बजेटपछि जेठमा मात्रै ११५ प्रतिशत बढ्यो राजश्व संकलन
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेसँगै सरकारी राजश्वमा समेत बृद्धि भएको छ । आन्तरिक राजश्व विभागले सार्वजनिक गरेको जेठ मसान्तसम्मको तथ्यांक अनुसार राजश्व संकलनमा बृद्धि भएको हो । २०७९ को जेठ महिनाको तुलनामा २०८० को जेठ महिनामा मात्रै ११५ प्रतिशतले राजश्व संकलनमा बृद्धि भएको हो । गत वर्षको तुलनामा चालु आवमा कम राजश्व संकलन भएतापनि गत जेठ महिनाको तुलनामा चालु आवको जेठ महिनामा राजश्व संकलन बढेको छ । २०८० जेठमा मात्रै ३६ अर्ब ९९ करोड ६९ लाख ४९ हजार रुपैयाँ राजस्व संकलन भएको छ । गत आवको जेठमा ३२ अर्ब १० करोड ५४ लाख रुपैयाँ मात्र राजस्व संकलन गरेका छ । गत वर्षको सोही अवधिमा यो वर्ष ४ अर्ब ८९ करोड १५ लाख रुपैयाँ बढी राजस्व संकलन भएको हो । आन्तरिक राजश्व विभागका सूचना अधिकारी राजुप्रसाद प्याकुरेल अन्य महिनाको तुलनामा जेठ महिनामा राजश्व संकलनमा बृद्धि भएको बताउँछन् । ‘बजेट सार्वजनिक हुने महिना जेठ हो, बजेटमा केही करका दर परिवर्तन हुने हल्लाले व्यवसायीहरुले एकैपटक ठूलो परिमाणमा आयात गर्दा राजश्व संकलन बढी भएको हो’, उनले भने, ‘आयातसँगै जेठ महिनामा विकास निर्माणका कामहरु समेत धेरै हुँदा त्यसको असर राजश्वमा देखिएको हो ।’ विभागले चालू आर्थिक वर्षको जेठसम्म ४ खर्ब ८ अर्ब ६४ करोड ५१ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । गत वर्षको सोही अबधिमा ४ खर्ब १० अर्ब ४३ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो । गत वर्षको तुलनामा यो वर्ष राजस्व संकलन १ अर्ब ७८ करोड ५१ लाख रुपैयाँ कम भएको आन्तरिक राजस्व विभागले जनाएको छ । विभागका अनुसार गत वर्षको तुलनामा आय कर ९४ प्रतिशत मात्रै संकलन भएको छ । विभागले सार्वजनिक गरेको विवरण अनुसार २०८० जेठसम्म १ खर्ब ७० अर्ब ४२ करोड रुपैयाँ मात्र आयकर उठेको छ । गत वर्षको यसै अवधिमा १ खर्ब ८२ करोड २३ लाख रुपैयाँ आयकर संकलन भएको थियो । गत वर्षको तुलनामा यो वर्ष आयकर ११ अर्ब ८१ करोड ५३ लाख रुपैयाँ कम उठेको विभागले जनाएको छ । यस्तै, जेठसम्म घरभाडा कर तर्फ २ अर्ब ४३ करोड ४७ लाख रुपैयाँ संकलन भएको छ । गत आवको सोही अवबधिमा २ अर्ब ३९ करोड ७९ लाख रुपैया घरभाडा कर उठेको थियो । स्वास्थ्य कर तर्फ जेठ महिनासम्म ६ अर्ब ३८ करोड ९४ लाख रुपैयाँ उठेको छ । गत वर्षको जेठसम्म ५ अर्ब ८१ करोड रुपैयाँमात्र असुली भएको थियो । गत आवको तुलनामा चालु आवमा ११० प्रतिशतले स्वास्थ्य कर बढेको छ । शिक्षा कर तर्फ १ अर्ब ६६ करोड ५७ लाख रुपैयाँ राजश्व संकलन भएको छ । गत आवको तुलनामा चालू आवको १५९ प्रतिशतले शिक्षा करको राजश्व संकलन बढेको हो । गत वर्षको जेठसम्ममा १ अर्ब ४ करोड ९७ लाख रुपैयाँमात्र उठेको थियो ।
एनआरएन अष्ट्रेलियाको अध्यक्षमा ३७ बर्षे युवा अनिलको उम्मेदवारी घोषणा
