विकासन्युज

मुर्रा राँगो : भैँसीको नश्ल सुधारका लागि विशेष योगदान

गण्डकी । भारत सरकारको सहयोगमा नेपालमा ल्याउन लागिएका उन्नत जातका मुर्रा राँगो भैँसीको नश्ल सुधारका लागि महत्वपूर्ण उपलब्धि हुने विश्वास लिइएको छ । दूध उत्पादन वृद्धिमा नश्ल सुधारको विशिष्ट महत्व हुने अवस्थालाई दृष्टिगत गर्दै नेपालमा २०६९ सालबाट पशुको कृतिम गर्भाधानको राष्ट्रिय अभियान थालिएको थियो । त्यसयता पोखरा, लहान र नेपालगञ्जमा पशु प्रजनन कार्यालयमार्फत पशुको नश्ल सुधारका लागि वीर्य सङ्कलन गरी देशका विभिन्न जिल्लामा पठाउने गरिएको छ । कार्यालयमार्फत गाईभैँसी र बाख्राको शुद्ध नश्ल सुधारका लागि वीर्य सङ्कलन गर्दै आइएको राष्ट्रिय पशु प्रजनन कार्यालय पोखराका प्रमुख डा. जगदीश पाण्डेयले जानकारी दिए । उनका अनुसार अघिल्लो वर्ष पोखरा कार्यालयबाट मात्रै करिब छ लाख डोज वीर्य सङ्कलन गरेर विभिन्न जिल्लामा पठाइएको थियो । त्यसवर्ष लहान कार्यालयबाट तीन लाख डोज र नेपालगञ्ज कार्यालयबाट ५० हजार डोज वीर्य वितरण गरिएको थियो । पोखरा कार्यालयले वीर्य सङ्कलन एवम् वितरणबाट वार्षिक तीन करोड ९६ लाख राजस्व सङ्कलन गरेको उनले बताए । कार्यालयले अघिल्लो वर्षको तुलनामा यसवर्ष ३३ प्रतिशत डोज वीर्य थप्ने उद्देश्य राखेको छ । अघिल्लो वर्ष गाईभैँसी र बाख्रा गरी पाँच लाख ७१ हजार डोज वीर्य सङ्कलन गरिएको थियो । जसबाट रु पाँच करोडको हाराहारीमा राजस्व सङ्कलन हुने अनुमान गरिएको छ । चालु आवको चैतसम्म रु तीन करोड सङ्कलन भइसकेको जनाइएको छ । पछिल्ला समयमा नश्ल सुधारसँगै किसान पाडापाडी, बाच्छाबाच्छी हुर्काउनेतर्फ लागेको डा पाण्डेय बताउँछन् । नश्ल सुधारले हिजोप्रति बेत ७००-८०० लिटर दूध दिने भैँसीले अहिले २७-२८ सय लिटरसम्म दूध दिन थालेको उनले बताए । भैँसीमा बंश सुधार कार्यक्रमले प्रतिवेत ३८-३९ सय लिटरसम्म दूध दिन थालेको जानकारी दिँदै उनले भारतबाट ल्याउने भनिएका मुर्रा प्रतिवेत चार हजारदेखि चार हजार दुई सय लिटरसम्म दूध दिने उनले बताए । भैँसीले प्रतिवेत औसतमा ३०५ दिन दूध दिने अनुमान गरिन्छ । ‘वषौदेखिको नश्ल सुधारको प्रयासका लागि मुर्रा जातका राँगा आउन लागेको हो’, उनले भने, ‘जेनेटिक मेटेरियल आउनु सामान्य कुरा होइन, यो आफैँंमा अमूल्य छ ।’ मुर्रा आउने भएसँगै पोखरा कार्यालयले तिनीहरूको व्यवस्थापन गर्ने विषयलाई प्राथमिकताका साथ अघि बढाएको छ । नश्ल सुधार प्रयोजनका लागि ल्याइने पशुलाई ल्याइसकेपछि २१ दिन क्वारेन्टिनमा राख्ने प्रचलन छ । आउन लागेका मुर्रा राँगाका लागि क्वारेन्टिइन सेलहरू तयार गरिसकेको र गोठ तयारी अवस्थामा रहेको उनले बताए । अन्य देशबाट ल्याउदा आवश्यक प्रक्रिया अपनाउनुपर्ने बताउँदै उनले सुरुमा प्राविधिक टोली पुगेर ल्याउन लागिएका मुर्राबारे आवश्यक जाँचबुझ गर्ने जानकारी दिए । प्राविधिक टोलीले ल्याउन लागिएका राँगमा कुनै रोग छ वा छैन, अण्डकोषको अवस्था कस्तो छ, कसरी हिँड्छ आदिबारे पूर्णरुपमा जानकारी लिने र रोग नभएका अवस्थामा सम्बन्धित देशको आधिकारिक पशु चिकित्सकबाट प्रमाणित गरेर मात्रै ल्याउने प्रचलन छ । डेढ महिनाभित्रमा आउने भनिए पनि यकिन मिति भने तय नभएको उनले जानकारी दिए । उनका अनुसार पोखरामा हाल रहेका १२ वटा राँगोमध्ये आठ वटाबाट वीर्य सङ्कलन भइरहेको छ । पोखरास्थित पशुप्रजनन कार्यालयमा ५८ वटा साँढे र राँगा छन् । जसमध्ये ३१ वटाबाट वीर्य सङ्कलन भइरहेको र २७ वटा हुर्कदो अवस्थाका छन् । नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना (एनएलएसआईपी) को सहयोगमा अमेरिकाबाट ल्याइएका छवटा साँढेमध्ये पोखरामा चारवटा रहेको र तिनीहरूबाट हप्ताको दुई दिन वीर्य सङ्कलन गर्दै आएको छ । किसानलाई पशुको शुद्ध नश्लका बारेमा जानकारी गराउँदै तिनीहरूको संरक्षण र प्रवर्द्धन गरी पशुजन्य वस्तुमा राज्यलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ आयोजनाले काम गरिरहेको कृषि–अर्थ विज्ञ सुशील खड्काले जानकारी दिए । तत्कालीन समयमा पहिलो पटक नेपालमा राणा प्रधानमन्त्री जङ्गबहादुरका पालामा नश्ल सुधारको उद्देश्यका साथ जर्सी बहर ल्याइएको इतिहास छ । त्यसयता औपचारिक रुपमा एनएलएस आइपी आयोजनामार्फत अमेरिकाबाट साँढे ल्याइएको थियो । नेपालमा भारत सरकारको सहयोगमा ल्याउन लागिएका मुर्रा राँगा उत्पादकत्व वृद्धिका लागि महत्वपूर्ण हुने खड्काले बताए । ‘नेपालमा हाल थोरै मात्रामा दूध दिने भैँसी छन्’, उनले भने, ‘भारतबाट ल्याउन लागिएका मुर्रा राँगोको वीर्यबाट जन्मने पाडीहरूको दूध दिने क्षमता बढी हुन्छ ।’ रासस

