जेठ २५ गतेदेखि एशियन इन्स्योरेन्स मिट गर्दै बीमा प्राधिकरण
काठमाडाैं । नेपाल बीमा प्राधिकरणले जेठ २५ देखि २७ गतेसम्म काठमाडौंमा बीमा सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन ‘एशियन इन्स्योरेन्स मिट २०२३’ आयोजना गर्ने भएको छ । प्राधिकरणले आईएआईएस, एशियन डेभलपमेन्ट बैंक र एटुआईआईको सहयोगमा सम्मेलन आयोजना गर्ने भएको हो । सम्मेलनले बीमा क्षेत्रमा देखा परेका नयाँ नयाँ जोखिमहरूको पहिचान,जोखिम न्यूनीकरणका लागि प्राविधिक क्षमताको विकास र बीमा क्षेत्रको दिगो विकासका लागि आपसी सहयोग एवंम् साझेदारी अभिवृद्धि गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको प्राधिकरणले जनाएको छ । सम्मेलनमा जलवायु परिवर्तन, महामारी लगायतका कारण बीमा क्षेत्रमा देखिएका जोेखिम, जोखिम न्यूनीकरणका अन्तर्राष्ट्रिय अभ्यास, जोखिम न्यूनीकरण सम्बन्धी आपसी अनुभव, जोखिम न्यूनीकरणका लागि क्षमता अभिवृद्धिर बीमा क्षेत्रको भावि गन्तव्य लगायतका विषयमा प्रस्तुतीकरण एवम् छलफल समेत हुने बताइएकाे छ । यसैगरी, विभिन्न देशका बीमा क्षेत्रका नियामक निकायहरूका काम कारवाही, नयाँ नयाँ जोखिमहरूको व्यवस्थापनका लागि बीमा कम्पनीहरूलाई तयारी अवस्थामा राख्न नियामक निकायहरूले निर्वाह गर्दै आएको भूमिका, नियामक निकायहरूबीचको सम्बन्ध सुदृढीकरण, बीमा व्यवसायको स्वच्छ विकासका लागि नियामक निकायहरू बीचको आपसी सहयोग एवंम् साझेदारी अभिवृद्धि, बीमा क्षेत्रलाई सबल, नवीन सोच र जवाफदेही किसिमले अघि बढाउने लगायत विषयमा छलफल हुने प्राधिकरणले जनाएकाे छ । सम्मेलनमा रिक्स बेस सल्भेन्सीको कार्यान्वयन, बीमामा नवीनतम् डिजिटल प्रणाली अवलम्बन, बीमा व्यवसायको विकासका लागि नियामक निकायको क्षमता अभिवृद्धि, बीमा क्षेत्रमा जलवायु परिवर्तनका कारण आउने चुनौतीहरूको न्यूनीकरणका लागि नियामक निकाय, बीमक रपुनर्बीमकहरूको भूमिका, भूकम्प बीमाका सम्बन्धमा एसियाली अनुभव, कृषि बीमाको विकास तथा अभ्यास, जोखिममा आधारित सुपरीवेक्षण सम्बन्धी संरचना, जीवन बीमा व्यवसायका अभ्यास, अवसर र चुनौती लगायतका विषयहरूमा बीमा क्षेत्रका नियामक निकाय, बीमक, पुनर्बीमक र बीमा विज्ञहरूबाट कार्यपत्रहरू प्रस्तुती र कार्यपत्रहरू माथि छलफल एवम् अन्तरक्रिया हुने कार्यक्रम रहेको छ । सम्मेलनको आयोजनाबाट विभिन्न देशका बीमा क्षेत्रका नियामक निकायहरू बीचको सम्बन्धलाई अझ सुदृढ तुल्याउन, नियामकीय काम कार्यवाहीलाई अझ परिष्कृत बनाउन, बीमा क्षेत्रमा नवीनतम् प्रविधिको प्रयोगलाई बढावा दिन, बीमा क्षेत्रका समस्याहरू शीघ्र पहिचान गरी न्यूनकरण गर्न, बीमा क्षेत्रलाई बदलिँदो परिवेश अनुसार नवीन सोचका साथ अगाडि बढाउन र समग्र बीमा क्षेत्रलाई सबल, विश्वसनीय, जवाफदेही र दिगो बनाउन महत्वपूणर् योगदान