विकासन्युज

‘पशुपतिमा चढाएको सुन नपुगे फाँसीको सजाय भोग्न तयार छु’

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरमा चढाइएको सुनको जलहरीमा १० केजी नै सुन रहेको दावी गरेको छ । मंगलबार संघीय संसद राष्ट्रियसभा अन्तरगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा कोषका सदस्य–सचिव डा. मिलनकुमार थापाले सो स्पष्टिकरण दिएका हुन् । उनले सो जलहरीमा १० केजी सुन नपुगे आफू फाँसीको सजाय भोग्न तयार रहेको बताए । आफूले पटक–पटक सो जलहरीको सुन तौल लिन गरेको आग्रहलाई बेवास्ता गरेर राज्यले आफूलाई चोर करार गर्न खोजेको भन्दै सदस्य सचिव थापाले रोएका थिए । ‘मेरो दुई सन्तान रहेका र उनीहरुको भविष्य समेत अन्धकार हुने गरी आफूलाई सुन चोरको आरोप लगाइएको छ,  राज्यको नीति यहीँ हो रु, मलाई पशुपति क्षेत्रको भेटी, जग्गालगायतका सम्पत्ति दूरपयोग गरेर बाँच्नु पर्दैन,’ उनले भने । सदस्य सचिव थापाले सो जलहरी प्रकरणको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन नगरी जथाभावी आरोप लगाउन नमिल्ने बताए । त्यस सम्बन्धमा आफूले महालेखा परीक्षकको कार्यालयमा यथार्थ जानकारी गराउँदा पनि गलत ढंगले प्रतिवेदन आएको उनको दावी थियो । बैठकमा सांसदहरुले जलहरी प्रकरणबारे सदस्य सचिव थापासँग जिज्ञासा राखेका थिए ।

जिप र माइक्रोबस असार १ देखि नयाँ बसपार्कभित्रबाट सञ्चालन हुने

काठमाडौं । जीप र माइक्रोबस आगामी असार १ गतेदेखि गोँगबुस्थित नयाँबसपार्कभित्रबाट सञ्चालन हुने भएका छन् । माइक्रोबस तथा जिप समन्वय समितिले आज पत्रकार सम्मेलन गरी आगामी शुक्रबारदेखि जिप र माइक्रोबस नयाँ बसपार्कभित्रबाट सञ्चालन गर्न लागेको जानकारी दिएको हो । समितिका संयोजक राजेन्द्र आचार्यले यसअघि काठमाडौं भित्रका विभिन्न स्थानबाट सञ्चालन हुँदै आएका माइक्रो बस तथा जिपलाई असार १ गतेदेखि गोँगबुस्थित नयाँ बसपार्कभित्रबाट सञ्चालन गर्न लागिएको जानकारी दिए । काठमाडौं महानगरपालिकाले यही जेठ १९ गते लामो, मध्यम तथा छोटो दूरीका सार्वजनिक सवारीसाधन नयाँ बसपार्कभित्रबाट सञ्चालन गर्ने निर्णय गरेकाले उक्त निर्णयको कार्यान्वयनका लागि नयाँ बसपार्कभित्रबाट सञ्चालन गर्न लागिएको संयोजक आचार्यले बताए । ‘स्थानीय सरकारले गरेको निर्णय मान्न हामी तयार छौँ, उक्त निर्णय सरोकारवाला सबै निकायलाई लागू गराउन महानगरपालिका लाग्नुपर्छ, हामी साथ दिन तयार छौँ, स्थानीय सरकारले कसैलाई काखा र कसैलाई पाखा गर्नुहुँदैन’, उनले भने । यसअघि नयाँ बसपार्कबाट ठूला सार्वजनिक सवारी साधनमात्र सञ्चालन हुँदै आएका थिए । यसअघि माइक्रोबस तथा जिप बल्खु, कलङ्की, बालाजु, माछापोखरी, गोँगबु, कोटेश्वरलगायतका क्षेत्रमा काउण्टर राखेर सञ्चालन हुँदै आएका थिए । अब भने सबै टिकट काउण्टर बसपार्कभित्र राखिने भएकाले सोही स्थानमा आएर टिकट लिनसमेत उनले यात्रुलाई आग्रह समेत गरे । हाल काठमाडौंबाट पोखरा, नारायणगढ, डुम्रे, दमौली, लमजुङ, गोरखा, धादिङ, त्रिशूली बागलुङ, वेनी, स्याङ्जा, वालिङ, बुटवल, भैरहवा, कोटेश्वरबाट बिपी राजमार्ग हुँदै पूर्व जाने माइक्रोबस र बल्खुबाट हेटौँडा चल्ने टाटासुमो सञ्चालन हुँदै आएका छन् । संयोजक आचार्यले नयाँ बसपार्कभित्रबाट माइक्रोबस तथा जिप सञ्चालन गर्न नयाँ बसपार्क सञ्चालन गर्दै आएको लोत्से बहुृउदेश्यीय प्रालिसँगसमेत सम्झौता गरिसकेको बताए । ‘नेपालको यातायात क्षेत्रलाई व्यवस्थित र यात्रुमैत्री बनाउन आवश्यक पर्ने संरचना निर्माणका लागि लोत्सेसँग सहकार्य गरेर अगाडि बढेका छौँ’ संयोजक आचार्यले भने । उनले नयाँ बसपार्कबाट माइक्रोबस तथा जिप सञ्चालन गर्दै गर्दा यात्रुको सुविधाका लागि यसअघि सञ्चालन हुँदै आएका क्षेत्रमा निश्चित समयसम्म ‘पिक एण्ड ड्रप’को व्यवस्था गर्नसमेत महानगरपालिकासँग आग्रह गरे । काठमाडौं उपत्यकाभित्र प्रवेश गर्ने सार्वजनिक सवारी साधनलाई व्यवस्थित तथा पार्किङ गर्न महानगरपालिकाले विसं २०५६ मा ल्होत्से बहुउद्देश्यीय प्रालिसँग सम्झौता गरी नयाँ बसपार्क सञ्चालनमा ल्याएको थियो । एक सय ६१ रोपनी क्षेत्रफलमा फैलिएको नयाँ बसपार्कमा आठ सयभन्दा बढी सार्वजनिक सवारी साधन राख्न मिल्ने क्षमता छ ।  

