विकासन्युज

धनुषाका पाँच पालिकाले ल्याउन सकेनन् बजेट, योजना बाँडफाँटमा विवाद

धनुषा । धनुषाका पाँच स्थानीय तहले निर्धारित समयमा बजेट ल्याउन सकेनन् । बजेट बाँडफाँटमा विवाद भएपछि पाँच पालिकाले बजेट ल्याउन नसकेका हुन् । यही असार १० गतेभित्र सबै स्थानीय तहले बजेट ल्याइसक्ने कानुनी प्रावधान भए पनि मिथिला नगरपालिका, कमला नगरपालिका, सहिदनगर नगरपालिका, धनौजी गाउँपालिका र औरही गाउँपालिकाले निर्धारित समयमा बजेट ल्याउन सकेका छैनन् । यी पालिकाहरूमा अल्पमत बहुमत तथा योजना बाँडफाँटमा विवाद देखिएको थियो । मिथिला नगरपालिकाका प्रमुख महेन्द्र महतोले नेकपा (एमाले)बाट निर्वाचित जनप्रतिनिधिहरूको आन्तरिक विवादका कारण बजेट ल्याउन कठिन भएको आरोप लगाए । पटक-पटक नगरसभा गर्ने प्रयास गरे पनि असफल भएको उनको गुनासो थियो । ‘दुई पटक नगरसभा गर्ने विषयमा कार्यपालिका बैठक आह्वान गर्यौं तर दुवै पटक एमालेबाट निर्वाचित जनप्रतिनिधिहरु अनुपस्थित भए,’ उनले भने, ‘बुँदागतरूपमा उहाँहरुले हालसम्म कुनै माग पनि राख्नुभएको छैन । खै के हो ? उहाँहरुसँगै बुझ्नुस् ।’ यस विषयमा उपप्रमुख सुनिता सिंह बुढाथोकीसँग पटक-पटक सम्पर्क गर्न खोज्दा पनि फोन उठाइएन । यस्तै धनौजी गाउँपालिकाका अध्यक्ष राजकुमार साहले बजेट ल्याउने प्रयासमै रहेको बताए । कुन कारणले निर्धारित समयमा बजेट आउन नसकेको भन्ने जिज्ञासामा उनले सोही कुरा दोहोर्याएर फोन राखे । यस पालिकामा योजना बाँडफाँटमा विवाद रहेको बुझिएको छ । कमला नगरपालिकाले नीति तथा कार्यक्रम ल्याए पनि बजेट ल्याउन सकेको छैन। उपप्रमुख शिलादेवी मण्डलले बजेट आउन समय लाग्ने बताए । जनप्रतिनिधिहरुको विगतकै माग पूरा नभएका कारण बजेट नआएको उनले बताए । यसअघि उपप्रमुख मण्डलले चालु आर्थिक वर्षको नगरसभा खारेजको माग गर्दै जनकपुर उच्च अदालतमा उजुरी नै गरेका थिए । नगरप्रमुख विशेश्वर यादवसँग सुरुआती समयदेखि उनको मनमुटाव थियो । सहीदनगर नगरपालिकामा नगरसभा हुनेबारे कुनै तयारी छैन । जनप्रतिनिधिहरु नगरप्रमुखसँग असन्तुष्ट छन् । नगरप्रमुख दिनेशप्रसाद यादवले बजेट ल्याउन केही समय लाग्ने बताए । सबै पक्षलाई समेटेर अगाडि बढ्न खोज्दा निर्धारित समयमा बजेट ल्याउन नसकेको उहाँको भनाइ थियो तर उपप्रमुख सुनिताकुमारी सिंहले छलफल गर्न बाँकी रहेका कारण बजेट ल्याउन नसकेको बताए । योजना तर्जुमा भए पनि अन्य विषयको  छलफलमा सहमति नभएकै कारण अगाडि नबढेको उनको भनाइ थियो  । ‘केही विषयमा छलफल गर्न बाँकी छ । योजना र राजस्व परामर्श समितिहरुसँग पनि छलफल गर्न बाँकी छ,’ उपप्रमुख सिंहले योजना बाँडफाँटतर्फ सङ्केत गर्दै भने, ‘प्रमुख प्रशासकीय अधिकृत सावन चौधरी पनि बाहिर छन् । अब हामी छलफल गरेर बजेट ल्याउने तयारी गर्छौं ।’ यस्तै औरही गाउँपालिकाका अध्यक्ष उमाशङ्करप्रसाद साहले अन्य पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुले विवाद खडा गरेको बताए । उनका अनुसार ती जनप्रतिनिधिहरु अन्य नेताको इसारामा चलेका कारण विवाद भइरहेको बताए । रासस

