करदाताले बुझाएनन् आयकर, भुक्तानी गर्न विभागको ताकेका
काठमाडौं । करदाताले आयकर भुक्तानी नगरेपछि आन्तरिक राजश्व विभागले भुक्तानीमा ताकेका गर्न थालेको छ । ४० लाख रुपैयाँभन्दा बढी आय भएका व्यक्तिगत करदाताले पछिल्लो समय कर भुक्तानी नगरेको भन्दै विभागले भुक्तानीमा ताकेता गर्न सम्बन्धित कार्यालयलाई परिपत्र जारी गरेको हो । विभागले बिहीबार एक सूचना जारी गर्दै ठूला करदाता कार्यालय हरिहरभवन, मध्यमस्तरिय करदाता कार्यालय बबरमहल, आन्तरिक राजश्व कार्यालय सबै र करदाता सेवा कार्यालय सबैलाई सो परिपत्र गरेको हो । केही व्यक्तिहरुले आयकर विवरण भुक्तानी नगरेको भन्ने जानकारी आएपछि भुक्तानीमा ताकेता गर्न सम्बन्धित कार्यालयलाई परिपत्र गरिएको विभागका सूचना अधिकारी राजु प्याकुरेल बताउँछन् । ‘यो नियमित प्रक्रिया हो, वार्षिक ४० लाख रुपैयाँभन्दा बढी आय भएका व्यक्तिहरुले तोकिए बमोजिम आयकर भुक्तानी गर्नुपर्ने हुन्छ, तर पछिल्लो समय केही व्यक्तिले भुक्तानी नगरेको पाएपछि हामीले भुक्तानीमा ताकेका गरेका हौँ’, उनले भने । विभागबाट आइटीएस प्रणाली सुधार गरी प्राकृतिक व्याक्तिको ४० लाख भन्दा बढी आय भएको तर डे४ विवरण पेश नगर्ने करदाताको पहिचान गर्न आइटीएस इन्कम ट्याक्स रिपोर्ट, प्यान ट्रान्जेक्सन भित्र प्यान इन्कम फर्म इटीडिएस एभो ४० लाख समरी रिपोर्टबाट करदाताको रिपोर्ट हेर्न सकिने व्यवस्था छ । सो प्रणालीबाट विवरण हेर्दा अधिकांश करदाताले आयकर छलि गरिएको भेटिएको विभागले जनाएको छ । विभागले जारी गरेको परिपत्रमा भनिएको छ, ‘कतिपय करदाताको विवरण हेर्दा ४० लाख रुपैयाँभन्दा बढीको आय भएकोमा अग्रीम कर आय हुने करदाताको विवरण हेरी नियमाननुसार टिडिएस रकम दाखिला गरे/नगरेको, विवरण दिए/नदिएको लगायतका टीडीएस सम्बन्धी हुर्नुपर्ने सबै विषयको चेक, जाँच, परीक्षण सम्पूर्ण कार्य सकेर इएमआइएस प्रणालीमा प्रविष्ट गर्न आदेशानुसार अनुरोध छ ।’
हाइकिङमार्फत मह गाउँको प्रवर्द्धन
गण्डकी। शुक्लागण्डकी नगरपालिका–२ मा पर्छ दगाम गाउँ । यस गाउँमा २३ घर रहेका छन् । बीस घरमा मगर तथा तीन घरमा गुरुङ जातिको बसोबास रहेको छ । गाउँका सबै घरमा मौरीका घार छन् । यहाँको मह स्वदेशमा मात्रै नभई विदेशमा पनि निर्यात हुने गरेको छ । पछिल्लो समयमा त दगामको पहिचान नै मह गाउँ बनेको छ । उत्तरपट्टि लस्करै मिलेका चाँदीजस्तै टलक्क टल्केका अन्नपूर्ण, धौलागिरि, मनास्लुसहित माछापुच्छे«लगायत हिम चुचुरासँग नाङ्गा आँखा जुधाउन सकिनु यहाँको विशिष्टता हो । दक्षिण, पूर्व र पश्चिमतर्फ ठम्याउन सकिने नौवटा जिल्लाका रमणीय दृश्यसमेतले यहाँको पर्यटकीय महत्व चुलिएको छ । प्राकृतिक सौन्दर्य, स्वच्छ हावापानी, जैविक खाना, मौलिक लोक संस्कृति, स्थानीयको आत्मीय व्यवहार एवं यहाँको महले देश तथा विदेशमा पाएको चर्चासँगै ठाउँठाउँबाट पर्यटक पुग्न थालेपछि स्थानीयवासी हौसिएका छन् । मह गाउँकै रुपमा बढ्दै गएको चर्चासँगै हाइकर्स क्लब नेपालले आफ्नो ३५ औँ शृङ्खला दगाममा सम्पन्न गरेको संयोजक कृष्ण रानाभाटले जानकारी दिए । ‘स्वास्थ्य र पर्यटनको लागि हाइकिङ’ मूल नाराका साथ विगत तीन वर्षदेखि सञ्चालन भइरहेको हाइकिङ यस पटक दगाममा गरेका हौँ’, उनले भने । प्रत्येक महिनाको अन्तिम शनिबार पोखरा र आसपासका पर्यटकीय गन्तव्यलाई एक दिने हाइकिङका माध्यमबाट पवर्द्धन गर्ने गरिएकोमा यस पटक दगामलाई छनोट गरिएको उनले बताए । दगाम सामुदायिक होमस्टे र यहाँका स्थानीयको सरल, निश्चल र सहयोगी भावनालाई यसअघि सुन्ने गरिएकोमा पुगेरै प्रत्यक्ष अनुभव गरिएको उनले सुनाए । दगाम शुद्ध महका लागि पनि पुग्नै पर्ने गन्तव्यका रुपमा आफूहरूले पाएको बताउँदै रानाभाटले हिमाली एवं पहाडी भूभागको दृश्यावलोकनसँगै यहाँको महलाई पर्यटनसँग जोड्न सकिने पर्याप्त सम्भावना रहेको बताए । दगाम सामुदायिक होमस्टेमा पुग्ने जो कोहीलाई स्थानीयले अतिथि देवो भवःको मन्त्रलाई आत्मसात् गर्दै अबिर, फूलको गुच्छा प्रदान गर्नुका साथै परम्परागत मगर जातिको मौलिक कौरा नृत्यले स्वागत गरिन्छ । तनहुँ र कास्कीको सिमानामा पर्ने पृथ्वी राजमार्गको कोत्रे बजारबाट दगाम पुग्न गाडीको सुविधा छ भने हाइकिङ गरी ज्वालादेवी सामुदायिक वन, मकनपुर गाउँ, भुजिकोट हुँदै पनि यहाँ पुग्न सकिन्छ । मौरीपालनका माध्यमबाट दगाम गाउँले आफ्नो छुट्टै पहिचान गराउन सफल भएको अगुवा समाजसेवी नन्दबहादुर थापाले बताए । स्वदेश तथा विदेशमा यहाँको मह पुग्ने गरेको बताउँदै उनले गाउँबाटै प्रतिकिलो रु एक हजार पाँच सयमा बिक्री भइरहेको जानकारी दिए । मह उत्पादन जति गर्न सके पनि बजारको समस्या नरहेको उनको भनाइ छ । पछिल्ला समयमा विशेषतः बिदाका दिनमा कास्की तथा तनहुँका विभिन्न स्थानबाट पर्यटक दगाम आउने गरेको दगाम सामुदायिक होमस्टे व्यवस्थापन समितिकी अध्यक्ष तिला थापा मगरले बताए । दगामबाट देखिने हिमालसँगै वरपरका हरिया डाँडाहरू, शुक्लागण्डकी क्षेत्रको अतिरिक्त पोखराको फेवातालसम्मका दृश्यमा पर्यटक लोभिने गरेको उनको भनाइ छ । प्रकृति, संस्कृति र आत्मीयताले पर्यटक आउन थालेपछि यहाँका स्थानीयवासी विसं २०६५ मा नेपालकै