सामूहिक नमाज पढेर बकर इद मनाइँदै, के हो इदुल जोहा ?
काठमाडौं । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदान प्रदान गर्ने गरिएको छ । यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्छ । हिजरी संवत्अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको मुस्लिम आयोगका पूर्वअध्यक्ष निर्दोष अलीले जानकारी दिए । मुस्लिम धर्म गुरु (मौलाना) रहमत अली ऐतिहासिक बकर इद पर्वको आधार बनेका इब्राहिमको वंशमा सन् ५७१ मा मक्कामा मोहम्मद सलल्ला जन्मिइ निरन्तरता दिएको बताउँछन् । जसले यो पर्व एवं धर्मलाई पुस्तान्तर गर्न महत्वपूर्ण योगदान गर्दै हदिस नामक धर्मग्रन्थको रचना गरेका थिए । ‘जुन ग्रन्थलाई अहिले मुस्लिम धार्मिक विद्यालय (मदरसा)मा समेत अध्ययन अध्यापन गराइन्छ, मक्कामा जन्मिएका सलल्ला ५३ वर्षको उमेरपछि मदिनामा सर्नुभएको थियो, यही सम्झनामा अहिले पनि साउदी अरबमा पर्ने यी दुवै तीर्थस्थलमा ठूलो मेला लाग्ने गरेको छ,’ उनले भने । यस पर्वका अवसरमा मक्का मदिना जानु शुभ मानिन्छ । मक्का मदिना जान गृह मन्त्रालयले आतेजाते विमान टिकटको व्यवस्था गरी हजयात्रा गराउने गरेको छ । यसका लागि गृहमन्त्रालयअन्तर्गत हज समितिको सचिवालय स्थापना गरिएको छ । मक्का मदिना जान नपाउने हजयात्रीले समेत घरघरमै बकर इद मनाउँछन् । यो पर्वको मुख्य उद्देश्य नै हजयात्रा हो । यस पर्वमा अल्लालाई खुसी पार्न मुसलमान धर्मले जायज मानेका जनावरलाई बलि (कुर्बानी) दिन्छन् । धार्मिक मान्यताअनुसार अल्लाहका नवी (दूत) इब्राहिम अलि सलामले ९० वर्षको उमेरमा पत्नी हाजराबाट प्राप्त गरेको सन्तान छोरा इस्माइललाई कुर्बानी गर्नुपर्ने आदेश प्राप्त भयो । जसलाई पालना गर्दा अल्लाह प्रसन्न भएर इस्माइलको कुर्बानी नभएर स्वर्ग (जन्नत) मा पालिएका दुम्बाको कुर्बानी भएको धार्मिक मान्यता छ । यसै कारण अहिलेसम्म कुर्बानी गर्ने प्रचलनलाई कायम राखेको मुस्लिम धर्मावलम्बीको भनाइ छ । निसन्तान इब्राहिमले सन्तान प्राप्तिका लागि अल्लाहसँग मन्नत मागेका थिए । अल्लाहले मलाई सन्तानको सुख दियो भने म कुर्बानी गर्छु भन्ने इब्राहिमको प्रतिबद्धता थियो । सोहीअनुरुप अल्लाहले निजको परीक्षणस्वरुप सपनामा कुर्बानी गर्नुपर्छ भनेका थिए भन्ने मुस्लिम धर्मावलम्बीको विश्वास छ । उनले धेरै जनावर कुर्बानी गरे तर अल्लाह खुसी भएका थिएनन् । अन्तिममा आफ्ना सबैभन्दा प्यारा छोरालाई नै कुर्बानी गरी अल्लाहलाई राजी गर्न चाहेका थिए । यस घडीमा उनको परीक्षण सफल सावित भएपछि कुर्बानी गर्ने स्थानमा मानिसको होइन त्यही जन्नतमा पालिएर आएका दुम्बाको कुर्बान (बलि) भएको थियो । कुर्बानीको मासु तीन भागमा बाँडी वितरण गरिन्छ । एक भाग गरिब एवं विपन्न परिवारलाई, अर्को भाग आफ्ना इष्टमित्रलाई र तेस्रो भाग आफैँले खानुपर्ने मुस्लिम धार्मिक मान्यता छ । यसैअनुसार आज पहिलो दिनको बकर इद मनाइँदै छ । मुस्लिम धर्मावलम्बीले शनिबारसम्म यो पर्व मनाउने छन् । यो पर्व मनाउने तीनै दिन कुर्बानी गर्नुपर्ने मुस्लिम धर्मावलम्बीको विधि रहेको नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनले जानकारी दिए । यस अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।