सेयर बजारमा उल्लास कायमै, ४ अर्ब माथिको कारोबार

काठमाडौं । मंगलबार सेयर बजार ३२.४६ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज९नेप्से०को अनुसार मंगलबार सेयर बजार बढेर २०१८.९३ विन्दुमा पुगेको छ । आज एक करोड ७ लाख ४९ हजार कित्ता सेयर किनबेच हुँदा चार अर्ब १० करोड रुपैयाँको कारोबार भएको छ ।  जसमा सबैभन्दा बढी शिवम् सिमेन्टले २७ करोड ६३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज तीन कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्नेमा विन नेपाल लघुवित्त वित्तिय संस्था, भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी र सिटी होटल्स रहेको छ ।

नवलपुरमा साइलेज उद्योग सञ्चालनमा

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को देवचुली नगरपालिकाले दूध र दुग्धजन्य पदार्थको उत्पादन लागत कम गर्न पशु आहार (साइलेज) को उत्पादन सुरु गरेको छ । नगरपालिकाले गण्डकी प्रदेश सरकारसँगको साझेदारीमा हरियो घाँसलाई विशेष रुपमा पोषण तत्व कायमै रहने गरी तयार पारिने पशु आहार साइलेजको उत्पादन सुरु गरेको हो । नगरपालिकाले मुख्यमन्त्री नवप्रवद्र्धन कार्यक्रमसँगको साझेदारीमा २ करोड ५० लाखको लागतमा उद्योग स्थापना गरी साइलेज उत्पादन सुरु गरेको नगरप्रमुख हरिप्रसाद न्यौपानेले बताए । उद्योग स्थापनाले नगरपालिकासहित वरपरका पशुपालक कृषक लाभान्वित हुने तथा पशुपालनमा किसानलाई आकर्षित गर्न सकिने नगरप्रमुख न्यौपानेले बताए । ’उद्योग स्थापनाले हाल पशुपालन गरिरहेका कृषकलाई सबैभन्दा बढी लाभ हुन्छ’, उनले भने, ’पशुपालन गर्न चाहने नयाँ कृषकलाई पनि सुविधा हुने हुँदा पशुपालनतर्फ आकर्षण बढाउन अपेक्षा गरेका छौँ ।’ पशुपालनमा लागत घटाउँदै किसानको आम्दानी बढाउन यो योजनाले सहयोग पुग्ने विश्वास रहेको नगरप्रमुख न्यौपानेको भनाइ छ । नगरपालिकाले उत्पादन गरेको पशु आहार पशुपालक कृषकलाई सहुलियत दरमा बिक्री गरिने नगरप्रमुख न्यौपानेले बताए । पछिल्लो समय कतिपय पशुपालक कृषक पलायन हुने अवस्थामा पुगेका जनाउँन्दै उनले भने, ’पशुपालनमा उत्पादन लागत धेरै हुनु र आम्दानी कम हुने भएकाले कृषक पेसाबाट पलायन हुँदै गएका छन् ।’ देवचुलीमा साइलेज उद्योग स्थापनाले रोजगारीको सिर्जना गराएको नगर प्रवक्ता तिलप्रसाद काफ्लेले बताए। कृषकले बाँझो जमिनमा घाँस लगाएर उत्पादन भएको घाँस उद्योगलाई बेच्न सक्ने भएकाले उनीहरुको आर्थिक अवस्थामा सुधार पुग्ने काफ्लेले बताए । नगरपालिकाभित्रका पशुपालक कृषकलाई प्रोत्साहन गर्न नगरपालिकाले साइलेजको उत्पादन सुरु गरेको उनको भनाइ छ । कृषकहरुकै सहयोगमा दाना उत्पादन गर्ने र सहुलियत मूल्यमा दिने योजनाअनुसार नगरपालिकाले साइलेज उत्पादन सुरु गरेको उनले बताए। नगरपालिकाले साइलेज बनाउन यसअघि नगरभित्रका कृषकलाई मकै खेतीमा प्रोत्साहन गरेको थियो । मकै खेती गर्न कृषकलाई नगरपालिकाले बीउ, मल तथा सिँचाइका लागि अनुदानसमेत उपलब्ध गराएको नगरप्रवक्ता काफ्लेको भनाइ छ । कृषकले उत्पादन गरेको साइलेजका लागि आवश्यक पर्ने कच्चापदार्थ हरियो मकै नगरपालिकाले खरिद गर्ने उनले बताए । उद्योगमा ल्याएर आफैँले घाँस बेच्ने कृषकलाई प्रतिकिलो पाँच रुपैयाँसम्म तथा नगरपालिकाको आफ्नै स्रोतसाधन प्रयोग गरेर उद्योगसम्म कच्चापदार्थ ल्याउने व्यवस्था गर्नुपरेमा प्रतिकिलो चार रुपैयाँसम्म मूल्य दिनेगरी मापदण्ड तयार पारिएको नगर प्रवक्ता काफ्लेले बताए । उद्योगमा साइलेज उत्पादनपछि पशुपालक कृषकलाई सहुलियत मूल्यमा साइलेज प्रदान गरिने उनले बताए । नगरपालिकाले हाल उद्योगमा ४० देखि ५० किलोसम्मका साइलेज प्याकेज तयार पारिरहेको छ । यसलाई प्लास्टिकले बेरेर राखेको ६० दिनपछि पशुलाई दानाका रुपमा खुवाउन सकिने नगरपालिकाको पशु शाखा प्रमुख श्यामकृष्ण तिवारीले बताए । दुधेलो मकै र घाँसको ढोडलाई मेसिनमा पेलेर पोषणतत्व कायमै रहने गरी बनाइने साइलेज गाईवस्तुका लागि निकै लाभदायक पौष्टिक आहार भएको तिवारीले बताए । गाईभैँसीलाई साइलेज खुवाउँदा गुणस्तरीय दूध उत्पादनसँगै पशुचौपाया पनि स्वस्थ रहने भएकाले साइलेजको प्रयोग गर्न किसानलाई प्रोत्साहित गरिने तिवारीको भनाइ छ । सुक्खा याममा घाँसको अभावमा दूध उत्पादन घट्ने हुँदा पहिले नै तयार पारेर राखेको साइलेज पशु आहारका लागि अत्यन्त उपयुक्त हुने उनले बताए । महँगो मूल्यमा पराल किनेर खुवाउने बाध्यता रहेकामा किसानलाई अब उद्योग स्थापनापश्चात् राहत पुग्ने तिवारीको भनाइ छ । रासस

