विकासन्युज

धितोपत्र बोर्डले पूँजी बजारसँग सम्बन्धित शैक्षिक संस्था सञ्चालन गर्ने

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले पूँजी बजारको विकास र विस्तारका लागि क्यापिटल मार्केट ईन्स्टिच्युट सञ्चालन गर्ने तयारी रहेको बताएका छन् । बिहीबार धितोपत्र बोर्डको ३१औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै अध्यक्ष हमालले वित्तीय साक्षरता प्रदान गर्नका लागि शैक्षिक संस्था सञ्चालन गर्ने बताएका हुन् । ‘कर्मचारीको क्षमता वृद्धि विकास गर्न जरुरी छ, आगामी वर्ष पनि कर्मचारीको सेवा सुविधा अझै वृद्धि गर्नु पर्नेछ, वित्तीय साक्षरता बढाउन क्यापिटल मार्केट ईन्स्टिच्युट संचालन गर्ने तयारी छ, अर्थमन्त्रीज्यूले यसमा सहयोग गर्नु हुन्छ भन्ने अपेक्षा गरेको छुँ,’ उनले भने, ‘धितोपत्र बोर्डलाई पेपर लेस बनाउन डिजिटल प्रणालीलाई जोड दिइएको छ ।’ लगानीकर्ताको विश्वास कायम गर्न नियामक निकायलाई बलियो संस्थाका रुपमा उभ्याउने उनले बताए । अध्यक्ष हमालले अबको दुई महिनाभित्र ९३ वटा ब्रोकर कम्पनी सञ्चालनमा आउने बताए । ‘बैंकका सहायक कम्पनीसहित १८ वटा नयाँ ब्रोकर कम्पनीले लाइसेन्स पाएका छन्, अहिले ६८ वटा ब्रोकर संख्या पुगेको छ, अबको २ वर्ष भित्र ९३ वटा ब्रोकर कम्पनी सञ्चालनमा आउनेछन्,’ उनले भने । एक वर्षको अवधिमा उल्लेख्य काम गरेको भएपनि सोचेअनुरुप हुन नसकेको उनले बताए । साथै, डेढ लाखभन्दा बढी वैदेशिक रोजगारमा रहेका नेपाली पूँजी बजारमा आवद्ध भएको उनको भनाइ छ । वैदेशिक रोजगारमा रहेका नेपालीलाई आईपीओमा आरक्षण दिएपछि डेढ लाखभन्दा बढी आवद्ध भएका छन्, वैदेशिक रोजगारमा रहेका नेपालीहरु पनि पूँजी बजारमा आवद्ध हुने क्रम जारी छ, रेमिट्यान्स पनि उल्लेख्य बढेको छ,’ उनले भने । प्राइभेट इक्वीटी र भेन्चर क्यापिटललाई छिट्टै कार्यान्वनमा आउने उनको भनाइ छ । जसले स्टार्टअपले बिना धितो कर्जा पाउने प्ल्याटफर्मको सुरुवात हुने उनले बताए ।

सिभिल लघुवित्तले सदस्यको ऋण मिनाहा गर्दै गर्यो बीमा दाबी रकम भुक्तानी

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाकाे पर्सास्थित विरुवागुठी शाखा कार्यलयले बीमा दावी रकम भुक्तानी गरेको छ । लघुवित्तले पर्सा जिल्ला विरगंज महानगरपालिका वडा नं. २९ मुसैली टोलमा रहेकी सदस्य सवरिया देवीको श्रीमान रधुनाथ महतो धानुकको मृत्यू पश्चात बीमाको क्षतिपुर्ति रकम उपलब्ध गराएकाे हाे । लघुवित्तले सदस्य देवीले लिएकाे २ लाख ५५ हजार रुपैयाँ कर्जा नियमानुसार साँवा र ब्याज मिनाहा गरी २५ हजार काजक्रिया खर्च, एक लाख ६० हजार रुपैयाँ किस्ता फिर्ता गरी जम्मा एक लाख ८५ हजार रुपैयाँ प्रदान गरेकाे छ । संस्थाले आफना ग्राहक सदस्यहरुको हित तथा संरक्षण गर्न र ग्राहक सदस्यहरुलाई आपतकालिन अवस्थामा सहयोग पुर्याउने उदेश्य अनुरुप आवश्यकता अनुसार विभिन्न कार्यक्रम तथा सहयोग रकम प्रदान गर्दै आइरहेको छ ।

कनकाईका २८ परिवारलाई जग्गाधनी पुर्जा वितरण

सुरुङ्गा । झापाको कनकाई नगरपालिकाका २८ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको छ । नगरमा बसोबास गर्ने भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण गरिएको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीले धनीपुर्जा वितरण गरेका हुन् । मन्त्री चौधरीले कनकाई–५ का दलित भूमिहीन वरदान मण्डल र रेतिया मण्डललाई जग्गाधनीपूर्जा प्रदान गरेर सो कार्यको सुरुआत गरे । कनकाई–५ का २२ र कनकाई–८ का छ भूमिहीनदलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई पुर्जा वितरण गरिएको नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिए । कार्यक्रममा राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौला, राष्ट्रिय भूमि आयोगका उपाध्यक्ष महेन्द्र खड्का, राष्ट्रिय भूमि आयोगका जिल्ला अध्यक्ष तिलकसिंह पाण्डे, प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, कनकाई नगरपालिका प्रमुख पोखरेलल, उपप्रमुख आशा शर्मा शिवाकोटीलगायतले आ–आफ्नो धारणा राखेको थियो । रासस

