विकासन्युज

एसईई पास गरेका विद्यार्थीलाई माईपेले छात्रवृत्ति दिने, कसरी हुने सहभागी ?

काठमाडौं । माईपे डिजिटल वालेटले ‘माई फस्ट डिजिटल वालेट’ छात्रवृत्ति योजना सार्वजनिक गरेको छ । यो वालेटले मासिक ५ हजार रुपैयाँसम्मको उक्त योजना एसईई पास भएका १०० जना विद्यार्थीहरुलाई दिने भएको हो । एसईई पास गरेका युवा विद्यार्थीलाई डिजिटल माध्यमबाट कारोबार गर्न प्रोत्साहन गर्ने उद्देश्यले यस छात्रवृत्ति योजना ल्याएको माईपेका प्रमुख कार्यकारी अधिकृत मनोज मेहताले जनाकारी दिए । ‘नवीन प्रविधिलाई युवाहरुले नै सबैभन्दा पहिले आत्मसाथ गर्न सक्दछन्,’ मेहताले भने, ‘त्यसैले हामीले उनीहरुलाई डिजिटल प्रविधिप्रति बेलैमा आर्कषित गरी डिजिटल साक्षरता दिन सके डिजिटल नेपालको सपनालाई साकार पार्न समेत सहयोग मिल्थ्यो ।’ यस छात्रवृत्ति कार्यक्रममा जम्मा एक सय विद्यार्थीहरु लाभान्वित हुनेछन् । जसमा ९९ जना विद्यार्थीले मासिक ५०० रुपैयाँका दरले एक वर्षसम्म र एक जना विद्यार्थीले मासिक ५ हजार रुपैयाँका दरले एक वर्षसम्म छात्रवृत्ति प्राप्त गर्न सक्नेछन् । यस कार्यक्रममा सहभागी हुनका लागि एसईई दिएर बसेका विद्यार्थीहरुले माईपे वालेट डाउनलोड गरी वालेट भित्र रहेको फर्म भर्नु पर्नेछ । फर्म भर्नका लागि १० रुपैयाँ शुल्क लाग्नेछ । देशैभरीका विद्यार्थीहरु यस योजनामा सहभागी हुन सक्नेछन् । छात्रवृत्तिमा छनौट भईसकेपछि विद्यार्थीहरुले आफ्नो मार्कसिट तथा कक्षा ११ मा भर्ना भएको प्रमाण समेत पेस गर्नुपर्नेछ । आवेदन अवधि साउन अन्तिमसम्म रहेको माईपेले जनाएको छ ।

