विकासन्युज

भारत भ्रमण पूर्ण रुपमा सफल भयो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हालै सम्पन्न गरेकाे भारतको औपचारिक भ्रमणका बारेमा राष्ट्रियसभालाई जानकारी गराएका छन् । राष्ट्रियसभाको आजको बैठकमा सार्वजनिक महत्वको विषयमा सम्बोधन गर्नै उनले भारत भ्रमण पूर्ण रुपमा सफल भएको र त्यसक्रममा केही महत्वपूर्ण सहमतिसमेत भएको जानकारी दिए । प्रधानमन्त्री प्रचण्डले राष्ट्रियसभामा आज गरेको सम्बोधनको पूर्णपाठ । मित्रराष्ट्र भारतका प्रधानमन्त्री महामहिम श्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा मैले गत जेठ १७ देखि २० गतेसम्म भारतको चारदिने औपचारिक भ्रमण पूरा गरी फर्केको छु । भ्रमणका अवसरमा भएका द्विपक्षीय भेटघाट एवम् कार्यक्रमहरूका बारेमा यहाँहरू अवगत नै हुनुहुन्छ । नेपाल र भारतबीच सदियौँ पुरानो तथा घनिष्ट सम्बन्ध रहिआएको छ । मेरो भ्रमण आगामी दिनमा द्विपक्षीय सम्बन्धलाई अझ बलियो बनाउने दिशामा केन्द्रित रह्यो । विशेषगरी आर्थिक मामिलामा राष्ट्रको दीर्घकालीन हितमा सम्झौताहरु भएका छन् भने राजनीतिक मामिलामा आपसी विश्वास बढाउँदै छलफल  र वार्ताद्वारा निकास खोज्ने दिशामा कुराकानी भयो । भारतीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीसँग नयाँ दिल्लीस्थित हैदरावादहाउसमा भएको द्विपक्षीय भेटवार्ता महत्वपूर्ण रह्यो । सो अवसरमा व्यापार, पारवहन, लगानी प्रवद्र्धन, ऊर्जा व्यापार तथा क्रस बोर्डर ट्रान्समिसन लाइन, सिँचाइ, बाढी तथा डुबान नियन्त्रण, कृषि, सीमा वारपार सम्पर्क  सञ्जाल बढाउन रेलवे सेवा सञ्चालन कार्य, पुल निर्माण तथा एकीकृत जाँच चौकी एवम् सुक्खा बन्दरगाहजस्ता पूर्वाधार निर्माण कार्य अगाडि बढाउने विषयमा छलफल भयो । हवाई सेवालाई थप सुरक्षित बनाउन नेपालले अर्को हवाई प्रवेश मार्ग र गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनका लागि इन्स्ट्रमेन्टल ल्यान्डिङ सिस्टम (आइएलएस) सञ्चालन गर्ने प्रक्रिया सम्बन्धमा भारतीय पक्षको समझदारीका बारेमा समेत कुराकानी भएको छ । नेपालगञ्ज र भैरहवाबाट नयाँ दिल्ली लगायतका भारतका अन्य सहरमा दुईतर्फी उडान गर्ने सम्बन्धमा सकारात्मक छलफल भएको छ । त्यसैगरी, जलविद्युत्का क्षेत्रमा सहकार्य गर्ने सम्बन्धमा समेत बलियो सहमति निर्माण भएको छ । विभिन्न जलविद्युत् आयोजनामा लगानी भित्र्याउने, द्विपक्षीय ऊर्जा व्यापारका लागि ट्रान्समिसन लाइन लगायतका संरचनाको निर्माण गर्ने तथा नेपालबाट भारततर्फ ऊर्जाको दीर्घकालीन व्यापारका लागि वैधानिक आधार सुनिश्चित गर्ने विषयमा पनि भ्रमणमा छलफल र केही महत्वपूर्ण सहमति भएको छ । खास गरी दीर्घकालीन ऊर्जा, व्यापार र भारतीय भूमि हुँदै बङ्गलादेशसम्म नेपालबाट जलविद्युत् निर्यातको सुरुआत गर्ने सैद्धान्तिक सहमति भई त्रिपक्षीय सम्झौताका लागि प्रक्रिया अघि बढाउने सहमति भएको छ । भारतका प्रधानमन्त्रीले आगामी १० वर्षमा १० हजार मेगावाट जलविद्युत् नेपालबाट आयात गर्ने भारतको लक्ष्य रहेको बताएका छन् । ऊर्जा व्यापारसम्बन्धी सम्झौता सबै हिसाबबाट सम्पन्न भएको र औपचारिकता दिनमात्र बाँकी छ, जुन छिट्टै सम्पन्न हुँदैछ । यसका अतिरिक्त, चार सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनासहित थप एक हजार दुई सय मेगावाट क्षमताका आयोजनाबाट भारततर्फ जलविद्युत् निर्यातका लागि प्रधानमन्त्री मोदीजीलाई अनुरोध गरेको छु । नेपालमा विद्यमान प्रचुर जलविद्युत् क्षमताको उपयोग गरी समृद्धि हासिल गर्न लगानीकर्ताहरुको टड्कारो आवश्यकता छ । लगानीकर्ताहरुले उत्पादित विद्युत्को बजार सुनिश्चित हुने अवस्थामा मात्र लगानी गर्ने हुँदा आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत भारतले नेपालबाट विद्युत् खरिद बिक्री सम्झौता गरी खरिद गर्ने व्यवस्था सहितको फ्रेमवर्क एग्रिमेन्टमा दुवै देशका ऊर्जा सचिवले प्रारम्भिक हस्ताक्षर सम्पन्न गरेका छन् । औपचारिक प्रक्रियाहरु पु¥याएर निकट भविष्यमा यो सम्झौतामा अन्तिम हस्ताक्षर हुनेछ । बजारको यो सुनिश्चितताबाट जलविद्युत् उत्पादनमा थप लगानी हुने विश्वास लिइएको छ । साथै नेपालमा निर्माणाधीन जलविद्युत्, सडकजस्ता ठूला विकास निर्माण परियोजाका लागि अति आवश्यक विस्फोटक पदार्थको सहज र सरल आपूर्तिका लागि प्रधानमन्त्री मोदीसँग कुरा गरेको छु । पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको शीघ्र कार्यान्वयनका लागि तीन महिनाभित्र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) लाई अन्तिम रूप दिने गरी द्विपक्षीय छलफललाई तीव्रता दिने सहमति भएको छ । वित्तीय प्रबन्ध सहित दुई सरकारले डिपिआर स्वीकृत गरेपछि त्यसको एक वर्षभित्र कार्यान्वयनको ढाँचा टुङ्गो लगाइनेछ । नेपाल तर्फका संरचनाहरूको तयारीको अवस्थाका आधारमा टनकपुर ब्यारेजबाट लिङ्क क्यानलमार्फत चरणबद्ध रुपमा नेपाललाई सिँचाइका लागि पानी उपलब्ध गराउने सहमति भएको छ । नेपाल–भारत सीमावर्ती क्षेत्रमा बाढी र डुबानका समस्याका बारेमा पनि छलफल भएको छ । मनसुन सुरु हुनुअघि नै बाढी र डुबान नियन्त्रण कार्यलाई प्रभावकारी बनाउन आवश्यक कदम चाल्नका लागि विद्यमान द्विपक्षीय संयन्त्रहरूलाई तत्काल सक्रिय बनाउन सम्बन्धित अधिकारीहरूलाई प्रधानमन्त्री मोदीजी र मैले निर्देशन दिएका छौँ । त्यसैगरी, नेपालभित्र थप विद्युत् प्रसारण लाइन निर्माणका लागि एक्जिम बैंक इन्डियाबाट प्राप्त सहुलियतपूर्ण कर्जाको चौथो खण्डको रकम उपयोग गर्ने विषयमा प्रधानमन्त्री मोदीजी सहमत भएका छन् । महाकाली नदीमा सिर्सा पर्शुराम धाम (पूर्णागिरि माई) तथा झुलाघाटमा भारत सरकारको अनुदान सहयोगमा पक्की पूल निर्माण गर्ने सहमति भएको छ । यसबाट आवागमन र व्यापारमा सहजता भई सुदूरपश्चिम प्रदेशका जनता लाभान्वित हुनेछन् । भारत सरकारको अनुदान सहयोगमा रामायण सर्किट अन्तर्गतका परियोजना, जिपी कोइराला इन्स्टिच्युट अफ हेल्थ साइन्सेस र सुदूरपश्चिममा नेपाल इन्स्टिच्युट या टेक्नोलोजी, कैलाली र चितवनमा अन्तरराष्ट्रिय स्तरको क्रिकेट मैदानको निर्माण कार्य अघि बढाउने बारेमा पनि छलफल भएको छ ।

