स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा कर्पोरेट कार्यालयमा बालबालिकाको डे केयर सेवाकाे शुरुवात
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले काठमाडौं बानेश्वर स्थिति कर्पोरेट कार्यालयमा बालबच्चाको हेरचाहको लागि डे केयर सेवा शुरुवात गरेको छ । नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगानाले उक्त सेवाको उद्घाटन गरेकी थिइन् । बैंकले सन् २०१३ देखि सञ्चालनमा ल्याएको सो सेवा कोरोना महामारीका कारण अस्थायी रुपमा बन्द हुन पुगेको थियो । सो सेवाको सञ्चालनले बैंकमा काम गर्ने महिला कर्मचारीहरुका छ महिनादेखि तीन वर्षसम्मका बालबालिकालाई हेरचाह गर्न सघाउ पुर्याउने बैंकले जनाएको छ । साथै, सो सेवाले बैंकमा काम गर्ने महिला कर्मचारीहरुले आफ्नो काममा केन्द्रित भएर काम गर्न सक्ने अपेक्षा बैंकले गरेको छ । डे केयर सेवाको उद्घाटनपछि डेपुटी गभर्नर ढुंगानाले बैंकमा कार्यरत महिला कर्मचरीहरुसँग छलफल गरेकी थिइन् । महिला कर्मचारीहरुलाई काममा उत्प्रेरित भएर लाग्न बाल हेरचाह सेवाले ठूलो सहयोग पुर्याउने उनले बताएकी थिइन । त्यस्तै, बैंकका कार्यकारी अधिकृत अनिर्वाण घोष दस्तीदारले मुख्य कार्यालयको परिसरभित्र शुरु गरिएको डे केयर सेवाले महिला कर्मचारीहरुलाई आफ्ना बालबालिकाको नजिक रहेर काम गर्न सहयोग पुर्याउने बताउँदै बैंक आफ्ना स्टाफहरुको कल्याण र मानसिक स्वास्थ्यप्रति प्रतिबद्ध रहेको बताएका थिए ।
पर्यटनमन्त्री किराँतीले महानिर्देशक अधिकारीलाई सोधे ९ बुँदे स्पष्टिकरण
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किराँतीले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीलाई स्पष्टिकरण सोधेका छन् । अधिकारीको कार्यक्षमता र कार्यशैलीमाथि प्रश्न उठाउँदै उनले ९ बुँदे स्पष्टिकरण सोधेका हुन् । उनले ९ बुँदे स्पष्टिकरणको सात दिनभित्र जवाफ माग गरेका छन् । उनले प्राधिकरणलाई अलग नबनाउन चलखेल गरेको, उनको पालामा धेरै हवाई दुर्घटना भएको र उनले सरकारको नीति विरुद्द अभिव्यक्ति दिने गरेको लगायत प्रश्न गर्दै स्पष्टिकरण सोधिएको हो । यस्तो ५ ९ बुँदे स्पष्टिकरण माग : (१) तपाइँलाई नेपाल सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा १९ बमोजिम नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा नियुक्त गरेको र नेपाल सरकारका नीति, नियम, कार्यक्रमहरुको पालना गर्नु गराउनु तपाइँको कर्तव्य र जिम्मेवारी हो । आ.व. २०७९/८० को संघीय संसदले पास गरेको बजेट तथा कार्यक्रमको बुँदा नं. १०१ मा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक निकाय र सेवा प्रदायक निकायको रुपमा छुट्याउने भनी उल्लेख भएको छ, सोही बमोजिम प्रक्रिया अघि बढिरहेको अवस्थामा तपाइँले नेपाल सरकारको उक्त नीति विपरित विभिन्न कार्यक्रममा अभिव्यक्ति दिने, उक्त नीतिको प्रतिकुल सञ्चार माध्यमहरुमा अन्तर्वार्ता तथा अभिव्यक्त दिने जस्ता कार्यहरु गरी नेपाल सरकारको नीतिको परिपालन नगर्ने र उल्टै त्यसलाई चुनौति दिने कार्यमा संलग्न रहेको पाइएको छ । तपाईंको उक्त कार्य नेपाल नागरिक उड्डयन प्राधिकरण, कर्मचारी सेवाका शर्त र सुविधा सम्बन्धि नियमावली २०५६ को नियम ११.