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन) अस्ट्रेलियाको अध्यक्ष पदमा ३७ बर्षका युवा अनिल पोखरेलले उम्मेदवारी घोषणा गरेका छन् । पोखरेलले आगामी जुलाइ २९ मा हुने निर्वाचनमा अध्यक्षमा उमेदवारी दिने घोषणा गरेका हुन् । अध्यक्षका आकांक्षी पोखरेल पेशाले सर्टिफाइड प्राक्टिसिङ एकाउन्ट (सीपीए) हुन् । एक दशक देखि एनाअरएनएमा आवद्ध भएका पोख्रेलले पछिल्लो दुई कार्यकाल कोषाध्यक्षको जिम्मेवारी सम्हालेका थिए । संस्थाको पारदर्शीता र यसको आर्थिक समायोजनलाई प्रभावकारी ढंगले निभाएको कारण दोश्रो कार्यकालमा आफू निर्बिरोध निर्वाचित भएको पोख्रेल बताउँछन् । एनआरएन अस्ट्रेलियाको पारदर्शिताका लागि उनकै कार्यकालदेखि त्रैमासिक लेखा विवरण सार्वजनिक हुन थालेको थियो । उनी भन्छन्,’यो एनआरएन अस्ट्रेलियाको पारदर्शिताको प्रभावकारी कोशेढुंगा साबित भएको छ, त्यसबाहेक कोषाध्यक्षका रुपमा मैले अस्ट्रेलियन बहु सांस्कृतिक विभाग र संघ संस्थासँग आर्थिक सहयोग जोहो गर्न पनि सफल भएको छु ।’ एनआरएनलाइ संस्थागतकरण, प्रविधीमैत्री, आर्थिक पारदर्शिता, कुशल संस्थागत प्रक्रिया, श्रोतको पहुँच, बिभिन्न तहका सरकारसंग सम्बन्ध विस्तार लगायतका कुराहरूमा उनले विशेष जोड दिंदै आएका छन् । अहिलेसम्मका योगदान र ब्यक्तिगत दक्षतालाई हेर्दै अष्ट्रेलियाबासी नेपाली समुदायले आफूलाई साथ दिने उनको विश्वास छ । ‘समाजसेवा यस्तो कार्य हो जसले मानिसको अन्तरमनलाई अलौकिक आनन्द दिन्छ। एउटा यस्तो आनन्द जसले मानिसलाई अनवरत रुपमा समाजमा योगदान गर्न प्रेरित गर्छ। यहि प्रेरणा र माथि उल्लेखित संस्थागत अनुभबका साथ म अगाडि वढ्ने निर्णय गरेको छु,’ उनले भनेका छन् । उनले अध्यक्षका रूपमा आफ्नो दुई वर्षे कार्यकालमा काम गर्नका लागि योजना समेत तयार पारिसकेको भन्दै केही समयपछि त्यसलाई सार्वजनिक गर्ने बताए । सिड्नीका युवाको संगठन नेप्लीज युथ एशोसिएसन अस्ट्रेलिया, चितवन समाज अष्ट्रेलियालगायत संघ संस्थासँग आवद्ध भएर काम गरिसकेका अनिल अब भने एनआरएन अष्ट्रेलियाको नेतृत्व लिनेगरि तयारी गरिरहेका छन् ।
हेवाखोलाको बाढीमा बेपत्ता सबैको खुल्यो पहिचान
पाँचथर । पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमा भई बग्ने हेवाखोलामा आएको बाढीमा परी बेपत्ता भएका पाँचै जनाको पहिचान भएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार बाढीमा परी हिलिहाङ-७ का ४५ वर्षीय तिलकुमार तामाङ, फिदिम नगरपालिका-११ का २८ वर्षीय सञ्जोग लिम्बू र फिदिम-५ का ५५ वर्षीय राजकुमार राई सम्पर्कविहीन छन् । उनीहरुलाई हेवाखोलाले हेवाखोला पुल क्षेत्रबाट बगाएको प्रहरीको अनुमान छ । यस्तै, फिदिम-४ र हिलिहाङ-७ को सिमाना माझीटार-तमोर दोभानबाट दुई जना बेपत्ता भएका छन् । स्थानीयवासी २८ वर्षीय आशिष माझी र २५ वर्षीया एलिसा माझी सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ । बाढीले फिदिम-४ का रेशम कटुवालको दुईतले घर र मतान बगाएको छ । बाढीले याङवरक गाउँपालिका-२ फलैँचाका रामप्रसाद