सगरमाथा आरोहणमा यस याममा १७ जनाले गुमाए ज्यान

काठमाडौं । सन् २०२३ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणमा जसरी सर्वाधिक आरोहणको इतिहास रचियो त्यसैगरी केही दुःखद् घटनाको पनि सामना गर्नुपर्‍यो । यस यामको सगरमाथा आरोहणमा ठूला विपद्बिना नै १७ जनाको मृत्युभयो । पर्यटन विभागका अनुसार मे २६ तारिखसम्म सगरमाथा आरोहणका क्रममा सात नेपाली र १० विदेशीसहित १७ जनाको मृत्यु भयो । नेपाल, भारत, चीन, मलेसिया, सिङ्गापुर, अष्ट्रेलिया, अमेरिका, क्यानाडा र हङ्गेरी गरी नौ देशका नागरिकको सगरमाथा आरोहणका क्रममा मृत्यु भएको हो । यस वर्षको सगरमाथा आरोहणमा प्रतिकूल मौसम अर्थात् बढी चिसो भएकाले पनि धेरै सङ्ख्यामा आरोहीको मृत्यु भएको २८ पटक सगरमाथाको आरोहण गरेर विश्वकीर्तिमान कायम गर्नुभएका कीर्तिमानी आरोही कामीरिता शेर्पाले बताए । ‘यसपाली चिसो बढी थियो, मौसमले पनि साथ दिएन, कतिपय दक्ष र अनुभवी गाइड पर्याप्त नभएकाले पनि मृत्यु बढेको हुनसक्छ’, उनले भने । विभागको पर्वतारोहण शाखाका निर्देशक युवराज खतिवडाका अनुसार प्रतिकूल मौसमका कारण यो वर्ष धेरै सङ्ख्यामा आरोहीको दुःखद् मृत्यु भएको छ । ‘यो पटक मौसमकै कारण धेरै आरोहीको मृत्यु भएको हो, मौसम सफा भयो भनेर आरोही अघि बढे बिचमा मौसम छिटोछिटो परिवर्तन भयो । यसपटक मौसम प्रतिकूलताका कारण नै धेरैको मृत्यु भएको छ’, उनले भने। यस याममा आरोहीको सङ्ख्या बढी भएको भनी प्रचारमा आएको विषय सत्य नरहेको भन्दै निर्देशक खतिवडाले मौसमले साथ नदिएकाले आरोहीको भिड बढेको उल्लेख गरे । उनले भने,’विदेशी सञ्चार माध्यमले आलोचना गरिरहेका छन् धेरै आरोहीलाई अनुमति दिइयो भनेर तर हामी पर्यटन विभाग त्यसलाई स्वीकार गर्दैनौँ ।’ निर्देशक खतिवडाले ३० दिनका लागि कूल चार सय ७८ आरोहीलाई आरोहण अनुमति दिइएको र औसतमा दैनिक १६ जनाको आरोहण हुने अनुमानसहित आरोहण अनुमति दिइएकाले आरोहीको सङ्ख्या बढी भनेर आलोचना गर्नुको तुक नरहेको बताए । चुचुरोसम्म बाटो बनाउने आइसफल डाक्टर पनि अनुकूल मौसमको पर्खाइमा आधार शिविरमा छन् । मौसमले साथ दिएमा छिट्टै उनीहरुले सगरमाथाको चुचुरोसम्म डोरी टाँगेर आरोहण सुरु भएको सन्देश दिने इमाजिन नेपालका कार्यकारी निर्देशक दावा ग्याल्जेन शेर्पाले जानकारी दिए । धेरै सङ्ख्यामा आरोहीलाई अनुमति दिइएकाले सगरमाथामा मृत्यु पनि बढेको र आरोहीको जाम लागेको भन्ने विदेशी सञ्चारमाध्यमका कुरा सत्य नभएको बरु प्रतिकुल मौमसका कारण केही दिन आरोहीहरुले एकै समयमा बढी भिडभाड गरेकाले धेरै सङ्ख्यामा मानवीय क्षति भएको नेपाल पर्वतारोहण सङ्घका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाको भनाइ थियो । ‘यस यामको सगरमाथा आरोहणमा मौसमका कारणले धेरै मृत्युदर बढेको देखिन्छ । कुनै आकस्मिक र ठूलो विपद् त हैन मौसमकै कारणले धेरै मानवीय क्षति भयो ।’ विभागका अनुसार सामान्यतयः अप्रिल अन्तिमसम्म ‘रोप फिक्सिङ’को काम सकिन्छ । मे महिनाभरी आरोहण चल्छ । यो सङ्ख्या सगरमाथामा भएका ठूला विपद्पछिको सबैभन्दा धेरै हो । यसअघि सन् २०१५ विस २०७२ वैशाख १२ गते आएको गोरखा महाभूकम्पका कारण १९ जनाको मृत्यु भएको थियो । त्यसअघि सन् २०१४ मा खुम्बु आइसफलमा गएको हिमपहिरोमा परी १६ जनाको मृत्यु भएको थियो । मौसम प्रतिकूलताका साथै हाईअल्टिच्यूटका कारण पनि यो वर्ष धेरै आरोहीको मृत्यु भएको इमाजिन नेपालका कार्यकारी निर्देशक दाबा ग्याल्जेन शेर्पाले बताए । कुन मितिमा कुन–कुन देशका आरोहीको मृत्यु सगरमाथा आरोहणको बाटो खुलाउने क्रममा अप्रिल १२ तारिखका दिन खुम्बु क्षेत्रमा तीन शेर्पा बेपत्ता भएका थिए । पर्यटन विभागका अनुसार खुम्बु पासाङल्हामु गाउँपालिका–५ निवासी दाछिरी शेर्पा, पेम्वा तेन्जिङ शेर्पा र लाक्पा रीता शेर्पा हिउँको ढिस्कोले पुरिएर बेपत्ता भएका हुन् । उनीहरु इमाजिन नेपाल ट्रेक्सबाट खटिएका थिए । सगरमाथाको चुचुरोसम्म डोरी टाँग्ने रोप फिक्सिङ को सामान लैजानेक्रममा उनीहरु हिउँको ढिस्कोमा बेपत्ता भएका थिए । सन् २०२३ को वसन्त ऋतुमा सगरमाथा हिमालको दोस्रो शिविरदेखि चुचुरोसम्म ‘रोप फिक्सिङ’ गर्न पर्यटन विभागबाट पर्वतारोहण सञ्चालक सङ्घलाई जिम्मेवारी दिइएको थियो । सो कामको जिम्मा पाएको इमाजिन नेपाल ट्रेक प्रालिका तर्फबाट दावा ग्याल्जे शेर्पाको नेतृत्वमा एक फोटोग्राफरसहित नौ शेर्पाले ‘रोप फिक्सिङ’ गरेका थिए । मृतकमध्ये तीन नेपाली र तीन विदेशीसहित छ जनाको सगरमाथा आरोहपछि मृत्यु भएको थियो भने बाँकी ११ जनाको आरोहणका क्रममा मृत्यु भएको थियो । ह्याप्पी फिट कम्पनीबाट आरोहणमा गएका नेपाली आरोही रञ्जित कुमार झाको २५ तारिखका दिन मृत्यु भएको थियो । एक्सिपीडिसन हिमालयबाट गएका लाक्पा नोर्बु शेर्पाको पनि सोही दिन मृत्यु भएको थियो । त्यस्तै पिक प्रमोसन कम्पनीबाट आरोहणमा गएका फुर्बा शेर्पाको मे १६ तारिखका दिन मृत्यु भएको थियो । त्यसैगरी विदेशी नागरिक क्रमशः मलेसियाका एज आकासान्दर विन अम्पुअन याक्कुवको मे १९ मा, सोही दिन सिङ्गापुरका श्रीनिवास सान्स दत्त र अष्ट्रेलियाका जासोन्ब बर्नाड लेलिन्सोनको मे १९मा मृत्यु भएको थियो । उनीहरु क्रमशः पायोनियर एक्सिपीडिसन सेभेन समिट ट्रेक्स र एसियन ट्रेकबाट आरोहणमा गएका थिए । त्यस्तै भारतका सुबान्ने लियोपोल्डिएनको मे १८मा लुक्लामा मृत्यु भएको थियो । उनी ग्लेसियर ट्रेकिङ कम्पनीबाट आरोहणमा गएका थिए । त्यस्तै एटके एक्सिपीडिसनबाट आरोहाणमा गएका चिनियाँ नागरिक जुएविन चेनको मे १८ मा सगरमाथाको साउथ समिटमा मृत्यु भएको थियो । त्यसैगरी मे १मा सगरमाथाको दोस्रो शिविरमा अमेरिकी नागरिक जोन थान सुगरम्यानको मृत्यु भएको थियो । उनी इमेज कम्पनीबाट आरोहणमा गएका थिए । अप्रिल १२ का दिन इमाजिन नेपालबाट गएका लाक्पा रीता शेर्पाको खुम्बु