२६ को प्रावधान विपरित रहेकोले के कति कारणले तपाइँले आफ्नो पदीय जिम्मेवारी विपरित सरकारको नीति विरुद्धका कार्य गर्नुभएको हो ? (२) प्राधिकरणको महानिर्देशको स्टेट सेफटी प्रोग्रामको अकाउन्टेबल एक्जुकेटीभ भएको र नेपालमा हवाई उडान सुरक्षाको प्रत्याभूति गर्ने प्रमुख जिम्मेवार अधिकारी पनि तपाइँ भएको तर तपाइँ महानिर्देशक भएपछि नेपाली दर्ताका २ वटा यात्रु विमानहरु र ३ वटा हेलिकप्टरहरु दुर्घटना भइ धनजनको क्षति भएको, वायूयानसँग सम्बन्धित गम्भीर घटना निरन्तर भइरहँदा देशले क्षति व्यहोर्नु परिरहेको र नेपालको उड्डयन सुरक्षामाथि पनि गम्भीर प्रश्न उठिरहेको छ । अतः उड्डयन सुरक्षालाई प्रभावकारी बनाउनु पर्ने आफ्नो कर्तव्य र जिम्मेवारी निर्वाह गर्न तपाईं असफल रहेको किन मान्नु नपर्ने ? (३) वायुयान घटना, दुर्घटना रोकथामका लागि अपनाउनुपर्ने निरोधात्मक उपायभन्दा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको सिद्धान्त विपरित घटना दुर्घटना पछि प्रतिक्रियामा जाने गरेको देखिंदा नियामक निकायको प्रमुखको रुपमा तपाइँको नेतृत्व क्षमता र राज्यले उडान सुरक्षाका लागि सुम्पेको जिम्मेवारी बहन गर्न सक्ने तपाईंको क्षमतामा किन प्रश्न नगर्ने ? (४) नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक निकाय र सेवा प्रदायक निकायको रुपमा छुट्याउने नेपाल सरकारको नीति तथा कार्यक्रम र अन्तराष्ट्रिय नागरिक उड्डयन संगठनले अप्रिल १३ देखि २५, २०२२ मा गरेको नेपालको उड्डयन सुरक्षा परिक्षणमा भएको सिफारिस विपरित कार्यात्मक विभाजन नै प्रर्याप्त छ भन्ने अभिव्यक्ति दिने तपाइँले हवाई सेवाको क्षेत्रमा स्वार्थको द्वन्द्व हुन नहुने मान्यता विपरित विमानस्थलहरुको उडान सुरक्षा नियमन गर्न स्थापित एरोड्रम सेफ्टी स्ट्याण्डर्ड विभागको प्रमुख र राष्ट्रिय गौरवका आयोजनाको प्रमुखको जिम्मेवारी एउटै व्यक्तिलाई बनाई निजकै नेतृत्वमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रमाणीकरण गरेको, फ्लाइट क्यालिब्रेसनको अन्तिम प्रतिवेदन प्राप्त नभई तथा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि उडान सुरक्षा मूल्यांकन लगायतका गर्नु पर्ने सम्पूर्ण पूर्व तयारी सम्पन्न नगरी विमानस्थल सञ्चालनमा किन ल्याएको ? परीक्षण उडान गराइ सोको प्रतिवेदन प्राप्त नगरी पोखरा विमानस्थलमा एयरबस ३२० विमानलाई उडान गर्न दिई उडान सुरक्षामा चरम लापरवाही के कति कारणले गर्नु भएको हो ? (५) मिति २०७९ पुष १७ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनको दिन तपाईंको आदेशमा पोखरा विमानस्थलको समय समाप्त भइसकेपछि पनि सिभिल एभिएसन रिक्वायरमेन्ट : रुल अफ द एयरको ४.३ एआईपी नेपालको ईएनआर १.२ विपरित विभिन्न वायूसेवा कम्पनीका ५ वटा उडान गराइएको पाइयो । नियामक निकायको प्रमुखको हैसियतले यस्तो कार्यलाई रोक्नु पर्नेमा उडान सुरक्षामा प्रतिकुल असर गर्ने चरम लापरवाहीपूर्ण कार्य किन र कसरी हुन गएको हो ? (६) मिति २०७९ जेठ २ गतेदेखि सञ्चालनमा ल्याइएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र मिति २०७९ पुष १७ गतेदेखि सञ्चालनमा ल्याइएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । राज्यले दातृ निकायहरुबाट अरवौं रुपैयाँ ऋण लिएर बनाइएका अन्तर्राष्ट्रिय विमानस्थलहरु सञ्चालनमा ल्याउन नसक्नुमा विमानस्थल सञ्चालकको समेत मूख्य भूमिकामा रहनु भएका तपाइँको कार्यक्षमता कमजोर रहेको किन नमान्ने ? (७) महालेखा परीक्षकको ६० औं वार्षिक प्रतिवेदन, २०७९ मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आयोजना सम्बन्धी उपशीर्षक (८९.२) मा उल्लेख भएको विमानस्थलको रनवेको पूर्वतर्फ १.५ कि.