पुग्ने विश्वास गरिएको प्राधिकरणले जनाएकाे छ । प्राधिकरणकाे अनुसार तीन दिनसम्म हुने सम्मेलनमा पहिलो दिन नेपाल लगायत भारत, बङ्गलादेश, श्रीलङ्का, भुटान, कम्बोडिया, इण्डोनेसिया, माल्दिभ्स, थाइल्याण्ड, चीन (मकाओ), जोर्डन र मलेसिया लगायतका देशका बीमा क्षेत्रका नियामक निकायहरूका पदाधिकारीहरूको सहभागिता रहनेछ । यसैगरी, सम्मेलनको दोस्रो र तेस्रो दिन विभिन्न देशका बीमा क्षेत्रका नियामक निकायका पदाधिकारीहरूका साथै बीमा क्षेत्रसँग सम्बन्धित सरकारी निकायका पदाधिकारी, बीमा कम्पनी, पुनर्बीमा कम्पनी, बीमा सर्भेयर, बीमा अभिकर्ता, बीमाङ्की, बीमा ब्रोकर, बीमा विज्ञ र विभिन्न बीमा सेवा प्रदायक सङ्घ संस्थाका पदाधिकारीहरूको सहित करिब ३५० जनाको सहभागिता रहने प्राधिकरणले जनाएको छ ।
रोगको प्रकोपले म्याग्दीका किसान चिन्तित
गलेश्वर। खडेरीका कारण धानको बीउ राख्न र मकै गोडमेल गर्न नपाएका म्याग्दीका किसानले लगाएको खेती र फलफूलमा रोग र कीराको प्रकोप देखिएपछि चिन्तित बनेका छन् । किसानले लगाएको फलफूलमा औंसा, केरामा खपटे गवाँरो र मकै बालीमा फौजी कीराको प्रकोप देखिएको छ । फूल फुलेर बतिला लाग्न थालेका सुन्तला, बारीभरि फलेका काँक्रा, घिरौँला, गोलभेँडालगायत बालीमा औंसा रोग लाग्न थालेपछि किसानहरु चिन्तित बनेका हुन् । मकैमा फैजी कीरो र केरा खेतीमा खपटे रोगको प्रकोप देखिएको कृषक चन्द्रबहादुर कार्कीले बताए। ‘प्रायः फल पाकेर टिप्ने बेलामा देखिने औंसा कीरोको सङ्क्रमण बतिलामै देखिएपछि किसान उत्पादन घट्नेमा चिन्तित छन्’, उनले भने । कार्कीका अनुसार किसानले लगाएको काँक्रा र पाकेका आरु, आरुपखडामा पनि औंसा कीरोको व्यापक सङ्क्रमण भेटिएको छ । उनले मकैबालीमा अमेरिकन फौजी कीरो र गोलभेँडामा सेतो ढुसीको समस्या देखिएको बताए । कीरो र रोगको सङ्क्रमणलाई प्रकोपका रुपमा फैलिन नदिन किसानलाई सचेत गराइएको कृषि प्राविधिकहरुले बताएका छन् । कृषि ज्ञान केन्द्र म्याग्दीले सिफारिस गरेका मकैको जातका आधारमा सोही अनुसारको उपचार विधि र विषादी उपलब्ध गराइएको ज्ञान केन्द्रले जनाएको छ । गोलभेँडामा लागेको ढुसी र डढुवाका कारण व्यावसायिक किसान मर्कामा परेको बाबियाचौरका हरिकृष्ण पौडलले बताए । ‘जिल्लामा किसानले लगाएको मकै बालीमा फौजी कीरोले क्षति पुर्याएको छ’, उनले भने । जिल्लाको ज्यामरुककोट, बाबियाचौर, अर्मन, रत्नेचौरलगायत क्षेत्रका किसानले लगाएको मकै बालीमा फौजी कीरोको प्रकोप बढेको हो । घोगा हाल्न लागेका मकैका बोटमा फौजी कीरोको आक्रमण बढे्काले बोट नै सक्न थालेको मङ्गलाका किसान टेकबहादुर विकले बताए । उनका अनुसार विषादीले समेत फौजी कीरोको आक्रमण रोकिन सकेको छैन । बगरफाँट, खबरा, भकिम्ली, बाबियाचौरलगायत स्थानका किसानले लगाएका सयौँ रोपनीको