
काठमाडौं । वाणिज्य बैंकहरुले असारमा ब्याजदर स्थीर राख्ने निर्णय गरेका छन् । नेपाल बैंकर्स संघको मंगलबार बिहान बसेको बैठकले असारमा ब्याजदर स्थीर राख्ने निर्णय गरेको संघका अध्यक्ष सुनिल केसीले विकासन्युजलाई जानकारी दिए ।
यसअघि बैंकहरुले जेठमा ब्याजदर स्थिर राखेका थिए । हाल बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ९.९९ र संस्थागत मुद्दतीमा अधिकतम ७.९९ प्रतिशत ब्याजदर प्रदान गर्दै आएका छन् । सोही ब्याजदर असारमा लागू हुने छ ।
महँगी उच्च भएका कारण ब्याजदर स्थीर राख्नु परेको अध्यक्ष केसीले बताए । निक्षेपतर्फ मुद्दतीको ब्याजदर ७.९९ प्रतिशतमा झरिसकेको हुँदा अहिले ब्याजदर कम गर्दा असर पर्ने उनको भनाइ छ । उनका अनुसार असारमा कर्जाको ब्याजदर भने केही प्रतिशत घट्ने छ ।
‘असारमा निक्षेपको ब्याजदर स्थीर रहन्छ, कर्जाको ब्याजदर स्वतः घट्दै जान्छ, बैंकहरुले स्प्रेडदर नै घटाउनु पर्छ, स्प्रेडदर २०÷२५ प्वाइन्टले घट्दा कर्जाको ब्याजदर स्वतः घट्छ,’ उनले भने, ‘आधार दर पनि घटिसकेको छ, त्यसको प्रभाव पनि असारमा पर्छ, यसरी नै कर्जाको ब्याजदर घट्छ ।’ उनले तत्काल निक्षेपको ब्याजदर नबढ्ने बताए ।
यता विकास बैंकहरुले पनि असारमा ब्याजदर स्थीर राख्न सक्ने एक विकास बैंकका सीईओले बताए । असारमा ब्याजदरका विषयमा निर्णय गर्न डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालले बुधबार बैठक बस्ने भएको छ ।
फाइनान्स कम्पनीहरुले पनि असारमा ब्याजदर स्थीर राख्ने भएका छन् । असारमा कर्जा प्रवाह कम हुने भएकाले ब्याजदर स्थीर रहन सक्ने नेपाल वित्तीय संस्था संघले बताएको छ । ब्याजदर सम्बनी निर्णय गर्नका लागि संघको बैठक मंगलबार बस्ने भएको छ ।