एकैदिन तोलामा १ हजारले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । आज नेपाली बजारमा एकैदिन तोलामा १ हजारले सुनको मूल्य घटेको हो । नेपाली सुनचाँदी व्यवसायीका अनुसार आज घटेको मूल्य अनुसार छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । साथै, नेपाली बजारमा चाँदीको भाउ ५ रुपैयाँले घटेर तोलामा १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति साहको निधन

महेन्द्रनगर । मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साहको निधन भएको छ । करिब एक सातादेखि भारतको नयाँ दिल्लीमा उपचाररत ६९ वर्षीय डा साहको आज बिहान निधन भएको उहाँको पारिवारिक स्रोतले जानकारी दिएको छ । उपकुलपति साह दुई महिनादेखि फोक्सोको क्यान्सरबाट पीडित थिए । उपकुलपति साहको काठमाडौँमा उपचार सम्भव नभएपछि भारतको नयाँ दिल्ली लगिएको थियो । उनी नशा तथा हाडजोर्नी रोग विशेषज्ञ समेत थिए । डा. साहलाई मधेस प्रदेशले २०७७ माघ १८ गते प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गरेको थियो ।

स्याङ्जाको विद्यार्थीमा ठेउला देखिएपछि विद्यालय बन्द

स्याङ्जा । स्याङ्जाको वालिङ–१२ कोखेस्थित सिर्सेकोट जनहित आधारभूत विद्यालयका बालबालिकामा ठेउलाको सङ्क्रमण देखिएको छ । सुरुका दिनमा केही बालबालिकामा देखिएको सङ्क्रमण फैलँदै जाँदा २३ जना तथा घरका अन्य सदस्यलाई पनि सर्न थालेपछि आउँदो शुक्रबारसम्म विद्यालय बन्द गरिएको छ । बालबालिकाको शरीरमा एकै प्रकारका पानीका फोका आउने, चिलाउने, दुख्ने, ज्वरो आउनेजस्ता लक्षण देखिएको छ । विश्व स्वास्थ्य सङ्गठन, गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालय, स्वास्थ्य कार्यालय स्याङ्जा र गह्रौँ प्राथमिक अस्पताल वालिङबाट चिकित्सकको टोली पुगेर औषधि उपचार गरेको वालिङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले बताए । पहिलो पटक परीक्षण गर्दा २३ जनामा देखिएको सङ्क्रमण दर बढ्दै गएपछि गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधि कोखे पुगेर नमूना सङ्कलन गरेका हुन् । ‘ठेउला देखिएको ठाउँमा पुगेर स्वास्थ्यकर्मीको टोलीले घाँटीको स्वाब, छालाको नमूना तथा रगतको नमूना सङ्कलन गरी परीक्षण गर्न काठमाडौँ पठाएको छ’, उनले भने, ‘लक्षणअनुसार ठेउला भएको प्रारम्भिक परीक्षण हेर्दा सङ्ख्या धेरै भएकाले नमूना परीक्षण गर्न काठमाडौं पठाएका छौँ ।’ ठेउला रोगको रोकथाम तथा नियन्त्रण गर्न हावाबाट बच्न र सामाजिक दूरी कायम राख्नसमेत अनुरोध गरिएको शाखा प्रमुख पाण्डेले बताए । दोस्रो पटक जाँच गर्दा थप दश जना बालबालिका तथा समुदायस्तरसम्म सङ्क्रमण फैलिएकाले रोकथाम तथा न्यूनीकरणका लागि स्थानीयलाई सचेत गराइएको उनले बताए । ठेउला भाइरसबाट सर्ने सङ्क्रामक रोग हो । विशेष गरी १५ वर्ष उमेर समूहमुनिका बालबालिकामा यो रोग बढी देखिने गर्छ । यसले दीर्घरोगी तथा गर्भवती महिलालाई बढी असर गर्नसक्ने भएकाले समुदायस्तरमा फैलिन नदिन विशेष सावधानी अपनाइएको स्वास्थ्य कार्यालय स्याङ्जाकी प्रमुख वसुन्धरा शर्माले बताए । ‘सङ्क्रमण फैलिन नदिन सङ्क्रमित बिरामीको सम्पर्कमा नआउने, एउटै लुगा प्रयोग नगर्ने, सरसफाइमा ध्यान दिनुपर्छ’, उनले भने, ‘एकदेखि दुई हप्तासम्म यसको लक्षण देखिन्छ, एकपटक भएपछि दोस्रो पटक हुँदैन ।’ जेठ १४ गतेदेखि सुरु भएको ठेउलाको सङ्क्रमण अहिले सिर्सेकोट जनहित विद्यालय तथा समुदायस्तरमा फैलिएको छ ।