मकै बालीमा फौजी कीराको प्रकोप बढेको कृषि प्राविधिकले बताएका छन् । मङ्गला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले रोग र कीरोको प्रकोपबाट यस क्षेत्रका किसानले हैरानी ब्यहोर्न परेको बताए। फौजी कीरोको प्रकोप नियन्त्रण गर्न किसानलाई प्राविधिक सेवा र विषादी निःशुल्क उपलब्ध गराउँदै आएको उनले बताए । ज्यामरुककोट क्षेत्रमा भने मकैका बोट उम्रन थालेदेखि नै फौजी कीरोको आक्रमण बढेर बोट जोगाउनै मुस्किल परेको किसानको भनाइ छ । प्रायः सुक्खा मौसममा देखिने फौजी कीरा पछिल्लो समय वर्षा भइरहँदा पनि बढेको कृषि प्राविधिक बानियाँले बताए । ‘फौजी कीरोले मकैको पातमा लाम्चा आकारका झिल्लीमात्र छाडेर मकैको पातलाई कोतरेर खानाका साथै मकैको घोगा, पात, जुँगा र गुभोमा पनि क्षति पुर्याउने गर्छ’, उनले भने । यसैगरी, जिल्लामा गरिएको व्यावसायिक केरा र आलु खेतीमा रोगको प्रकोप देखिएपछि किसानहरु चिन्तित बनेका छन् । केरामा खपटे घुन र गवाँरो रोगको प्रकोपका कारण बोट र पात सुक्ने, कोसा पोटिलो नहुने रोग देखिएको छ भने आलुमा ढडुवा रोगका कारण बोटहरु सुक्न थालेका छन् । बेनीनगरपालिका–२ बगरफाँट, खबराका साथै मङ्गला र रघुगङ्गा गाउँपालिकाका विभिन्न क्षेत्रमा गरिएको व्यावसायिक केरा खेतीमा रोगको प्रकोप देखिनुका साथै औषधि प्रयोग गर्दा पनि रोग कम नभई रातो कमिला देखिन थालेकोे बगरफाँटका कृषक खिमबहादुर कार्कीले बताए । बगरफाँटका कृषक बेदप्रसाद शर्माले खपटे घुनले पसाएको केरामा दाग देखिने, केराको बोट सुक्दै जाने, बोट ढल्ने र उत्पादन पनि घट्दै गएपछि पेसा सङ्कटमा परेको बताए । ‘यहाँको सिङ्गो गाउँका कृषक केरा खेतीमा संलग्न छन् । सुरुआतमा सामान्य देखिए पनि केही समयपछि भने खेतीमा ठूलो क्षति पुर्याएको छ’, उनले भने । करिब १० रोपनी धान फल्ने खेतमा केरा खेती गरेका दुर्गाबहादुर थापाले रोगको प्रकोपका कारण यस वर्ष केराको उत्पादन घटेको बताए । हजारी जातको केरा खेतीबाट वार्षिक रू तीन लाख आम्दानी हुँदै आएकामा रोगको प्रकोपले यस वर्ष उत्पादन र आम्दानी घटेको उनले बताए । ‘झ्याङ भएको केरामा कीरो र रोग लागेपछि सुरुमा पात सुक्दै जान्छ । त्यसपछि गुबो मर्छ र विस्तारै बोट मर्दै जान्छ’, कृषक थापाले भने । उपचारका लागि बोट वरिपरि काँटछाँट, सफाइ गर्ने र कृषि प्राविधिकको सिफारिसमा कीटनाशक औषधि छर्कंदै आएको उनको भनाइ थियो । रोकथाम र उपचारमा समन्वय गर्न नसक्दा क्षति पुगेको व्यावसायिक केरा खेती गर्दै आएका खबराका अर्का कृषक शोभित शर्माले बताए । ‘लगानी पनि उठ्न गाह्रो हुने देखियो, पसाउन सुरु गरेको केराको पात सुकेर बोट मर्न थालेको छ,’ उनले भने । धान फल्ने खेतमा केरा खेती गरेका यहाँका किसानहरु धमाधम केराका बोट मर्ने र पसाएका केराका कोसा पनि पोटिला हुन नसकेपछि मारमा परेका छन् । उनीहरुले स्थानीय सरकारसँग सहुलियत र सहयोगको मागसमेत गरेका छन् । रासस