नेपाललाई प्याजमा पनि आत्मनिर्भर बनाउनुपर्ने आवश्यकता छः अर्थमन्त्री महत
काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले नेपाललाई प्याजमा पनि आत्मनिर्भर बनाउनुपर्ने आवश्यकता रहेको बताए । बुधवार प्रतिनिधि सभामा आर्थिक विधेयक २०८० माथि विचार गरियोस भन्ने प्रस्ताव माथिको छलफलमा सांसदहरुले प्रश्न उठाएको विषयमा जवाफ दिँदै अर्थमन्त्री महतले यस्तो बताएका हुन् । उनले आलुमा मुलुक आत्मनिर्भरतातर्फ उन्मुख भएको भन्दै प्याजमा पनि आत्मनिर्भर बनाउनको लागि मूल्य अभिवृद्धिकर भ्याटको व्यवस्था गरिएको बताए । मुलुकभित्र आलु प्याज उत्पादन गर्ने उत्पादकहरु साना–साना रहेको भन्दै व्यवसायीक रुपमा एउटैले उत्पादन गर्न नसक्ने अवस्था रहेको बताउँदै उनले आन्तरिक उत्पादनको सप्लार्यसहरु पनि साना रहेकाले उनीहरु भ्याटको दायरामा आउनसक्ने भनाई राखे । अर्थमन्त्री महतले कालिमाटी तरकारी बजारमा विदेशबाट आयात हुने व्यवसायीहरुको समूह रहेको बताए । उनले गोल्भेडा नेपालमा उत्पादन हुँदा हुँदै पनि उपभोक्ताले कम पाइरहेको अवस्थामा उत्पादकहरुले सडकमा फालिरहेको, कालिमाटीमा विचौलियाको कारण मुलुकभित्रको उत्पादनले प्रवेश नपाउने तर बाहिरबाट आएकाले सर्सर्ति प्रवेश पाउने अवस्था रहेको र मुलुकभित्रका साना–साना उत्पादन गर्नेहरुलाई यो भ्याट नलाग्ने बताए । ‘मुलुक आलुमा आत्मनिर्भरता तर्फ अघि बन्दै गएको छ, प्याजमा पनि आत्मनिर्भर तर्फ जानैपर्छ, त्यसो हुनाले हामीले मूल्य अभिवृद्धिकर भ्याटमार्फत आलु प्याजलाई आत्मानिर्भरता लैजान खोजेको हो। एकतिरबाट अनुदान सहुलियत अर्को तर्फबाट भन्सारमा भ्याट लगाउँछौं । प्रश्न उठेको छ । आन्तरिक उत्पादनमा पनि लाग्ने भयो नी ? सरकारको अहिले पनि उत्पादकहरु साना-साना छन् । व्यवसायीक रुपमा एउटैले उत्पादन गर्दैन । सप्लार्यस पनि साना-साना छन् । किसानहरु धादिङ,काभ्रे,नुवाकोटको उत्पादन काठमाडौंमा खपत हुन्छ । उनीहरु भ्याटको परिधि भित्र आउँदैनन्,’ उनले भने । ‘कालिमाटी तरकारी बजारमा विदेशबाट आयात हुने व्यवसायीहरुको समूह छ, उनीहरुले गोल्भेडा नेपालमा उत्पादन हुँदा हुँदै पनि उपभोक्ताले कम पाइरहेको छ । उत्पादकहरुले सडकमा फालिरहेका छन्, त्यहाँ याक्सेसमा समस्या छ, उनीहरुको बलियो नेटवर्क छ, त्यसले गर्दा मुलुकभित्रको उत्पादनले प्रवेश पाउँदैन, बाहिरबाट आएको सरसति प्रवेश गर्छ, मुलुकभित्र नै साना–साना उत्पादन गर्नेहरुलाई यो भ्याट लाग्दैन, विदेशको सामान आयात गरेर सामान खरिद गर्छ भने भ्याट लाग्छ, डिपार्टमेन्ट स्टोरमा जसले किन्छ, डिपार्टमेन्ट स्टोरमा किन्नेहरुले नेपाली उत्पादन किन्ने भने पनि भ्याट लाग्छ, डिपार्टमेन्ट स्टोरमा जाने अलि हैसियत भएको मानिस नै जान्छ, साना–साना पसलहरुमा कुनै भ्याटको व्यवस्था छैन, भ्याटको परिधिमा पर्ने डिपार्टमेन्ट स्टोर बाहेक अन्य कुनैमा लाग्दैन, यो भ्याटले नेपाली उत्पादकहरुलाई हैसला दिन्छ, यो व्यवस्थाले आम उपभोक्तालाई समस्या पर्दैन,’ अर्थमन्त्री महतले भने ।