पहिलो घरवास (होमस्टे) सुरु भएको स्याङ्जाको सिरुबारी गाउँ पुगेका थिए । त्यहाँको अवलोकन पछि दगाममा घरबास सुरु गरिएको उनले जानकारी दिए । घरवास चलाउन २०६३ सालदेखि नै योजना बनाए पनि सिरुबारीको प्रेरणाले यसतर्फ लागिएको स्थानीयवासी बताउँछन् । घरवासमा आउने पर्यटकले कोदो, मकैको परिकारसँगै लोकल कुखुराको मासुलगायतका स्थानीय परिकार नै बढी रुचाउने गरेको स्थानीयको अनुभव छ । आफूहरूले सकेसम्म भटमास, मस्याङ, गुन्द्रुक, ढिँडो, महलगायतका स्थानीय परिकार नै खुवाउने गरेको अध्यक्ष थापामगरले जानकारी दिए । घरवासमा आउने पर्यटकका लागि रु एक हजार चार सयको प्याकेज उपलब्ध छ । यसमा दिउँसो र बिहानको खाजा, बिहान बेलुकाको खाना, मनोरञ्जन र आवासको सुविधा मिलाइएको छ । प्रत्येक दिन ४० जना पाहुना राख्न सक्ने क्षमता रहेको दगाममा आएका पर्यटकले मह खरिद गरी लैजान थालेपछि स्थानीयवासीमा अझै उत्साह थपिएको छ । मगर र गुरुङ जातिको संस्कृति पनि यहाँको आकर्षण हो । कात्तिक–मङ्सिरमा बालन नाच, मङ्सिरदेखि माघसम्म नचरी, सोरठी र ख्याली, फागु पूर्णिमादेखि कौरा नाच देखाइने यो गाउँमा संस्कृति संरक्षणलाई पनि उत्तिकै प्राथमिकता दिइएको छ । प्राचीन घाटुनाचको संरक्षणलाई पनि स्थानीयले जोड दिएका छन् । चैत–वैशाखमा वरपरका जङ्गलमा ढकमक्क फुल्ने लालीगुराँसले यहाँ आउने जो–कसैको मन लोभ्याउने गर्दछ । गाउँ पर्यटनमा प्रचुर सम्भावना बोकेर पनि पूर्वाधारको अभावका कारण दगाम अझै ओझेलमा गरेको अर्का स्थानीयवासी तीलबहादुर थापामगरले बताए । दगामको राम्रोसँग प्रवर्द्धन गर्दै पर्यटकको आगमन बढाउन सकेमा यो अन्य स्थानका लागि पनि प्रेरक बन्न सक्ने पाइएको हाइकर्स क्लब नेपालका संयोजक रानाभाटले बताए । ‘दगाममा उत्पादन हुने महलाई कृषि पर्यटनसँग पनि जोड्न सकिने धेरै सम्भावना छन्’, उनले भने । पृथ्वी राजमार्गको कोत्रेबाट चार/पाँच घण्टाको हाइकिङबाट यहाँ पुग्न सकिन्छ । रासस
अरुण नदीले कटान गरेपछि तटीय क्षेत्रमा जोखिम
किमाथाङ्का । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको अस्थायी ड्याममा अरुण नदीले कटान गर्न थालेपछि तटीय क्षेत्रमा जोखिम बढेको छ । गत वैशाख १७ गते पहिरो खसेर अरुण तेस्रोको डाइभर्सन टनेल थुनिएको थियो । डाइभर्सन टनेल थुनिएपछि बनेको अरुण नदीको अस्थायी तालको पानीले ड्यामको नयाँ बस्तीको पहाड कटान गरेपछि तटीय क्षेत्रमा जोखिम बढेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए । माथिल्लो क्षेत्रमा लगातार वर्षा भइरहेको कारण अरुण नदीमा पानीको