दक्षिण एसियाली योग खेलकुद प्रतियोगिता भोलिदेखि सुरु
काठमाडौं । नेपाल योग खेलकुद सङ्घको आयोजनामा तेस्रो दक्षिण एसियाली योग खेलकुद प्रतियोगिता र माउन्ट एभरेष्ट योग फेस्टिभल च्याम्पियनशिप हुने भएको छ । यही जेठ २५ देखि २७ गतेसम्म आयोजना हुने दक्षिण एसियाली योग खेलकुद प्रतियोगितामा नेपालसहित भारत, भूटान, बङ्गलादेश, अफगानिस्तान, श्रीलङ्का र माल्दिभ्स गरी सात राष्ट्रका खेलाडीले सहभागिता जनाउने आयोजक सङ्घका केन्द्रीय सचिव डा आनन्द गैरेले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । उनको अनुसार उक्त प्रतियोगिता नेपाल भारत मैत्री धर्मशाला तिलगङ्गामा हुनेछ । यस स्पर्धामा नेपालबाट महिला र पुरुष गरी ३६ खेलाडीको सहभागिता रहनेछ । प्रतियोगितामा विभिन्न उमेर समूहमा प्रतिस्पर्धा हुनेछ । जसअनुसार ८ देखि ११ वर्ष, १२ देखि १५ वर्ष, १६ देखि १८ वर्ष, १९ देखि २५ वर्ष, २६ देखि ३५ वर्ष र ३५ वर्षदेखि माथिका उमेर समूहमा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । यसैगरी, माउन्ट एभरेष्ट योग फेस्टिभल पनि यही जेठ २६ र २७ गते हुनेछ । यस प्रतियोगितामा सार्क राष्ट्रसहित इरान र साउदी अरेबियाका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । यस प्रतियोगितामा करिब तीन सय खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजकको भनाइ छ । नेपालबाट महिला र पुरुष गरी ४२ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । विसं २०७३ मा राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा दर्ता भएको उक्त सङ्घले २०७४ सालमा प्रथम दक्षिण एसियाली खेलकुद र २०७६ सालमा दोस्रो दक्षिण एसियाली योग खेलकुद प्रतियोगिता सञ्चालन गरेको थियो ।
सहकारी क्षेत्रमा देखिएको समस्या छिट्टै समाधान हुन्छ : सचिव रेग्मी
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा दामोदर रेग्मीले सहकारी क्षेत्रमा देखिएका समस्या छिट्टै समाधान भई सहकारी अभियानले पुनः जीवन पाउनेमा विश्वास व्यक्त गरेका छन् । सहकारी विभाग र नेपाल सहकारी पत्रकार समाजले यहाँ आयोजना गरेको ‘सहकारी समस्या र सामाधानका उपाय’ विषयक अन्तरक्रियामा सचिव रेग्मीले यसका लागि साझा प्रतिबद्धता आवश्यक रहेको बताए । ‘सहकारी सञ्चालकमा स्वनियमको अभाव देखिएको छ, बचतकर्ताको पैसा लिएर भाग्ने घटना आइरहेका छन्’, उनले भने । उनले समग्र सहकारीमा समस्या नभए पनि केही सहकारी संस्थामा मात्र समस्या देखिएको भन्दै उनले सहकारी संस्थामा अनुशासन सुदृढीकरण पहिलो आवश्यकता भएको धारणा राखे । सचिव रेग्मीले सहकारी क्षेत्रको सुधारका लागि आन्तरिक सुशासनमा जोड दिँदै कमीकमजोरी