काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेसँगै सरकारी राजश्वमा समेत बृद्धि भएको छ । आन्तरिक राजश्व विभागले सार्वजनिक गरेको जेठ मसान्तसम्मको तथ्यांक अनुसार राजश्व संकलनमा बृद्धि भएको हो ।
२०७९ को जेठ महिनाको तुलनामा २०८० को जेठ महिनामा मात्रै ११५ प्रतिशतले राजश्व संकलनमा बृद्धि भएको हो ।
गत वर्षको तुलनामा चालु आवमा कम राजश्व संकलन भएतापनि गत जेठ महिनाको तुलनामा चालु आवको जेठ महिनामा राजश्व संकलन बढेको छ । २०८० जेठमा मात्रै ३६ अर्ब ९९ करोड ६९ लाख ४९ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
गत आवको जेठमा ३२ अर्ब १० करोड ५४ लाख रुपैयाँ मात्र राजस्व संकलन गरेका छ । गत वर्षको सोही अवधिमा यो वर्ष ४ अर्ब ८९ करोड १५ लाख रुपैयाँ बढी राजस्व संकलन भएको हो ।
आन्तरिक राजश्व विभागका सूचना अधिकारी राजुप्रसाद प्याकुरेल अन्य महिनाको तुलनामा जेठ महिनामा राजश्व संकलनमा बृद्धि भएको बताउँछन् ।
‘बजेट सार्वजनिक हुने महिना जेठ हो, बजेटमा केही करका दर परिवर्तन हुने हल्लाले व्यवसायीहरुले एकैपटक ठूलो परिमाणमा आयात गर्दा राजश्व संकलन बढी भएको हो’, उनले भने, ‘आयातसँगै जेठ महिनामा विकास निर्माणका कामहरु समेत धेरै हुँदा त्यसको असर राजश्वमा देखिएको हो ।’
विभागले चालू आर्थिक वर्षको जेठसम्म ४ खर्ब ८ अर्ब ६४ करोड ५१ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । गत वर्षको सोही अबधिमा ४ खर्ब १० अर्ब ४३ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो ।
गत वर्षको तुलनामा यो वर्ष राजस्व संकलन १ अर्ब ७८ करोड ५१ लाख रुपैयाँ कम भएको आन्तरिक राजस्व विभागले जनाएको छ ।
विभागका अनुसार गत वर्षको तुलनामा आय कर ९४ प्रतिशत मात्रै संकलन भएको छ । विभागले सार्वजनिक गरेको विवरण अनुसार २०८० जेठसम्म १ खर्ब ७० अर्ब ४२ करोड रुपैयाँ मात्र आयकर उठेको छ । गत वर्षको यसै अवधिमा १ खर्ब ८२ करोड २३ लाख रुपैयाँ आयकर संकलन भएको थियो । गत वर्षको तुलनामा यो वर्ष आयकर ११ अर्ब ८१ करोड ५३ लाख रुपैयाँ कम उठेको विभागले जनाएको छ ।
यस्तै, जेठसम्म घरभाडा कर तर्फ २ अर्ब ४३ करोड ४७ लाख रुपैयाँ संकलन भएको छ । गत आवको सोही अवबधिमा २ अर्ब ३९ करोड ७९ लाख रुपैया घरभाडा कर उठेको थियो ।
स्वास्थ्य कर तर्फ जेठ महिनासम्म ६ अर्ब ३८ करोड ९४ लाख रुपैयाँ उठेको छ । गत वर्षको जेठसम्म ५ अर्ब ८१ करोड रुपैयाँमात्र असुली भएको थियो । गत आवको तुलनामा चालु आवमा ११० प्रतिशतले स्वास्थ्य कर बढेको छ ।
शिक्षा कर तर्फ १ अर्ब ६६ करोड ५७ लाख रुपैयाँ राजश्व संकलन भएको छ । गत आवको तुलनामा चालू आवको १५९ प्रतिशतले शिक्षा करको राजश्व संकलन बढेको हो । गत वर्षको जेठसम्ममा १ अर्ब ४ करोड ९७ लाख रुपैयाँमात्र उठेको थियो ।