विकासन्युज

पुटिनले युक्रेन युद्ध हारेको अमेरिकी राष्ट्रपति बाइडेनको दावी

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले भ्लादिमिर पुटिनले युक्रेनमा जारी युद्धमा ‘हार’ बेहोर्नुपरेको बताएका छन् । उनले रूसी राष्ट्रपति वाग्नर समूहको विद्रोहका कारण कमजोर भएको वा नभएको भनेर अहिले नै भन्न सकिने अवस्था नरहेको बताए । ह्वाइट हाउसमा पत्रकारहरूले पुटिन अहिले कमजोर भए नभएको भनी सोधिएको प्रश्नमा बाइडेनले भने, ‘यो भन्न गाह्रो छ, तर उनले युक्रेनमा युद्ध हारेका छन् र स्वदेशमा पनि हारिरहेका छन् ।’ पुटिन अहिले ‘संसारभरिका एक्लिएको’ बाइडेनले बता ए । ह्वाइट हाउसले गत हप्ता रूसमा भएको असाधारण घटनाको परिणामको सावधानीपूर्वक विश्लेषण गरिरहेको छ । ‘युक्रेनमा रूसी सेनाको सबैभन्दा सक्षम भागमध्ये एक वाग्नर समूहका सेनाहरूले विद्रोह गरेको र मस्कोमा आक्रमण गर्ने धम्की दिएको छ,’ उनले भने । बाइडेनले गत वर्षको फेब्रअरीमा सुरु भएको रूसी आक्रमणविरुद्ध युक्रेनको प्रतिरोधलाई समर्थन गर्ने पश्चिमा अभियानको नेतृत्व गरिरहेका छन् ।

निजी स्कुलका शिक्षकलाई सरकारी सरह तलब दिनुपर्ने, नदिए महानगरमा उजुरी गर्न बालेनको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले निजी विद्यालयका शिक्षकहरूलाई सामुदायिक विद्यालयका शिक्षक सरहकाे तलब सुविधा प्रदान गर्न निर्देशन दिएका छन् । मेयर शाहले शिक्षा ऐनमा संस्थागत विद्यालयको शिक्षकलाई तोकिएकाे तलब प्रदान गर्न निर्देशन दिएका हुन् । काठमाडौं महानगरपालिकामा संस्थागत (निजी) विद्यालयको शिक्षकहरूको तलब सामुदायिक विद्यालयको भन्दा न्यून भएको गुनासो आउने गरेको उनले बताए । ‘शिक्षा ऐन, २०२८’ को दफा १२ (७) (छ) मा संस्थागत विद्यालयको शिक्षकलाई पनि नेपाल सरकारले तोकिदिएको तलब स्केल नघटाई तलब दिनुपर्ने भनी उल्लेख गरिएको छ । यस्तै काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ६८ मा शिक्षक तथा कर्मचारीको तलब भत्ता, निवृत्तिभरण, उपदान लगायतका अन्य सुविधा खाइपाइ आएकोमा नघट्ने गरी संघीय शिक्षा कानूनमा तोकिए बमोजिम हुने उल्लेख गरिएको छ’, मेयर बालेनले उल्लेख गरेका छन् । सोही बमोजिम काठमाडौं महानगरपालिकाका सामुदायिक विद्यालयका शिक्षकहरूले प्राप्त गर्ने तलब सुविधा संस्थागत विद्यालयको शिक्षकलाई पनि उपलब्ध गराउन सम्पूर्ण संस्थागत विद्यालयहरूलाई सूचित गरिएको उनले बताए । यदि तोकिएको तलब सुविधा प्राप्त नभएमा महानगरपालिकाको शिक्षा विभागमा सम्पर्क गर्न मेयर बालेनले संस्थागत अनुरोध गरेका छन् ।

को हुन् सूर्योदय वोमी लघुवित्तको सेयर बेच्ने ५ जना सेयरधनी ?