निर्माणाधीन बसपार्कको टर्मिनल भवन २ वर्षदेखि अलपत्र

काठमाडौं । जिल्लाको त्रियुगा नगरपालिकाको गाईघाट बजारस्थित वडा नं १२ मा निर्माणाधीन नयाँ बसपार्कको टर्मिनल भवन दुई वर्षदेखि अलपत्र परेको छ । यहाँ  निर्माणाधीन साढे दुई तले अत्याधुनिक टर्मिनल भवन निर्माण कम्पनीका ठेकेदारले बीचमा काम छाडेपछि दुई वर्षदेखि अलपत्र परेको हो । सप्तरीस्थित सघन सहरी विकास भवन निर्माण कार्यालय राजविराजले हेर्ने गरी विसं २०७६ असारमा निर्माण कम्पनी रमण आइएसएनवी जेभी कन्स्ट्रक्सन प्राली जनकपुरसँग सम्झौता भई निर्माण सुरु गरिएको भवन निर्माण आयोजनाका प्रमुख इञ्जिनियर सचिन्द्र देवले जानकारी दिए । भ्याट करबाहेक १२ करोड ४९ लाख रुपैयाँमा उक्त निर्माण कम्पनीले ठेक्का लिएर काम थालेको चार वर्ष हुन लाग्दा अहिलेसम्म भवन निर्माण अलपत्र रहेको त्रियुगा नगरपालिकाका प्रमुख वसन्तकुमार बस्नेतले बताए । उनका अनुसार विसं २०७८ पुसमा सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । विसं २०७८ पुसमा निर्माण सम्पन्न नभएपछि दुई पटकमा छ÷छ महिना म्याद थप गर्दा पनि निर्माण कम्पनीको लापरवाहीका कारण काम रोकिएको नगरप्रमुख बस्नेतले बताए । ठेकेदारको गैरजिम्मेवारपूर्ण कार्यले निर्माण अलपत्र भएको भन्दै ठेक्का खोसेर कारबाही प्रक्रिया अगाडि बढाउन लागिएको भवन आयोजनाका प्रमुख इञ्जिनियर देवले बताए । उनले निर्माण कम्पनीसँग भएको ठेक्का सम्झौता अन्त्य गरी नयाँ प्रक्रियाबाट काम गर्नुपर्ने अवस्था आएको बताए । उनका अनुसार चार वर्षसम्म ३४ प्रतिशत मात्र भवन निर्माण सम्पन्न भएको छ । नगरप्रमुख बस्नेतका अनुसार साढे दुई तले उक्त भवनमा ३० कोठासहित ट्राफिक कक्ष, यात्रु प्रतीक्षालय, पुरुष र महिलाका लागि छुट्टाछुट्टै कोठा, चमेना गृह, व्यापार केन्द्र (शपिङरुम) र वरिपरि फूलबारीसमेत रहने छ । विसं २०७६ मा सम्झौता भई २०८० सालसम्म आइपुग्दा निर्माण कम्पनीको लापरवाहीका कारण निर्माण सम्पन्न हुने बेलासम्म पनि अधुरै रहेको हिमाली यातायात व्यवसायी सङ्घ उदयपुरका अध्यक्ष परमेश्वर घिमिरेको भनाइ थियो । रासस

मोदीसँग नक्साको बारेमा महत्वपूर्ण छलफल भएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतको संसद्मा प्रस्तुत भएको नक्साका बारेमा आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीसँग गम्भीर छलफल भएको बताएका छन् । राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरुले उठाएकाे प्रश्नको जवाफमा प्रधानमन्त्री प्रचण्डले भने, ‘भारतीय पक्षसँग आफूले नक्साबारे कुरा गर्दा ‘यो सांस्कृतिक नक्सा हो, राजनीतिक नक्सा होइन’ भन्नुभएको छ । यसबारेमा थप अध्ययन गर्नुपर्छ ।’ भ्रमणका क्रममा  सीमा क्षेत्रमा हुने डुबानका बारेमा आवश्यक छलफल र सम्बन्धित अधिकारीलाई निर्देशन दिइएको जानकारी दिँदै उgले आगामी वर्षामा नै समस्या नआउने गरी काम गर्न निर्देश भएको बताP । भ्रमणका क्रममा हवाई मार्गका बारेमा प्रस्ट शब्दमा अन्तर्राष्ट्रिय हवाई मार्गका रुपमा नेपालगञ्ज, महेन्द्रनगर, विराटनगरलगायत क्षेत्रमा प्रयोग गर्न पाउने गरी वातावरण बनाइदिन आग्रह गरेको प्रधानमन्त्री प्रचण्डले उल्लेख गरे । ‘राम्रो भएकालाई राम्रो भन्ने हो, नभएकालाई नभएको र नराम्रो भन्ने हो । लो अल्टिच्युडको जहाज चल्ने वातावरण बनेको छ । केही भएको छैन भनेर नकारात्मक कुरा गर्नु आवश्यक छैन’, उनले भनिन् । कालापानी, लिपुलेकलगायत सीमा समस्या समाधानका लागि भ्रमणका क्रममा स्पष्ट शब्दमा छलफल भएको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘भारतीय प्रधानमन्त्री मोदीले नै नेपाल भारतबीच रहेको सीमा समस्या समाधान गर्ने विषयमा आफैँले संयुक्त पत्रकार सम्मेलनमा प्रस्ट प्रतिबद्धता आएको छ, उहाँले दुई देशबीचको सम्बन्धलाई सुपरहिट बनाउने भारतीय प्रधानमन्त्री मोदीको प्रतिबद्धता छ ।’ आफूले औपचारिकरुपमा कुनै पनि बैठकमा जमिन सट्टापट्टाका बारेमा कुराकानी नगरेको जानकारी दिँदै उनले यस विषयमा विभिन्न खालका मोडलहरु पनि छन् भनेर बुद्धिजीवीहरुले भन्दै आएको मात्रै भनेको बताए । सीमा समस्या समाधानका बारेमा सरकारले नै अध्ययन गर्ने गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले बुद्धिजीवी, विशेषज्ञले नै सट्टापट्टाका बारेमा जानकारी दिने गरेको स्पष्ट पार्नुभयो । उनले भने, ‘सीमा समस्या हल गरिन्छ, हल गर्छौं, दुनियाँका अगाडि उभिएर प्रतिबद्धता जनाउने कुरा आफैँमा महत्वपूर्ण छ, भारतीय प्रधानमन्त्रीले पनि पहिलो पटक समस्या समाधान गर्नुपर्छ, भनेर भारतीय प्रधानमन्त्रीले पनि प्रतिबद्धता जनाउनुभएको छ ।’ मुलुकभित्र उत्पादित बिजुली स्वदेशमा नै खपत गर्ने तथा खपत बढाउने विषयमा सरकारले ध्यान दिएको र सोही अनुसारको नीति अगाडि सारेको उल्लेख गर्दै प्रधानमन्त्रीले तत्काल खपत बढाउन नसकिने भएकाले बिजुली निर्यातको विकल्प नभएको बताए । विकास र समृद्धिका लागि सबै नेपालीको साझा मत हुनुपर्नेमा त्यसो हुन नसकेकामा प्रधानमन्त्रीले गुनासो गरे । इतिहासदेखि थाँती रहेका सबै समस्या समाधानका लागि विश्वासको वातावरण बनाएर अगाडि बढ्नुपर्छ भन्नेमा भ्रमणका समयमा स्पष्टसँग छलफल भएको बताए । सीमा समस्या समाधानका लागि विश्वासको वातावरण बनाउने भन्ने विषयमा स्पष्टसँग कुरा भएको उल्लेख गर्दै प्रधानमन्त्रीले भने, ‘नेपाल समृद्ध हुने वातावरण बन्यो, नेपालमा लगानी बढ्ने वातावरण बन्यो । बलियो राष्ट्रिय एकता प्रदर्शन गर्ने बेला हो यो ।’ टनकपुरमा सिँचाइका लागि पानी आउने वातावरण बनेको र पञ्चेश्वरमा २६ वर्षदेखि हुन नसकेको विषयमा समेत महत्वपूर्ण सहमति भएको प्रधानमन्त्रीको भनाइ छ । भारत भ्रमणमा जाने दिन आफ्नो भ्रमणका बारेमा राष्ट्रपतिलाई जानकारी दिन गएको, नागरिकता विधेयक जारी गर्नुस् भन्न नगएको प्रस्ट पारे । सङ्घीय संसद्ले दुई–दुईपटक पारित गरेको नागरिकता विधेयक जारी गर्न राष्ट्रपतिलाई अनुरोध गरिएको प्रधानमन्त्रीको भनाइ छ । नागरिकता विधेयकको स्थिति र अरू विधेयकको अवस्था फरक हो भनेर बुझ्न नहुने उल्लेख गर्दै प्रधानमन्त्रीले राष्ट्रपतिसँग पुगेको विधेयक शून्य हुन्छ भनेर संविधान वा कानुनमा कल्पनासमेत नगरिएको बताए । संविधान र लोकतन्त्रको रक्षा गर्ने महत्वपूर्ण विषय यसभित्र रहेको स्पष्ट पार्दै प्रधानमन्त्रीले सदनले पठाएको महत्वपूर्ण विधेयक मन लाग्दा प्रमाणित गर्ने, मन नलाग्दा प्रमाणित नगर्ने अवस्था आएकाले सरकारले राष्ट्रपतिलाई अनुरोध गरिएको स्पष्ट पार्नुभयो । नागरिकतासम्बन्धी ऐनका विषय अदालत प्रवेश गरेकाले त्यसलाई निर्णय गर्न छाडिनुपर्ने प्रधानमन्त्रीको भनाइ छ । प्रधानमन्त्री प्रचण्डले भारतीय सरकारी कम्पनी एनएचपिसीसँग फुकोट कर्णाली जलविद्युत् आयोजना निर्माणका सम्बन्धमा सहमति भएको बताए । भ्रमणका क्रममा कृषि क्षेत्रको विकासका लागि धेरै महत्वपूर्ण सहमति भएको, त्यसबाट कृषि उत्पादन बढ्ने र रोजगारी वृद्धि हुने प्रधानमन्त्रीले विश्वास व्यक्त गरे । उखु खेतीको व्यावसायिक विकासका लागि नयाँ प्रजाति आउनु, कफीको नयाँ प्रजाति ल्याउनु महत्वपूर्ण रहेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले नेपालको दुग्ध उत्पादन वृद्धिका लागि मुर्रा प्रजातिको राँगो यति नै बेला आउनु झनै राम्रो भएको बताए । भ्रमण दल ४० को आसपासमा रहेको र जम्बो नभएको स्पष्ट पार्दै प्रधानमन्त्रीले त्यस क्रममा इपिजीका बारेमा पनि छलफल भएको स्पष्ट पारे । नेपाली राष्ट्रिय हितको पक्षमा आफ्नो विवेक वा वर्कतले भ्याएसम्म भ्रमणका क्रममा प्रयास गरेको जानकारी दिँदै त्यसमा कुनै द्विविधा नराख्न आग्रह गरे । भ्रमणका क्रममा कस्ले स्वागत ग¥यो भन्ने विषय उति महत्वपूर्ण नभएको स्पष्ट पार्दै प्रधानमन्त्री प्रचण्डले आफू कुनै अपमानित नभएको बरु सम्मानित भएर आएको बताए । एउटै भ्रमणबाट धेरै विषय भयो त आफूले नभन्ने बरु यसबाट विकास र समृद्धिमुखी भएको उनको भनाइ छ । प्रधानमन्त्री प्रचण्डलाई सांसदहरु अनिता देवकोटा, भगवती न्यौपाने, इन्दिरादेवी गौतम, जितेन्द्रनारायण देव, शारदादेवी भट्ट, भैरवसुन्दर श्रेष्ठ, डा विमला राई पौडेल, दिलकुमार रावल, थापा पार्वती, गोपाल भट्टराई, कुमार दसौदी, सुमित्रा बिसी, जगप्रसाद शर्मा, तुलसाकुमारी दाहाल, इन्दु कडरिया लगायतले प्रश्न गरेका थिए । रासस

१३ बुँदे माग पूरा नभए अझै आन्दोलन गर्छौं : अध्यक्ष कँडेल