हटाउन सुझाव दिए । उनले सहकारी क्षेत्रका लागि पूरक कानुन निर्माणका लागिसमेत मन्त्रालयले पहल गर्ने बताए । सहकारी विभागका रजिस्ट्रार नवराज घिमिरेले पनि सहकारी क्षेत्रमा छिट्टै सुधार हुनेमा विश्वास व्यक्त गरे । ‘अब सहकारी रिकभरीको बाटोमा जान्छ, डाउनफल सकियो’, उनले बचतकर्ताको रकम नियमविपरीत घरजग्गामा लगानी गर्ने सहकारीलाई कारबाही गर्ने बताए । विभागको जिम्मेवारीमा सीमित सहकारी संस्थामात्र भएकाले नियमनमा समस्या भएको उनको भनाइ छ । पूर्वसचिव गोपी मैनालीले सहकारी संस्थाको नियमन हुन नसकेको बताए । उनले नियमन नभएको र सङ्क्रमणको फाइदा लिने सहकारीका कारण समस्या बढेको धारणा राखे । विशेषगरी सहर केन्द्रित सहकारी र त्यसमा पनि राजनीतिक पहुँच भएका प्रभुत्वशाली सञ्चालक तथा वित्तीय कारोबार सहरकारीमा बढी समस्या देखिएको भनाइ राखे । राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष मीनराज कँडेलले सञ्चालनमा २५ हजारभन्दा बढी सहकारी भए पनि करिब पाँच सय वटा सहकारीमा मात्रै समस्या देखिएको बताए । उनले सहकारीसम्बन्धी ऐनको प्रभावकारी कार्यान्वयन नहुँदा समस्या देखिएको भन्दै पूर्ण कार्यान्वयन हुनु आवश्यक रहेको बताए । उनले सहकारीको ब्याजदर स्वचालित बनाउनुपर्ने समेत माग गरे । सरकारले सहकारीमा कर बढाएर २० प्रतिशतसम्म पु¥याएको समेत बताए ।
९३ वर्षे वृद्ध स्नान गर्न गोसाइँकुण्डमा
काठमाडौं । गोसाइँकुण्ड यात्राका लागि हेलिकोप्टर कम्पनीले उडान भर्न थालेपछि तिर्थालुलाई त्यहाँ पुग्न सहज भएको छ । अहिले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हेलिकोप्टरमार्फत पवित्र तीर्थस्थल गोसाइँकुण्ड सहजै पुग्न सकिन्छ । हेलिकोप्टरको सुविधाकै कारण धादिङ नलाङ घर भई हाल काठमाडौं सीतापाइला बस्दै आएका शिवराज अर्याल ९३ वर्षको उमेरमा पहिलो पटक गोसाइँकुण्ड पुग्न पाएका छन् । हेलिकोप्टरमार्फत आज विहान गोसाइँकुण्ड पुगेका उनले स्नान एवं पूजाआरधना गरे । वृद्ध अवस्थामा हिँडेर जानसक्ने अवस्था नहुँदा उनी चार्टर्ड हेलिकोप्टरमार्फत छोरा निमनाथ, बुहारी अम्बिका, नाति सुदीप र छोरी सरस्वती सापकोटासहित गोसाइँकुण्ड पुगेका हुन् । काठमाडौँबाट १४ हजार एक सय फिटको उचाइ हुँदै २५ मिनेटमा हेलिकोप्टरमार्फत अर्याल गोसाइँकुण्ड पुग्दा उनलाई लेकलाग्ने जस्ता कुनै समस्या नभएको वरिष्ठ क्याप्टेन आनन्द थापाले बताए । वयोवृद्व तीर्थयात्रु अर्यालले गोसाइँकुण्डमा स्नान र पूजाआजा गरेकोमा खुसी व्यक्त गर्दै सकेसम्म तीन पटक र सम्भव नभए कम्तीमा एक पटक गोसाइँकुण्ड पुग्न अरुलाई सुझाव समेत दिए । रासस
‘सहकारीमा डाउनफल सकियो, रिकभरी हुँदैछ’