स्वदेशमै उत्पादन भएपछि २० प्रतिशत घट्यो टायलको मूल्य

काठमाडौं । घर तथा आवासमा प्रयोग गरिने टायल स्वदेशमै उत्पादन हुन थालेपछि मूल्यमा गिरावट आएको छ । प्राइम सेरामिक्स टायल उद्योगले स्वदेशमै टायल उत्पादन गरी बजारमा बिक्री वितरण गर्न थालेपछि एकै दिदनमा २० प्रतिशत मूल्य घटेको प्राइम सेरामिक्स् पालिका अध्यक्ष आशिष गर्गले बताए । साथै उनले आगामी दिनामा यो मूल्य अझै घट्ने बताए । अनुसन्धान भइरहेको हुँदा पूर्ण रुपमा स्वदेशी कच्चा पदार्थ प्रयोगमा आएपछि लागत कम हुने भएकाले आगामी दिनमा मूल्य अझै घट्न सक्ने उनको भनाइ छ । उनले भविष्यमा नेपाललाई टायलमा आत्मनिर्भर बनाउने र विदेशमा पनि निर्यात गर्ने लक्ष्य राखेको बताए । ‘प्राइम सेरामिक्सले नेपाली माटोबाट स्वदेशमै उत्पादन गरी बजारमा बिक्री विरतण गर्न थालेपछि टायलको मूल्य १५ देखि २० प्रतिशत घटेको छ, यसअघि २ सय रुपैयाँ पर्ने टायल अब १७० रुपैयाँमा पाउन सकिन्छ, पूर्ण रुपमा स्वदेशी कच्चा पदार्थ प्रयोगपश्चात् टायलको मूल्य शतप्रतिशत घट्छ,’ उनले भने, ‘नेपालमा निकै खनिज छन्, बाहिर ल्याउन नसकेको मात्रै हो, जसरी २० वर्ष अघि सिमेन्टलाई उत्पादन गरेर आत्मनिर्भर हुन सकिन्छ र भन्ने प्रश्न गर्थे, त्यसैगरी नेपाली टायल पनि विदेशमा निर्यात गर्ने उद्देश्य छ ।’ प्राइम सेरामिक्स् प्रा.लीले नेपालमै उत्पादन गरेर बिहिबारदेखि प्राइम–टाइल्स् विथ स्टाइल बजारमा बिक्री वितरण थालेको हो । २ अर्ब रुपैयाँ लगानीमा सञ्चालनमा आएको टायल उद्योगले स्वदेशमै उत्पादन गरिएको अन्तराष्ट्रियस्तरको रहेको अध्यक्ष गर्गको भनाइ छ । रौतहटको बृन्दावन नगरपालीका ६ स्थित १० बिघा क्षेत्रफलमा इटालीयन प्रविधी जडान गरी उद्योग सञ्चालनमा आएको उनले बताए । भन्सार विभागको तथ्याङ्क अनुसार नेपालमा वार्षिक १५ अर्ब रुपैयाँ बराबरको रकम टायल आयात हुने गरेको छ । जसमध्ये ९९ प्रतिशत टायल भारतबाटै आयात हुने गरेको छ । साथै, चाइना, मलेसीया, इटालि, स्पेनलगायतका देशबाट पनि टायल आयात हुने गरेको छ । तर, पछिल्लो समय टायलमा भारत ठूलो प्रतिस्पर्धी मुलुक बनेको अध्यक्ष गर्गले बताए । २५ सय किलोमिटर टाढा भारतको गुजरातबाट टायल आयात हुँदा मूल्य पनि दोब्बर तिर्नु परेको उनले बताए । गर्गका अनुसार गुजरातमा उत्पादन भएको टायल ९९ प्रतिशत जनताले प्रयोग गर्छन् । १८ सय उद्योग एउटै ठाउँमा सञ्चालन गरेर भारतले टायलमा ठूलो प्रगति गरेको उनले बताए । साथै, ४० हजार करोड भारतीय रुपैयाँ बराबरको टायल उद्योग गरी ३० वटा देशमा निर्यात पनि गरिरहेको उनको भनाइ छ । अब नेपालमा टायल उत्पादन हुन थालेपछि सस्तो मूल्यमा उपभोक्ताले प्रयोग गर्न पाउने गर्गले बताए । ‘भन्सारमा ४० प्रतिशत अन्तशुल्क तिर्नु पर्छ र, यो विलासीताको प्रडक्ट भएकाले सरकारले धेरै राजश्व उठाउँछ, भारतमा १ सय रुपैयाँमा पाउने टायल नेपालीको घरमा पुग्दा २ सय रुपैयाँ पर्छ,’ उनले भने, ‘अब स्वदेशमै आयात हुन थालेपछि २ सय रुपैयाँ पर्ने टायल १७० रुपैयाँमा पाइनेछ, उपभोक्तालाई सपनाको घर बनाउने चाहना प्राइम सेरामिक्सले पुरा गर्छ ।’ लामो समयदेखि नेपालमा टायल तथा सोही प्रकृतिका सामान आयात गरेर व्यापार गर्दै आएका व्यवसायीहरु आशीष गर्ग, प्रशान्त अग्रवाल लगायतले मधेस प्रदेशको रौतटहमा प्राइम सेरामिक्स उद्योग स्थापना गरेका हुन् । अब ब्यापारी मात्रै नभई उद्योगी बनेर टायलमा देशलाई आत्मनिर्भर बनाउने अध्यक्ष गर्ग बताउँछन् । बहुर्राष्ट्रिय इटालियन कम्पनी जडान गरी हाल २ फिट चौडा र ४ फिट लम्बाई भएका टायल उत्पादन गरिरहेको उनको भनाइ छ । उनका अनुसार घरमा टायल प्रयोग गर्दा आफ्नो तस्विर भएको टायल लगाउन चाहना छ भनेपनि त्यो डिजाइन उपलब्ध रहेको छ । २५० डिजाइनका टायल उत्पादन भइरहेको उनले बताए । ‘हामीले इटालियन प्रविधि जडान गरेर भारत, इटाली, स्पेनमा उत्पादन हुने टायल जस्तै बलियो र गुणस्तर टायल उत्पादन गरिरहेका छौं, सानोदेखि ठूलोसम्म सबै प्रकारका टायल छन्, पहिलो चरणमा २ देखि ४ फिटसम्मका टायल बजारमा पठाएका छौं,’ उनले भने, ‘अहिलेसम्म भारतको चाहना अनुसारका डिजाइन भएका टायल बजारमा छन्, नेपाली डिजाइनको उत्पादन भएपछि आज अर्डर गरेर भोलि सोही डिजाइन अनुसार पाइनेछ, आफ्नो फोटो पनि टायलमा छाप्न मन छ भने त्यो सेवा पनि उपलब्ध गराउँछौं ।’ २ दशकदेखि टायल आयात गरिरहेका गर्ग जलविद्युत व्यवसायी पनि हुन् । व्यवसायबाट उद्योगी बनेका गर्ग सीएमएस ग्रुप (कन्स्ट्रक्सन मेट्रियल सोलुसन)का अध्यक्ष हुन् । आजदेखि बजारमा टायल आएपछि आयात घट्दै जाने उनको तर्क छ । उनको उद्योगमा ३ सय जनाले रोजगारी पाएका छन् । नेपाली इन्जिनियरलाई सिप सिकाएर दक्ष जनशक्ति उत्पादन गर्ने र वातावरणमैत्री उद्योग बनाउने उनको योजना छ ।

