दाङको कुलपानी हरित पार्क आन्तरिक पर्यटकको रोजाइ बन्दै
देउखुरी । दाङ, गढवा गाउँपालिका–१ स्थित कुलपानी हरित पार्क पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइको केन्द्र बन्दै गएको छ । गर्मीका कारण जनजीवन प्रभावित भइरहेका बेला कुलपानी हरित पार्कमा घुम्न र वनभोजका लागि आउनेको भीड लाग्ने गरेको छ । घोराही– ६ का श्रीधर अधिकारीले बिदाको सदुपयोग गर्नका लागि परिवारसँग घुम्न कुलपानी आएको बताए । ‘आफ्नै गाउँठाउँमा रहेका पर्यटकीयस्थल हेरौँ भनेर गाउँका दाजुहरूसँग यहाँ घुम्न आएको हुँ’, उनले भने । अधिकारीले पार्कमा बनाइएका बाघ, घोडा, गैँडा, जरायो, गरुड र मयुरका प्रतिमा निकै आकर्षक रहेको जनाउँदै सो ठाउँ आन्तरिक पर्यटकका लागि उपयुक्त गन्तव्य रहेको बताए । घोराही–१५ का शरद आचार्यले पहिलो पटक कुलपानी पुगेको बताउँदै यहाँ बनेका संरचनाले पर्यटकलाई आकर्षण गर्ने धारणा राखे । काठको ‘भ्युटावर’मा चढेर वरिपरीको वातावरण नियाल्दा रमाइलो लागेको उनको भनाइ थियो । ‘प्रति व्यक्ति रू १० को टिकट लाग्ने रहेछ’, उनले भने, ‘खर्च कम लाग्ने, स्थानीयस्तरमा भएका रमणीय गन्तव्य घुम्न पाइने र यसबाट थोरै भए पनि आम्दानी हुने पक्ष राम्रो लाग्यो ।’ आचार्यका अनुसार कुलपानीमा पर्यटकलाई आकर्षक गराउनका लागि काठको पुल, भ्युटार, देउखुरी क्षेत्रमा पहिले प्रयोग गरिने काठको लडिया, डुङ्गा, काठको कोल, ढिकीलगायत परम्परागत रूपमा प्रयोग गरिएका सामग्रीलाई संरक्षण गरिएको छ । उनले यस्ता लोप हुने अवस्थामा पुगेका सामाग्रीको संरक्षण गरेर पर्यटक भित्राउन मद्दन पुगेको बताए । धार्मिक एवं सिमसार क्षेत्रलाई पर्यटकीयस्थलका रूपमा विकास गर्ने उद्देश्यले यहाँ हरित पार्क निर्माण गर्नुका साथै जलविहारका लागि पोखरी निर्माण गरी डुङ्गाको व्यवस्था गरिएको कुलपानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष नवराज शर्माले बताए । आन्तरिक पर्यटकका लागि प्रमुख पर्यटकीय गन्तव्यका रूपमा कुलपानी क्षेत्रलाई विकास गरिएको उनको भनाइ थियो । ‘बाह्र हेक्टर क्षेत्रमा फैलिएको धार्मिक एवं सिमसार क्षेत्रका रूपमा रहेको उक्त पार्कको विकासका लागि प्रदेश पूर्वाधार प्राधिकरण कार्यालयले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)निर्माण गरिरहेको छ’, अध्यक्ष शर्माले भने । बाल उद्यान, वनभोज केन्द्र तथा पोखरीलाई व्यवस्थित गर्न तारबार लगाउने गरी डिपिआर निर्माण भइरहेको उनले जानकारी दिए । प्राकृतिक स्रोत र साधनको संरक्षण गर्दै आन्तरिक पर्यटनको विकास गरी आर्थिक रूपमा समृद्ध बनाउने उद्देश्यले पार्कलाई थप व्यवस्थित बनाउने पहल भइरहेको अध्यक्ष शर्माले बताए । ‘अहिले भइरहेको कामले कुलपानीमा पर्यटनको चहलपहल झन बढ्ने छ । यसले आन्तरिक तथा बाह्य पर्यटक प्रवरद्धनमा टेवा पुग्ने विश्वास छ’, उनले भने । अध्यक्ष शर्माका अनुसार यहाँ जिल्ला भित्र र बाहिरका गरी दैनिक चार सय बढी पर्यटक घुम्ने आउने गरेका छन् । शनिबार र बिदाको दिनमा यो सङ्ख्या अझ बढ्ने उनको भनाइ थियो । डिभिजन वन कार्यालयका प्रमुख बेसिन्द्रराज सुवेदीले यस क्षेत्रलाई जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने उद्देश्यले रहेको बताए । वनको संरक्षण पनि हुने र पर्यटकलाई मनोरञ्जन हुने भएकाले यसको विकास गरिएको उनले बताए । प्रमुख सुवेदीका अनुसार पार्कभित्र आठ लाख रुपैयाँमा ताल निर्माण गरी डुङ्गा सञ्चालन गरिएको छ भने वनभोजका लागि आउने पर्यटकका लागि वनभोजस्थल निर्माण गरिएको छ । रासस