मी. मा रहेको छिनेडाँडाको उचाई ३० मिटर काट्नुपर्ने गरी साविकमा व्यवस्था भएकोमा रन–वे को उचाई कम हुँदा डाँडाको हाइट ४० मिटर काट्नुपर्ने अवस्था सिर्जना भएको, रन–वे को उचाई घटाउँदा निस्केको ग्राभेल मिसिएको ढुंगा माटो निर्माण व्यवसायीले वाह्य डिस्पोज गरेको नदेखिएकोले निस्केको सबवेस (ढुंगा सहितको ग्राभेल) उक्त रन वेमा नै प्रयोग गरेको अवस्था देखियो भन्ने उल्लेख छ । रन–वे को उचाई घट्नुको कारण के हो ? रन–वेको उचाई घटाउँदा छिनेडाँडाको उचाई बढि काट्नु परेको र यसबाट आर्थिक नोक्सानी परेको देखिन्छ । हवाई सुरक्षामा समेत यसबाट प्रतिकूल असर पर्ने देखिएकोले यस्तो कार्य किन गरिएको हो ? (८) महालेखा परीक्षकको ६० औं वार्षिक प्रतिवेदन, २०७९ को पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको उपशीर्षकको बुँदा नं. ८९३ मा उल्लेख भएको विमानस्थल निर्माण कार्यका लागि प्राधिकरण र निर्माण व्यवसायीबीच भएको सम्झौतामा प्रोभिजनल सम बापत अमेरिकी डलर ९० लाख व्यवस्था गरेकोमा सो रकम घटाइ अमेरिकी डलर ३१ लाख ७० हजार कायम गरेको छ । निर्माण व्यवसायीले परामर्शदाताको व्यवस्था गर्न बि. ओ. क्यू. मा समावेश भएको अमेरिकी डलर २८ लाखलाई घटाइ सो आइटममा व्ययभार बढ्ने गरी छुट्टै परामर्शदाता नियुक्ति गरेको पाइयो । सम्झौतामा नै परामर्श सेवा वापतको खर्चको व्यवस्था रहेको भएता पनि प्राधिकरणले त्यसैबाट खर्च नगरी छुट्टै सम्झौता गरी प्राधिकरणको बजेटबाट खर्च हुने गरी डिजायन रिभ्यूको लागि परामर्श सेवाका लागि अर्को परामर्शदातासँग रु. ३७ करोड ९५ लाख ९० हजारमा सम्झौता भएको देखिन्छ । सम्झौता गर्दाका बखत प्रति अमेरिकी डलर रु. ८२००९ को दरले परामर्श खर्चको लागि ई.पि.सि.मा रु. २२ करोड ९८ लाख ५२ हजार बराबरको खर्चको व्यवस्था भएता पनि छुट्टै सम्झौता अनुसारको रकम पहिले गरेको अनुमान भन्दा ६५ १५ प्रतिशतले बढी हुनुले निर्माणमा मितव्यिता कायम भएको देखिएन । सुपरभिजन कन्सल्टेन्सी सेवाको ठेक्कामा प्रोभिजनल सम बापत रु १९ करोड ५२ लाखको व्यवस्था गरेको देखिन्छ । परामर्श सेवाको ठेक्कामा ५३ प्रतिशत भार प्रोभिजनल सममा राखेको औचित्यपूर्ण देखिएन भन्ने विषयमा तपाइँको भनाइ के छ ? यसरी छुट्टै सम्झौता गरी प्राधिकरणलाई गम्भीर हानी नोक्सानी किन पुर्याएएको हो ? (९) नेपाल नागरिक उड्डयन प्राधिकरणको मिति २०७९/०४/०२ को यस मन्त्रालयका सचिवलाई सम्बोधन गरी लेखेको पत्रमा पोखरा महानगरपालिका वडा नं. १५ कोलपाटनमा नेपाल खानेपानी संस्थानद्वारा जाइकाको सहयोगमा निर्माणाधीन खानेपानी ट्याङ्की अन्तर्राष्ट्रिय विमानस्थलको इीक् भित्र पर्ने भएकाले यथाशीघ्र सो ट्याङ्कीको उचाइ २० मिटरबाट घटाएर १५.५७ मिटर वा कम कायम गर्ने व्यवस्थाका लागि कारबाही अघि बढाइदिन भनि उल्लेख भएको । महालेखा परीक्षकको ६० औं वार्षिक प्रतिवेदन, २०७९ मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आयोजना सम्बन्धी उपशीर्षक (८९.२) मा उल्लेख भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको रनवेको पूर्वतर्फ १.५ कि.मी. मा रहेको छिने डाँडाको उचाई ३० मिटर काट्नुपर्ने गरी साविकमा व्यवस्था भएकोमा रन–वे को उचाई कम हुँदा डाँडाको हाइट ४० मिटर काट्नुपर्ने अवस्था सिर्जना भए जस्तै रन–वे को उचाई घटाउँदा सो पानी ट्याङ्कीको समेत उचाइ घटाउनु पर्ने अवस्था सिर्जना भएको देखिन्छ । पानी ट्याङ्कीको उचाइ घटाउनु पर्ने भएबाट राज्यलाई परेको र पर्न सक्ने नोक्सानीको जिम्मेवारी तथा जवाफदेहिता तपाइँले लिनु किन नपर्ने ?