नर्सीङ्ग अवार्डबाट बीर अस्पतालकी प्रमुख नर्स लक्ष्मी जोशी सम्मानित

काठमाडौं । ‘नाईटेङ्गल नर्सीङ्ग अवार्ड–२०२३’ बाट बीर अस्पताल अन्कोलोजी वार्डकी प्रमुख नर्स लक्ष्मी जोशी सम्मानित भएकी छिन् । जोशीले नेपालको नर्सिङ पेशामा गरेको योगदानको मूल्यांकन गर्दै हेल्थ एट होम, नेपाल क्रिटिकल केयर डेभलपमेन्ट फाउन्डेसन, नेपाल भेन्टिलेटर्स सर्भिस, सघन क्रिटिकल केयर एसोसिएट्स र मेड प्रो इन्टरनेशनलले संयुक्त रुपमा उनलाई ‘नाइटिंगेल नर्सिङ अवार्ड २०२३’ बाट सम्मान गरिएको हो । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रमुख अतिथी रहेकी सामाजिक अभियन्ता अनुराधा कोइराला र हेल्थ एट होम मेडप्रो इन्टरनेशनलका संस्थापक डा. विशाल ढकालले जोशीलाई अवार्ड तथा नगद पुरस्कार प्रदान गरेका हुन् । अवार्ड प्राप्त गरेपछि खुसी व्यक्त गर्दै जोशीले अवार्ड पाएसँगै आफूले थप जिम्मेवारी बोध गरेको बताए । उनी विगत २९ वर्षदेखि नर्सिङ पेशामा कार्यरत छिन् । १० जना मनोनित नर्संहरू मध्ये उनलाई अवार्ड प्रदान गरिएको थियो । फ्लोरेन्स नाइटिंगेलको नामबाट अन्तराष्ट्रिय नर्सिङ दिवस पारेर हेल्थ एट होमले हरेक वर्ष नर्सहरुलाई सम्मान गर्दै यस्तो खालको अवार्ड प्रदान गर्दै आएको छ । कार्यक्रममा प्रमुख अतिथि रहेकी सामाजिक अभियन्ता अनुराधा कोइरालाले दिनरात नभनी बीरामीको सेवामा लाग्ने नर्सहरुलाई प्रोत्साहन गर्न हेल्थ एट होमले गरेको सम्मान प्रति खुशी व्यक्त गरिन् । उनले आगामी दिनमा पनि यस किसिमका प्रोत्साहन मुलक अवार्ड र सम्मान कार्यक्रम जारी राख्न आग्रह गरिन् ।

मृत्यु भइसकेका व्यक्तिको नाममा ५ लाख भत्ता भुक्तानी

दमौली । तनहुँका स्थानीय तहले मृत्यु भइसकेका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेका छन् । जिल्लाका अधिकांश स्थानीय तहले मृत्यु भइसकेका व्यक्तिको खातामा रकम निकासा गरेको छ । गत आर्थिक वर्ष २०७८/७९ मा जिल्लाका विभिन्न पालिकाले रु पाँच लाख २५ हजार दुई सय ३३ मृत्यु भएका व्यक्तिको खातामा पठाएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ । देवघाट गाउँपालिकाले २४ हजार चार सय, घिरिङ गाउँपालिकाले एक लाख ३५ हजार नौ सय ८०, भानु नगरपालिकाले ५३ हजार छ सय १०, आँबुखैरेनी गाउँपालिकाले २४ हजार चार सय, बन्दीपुर गाउँपालिकाले २४ हजार एक सय ३१, भिमाद नगरपालिकाले २९ हजार तीन सय १४, ऋषिङ गाउँपालिकाले एक लाख १६ हजार छ सय ३० र शुक्लागण्डकी नगरपालिकाले एक लाख १६ हजार सात सय ५८ मृत्युपश्चात् भुक्तानी गरेको छ । सामाजिक सुरक्षा नियमावली २०७६ को नियम १३ मा सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिको मृत्यु भएमा उक्त लाभग्राहीलाई भत्ता पाउने सूचीबाट हटाई मृत्यु भएको दिनदेखि भत्ता दिन रोक्नुपर्ने व्यवस्था भएकामा स्थानीय तहले मृत्यु भइसकेका व्यक्तिलाई पनि रकम निकासा गरेकाले त्यस्तो कार्य सुधार गर्न सुझाव दिइएको छ । सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि, २०७७ को दफा ११ ९२० मा कुनै लाभग्राहीको मृत्यु भएमा, एकल महिला लाभग्राहीले विवाद गरेमा वा ऐन, नियमावली तथा कार्यविधि बमोजिम लगत कट्टा हुनुपर्ने लाभग्राहीको हकवाला वा प्रचलित कानून बमोजिमको सूचकले सम्बन्धित स्थानीय तहको वडा कार्यालयमा त्यस्तो घटना भएको ३५ दिनभित्र घटना दर्ता गराउनुपर्दछ । यसरी घटना दर्ता गर्दा लाभग्राही विवरण समेत अद्यावधिक गरी लगत कट्टा गर्नुपर्ने प्रावधान छ ।