काठमाडौं । सहकारी संस्थाहरुको नियामक सहकारी विभागले सहकारीको समस्या विस्तारै सुधार हुँदै गएको बताएको छ । केही समययता सहकारीमा देखिएको विभिन्न समस्याहरु विस्तारै समाधानतर्फ गइरहेको उनीहरुले बताएका हुन् । सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरेले अब सहकारीको डाउनफल सकिएको बताएका छन् । सहकारी विभाग र नेपाल सहकारी पत्रकार समाजको संयुक्त आयोजनामा बुधबार भएको सहकारीको समस्या र समाधानका उपाय विषयक अन्तक्र्रिया कार्यक्रममा सहकारीका समस्याहरु समाधानको बाटोमा रहेको बताएका हुन् । ‘अहिलेको सकस कारोनाले छिटो आएको हो, कोरोना नआएको भएपनि सहकारीमा यो किसिमको संकट आउने नै थियो, अब विस्तारै रिकभरीको बाटोमा छ, सहकारीमा डाउनफल सकियो,’ उनले भने । यस्तै, उनले कतिपय नीतिगत कारणले पनि सहकारीमा समस्या आएको बताए । उनका अनुसार देशभर ३० हजार बढी सहकारीले ७ खर्ब बराबरको वित्तीय कारोबार गरिरहेकोले ती सहकारीलाई नियमन गर्नका लागि सरकारसँगै त्यो किसिमको पूर्वाधार तथा जनशक्ति नभएको बताए । ‘३० हजार सहकारीमध्ये २३ हजार बढी सहकारीहरु स्थानीय तहको नियमनमा राखिएका छन्, विगतमा विभागको दायरामा रहेका सहकारीहरु अहिले स्थानीय तह र प्रदेश अन्तर्गत छन्, संघीय सरकारलाई १२५ वटाको मात्रै जिम्मेवारी दिइएको छ, जिम्मेवारी मात्रै दिइने तर त्यसको प्रभावकारी नियमन नगर्दा पनि अहिलेको समस्या देखिएको हो,’ उनले भने । यस्तै, उनले वित्तीय कारोबार गर्ने सहकारीको अनुगमन विभागले गर्न नसक्ने पनि जानकारी दिए । उनले सहकारीका सदस्यले एकभन्दा बढी सहकारीमा कारोबार गर्दा पनि समस्या सिर्जना भएको बताए । केही सहकारीहरुले सहकारीको मूल्य मान्यताभन्दा पनि ठग्ने मानसिकताका साथ काम गर्दा समस्या भएको बताए । उनका अनुसार अहिले सहकारीका बचतकर्ताले आवश्यक भएको भनेर बचात फिर्ता लिने भन्दा पनि सहकारी डुब्ने होकि भनेर चिन्ताको कारण धमाधम पैसा फिर्ता लिइरहेको बताए । उनले गलत गर्ने सञ्चालकहरु जहाँ भागेपनि कारवाहीको कठघरामा ल्याइने प्रतिवद्धता गरे । उनले गलत गर्ने सहकारीलाई बचतकर्ताको पैसा फिर्ता गर्न लगाएर घरजग्गामा लगानी गरेको भन्दै कारवाही गर्ने पनि चेतावनी दिए । यस्तै, भूमी व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले अहिले सहकारीका समस्या विस्तारै समाधान हुँदै गएको बताए । उनले पनि सरकारले राम्रो गर्ने सहकारीलाई प्रोत्साहन गर्ने र गलत गर्नेलाई कारवाहीको दायरामा ल्याउने बताए । ‘हामीले सहकारीको समस्या समाधानका लागि काम गरिरहेका छौं, अहिले सहकारी सुधार कार्यदल पनि बनेको छ, केही सहकारीहरु सुधारको बाटोमा पनि छन्, गलत गर्नेलाई कारवाही गर्छौं, राम्रो काम गर्नेलाई प्रोत्साहन पनि गर्छौं,’ उनले भने । उनले सहकारीमा आन्तरिक सुशासन नहुँदा समस्या भएकाे धारणा राखे । यस्तै, कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले पनि सहकारीमा