महोत्तरीमा मिटरब्याजीविरुद्ध १७ सय उजुरी
महोत्तरी । सरकारले मिटरब्याजीलाई कारबाही गर्न कानुन ल्याएसँगै महोत्तरीमा मिटरब्याजीविरुद्ध धमाधम उजुरी पर्न थालेको छ । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेका अनुसार महोत्तरीमा हालसम्म मिटरब्याजीविरुद्ध एक हजार सात सय ३४ उजुरी दर्ता भएका छन् । सरकारले अध्यादेश ल्याउँदै अनुचित लेनदेन मिटरब्याज गरेका व्यक्तिलाई कारबाही गर्ने भन्दै पीडितलाई जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराउन समय दिएपछि अहिले महोत्तरीमा मिटरब्याजीविरुद्ध उजुरी दर्ता गराउनेको सङ्ख्या बढ्दै गएको हो । गत वैशाख १८ गतेदेखि पीडितले जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गर्न थालेका हुन् । यो क्रम जारी रहेको छ । जिल्ला प्रशासन कार्यालयले मिटरब्याजीविरुद्ध उजुरी दर्ता गराउन आउने पीडितका लागि सूचना सङ्कलन गर्ने, परामर्श दिने र उजुरी दर्ता गर्ने काम गरिरहेको छ । यसअघि जिल्ला प्रशासनले मिटरब्याजीविरुद्ध सरकारको उजुरी दर्ता गराउने अवधि किटान हुनु अगाडि पनि जिल्ला प्रशासन कार्यालयले मिटरब्याजीविरुद्ध तीन सय २१ ठाडो निवेदन दर्ता गरेर आवश्यक कारबाही प्रक्रिया अगाडि बढाएको थियो । तीन सय २१ निवेदनमध्ये २१ वटामा मिलापत्र, ३८ वटामाथि छानबिन गरिसकेको र केही मुद्दा जिल्ला अदालतमा कारबाही प्रक्रियामा रहेको सहायक प्रजिअ न्यौपानेले बताए । जिल्ला प्रशासन कार्यालयमा आउने मिटरब्याजीपीडित बढीजसो जिल्लाको उत्तरवर्ती क्षेत्रका छन् । बढी ऋण दिने अनिरुद्ध साह, श्याम परदेशी र सञ्जय रौनियारविरुद्ध सबैभन्दा बढी उजुरी परेको बताइएको छ । रासस
अन्नपूर्ण आधार शिविरमा ‘पञ्चकुण्ड ताल’को छुट्टै आकर्षण
बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित नर्थ अन्नपूर्ण आधार शिविरमा रहेको ‘पञ्चकुण्ड ताल’ले पर्यटकलाई आकर्षित गर्ने गरेको छ । समुद्री सतहबाट चार हजार एक सय मिटर उचाइमा करिब २० हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको यो ताल अन्नपूर्ण हिमाल आरोहण र आधार शिविरको भ्रमणमा जाने पर्यटकको मुख्य आकर्षणको केन्द्र बनेको छ । यस क्षेत्रमा पुग्ने पर्यटक हिमालको फेदीको उपत्यकामा आकाशे निलो रङको पानीले भरिएको तालको अवलोकन गर्दा मोहित भएर फर्कने गरेका छन् । पहिलोपटक आधार शिविर पुग्नुभएका अन्नपूर्ण गाउँपालिका–७ हिस्तानका प्रदीप पुनले हिमालकै फेदीमा प्राकृतिक सुन्दरताको छटाले भरिएको पञ्चकुण्ड ताल अवलोकन गर्दा पैदलयात्राका सबै दुःख बिर्साएको बताए । ‘आधार शिविरबाट वरिपरि घेरिएको हिमाल, हिमालको फेदीमा यति विशाल ताल, हिमतालकै वरपर वर्षौँदेखि जमेका हिउँको ग्लेसियरका अनौठा आकृति, एउटै आकाशे रङमा देखिने