राईको एकतले घर, चन्द्र बेघाको दुईतले घर र एकतले मतान र कृष्ण बेघाको एकतले घर बगाएको छ । यहाँ मानवीय क्षति नभएको र बाँकी क्षतिको विवरण प्राप्त हुन बाँकी रहेको पाँचथरका प्रहरी प्रमुख डीएसपी हरि खतिवडाले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार हालसम्म बाढीले हेवाखोलामा रहेका चारवटा सडक पुल बगाएको छ । फिदिम-४ र हिलिहाङ-७ को सीमामा मेची राजमार्गको एक सडक पुल, तमोर करिडोर एक सडक पुल (बेलीब्रिज) बाढीले बगाएको छ । यस्तै, फालेलुङ-३ र ७ को सीमामा रहेको एउटा तथा सोही गाउँपालिका वडा नम्बर ३ र ५ को सीमामा रहेको अर्को सडक पुल बाढीले बगाएको छ । सो स्थानबाट जलविद्युत् आयोजनाको एउटा एक्स्काभेटर पनि बाढीले बगाएको प्रहरीले जनाएको छ । बाढीका कारण मेची राजमार्ग र तमोर करिडोर सडक अवरुद्ध भएका छन् । वर्षापछि मेची राजमार्गको फाल्गुनन्द गाउँपालिका-३ पांग्रेभीरमा पहिरो झरेर आवागमन अवरुद्ध भएको छ भने फिदिम-३ कान्छीदोकानमा पनि भेलले सडक अवरुद्ध पारेको छ । वर्षाले सडक बगाएपछि फिदिम-यासोक सडकको कुम्मायक गाउँपालिका-४ वनथाकमा आवागमन अवरुद्ध भएको छ । यस्तै, फाल्गुनन्द-७ बाट घुर्बिसेपञ्चमी जोड्ने सडक पनि अवरुद्ध भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बाढीले याङवरक-२ मा दुईवटा र फालेलुङ-३ र ५ को सीमाको एक झोलुंगे पुलमा समेत क्षति पुर्याएको छ । बाढीले जिल्लामा निर्माण र सञ्चालनमा रहेका अधिकांश जलविद्युत् आयोजनामा क्षति गरेको छ । क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ । सडक सम्पर्कविच्छेद भीषण वर्षापछि आएको बाढीले हेवाखोलामा रहेका दुईवटा पुल बगाएपछि पाँचथरबाट ताप्लेजुङ जिल्ला तथा जिल्लाका दुई गाउँपालिकासँगको सडक सम्पर्क विच्छेद भएको छ। गएराति भीषण वर्षा भएपछि हेवाखोलामा आएको बाढीले मेची राजमार्गको फिदिम-४ र हिलिहाङ-७ जोड्ने हेवाखोला पुल बगाएको छ। ५४.५२ मिटरको उक्त पुल बाढीले बगाएपछि मेची राजमार्गमा आवागमन अवरुद्ध भएको छ। विसं २०४२ मा बनेको यो पुल बाढीका कारण हालसम्म कहिल्यै जोखिममा समेत परेको थिएन। तर, तीन स्पान रहेको पुलका सबै संरचना गए रातिको बाढीले बगाएको हो। यस्तै, तमोर करिडोर सडकअन्तर्गत तीन वर्षअघि हेवाखोलामै निर्माण भएको माझीटारस्थित बेलीब्रिज (फलामको पुल) पनि बाढीले बगाएको छ। फिदिम-४ र हिलिहाङ-७ लाई जोड्ने बेलीब्रिजका सबै संरचना बाढीमा बगेका छन्। दुवै पुल बगेपछि मेची राजमार्ग र तमोर करिडोर सडकबाट ताप्लेजुङ जिल्ला तथा पाँचथरको हिलिहाङ र याङवरक गाउँपालिकासँगको सडक सम्पर्क विच्छेद भएको छ। सडक सम्पर्कविच्छेद भएपछि आकस्मिक बिरामीलाई अस्पतालसम्म पुर्याउन गाह्रो भएको छ। यस्तै, यस क्षेत्रमा उत्पादन हुने दुग्धजन्य उत्पादन र सागसब्जी खेर जाने अवस्था आएको छ। रासस
शून्य ब्याजदरमा ऋण
काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले व्यावसायिक कृषि गर्नेलाई शून्य ब्याजदरमा ऋण उपलब्ध गराउने व्यवस्था गरेको छ । सरकारले शुक्रबार प्रदेशसभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा कृषि अनुदानमा देखिएका कमी–कमजोरीलाई सुधार गरी कृषि अनुदानको समुचित उपयोग गर्न शून्य ब्याजदरमा ऋण उपलब्ध गराउने व्यवस्था गरिएको उल्लेख छ । प्रदेश कृषि प्रवद्र्धन कोषको स्थापना गरी यस्तो कर्जा उपलब्ध गराउन ४ करोड रुपैयाँ विनियोजन गरिएको छ । आगामी ५ वर्षमा दलहन, मसला बाली र फलफूलमा आत्मनिर्भर हुने गरी ‘कृषिमा आत्मनिर्भर सुदूरपश्चिम प्रदेश’ भन्ने अभियान सञ्चालन गरिने सरकारको बजेट कार्यक्रममा उल्लेख छ । यसअन्तर्गत भटमास, ओखर, सुन्तला, स्याउ, अदुवा, खाद्यान्न बीउ, दूध, मासु र अण्डामा आत्मनिर्भर हुने गरी सबै जिल्लामा कार्यक्रम सञ्चालन गरिने उल्लेख छ । कृषिजन्य वस्तुको प्रवद्र्धन बजारीकरणका लागि लागत साझेदारीमा कृषि एम्बुलेन्स सेवा सञ्चालन गरिने व्यवस्थासमेत गर्न लागिएको छ । रासायनिक मलको सहज उपलब्धताका लागि अनुदान समावेश नभएको एमोनियम सल्फेटलगायतका मलमा अनुदान उपलब्ध गराउने, कृषकको क्षमता अभिवृद्धि गर्न एक स्थानीय तह एक कृषक पाठशालाजस्ता कार्यक्रम पनि बजेट कार्यक्रममा समेटिएका छन् । चालु आर्थिक वर्षमा व्यावसायिक खेती गर्ने किसानलाई एक प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने प्रदेश सरकारको कार्यक्रम भने अपेक्षितरूपमा सफल हुनसकेको छैन । सुदूरपश्चिमका ९ जिल्लामा चालु आवमा यो कार्यक्रम कार्यान्वयन गर्नका लाग झण्डै १० करोड रुपैयाँ बजेट छुट्याइएको थियो । सुदूरपश्चिम प्रदेश सरकारले व्यावसायिकरूपमा कृषि तथा पशुपंक्षीपालन व्यवसाय गर्न चाहने कृषकलाई १ प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गराउने व्यवस्था दुई वर्षअघि गरेको थियो । कार्यक्रम कार्यान्वयन गराउन भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र कृषि विकास बैंक सुदूरपश्चिम प्रदेश कार्यालयका बीच सम्झौता भएको थियो । सम्झौताअनुसार कृषि विकास बैंकमार्फत कृषकले लिने कर्जाको ब्याजमा अनुदान दिने व्यवस्था गरिएको थियो ।
एसईई पासपछि यसरी रोज्नुस् पढ्ने विषय
काठमाडौं । सामान्यतया सबै विद्यार्थीहरुले १५ देखि १६ वर्षको उमेरमा कक्षा १० सम्मको पढाइलाई पुरा गर्छन् । पहिले कक्षा १० सम्मको पढाइलाई स्कुल शिक्षा र कक्षा ११ देखि माथिको पढाइलाइ उच्च शिक्षाको रुपमा लिने गरिन्थ्यो । तर, पछिल्लो समयमा नेपालमा कक्षा ११ र १२ लाई पनि विद्यालय शिक्षा अन्तर्गत राखिएको छ । सामान्यतया कक्षा १० सम्म पढ्ने विद्यार्थीहरुले के पढ्ने, कुन विषय पढ्दा व्यवहारिक हुन्छ भन्ने जस्ता प्रश्नहरुको सिर्जना गर्ने र त्यसको जवाफ खोज्ने क्षमता कम राख्छन् । त्यसैले उनीहरुले अभिभावकले भनेको, स्कुलले व्यवस्था गरेको र साथीसँगीको संगतले विषय छनौट गर्ने गर्छन् । त्यो मात्रै नभएर कक्षा १० सम्मको तहमा विद्यार्थीहरुलाई धेरै विषय छनोट गरेर पढ्ने सुविधा पनि हुँदैन । कक्षा १० पास भइसकेपछि अर्थात एसईई उत्तिर्ण गरेपछि विद्यार्थीहरु मनोवैज्ञानिक रुपमा केहि स्वतन्त्र भएको र आफ्नो आगामी जीवनप्रति पनि थप जिम्मेवार भएको महशुस गर्छन् । जसकारणले गर्दा विद्यार्थीहरुले आगामी दिनमा आफू कस्तो मान्छे बन्ने र त्यसको लागि के विषय पढ्दा राम्रो होला भनेर सोच्ने कोशिश गर्छन् । सोही बेलामा विद्यार्थीहरुलाई सही सुझाव तथा सल्लाहको आवश्यकता पर्छ । त्यसैले, हामीले भर्खरै एसइइ दिएर बसेका विद्यार्थीहरुलाई आगामी दिनमा विषय छनोटको लागि सजिलो होस भनेर एसईईपछि के पढ्ने भन्ने विषयमा यो समाचार तयार पारेका छौं । स्टार्टअप विजनेस सम्बन्धी विज्ञका रुपमा परिचित रञ्जित आचार्यका अनुसार हरेक विद्यार्थीसँग विशिष्ट प्रकारको क्षमता र इच्छा हुन्छ । तर, सबैले आफ्नो क्षमता र इच्छालाई पहिचान गर्न सकिरहेका हुँदैनन् । प्रसिद्ध बुढानिलकण्ठ स्कुल काठमाडौंका प्रधानाध्यापक होमनाथ आचार्यका अनुसार विद्यार्थीले एसईई सम्मको स्कुल पढाइ एउटा सीमामा आधारित रहेर हुने र त्यसपछिको ११/१२ र ए लेभल जस्तो तहमा जाँदा पढाइको तहगत खाडल हुने गरेको बताउँछन् । एसईई पश्चात विद्यार्थीहरुमा आफूहरुले एउटा तह पूरा गरेको मनोविज्ञान निर्माण हुने उनको भनाइ छ । तर, विषयहरु फरक हुने र विशेष तोकिएका विषयमा जानुपर्ने अवस्थामा विद्यार्थीहरुलाई उपयुक्त विषय छनोट गर्न भने सहयोगको आवश्यकता पर्ने प्रधानाध्यापक आचार्य बताउँछन् । ‘विद्यार्थीहरुमा एसईई पछि आफूहरु केही जान्ने भएको मनोविज्ञान निर्माण त हुन्छ तर, उनीहरुमा कस्तो विषय पढ्ने र कस्तो करिअर बनाउने भन्ने कुरामा भने निर्णय गर्न अन्यौलता देखिन्छ’, उनले भने, ‘कतिपय अवस्थामा साथीभाईले र कतिपय अवस्थामा अभिभावकले उनीहरुको विषयमा विषयमा निर्णय गरिदिन्छन्, जसले गर्दा उनीहरुको इच्छा एकातिर र विषय छनोट अर्कोतिर भएको पनि देखिन्छ ।’ त्यसरी विषय छनोट गर्दा उनीहरुको क्षमता अथवा इच्छासँग नमिल्दा उनीहरु असफल पनि हुने गरेको उनको भनाइ छ । त्यस्तो अवस्थामा विद्यार्थीको क्षमता र रुचीलाई ख्याल गरेर परामर्श दिन आवश्यक हुने आचार्य बताउँछन् । ‘विद्यार्थीको आफ्नो क्षमता अनुसार पढ्ने विषयमा उसको क्षमता र इच्छा के कुरामा छ भनेर अध्ययन गरेर विषय छनोट गर्न सल्लाह दिनुपर्छ’, उनी भन्छन् । विद्यार्थीहरुको क्षमतालाई पहिचान गर्ने र उनीहरुको करिअर सफलताको लागि गाइड गर्ने जिम्मेवारी शिक्षकहरुको नै भएको उनको भनाइ छ । आमाबुवालाई भन्दा शिक्षकहरुलाई विद्यार्थीको हरेक पक्षको बारेमा थाहा भएको उनी बताउँछन् । ‘कुन विद्यार्थी के मा राम्रो छ ? विद्यार्थी के कुरामा रमाउँछ, के कुरामा इच्छा राख्छ र उसको कुन विषयमा करिअर बन्न सक्छ, जुन कुरामा विद्यार्थीले पढ्न खुसी मान्छ उसलाई त्यही विषय पढ्न दिनुपर्छ’, आचार्य भन्छन् । विद्यार्थीलाई उसको क्षमता र इच्छा नभएको विषयमा लगाउन नहुने उनले बताए । बुढानिलकण्ठ स्कुलले कक्षा ९/१० मा नै विद्यार्थीहरुको क्षमताको