विकासन्युज

सहकारीलाई विवरण बुझाउन काठमाडौं महानगरको निर्देशन, पेश नगरे कारवाही गर्ने

काठमाण्डौ । काठमाडौं महानगरपालिकाले ३० दिनभित्र सहकारी संस्थाहरुलाई विवरण बुझाउन निर्देशन दिएको छ । महानगरपालिकाभित्र सञ्चालनमा रहेका संस्थाहरुलाई वार्षिक साधारणसभाको जानकारी, लेखापरीक्षण प्रतिवेदनलगायत ववरणहरु पेस गर्न महानगरपालिकाको सहकारी विभागले निर्देशन दिएको हो । महानगरले ३० दिनभित्र विवरण पेस नगर्ने सरकारी संस्थाहरुलाई प्रचलित कानुनबमोजिम कारबाही गर्ने चेतावनी दिएको हो । महागरपालिका सहकारी ऐन, २०७४ बमोजिम आर्थिक वर्षको समाप्त भएको मितिले बढीमा ३ महिनाभित्र प्रचलित कानुनबमोजिम इजाजत प्राप्त लेखापरीक्षकबाट संस्थाको प्रत्येक आर्थिक वर्षको लेखापरीक्षण गराउनुपर्ने र सोही ऐनमा भएको व्यवस्थाबमोजिम विवरणहरु महानगरपालिकामा बुझाउनुपर्ने हुन्छ ।

हिमालयन बैंकले धितोमा रहेको ९७ वटा सवारी र जग्गा बेच्दै

काठमाडौं । हिमालयन बैंकले धितोमा राखिएको सवारी साधन लिलामीमा बिक्री गर्ने भएको छ । बैंकबाट लिएको ऋण कर्जा पटक पटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि बैंकले धितो राखिएको सम्पत्ति बिक्री गरेर रकम असुल गर्ने भएको हो । बैंकको भरतुर शाखा कार्यालयबाट मेयर्स एण्ड व्हील्स प्रालि र श्री जे.पी. मोटो कर्प प्रालिको नाममा लिएको कर्जा चुक्ता नभएपछि धितोवापतको सवारी साधन र जग्गा बिक्री गरे असुल गर्ने भएको हो । मेयर्स एण्ड व्हील्स प्रालिका सञ्चालक महादिप श्रेष्ठ र प्रज्ञा पन्तले लिएको ऋणवापत भरतपुर महानगरपालिका ५ स्थित कित्ता नम्बर १७७० को ०–१६–४५ बिघा क्षेत्रफल भएको जग्गा बिक्री गर्ने भएको हो । श्री जे.पी. मोटो कर्प प्रालिका सञ्चालक तथा जमानीकर्ता प्रतिक श्रेष्ठ, मन्नु महतो र जेम्स महतो रहेका छन् । प्रतिक श्रेष्ठको नाममा दर्ता कायम रहेको भरतपुर महानगरपालिका १६ स्थित कित्ता नम्बर ३३८, ३४२ र ३४४ को क्रमशः ०–६–१४, ०–४–१५.५० र ०–६–१४ जग्गा, वडा नम्बर ३७ स्थित कित्ता नम्बर ४९८, ७७० र ७७१ को ०–१८–०–०, ०–२–०–० र ०–१३–०–० क्षेत्रफल भएको जग्गा लिलामीमा बिक्री गर्ने भएको हो । यस्तै, हिमालयन बैंक धनी भई ऋणी श्री जे.पी. मोटो कर्प प्रालि कायम भइ दर्ता भएका ९७ वटा सवारी साधन बिक्रीमा राखेको हो । यदि ३५ दिनभित्र कर्जा चुक्ता नगरे लिलामीमा बिक्री गर्ने बैंकले जनाएको छ । बैंकमा राखिएको धितो जहाँ जो अवस्थामा छ सोही अवस्थामा लिलाम बिक्री गर्ने बैंकले बताएको छ ।