तालको पानी नियाल्दा समय बितेको पत्तै नहुने रहेछ’, उनले भने । ग्लेसियर क्षेत्रमा फैलिएको यो हिमताल हिउँदयाममा विभिन्न पाँच कुण्डको आकृतिमा देखिने भएकाले कुण्डको नाम पञ्चकुण्ड नामकरण गरिएको नारच्याङका पर्यटन व्यवसायी तेज गुरुङले बताए । उनका अनुसार सन् १९५० तिर हिमाल आरोही लिएर आएका शेर्पाहरूले यसको नाम डिकिचो ताल भनेर नामकरण गरेका थिए । हिमालको फेदीमा उच्च उचाइमा रहेको कारण पानी जमिरहने भएकाले जम्ने तालको अर्थका रूपमा शेर्पाहरूले डिकिचो ताल नामकरण गरेको भएपछि स्थानीयवासीले तालको भू–बनोटका आधारमा पञ्चकुण्ड नामकरण गरेको गुरुङले जानकारी दिए । नारच्याङबाट ‘मौरिस हर्जोग पदमार्ग’ हुँदै एकदेखि दुई दिनको यात्रामा पञ्चकुण्ड तालमा सजिलै पुग्न सकिन्छ । आधार शिविर क्षेत्रको भ्रमणमा जाने पर्यटकका लागि कुण्ड नै पहिलो र प्रमुख आकर्षणका रूपमा रहेको छ । निलो रङले भरिएजस्तै देखिने पञ्चकुण्ड ताल परिसरबाट अन्नपूर्ण हिमालका साथै फ्रेन्क, तिलिचो र निलगिरि हिमालको मनमोहक दृश्य फन्को मारेर अवलोकन गर्न सकिन्छ । वरिपरि हिमालले घेरिएको उपत्यकामा निलो तालको मनमोहक प्राकृतिक सौन्दर्य लोभलाग्दो रहेको आधार शिविर क्षेत्रमा पुगेका आन्तरिक पर्यटक धनीलाल गर्बुजाले बताए । तालमा देखिने हिमालको छायाँ र उज्यालो बढ्दै जाँदा गाढा हुँदै जाने तालको पानीको निलो रङले पहिलोपटक पुग्ने जो–कसैलाई आश्चर्यमा पार्ने गर्बुजाले अनुभव सुनाए । ताललाई धार्मिक गन्तव्यका रूपमा विकास गराउन शिवमन्दिर र गुम्बासमेत निर्माण गरिएको छ । हिमाल आरोहण र आधार शिविरको भ्रमणमा आउने पर्यटकले हिमालको मूलबाट सङ्कलन भएको तालको पानीले स्नान गरेर शुद्ध भएर शिवमन्दिर र गुम्बामा पूजाआजा गर्दै आएका छन् । पञ्चकुण्ड तालबाट निकास भएर जाने पानीमाथि पुल निर्माण गर्ने र सुरक्षितरूपमा अवलोकन गर्ने पूर्वाधार बनाउन पहल गरिने नर्थ अन्नपूर्णको प्रवद्र्धनका लागि आधार शिविर पुगेका अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताए । सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सका मौरिस हर्जोगले अन्नपूर्ण प्रथम हिमालको आरोहण गरेका थिए । हर्गोजले आरोहणका लागि आधार शिविर जान प्रयोग गरेको पदमार्गलाई पछ्याउँदै विसं २०६८ मा ‘मौरिज हर्जोग पदमार्ग’को पहिचान गरिएको थियो । अन्नपूर्ण र निलगिरि हिमालको फेदीबाट बग्ने मिस्त्रीखोलाको किनारै किनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै नारच्याङको हुमखोलासम्म सवारीसाधन र त्यहाँबाट २२ किलोमिटर पैदलयात्रा गरेर आधार शिविर पुग्न सकिन्छ । रासस