बयासी वर्षीया ज्येष्ठ यामकुमारीले बुनेका गलैँचा अमेरिका निर्यात हुन्छन्
बेनी । मङ्गला गाउँपालिका–१ भर्जुलाकी ८२ वर्षीया यामकुमारी पुनले सामाजिक कार्यसँगसँगै घरायसी आयआर्जनको कामलाई निरन्तरता दिँदै आएकी छन् । उमेरले वृद्धावस्थामा पुर्याए पनि उनको दैनिकी भने सक्रिय छ । बुनाईसम्बन्धी सीपलाई व्यावसायिक बनाएर जीवनयापन गर्दै आउनुभएकी उनले बुनेका गलैँचा स्वदेशदेखि विदेशसम्म बिक्री हुने गरेको छ । परम्परागत तानमा कपडा बुन्ने सीपलाई व्यावसायिक बनाएकी पुनले हरेक दिन गलैँचा, झोला, गलबन्दी, स्वीटरलगायतका कपडा बुन्ने गर्छिन् । आफूले उत्पादन गरेका गलैँचा अमेरिकामा समेत निर्यात हुने गरेको उनले जानकारी दिइन्। ‘अमेरिकाबाट गलैँचा बुनिदिन धेरैले फोनमा खबर गर्नुहुन्छ, स्वदेश आएको समयमा यहाँ आएर उपहारका रूपमा गलैँचा लैजाने गर्छन्’, उनले भनिन् । एउटा गलैँचा बुन्न १५ दिनसम्म लाग्ने र त्यसलाई रु सात हजारसम्ममा बिक्री हुने गरेको वृद्धा पुनले बताइन् । फुर्सदको समयलाई बुनाइमा लगाउँदै आएकी उनले आफ्नो यसै पेसाबाट जीविकोपार्जन गर्दै आएकी छन्। गलैँचा बिक्री गरेरै एक तोला सुन खरिद गरेर गरगहना बनाएको पुनले बताइन् । ‘मेरो अरु स्रोत छैन, आफ्नै मेहनतले दैनिकी चलाएको छु, आफूलाई आवश्यक पर्ने सबै खर्च आफ्नै पौरखबाट जुटाउने गरेको छु’, उनले थपिन् । झोला, गलबन्दी, स्वीटरलगायतका सामान घरगाउँमै बिक्री हुने गरेको छ । गलैँचा भने गाउँमा भन्दा बाहिर धेरै बिक्री हुने वृद्धा पुनको भनाइ छ । तानमा धागो बुनेर परम्परागत सीप र प्रविधिमार्फत बनाइने गलैँचा बाक्लो र आकर्षक हुने भएकाले विदेशसम्म निर्यात हुने गरेको हो । उनले आफ्नो सीपको व्यावसायीकरणसँगै स्थानीय आमा समूहको समेत नेतृत्व गर्दै आएकी छन् । समाजमा ज्येष्ठ नागरिकले पनि सामाजिक सङ्घसंस्थाको नेतृत्व नै गर्न सक्छन् भन्ने उदाहरण वृद्धा पुन बनेकी छन् । विसं २०५२ मा स्थापना भएको स्थानीय गोदावारी आमा समूहलाई उनले विगत २८ वर्षदेखि नेतृत्व गर्दै आएकी छन् । गाउँमै भए पनि आमा समूहको पक्की भवन निर्माण गर्ने, समूहकै तरकारी खेती गर्ने, पुख्र्यौली संरक्षणमा अगुवाइ गर्ने उनको हिम्मत अनुशरणयोग्य छ । गोदावारी आमा समूहले आफ्नै पक्की भवनसमेत निर्माण गरिरहेको छ । पुन सोही भवनमा एकलरूपमा बसोबास गर्दै आउनुभएको छ । गोदावारी आमा समूहले भर्जुलामा वृक्षरोपण, गाउँ सरसफाइलगायतका गतिविधिसमेत गर्दै आएको छ ।
५ हवाई कम्पनी समस्यामा : सेयर बेच्दै, कर्मचारी कटौती गर्दै
काठमाडौं । पछिल्लोे समय सरकारी स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) सँगै निजी क्षेत्रका अधिकांश वायुसेवा कम्पनीहरु समस्यामा देखिएका छन् । वायुसेवा कम्पनीमा आर्थिक संकट देखिन थालेपछि हाल सञ्चालीत वायुसेवा कम्पनीहरुले साझेदार भित्र्याउनेदेखि कर्मचारी कटौतीका रणनीतिहरु अगाडि सारेका छन् । समस्या भएको भन्दै यती एयरलाइन्सले साझेदार भित्र्याउने तयारी गरेको छ भने सौर्य एयरलाइन्सले कर्मचारी कटौती समेत गर्न थालेको छ । यती एयरलाइन्सले साझेदार भित्र्याउने आन्तरिक उडानमा २५ प्रतिशत हिस्सा रहेको यती एयरलाइन्स पछिल्लो समय आर्थिक समस्यामा छ । आन्तरिक उडानमा यती र तारा