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले झण्डै १ लाख कित्ता सेयर बिक्री गर्ने भएको छ । लघुवित्तले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको ९७ हजार २९२ कित्ता सेयर बिक्री गर्ने भएको हो । संस्थापक सेयरधनी देवराज चौलागाँईको नाममा रहेको २३ हजार ३१ कित्ता, बिमला घिमिरेको १५ हजार ९२६ कित्ता, मनोज बस्नेतको ९ हजार कित्ता, कल्पना मास्केको ३० हजार १४२ कित्ता र मिना श्रेष्ठको १९ हजार १९३ कित्ता सेयर बिक्रीमा राखेको हो । सो संंस्थापक सेयरको बिक्री मूल्य तोकिएको छैन । सेयर खरिद गर्न इच्छुकले संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र आवेदन दिन लघुवित्तले आग्रह गरेको हो ।

साढे ४ लाख डलरमा अन्तरिक्षमा पुगेर फर्किन सकिने, भर्जिन ग्यालेष्टिककाे उडान सुरु

काठमाडौं । अन्तरिक्ष पर्यटन कम्पनी ‘भर्जिन ग्यालेष्टिक’ले आफ्नो व्यवसायिक उडान सेवा शुरु गर्न गइरहेको छ । कम्पनीले आज नै आफ्नो उडान शुरु गर्ने जनाएको छ । कम्पनीले यसलाई ‘ग्यालेष्टिक ०१’ को रुपमा बताएको छ भने दोस्रो व्यवसायिक उडान अगस्ट २०२३ मा हुने जनाएको छ । सोसँगै कम्पनीले हरेक महिना अन्तरिक्ष उडान गर्ने उद्देश्य राखेको छ । कम्पनीले आज हुने पहिलो उडान साधारण नभएर वैज्ञानिक अनुसन्धान मिसन हुने जनाएको छ । जसमा इटालियन एयर फोर्स र तथा इटालीको राष्ट्रिय अनुसन्धान परिषदको तर्फबाट तीन–तीन जना सहभागी हुनेछन् । यो समूहले माइक्रो ग्र्याबिटीको अध्ययन गर्नेछन् भने दोस्रो उडान ग्यालेष्टिक–२ मा आम आम पर्यटकले उडान गर्नेछन् । कम्पनीका मालिक सर रिचर्ड ब्रान्सनले सन् २००४ मा भर्जिन ग्यालेष्टिकको शुरुवात गरेका थिए । सोही वर्ष उनले पहिलो पटक अन्तरिक्ष विमान निर्माण गर्ने घोषणा पनि गरेका थिए । सन् २००७ सम्म उनले व्यवसायिक उडान शुरु गर्नसक्ने विश्वास समेत राखेका थिए । तर, परीक्षणका क्रममा भएका दुर्घटनाका कारण उनको परियोजना निकै लामो समयसम्म लम्बियो । सन् २०२१ मा ब्रान्सनले आफ्नो निजी रकेट मार्फत पहिलो पटक अन्तरिक्षको भ्रमण गरे । यसरी भ्रमण गर्ने उनी दुनियाको पहिलो अर्बपति हुन् । उनले करिब सवा घण्टामा अन्तरिक्षको यात्रा सकेर पृथ्बीमा फर्किन सफल भएका थिए । सो भ्रमणमा उनको साथमा दुईजना पाइलट र कम्पनीकै तीनजना कर्मचारी पनि रहेका थिए । ब्रान्सन अन्तरिक्ष पर्यटनको शुरुवात गर्नपूर्व आँफैले त्यसको अनुभव पनि लिन चाहन्थे । जुन मिसन सफल भएपछि अन्तरिक्ष उडान भर्ने यान निर्माण गर्ने विषयमा प्रतिस्पर्धाकै शुरुवात भएको छ । स्पेस एक्स, ब्लु ओरिजिन्स कम्पनीहरुले पनि अन्तरिक्ष पर्यटनको विषयलाई लिएर अगाडि बढेका छन् । जसमध्ये भर्जिन ग्यालेष्टिकले पहिलोपटक अन्तरिक्षमा आफ्नो व्यवसायिक उडान भर्न लागेको छ । कति पर्छ टिकटको मूल्य ? अन्तरिक्ष पर्यटन भ्रमणको शुरुवात गर्ने घोषणासँगै कम्पनीले अहिलेसम्म आठसय भन्दा धेरै टिकट बिक्री गरिसकेको छ । जसमध्ये एउटा टिकटको मूल्य कम्पनीले चार लाख ५० हजार डलर राखेको छ । ग्यालेष्टिक फ्लाइटलाई यसरी डिजाइन गरिएको छ की विमानमा बसेर यात्रा गर्ने यात्रुहरुले अन्तरिक्ष देख्न सक्ने र केही मिनेट गुरुत्वबल विहिनताको समेत महशुस गर्नसक्नेछन् ।