हज यात्रामा सहभागी हुने संख्या घट्यो

काठमाडौं । यस वर्षको वार्षिक हज यात्रामा १८ लाखभन्दा बढी भक्तजनले दर्शन गरेको साउदी अरबको तथ्याङ्क कार्यालयाले जनाएको छ । विश्वका सबैभन्दा ठूलो धार्मिक जमघटमध्येको एक यस पर्वका अवसरमा यस वर्षको अनुष्ठानमा २५ लाखभन्दा बढी तीर्थयात्री आउने अनुमान साउदी अधिकारीहरूले गरेका थिए । तर, सरकारी अल एखबारिया टिभीले सार्वजनिक गरेको आधिकारिक तथ्याङ्कअनुसार सन् २०१९ मा सहभागी भएका २५ लाख उपासकको तुलनामा यो उपस्थिति अपेक्षा गरेभन्दा अझै निकै कम हो । ‘यो हजको अवसरमा हजयात्रीहरूको कूल सङ्ख्या महिला पुरूष गरी १८ लाख ४५ हजार ४५ रहेका छन्,’ तथ्याङ्क कार्यालयले जनाएको छ । कोभिड–१९ को महामारीपछि अघिल्लो वर्ष यो सङ्ख्या १० लाखमा सीमित भएको थियो । यस वर्षको सहभागिता अघिल्लो बर्षको तुलनामा उल्लेख्य वृद्धि देखिएपनि साउदी अधिकारीले यस बर्ष सन् २०१९ को सहभागिताको हाराहारीमा हजयात्री साउदी अरब पुग्ने प्रक्षेपण गरेका थिए । सन् २०२० मा कोरोना भाइरसको महामारी उत्कर्षमा पुगेको बेला १० हजारलाई मात्र अनुमति दिइएको थियो भने सन् २०२१ मा यो सङ्ख्यालाई बढाएर ५९ हजार पुर्यायएको थियो । हज इस्लामका ५ स्तम्भहरूमध्ये एक हो र सबै मुसलमानहरूले आफ्नो जीवनमा कम्तिमा एक पटक मक्का पुग्नै पर्ने मान्यता राख्छन् ।

मर्स्याङ्दी जलविद्युतमा ५५ मेगावाट विद्युत् उत्पादन

काठमाडौं । आँबुखैरेनी गाउँपालिका–४ स्थित मस्र्याङ्दी जलविद्युत् केन्द्रमा हिउँदको तुलनामा विद्युत् उत्पादनमा वृद्धि भएको छ । ६९ मेगावाट क्षमता रहेको उक्त केन्द्रमा हिउँदको समयमा ४० मेगावाट उत्पादन हुँदै आएकोमा अहिले ५५ मेगावाट उत्पादन भएको हो । पछिल्लो समय वर्षा हुन थालेपछि उत्पादन बढे पनि पूर्ण क्षमतामा उत्पादन हुन नसकेको केन्द्रका प्रमुख बद्री फुँयालले जानकारी दिए । ‘पूर्ण क्षमताको विद्युत् उत्पादन हुन अझै १४ मेगावाट विद्युत् पुगेको छैन, लामो खडेरी परेका कारण नदीमा मिसिने खोला, झरना, खोल्सीको पानी घटेको र कतिपय सुकेकाले पूर्ण क्षमतामा उत्पादन हुन नसकेको हो,’ उनले भने । यो समयमा प्रशस्त पानी पर्ने समय भए पनि लामो समयसम्मको खडेरीका कारण नदीमा पानीको बहाव बढ्न नसक्दा सोचेअनुरुपको विद्युत् उत्पादन बढ्न नसकेको उनले जानकारी दिए । साँझ र बिहान बिजुलीको माग धेरै हुने भएकाले नदीको पानी दिउँसो रिजर्भ ट्याङ्कीमा जम्मा गरी लैजाने र साँझ बिहान भने पूर्ण उत्पादन बढाउन लागिएको उनले बताए । साँझ ५ बजेदेखि १० बजेसम्म र बिहान ५ बजेदेखि १० बजेको समयमा बढी विद्युत् खपत हुने भएकाले थुनेर राखेको पानीलाई छाडेर पूर्ण क्षमतामै उत्पादन गर्ने गरिएको छ । विद्युत्को माग धेरै भएको समयमा तीन वटा युनिटबाट २३÷२३ मेगावाटका दरले पूर्ण क्षमताअनुरूपको ६९ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । मस्र्याङ्दी हिमालबाट बगेर आएको नदी भएकाले चिसो मौसममा तापक्रम घट्दै जाँदा हिउँ कम पग्लिने र वर्षा नहुँदा यसका सहायक नदी, खोला, खोल्सी र झरनामा पानीको बहाव घटेसँगै विद्युत् उत्पादन पनि घट्ने गरेको छ । यस केन्द्रबाट उत्पादित विद्युत् चितवनको भरतपुरबाट काठमाडौँको स्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

ललिता निवास प्रकरणमा पक्राउ परेका ३ जनालाई किन छोडियो ?

