हेवाखोलाको बाढीमा बेपत्ता सबैको खुल्यो पहिचान

<p>पाँचथर । पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमा भई बग्ने हेवाखोलामा आएको बाढीमा परी बेपत्ता भएका पाँचै जनाको पहिचान भएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार बाढीमा परी हिलिहाङ-७ का ४५ वर्षीय तिलकुमार तामाङ, फिदिम नगरपालिका-११ का २८ वर्षीय सञ्जोग लिम्बू र फिदिम-५ का ५५ वर्षीय राजकुमार राई सम्पर्कविहीन छन् । उनीहरुलाई हेवाखोलाले हेवाखोला [&hellip;]</p>

 

पाँचथर । पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमा भई बग्ने हेवाखोलामा आएको बाढीमा परी बेपत्ता भएका पाँचै जनाको पहिचान भएको छ ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार बाढीमा परी हिलिहाङ-७ का ४५ वर्षीय तिलकुमार तामाङ, फिदिम नगरपालिका-११ का २८ वर्षीय सञ्जोग लिम्बू र फिदिम-५ का ५५ वर्षीय राजकुमार राई सम्पर्कविहीन छन् । उनीहरुलाई हेवाखोलाले हेवाखोला पुल क्षेत्रबाट बगाएको प्रहरीको अनुमान छ ।

यस्तै, फिदिम-४ र हिलिहाङ-७ को सिमाना माझीटार-तमोर दोभानबाट दुई जना बेपत्ता भएका छन् । स्थानीयवासी २८ वर्षीय आशिष माझी र २५ वर्षीया एलिसा माझी सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ । बाढीले फिदिम-४ का रेशम कटुवालको दुईतले घर र मतान बगाएको छ ।

बाढीले याङवरक गाउँपालिका-२ फलैँचाका रामप्रसाद राईको एकतले घर, चन्द्र बेघाको दुईतले घर र एकतले मतान र कृष्ण बेघाको एकतले घर बगाएको छ । यहाँ मानवीय क्षति नभएको र बाँकी क्षतिको विवरण प्राप्त हुन बाँकी रहेको पाँचथरका प्रहरी प्रमुख डीएसपी हरि खतिवडाले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार हालसम्म बाढीले हेवाखोलामा रहेका चारवटा सडक पुल बगाएको छ । फिदिम-४ र हिलिहाङ-७ को सीमामा मेची राजमार्गको एक सडक पुल, तमोर करिडोर एक सडक पुल (बेलीब्रिज) बाढीले बगाएको छ ।

यस्तै, फालेलुङ-३ र ७ को सीमामा रहेको एउटा तथा सोही गाउँपालिका वडा नम्बर ३ र ५ को सीमामा रहेको अर्को सडक पुल बाढीले बगाएको छ । सो स्थानबाट जलविद्युत् आयोजनाको एउटा एक्स्काभेटर पनि बाढीले बगाएको प्रहरीले जनाएको छ ।

बाढीका कारण मेची राजमार्ग र तमोर करिडोर सडक अवरुद्ध भएका छन् । वर्षापछि मेची राजमार्गको फाल्गुनन्द गाउँपालिका-३ पांग्रेभीरमा पहिरो झरेर आवागमन अवरुद्ध भएको छ भने फिदिम-३ कान्छीदोकानमा पनि भेलले सडक अवरुद्ध पारेको छ ।

वर्षाले सडक बगाएपछि फिदिम-यासोक सडकको कुम्मायक गाउँपालिका-४ वनथाकमा आवागमन अवरुद्ध भएको छ । यस्तै, फाल्गुनन्द-७ बाट घुर्बिसेपञ्चमी जोड्ने सडक पनि अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बाढीले याङवरक-२ मा दुईवटा र फालेलुङ-३ र ५ को सीमाको एक झोलुंगे पुलमा समेत क्षति पुर्‍याएको छ । बाढीले जिल्लामा निर्माण र सञ्चालनमा रहेका अधिकांश जलविद्युत् आयोजनामा क्षति गरेको छ । क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

सडक सम्पर्कविच्छेद

भीषण वर्षापछि आएको बाढीले हेवाखोलामा रहेका दुईवटा पुल बगाएपछि पाँचथरबाट ताप्लेजुङ जिल्ला तथा जिल्लाका दुई गाउँपालिकासँगको सडक सम्पर्क विच्छेद भएको छ।

गएराति भीषण वर्षा भएपछि हेवाखोलामा आएको बाढीले मेची राजमार्गको फिदिम-४ र हिलिहाङ-७ जोड्ने हेवाखोला पुल बगाएको छ। ५४.५२ मिटरको उक्त पुल बाढीले बगाएपछि मेची राजमार्गमा आवागमन अवरुद्ध भएको छ।

विसं २०४२ मा बनेको यो पुल बाढीका कारण हालसम्म कहिल्यै जोखिममा समेत परेको थिएन। तर, तीन स्पान रहेको पुलका सबै संरचना गए रातिको बाढीले बगाएको हो।

यस्तै, तमोर करिडोर सडकअन्तर्गत तीन वर्षअघि हेवाखोलामै निर्माण भएको माझीटारस्थित बेलीब्रिज (फलामको पुल) पनि बाढीले बगाएको छ। फिदिम-४ र हिलिहाङ-७ लाई जोड्ने बेलीब्रिजका सबै संरचना बाढीमा बगेका छन्।

दुवै पुल बगेपछि मेची राजमार्ग र तमोर करिडोर सडकबाट ताप्लेजुङ जिल्ला तथा पाँचथरको हिलिहाङ र याङवरक गाउँपालिकासँगको सडक सम्पर्क विच्छेद भएको छ। सडक सम्पर्कविच्छेद भएपछि आकस्मिक बिरामीलाई अस्पतालसम्म पुर्‍याउन गाह्रो भएको छ।

यस्तै, यस क्षेत्रमा उत्पादन हुने दुग्धजन्य उत्पादन र सागसब्जी खेर जाने अवस्था आएको छ। रासस

Share News