विषयमा फिगर आउट गर्ने गरेको र सोही अनुसार विद्यार्थी र अभिभावकहरुलाई सल्लाह दिने गरेको बताउँछन् । शिक्षक र विज्ञहरुको अनुभव तथा बुझाइका आधारमा हेर्दा खासगरी करिअरसँग जोडिएको विद्यालय तहको माथिल्लो कक्षा ११ र १२ मा अध्ययन गर्दा कस्ता ऐच्छिक विषयहरु अध्ययन गर्ने भनेर निर्णय गर्दा पहिला आफ्नो रुची र क्षमतालाई ख्याल गर्नुपर्ने देखिन्छ । भाषा, कला, साहित्य, व्यवस्थापन, आदि जस्ता विषयमा रुची भएको विद्यार्थीले गणित वा विज्ञान विषय रोज्न भएन । त्यस्तै विज्ञान तथा गणित विषयमा रुची भएको विद्यार्थीले पनि अन्य भाषिक विषयहरु रोज्दा अपेक्षित सफलता नमिल्न सक्छ । विगतमा अध्ययनमा अब्बलता नरहेको तर सो विषयमा रुची भएको विद्यार्थीले पनि आगामी दिनमा राम्रो गर्न सक्ने सम्भावना हुँदा रुचीको विषयलाई अगाडि बढाउँदा सफलता हासिल गर्न सकिने विज्ञहरुको सुझाव छ । विगतमा कक्षा ११/१२ पढाउने सीमित विद्यालयहरु थिए । अहिले सबै स्थानीय तहहरुमा ती विद्यालयहरु पुगेका छन् । साथै विद्यालयसँगै नयाँ र धेरै विषयहरु पनि छनोट गरेर अध्ययन गर्न पाइने अवस्था बनेको छ । त्यसैले विद्यार्थीहरुले अनिवार्य केही विषय बाहेक धेरै एच्छिक विषयहरुमा रोजेर अध्ययन गर्न सक्छन् ।
बाढीपहिरोबाट अर्बौँको नोक्सानी, प्रधानमन्त्रीको ध्यानाकर्षण
काठमाडौं । सङ्खुवासभाको हेवाखोलामा गए राति आएको बाढीले पुर्याएको क्षतिबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गरिइएको छ । सङ्खुवासभाका प्रतिनिधिसभा सदस्य दीपक खड्का नेतृत्वको टोलीले आज बिहान प्रधानमन्त्री दाहाललाई भेटेर सङ्खुवासभामा भएको क्षतिका बारेमा अवगत गराउँदै सरकारले क्षतिको निरीक्षण गर्न आग्रह गरेको थियो । भेटमा सांसद खड्काले सङ्खुवासभामा आएको बाढीले दर्जनौँ जलविद्युत्गृहमा क्षति पुग्दा राज्यलाई अर्बौँको क्षति हुनुका साथै जलविद्युत्गृहमा कार्यरत मजदुरसमेत बेपत्ता भएको प्रधानमन्त्री दाहाललाई अवगत गराए । उनले क्षतिको निरीक्षण गरी उद्धार र राहतका लागि सरकारबाट पहल गर्न आग्रह गरे । भेटमा प्रधानमन्त्री दाहालले बाढी पहिराबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । उनले बेपत्ता भएकाको खोजी, उद्धार एवं राहतमा सक्रियतापूर्वक लाग्न सुरक्षा अङ्ग र कर्मचारीलाई निर्देशनसमेत दिइसकेको बताए । बाढीले पुर्याएको क्षतिबारे अवलोकनमा जाने प्रधानमन्त्रीले जानकारी दिएको सांसद खड्काले जानकारी दिए । प्रतिनिधिसभा सदस्य खड्कासँगै प्रदेशसभा सदस्य राजेन्द्र कार्की र विभिन्न दलका नेताहरू प्रधानमन्त्रीलाई भेट्न आज बिहानै बालुवाटार पुगेका थिए । सङ्खुवासभाको हेवाखेलामा गए राति आएको बाढीले सात घर बगाएको छ भने सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने १७ मजदुर सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । बाढीले पाँचखपन र चैनपुर जोड्ने निर्माणाधीन मोटरेबल पुलमा क्षति पुर्याएको छ ।