सीमान्तकृत समुदायको अधिकारका लागि सरकार दृढ छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अल्पसङ्ख्यक सीमान्तकृत समुदायको पहिचान र अधिकारका लागि सरकार दृढ रहेको बताएका छन् । नेपाल कुमाल सुधार समितिका अध्यक्ष तेजबहादुर कुमालको नेतृत्वमा आएको प्रतिनिधिमण्डलसँगको कुराकानीमा प्रधानमन्त्री दाहालले आफू कुमाल समुदायसहित नेपालका सबै अल्पसङ्ख्यक सीमान्तकृत समुदायको पहिचान र अधिकारको पक्षमा रहेको बताए । ‘सानो सङ्ख्यामा रहे पनि नेपालको सामाजिक र राजनीतिक परिवर्तनमा कुमाल समुदायको महत्वपूर्ण भूमिका छ । यो समुदायको इतिहास, संस्कृति र महत्व धेरै ठूलो छ’, उनले भने । प्रधानमन्त्री दाहालले सबै अल्पसङ्ख्यक सीमान्तकृत समुदायलाई राज्यको मूलप्रवाहमा ल्याउन आफूले विगतदेखि नै सङ्घर्ष गरेको उल्लेख गर्दै ती समुदायको विकास, समृद्धि, हित र मुद्दाप्रति सरकार दृढ रहेको बताए । प्रधामन्त्री दाहालसँगको भेटमा संविधानसभा सदस्य ज्ञानेन्द्र कुमाल, कुमाल मुक्ति मोर्चाका अध्यक्ष कञ्चन कुमाल, आदिवासी जनजाति महासङ्घका उपाध्यक्ष श्रुति कुमाललगायतको उपस्थिति रहेको थियो ।
जेठभित्रै कारोबार शुरु गर्दै ४ लघु बीमा कम्पनी, प्राधिकरणद्वारा भौतिक संरचना स्वीकृत
काठमाडौं । लघुबीमा सञ्चालन गर्न विभिन्न चार वटा लघु बीमा कम्पनीले यहि जेठ महिनाभित्रमा व्यवसाय शुरु गर्ने भएका छन् । लाइसेन्स पाएका ७ वटा कम्पनीमध्ये चार वटाले यहि जेठ अन्तिमसम्ममा लघु बीमा व्यवसाय सञ्चालन गर्ने गरी प्रकृया अघि बढाएका हुन् । नेपाल बीमा प्राधिकरणको उच्च श्रोतका अनुसार गार्डियन माइक्रो लाइफ, क्रेष्ट माइक्रो लाइफ, नेपाल माइक्रो इन्स्योरेन्स र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीले आगामी जेठ मसान्तसम्ममा व्यवसाय सञ्चालन गर्ने तयारी गरिरहेका छन् । ‘चारवटा लघु बीमा कम्पनीले पुँजी पुर्याई भौतिक पूर्वाधारको काम सम्पन्न गरिसकेका छन्, अब यो महिना भित्रै कारोबार सञ्चालन गर्ने सम्भावना बढी छ,’ प्राधिकरणका उच्च श्रोतले विकासन्युजसँग भन्यो । गार्डियन माइक्रो लाईफको कोशी प्रदेशको विराटनगर, क्रेष्ट माइक्रो लाइफको कर्णाली प्रदेशको वीरेन्द्रनगर र नेपाल माइक्रो इन्स्योरेन्सको बाग्मती प्रदेश भरतपुर र प्राटेक्टिभ माइक्रो इन्स्योरेन्सको केन्द्रिय शाखा सुदुरपश्चिमको धनगढीमा रहेको छ । प्राधिकरणले हालै विभिन्न प्रदेशमा रहेको चार वटै कम्पनीको केन्द्रिय कार्यालय नियमन गरेको छ । जसअनुसार सबै कम्पनीले प्राधिकरणको शर्त बमोजिम नै कार्यालय खोलेको र लघु बीमा व्यवसाय सञ्चालन गर्नको लागि भौतिक पूर्वाधार सहितको बीमकको मूख्य कार्यालय रहने स्थानमा सम्पूर्ण भौतिक संरचना कायम गरेको पाइएको प्राधिकरणको श्रोतले बतायो । ‘केन्द्रिय कार्यालय नै प्रदेशमा खोल्नु पर्ने शर्त रहेकोमा सबैले सोहि बमोजिम कार्यालय खोलेको पाइयो,’ उक्त श्रोतले विकासन्युजसँग भन्यो- ‘केन्द्रिय कार्यालयको संरचना, सीईओ नियुक्ति, विभागीय प्रमुखको नियुक्ति, आईटीको सफ्टवेयर जडान लगायतका सम्पूर्ण पूर्वाधारको काम सम्पन्न भएको छ ।’ प्राधिकरणका अनुसार भौतिक पूर्वाधारको संरचना तयार पारिसकेका कम्पनीले व्यवसाय सञ्चालनको लागि नयाँ बीमा योजना ल्याउनु पर्ने हुन्छ । जुन बीमा योजना बीमा प्राधिकरणले स्वीकृत गरेपछि मात्रै कम्पनीहरुलाई व्यवसाय सञ्चालन गर्नको बाटो खुल्ने छ । सो अनुसार यी कम्पनी हाल बीमा योजना ल्याउने काममा नै बढी व्यस्त छन् । केही कम्पनी बीमा योजनाको खाका तयार पारी बीमा प्राधिकरणमा पेश गर्ने अन्तिम चरणमा छन् भने केहीले खाका तयार पार्दै छन् । पहिलो पटक पुँजी पुर्याउन सफल भएको गार्डियन माइक्रो लाइफले यो महिनाको अन्तिमसम्ममा व्यवसाय शुरु गर्ने योजना बनाएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले बताए । ‘हाल बीमा प्राधिकरण आफैले पोलिसी बनाउँदै छ, सो बनेलगत्तै हामीले व्यवसाय शुरु गर्नेछौं,’ उनले थपे- ‘ढिलामा यो महिनाको अन्तिमसम्ममा हुन्छ ।’ यस्तै, क्रेष्ट माइक्रो लाइफका सीईओ प्रतापमान श्रेष्ठले पुँजी पुर्याउने लगायत भौतिक पूर्वाधारको काम सकिएता पनि व्यवसाय सञ्चालनको लागि थप केही समय लाग्ने बताए । ‘हाम्रो अब प्रडक्ट ल्याउने मात्रै काम बाँकी हो, त्यसको नयाँ कन्सेप्ट ल्याई ड्राफ्टमा उतारिसकेका छौं, अब एक्चुरी कहाँ पठाउँछौं, त्यसपछि बीमा प्राधिकरणले एक्चुरीले पठाएको एप्रुभ गरेपछि हाम्रो प्रडक्ट बजारमा ल्याउन मिल्छ,’ उनले थप प्रष्टाउँदै भने । ‘हाम्रो टार्गेट जेठको अन्तिममा कारोबार सञ्चालन गर्ने हो, बीमा प्राधिकरणले ट्रम पोलिसी दिन्छु भनिरहेको छ, त्यो पायौं भने छिट्टै हुन्छ,’ सीईओ श्रेष्ठले थपे । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले पनि चालु आवभित्रै व्यवसाय सञ्चालन गर्ने गरी आफूहरु अघि बढाइरहेको सीईओ नरेश रोक्काले बताए । ‘हाम्रो केन्द्रिय कार्यालयको काम भयो, अब शाखाको कामहरु बाँकी छ, प्रडक्ट डिजाइनको काम पनि भइरहेको छ, ढिलामा साउन अघि कारोबार शुरु गर्छौं,’ सीईओ रोक्काले भने । भौतिक पूर्वाधारको कामलाई तीव्रता दिँदै तीन कम्पनी अन्य बाँकी तीन वटा लघु बीमा कम्पनीले भने अर्को चरणमा व्यवसाय शुरु गर्ने छन् । जसमा लघु जीवन बीमा तर्फको लिबर्टी माइक्रो र निर्जीवन लघु बीमा तर्फबाट ट्रष्ट माइक्रो इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्स रहेका छन् । यी तीन कम्पनीको केन्द्रिय कार्यालय क्रमशः गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल र मधेश प्रदेशको जनकपुरधाममा रहेको छ । बीमा प्राधिकरणका अनुसार यी कम्पनीले तोकेको न्यूनतम ७५ करोड चुक्ता पुँजी पुर्याइसकेका छन् । पुँजी पुर्याइसकेका यी कम्पनीले हाल भौतिक पूर्वाधारको कामलाई अघि बढाइरहेका सम्बद्ध श्रोतले विकासन्युजलाई बतायो ।