ललिता निवास प्रकरण : थप पाँच पक्राउ

काठमाडौं । ललिता निवासको जग्गा प्रकरणमा प्रहरीले थप पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)ले काठमाडौंका विभिन्न क्षेत्रबाट उनीहरुलाई मंगलबार पक्राउ गरेको हो । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुँबेर कडायतले पक्राउ पर्नेमा मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, सोही कार्यालयका कर्मचारी सुरेन्द्रमान कपालीसहित धर्मप्रसाद गौतम, हुपेन्द्रमणि केसी र गोपाल कार्की छन् । सिआइवीले कीर्ते गरेको कसुरमा उनीहरुविरुद्ध अनुसन्धान गरिरहेको छ । सोही प्रकरणमा आज बिहान भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको थियो । गुरुङसँगै आज उक्त प्रकरणमा छ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सरकारी स्वामित्वमा रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा विभिन्न व्यक्तिका नाममा नामसारी गर्ने कार्यमा संलग्न भएको अरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । विसं २०४९ देखि २०६९ सम्ममा ललिता निवासको जग्गा लिखत कीर्ते गरी हिनामिना भएको सार्वजनिक भएको थियो । सोही प्रकरणमा सिआइवीले अनुसन्धान गरिरहेको छ । ललिता निवास प्रकरणमा यसअघि तीनसय जनालाई प्रतिवादी बनाएर ब्यूरोले जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो । तर सरकारी वकिलको कार्यालयले थप अनुसन्धान गर्नुपर्ने जनाउँदै फाइल फिर्ता पठाएको थियो । त्यसपछि अनुसन्धान जारी रहेको बताए पनि थप प्रगति भएको थिएन । पछिल्लो चरणमा भने सिआइवीले अनुसन्धान तीव्र पारेको थियो । उक्त घटनाको सन्दर्भमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छुट्टै अनुसन्धान गरेर एक सय ७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । हाल उक्त मुद्दा विचाराधीन छ । सिआइवीका प्रहरी उपरीक्षकको नेतृत्वमा गठित छानबिन समितिले ललिता निवासको जग्गामा सरकारी लिखत कीर्ते भएको निष्कर्षसहितको प्रतिवेदन दिएको थियो । रासस

राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर नक्सालको प्रहरी प्रधान कार्यालयमा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले प्रहरी प्रधान कार्यालय नक्साल परिसरमा ६४औं एक्सटेन्सन काउन्टरको शुरु गरेको छ । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले एक समारोहका बीच एक्सटेन्सन काउन्टरको मंगलबार उद्घाटन गरेका हुन् । शाखा कार्यालय नक्साल मार्फत रहने सो एक्सटेन्सन काउन्टरबाट नगद/चेक जम्मा, चेक भुक्तानी, स्टेटमेन्ट, मोवाइल बैंकिङ्ग सेवा, एटिएम सेवा लगायतको रकम जम्मा गर्न सकिने छ । कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरी र बैंकबीचको लामो समयदेखिको सहकार्यको प्रशंसा गर्दै एक्सटेन्सन काउन्टरबाट प्रहरीहरुलाई बैंकिङ्ग सेवा लिन थप सहज हुने बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सबै ग्राहकले सेवा लिन सकिने एक्सटेन्सन काउन्टरबाट धेरै प्रकारका बैंकिङ्ग सेवा दिने बताउँदै नेपाल प्रहरीसँगको सहकार्यका लागि आभार व्यक्त गरे । उनले बैंकको बेसरेट सस्तो भएकाले कर्जाको ब्याजदर कम भएको बताउँदै प्रविधिमा आधारित सेवालाई बैंकले जोड दिएको बताए । सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु डा. आशा सिंह, टेकप्रसाद राई, दिपक थापा, सुदिप गिरी, टेकबहादुर तामाङ्ग, बैकका नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, उपकार्यकारी अधिकृतहरु, बागमती प्रादेशिक कार्यालयका प्रबन्धक, शाखा कार्यालय नक्सालका शाखा प्रबन्धक लगायत बरिष्ठ प्रहरी अधिकृतहरु तथा बैंकका कर्मचारीहरुको उपस्थिति थियो । बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २७२ वटा शाखा कार्यालय, ६४ वटा एक्सटेन्सन काउन्टर, २६९ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग, क्यूआर कोड सेवा, पीओएस (पोइन्ट अफ सेल) सेवा, क्रेडिट कार्ड, डेबिट कार्ड, कनेक्ट आईपीएस, स्मार्ट क्युआर टेलर (बिना चेक रकम झिक्न सकिने), ईन्टरनेट बैंकिङ, परिष्कृत रुपको मोवाईल बैंकिङ्ग तथा बिना ईन्टरनेट चल्ने यूएसएसड मोवाईल बैंकिङ्गका सेवाहरु समेत सञ्चालनमा रहेका छन् ।