कालोसूचीमा राख्न सिफारिस १७ कम्पनीलाई सोधियो स्पष्टीकरण
काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचलले कार्यसम्पादन चित्तबुझ्दो नभएका १६ ठेकेदार र एक आपूर्तिकर्ता कम्पनीलाई सातदिने स्पष्टीकरण सोधेको छ । कार्यालयले आज एक सूचना प्रकाशित गरी राजन गौतम नेतृत्वको नयाँ निर्माण सेवा भरतपुर–११ चितवन, राजाबहादुर झा नेतृत्वको नवनिर्माण बिल्डर्स प्रालि जनकपुर, सशक्त शरण गोले अभिषेक नेतृत्वको आर्भन कन्स्ट्रक्सन प्रालि भरतपुर–१ चितवन, राजु पोखरेल नेतृत्वको ब्लुबर्ड डिजाइन एन्ड कन्स्ट्रक्सन भक्तपुरसँग सातदिने स्पष्टीकरण माग गरिएको छ । यसैगरी, मिलन पन्त नेतृत्वको इपिक कम्प्युटर्स ट्रेडर्स काठमाडौँ, बबिन्द्रविक्रम बुढाथोकी नेतृत्वको बुढाथोकी निर्माण सेवा पाँचथर, शेरबहादुर लिम्बू नेतृत्वको माबोहाङ निर्माण सेवा ताप्लेजुङ, शोभा न्यौपाने नेतृत्वको समृद्ध निर्माण सेवा चितवन, डिल्लीराम तिवारी नेतृत्वको जय भगवती निर्माण सेवा चितवन, सुरजकुमार शाही नेतृत्वको शुभम् कन्स्ट्रक्सन चितवनसँग पनि स्पष्टीकरण माग गरिएको छ । साथै लक्ष्मण पाण्डेय नेतृत्वको त्रिवेणी निर्माण सेवा कास्की, सुदीप श्रेष्ठ नेतृत्वको एस कन्स्ट्रक्सन चौतारा, कुलबहादुर श्रेष्ठ नेतृत्वको बी के बी कन्स्ट्रक्सन एन्ड सप्लायर्स सिन्धुली, दीपेन्द्रबहादुर शाही नेतृत्वको सिद्धिसाई प्रकाश कन्स्ट्रक्सन प्रालि नयाँबानेश्वर, विनित जोशी नेतृत्वको जोशी विज हाउस प्रालि नयाँबानेश्वर तथा ध्रुवप्रसाद न्यौपाने नेतृत्वको चेतना कन्स्ट्रक्सन प्रालि र युकेएन कन्स्ट्रक्सन प्रालि ललितपुरसँग पनि स्पष्टीकरण माग गरिएको सूचनामा उल्लेख छ । कार्यालयले कालोसूचीमा राख्न सिफारिस गरेका कम्पनी तथा आपूर्तिकर्तालाई यसअघि ३० दिनको म्याद दिएर स्पष्टीकरण माग गरिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ । सो अवधिभित्र स्पष्टीकरण नबुझाएपछि पुनः सात दिनको म्याद दिएर स्पष्टीकरण मागिएको हो । रासस
कोशी सरकारले पहिचानवादीसँग वार्ता गर्न बनायो समिति
काठमाडाैं । कोशी प्रदेश सरकारले प्रदेश नामांकनको विरोधमा आन्दोलनमा उत्रिएको पहिचान पक्षधरसँग वार्ताका लागि तीन सदस्यीय टोली गठन गरेको छ । मंंगलबार माओवादी केन्द्रले सरकार छाडेपछि अल्पमतमा परेलगतै मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पहिचान पक्षधरसँग वार्ता गर्न समिति गठन गरेका हुन् । खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री तिलकुमार मेन्याङ्वो नेतृत्वको समितिमा सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी र सरकारका प्रवक्ता तथा कृषि मन्त्री भक्तिप्रसाद सिटौला सदस्य छन् । फागुन १७ मा प्रदेशसभा बैठकबाट प्रदेशको नाम कोशी राखेपछि पहिचान पक्षधर आन्दोलनमा छन् । आन्दोलनका क्रममा एक जनाको ज्यान गइसकेको छ भने झडपहरू नियमित रूपमा भइरहेका छन् ।