देशभर हावाहुरीसहित भारी वर्षाको सम्भावना

काठमाडौं । मुलुकमा हाल मनसुनी वायुको प्रभाव रहेकाले केही स्थानमा हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही कर्णाली, गण्डकी, बागमती र कोशीका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रहने छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । लुम्बिनी, गण्डकी र बागमती प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका तराईका केही स्थानमा हावा हुरीको सम्भावना रहेको महाशाखाद्वारा जारी बुलेटिनमा उल्लेख छ । आज राति पनि देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ । लुम्बिनी, गण्डकी, मधेश र कोशी प्रदेशका केही स्थानमा तथा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । हावाहुरीसहित वर्षाका कारण सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटनलगायत क्षेत्र प्रभावित हुन सक्ने भन्दै महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

कुथेली हाइड्रोले असार २६ गतेदेखि आईपीओ बिक्री गर्ने, कति कित्ता आवेदन दिने ?

काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावरले असार २६ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर बिक्री गरी बाँडफाँट गरेपश्चात् सर्वसाधारण लगानीकर्तालाई आईपीओ बिक्री गर्ने भएको हो । कम्पनीले जारी पूँजी १२ करोड १८ लाख ६७ हजार ५ सय रुपैयाँको १० प्रतिशत अर्थात् १ लाख २१ हजार ८६८ कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात् १२ हजार १८६ कित्ता सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीलाई, ५ प्रतिशत अर्थात् ६ हजार ९३ कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरिसकेको छ । २ प्रतिशत अर्थात् २ हजार ४३७ कित्ता सेयर कर्मचारीका लागि सुरक्षित राखि बाँकी १ लाख १ जार १५१ कित्ता सेयर सर्वसाधारण लगानीकर्तालाई निष्काशन गर्नेछ । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा लगानीकर्ताले छिटोमा असार २९ गते र ढिलोमा असार साउन ९ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ । नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् । इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग त्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

आज हरिशयनी एकादशी पर्व, घरघरमा तुलसी रोपी मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी ४ महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ । एक महिनाअघि जेष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म ४ महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्ने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा.डा. देवमणि भट्टराई बताउँछन् । भगवान् विष्णु शयन गर्ने ४ महिनालाई चतुर्मासा पनि भनिन्छ । यस वर्ष भने साउन महिनामा अधिकमास परेकाले ५ महिना हुने भएको छ । एक वर्षमा २४ एकादशी पर्छन् । यस वर्ष भने अधिकमासका २ समेत गरी २६ एकादशी परेका छन् । सक्नेले सबै एकादशीमा फलाहार मात्र गरेर व्रत बस्छन् । नसक्नेले चतुर्मासाका चार महिनामा पर्ने ८ एकादशीमा व्रत गर्छन् । कामकाजमा सक्रिय हुनुपर्ने र ४ महिनासम्म पनि फलाहार गर्न नसक्नेले भने हरिशयनी एकादशी र हरिबोधिनी एकादशीका दिन फलाहार गरी व्रत बस्ने गर्छन् । हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि राजधानीको बूढानीलकण्ठ, उपत्यकाका ४ नारायणलगायत देशभरका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको भीड लाग्छ । एकादशीका दिन विशेष गरी चामलबाट बनेका परिकार नखाने रोटी, ढिँडोलगायत फलाहार गर्ने गरिन्छ । वैज्ञानिकरुपमा पनि बढी अक्सिजन पाइने प्रमाणित भएको तुलसी विभिन्न रोगका लागि औषधिका रुपमा समेत प्रयोग गरिन्छ । तुलसीको मोठ भएका स्थानमा रोग सार्ने विषालु प्रकारका कीटाणु नआउने विश्वाससमेत गरिन्छ । वास्तु दोष भएका स्थानमा तुलसीको मोठ राख्नाले सकारात्मक फल प्राप्त हुने मान्यता छ । तुलसी भएका स्थानमा शुद्ध हावा बहने तथ्यसमेत वैज्ञानिकरुपमा पुष्टि भएको छ । ४ महिनासम्म विधिपूर्वक पूजा आराधना गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन दामोदरसँग विवाह गरिदिने वैदिक विधि छ । तुलसी र दामोदरको विधिपूर्वक विवाहपछि अग्निस्थापना विधिबाट चतुर्मासा व्रतको उद्यापनका लागि हवनसमेत गरिन्छ ।

सामूहिक नमाज पढेर बकर इद मनाइँदै, के हो इदुल जोहा ?