५ दिन तातो हावा यथावत्, सचेत रहन महाशाखाको अनुरोध

काठमाडौं । देशका तराईका भू–भागमा आगामी केही दिनसम्म तातो हावा तथा लू लाग्न सक्ने सम्भावना रहेकाले यसबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । तातो दिन तथा लूसम्बन्धी विशेष बुलेटिन निकालेर महाशाखाले तराईका धेरैजसो क्षेत्रमा अधिकतम र न्यूनतम तापक्रम बढेकाले अबका पाँच दिनसम्म आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको हो । ‘हालको तल्लो र उपलल्लो वायुमण्डलको अध्ययन र विश्लेषअनुसार नेपालमा यस वर्षको मनसुनको आगमन हुन अझै केही दिन लाग्ने देखिन्छ । तसर्थ, देशका तराई भू–भागमा आगामी पाँच दिनसम्म तातो हावा तथा लूको सम्भावन यथावत् रहने देखिएकोले सोबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध छ’, बुलेटिनमा उल्लेख छ । साथै पहाडी भू–भागका उपत्यका तथा खोचमा समेत तापक्रम क्रमिकरुपमा बढ्न सक्ने सम्भावना रहेकाले महाशाखाबाट जारी सूचना तथा पूर्वानुमानमा अद्ययावधिक रहन पनि अनुरोध गरिएको छ । महाशाखाका मौसमविद् गोविन्दकुमार झाले अबका तीन दिनसम्म लू चल्ने सम्भावना रहेको बताए । ‘विगत दुई दिनदेखि तराईका अधिकांश भू–भागमा लू चलिरहेको छ । समग्रमा तराईको मध्य क्षेत्र सप्तरीदेखि भैरहवा क्षेत्रमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस नाघेर तातो हावा तथा लू चलेको छ । नेपालगञ्जलगायत क्षेत्रमा अधिकतम तापक्रम ४० डिग्री हाराहारी छ जसले गर्मी बढेको छ’, उनले भने । लगातार पाँच दिनसम्म सामान्यभन्दा ४० डिग्रीभन्दा माथि तापक्रम बढेमा लू चलेको मानिन्छ । वर्षा नहुँदा सुक्खापन चलेकाले तापक्रम बढेर लू चलेको मौसमविद् झाको भनाइ छ । साथै पहाडी भू–भागका उपत्यका तथा खोचमा समेत तापक्रम क्रमिकरुपमा बढ्न सक्ने सम्भावना रहेकाले महाशाखाद्वारा जारी सूचना तथा पूर्वानुमानमा अध्यावधिक रहन पनि महाशाखाले अनुरोध गरेको छ । महाशाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक प्रभाव छ । देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहेको छ । दिउँसो कोशी प्रदेशलगायत गण्डकी तथा कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन-चट्याङगसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ । विगत दुई सातादेखि देशका अधिकांश भू–भागको अधिकतम तथा न्यूनतम तापक्रम वृद्धि भइरहेको महाशाखाले जनाएको छ । पाँच दिन तातो हावा यथावत् उपत्यकालगायत देशका अन्य उपत्यकामा समेत तापक्रममा क्रमिक वृद्धि भइरहेको छ । तराई भू–भागमा, मुख्यतया मध्य तराई र आसपासमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन भएको छ । तातो हावा तथा लूबाट हुने सम्भावित असरजस्तैः थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, माँसपेशी दुख्ने, बान्ता आदि हुनसक्ने देखिएकाले सोबाट बच्न आग्रह गरिएको छ । तातो हावा तथा लूबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने (घाममा हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा दाउको छोप्ने, टोपी लगाउने, नियमित पानी तथा झोल पदार्थ जुस सर्वत आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या आएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही सल्लाह सुझाव लिन पनि महाशाखाले सुझाएको छ । आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १७ दशमलव ५ डिग्री र अधिकतम तापक्रम ३२ डिग्री सेल्सियस रहेको छ ।

असार १ गतेदेखि भदौ मसान्तसम्म सडकमा खन्ने काम गर्न नपाइने

फाइल तस्बिर काठमाडौं । आगामी असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्ने काम गर्न नपाइने भएको छ । सडक विभागले बिहीबार एक सूचना जारी गर्दै वर्षायाममा सडकमा खन्ने काम गर्दा तत्काल यथास्थितिमा ल्याउन नसकिने भएकाले सो कार्यमा रोक लगाइएको जनाएको छ । वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक पनि थप बिग्रिँदै जाने भएकाले विभाग र डिभिजन मातहतमा रहेका कुनैपनि सडक खन्ने स्वीकृति नदिइने विभागले सूचनामा उल्लेख गरेको छ । साथै कसैले जर्बजस्ती सडक खन्ने काम गरेमा सार्वजनिक सडक ऐन २०३१ अनुसार कारबाही गरिने विभागले जनाएको छ ।