स्वास्थ्य संस्थामा गर्भ जाँच गराउँदा अण्डा र क्याल्सियम वितरण

चितवन । चितवनको इच्छाकामना गाउँपालिकाका स्वास्थ्य संस्थाले गर्भवतीलाई अण्डा र क्याल्सियम चक्की वितरण गरेका छन् । गाउँपालिकाका सबै स्वास्थ्य संस्थामार्फत गर्भवतीलाई पोषण सुधार कार्यक्रम अन्तर्गत उक्त सामग्री वितरण गरेको हो । गाउँपालिकाको चालु आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा गर्भवतीका लागि पोषण सुधारको लागि अण्डा र क्याल्सियम चक्की वितरण गर्न पाँच लाख रुपैयाँ बजेट विनियोजन गरेको गाउँपालिकाका उपाध्यक्ष माया सिलवालले जानकारी दिए । उपाध्यक्ष सिलवालले भनिन्, ‘हामीले गर्भवतीलाई नियमित रुपमा स्वास्थ्य संस्थामा आई गर्भ जाचँ गराउनका लागि प्रेरित गर्ने उद्देश्यले निःशुल्क क्याल्सियम र अण्डा वितरण कार्यक्रम ल्याएका हौँ ।’ उनले कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिइने बताए । गाउँपालिका स्वास्थ्य शाखाका सहायक प्रमुख (जनस्वास्थ्य निरीक्षक) हरि देवकोटाका अनुसार अनुसार एकजना गर्भवतीलाई एक क्रेट अण्डा र आवश्यकता अनुसार क्याल्सियम चक्की दिइएको छ ।

नेप्सेमा दुई अर्ब ३६ करोडको कारोबार, सोल्टी होटलको सबैभन्दा बढी

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज(नेप्से) दुई अर्ब ३६ करोड ८८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज ६५ लाख ४१ हजार ३८८ कित्ता सेयर किनबेच हुँदा सो रकम बराबरको कारोबार भएको हो । आज सबैभन्दा बढी सेयर किनबेच भएको कम्पनीमा सोल्टी होटल लिमिटेड रहेको छ । सोल्टी होटलको आज १० करोड १३ लाख रुपैयाँको सेयर किनबेच भएको हो । यस्तै, दोस्रोमा शिवम् सिमेन्टको आठ करोड ९७ लाख रुपैयाँको सेयर किनबेच भएको छ । नेप्सेको अनुसार आज सेयर बजार ४.६८ अंकले बढेर १०३२।३३ विन्दुमा पुगेको छ । आज युनिक नेपाल लघुवित्त वित्तिय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लागेर कम्पनीको सेयर मूल्य प्रतिकित्ता १२३ रुपैयाँले वृद्धि भएको छ ।