आइसफलमा मृत्यु भएको थियो । मे २१ तारिखमा पिक प्रमोसन कम्पनीबाट आरोहणमा गएका आङकामी शेपाको सगरमाथाको दोस्रो शिविरमा मृत्यु भएको थियो । क्यानेडियन नागरिक एस पेटरुस अल्वर्टयनको मे २५मा सगरमाथाको तेस्रो शिविरमाथि मृत्यु भएको थियो । उनी हिमालयन गाईड कम्पनीबाट आरोहणमा गएका थिए । सेभेन समिट ट्रेक्सबाट गएका हङ्गेरीका स्जीलार्ड सुहाजडाको हिलारी स्टेपमा मे २४मा मृत्यु भएको थियो । यस यामको सगरमाथा आरोहण गत वैशाख ३० गते देखि सुरु भएको थियो । झण्डै जेठको तेस्रो सातासम्म आरोहण भएको थियो । सगरमाथाको दोस्रो शिविरसम्म सगरमाथा प्रदूषण नियन्त्रण समिति ९एसपिसिसी०ले बाटो बनाएको थियो । सङ्घका पूर्वअध्यक्ष शेर्पाका अनुसार सन् २०१४ को हिमपहिरो र सन् २०१५ को महाभूकम्पछि यसवर्ष सबैभन्दा धेरै आरोहीको मृत्यु भएको हो । एकिन तथ्याङ्क नभए पनि सन् १९५३ देखि हालसम्म तीन सय २८ जनाको मृत्यु भएको बताइन्छ । हालसम्म झण्डै आठ हजारले सगरमाथा आरोहण गरिसकेका छन् । व्यक्तिगतरूपमा मात्रै एघार हजार हाराहारी आरोहीले सगरमाथा चढेको उनीले जानकारी दिए । यो याममा सगरमाथाको चाैँथो शिवविरसम्म बाटो खोलिसकेपछि उच्च हिमाली क्षेत्रमा लामो समयसम्म चलेको चर्को हावा र खराब मौसमका कारण सगरमाथाको चुचुरोसम्म ‘रोप फिक्सिङ’ गरी बाटो खोल्ने काममा केही ढिला भएको विभागले जनाएको छ । मौसम बिग्रिएकाले झण्डै दुईसाता ढिलोगरी आरोहण सुरु भएको थियो । सगरमाथा क्षेत्रमा प्रतिघण्टा ३५ देखि ४० किलोमिटर हावाको बेग चलेकाले आरोहणमा कठिनाइ भएको थियो ।सगरमाथा आरोहणको ७० वर्षे इतिहासमा यस वर्ष हालसम्मकै सर्वाधिक बढी आरोहीले अनुमति लिएका थिए । पर्यटन विभागका अनुसार यस याममा ४७ आरोही समूहका चार सय ७८ आरोहीले आरोहण अनुमति लिएकामा शेर्पा सहयोगीसहित ६०० हाराहारीले सगरमाथा आरोहण गरेका थिए । नेपालसहित ६५ देशका नागरिकले अनुमति लिएका थिए । सन् १९५३ मे २९ तारिखका दिन दुई साहसी पर्वतारोही नेपाली तेञ्जिङ नोर्गे शेर्पा र न्यूजिल्याण्डका सर एड्मन्ड हिलारी सगरमाथाको चुचुरोमा पुगेका थिए । सगरमाथा चढ्ने होडबाजीका साथै आरोहीहरूले नयाँ–नयाँ कीर्तिमानसमेत थप्दै आएका छन् । कामीरिता शेर्पाले २८ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान बनाएका छन् । उनीले वसन्त ऋतुको आरोहणमा सगरमाथाको दुई पटक क्रमशः जेठ ३ गते र जेठ ९ गते सगरमाथाको चुचुरोमा पुगेर आफ्नै कीर्तिमान तोडेका थिए । यस्तै पासाङ दावा शेर्पाले यही यामसम्ममा सगरमाथाको २७ पटक आरोहण गरी कीर्तिमान कायम गर्नुभएको छ । उनीले यही याममा दुई पटक आरोहण गरी नयाँ रेकर्ड दर्ता गराएका हुन् । दुबै खुट्टा नभएका पूर्वव्रिटिस गोर्खा सैनिक हरि बुढामगरले यसै याममा सगरमाथाको सफल आरोहण गरेर विश्व कीर्तिमान बनाएका छन् । गत जेठ ५ गते सगरमाथाको चुचुरोमा पुगेर बुढामगरले कीर्तिमान बनाएका थिए । रासस