बझाङको दौलीचौर केन्द्रविन्दु भएर भूकम्प
बझाङ । सुदूरपश्चिम प्रदेशको बझाङ दौलीचौर केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बझाङको दौलीचौर वरपर केन्द्रविन्दु भएर आज बिहान ४ बजेर ६ मिनेटमा चार दशमलव पाँच रेक्टर स्केलको भूकम्प गएको हो । यसअघि पूर्वीरुकुमको हुकाम केन्द्रविन्दु भएर यही जेठ ७ गते बिहान चार दशमलव एक रेक्टरको भूकम्प गएको थियो । पछिल्लोे समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी छ । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ ।
काठमाडौं भ्यू टावर २६ तलासम्म बनाउन मिल्ने पुल्चोक इञ्जिनियरिङ क्याम्पसको सुझाव
काठमाडौं । निर्माणाधीन काठमाडौं दृश्यावलोकन स्तम्भ ‘भ्यू टावर’ मा १२ देखि १४ सम्म तला थप्ने तयारी भइरहेको छ । साबिक पुरानो बसपार्कमा निर्माण भइरहेको टावरको काम हालसम्म १२ तला सम्पन्न भइसकेको छ । १२औँ तला निर्माणबारे प्राविधिक जाँचका लागि पुल्चोक इञ्जिनियरिङ क्याम्पसले अध्ययन गरी प्रतिवेदन काठमाडौँ महानगरपालिकालाई बुझाइ सकेको अवस्था छ । प्रतिवेदनअनुसार निर्माण मापदण्डअनुसार नै काम भएको र थप लता थप्न सकिने जनाएकाले कामपाको प्राविधिक टोलीले उक्त प्रतिवेदको अध्ययन गरी तला थपको लागि अनुमति दिने तयारी गरेको छ । उक्त टावर वि.सं २०७२ को भूकम्प अघि २९ तलाकै बनाउने भने पनि भूकम्प पछि १२ तलाको काम अघि बढाईएको थियो । अहिले १२ तलालाई बढाएर २४ देखि २६ तलासम्म बनाउने तयारी भइरहेको कामपा सार्वजनिक निजी साझेदारी एकाईका प्रमुख महेश काफ्लेले जानकारी दिए । उनका अनुसार कामपाको प्राविधिक टोलीले प्रतिवेदन अध्ययन गरेपछि कती तला थप्नेबारे यकिन हुनेछ । हाल टावर निर्माण गरिरहेको कम्पनीले तला थपको लागि कामपालाई निवेदन दिनुपर्छ सोहीअनुसार कामपाले कानुनी प्रक्रिया पूरा गरी तला थपको लागि नक्सा स्वीकृत गर्नेछ । प्रमुख काफ्लेका अनुसार भूकम्प जानुअघि २९ तला नै बनाउने योजना थियो, भूकम्प गएसँगै तला घटाएर १२ बनाउने भन्दै सोहीअनुसार निर्माणको काम अघि बढाइएको हो । ‘हालसम्म निर्माण भएको संरचना कस्तो निर्माण भएको छ, निर्माण सामग्री कस्तो प्रयोग गरेको छ, तला थप्न मिल्छ कि मिल्दैन जस्ता विषयबारे पुल्चोक क्याम्पसले अभ्ययन गरेहो हो,’ काफ्लेले भने । स्तम्भ निर्माणको काम जलेश्वर, स्वच्छन्द र बिकोईले वि.