बीमा अभिकर्ता र सर्भेयरले असारभित्रै लाइसेन्स नवीकरण गर्नुपर्ने, नत्र खारेज हुने

काठमाडौं । बीमा अभिकर्ता र सर्भेयरले असार महिना भित्रमा आफ्नो लाइसेन्स नवीरकण गर्नुपर्ने भएको छ । प्राधिकरणका अनुसार २०७९ कार्त्तिक २१ गतेभन्दा अघि दर्ता तथा नवीकरण गरेका सम्पूर्ण अभिकर्ता तथा सर्भेयरले आगामी असार मसान्त भित्र नवीकरण गर्नुपर्ने भएको हो । ‘२०८० साल असार मसान्तसम्म मात्र आफ्नो इजाजत पत्र नवीकरण गराउन सकिने कानुनी व्यवस्था रहेको’ प्राधिकरणका सहायक निर्देशक शम्भु प्रसाद मिश्रले बताए । यदि तोकिएको समयभित्रमा लाइसेन्स नवीकरण नगराउने अभिकर्ता तथा सर्भेयरहरुको लाइसेन्स स्वतः रद्द हुने प्राधिकरणले जानकारी गराएको छ ।

काठमाडौं वर्ल्ड स्कुलमा एसइईका विद्यार्थीका लागि ओपन हाउस हुने

काठमाडौं । एसईई दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै असार १६ गते शनिबार काठमाडौं वर्ल्ड स्कुल गुण्डु भक्तपुरमा ओपन हाउस २०२३ हुने भएको छ । एसईई दिएर बसेका विद्यार्थीलाई एसईईपछि के पढ्दा के हुन्छ भन्ने दिशानिर्देश गराउने उद्देश्यका साथ कार्यक्रम गर्न लागिएको स्कुलले जनाएको छ । कार्यक्रममा विद्यार्थीलाई मनोरञ्जन दिलाउन विभिन्न मनोरञ्जनात्मक कार्यक्रम पनि रहेको स्कुलले जनाएको छ । स्कुलका प्रिन्सिपल केशर खुलालले कार्यक्रम असार १६ गते (जुलाई १) शनिबार बिहान ९ बजेदेखि साँझ पाँच बजेसम्म दिनभर हुने जनाए । कार्यक्रम भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ७ गुण्डुस्थित स्कुल परिसरमा हुने छ । यो ठाउँं अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको सूर्यविनायकबाट झण्डै एक किलोमिटर दक्षिणमा पर्दछ । स्कुलसम्म पुग्न कालोपत्रेसहितका फराकिलो सडक रहेको छ । कार्यक्रममा काठमाडौं, ललितपुर अनि भक्तपुरलगायतका विभिन्न जिल्लाबाट एसईई दिएर बसेका विद्यार्थीलाई निमन्त्रणा गरिएको जनाइएको छ । कार्यक्रममा प्रवेश निःशुल्क हुने छ । यसका लागि विद्यार्थीले एसईई परीक्षाको प्रवेशपत्र लिएर आउनुपर्ने जनाइएको छ । साथै अन्य रुचि राख्ने विद्यार्थीले पनि स्कुलको अवलोकन भ्रमण गर्न पाउने छन् । कार्यक्रममा विद्यार्थीलाई एसईईपछि के पढ्दा उपयुक्त हुन्छ भने जानकारी विशेष रहने छ । यसको साथमा विभिन्न कलाकारहरुबाट मनोरञ्जन दिलाइने छ । साथै विभिन्न खेलहरु पनि हुने जनाइएको छ । कार्यक्रमको क्रममा कसप्ले कम्युटिशन, आर्ट सेसन ९ डिजिटल आर्ट, थ्रिडी आर्ट एण्ड पेन्टिंग हुने जनाइएको छ । साथै क्यारिअर काउन्सलिग, स्कुल टुर, फुड स्टल, फन गेम एण्ड मोर हुने जनाइएको छ । यस क्रममा फ्रि स्टलहरू पनि हुने जनाइएको छ । कार्यक्रममा सहभागिताका लागि निःशुल्क बसकोसमेत व्यवस्था मिलाइएको छ । काठमाडौंको लागि बानेश्वर, ललितपुरका लागि लगनखेल र मध्यपुर थिमिको लागि थिमि चोकमा बिहान १० बजे पुगेर स्कुलको बसमा चढेर निःशुल्क रूपमा आउनसक्ने व्यवस्था मिलाइएको छ । भक्तपुरको सवालमा भने दिनभरि नै प्रत्येक आधाआधा घण्टाको फरकमा पाण्डुबजारबाट स्कुलको गाडी चढेर आउनसक्ने व्यवस्था मिलाइएको स्कुलले जनाएको छ ।