मेलम्चीमा ‘बेलिब्रिज’ जडान हुने
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको तीन पालिका जोड्ने मेलम्ची नदीमा ‘बेलिब्रिज’ निर्माण हुने भएपछि स्थानीयवासी हर्षित भएका छन् । निर्वाचनका समयमा जेठ मसान्तभित्र बेलिब्रिज निर्माण गर्ने प्रतिबद्धता गरे पनि केही समय ढिलो गरेर बेलिब्रिज जडान हुन लागेको बागमती प्रदेश सभासदस्य कृष्णकुमार तामाङ (समीर)ले जानकारी दिए । उनले भने, ‘अब बेलिब्रिज निर्माण प्रक्रिया तत्काल अगाडि बढ्छ ।’ उनले वर्षायाममा यहाँको नागरिकहरुलाई आवतजावत गर्न निकै समस्या हुने भएकाले जतिसक्दो चाँडो सम्पन्न गर्नका लागि आग्रह गरे । महासेनानी ईश्वर बुढाथोकीले बेलिब्रिज जडान कार्य केही चुनौती रहे पनि जतिसक्दो चाँडो कार्य सम्पन्न गर्न लागिपर्ने जानकारी दिए । मेलम्ची पारिको वडा नं ९ र १० तथा पाँचपोखरी थाङ्पाल र इन्द्रावती गाउँपालिका जोड्ने सो पुल निर्माण भएपछि त्यहाँका नागरिकले प्रत्यक्ष लाभ लिनेछन् भने सदरमुकाम चौतारा जाने छोटो दूरीको ‘रुट’का रुपमा समेत यस सडक प्रयोग हुँदै आएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र बागमती प्रदेशसभा सदस्य तामाङको पहल, निरन्तर प्रयास पछि मेलम्ची खोलामा बेलिब्रिज निर्माण गर्नका लागि अर्थ मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले रक्षा मन्त्रालयलाई जिम्मेवारी दिएको थियो । नेपाली सेनाको इञ्जिनियरिङ विभाग, १४ नं वाहिनी अड्डाबाट महासेनानी बुढाथोकीको नेतृत्वमा आएको टोलीले अध्ययन सर्वेक्षण गरेको हो । ०७८ साल असार १ गते आएको बाढीले पक्की पुल बगाउँदा यहाँका नागरिकहरुले बर्खाको समयमा सास्ती खेप्दै आएका छन् । हिउँदको समयमा ह्युमपाइप राखेर सडक सञ्चालन गर्ने गरिएको भए पनि बर्खा लागेसँगै समस्या हुने गरेको छ । रासस
ईएण्डवाई श्रीलंकाको सहयोगमा एनएफआरएस तालिम सुरु
काठमाडौं । डिबान र एसएआर एड्भाइजर्सको आयोजनामा एनएफआरएस तालिम सुरु भएको छ । डेभलपमेण्ट बैंकर्स एशोसियसन नेपाल डिबान र एसएआर एड्भाइजर्सको संयुक्त आयोजना तथा ई एण्ड वाई श्रीलंकाको सहयोगमा ३ दिने ‘एनएफआरएस–९ तालिम’ सुरु भएको हो । तालिम कार्यक्रमको उद्घाटन नेपाल राष्ट्र बैंक, वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक विष्रुत थापाले गरेका थिए । डेभलपमेण्ट बैंकर्स एशोसियसन नेपालका अध्यक्ष सुयोग श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रमको उद्घाटन सत्रमा इन्ष्टच्यूट अफ चार्टड एकाउन्टेन्ट्स नेपालका पुर्व अध्यक्ष सुनिर ढुंगेल तथा डेभलपमेण्ट बैंकर्स एशोसियसन नेपालका पदाधिकारीहरुको समेत उपस्थिति रहेको एशोसियसनले जनाएको छ । उक्त तालिम ई एण्ड वाई श्रीलंकाका साझेदार रजिथ पेरेराले दिइरहेका छन् । ३ दिनसम्म चल्ने उक्त तालिममा बिकास बैंकका वित्त, लेखापरिक्षण आदि विभागका कर्मचारीहरुको सहभागिता रहेको छ । कार्यक्रमको तेस्रो दिन बिकास बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई समेतलाई प्रशिक्षण दिने कार्यक्रम तय गरिएको छ । नेपालका बैंक तथा वित्तीय संस्थामा एनएफआरएस लागू भइसकेको छ । एनएफआरएस–९ लागू हुने चरणमा रहेकाले त्यसैको तयारीका लागि डेभलपमेण्ट बैंकर्स एशोसियसनले यस्तो अग्रसरता लिएको हो । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक विष्रुत थापाले डेभलपमेण्ट बैंकर्स एशोसियसनले योजनाबद्धरुपमा आप्mना सदस्य बैंकहरुलाई एनएफआरएस–९ को आवश्यक तयारी गर्न गराउनको लागि विशेष पहल गरेको देख्दा खुशी लागेको बताउदै नियमनकारी निकायको निर्देशनमा मात्र भर पर्नु भन्दा पनि यसरी आफै अग्रसर भइ कार्य गर्दा सबैलाई राम्रो हुने बताए । इन्ष्टिच्यूट अफ चार्टड एकाउन्टेन्ट्स नेपालका पुर्व अध्यक्ष सुनिर ढुंगेलले कार्यक्रमको सफलताको शुभकामना दिदै बिकास बैंकहरुका लागि आवश्यक पर्ने ज्ञान आदान प्रदान गर्न आफुहरु सदैव तत्पर रहेको बताए । डेभलपमेण्ट बैंकर्स एशोसियसन नेपालका अध्यक्ष सुयोग श्रेष्ठले एनएफआरएस–९ का बारेमा वित्त विभागका कर्मचारीले मात्र बुझेर नपुग्ने, त्यस्का लागि व्यवसाय विभाग, कर्जा विभाग, उच्च व्यवस्थापनका कार्यकारीहरु लगाएतले जान्न र बुझ्नु पर्ने बिषय भएकाले सुझाबका र आवश्यक्ताका आधारमा थप कार्यक्रम गर्दै जाने बताए ।
घोराही सिमेन्टको ८१ प्रतिशत सेयर बिकेन, प्रतिकित्ता ३५ रुपैयाँ सस्तो दिँदा किनेनन् स्थानीयले
काठमाडौं । प्रिमियम मूल्यमा सेयर बिक्री गरेको घोराही सिमेन्ट एण्डष्ट्रीको झण्डै ८१ प्रतिशत सेयर नबिकेको पाइएको छ । कम्पनीले स्थानीयबासीलाई छुट्याएको सेयर मध्येमा १९.४५ प्रतिशत मात्र आवेदन परेको सेयर निष्काशन तथा बिक्री प्रबन्धक कम्पनी हिमालयन क्यापिटलले जनाएको छ । कम्पनीले अरुलाई भन्दा स्थानीय बासीलाई प्रतिकित्ता ३५ रुपैयाँ कम मूल्यमा सार्वजनिक निष्काशन गरेको थियो । कम्पनीले बैशाख १९ गतेदेखि जेठ १७ गतेसम्म आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहलाई ३ लाख ९७ हजार १९० कित्ता सेयर बिक्री खुला गरेको थियो । कम्पनीले दाङको घोराही उपमहानगरपालिका वडा नं. १, २, ३, ४, १४, १५, १७, १८,१९, बंगलाचुली गाउँपालिका वडा नं. ३, ४ र रोल्पाको त्रिवेणी गाउँपालिका वडा नं.३, ४ का बासिन्दाहरुलाई आईपीओ बिक्री खुला गरेको थियो । प्रतिकित्ता १०० रूपैयाँकाे सेयरमा ३०० रूपैयाँ प्रिमियम जाेडेर प्रतिकित्ता ४ सय रुपैयाँका दरले ३ करोड ९७ लाख १९ हजार रुपैयाँ बराबरको सेयर निष्काशन गरिएको थियो । सर्बसाधारणको लागि ४३५ रुपैयाँमा बिक्री खुला भएको घोराही सिमेन्टको सेयर आयोजना प्रभावित समूदायको लागि भनेर ३५ रुपैयाँ कम अर्थात ४०० रुपैयाँ तोकिएको थियो । सेयर आवेदनको लागि थप समयमा पनि आवेदन नपरेपछि उक्त सेयर सर्बसाधारणको लागि प्रतिकित्ता ४३५ रुपैयाँको दरले बिक्रीमा राखिएको कम्पनीले जनाएको छ । बिक्री प्रबन्धक हिमालयन क्यापिटलका अनुसार स्थानीय वासिन्दाहरुले ७७ हजार २९० कित्ता सेयरका लागि मात्रै आवेदन दिएका छन् । कम्पनीले बिक्रीमा राखेको सेयरमध्ये ३ लाख १९ हजार ९ सय कित्ता बिक्री हुन नसकेको क्यापिटलले जनाएको छ । यस्तै, कम्पनीले बैशाख १९ गतेदेखि जेठ २ गतेसम्म सर्वसाधारण लगानीकर्तालाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् ७ करोड ५४ लाख ६६ हजार १ सय रुपैयाँ बराबरको प्रतिकित्ता ४३५ रुपैयाँका दरले ७ लाख ५४ हजार ६६१ कित्ता सेयरमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्री गरेको थियो । कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले ६ लाख ६ हजार ३५० कित्ता सेयरका लागि मात्रै आवेदन दिएका थिए । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्रीमा राखेको सेयरमध्ये १ लाख ४८ हजार ३११ कित्ता सेयर बिक्री हुन नसकेको कम्पनीले बताएको छ । घोराही सिमेन्ट एण्डष्ट्रीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरेको थियो । विदेशमा रहेका नेपालीकाे लागि जेठ २ गतेसम्म र स्थानीयबासीकाे लागि जेठ १७ गतेसम्म सेयर आवेदन खुला गरिएकाे थियाे । सेयर निष्काशित सेयर मध्ये साढे ४ लाख कित्ता सेयर बिक्री नभएको कम्पनीले जनाएको छ ।
मेडिसिटी अस्पतालमा साढे २ करोड ठगी, तीन जना पूर्वकर्मचारी पक्राउ
काठमाडाैं । ललितपुरमा रहेको नेपाल मेडिसिटी हस्पिटलको साढे दुई करोड रुपैयाँभन्दा बढी रकम ठगी भएको छ । अस्पतालको बिलिङ शाखाका ३ कर्मचारीको मिलेमतोमा अस्पतालकै यो रकम ठगी भएको हो । जिल्ला प्रहरी परिसर ललितपुरले उनीहरुलाई पक्राउ गरिसकेकाे छ । पक्राउ पर्नेमा दोलखा भिमेश्वर नगरपालिका-४ घर भई भक्तपुर ठिमी बस्ने ३४ वर्षीय राघव सापकोटा, ललितपुरको गोदावरी नगरपालिका-११ चापागाउँ बस्ने २९ वर्षीय सनम देशार र काठमाडौं-४ बालुवाटार बस्ने ३४ वर्षीय आशिष अर्याल छन् । उनीहरुले बिरामीसँग बिल अनुसारकै रकम लिने र कम्युटरमा कम बिल इन्ट्री गर्ने गरेको खुलेको छ । यसरी उनीहरूले दुई करोड ६३ लाख ५५ हजार १ रुपैयाँ ठगी गरेको पाइएको प्रहरीले जनाएको छ। उनीहरुले अस्पतालमा प्रयोग हुँदै आएको शुक्र नामको एचएमआइएस सफ्टवेयरको दुरुपयोग गरी रकम ठगी गरेका थिए ।
हिउँपहिरोमा बेपत्ता भएको ३२ दिनपछि शव फेला
मुगु । हिउँपहिरोमा बेपत्ता भएका तीन जना यार्सा सङ्कलक ३२ दिनपछि मृत अवस्थामा फेला परेका छन् । मुगुको पाटनमा यार्सागुम्वा टिप्न गएका जुम्लाको पातारासी गाउँपालिका–२ तल्फि गाउँका १५ जनामध्ये ४० वर्षिय तारासिंह सार्की, ३५ वर्षिय पुन्न सार्की र ३५ वर्षिय वीर बोहोराको शव सोमबार फेला परेको मुगुस्थित जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेश बस्नेतले जानकारी दिए । मुगुको मुगुम कार्मारोङ गाउँपालिका–२ च्यार्खु लेखमा गत वैशाख २२ गते यार्सा सङ्कल गर्न गएका उनीहरु हिउँपहिरोमा परी बेपत्ता भएका थिए । बेपत्तामा परेका उनीहरुलाई जिल्ला प्रशासन कार्यालय र पातारासी गाउँपालिकाको समन्वयमा कणाली प्रदेश सरकारले हेलिकप्टरसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बलको टोलीले दुई हप्तासम्म खोजी गर्दा शव फेला परेको प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिए । लगातारको हिमपातका कारण पाटनलगायत हिमालमा बाक्लो हिउँ जमेकाले खोजी कार्यमा समस्या भएको उनले बताए । ‘बेपत्ता भएकाको तीनै जनाको शव घटनास्थल भन्दा दुई किलोमिटर तल ल्याएका थियौँ’, उनले भने । शव परीक्षणका लागि जिल्ला अस्पताल मुगुबाट चिकित्सकको टोली शव राखिएको स्थानमा पुगेर परीक्षण गरेपछि मृतकका आफन्तलाई शव बुझाइ दाहसंस्कार गरिएको प्रनाउ बस्नेतले बताए । रासस