काठमाडौं । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदान प्रदान गर्ने गरिएको छ । यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्छ । हिजरी संवत्अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको मुस्लिम आयोगका पूर्वअध्यक्ष निर्दोष अलीले जानकारी दिए । मुस्लिम धर्म गुरु (मौलाना) रहमत अली ऐतिहासिक बकर इद पर्वको आधार बनेका इब्राहिमको वंशमा सन् ५७१ मा मक्कामा मोहम्मद सलल्ला जन्मिइ निरन्तरता दिएको बताउँछन् । जसले यो पर्व एवं धर्मलाई पुस्तान्तर गर्न महत्वपूर्ण योगदान गर्दै हदिस नामक धर्मग्रन्थको रचना गरेका थिए । ‘जुन ग्रन्थलाई अहिले मुस्लिम धार्मिक विद्यालय (मदरसा)मा समेत अध्ययन अध्यापन गराइन्छ, मक्कामा जन्मिएका सलल्ला ५३ वर्षको उमेरपछि मदिनामा सर्नुभएको थियो, यही सम्झनामा अहिले पनि साउदी अरबमा पर्ने यी दुवै तीर्थस्थलमा ठूलो मेला लाग्ने गरेको छ,’ उनले भने । यस पर्वका अवसरमा मक्का मदिना जानु शुभ मानिन्छ । मक्का मदिना जान गृह मन्त्रालयले आतेजाते विमान टिकटको व्यवस्था गरी हजयात्रा गराउने गरेको छ । यसका लागि गृहमन्त्रालयअन्तर्गत हज समितिको सचिवालय स्थापना गरिएको छ । मक्का मदिना जान नपाउने हजयात्रीले समेत घरघरमै बकर इद मनाउँछन् । यो पर्वको मुख्य उद्देश्य नै हजयात्रा हो । यस पर्वमा अल्लालाई खुसी पार्न मुसलमान धर्मले जायज मानेका जनावरलाई बलि (कुर्बानी) दिन्छन् । धार्मिक मान्यताअनुसार अल्लाहका नवी (दूत) इब्राहिम अलि सलामले ९० वर्षको उमेरमा पत्नी हाजराबाट प्राप्त गरेको सन्तान छोरा इस्माइललाई कुर्बानी गर्नुपर्ने आदेश प्राप्त भयो । जसलाई पालना गर्दा अल्लाह प्रसन्न भएर इस्माइलको कुर्बानी नभएर स्वर्ग (जन्नत) मा पालिएका दुम्बाको कुर्बानी भएको धार्मिक मान्यता छ । यसै कारण अहिलेसम्म कुर्बानी गर्ने प्रचलनलाई कायम राखेको मुस्लिम धर्मावलम्बीको भनाइ छ । निसन्तान इब्राहिमले सन्तान प्राप्तिका लागि अल्लाहसँग मन्नत मागेका थिए । अल्लाहले मलाई सन्तानको सुख दियो भने म कुर्बानी गर्छु भन्ने इब्राहिमको प्रतिबद्धता थियो । सोहीअनुरुप अल्लाहले निजको परीक्षणस्वरुप सपनामा कुर्बानी गर्नुपर्छ भनेका थिए भन्ने मुस्लिम धर्मावलम्बीको विश्वास छ । उनले धेरै जनावर कुर्बानी गरे तर अल्लाह खुसी भएका थिएनन् । अन्तिममा आफ्ना सबैभन्दा प्यारा छोरालाई नै कुर्बानी गरी अल्लाहलाई राजी गर्न चाहेका थिए । यस घडीमा उनको परीक्षण सफल सावित भएपछि कुर्बानी गर्ने स्थानमा मानिसको होइन त्यही जन्नतमा पालिएर आएका दुम्बाको कुर्बान (बलि) भएको थियो । कुर्बानीको मासु तीन भागमा बाँडी वितरण गरिन्छ । एक भाग गरिब एवं विपन्न परिवारलाई, अर्को भाग आफ्ना इष्टमित्रलाई र तेस्रो भाग आफैँले खानुपर्ने मुस्लिम धार्मिक मान्यता छ । यसैअनुसार आज पहिलो दिनको बकर इद मनाइँदै छ । मुस्लिम धर्मावलम्बीले शनिबारसम्म यो पर्व मनाउने छन् । यो पर्व मनाउने तीनै दिन कुर्बानी गर्नुपर्ने मुस्लिम धर्मावलम्बीको विधि रहेको नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनले जानकारी दिए । यस अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।