तेह्रथुम पावर कम्पनीले परिवर्तन गर्यो सम्पर्क कार्यालय
काठमाडौं । तेह्रथुम पावर कम्पनीको सम्पर्क कार्यालय परिवर्तन भएको छ । काठमाडौं महानगरपालिका वार्ड नं. २८ बागबजारमा रहेको कम्पनीको कार्यालय अब सोही महानगरको वार्ड नं. ९ बत्तिसपुतलीमा हुने भएको हो । असार १२ गते बसेको कम्पनीको बैठकले कम्पनीको सम्पर्क कार्यालय परिवर्तन गर्ने निर्णय गरेको हो । जुन आगामी साउन १ गतेदेखि लागू हुने छ ।
अस्पतालबाट डिस्चार्ज भए राष्ट्रपति पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल त्रिवि कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचारपछि डिस्चार्ज भई राष्ट्रपति निवास फर्किएका छन् । उनी यही असार २ गते अस्पतालमा भर्ना भई विभिन्न परीक्षण, चिकित्सकको निगरानी तथा उपचारपछि बुधबार दिउँसो निवास फर्केका हुन् । चिकित्सकका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । राष्ट्रपति पौडेलले उपचारका लागि गठित विशेषज्ञ समूहमा संलग्न चिकित्सक, परामर्श समूहमा संलग्न विभिन्न अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी तथा सुरक्षाकर्मीलाई धन्यवाद दिएका छन् ।
मीनबहादुरको नाममा १० अर्ब ऋण, कसले सम्हाल्छ भाटभटेनीको साम्राज्य ?
काठमाडौं । नेपाली व्यवसायीहरु माझ छोटो समयमै मनग्य कमाएर अर्बपतिको लाइनमा आउने व्यक्ति मध्येका व्यवसायी हुन् मीनबहादुर गुरुङ । देशको सबैभन्दा ठूलो डिपार्टमेन्टल स्टोर भाटभटेनी सञ्चालन गरेर आफुलाई स्थापित मात्रै होइन, सुपर मार्केटको क्षेत्रमा पायोनियर व्यवसायीका रुपमा परिचित उनलाई पछिल्लो समय पछ्याउनेको जमात ठूलो छ । आम सर्वसाधारणले मात्रै होइन उनको व्यवसायको सिको अरू व्यवसायीहरुले पनि गरिरहेका छन् । सपिङ सेन्टरमा आफुलाई सफल व्यवसायीको रुपमा सावित गरेका गुरुङको मंगलबारको घटनाले भने उनलाई हेर्ने धेरैको नजर फेरियो । उनी मंगलरबार पक्राउ परे । ललिता निवास जग्गा प्रकरणमा मुझिएका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले मंगलबार बिहानै नियन्त्रणमा लियो । जसले निजी क्षेत्रमात्रै होइन, बैंक तथा वित्तीय क्षेत्र र उनीसँग निकट भएर काम गरिरहेका व्यवसायीहरु माझ पनि ठूलै तरंग मच्चियो । ललिता निवास प्रकरणमा यसअघि पनि हिरासतमा बसिकेका गुरुङ पुनः पक्राउ परे । उनीसँगै प्रहरीले मंगलबार ७ जनालाई पक्राउ गर्यो । पक्राउ पर्नेमा गुरुङसहित निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, पूर्वसहसचिव कलाधर देउजा, पूर्वउपसचिव भुपेन्द्रमणि केसी, सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम, गोपाल कार्की छन् । उनीहरुलाई सात दिन हिरासतमै राख्न अदालतले आदेश दिइसकेको छ । २०७६ माघ २२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा ललिता निवासको १ सय १३ रोपनी जग्गा हिनामिना भएको भन्दै मुद्दा दायर गरेको थियो । त्यतिखेर अख्तियारले माघ २२ गते गुरुङसहित १७५ जनाविरुद्ध मुद्दा दर्ता गराएको थियो । पछि उनी हिरासतमा पनि पुगे । विशेष अदालतले उनलाई २ करोड धरौटीमा रिहा