राष्ट्रपति रामचन्द्र पाैडेललाई हृदयघात, गंगालालमा भर्ना

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेल अस्वस्थ भएका छन् । स्वास्थ्यमा समस्या आएपछी केही दिन सहिद गंगालाल हृदयरोग केन्द्रमा गएर जाँच गरिरहेका थिए । अस्पताल केन्द्र स्रोतका अनुसार उनलाई मुटुमा समस्या देखिएपछी गंगालाल लगिएको थियो । आईतबार पनि राष्ट्रपति जाँचको लागी केन्द्र पुगेका थिए । मंगलबार थप जाँच गर्दा मायोकाड्रिएल इन्फ्राक्सन (हृदयघात) देखिएपछि एनजिओ गरी मुटुको भल्व खोलिएको छ । उनको केन्द्रमा भर्ना गरि उपचार भईरहेको छ ।

नेपाल बीमा प्राधिकरणको भुक्तानी अब डिजिटल माध्यमबाट हुने

काठमाडौं । नेपाल बीमा प्राधिकरणले भुक्तानी सम्बन्धी कारोबारलाई नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) को भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न नेशनल पेमेन्ट स्वीचमा आबद्ध भएको छ । यस सम्बन्धमा हालै मात्र नेपाल बीमा प्राधिकरणका तर्फबाट संस्थाका कार्यकारी निर्देशक राजु रमण पौडेल र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । उक्त सम्झौता पश्चात प्राधिकरणको आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेस सँग जोडी विभिन्न भुक्तानीहरु मध्ये तलब, भेण्डर भुक्तानी, लगानी, लगायतका विभिन्न प्रकारका भुक्तानी सम्बन्धी कारोबारहरु आफ्ना तथा लाभग्राहीका बैंक खाताहरु बीच सोझै गर्न सक्नेछ । बीमाको क्षेत्रमा नयाँ आयाम थप्दै डिजिटल भुक्तानीको माध्यमको प्रयोगलाई थप प्रोत्साहन गर्न नेपाल बीमा प्राधिकरण र एनसीएचएलसँगको यस सहकार्यले झन टेवा पुर्याउने विश्वास गरिएकोछ । नेपालमा बीमा व्यवसायलाई व्यवस्थित, नियमित, निरीक्षण र सुपरिवेक्षण गर्ने नियामक निकायको रुपमा रहेको नेपाल बीमा प्राधिकरणले सधैँ सेवाको प्रभावकारिता बढाउन डिजिटल माध्यमको प्रयोगलाई जोड दिदै पहल कदमी भूमिका निभाँउदै आएको छ । यस अघि प्राधिकरणले प्रदान गर्ने बीमा एजेन्ट तथा सर्भेयरको लाइसेन्स नवीकरणको अनलाईन भुक्तानी एनसीएचएलको कनेक्ट आइपिएस प्रणाली मार्फत हुने व्यवस्था गरेको थियो । आगामी दिनहरुमा प्राधिकरणले अन्य सेवाहरु पनि क्रमश डिजिटाइज गर्दै लैजाने लक्ष्य लिएको छ । एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा विकास गरिएको एनपिआइमा हाल ५५ सदस्य बैंक वित्तीय संस्थाहरु आबद्ध छन् भने १५ बीमा कम्पनीहरुका साथै अन्य पिएसपी/पिएसओ, रेमिटेन्स कम्पनीहरु, मर्चेन्ट बैंक, सरकारी तथा अर्ध–सरकारी संस्थाहरु लगायतका ९० भन्दा बढी गैर—बैंकिङ्ग संस्थाहरु इन्डाइरेक्ट/प्राविधिक सदस्यका रुपमा आबद्ध छन् ।

पाठ्यपुस्तक छपाइको आयव्यय सार्वजनिक गर्न माग

काठमाडौं । जनक शिक्षा कर्मचारी सङ्गठनले शैक्षिक सत्र २०७९/८० को पाठ्यपुस्तक छपाइको आयव्यय हिसाब श्वेतपत्रमार्फत यथाशीघ्र सार्वजनिक गर्न माग गरेको छ । सङ्गठनका संयोजक जनखलाल भारतीले केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झालाई ज्ञापनपत्र दिँदै शैक्षिक सत्र २०८० का लागि पाँच हजार मेट्रिक टन कागज आपूर्तिको जिम्मा लिएको नेपा हिमा प्रालिले हालसम्म आपूर्ति पूरा नगरी अन्य व्यवस्थाबाट पाठ्यपुस्तक छाप्नुपरेको र कक्षा १० को कोर्ष आउट भइसकेको पुस्तक बढी छापिएको विषयमा पनि ध्यानाकर्षण गराएको छ । सङ्गठनले कर्मचारी सेवा शर्त विनियमावली सम्बन्धित निकायबाट ल्याई कर्मचारीको वृत्ति विकासका कार्य नियमित गर्न, केन्द्रका फाजिल दरबन्दीमा रहेका हाल तीन तहमा कार्यरत कर्मचारीलाई विनियमावलीको व्यवस्था अनुसार विनाशर्त चार तहमा बढुवा गर्न समेत माग गरेको छ । प्रादेशिक कार्यालयका जीर्ण भवनमध्ये आगामी आवको बजेटमा कम्तीमा प्रादेशिक कार्यालय, भरतपुर र कैलालीको धनगढी कार्यालयका भवन निर्माणका लागि बजेटमा व्यवस्था गर्नुपर्ने सङ्गठनको भनाइ छ । विगत लामो समयदेखि पाठ्यपुस्तकको मूल्यवृद्धि नभएको र कच्चापदार्थको भाउ दोब्बर भएकाले तत्काल पाठ्यपुस्तकको मूल्यवृद्धिको पहल गर्न, केन्द्रमा बिग्रिएर थन्किएका मेसिनलाई तत्काल लिलाम प्रक्रिया अगाडि बढाउन, कागज लोड–अनलोड गर्दा लापरबाहीका कारण नोक्सान हुने अवस्था कम गर्न, केन्द्रमा अर्को पाठ्यपुस्तक भण्डारण बनाउन माग गरिएको छ । ज्ञापनपत्र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री, सञ्चालक समितिका अध्यक्ष एवं शिक्षा मन्त्रालयका सचिव, र सार्वजनिक संस्था कर्मचारी सङ्गठन, नेपालका अध्यक्षलाई बोधार्थ दिइएको छ ।