१५ दिनको भिजिट भिसामा नेपाल आए ज्याक मा, तीन दिन यतै बस्ने

काठमाडौं । चिनियाँ खर्बपति ज्याक मा नेपाल आएका छन् । उनी मंगलबार विशेष विमानमार्फत् नेपाल आएका हुन् । विश्वचर्चित व्यापारिक कम्पनी अलिबाबाका संस्थापक ज्याक मा विशेष चार्टर्ड विमानमार्फत् मंगलबार दिउँसो काठमाडौं आइपुगेको बताइएको छ । उनी जापान हुँदै नेपाल आएका हुन् । उनी १५ दिनको भिजिट भिषामा नेपाल आएको अध्यागमका सूचना अधिकारी खिमराज भुषालले जानकारी दिए । ‘उहाँ नेपाली समय अनुसार मंगलबार दिउँसो २.३० बजे नेपाल आउनुभएको हो, बंगलादेशबाट चार्टड उडानमा एक महिलासहित ७ जना आउनुभएको हामीलाई जानकारी छ’, उनले भने । पर्यटक भिषामा नेपाल आएपनि के प्रयोजनका लागि आएको विषय विभागमा जानकारी नहुने उनले बताए । उनी अब तीन दिन नेपालमै बस्ने तालिका रहेको बताइएको छ ।

दुई लघुवित्तको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा दुई वटा लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ । असार १२ गते एकैदिन माहुली लघुवित्त वित्तीय संस्था र समता घरेलु लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो । दुई संस्थाको कूल ९ लाख १६ हजार २६५ कित्ता बोनस सेयर सूचीकृत भएको छ । जसमध्ये माहुली लघुवित्तको १४.२५ प्रतिशत अर्थात ४ लाख २ हजार ९१ कित्ता बोनस सेयर सूचीकृत भएको छ । त्यस्तै, समता घरेलु लघुवित्त वित्तीय संस्थाको १५ प्रतिशत अर्थात ५ लाख १४ हजार ११६ कित्ता बोनस सेयर नेप्सेमा थपिएको हो । यससँगै अब दुबै कम्पनीको सेयर सम्बन्धित सेयरधनीको खातामा हस्तान्तरण हुने छ । र, दोश्रो बजारमा किनबेच गर्न पाइने छ ।

लघुवित्तमा उछाल आउँदा ५६ अंकले बढ्यो नेप्से परिसूचक, ३८ कम्पनीको सेयर मूल्यमा सर्किट