काठमाडौं । ललिता निवासको जग्गा हिनामिना प्रकरणमा प्रहरीले पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलाई पनि पक्राउ गरेको छ । उक्त प्रकरणमा अनुसन्धान तीव्र पारेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले शाहलाई पनि पक्राउ गरेको प्रहरी प्रवक्ता कुवेर बडायतले जानकारी दिए । शाहले वि.सं. २०७३ देखि २०७५ सम्म निर्वाचन आयुक्त भएर काम गरेका थिए । मंगलबार खोज तथा अनुन्धानका क्रममा सीआईबीले शाहसहित ७ जनालाई पक्राउ गरेको थियो । उद्यपि यसअघि नै सर्वोच्चबाट स्टेअर्डर ल्याएको पाइएपछि पक्राउ परेका ३ जनालाई भने कागज गराएर छाडिएको छ । सीआईबीका अनुसार उनीहरुलाई हिरासतबाहिर राखेर अनुसन्धान गर्न सर्वोच्चले आदेश दिएको पाइएपछि कागज गरेर छाडिएको हो । यसरी छाडिनेमा कलाधर देउजा, सुरेन्द्रमान कपाली र हुपेन्द्रमणि केसी रहेका छन् । देउजा मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख र कपाली कर्मचारी हुन् । मंगलबार पक्राउ परेका शाहसहित धर्मप्रसाद गौतम, गोपाल कार्की र भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई भने प्रहरीले हिरासतमा राखेको छ । उक्त घटनाका विषयमा भोलि पत्रकार सम्मेलन गरेर सार्वजनकि गर्ने तयारी सीआईबीले गरेको छ । सरकारको स्वामित्वमा रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा विभिन्न व्यक्तिका नाममा नामसारी भएको फेला परेको थियो । वि.सं. २०४९ देखि २०६९ सम्ममा ललिता निवासको जग्गा लिखत किर्ते गरी हिनामिना भएको पाइएको छ । सोही प्रकरणमा सीआईबीले अनुसन्धान गरिरहेको छ । ललिता निवास प्रकरणमा यसअघि तीन सय जनालाई प्रतिवादी बनाएर ब्युरोले जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको तर सरकारी वकिलको कार्यालयले थप अनुसन्धान गर्नुपर्ने जनाउँदै फाइल फिर्ता पठाएको थियो । उक्त घटनाको सन्दर्भमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग दायर गरेको मुद्दा विचाराधीन रहेको छ ।