देखिएका समस्या समाधानका लागि महासंघले भूमिका खेलिरहेको बताए । उनले गलत काम गर्ने सहकारी कारबाहीको भागिदार हुनु पर्ने र राम्रो काम गर्ने सहकारीलाई पनि प्रोत्साहन गर्नु पर्ने धारणा राखे । उनले सहकारीको ब्याजदर पनि स्वचालित बनाउनु पर्ने बताए । ‘स्वचालित तरिकाले सहकारीको ब्याजदर निर्धारण गर्नुपर्छ, बैंकको ब्याज घटेमा घट्ने र बढेमा बढ्ने वातावरणको सिर्जना सहकारीमा पनि गर्नु पर्छ,’ उनले भने । उनले महासंघले राखेका १३ बुँदे माग सम्बोधन नभए अझै पनि आन्दोलन गर्ने चेतावनी दिए । महासंले विभिन्न माग राखेर आन्दोलन गरिरहेको बेला बजेट मार्फत् आयकर बढाउँदा थप समस्या सिर्जना भएको उनको भनाइ छ । सरकारले बजेटमार्फत् नगरपालिकामा सञ्चालित सहकारीमा १० प्रतिशत, उपमहानगरपालिकामा सञ्चालित सहकारीमा १५ प्रतिशत र महानगरमा सञ्चालित सहकारीबाट २० प्रतिशत कर लिने व्यवस्था गरेको छ । यस्तै, नेपाल बचत तथा ऋण सहकारी संघ (नेफ्स्कुन)का वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले केही सीमित सहकारीले गलत गर्दा सबै सहकारीहरु बदनामी हुनु परेको बताए ।
सिटिजन्स बैंकले ऋणपत्र जारी गर्ने, विक्री प्रबन्धकमा हिमालयन क्यापिटल
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले ऋणपत्र जारी गर्ने भएको छ । बैंकले ऋणपत्र निष्काशन गर्नका लागि विक्री प्रबन्धकमा हिमालयन क्यापिटललाई नियुक्त गरेको छ । उक्त सम्झौता बुधबार बैंक र क्यापिटलबीच भएको हो । सम्झौतामा सिटिजन्स बैकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल तथा हिमालयन क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्तले हस्ताक्षर गरेका छन् । उच्चतम प्रतिफल सहितको यस ऋणपत्रबाट दिर्घकालिन लगानी कर्ताहरु लाभांन्वित हुने विश्वास लिएको बैंकले जनाएको छ । बैंकले १० वर्ष अवधि भएको ‘१० प्रतिशत सिटिजन्स बैंक ऋणपत्र २०८०’ जारी गर्न लागेको हो । बैंकले एक हजार रुपैयाँ अंकित दरमा तीन अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋण पत्र जारी गर्न लागेको हो । उक्त ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धकका लागी हिमालयन क्यापिटललाई नियुक्त गरेको छ ।
‘आइएमई पे’बाट आइएमई लाइफकाे प्रिमियम भुक्तानी गर्दा एक हजारसम्म क्यासब्याक
काठमाडौं । ‘आइएमई पे’ बाट आइएमई लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तान गर्दा सेवाग्रहीहरुले क्यासब्याक पाउने भएका छन् । प्रिमियम भुक्तानी गर्दा ग्राहकले आफ्नो प्रिमियम रकमको ०.५५ प्रतिशत वा एक हजार रुपैयाँसम्मको क्यासब्याक पाउनेछन् । साउन ३१ गतेसम्म लागु हुने उक्त अफर अन्तर्गत ग्राहकले आफ्नो पोलिसी नम्बरको प्रयोग गरी आइएमई लाइफ इन्स्योरेन्सको प्रिमियम घरै बसी बसी सजिलै तिर्न सक्नेछन् ।