राष्ट्रिय प्रसारणमा जोडियो एक सय २६ मेगावाट बिजुली

काठमाडौं । लमजुङस्थित दोर्दी कोरिडोरबाट एक सय २६ दशमलव ८४ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएसँगै यहाँ निर्माण सम्पन्न भएका पाँच आयोजनाबाट सो बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । दोर्दी करिडोर प्रसारण लाइन आयोजनाका प्रमुख रमेश पौडेलका अनुसार दोर्दी करिडोर क्षेत्रका आयोजनाको बिजुली प्रसारण पूर्वाधार अभावमा ती आयोजनाको विद्युत् खेर जाने अवस्थामा रहेपनि गत भदौबाट प्रसारण लाइन सञ्चालनमा आएसँगै राष्ट्रिय लाइनमा धमाधम बिजुली जोडिन थालेको छ । उनले भने, ‘हालसम्म दोर्दी खोलामा निर्माण सम्पन्न चार आयोजना र चेपोखोलामा निर्माण सम्पन्न एक जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।’ पिपुल्स हाइड्रो पावर कम्पनीद्वारा निर्माण गरेको ५४ मेगावाट क्षमताको सुपर दोर्दी ‘ख’ आयोजना, हिमालयन पावर पार्टनरले निर्माण गरेको २७ मेगावाटको दोर्दीखोला, लिबर्टी इनर्जी लिमिटेडले निर्माण गरेको २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ र दोर्दीखोला जलविद्युत् कम्पनीले निर्माण गरिरहेको १२.१ मेगावाटको दोर्दी–१ जलविद्युत आयोजना र चेपोखोलामा निर्माण सम्पन्न ८.८३ मेगावाटको चेपेखोला साना जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् चालु आर्थिक वर्षमा राष्ट्रिय प्रसारण लाइनमा जोड्न सफल भएका छन् । ती आयोजनामध्ये यस करिडोकै सबैभन्दा ठूलो आयोजना सुपर दोर्दी ‘ख’ आयोजनाले गत महिनाबाट मात्र व्यावसायिक रुपमा बिजुली उत्पादन गरेको छ । आयोजनाका निर्देशक अर्जुनप्रसाद गौतमका अनुसार विसं २०७१ मा विद्युत् खरिद सम्झौता –पिपिए) गरी आयोजना निर्माण विसं २०७२ असोज महिनाबाट सुरु भएको थियो । विसं २०७५ मा निर्माण सम्पन्न गर्दै आयोजनाबाट बिजुली उत्पादन गर्ने भनिए पनि निर्माण अवधि लम्बिदै आएको छ । सुरुआतमा आठ अर्ब ८० करोड रुपैयाँ लगानी हुने भनिएको आयोजनामा लागत बढेर दश अर्ब ५० करोड रुपैयाँसम्म खर्च भएको बताइएको छ । आयोजनामा सानिमा बैंकको अगुवाइमा नौ बैंकले ऋण लगानी गरेका छन् । कूल ७० प्रतिशत ऋण लगानी र बाँकी प्रवद्र्धनको लगानी रहेको छ । आयोजनामा प्रभावित स्थानीयवासीले २७ करोड रुपैयाँ लगानी गरेका छन् । त्यस्तै २७ मेगावाट क्षमताको बिजुली बेँसीसहर नगरपालिका– ११ रामचोकबेँसीमा पावर हाउस रहेको यस आयोजनाले गत भदौ १५ गतेदेखि राष्ट्रिय प्रसारण लाइनमा जोडिएर व्यावसायिक रुपमा बिजुली उत्पादन गर्दै आएको छ । विसं २०७२ फागुनबाट निर्माण सुरु गरेको यस आयोजनाको निर्माण सम्पन्न भएपछि केही महिनाअघि प्रसारण लाइनमा जोडिएको थियो । आयोजनामा गैरआवसीय नेपाली सङ्घ (एनआरएनए) को ३५ दशमलव सात प्रतिशत, आइएमई गु्रपको ३४ दशमलव तीन प्रतिशत र ३० प्रतिशत सर्वसाधारणको लगानी रहेको आयोजना प्रमुख मुन्ना शाक्यले बताए । नेपाल विद्युत् प्राधिकरण र कम्पनीबीच विसं २०६९ असार १ गते पिपिए सम्झौता भएको थियो । आयोजना निर्माणमा रु चार अर्ब ८३ करोड लगानी भएको छ । त्यस्तै, दोर्दी–६ ढोडेनीमा लिवर्टी इनर्जी हाइड्रोपावरद्वारा निर्माण गरेको २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ आयोजनाले उत्पादन गरेको विद्युत् दुई साता अघि राष्ट्रिय प्रसारण लाइनमा जडान गरिएको थियो । आयोजनाका प्रवद्र्धक राजेन्द्र वस्तीका अनुसार विद्युत् खेर जाने अवस्थाका कारण निर्माणमा पनि ढिलाइ भएको थियो । तर प्रसारण लाइन बनेपछि काम छिटो सकाइएको हो । आयोजनाको निर्माण विसं २०७१ बाट सुरु भएको थियो । विसं २०७४ मा निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि चालु आवमा मात्रै सम्पन्न भएको थियो । आयोजना निर्माणमा रु चार अर्ब ६४ करोड ६१ लाख लगानी भएको छ । त्यस्तै, दोर्दी गाउँपालिका–६ ढोडेनीमा सम्पन्न १२ दशमलव १ मेगावाट क्षमताको दोर्दी–१ जलविद्युत् आयोजनाले पनि विद्युत् उत्पादन सुरु गरेको छ । विसं २०७४ बाट थालनी गर्दै विसं २०७६ चैत महिनामा पूरा हुने लक्ष्य भए पनि समय थप भएको थियो । आयोजनामा सानिमा बैंकको अगुवाइमा पाँच बैंकले ऋण लगानी गरेको यस आयोजनामा रु दुई अर्ब भन्दाबढी लगानी भएको छ । त्यस्तै, चेपेखोला साना जलविद्युत् आयोजना एक अर्ब ५० करोडमा निर्माण सम्पन्न गरेको छ । यी आयोजना बाहेक जिल्लाकै ठूलो तथा पहिलो आयोजना बेँसीसहर नगरपालिका–१ दलालमा रहेको ७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी आयोजना, मस्र्याङ्दी गाउँपालिका–६ र ७ मा रहेको ५० मेवागाट क्षेमताको माथिल्लो मस्र्याङ्र्दी ए’ जलविद्यूत आयोजना लगायतका आयोजनाबाट समेत विद्युत् उत्पादन हुँदै आएको छ । मध्यमस्र्याङ्दी आयोजना सन् २००० मा निर्माण कार्य सुरु भई सन् २००८ मा निर्माणकार्य सम्पन्न भएसँगै आयोजनाबाट विद्युत् उत्पादन थालेको थियो । कूल २७ अर्ब २० करोड रुपैयाँ लागतमा आयोजना निर्माण भएको थियो । माथिल्लो मस्र्याङ्दी ‘ए’ आयोजना सन् २०१३ जनवरीबाट निर्माण थालनी गर्दै सन् २०१७ जनवरीबाट व्यावसायिक रुपमा विद्युत् उत्पादन थाल्दै आएको छ । करिब १६ अर्ब रुपैयाँमा निर्माणकार्य सम्पन्न गर्दै विद्युत् उत्पादन थालेको यस आयोजना चिनियाँ बहुर्राष्ट्रिय कम्पनी सिनो हाइड्रोको ९० प्रतिशत र नेपाल चितवन कोइ समूह (सगरमाथा हाइड्रोपावर कम्पनी) को १० प्रतिशत लगानी रहेको छ । माथिल्लो मस्र्याङ्दी ‘ए’ आयोजना सिनोहाइड्रो–सगरमाथा पावर कम्पनीले निर्माण गरेको थियो । रासस