गर्न आदेश दियो र उनी हिरासतमुक्त भए । अहिले उनी पुनः पक्राउ पर्नुले धेरैले गम्भिरताका साथ लिएका छन् । यसपटक सरकारले ललिता निवास प्रकरणमा मुछिएकाहरुमाथि गम्भीर रुपमा अनुसन्धान गरेर गलत गर्नेलाई कारवाही गरेरै छाड्ने योजनाका साथ काम गरिरहेको बुझिएको छ । अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री नारायणकाजी श्रेष्ठ छन् । उसो त गुरुङलाई धेरैले माओवादी केन्द्रसँग निकट व्यवसायीका रुपमा चिन्छन् । तर, गृहमन्त्री श्रेष्ठको एक्सनले त्यो संकेत गरेन । मंगलबार पक्राउ परेकाहरुमध्ये पहिलो निशाना श्रेष्ठले गुरुङमाथि नै लगाए । अर्थात् सुरुमै गुरुङको हातमा हतगडी लाग्यो । के होला भाटभटेनीको साम्राज्य ? विशेष गरेर व्यवसायको कमाण्डरको अनुपस्थितिमा व्यापार खस्किने गरेका उदाहरणहरु नेपालमा प्रशस्त छन् । कुनै बेला नेपाली व्यवसाय क्षेत्रमा राज गरेका व्यवसायी इच्छाराज तामाङको हिरासत बसाईंले उनको व्यवसायिक जीवन नै लगभग समाप्त पार्यो । उनका दर्जनौं कम्पनीहरु अहिले समस्यामा छन् भने कतिपय व्यवसायहरु बन्द नै भएका छन् । छोटो समयमै हिरासत बसाईंले पनि अधिकांश व्यवसायीको व्यवसायिक जीवन खलबलिएका उदाहरणहरु प्रशस्त छन् । ती सबै ‘वान म्यान आर्मी’ बन्दाको कारण हो । भाटभटेनीका सञ्चालक गुरुङ पनि आफ्नो व्यवसायका ‘वान म्यान आर्मी’ हुन् । स्रोतका अनुसार कम्पनीमा स–सानो निर्णय लिँदा पनि उनको उपस्थिति अत्यावश्यक हुन्थ्यो । सानाे सानाे रकम भुक्तानीमा पनि उनकाे सहमति अनिवार्य गरिएकाे छ । अर्थात् व्यवस्थापन समूहले उनको अनुपस्थितमा स–साना निर्णय पनि गर्न नपाउने नियम उनले कम्पनीभित्र लगाएका थिए । उनले भाटभटेनी डिपार्टमेन्ट स्टाेरकाे नाममा विभिन्न बैंकबाट बैंक तथा वित्तीय संस्थामा १० अर्ब रूपैयाँ भन्दा बढी ऋण लिएका भेटिएकाे छ । गुरूङ लामाे समय जेलमा पर्दा उनले लिएकाे कर्जाले धेरै बैंक तथा वित्तीय संस्थालाई पिराेल्ने जानकारहरू बताउँछन् । व्यवसायको मुख्य नायकको अनुपस्थितमा व्यवसायमा नकरात्मक प्रभाव पर्ने देखिएमा बैंकहरुले पनि ऋण असुलीमा ध्यान दिन्छन् र सम्पत्ति लिलामको प्रक्रिया अगाडि बढाउँछन् । गुरुङको हिरासत बसाईं लम्बिएमा बैंकहरुले अवश्य नै यो प्रक्रिया अगाडि बढाउने छन् र उनको सम्पत्ति लिलामीमा चढ्नेछ । यसको निर्धारण भने उनको हिरासत बसाईंले गर्नेछ । उसो त भाटभटेनी पछिल्लो समय नेपालमा बलियो ब्राण्ड बनेर स्थापित भएको छ । भाटभटेनीको आफ्नै पूर्वाधार र बलियो अपरेशन प्रणाली छ । यस कारण पनि उनको छोटो समयको हिरासत बसाईंले कम्पनीमा खासै प्रभाव पार्ने छैन । तर, हिरासतमा उनको बसाईं लम्बियो भने उनको व्यवसायिक जीवनमा नकारात्मक प्रभाव पार्न सक्ने उनी निकट स्रोत बताउँछ । ३५ हजार रुपैयाँमा व्यवसायिक जीवनको सुरुवात गरेका गुरुङ अहिले अर्बौं सम्पत्तिका मालिक छन् भने देशभर भाटभटेनीका २३ वटा स्टोरहरु सञ्चालन गरिरहेका छन् , थप २ स्टाेर सञ्चालनकाे अन्तिम तयारीमा छन् । करिब ५ हजार कर्मचारीलाई रोजगारी दिएका छन् । देशका मुख्य शहर र ठाउँहरुमा भाटभटेनीका स्टोरहरु छन् । उनले