काठमाडौं । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले १३ बुँदे माग पूरा नभए अझै आन्दोलन गर्ने बताएका छन् । सहकारी विभाग र नेपाल सहकारी पत्रकार समाजको संयुक्त आयोजनामा भएको सहकारी समस्या र सामाधानका उपाय विषयक अन्तर्क्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् । ब्याजदर स्वचालित बनाउनुपर्ने भन्दै उनले भने,’बैंकको बढ्दा बढ्ने र घट्दा घट्ने वातावरण सिर्जना गर्नु पर्छ ।’ यस्तै, उनले सरकारले अहिले सहकारीमा कर बढाएर २० प्रतिशतसम्म पुर्याएको बताए । ‘२०५७ अगाडी कर लाग्दैनथ्यो, अहिले नपालिकामा १०, उपमहानगरपालिकामा १५ र महानगरमा सहकारीमा २०५ कर लाग्ने व्यवस्था बजेटले गरेको छ,’ उनले भने ।

मुग्लिन–पोखरा सडक : घरटहराको मुआब्जाका लागि रकम अभाव

काठमाडौं । पृथ्वीराजमार्गलाई चार लेनमा विस्तारका लागि तनहुँको पूर्वी खण्डमा घरटहरा हटाउन मुआब्जा वितरणका लागि रकम अभाव भएको छ । मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड) ले यो खण्डमा छ सय ३१ घरटहराका लागि मुआब्जा वितरण गर्नुपर्नेछ । घरटहरा हटाउनका लागि २२ करोड ४५ रुपैयाँ लाख मुआब्जा आवश्यक पर्ने इञ्जिनियर विष्णु पाण्डेले जानकारी दिए । त्यसमध्ये १४ करोड ५० लाख रुपैयाँ भुक्तानी भइसकेको पाण्डेले बताए । उनले भने, ’घरटहरासमेत गरी छ सय ३१ संरचनाका लागि मुआब्जा वितरण गर्न अहिले बजेट सकिएको छ, असार मसान्तसम्म रकम निकासा भएर आएपछि भुक्तानी हुन्छ ।’ पाण्डेका अनुसार हालसम्म चार सय ७२ घरटहरा भत्काइएको छ । त्यसमा ८३ लाभग्राहीले पहिलो किस्ता लगेर संरचना भत्काउन सुरु गरेका छन् । त्यस्तै, पहिलो किस्ताका लागि दुई करोड रुपैयाँ रकम माग गर्दै निवेदन आएको छ । ’निवेदन आए पनि अहिले भुक्तानीका लागि रकम नभएकाले केही समय भुक्तानी दिन सक्ने अवस्था छैन, रकम आउनेबित्तिकै उनीहरुलाई पनि भुक्तानी हुन्छ’, पाण्डेले भने । यो खण्डअन्तर्गत व्यास नगरपालिका, बन्दीपुर गाउँपालिका र आँबुखैरेनी गाउँपालिका पर्दछन् । त्यसमध्ये बन्दीपुरको प्रमुख बजार डुम्रेमा घरटहरा भत्काउन सुरु भइसकेको छ । आँबुखैरेनी र व्यास नगरपालिकाको दमौली बजारमा घरटहरा भत्काउन बाँकी छ । उनले भने, ’डुम्रे बजारका क्षेत्रमा रहेका सडक मापदण्डभित्र पर्ने घरटहरा भत्काउने काम भइरहेको छ, सडक मापदण्डभित्र रहेका सबै संरचना बिस्तारै हटाइन्छ ।’ डुम्रे बजारमा धेरै वर्ष पहिला बनेका अधिकांश घर सडक मापदण्डभित्र बनेका छन् । मुग्लिन–पोखरा सडक विस्तार आयोजनाले दुई खण्डमा सम्झौता गरेर काम गरिरहेको छ । आँबुखैरेनीदेखि जामुनेसम्मको पूर्वी खण्डमा ३० प्रतिशत प्रगति भएको आयोजनाले जनाएको छ । पश्चिम खण्डको प्रगति भने न्यून छ । पूर्वी खण्डअन्तर्गत तनहुँको आँबुखैरेनी खण्डमा सात किलोमिटर कालोपत्रको काम सुरु भइसकेको छ । चालु आर्थिक वर्षभित्रै सात किलोमिटर सडक खण्ड कालोपत्र सम्पन्न गर्ने लक्ष्यका साथ कामलाई अगाडि बढाइएको आयोजना प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिए । पूर्वी खण्डको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । झन्डै ४१ दशमलव ४५ किमी यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछन् । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ वैशाखसम्म रहेको छ । सरकारले मुग्लिन–पोखरा सडक विस्तारका लागि आगामी आर्थिक वर्षमा पाँच अर्ब ४२ करोड रुपैयाँ विनियोजन गरेको छ । विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैङ्क (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का छ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा र पश्चिम खण्डको ठेक्का सात अर्ब ४० करोड ४६ लाख रुपैयाँमा लागेको छ । चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५/२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ । डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौडादेखि खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौडादेखि पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ । सडक क्षेत्रभित्र संरचना बनाउन रोक मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड) ले सडकको मापदण्डभित्र कुनै पनि भवनलगायत निजी संरचना निर्माण गर्न रोक लगाएको छ । योजनाले सडकको केन्द्रविन्दुबाट २५÷२५ मिटर दायाँबायाँ संरचना बनाउन रोक लगाएको हो । सडक मापदण्ड बाहिर संरचना निर्माण गर्नुपर्ने भएमा सडकको केन्द्रविन्दुबाट २५ मिटर सडक मापदण्ड र छ मिटर ‘सेडब्याक’ गरी ३१ मिटर छाडी नियमानुसार नक्सा पास गराई संरचना निर्माण गर्न अनुरोध गरिएको छ । रासस

एमालेमा एक लाख १९ हजार नयाँ सदस्यताको आवेदन

काठमाडौं । नेकपा (एमाले) ले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’ अभियानका अवधिमा एक लाख १९ हजार ९६ नयाँ सदस्यताको आवेदन परेको छ । गत मङ्सिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अपेक्षित नतिजा नआएपछि एमालेले पार्टी सुदृढीकरणका लागि गत फागुन ५ देखि वैशाख ९ गतेसम्म ‘मिसन ग्रासरुट’ सञ्चालन गरेको थियो । पार्टीका माथिल्ला र तल्ला कमिटीका नेता तथा कमिटी परिचालित सो अभियानका क्रममा उक्त सङ्ख्यामा नयाँ सदस्यताको आवेदन परेको हो । उक्त आवेदनलाई अध्ययन गरी पार्टीको केन्द्रीय सङ्गठन विभागले स्वीकृति र नवीकरण भएका सदस्यको अद्यावधिक गर्ने सो पार्टीका जनसङ्गठन समन्वय संयन्त्रका संयोजक एवम् सङ्गठन विभागका सदस्य भानुभक्त ढकालले जानकारी दिए । एमालेले हालैको केन्दीय कमिटी र सचिवालयको निर्णयबमोजिम आउने असार मासन्तभित्र पार्टी सदस्यताको नवीकरण अद्यावधिक गराई भदौमा सबै प्रदेशको अधिवेशन सम्पन्न गर्ने तयारी गरिएको सचिवालयको बैठकपछि अध्यक्ष केपी शर्मा ओलीबाट जारी अन्तरपार्टी निर्देशन–७ मा जनाइएको छ । मिसन ग्रासरुट अभियानको समीक्षा र भावी योजना तर्जुमाका लागि गत वैशाख २८ देखि ३० गतेसम्म एमालेको केन्द्रीय कमिटीको पाँचौँ बैठक भएको थियो । अभियानका क्रममा देखिएका वैचारिक र साङ्गठनिक क्षेत्रका समस्या र चुनौतीलाई सम्बोधन