एयर मार्फत उडान गर्दै आएको एयरमा आर्थिक संकट देखिएपछि कम्पनीले सेयर बिक्रीको तयारी थालेको हो । यती ग्रुपमा ५१ प्रतिशत सेयर राखेर बाँकी ४९ प्रतिशत सेयर बिक्री गरेर आर्थिक संटक हटाउने रणनीतिमा कम्पनी लागि परेको छ । कोरोना महामारी गत माघ १ गते पोखरा तथा गत जेठमा पोखरामा भएका दुई ठूला दुर्घटनापछि कम्पनी आर्थिक संटकमा परेको जनाइएको छ । कम्पनीका तत्कालीन अध्यक्ष आङछिरिङको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि यती एयरलाइन्स नोक्सानीमा जान थालेको हो । शेर्पाको मृत्यु भएपछि लाक्पा सोनाम शेर्पा (उनका दाई) कम्पनीको अध्यक्ष छन् भने उनकी श्रीमती चन्दा शेर्पा प्रबन्ध निर्देशक छिन् । मुख्य व्यक्तिको निधन भएपछि त्यसको असर कम्पनीमा परेको हो, पर्यटन उद्योगमा एकछत्र राज रहेको शेर्पा ग्रुप उनले मृत्युसँगै आर्थिक संकटमा थसिन थालेको छ । ‘आङछिरिङ सरको मृत्यु, कोरोना महामारी र गत वर्ष भएका दुई ठूला दुर्घटना पछि यतीको व्यवसाय पुरानै अवस्थामा फर्कन सकेको छैन, फूल अकुपेन्सी नहुँदा पछिल्लो समय सञ्चालन खर्च धान्नै समस्या हुनथाल्यो’, यएरलाइन्स स्रोतले भन्यो, ‘खर्च धान्नै सक्ने अवस्था नभएपछि त्यसको समाधानका लागि साझेदार भित्र्याउने तयारी भएको हो, जसका लागि नेपाली तथा विदेशी उद्योगी व्यवसायीसँग छलफल भैरहेको छ ।’ डेढ वर्षदेखि नोक्सानीमा सौर्य एयर निजी क्षेत्रको लगानीमा सञ्चालित अर्काे वायुसेवा कम्पनी सौर्य एयरलाइन्स पनि आर्थिक समस्यामा परेको छ । हाल सिआरजे २०० मोडलको जहाजबाट आन्तरिक उडान गर्दै आएको सो वायुसेवा कम्पनी डेढ वर्षदेखि आर्थिक संकटमा परेको हो । कम्पनी लामो समयदेखि नोक्सानीमा चल्दै आएको भन्दै पछिल्लो समय कर्मचारी कटौती गर्न थालेको छ । गत जेठ महिनामा मात्रै कम्पनीले धेरै कर्मचारी भएको भन्दै ३४ जना कर्मचारीलाई हटाएको छ । जसमा २ जना क्यापटेन, ३ जना इन्जीनियर र बाँकी मार्काेटीङका कर्मचारीहरु रहेको एयरलाइन्सले जनाएको छ । अरु वायुसेवा कम्पनीले सञ्चालन गरेको भन्दा हाम्रा जहाजको उडान खर्च नै बढी हुन्छ, लामो समयदेखि नोक्सानीमा उडान हुँदै आएपछि धेरै भएका कर्मचारी कटौती गरिएको हो, एयरलाइन्सका उपमहाप्रबन्धक उमेश आचार्यले बताए । उनका अनुसार कम्पनीले हाल सञ्चालित सिआरजे जहाज फेजआउट गरेर एटीआर जहाज भित्र्याउने तयारी गरेको छ । ‘हामीले एटीआर जहाज ल्याउने तयारी सुरु गरिसकेका छौँ, एटीआर ल्याएपछि थप कर्मचारी आवश्यक पर्ने भन्दै भएका कर्मचारी कटौती गरिएको थिएन, तर जहाज आउन केही समय लाग्ने भएपछि पछि राख्ने शर्तमा कर्मचारी कटौती गरिएको हो’, उनले भने, ‘बाहिर भएको हल्ला जसरी कम्पनी बन्द हुन लागेको होइन ।’ उनले सौर्य एयरलाइन्स बन्द नभई एटीआर जहाज ल्याएर नयाँ ढाँचामा कम्पनी सञ्चालन हुने दाबी गरे । दाजु भाईको झगडामा बुद्ध एयर ६३ प्रतिशत बजार हिस्सा रहेको बुद्ध एयरमा पछिल्लो समय सम्पत्ति विवाद चर्किएको छ । बुद्ध एयरका संस्थापक अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको निधनसँगै दुई छोराहरु विरेन्द्रबहादुर बस्नेत र भाई शिवेन्द्रबहादुर बस्नेतबीच सम्पत्ति विवाद सुरु भएको हो । कम्पनीमा आफ्नो ४० प्रतिशत सेयर रहेको तर बुबाको निधनपछि दाजु विरेन्द्रवहादुर बस्नेतले आफूखुशी निर्णय गर्न थालेको भाइले आरोप लगाएका छन् । दाजुले ठूलो आर्थिक घोटाला गरेको भन्दै उनले प्रश्न समेत उठाएका थिए । विरेन्द्रले भने भाईले २०५६ सालमा नै बुद्धको सेयर बिक्री गरेर नयाँ एयरलान्यस कम्पनी सञ्चालन गरेको भन्दै बुद्धसँग कुनै सम्बन्ध नरहेको बताउँदै आएका छन् । भाइले पत्रकार सम्मेलन गर्दै दाजुले सम्पत्ति हडपेको आरोप लगाएपछि दाजुले विज्ञप्ती जारी गर्दै यसअघि नै सबै सेयर बिक्री गरेर बाहिरिएको बताएका थिए । दुई दाजुभाईको झगडाको असर पछिल्लो समय दुद्धको उडानमा पर्न थालेको स्रोतको दाबी छ । दुई भाईको आन्तरिक कलहको हसर बुद्धमा देखिन थालेको स्रोतको दाबी छ । कम्पनीले राम्रै बिजनेस गरिरहेको भएपनि दाजुभाईको झगडाले कम्पनीको ग्रोथमा नकारात्मक संकेत देखिन थालेको हो । फागुनदेखि बन्द गुण एयर कर्मचारीलाई तलब समेत भुक्तानी गर्न नसकेपछि गुण एयरलाइन्स बन्द भएको छ । कर्मचारीले तीन महिनादेखि सेवासुविधा नै नपाएको गुनासो गरेपछि नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले ०७९ को फागुन १ गतेदेखि ग्राउण्डेड (बन्द) गरेको हो । २०७८ को असोजदेखि गुण एयरले नियमित उडान गर्दै आएको छ । सिम्रिक एयरलाइन्सको नामबाट उडान सञ्चालन गर्दै आएकोमा २०७८ को असोजदेखि गुण एयरको नामबाट उडान सुरु भएको थियो । पुरानै नामबाट एयरलाइन्स सञ्चालनमा आएसँगै गुणले अधिकांश गन्तव्यमा नोक्सानीमा नै उडान गर्दै आएको थियो । अन्य वायुसेवा कम्पनीलाई टक्कर दिन न्यूनतम मूल्यामा उडान गरेको छोटो समयमा नै कम्पनी बन्द भएको हो । प्राधिकरणले कर्मचारीको गुनासो आएको भन्दै उडान ग्राउण्डेड गरेर अनुसन्धान गर्दा आर्थिक अवस्था कमजोर देखिएको थियो । क्यानले उडान नै बन्दको घोषणा गरेको चार महिना वितिसक्दा समेत गुणले उडानका लागि पुनः केही तयारी नगरेको प्राधिकरणले जनाएको छ । ‘हामीले ग्राउण्डेड गरेपछि उडानका सम्बन्धमा एक पटक पनि प्राधिकरणमा गुण एयरका सञ्चालक आएका छैनन्, अवस्था निकै कमजोर भएर नै त होला,’ प्राधिकरण स्रोतले भन्यो । हवाई इन्धनको मूल्य उच्च हुँदा नोक्सानी एक वर्षको अबधिमा हवाई इन्धनको मूल्यमा आएको उत्तारचढावका कारण त्यसको असर हवाई सेवा कम्पनीमा परेको सञ्चालकहरु बताउँछन् । रुस-युक्रेन युद्धका कारण हवाई इन्धनको मूल्यमा बढ्दा त्यसको असर वायुसेवा कम्पनीमा परेको उनीहरुको भनाइ छ । गत वर्षसम्म आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ७० रुपैयाँसम्म थियो, अहिले १५० रुपैयाँ पुगको छ, हवाई इन्धनको मूल्य झन्डै दोब्बर हुँदा अहिले कुनै पनि वायुसेवा कम्पनी नाफामा छैनन, एक वायुसेवा कम्पनीका सञ्चालकले भने, ‘हवाई इन्धनको मूल्यसँगै प्राधिकरणले आन्तरिक शुल्क बढाउँदा त्यसको प्रत्यक्ष असर देखियो ।’ प्राधिकरणले गत वर्षसम्म हवाई प्रति टिकट २ सय रुपैयाँ सेवा शुल्कका रुपमा उठाउने गरेकोमा चालु आर्थिक वर्षदेखि त्यसलाई बढाएर ५ सय रुपैयाँ बनाएको छ । यस्तै, कमिशनका रुपमा प्रति टिकट ३ सय गरी हवाई टिकटबाट मात्रै वायुसेवा कम्पनीले ८ सय रुपैयाँ प्राधिकरणलाई भुक्तानी गर्दै आएका छन् । यस्तै, विभिन्न सेवा सुविधा अन्तर्गत वार्षिक रुपमा ६ हजार रुपैयाँसम्म बुझाउनु पर्नेमा गत वर्षदेखि त्यसलाई बढाएर १४ हजार रुपैयाँ पुर्याईएको ती सञ्चालक बताउँछन् । नेपाल नागरिक उडड्यन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौला गुण एयरलाइन्स बाहेक अन्य कम्पनीको विषयमा कुनै जानकारी नआएको बताए । ‘हामीले केही समय अगाडी गरेको फाइनान्सीङ अडिटमा सबै कम्पनीको रिपोट राम्रै देखिएको थियो, संकट नै आयो भन्ने खालकोे गुनासो हामीकहाँ आएको छैन’, उनले भने ।
फिक्कल गाउँपालिकाद्वारा मिलेर बस्ने उत्कृष्ट सासू–बुहारीलाई सम्मान
सिन्धुली । पारिवारिक मेलमिलाप र घरेलु हिंसा अन्त्य गर्ने उद्देश्यले फिक्कल गाउँपालिकाले सासू–बुहारीलाई सम्मान गरेको छ । गाउँपालिकाको आर्थिक वर्ष २०७९/८० को वार्षिक कार्यक्रमअन्तर्गत छवटा वडाका छ जोडी सासू–बुहारीलाई सम्मान गरेको हो । यस वर्ष पनि फिक्कलले गाउँपालिकाभित्रका उत्कृष्ट सासू–बुहारीलाई सम्मान गरेको गाउँपालिका उपाध्यक्ष राजु बरालले जानकारी दिए । गाउँघरमा सासू–बुहारीको सम्बन्धलाई नकारात्मक दृष्टिले हेर्ने परिपाटीलाई न्यूनीकरण गर्ने उद्देश्यले समाजमा रहेका अनुकरणीय सासू–बुहारीलाई गाउँपालिकाले हरेक वर्ष सम्मान गर्दै आएको उनले जानकारी दिए । प्रत्येक वडाका उत्कृष्ट सासू–बुहारीलाई खोजी हरेक वर्ष गाउँपालिकाले सम्मान गरिने कार्यलाई निरन्तरता दिने बताए। ज्येष्ठ नागरिकलाई गरिने व्यवहार सकारात्मक र बुहारीलाई पनि छोरीसरह व्यवहार होस् भनेर गाउँपालिकाले सम्मान गर्दै आएको र सबै वाडामा यसै प्रकारले सम्मान गरिने उनको भनाइ छ । गाउँपालिकाले मेलमिलापका साथ सासू–बुहारीसँगै बसेका छ वडाका १२ सासू–बुहारीलाई प्रमाणपत्रसहित दोसल्ला आढाएर सम्मान गरेको छ । सम्मानित हुनेमा वडा नं १ का मुसीमाया कामी, अन्जना विक, वडा नं २ का बालकुमारी मगर, गङ्गाकुमारी मगर, वडा नं ३ का कल्पना कुमारीश्रेष्ठ, मुना श्रेष्ठ, वडा नं ४ का मैया आले र लीलाकुमारी मगर, वडा नं ५ शिवकुमारी घिमिरे, पार्वती घिमिरे र वडा नं ६ का बुद्धमाया मगर र जमुना मगर रहेका छन् । उनीहरूलाई सासूले बुहारीलाई छोरी समान र बुहारीले सासुलाई आमाको भूमिकामा राखेको जनाउँदै सम्मान गरिएको हो । गाउँपालिका अध्यक्ष पार्वती सुनुवारले समाजमा सासू–बुहारीबीचको सम्बन्धलाई हेर्ने दृष्टिकोणमा फरक ल्याउनुपर्नेमा जोड दिए । अब सासु होइन आमा र बुहारी नभई छोरीको सम्बन्ध कायम गर्नुपर्ने उनले बताए । रासस ।
आजको मौसम : कोशी र बागमती प्रदेशमा भारी वर्षाको सम्भावना
फाइल तस्बिर काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । यसका कारण देशका अभिर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती र कर्णाली प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगजन÷ चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र बागमती प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । कोशी र मधेस प्रदेशका धेरै स्थानमा तथा बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ । रातिको समयमा कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएकोछ । कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
इम्बोस्ड नम्बर प्लेट जडान सुस्त : सात वर्षमा ५० हजार सवारीमा मात्रै