प्रत्येक वर्ष नयाँ–नयाँ ठाउँमा स्टोर सञ्चालन गरिरहेका छन् । गत वर्ष भाटभटेनीमा करिब २५ अर्ब रूपैयाँ भन्दा बढीको काराेबार भएकाे छ । सुपर मार्केट व्यवसायमा उनी सफल भएपनि उनलाई आर्थिक रुपमा सवल र छिट्टै धनी बनाउने क्षेत्र भने घरजग्गा भएको गुरुङ निकटस्थ स्रोत बताउँछ । उनी घरजग्गा व्यवसायी पनि हुन् । घरजग्गा व्यवसायी भएकै कारण उनी ललिता निवास प्रकरणमा जोडिन पुगे । बालुवाटारको सयौं रोपनी जग्गा ब्यक्तिका नाममा गराउने मुख्य भूमिका गुरुङले नै खेलेको विषय यसअघि अख्तियारले दायर गरेको अभियोग पत्रमा पनि उल्लेख थियो । सार्वजनिक जग्गा गैरकानुनी रुपमा आफूसमेतको नाममा सट्टाभर्ना गरेर आफूलाई लाभ र सरकारलाई हानी पुर्याउने काम गरेको अभियोग गुरुङमाथि लगाइएको थियो । त्यसबाट पनि उनले ठूलो लाभ लिएको बुझिएको छ । ललिता निवास क्षेत्रमा हडपीएकाे ११३ राेपनी जग्गा मध्ये २९ राेपनी अहिले पनि गुरुङकाे नाममा रहेकाे नेपाल प्रहरी केन्द्रीय अनुसन्धान व्यूराेले जनाएकाे छ । कसले सम्हाल्छ व्यवसाय ? कम्पनीमा आफ्नो अनुपस्थितमा कुनै महत्वपूर्ण निर्णय गराउन रोक लगाएका गुरुङको भाटभटेनीको व्यवसाय अब कसरी अगाडि बढ्ला ? कसले व्यवसायको नेतृत्व गर्ला ? भन्ने विषय पनि चासोका साथ हेरिएको छ । उसो त उनकी श्रीमती सावित्री गुरुङ, छोरा कल्याण गुरुङ, भाई पहलमान गुरुङ र छोरी कामनाले पनि उनको व्यवसाय हेर्ने गरेका छन् । सावित्री भाटभटेनीको सञ्चालक समितिमै छिन् । तर, कल्याण, पहलमान, छोरी कामना र भाइबुहारी सरलाको नाम पनि ललिता निवासको जग्गा किर्तेमा जोडिएको छ । उसो त भाटभटेनी ग्रुप व्यवस्थापनमा अब्बल छ । व्यवस्थापन समूहमा अब्बल, अनुभवी र व्यवसायिक पृष्ठभूमीका व्यक्तिहरु छन् । अध्यक्ष मीनबहादुर गुरुङको नेतृत्वमा अन्य ८ जनाको टोली छ । सञ्चालनमा आएका सबै आउटलेटको व्यवस्थापनलाई व्यवस्थित बनाउन सबैको उत्तिकै भूमिका महत्वपूर्ण देखिन्छ । भाटभटेनीको व्यवसाय विकासको कार्यकारी निर्देशकमा पहलमान गुरुङ र आपूर्ति श्रृंखला व्यवस्थापनको कार्यकारी निर्देशकमा कल्याण गुरुङ रहेका छन् । चिफ अपरेटिङ अफिसर (सीओओ) मा पानु पौडेल छन् । चिफ एडमिनमा डीबी राई, चार्टर्ड एकाउन्टेन्टमा अनिल खरेल, आन्तरिक लेखापरीक्षणको प्रमुखमा सुनिश्चित मोक्तान र वरिष्ठ कार्यकारी मानव संसाधनमा मनोज अधिकारी रहेका छन् । यी सबै व्यवसायमा कुशल छन् । हिरासतमा गुरुङको बसाईं छोटो भएमा भाटभटेनीको व्यवसायमा खासै प्रभाव पर्ने छैन । तर, लम्बियो भने भाटभटेनीको दुरदशा सुरु हुनेछ ।
संघको प्रश्न- गलैँचामा भ्याट किन ? तत्काल फिर्ता गरियोस्
काठमाडौं । नेपाल गलैँचा उत्पादक तथा निकासीकर्ता सङ्घले गलैँचा उद्योग उत्पादन स्रोतमै मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने कार्य अव्यावहारिक रहेको जनाउँदै फिर्ता लिन सरकारसँग आग्रह गरेको छ । सङ्घले बिहीबार पत्रकार सम्मेलन गरी वार्षिकरूपमा ५० लाख रुपैयाँभन्दा कम कारोबार हुने उद्योग भ्याटमा दर्ता हुनु र जान नपर्ने स्पष्ट कानूनी व्यवस्था नरहेकाले समयमै निर्णय फिर्ता लिन सुझाव दिएको हो । सो अवसरमा सङ्घका अध्यक्ष तेन्जिङ गुरुङले मुलुकको कूल गार्हस्थ्य उत्पादनमा दुई दशमलव १६ प्रतिशत योगदान पुर्याउँदै आएको गलैँचा उद्योगलाई यस वर्षको बजेट वक्तव्यबाट सरकारको प्राथमिकताबाट हटाइएको भान भएको प्रतिक्रिया दिए । उनले भने- ‘सुविधा र सहुलियत दिएर अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा बढाउने कार्यमा सरकारको सहयोग र समन्वय आवश्यक छ ।’ सरकारको पछिल्लो निर्णयबाट नेपाली गलैँचाको उत्पादन लागत मात्र नभई मूल्यसमेत बढ्न गई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न चुनौती खडा हुने उनको भनाइ थियो । ‘आगामी आर्थिक वर्षमा गलैँचा उद्योगसँग सम्बन्धित व्यवस्थालाई पुनर्विचार गरी पूर्ववत् यथावत व्यवस्था कायम गरिदन सङ्घ सरकारसमक्ष अपील गर्दछ,’ सङ्घद्वारा जारी विज्ञप्तिमा भनिएको छ । करिब दुई सयको सङ्ख्यामा गलैँचा उत्पादक तथा निकासीकर्ता आवद्ध रहेको सङ्घले नेपाली गलैँचा उद्योगको संवर्द्धन, प्रवर्द्धन तथा विकासमा आवश्यक सहयोग र समन्वय गर्दै आएको छ । मुलुकको निकासीजन्य सामग्री उत्पादन गर्ने प्रमुख उद्योगका रूपमा रहेको गलैँचा उद्योगले वार्षिक १० अर्ब रुपैयाँ बराबरको सामग्री निकासी गरी भुक्तानी सन्तुलनमा टेवा पुर्याउँदै आएको छ । गलैँचा उद्योगले करिब दुई लाखलाई प्रत्यक्षरूपमा रोजगारी प्रदान गर्दै आएको महासचिव बलराम गुरुङले बताए । देशका अशिक्षित एवं गरिबीको रेखामुनि जीवनयापन गरिरहेका र सीमान्तकृत समूहलाई उद्योगले प्रत्यक्षरूपमा रोजगारी प्रदान गरेको सङ्घको दाबी छ । मुलुकको आयात र निर्यातबीच रही आएको ठूलो खाडल हटाएर सन्तुलन गर्न गलैँचा उद्योगले केही हदसम्म योगदान पुर्याइरहेको छ । सरकारले भ्याटसम्बन्धी गरेको निर्णयले वैदेशिक निर्यातमा ३० प्रतिशत गिरावट आउने जनाउँदै सङ्घले फिर्ता लिन अनुरोध गरेको उनले बताए । नेपालले गलैँचाका लागि चाहिने आवश्यक कच्चा पदार्थअर्थात् ऊन न्यूजिल्याण्ड र तिब्बतबाट ल्याउने गरेको छ । अल्लो, गाँजा, केराको रेशा तथा रेशमी धागो प्रयोग हुने भएकाले नेपाली गलैँचा अरु देशको तुलनामा सरदरमा २० प्रतिशत महँगो भए पनि गुणस्तरीय हुने गरेको निर्यातकर्ताको दाबी छ । कतिपय अवस्थामा एउटा गलैँचा तयार गर्न तीनदेखि छ महिनासम्म लाग्ने र त्यसको मूल्य ४० लाख रुपैयाँसम्म पर्ने जानकारी गराइयो । नेपालसँग कुनै बेला वार्षिक ३३ लाख वर्गमिटरसम्म गलैँचा उत्पादन गरेको रेकर्ड रहेकामा हाल वार्षिक चार लाख वर्गमिटर उत्पादन हुँदै आएको छ । रासस
नमस्ते पे पनि फोन पेमा आवद्ध, डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्ने
काठमाडौं । नेपालको पहिलो सरकारी स्वामित्वको डिजिटल पेमेन्ट वालेट नमस्ते पे पनि फोन पेमा आवद्ध भएको छ । उक्त फोन पे क्यु आर भुक्तानी नेटवर्कमा आवद्ध हुन दुई संस्थाबीच सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा फोन पेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमार सापकोटा र नमस्तेपेका प्रमुख कार्यकारी अधिकृत प्रविणराज पोखरेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार सबै नमस्ते पे प्रयोगकर्ताहरूले नेपालभरका १२ लाखभन्दा बढी फोनपे मर्चेन्टहरूमा फोनपे नेटवर्क मार्फत छिटो, सुरक्षित र सजिलो रूपमा क्युआर भुक्तानी गर्न सक्छन् । कार्यक्रममा बोल्दै फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमार सापकोटाले भने- ‘फोनपेको नेटवर्कमा नमस्ते पेलाई आधिकारिक रूपमा स्वागत गर्न पाउँदा हामी खुसी छौँ । अब नमस्तेपे प्रयोगकर्ताहरूले फोनपे क्युआर मार्फत पनि भुक्तानी गर्न सक्छन् । हामी विश्वस्त छौँ कि नमस्तेपेसँगको सहकार्यले डिजिटल भुक्तानीलाई नेपालमा प्रवर्द्धन गर्न थप मद्दत गर्नेछ ।’ त्यसैगरी, नमस्तेपेका प्रमुख कार्यकारी अधिकृत प्रविणराज पोखरेलले भने- ‘फोनपे नेटवर्कलाई हाम्रो भुक्तानी प्रणालीमा समेटी हाम्रा प्रयोगकर्ताहरूलाई १२ लाख भन्दा बढी मर्चेन्टहरूमा भुक्तानी गर्ने सेवा दिन पाउँदा हामी निकै उत्साहित छौँ । हामी हाम्रा ग्राहकहरूलाई विभिन्न सुविधाहरु प्रदान गर्दै डिजिटल अनुभव सरल बनाउन सँधै प्रयासरत छौँ । यो सहकार्यले हाम्रा ग्राहकहरूलाई निर्बाध, सुरक्षित र सुविधाजनक कारोबार र सरल भुक्तानी अनुभव सुनिश्चित गर्दछ ।’
‘वित्तीय साक्षरता कक्षाले बचत गर्ने बानी बस्यो’
खोटाङ। वित्तीय साक्षरता कक्षाले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नूनथलाका स्थानीय बासिन्दामा बचत गर्ने बानीको विकास भएको पाइएको छ । सुरक्षित आप्रवासन (सामी) कार्यक्रम खोटाङले मङ्गलबार नूनथलामा आयोजना गरेको सञ्चारकर्मी र सरोकारवालाबीच अन्तरक्रिया गर्नेक्रममा यस्तो पाइएको हो । वैदेसिक रोजगारीको सिलसिलामा विभिन्न देश पुगेका आफन्तले विदेशबाट पठाएका पैसाले नूनथलाका अधिकांश स्थानीय बासिन्दाले केही न केही व्यवसायसमेत सुरु गरेका छन् । केहीले व्यापार त केहीले तरकारी तथा बङ्गुरपालन गरेका छन् । नूनथलास्थित मूलडाँडाकी साङडोमा शेर्पाले विदेशबाट आएको रेमिट्यान्सलाई फजुल खर्च नगरी बचत गर्न थालेको बताइन् । ‘सामी कार्यक्रमले सञ्चालन गरेको २१ हप्ते रेमिट्यान्स व्यवस्थापन र सदुपयोगसम्बन्धी वित्तीय साक्षरता कक्षापछि आफ्नो श्रीमान्ले कतारबाट पठाउने पैसालाई चाहिदो मात्रामा घरखर्च गरेर बचत गर्न थालेकी छु,’ उनले भनिन्, ‘बालबालिकाको फजुल खर्च घटाएकी छु । पसलसँगै बङ्गुर पालेर आम्दानी बढाउन थालेको छु । श्रीमान् विदेशमा हुनुहुन्छ । परिवार चलाउन उहाँको मात्र भर पर्दिन । म पनि आम्दानी गर्छु ।’ नगरपालिकाले सञ्चालन गरेको सामी कार्यक्रमले नूनथलामा २१ दिने रेमिट्यान्स व्यवस्थापन र सदुपयोगसम्बन्धी वित्तीय साक्षरता कक्षा समापनको अवसरमा मङ्गलबार स्थलगत अध्ययन र अन्तरक्रिया गर्दा साङडोमाले जस्तै सहभागीले फजुल खर्च घटाएर बचत गर्न थालेको बताएकी छन् । नूनथलाकै मीना राईले छोरा दुबईमा रहेको र छोराले विदेशबाट पठाएको पैसालाई बढाउन डालो, नाङ्लो, थुन्से लगायतका सागम्री बुन्ने व्यवसायमा लगानी गरेको बताइन् । वित्तीय साक्षरता कक्षा लिएपछि विदेशबाट आएको पैसालाई फजुल खर्च नगरी सही ठाउँमा सदुपयोग गर्न र बचत गर्नुपर्छ भन्ने चेतना आएको साङलामु