गर्न सो पार्टीले विशेष योजनासहित निर्देशन जारी गरेको छ । साथै मनोनयनबाट थप भएकासहित तीन सय ४९ केन्द्रीय सदस्यको नयाँ कार्यविभाजन गरिएको छ । सो पार्टीका केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले अन्तरपार्टी निर्देशन पार्टीको सम्बन्धित पङ्क्तिमा पुगिसकेको प्रचार विभागको प्रमुखमा स्थायी कमिटीका सदस्य राजेन्द गौतमलाई जिम्मेवारी दिइएसँगै प्रचार कार्यले थप गति लिने बताए । रासस

पहिला बचत फिर्ता गराउँछु, त्यसपछि घरजग्गामा लगानी किन गरिस् भनेर कारवाही गर्छु

काठमाडौं । सहकारी विभागका रजिस्ट्रार नवराज घिमिरेले पहिला बचतकर्ताकाे रकम फिर्ता गराएर घरजग्गामा लगानी गर्ने सहकारीलाई कारवाही गर्ने बताएका छन् । सहकारी विभाग र नेपाल सहकारी पत्रकार समाजको संयुक्त आयोजनामा भएकाे सहकारी समस्या र सामाधानका उपाय विषयक अन्तर्क्रिया कार्यक्रममा उनले यस्ताे बताएका हुन् । २३ हजार बढी सहकारीहरु स्थानिय तहको नियमनमा राखिँदा संघीय सरकारलाई १२५ वटाको मात्रै जिम्मेवारी दिएकाे कारण समस्या भएकाे उनी बताउँछन् । ३० हजार सहकारीहरुले वित्तिय कारोबार गरिरहेका बताउँदै उनले भने, ‘यो कल्पनाभन्दा बाहिरको भयो, ७ खर्ब बराबर बचत छ, सहकारीमा वित्तीय अवस्था कमजोर छ, २०/२२ बैंकको लागि राष्ट्र बैंकसँग प्रयाप्त पूर्वाधार छ, तर सहकारीमा त्यो किसिमको पूर्वाधार छैन ।’ सहकारीको ऐन नियमनमा अभियानको डोमिनेसन धेरै रहेकाे र वित्तीय कारोबार गर्ने सहकारीको अनुगमन विभागले नसक्ने उनकाे भनाइ छ । यस्तै, उनले शिवशिखरले सहकारी नचलाएर ठगीकाे भाँडाे बनाएकाे बताए । लण्डन वा जुनसुकै ठाउँमा भएपनि राज्यले चाहे फरार रहेका सहकारीका संचालकमहरुलाई पक्राउ गर्न सक्ने उनी बताउँछन् । त्यस्तै, मान्छेहरु पैसा चाहिएरभन्दा पनि बचत डुब्ने चिन्ताले सहकारीमा अहिले गइरहेकाे उनकाे धारणा छ । उनले अब सहकारीको डाउनफल सकिएर रिकभरी भइरहेकाे बताए ।

विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले वैदेशिक रोजगारीका लागि कम्बोडिया र दुबई पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोलुखुम्बुको लिखुपिके गाउँपालिका–१ घर भई हाल काठमाडौंमा बस्दै आएका ४६ वर्षीय शेरबहादुर तामाङ र झापाको दमक नगरपालिका–१० घर भई हाल काठमाडौं बस्दै आएकी ४५ वर्षीया मुनादेवी कार्की रहेका छन् । तामाङले खुमबहादुर रानालाई वैदेशिक रोजगारीका लागि कम्बोडिया पठाइदिन्छु भन्दै रु पाँच लाख ठगी गरेको आरोपमा आज नयाँबानेश्वरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । यसैगरी, कार्कीले उमेश श्रेष्ठलाई वैदेशिक रोजगारीका लागि दुबई पठाइदिन्छु भन्दै चार लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले बबरमहलबाट पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । उनका अनुसार पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहचल पठाइएको छ  । रासस