ह्वावे र आइएफएनबीच डिजिटल नेपाल कन्क्लेभ २०२३ सम्बन्धि सम्झौता
काठमाडौं । ह्वावे र आइसिटि फाउण्डेसन नेपाल (आइएफएन) ले आगामी साता ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३ आयोजना गर्ने सम्बन्धमा सहकार्य गरेका छन् । कार्यक्रमको उद्देश्य नीति निर्माताहरू, उद्योग विशेषज्ञहरू, विचारधाराहरूका साथै विभिन्न इकोसिस्टम साझेदारहरूलाई एकै ठाउँमा ल्याएर राम्रो र डिजिटल रूपमा सक्षम नेपाल निर्माणका लागि छलफल गर्नु रहेको छ । ह्वावे नेपालको कार्यालयमा भएको समझदारीपत्रमा ह्वावे नेपालका प्रमुख कार्यकारी अधिकृत ह्वाङ जुन र आईएफएनका अध्यक्ष राजन लम्सालले सम्बन्धित संस्थाको तर्फबाट हस्ताक्षर गरेका छन् । कार्यक्रमलाई सफल र प्रभावकारी बनाउन दुवै पक्ष मिलेर काम गर्ने सहमति भएको छ । कार्यक्रम असार ८ र ९ गते सोल्टी होटल काठमाडौंमा हुनेछ । कार्यक्रममा विभिन्न देशका विषय विज्ञहरुको सहभागीता रहनेछ । ‘डिजिटल्ली सक्षम, सबल नेपाल’ भन्ने नाराका साथ आयोजना हुने उक्त कार्यक्रमले डिजिटल रुपान्तरणका लागि नेपालको क्षमताका साथै त्यससंग सम्बन्धित आवश्यक नीति नियमहरु र तिन्को कार्यान्वयन पक्षमाथि विशेष जोड दिनेछ । डिजिटल नेपाल कन्क्लेभ २०२३ को प्रि-इभेन्ट अभियानको रूपमा, आइएफएनले नेपालका सातै प्रदेशमा डिजिटल प्रदेश संवाद ४.० पनि आयोजना गरेको छ । डिजिटल नेपाल कन्क्लेभ गत वर्ष आइएफएनद्वारा सुरु गरिएको एउटा कार्यक्रम हो । डिजिटल नेपाल कन्क्लेभ २०२३ को साथसाथै, ह्वावेले उद्यम, दूरसञ्चार र आईसीटी कम्पनीहरूलाई फाइदा पुग्ने अत्याधुनिक प्रविधिहरू र समाधानहरूले आफ्नो प्याभिलियनलाई सुसज्जित गरेर मोबाइल नेपाल कांग्रेस (एमएनसी) आयोजना गर्नेछ । ह्वावेले गिगाभर्स इनिसिएिटिभ, अल्ट्रा–अटोमेसन स्पीड अप, सेवाको रुपमा इन्टिलिजेन्ट कम्प्युटिङ्ग एण्ड नेटवर्क, भिन्न भिन्न अपेक्षाकृत मागहरु, र एमएनसीको लागि वातावरणीय, सामाजिक तथा सुशासनको विषयवस्तुको रुपमा आफ्नो मार्ग निर्देशिका तय गरेको छ । ह्वावेले मोबाइल नेपाल कांग्रेस २०२३ ले डिजिटल नेपालतर्फको यात्रालाई तिब्रता दिनको लागि देशमा विश्वव्यापी आविष्कार र समाधानहरूलाई छलफलमा ल्याएर यसको सान्दर्भिकता र व्यापारको सम्भावनामा योगदान हुने विश्वास लिएको छ ।
प्रतिनिधि सभाको बैंठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं । आइतबार संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दैछ । संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजेदेखि सुरु हुने बैठकमा विनियोजन बजेटमाथि छलफल हुने सम्भावित कार्यसूची रहेको छ । बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत बजेट विभिन्न तीन मन्त्रालय शीर्षकको खर्च रकम घटाइ १ रुपैयाँ कायम गर्न प्रस्ताव गरिने छ । सम्भावित कार्यसूचीअनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय शीर्षकमाथिको खर्च कटौतीबारे प्रस्ताव पेश गरिने संघीय संसद्का सचिवालययले जनाएको छ ।