जनसचेतन बचत तथा ऋण सहकारी संस्थाले गर्यो वृक्षारोपण

काठमाडौं । जनसचेतन बचत तथा ऋण सहकारी संस्थाले वृक्षारोपण गरेको छ । दोलखा जिल्लाको मैनापोखरी बजारमा स्वच्छ वायु, स्वस्थ जीवन, पर्यावरणीय संरक्षणमा जनसचेतनको योगदान भन्ने नारालाई सार्थकता दिँदै बिहीबार सहकारी संस्थाले वृक्षारोपण गरेको हो । उक्त वृक्षारोपणमा डिभिजन वन कार्यालयका कर्मचारी, दोलखा उद्योग वाणिज्य संघका पदाधिकारी, इलाका प्रहरी कार्यालय मैनापोखरीका कर्मचारी, संस्थाका पदाधिकारी तथा कर्मचारीहरु, सहकारीकर्मी, शिक्षक, व्यापारीहरुको उपस्थितिमा भएको थियो । उक्त संस्थाको सहयोगमा कपुरको विरुवा १५० वटा, कल्की १५० वटा, धुपी १५० वटा र जकाराण्डको विरुवा ५० वटा गरी ५०० वटा विरुवा वृक्षारोपण गरी कार्यक्रम सम्पन्न गरिएको थियो ।