शेर्पाले बताइन् । कक्षा लिएपछि नै कतार पुगेका श्रीमानको सम्पूर्ण कागजातको एकएक प्रति फोटोकपी गरेर घरमै राखेको साङलामुले जानकारी दिइन् । वित्तीय साक्षरता कक्षाले आम्दानी बढाउनुपर्ने खर्च कम गर्नुपर्ने बानीको विकास गराएको अन्तरक्रियामा सहभागी निर्मला तामाङले बताइन् । तामाङले अहिले खुत्रुके बचतलाई प्राथमिकता दिएर बाख्रापालन व्यवसायी सुरु गरेका छन् । अर्का सहभागी पवित्रा तामाङले पनि खुत्रुके बचत गर्दै कुखुरा र बाख्रापालन सुरु गरेको सुनाइन् । नूनथलाकै फुर्लमु शेर्पाले बङ्गुरपालन गरेका छन् । वित्तीय साक्षरता कक्षापछि व्यावसायिक रुपमा बेमौसमी तरकारी खेती गर्न थालेको मूलडाँडाका दोर्जे शेर्पाले बताए । ‘एउटा टनेलामा गोलभेडा र अर्को टनेलामा फूलकोभी लगाउँदै आएको छु । गाँजर, खुर्सानी, बन्दाकोभी पनि लगाएको छु । उत्पादन भएका तरकारी दिक्तेलमा बिक्री गर्न लान्छु,’ उनले भने, ‘आफूले बिक्री गरेको सम्पूर्ण आयव्याय खर्च पनि राख्न थालेको छु ।’ वित्तीय साक्षरता कक्षापछि नै ‘नूनथला वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श समूह’ नामक कृषि समूह नगरपालिकामा दर्ता गरिसकेको शेर्पा बताउँछन् । वैदेशिक रोजगारीमा रहेका व्यक्तिका परिवारले गठन गरेका किसान समूहलाई वडा कार्यालयबाट समेत सम्बोधन गर्ने गरिएको नूनथलाका वडाध्यक्ष भगेश्वर राईले बताए । वरिष्ठ पत्रकार कृष्ण आचार्यले समस्यापछि लड्नुभन्दा वैदेशिक रोजगारसम्बन्धी अगाडि नै सचेत भएमा समस्या कम गर्न सकिने बताए । श्रीमान् वा विदेश जाने व्यक्तिको प्रत्येक कागजातको फोटोकपी मगाएर अनिवार्य रुपमा घरपरिवारले राख्न पत्रकार आचार्यले सुझाव दिए । रेमिट्यान्स व्यवस्थापन र सदुपयोगसम्बन्धी वित्तीय साक्षरता कक्षाले फजुलखर्च गर्नबाट जोगाएर परिवारको श्रीमान्लाई बारम्बार विदेश जान रोक्नमा मद्दत गर्ने सामीका कार्यक्रम संयोजक ओजोनबाबु आचार्यले बताए । कार्यक्रममा वित्तीय साक्षरता कक्षामा रेमिट्यान्स सदुपयोग, व्यवस्थापन गर्दै उद्यमशीलता विकास आयआर्जनमा वृद्धि, व्यवसायिकता, आर्थिक, व्यवहारिक विषयवस्तुमा छलफल गरिएको थियो । वैदेशिक रोजगारको कारणले परिवार तथा व्यक्तिमा हुने पीडा, चिन्ता, हिंसा लगायतका विषयमा मनोसामाजिक परामर्शसमेत दिइएको थियो । नूनथलास्थित वडा कार्यालयमा आयोजित वित्तीय साक्षरता कक्षामा वैदेशिक रोजगारीमा संलग्न व्यक्तिका परिवार, विशेष गरेर महिला सदस्य सहभागी भएका थिए । चालु आर्थिक वर्षमा नूनथला र जालापमा २५/२५ जनाको दुई/दुई समूह बनाएर वित्तीय साक्षरता कक्षा सञ्चालन गरिएको जनाइएको छ । अघिल्लो आर्थिक वर्षमा नेर्पा र बुइपामा सञ्चालन गरिएको कक्षा क्रमशः सबै वडामा सञ्चालन गरिने संयोजक आचार्यले जानकारी दिनुभयो । वित्तीय साक्षरता कार्यक्रम हलेसी तुवाचुङ नगरपालिका र केपिलासगढी गाउँपालिकाले पनि सञ्चालन गरिरहेको छ । दश स्थानीय तह रहेको जिल्लामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकासँगै हलेसी तुवाचुङ नगरपालिका, केपिलासगढी गाउँपालिका र खोटेहाङ गाउँपालिकामा सामी कार्यक्रम सञ्चालनमा छ ।