात्रा सुरु भइसकेपछि नागराज कर्कोटककी रानीको आँखा दुख्यो । कर्कोटक वैद्यको खोजीमा लागे । खेतमा काम गरिरहेका किसानलाई वैद्य ठानी नागलोक अर्थात् टौदह लगे । डराएका किसानले मच्छेन्द्रनाथको प्रार्थना गरी हात माडेर मयललाई औषधिका रुपमा कर्कोटकलाई दिए । औषधिले रानीको आँखा दुख्ने रोग निको भयो । पुरस्कारस्वरुप मणि माणिक्यले युक्त भोटो किसानलाई दिएर मनुष्यलोकमा फर्काइयो । किसानले भोटो खेतको डिलमा राखेर काम गर्न थाले । मनुष्यरुपी भूत आएर भोटो लग्यो । किसानले खोजे । पाएनन् । मच्छेन्द्रनाथको जात्रा हेर्न जाँदा आफूले पुरस्कार स्वरुप पाएको भोटो मनुष्यका रुपमा आएको भूतले लगाएको देखेर किसानले दाबी गरे । भूतले दिन नमानेपछि विवाद भयो । कर्कोटक नागलाई समेत बोलाएर सोधखोज गरियो । अन्तिममा भोटोको अधिकारी दुवै हुन नसक्ने निष्कर्ष निकाली मच्छेन्द्रनाथको जिम्मा लगाइयो । आधिकारिक प्रमाणसहित आउनेलाई भोटो दिन रातो मच्छेन्द्रनाथको रथ यात्रा सकेपछि भोटो जात्रा गर्ने परम्परा बस्यो । त्यो वर्षदेखि प्रत्येक साल साइत हेरेर भोटो देखाउने गरिएको जनविश्वास छ । अहिलेसम्म कसैले प्रमाण जुटाएर भोटो लैजान नसकेको किम्बदन्ती छ । पछिल्लो समय गुठी संस्थान ललितपुरका प्रतिनिधिले राष्ट्राध्यक्षको उपस्थितिमा भोटो देखाउने जात्रा गरिँदै आएको छ । यो जात्रा हेर्न बिहीबार राष्ट्रपति रामचन्द्र पौडेल जानेछन् । यस अवसरमा सरकारले आज उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।रासस

मानुषी लघुवित्तले बोलायो साधारण सभा, मर्जर प्रस्ताव पारित गर्ने

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाले चौंथो वार्षिक साधारण सभा बोलाएको छ । लघुवित्तको सञ्चालक समितीको जेठ १० गते बसेको बैठकले जेठ ३२ गते भक्तपुरमा बिहान साढे १० बजे बोलाएको हो । लघुवित्तको सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ असारसम्मको वासलात, आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण र आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण प्रस्ताव पारित गर्नेछ । सर्वसाधारण सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने नयाँ सदस्यको नियुत्ति एवम् अनुमोदन गर्नेछ । यस्तै, कम्पनीको प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । साथै, कुनै लघुवित्तसँग मर्जमा जान सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । लघुवित्तले साधारणसभा प्रयोजनार्थ जेठ १८ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले जेठ १७ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारणसभामा सहभागि हुन पाउनेछन् ।

एशियन हाइड्रोपावरको साधारण सभा आह्वान, के के छन् एजेण्डा ?

काठमाडौँ । एशियन हाइड्रोपावर कम्पनीले चौंथो वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सञ्चालक समितिको जेठ १० गते बसेको बैठकले जेठ ३२ गते बिहान ११ बजे द इन्ट्रान्स क्याफे ललितपुरमा साधारण सभा बोलाएको हो । कम्पनीको सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन र आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण प्रस्ताव पारित गर्नेछ । यस्तै, कम्पनीको सर्वसाधारण समूहका सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने एक जना सञ्चालकको निर्वाचन गरिनेछ । यस्तै, कम्पनीको प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीले साधारणसभा प्रयोजनार्थ जेठ १९ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले जेठ १८ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारणसभामा सहभागि हुन सक्नेछन् ।

श्री इन्भेष्टमेन्ट फाइनान्सको २.२७ लाख कित्ता सेयर सर्वसाधारणमा परिमार्जन

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको सेयर संरचना परिमार्जन भएको छ । कम्पनीको संस्थापक सेयर सर्वसाधारण सेयरमा परिमार्जन भएको हो । कम्पनीको संस्थापक समूहको २ लाख २७ हजार ७५०.५० कित्ता सेयर सर्वसाधारण समूहमा परिमार्जन भएको जनाएको छ । यससँगै कम्पनीमा संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत सेयर स्वामित्व कायम भएको छ । यसअघि कम्पनीमा संस्थापक समूहको ५२.३२ प्रतिशत र सर्वसाधारण समूहको ४६.६८ प्रतिशत सेयर स्वामित्व रहेको थियो ।

नेप्सेमा २ कम्पनीको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा विभिन्न २ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । बुधबार छिमेक लघुवित्त र युनाइटेड मोदी हाइड्रोपावरको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । छिमेक लघुवित्तको २२ प्रतिशत बोनस वापतको ५१ लाख १३ हजार २० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई २२ प्रतिशत बोनस सेयर र ३.२६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस्तै, युनाइटेड मोदी हाइड्रोपावरको ७ प्रतिशत बोनस वापतको ८ लाख ५ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ७ प्रतिशत बोनस सेयर र ०.३६८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।