कलेज प्रवेशको अति कठिन परीक्षामा १ करोड चिनियाँ विद्यार्थी

एजेन्सी । विद्यालय शिक्षा पूरा गरेका एक करोड ३० लाख चिनियाँ विद्यार्थी कलेज प्रवेशको अति कठिन परीक्षामा सहभागी भएका छन् । चार वर्षपछि भएको उक्त परीक्षा चीनमा गाओकाओका नामले परिचित छ । उच्च शिक्षा हासिल गर्न चाहनेहरूका लागि अति जटिल प्रश्न सोधिने यो परीक्षा उत्तीर्ण गर्नुलाई चीनमा ठूलो उपलव्धि मानिन्छ । कारोनाका कारण नराम्ररी प्रभावित भएको चीनमा त्यसविरुद्धका सबै नियन्त्रणात्मक उपाय हटाएपछि मात्र प्रवेश परीक्षाको तयारीका अनलाइन कक्षा सञ्चालन भएका थिए । ‘म विगत चार वर्षदेखि प्रवेश परीक्षाको तयारीमा जुटेकी छु, आइतबार बाहेक हरेक दिन बिहान ४ बजे उठे। पढेकी छु, मैले गर्न सक्ने सबै काम गरेको छु, तर म अझै अलि नर्भस नै छु’ शेन्जेनमा उच्च विद्यालयका १७ वर्षीय जेसी रावले परीक्षा उत्तीर्ण गर्ने आफ्नो एकमात्र लक्ष्य रहेको उल्लेख गर्दै एएफपीलाई भनिन्। बेइजिङमा आफ्नो सन्तानको शैक्षिक भविष्यलाई लिएर चिन्तित आमाबाबुहरू परीक्षा केन्द्र वरिपरि भेला भएका थिए । भगवान्को प्रार्थना गर्न तत्पर भएझै उनीहरूका छोराछोरीले घुँडा टेकेका थिए परीक्षाकक्षमा प्रवे गर्नुअघि अनि आफ्नो भाग्य खुल्ने विश्वासमा टाउकोमा रातो वस्त्र चिह्न लगाएका थिए । एक विद्यार्थीकी चालीस वर्षकी आमा झाङ जिङले आफूलाई चिनियाँ लोककथाको पात्र बाई सुजेनसँग तुलना गरिन् । उनले आफ्नो छोराले यो परीक्षा पास नगरेसम्म उसकै अघिपछि आफू बस्नुपर्ने बाध्यता रहेको सुनाइन् । ‘मेरो छोरो एकदम मनमौजी छ, ऊ भन्दा म आज धेरै नर्भस छु,’ छोरोको परीक्षाबाट पिरोलिएकी उनले भनिन् । उनले आफ्नो छोरालाई प्राथमिक विद्यालयदेखि हाईस्कूलको पहिलो वर्षसम्मको अध्ययन आफ्नै रेखदेख र निर्देशनमा भएको बताउँदै आजको परीक्षापछि पूर्ण रूपमा आराम गर्ने योजनाबारे जानकारी दिइन् । रासस

आधा घण्टाको दूरीमा झोलुङ्गे पुल बनाइने

  काठमाडौं । ग्रामीण क्षेत्रका नागरिकले नदी पार गर्न आधा घण्टाभन्दा बढी हिँड्न नपर्ने हुने भएको छ । सरकारको हाल एक घण्टाको दूरीमा झोलु्ङ्गे पुल निर्माण गर्ने रणनीति रहेकामा त्यसलाई परिवर्तन गरेर आधा घण्टा बनाउन लागिएको हो । दुर्गम क्षेत्रका नागरिकलाई आवागमनमा समस्या हुने भएपछि गोरेटो बाटोबाट एक घण्टा हिँडेर जानुपर्ने अवस्थाको अन्त्य नहोस् भनेर आधा घण्टाको दूरीमा झोलु्ङ्गे पुल निर्माण गर्ने रणनीति बनाउन लागिएको स्थानीय पूर्वाधार विभागले जनाएको छ । कम्तीमा एक किमीको दूरी कायम गर्दा हालको लक्ष्य हासिल भए पनि आधा घण्टा कायम हुँदा देशभरमा माग बढ्ने विभागका उपमहानिर्देशक अशोककुमार साहले बताए । स्थानीय तहबाट माग भएअनुसार सरकार आफैँले वा स्थानीय तहमार्फत पुल निर्माण गरिने उनले बताए । ‘पुल बनाउँदा समन्वय हुनुपर्छ । नयाँ रणनीति अनुसार झोलुङ्गे पुल सम्पन्न गर्नलाई अबको १०/१५ वर्ष लाग्नसक्छ’, उपमहानिर्देशक साहले भने । उनका अनुसार पहिले एउटा पुल वा झोलुङ्गे पुलबाट अर्काेमा जानका लागि कम्तीमा एक घण्टाको दूरी राखिएको थियो । अब बन्न लागेको रणनीति पास भएर कार्यान्वयनमा जाँदा पुलको सङ्ख्या बढ्ने उपमहानिर्देशक साहले बताए । उनले भने, ‘अहिले एउटा खोलामा १० पुल छन् भने नयाँ रणनीति अनुसार १४ हुनसक्छ । अहिलेसम्म यातायातको प्रयोजनका लागि मात्रै पुल बनाइने गरेकामा अब पर्यटन वा अरु प्रयोजनका लागि बनाइने छ ।’ विगतमा ठाउँठाउँमा रहेका तुईन हटाइएको उपमहानिर्देशक साहले बताए । सरकारले अहिले दुर्गम पहाडी जिल्लालाई प्राथमिकता दिएर पुल निर्माण गरिरहेको उनले जानकारी दिए । उनका अनुसार सङ्घीय सरकारले सशर्त अनुदानमा पैसा दिएपछि गाउँपालिकाले झोलुङ्गे पुल बनाउने गरेको छ । लम्बाइका आधारमा छोटा पुल स्थानीय तहले, मध्यम लम्बाइका पुल प्रदेश सरकारले निर्माण गरिरहेका छन् । सङ्घीय सरकारले लम्बाइका आधारमा लामा र नयाँ प्रविधिका झोलुङ्गे पुल निर्माण गर्दै आएको छ । उपमहानिर्देशक साहका अनुसार सबै झोलुङ्गे पुलका लागि आवश्यक लठ्ठा भने विभागले नै उपलब्ध गराउँदै आएको छ । सरकारले चालु आर्थिक वर्षमा झण्डै छ सय पुल सम्पन्न गर्ने भएको छ भने आगामी वर्ष छ सय पुल निर्माण लागि बजेट विनियोजन गरेको छ । हालसम्म देशभरमा १० हजार पुल निर्माण भएको विभागले जनाएको छ । रासस