काठमाडौं । सरकारले ‘इम्बोस्ड नम्बर प्लेट’का लागि सम्झौता गरेको सात वर्षमा झन्डै ५० हजार सेवाग्राहीले आफ्नो सवारी साधनमा नम्बर प्लेट जडान गरेका छन् । सरकारले बाध्यकारी नगरेकाले अहिलेसम्म थोरै सङ्ख्यामा मात्रै नम्बर प्लेट जडान भएको हो । यातायात व्यवस्था विभागले अहिलेसम्म झन्डै तीन लाख नम्बर प्लेट उत्पादन भएर आएकोे जनाएको छ । आपूर्तिकर्ताका कारणले नभएर विभागले नै बाध्यकारी नगरेकाले जडानमा ढिलाइ भइरहेको विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुले बताए । उनले भने, ‘आपूर्तिकर्तालाई अहिलेसम्म काम दिन सकिएको छैन ।’ आपूर्तिकर्ताले विभागले माग गरेअनुसारको उत्पादन गर्न सकिने भनिरहेको उनले बताए । लामो समयसम्म कुन भाषामा बनाउने भन्ने अन्योलका कारण पनि यसको प्रगति ढिलाइ भएको जनाइएको छ । सरकारले नेपालीमा समेत ‘इम्बोस्ड नम्बर प्लेट’ छाप्ने भनेकाले अहिले विभागले यसका लागि आवश्यक तयारी गरिरहेको छ । एकैपटकमा धेरै सेवाग्राहीलाई सेवा दिन सरकारको आफ्नै क्षमता कस्तो छ भन्ने महत्त्वपूर्ण रहेको प्रवक्ता पनेरुले बताए । उनका अनुसार कार्यालयमा जडान गर्ने क्षमता, जनशक्ति, गाडी राख्ने ठाउँलगायतका भौतिक पूर्वाधारका कुरा हुन आवश्यक छ । यातायात व्यवस्था कार्यालयहरू प्रदेश मातहतमा रहेकाले विभागले मात्रै चाहेर नहुने उनको भनाइ थियो । यी कार्यालयसँग समन्वय गरेर कति सङ्ख्यामा कसरी सकिन्छ भनी योजना बनाइने उनले बताए । उनले भने, ‘हामीले समन्वयको काम गर्ने हो । खास काम गर्नुपर्ने यातायात कार्यालयहरुले भएकाले उनीहरूको साधन स्रोतले पनि भ्याउने हुनुपर्छ ।’ कहिले अदालतमा मुद्दा भएकाले त कहिले भाषासम्बन्धी विवादका कारणले इम्बोस्ड नम्बर प्लेट जडान सुस्त भएको जनाइएको छ । आपूर्तिकर्ता कम्पनीका कारण नभएर अरु कारणले ढिलाइ भएकाले विभागले अवधि थपिरहेको छ । पछिल्लोपटक थप भएको अवधिअनुसार आगामी मङ्सिरसम्म अवधि रहेको छ । सबैको समन्वय भएर काम हुँदा यसले गति लिनसक्ने उनले बताए । आपूर्तिकर्ताले धमाधम छाप्ने र यातायात कार्यालयले त्यहीअनुसार जडान गरेर अबको केही समयमा नै सम्पन्न हुनसक्ने सम्भावना रहेको उनले बताए । त्यतिबेलासम्म पनि केही समस्या आयो र सकिएन भने सरकारले समाधान गर्ने उनको भनाइ छ । विभागले विसं २०७३ जेठ १७ गते टाइगर आइटी (द कर्पोरेसन)सँग नम्बर प्लेट आपूर्ति र जडानका लागि सम्झौता गरेको थियो । रासस ।
घरजग्गा किन्दै हुनुहुन्छ ? हिमालयन बैंकले बेच्दै छ १८ ठाउँमा घरजग्गा
काठमाडौं । हिमालयन बैंकले आफ्नो स्वामित्वमा रहेको गैह्र बैंकिङ्ग सम्पत्ति बिक्री गर्ने भएको छ । बैंकको स्वामित्वमा रहेका देशभरीका विभिन्न १८ स्थानमा रहेका घरजग्गा लिलामी गर्ने भएको हो । बैंकले रामेछाप, काभ्रेपलान्चोक, रुपन्देही, काठमाडौं, झापा, पर्सा, मोरङ, महात्तोरी लगायतका जिल्लाका १८ ठाउँको घरजग्गा बिक्री गर्ने भएको हो बैंकले बिक्री गर्न लागेको सम्पत्ति जे जस्तो अवस्थामा छ सोही अवस्थामा बिक्री गरिने जनाएको छ । सो सम्पत्ति खरिद गर्न इच्छुक व्यक्ति, फर्म, कम्पनी र संस्थाले लिन चाहेको रकम उल्लेख गरी १५ दिनभित्र शीलबन्दी बोलपत्र पेश गर्न बैंकले आग्रह गरेको छ ।