ब्रिटिश कलेजमा भर्चुअल रियालिटी ल्याब सञ्चालन

काठमाडौं । काठमाडौंको थापाथलीस्थित द ब्रिटिश कलेज (टिबिसी)ले अत्याधुनिक भर्चुअल रियालिटी ल्याब सञ्चालनमा ल्याएको छ । कलेजले बुधबारबाट सो अत्याधुनिक ल्याब सञ्चालनमा ल्याएको हो । विद्यार्थीहरूलाई अध्ययन तथा अनुसन्धान गर्न सहयोग पुर्याउने उदेश्यले टिबिसीले ल्याब सञ्चालनमा ल्याएको कलेजका सीईओ राजन कँडेलले जानकारी दिए । ल्याब सञ्चालनमा आएपछि विद्यार्थीहरुले अझै नयाँ–नयाँ कुराहरु सिक्न पाउने उनको भनाई छ । साथै, कलेजको गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिबद्धतामा यो एउटा महत्वपूर्ण कोसेढुङ्गा सावित भएको उनले जानकारी दिए । ‘कलेजले अत्याधुनिक भिआर ल्याब सञ्चालनमा ल्याएकोले म धेरै खुशी छु । यस प्रकारका अत्याधुनिक ल्यावमार्फत विद्यार्थीहरुले डिजिटल युगको लागि आवश्यक पर्ने सीप र ज्ञानको अभिवृद्धि गर्ने मौका पाउनेछन् । साथै, गुणस्तरिय शिक्षा सुनिश्चित गर्ने हाम्रो प्रतिबद्धता यस कार्यले पनि पुष्टि गरेको छ,’ सीईओ कँडेलले भने । कार्यक्रममा बोल्दै फिन्टेक एसोसियसन अफ नेपालका अध्यक्ष सन्जिव सुब्बाले विद्यार्थीहरूको लागि प्रत्यक्ष सीप र ज्ञान प्राप्त गर्ने ठूलो अवसर मिलेको बताए, उनी भन्छन्, ‘ब्रिटिश कलेजको आफ्नो पाठ्यक्रममा भिआर समावेशले उत्साहित बनाएको छ । कलेजले नयाँ प्रविधिलाई यसरी अँगाल्नुले टेक्नोलोजी क्षेत्रमा ठूलो कदम चालेको प्रष्ट हुन्छ। मलाई लाग्छ कि यो विद्यार्थीहरूको लागि प्रत्यक्ष सीप र ज्ञान प्राप्त गर्ने ठूलो अवसर हुनेछ । यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रको विकासका लागि सहयोग गर्नेछ।’ भिआर ल्याबमा अत्याधुनिक सप्टवेयर र आवश्यक उपकरणहरु जस्तैः भीआर हेडसेट, कन्ट्रोलर, सेन्सर, इमर्सिभ शैक्षिक एप्लीकेशन, लगायत रहेका छन् । यी सफ्टवेयर तथा उपकरणहरुको प्रयोगबाट विद्यार्थीहरूले भर्चुअल वातावरणमा आफ्नो अध्ययनको विशेष क्षेत्रमा पहुँच पुर्याउन सक्नेछन् । कलेजका उपप्रध्यापक डा. प्याट्रिक म्याक क्रुडडेनले भने, ‘ब्रिटिश कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई अत्याधुनिक प्रविधिमार्फत अध्ययन गराइन्छ भन्ने यसले प्रष्ट गर्छ । भिआर ल्याव एउटा उदाहरणमात्र हो । कलेज भ्रमणका लागि उत्साहित सम्भावित विद्यार्थीहरूले यसको अनुभव लिन सक्नेछन् ।’

मुग्लिन-नारायणगढ सडकखण्ड अवरूद्ध

फाइल फाेटाे काठमाडौं । चितवनको मुग्लिन-नारायणगढ सडकखण्ड अवरूद्ध भएको छ । बिहीबार साढे १२ बजे इच्छाकामना गाउँपालिका-६ मुग्लिन-नारायणगढ सडकखण्डको तीन नम्बर पुल नजिकै पहिरो खसेसँगै उक्त सडकखण्ड अवरुद्ध भएको हो । अवरुद्ध भएको सडकमा पहिरो पन्छ्याउने काम भइरहेको छ । उक्त सडकखण्डमा बुधबारसाँझदेखि नै पहिरो खसिरहेको श्रोतले जनाएको छ ।