उपप्रधानमन्त्री श्रेष्ठ चीन भ्रमणमा, यस्तो छ भ्रमण तालिका

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ सात सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार चीनको सिचुवान प्रान्तको भ्रमणमा गएका छन् । मंगलबारदेखि ५ दिनसम्मको भ्रमणका लागि राति ११ः२० बजेको उडानमार्फत चीन प्रस्थान गरेका हुन् । प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयका सहसचिव लोकबहादुर थापा, गृह मन्त्रालयका सहसचिव रुद्रादेवी शर्मा, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव महेश बराल, उपप्रधानमन्त्री श्रेष्ठका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठलगायतको सहभागिता छ । उनी बुधबार ‘पश्चिमी चीन अन्तर्राष्ट्रिय मेला’को स्वागत भोजमा सरिक हुने उनको सचिवालयले जनाएको छ । उपप्रधानमन्त्री श्रेष्ठले बिहीबार ‘पश्चिमी चीन अन्तर्राष्ट्रिय मेला’को उद्घाटन समारोहलाई विशेष अतिथिका रूपमा सम्बोधन गर्ने छन् भने दिउँदो छेन्दूको योजना प्रदर्शनी हल र अन्तर्राष्ट्रिय मित्र सहर सिचुवानको भ्रमण एवम् प्रदर्शनी अवलोकन गर्ने छन् । सोही दिन साँझ उहाँ चिनियाँ कम्युनिष्ट पार्टी, सिचुवान प्रान्तका नेताद्वारा आयोजित रात्रिभोजमा सरिक हुने छन् । उपप्रधानमन्त्री श्रेष्ठले शुक्रबार सिचुवान विश्वविद्यालयका नेतृत्वसँग भेटघाट गर्ने छन् भने त्यहाँ अध्ययनरत चाइनिज, नेपाली र अन्य विदेशी विद्यार्थीहरूलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यसपछि उहाँले विश्वविद्यालयको ‘हाइड्रोलिक्स’ र ‘माउन्ट रिभर इन्जिनियरिङ’ प्रयोगशालाको अवलोकन गर्नुहुनेछ । दिउँसो सिचुवान एयरलाइन्स र प्रान्तीय लगानी समूहका अधिकारीहरूलाई भेट गर्ने छन् । शनिबार बिहान उनले भूकम्पपछि पुनर्निर्माण भएको यिन्छियुको र जिपिङ्पुस्थित ‘हाइड्रो जक्सन’को अवलोकन भ्रमण गर्ने छन् । त्यसदिन दिउँसो दुजियाङ्गानस्थित चीनकै पुरानो सिँचाइ प्रणाली र ग्रामीण पुनरुत्थानको अवलोकन भ्रमण गर्ने कार्यक्रम तय भएको छ । शनिबार नै छेन्दु फर्किएर आइतबार बिहानको उडानमार्फत उनी स्वदेश फर्किने तालिका रहेका छ ।

डेढ हजार हेक्टर वन अतिक्रमण

काठमाडौं । झापामा १ हजार ५५० हेक्टर वन अतिक्रमण गरिएको छ । जिल्लाका १४ स्थानमा रहेका विभिन्न वनको जग्गा अतिक्रमण गरिएको हो । डिभिजन वन कार्यालयका सूचना अधिकारी अञ्जना पुरीका सबैभन्दा बढी खुदुनाबारीमा ८ सय हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको छ । शान्तिनगरमा ४२१, बाहुनडाँगीमा १५.५५, मेचीनगरमा ३९, धाइजनमा ३३.१३, बुधबारेमा १३, शनिश्चरेमा १८, अर्जुनधारामा १९ र सुरुङ्गामा १० हेक्टर वन अतिक्रमणमा परेको पुरीले बताए । यस्तै, सतासीधाममा २७.७२, लखनपुरमा १११, दमकमा ११.५, पृथ्वीनगरमा २ र राजगढमा २६.५ हेक्टर वनको जग्गा अतिक्रणमा परेको छ । झापाका २ स्थानमा अतिक्रमित वनको जग्गा खाली गराइएको छ । भद्रपुर नगरपालिका र कचनकवल गाउँपालिकामा अतिक्रमित वनको जग्गा खाली गराइएको डिभिवन वन कार्यालयका सहायक वन अधिकृत ऋषिराम पराजुलीले जानकारी दिए ।

१ लाख कित्ता किन्न मिल्ने अप्पर स्याङ्गेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । अप्पर स्याङ्गे हाईड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले असार १० गतेदेखि बिक्री खुला गरेको आईपीओमा सर्वसाधारण लगानीकर्ताले आज असार १३ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर बिक्री गरी बाँडफाँटपश्चात् सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पूँजी २२ करोड रुपैयाँको २९.५५ प्रतिशत अर्थात् ६ करोड ५० लाख रुपैयाँ बराबरको ६ लाख ५० हजार कित्ता सेयरमध्ये १० प्रतिशत वैदेशिक रोजगारीमा रहेका नेपाली, ५ प्रतिशत सामूहिक लगानी कोष, २ प्रतिशत कर्मचारीलाई बिक्री गरेर बाँडफाँट पश्चात् बाँकी रहेको ५ लाख ३९ हजार ५ सय कित्ता सेयर सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरेको हो । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ । नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् । केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।