युनाइटेड अजोडको सीईओमा रावल नियुक्त, सेयरधनीलाई उचित प्रतिफल दिने प्रतिवद्धता

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा श्रवण रावल नियुक्त भएका छन् । नेपाल बीमा प्राधिकरणले रावललाई कम्पनीको सीईओ बन्न स्वीकृति दिएसँगै उनी औपचारिक रुपमा कम्पनीको सीईओ पदमा नियुक्त भएका हुन् । साविकको युनाइटेड इन्स्योरेन्स र साविकको अजोड इन्स्योरेन्स मर्जपछि बनेको कम्पनीको सीईओ बन्न प्राधिकरणले उनलाई जेठ २३ गते मात्रै स्वीकृति दिएको हो । मर्जपछि बनेको कम्पनी सञ्चालक समितिले उनलाई सीईओमा नियुक्त गरी स्वीकृतिको लागि बीमा प्राधिकरणमा पेश गरेको थियो । जुन हालै स्वीकृत भएको छ । यससँगै जेठ २३ गतेदेखि नै रावलले कम्पनीको सीईओको जिम्मेवार सम्हालेका छन् । यसअघि आईजीआई प्रुडेन्सियलको वरिष्ठ सीईओ रहेका रावल त्यसअघि साविकको प्रुडेन्सियल इन्स्योरेन्सको सीईओ थिए । नवनियुक्त सीईओ रावलले अबका दिनमा जिम्मेवारी ठूलो रहेको बताउँदै सेयरधनीलाई उचित प्रतिफल दिने प्रतिवद्धता गरे । ‘भर्खर मर्जर भएको छ, पोष्ट मर्जरका धेरै काम बाँकी छन्, त्यसपछि बिजनेस वृद्धिमा फोकससँगै सेयरधनीलाई दिने प्रतिफललाई बढी प्राथमिकता दिनेछु,’ विकासन्युजसँग बोल्दै सीईओ रावलले भने । सीईओ रावलसँग बीमा क्षेत्रको लामो अनुभव छ । प्रुडेन्सियलमा आवद्ध हुनु अघि उनी सगरमाथा, नेको लगायतका बीमा कम्पनीमा कार्यरत थिए ।