सं २०७३ साउनदेखि सुरु गरेको हो । स्तम्भ निर्माणका लागि कामपा र जलेश्वर, स्वच्छन्द र बिकोई कम्पनीबीच विसं २०७१ फागुन २२ गते सम्झौता भएको थियो । सम्झौताअनुसार ५ वर्षभित्र ती कम्पनीले आफ्नो लगानीमा भवन बनाएर ३० वर्षसम्म भोगचलन गर्न सक्ने उल्लेख गरिएको छ । स्तम्भका लागि २३ रोपनी पाँच आना जग्गा छुट्याइएको छ । उक्त भ्यू टावर नेपाली कला संस्कृति झल्किने किसिमको हुने बताइएको छ । कूल क्षेत्रफलको ४० प्रतिशत भूभागमा स्तम्भ बन्नेछ भने ६० प्रतिशत भाग खाली राखिने छ । ६० प्रतिशत जग्गामा आकर्षक बगैँचा, बस्ने ठाउँ तथा विभिन्न मनोरञ्जनका सामग्री राखिने योजनाअनुरुप निर्माणको काम अघि बढाइएको हो । टावरमा दुईतले भूमिगत पार्किङ हुनेछ । जसमा चार सय सवारी साधन अटाउनेछन् । भुइँतलामा मोटरसाइकल पार्किङ रहनेछ । टावरमा अत्याधुनिक सिनेमा हल रहनेछ । टावरमा बैंक तथा वित्तीय संस्थाहरू, स्वास्थ्य सेवा प्रवाह गर्ने स्थान, रेस्टुराँ तथा पुस्तकालय हुनेछ । गत वैशाख २२ देखि निजी गाडी पार्किङ सुरु निर्माणाधीन भ्यु टावरको बेसमेन्टमा गत वैशाख २२ गतेदेखि निजी सवारी साधनहरु पार्किङको काम सुरु गरिएको छ । अहिले ४ पाङ्ग्रे साना सवारी साधन र २ पाङ्ग्रे सवारी साधनहरु उक्त स्थानमा राख्ने गरिएको छ । अहिले सुरुआती समयमा निःशुल्क पार्किङको व्यवस्था गरिए पनि केही दिनबाट थप व्यवस्थापनसहित शुल्क लिएर पार्किङको व्यवस्थापन मिलाइने बताइएको छ । प्रमुख काफ्लेका अनुसार चार सय साना सवारी साधन र एक हजार मोटरसाइकल अट्ने पार्किङ गत वैशाख २२ वैशाखदेखि नै सञ्चालनमा आएको हो । अहिले पार्किङको समस्या निकै नै रहेकाले पूर्ण रुपमा निर्माणको काम सम्पन्न नभईकनै पार्किङ खुला गरिएको बताइएको छ । टावर निर्माणकै लागि वि.सं २०७२ साउनबाट बसपार्कलाई खुल्लामञ्चमा स्थानान्तरण गरिएको थियो । ५ वर्षमा भ्यू टावर निर्माणको काम सम्पन्न गर्ने र साविकै बसपार्क रहेको स्थानबाट थप व्यवस्थित रूपमा सवारी साधनलाई आवतजावत गराइने भने पनि हालसम्म पनि उक्त टावरको निर्माणको काम भने सम्पन्न भएको छैन । उक्त स्थानबाट काठमाडौँ उपत्यकाका विभिन्न १७ रुटमा चल्ने गाडीहरु आवातजावत गर्ने गरेका थिए ।
शरणार्थी प्रकरण : अदालतमा अभियोजन दर्ता गर्ने
काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले नक्कली भुटानी शरणार्थी–ठगी प्रकरणमा बुधबार अदालतमा अभियोजन दर्ता गर्ने गरी अन्तिम तयारी गरिरहेको छ । अभियोजनका लागि गठित आठ सदस्यीय समितिले सोमबार प्रहरीले बुझाएको रायसहितको प्रतिवेदन अध्ययन गरी अभियोजनपत्र तयार गरिरहेको कार्यालयका प्रमुख सहन्यायाधीवक्ता अच्युतमणि न्यौपानेले जानकारी दिए । ‘आज बुधबार मुद्दा दर्ता गर्ने गरी अध्ययन गरिरहेका छौँ, प्रहरीको रायमाथि केही थपघट गरेर अभियोजन दर्ता हुनसक्छ, अहिले अध्ययनकै चरणमा रहेकाले यही हुन्छ भन्ने अवस्था छैन,’ उनले भने । जिल्ला प्रहरी परिसर काठमाडौँले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने लोभमा सयौँ नागरिकको करोडौँ रकम ठगी गरेको घटनाको अनुसन्धान प्रतिवेदन सोमबार जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाएको थियो । उक्त घटनामा पूर्वमन्त्री, सचिवसहितका १६ जना पक्राउ परेका छन् । अरु थप १७ जनालाई प्रतिवादी भनाएर मुद्दा चलाउने राय दिइएको परिसरका प्रहरी उपरीक्षक सीताराम रिजालले बताए । प्रहरीका अनुसार ठगी, राज्य विरुद्धको अपराध र सङ्गठित ठगीमा मुद्दा चलाउन सकिने राय प्रहरीको छ । उक्त घटनामा थप अनुसन्धानको पाटो खुला नै रहेको पनि रिजालले बताए । यस्तै सम्पत्ति शुद्धीकरण र अख्तियार दुरुपयोगमा पनि अनुसन्धान गर्न लेखी पठाउन राय दिइएको छ । उक्त घटनामा ६० दिन भित्रमा अभियोजन गरिसक्नुपर्छ । भोलि नै ६० दिन पुग्दैछ । यस घटनामा ११३ जना पीडितले २७ करोड ५० लाख रुपैयाँ बढी ठगी भएको भनी उजुरी दिएका थिए । सोही आधारमा बिगोसमेत हुने गरी अभियोजन गर्न राय दिइएको प्रहरीले जनाएको छ । शरणार्थी प्रकरणमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाण, नेकपा (एमाले)का निलम्बित सचिव पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृहसचिव (निलम्वित सचिव)टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार डा.इन्द्रजित राई, हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री खाणका स्वकीय नरेन्द्र केसी, सन्दीप रायमाझीसहित गिरोह केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टङ्क गुरुङ, गोविन्द चौधरी र रामशरण केसी पक्राउ परेका छन् । पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक, इन्द्रजित राईका छोरा नीरजसहितका १७ जना फरार छन् ।
आजसम्म नेशनल लाइफको सेयर खरिद गरे १४.५ प्रतिशत लाभांश पाउने
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । इन्स्योरेन्स कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ जेठ ११ गते लागि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज जेठ १० गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कायम सेयरधनीहरुले वार्षिक साधारणसभामा उपस्थित भई लाभांश प्राप्त गर्न सक्नेछन् । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर र ६.५ प्रतिशत नगद गरी कूल १४.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश वितरण गर्न कम्पनीले ३५औं वार्षिक साधारण सभा जेठ २२ गते लाजिम्पाट स्थित कन्द्रीय कार्यालयमा बोलाएको छ । यस्तै, कम्पनीको सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ असरा मसान्तसम्मको वासलात, आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण र आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण प्रस्ताव पारित गर्नेछ ।