काठमाडौं । मंगलबारको सेयर बजारमा लघुवित्त वित्तीय संस्थाको सेयरमा उछाल आएको छ । बजारमा अधिकांश लघुवित्तको सेयर मूल्य सर्किट लेभलमा कारोबार भएसँगै त्यसको प्रभाव सेयर मूल्य मापक नेप्से परिसूचकमा पनि परेको हो । मंगलबारको नेप्से परिसूचक ५६.९४ अंकले बढेर २१८६.३६ बिन्दुमा पुगेको छ । जुन सोमबारको तुलनामा २.६७ प्रतिशतले बढी हो । बजारमा परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । सोमबार ५ अर्ब ३१ करोडको कारोबार भएको बजारमा मंगलबार ५ अर्ब ४७ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसमध्ये सबैभन्दा बढी स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार भएको छ । संस्थाको एकैदिन २५ करोड १२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबार मात्रै नभई बढी सेयर मूल्य बढ्ने कम्पनीको सूचीमा पनि लघुवित्त अग्रस्थानमा रहेको छ । दिनभरको कारोबारमा ३८ कम्पनीको सेयर मूल्य ९.८० प्रतिशतभन्दा बढीले बढेर सर्किट लेभेलमा कारोबार भएको छ । जसमध्ये २५ वटा कम्पनीको मात्रै सेयर मूल्य १० प्रतिशतले बढेको छ भने अन्य १३ वटा कम्पनीको सेयर मूल्य ९.८० देखि ९.९९ प्रतिशतसम्मले बढेको छ । समूहगत हेर्दा पनि लघुवित्त समूह ३५३.७० अंकले बढेको छ । उत्पादनमूलक, निर्जीवन बीमा र ट्रेडिङ समूह घटेका छन् भने कारोबारमा आएका बाँकी समूह ओरालो लागेका छन् ।

अब यात्रुको बिदाइ तथा स्वागतमा तीन जना मात्रै जान पाउने

फाइल फोटो काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब एउटा यात्रुको बिदाइ तथा स्वागतका लागि तीन जनामात्रै जान पाइने भएको छ । विमानस्थलको आन्तरिक र अन्तर्राष्ट्रिय ट्रमिनल भवनपरिसरमा भीडभाड बढेपछि हवाई सुरक्षा जोखिमलाई मध्यनजर गर्दै उक्त निर्णय गरिएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताए । सम्भावित हवाई सुरक्षा जोखिमलाई मध्यनजर गर्दै विमानस्थल सुरक्षा समितिले एक जनाका लागि तीन जना मात्रै जान पाउने निर्णय गरेको हो । प्रवक्ता सिटौलाका अनुसार टर्मिनल भवनमा धेरै भीडभाड हुने गरेको र यात्रुलाई सास्ती भइरहेकाले ट्राफिक व्यवस्थापनमा समस्या भएको साथै दुर्घटनाको जोखिमसमेत बढेकाले सो निर्णय गरिएको हो । अन्तर्राष्ट्रिय टर्मिनलमा साँझदेखि राति १० बजेसम्म अत्यधिक भीड हुने गरेको छ । विभिन्न गन्तव्यमा जाने यात्रुको बिदाइमा परिवार र आफन्तको  भीड लाग्छ । अन्तर्राष्ट्रिय विमानस्थलमा तीन नेपालीसहित ३० वायुसेवा प्रदायकले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् । आन्तरिकतर्फ ११ हेलिकप्टर कम्पनीसहित २० वायुसेवा प्रदायकले उडान भरिरहेका छन् । रासस

चेक बाउन्स र साइबर क्राइमको मुद्दा जिल्ला अदालतले हेर्ने

काठमाडौं । सरकारले साइबर क्राइम र चेक बाउन्स मुद्दाको सुरु कारबाही र किनारा गर्ने अधिकारी जिल्ला अदालतलाई दिने निर्णय गरेको छ । सोमबार राजपत्रमा सूचना सार्वजनिक गर्दै सरकारले यस्तो निर्णय गरेको हो । हालसम्म साइबर क्राइमका मुद्दा काठमाडौँ जिल्ला अदालतले हेर्दै आएको थियो भने बैंकिङ कसुर सम्बन्धी मुद्दाको उच्च अदालतले हेर्ने गरेको थियो । मन्त्रिपरिषदले विद्युतीय कारोबार ऐन २०६३ र बैंकिङ कसूर तथा सजाय ऐन २०६४ मा संशोधन गरेर ती मुद्दाको कारबाही र किनारा सबै जिल्ला अदालतबाट हुने निर्णय गरेको हो।