सतह बढेपछि अस्थायी बाँधको नयाँ बस्तीतिर कटान गरेर अरुण बग्न थालेपछि नदी किनार आसपासका बस्तीमा जोखिम बढेको हो । उक्त बाँध अरुण नदीले आफैँ कटान गरेर खोल्न थालेपछि नदी किनार आसपासका बस्तीमा जोखिम बढेका कारण सर्तक रहन सुरक्षा निकायमार्फत जानकारी गराइएको उनको भनाइ छ । अरुण नदीले अस्थायी बाँधको कटान गरेर बग्न थालेपछि तटीय क्षेत्रमा जोखिम बढेपछि जिल्ला प्रहरी कार्यालयले सर्तक रहन आग्रह गरेको हो । अरुण नदी थुनिएपछि २६ मिटर अग्लो बाँधमा पानी भरिएको थियो । २६ मिटर अग्लो बाँधमा पानी जमेपछि करिब तीन किलोमिटरसम्म ताल बनेको छ । अरुण नदीलाई बहाव परिवर्तन गरी चार सय २९ मिटर लामो डाइर्भसन टनेलमार्फत अरुण नदी मोडिएको थियो । आयोजनाको बाँध निर्माणका लागि अस्थायी बाँध निर्माण गरी डाइभर्सन टनेलमार्फत नदी बग्दै आएको थियो । जिल्ला प्रहरी कार्यालयले अरुण नदीको तटीय क्षेत्रका बासिन्दालाई सजग हुन आग्रहसमेत गरेको छ । रासस
एकैदिन तोलामा ८ सयले घट्यो सूनको मूल्य
काठमाडौं । नेपाली बजार जेठ महिनाको अन्तिम दिन बिहीबार सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ८ सयले घटेको छ । नेपाली सुनचाँदी व्यवसायीका अनुसार आज घटेको मूल्य अनुसार छापावाल सुन तोलामा १ लाख ११ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुनको मूल्य १ लाख १० हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । साथै, आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर १ हजार ४ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।
सेयरधनीलाई प्रतिफल वितरण नगर्दासम्म गाडीको सुविधा लिँदैनौं, कम्पनीमा ब्रेकथ्रु गरेरै छाड्छौं
राष्ट्रिय बीमा कम्पनीमा म मन्त्री परिषद्को निर्णयअनुसार अध्यक्ष भएर आएको लगभग ७ महिना मात्रै भयो । प्रमुख कार्यकारी अधिकृत (सीईओ) शेखर बराल सर पनि मभन्दा एक महिनाअघि मात्रै नियुक्त हुनुभएको थियो । अफिस आयौं । एक दुईवटा बैठक गर्यौं । म आउनु अघि दुई चार जना अध्यक्ष आउनु भएको थियो होला । तर मैले दुईतीन वटा बैठकपछि अनुभव के गरें भने कम्पनीमा धेरै लथालिंग रहेछ । वार्षिक साधारण सभा (एजीएम) त भएको थिएन, हुँदा हुँदा अध्यक्ष बस्ने टेबल पनि रहेनछ । सबैभन्दा पहिला मैले के सम्झिएँ भने म काम गर्न भनेर यहाँ आएको । त्यसैले कामको शुरुवात गर्न सानै भएपनि अध्यक्षको एउटा कोठाको व्यवस्था मिलाउन लगाए । त्यसपछि व्यवस्थापनका साथीहरुसँग छलफल भयो । सीईओसँग छलफल भयो । बोर्डका सदस्यहरुसँग छलफल भयो । नयाँ थिएँ । पहिलाको सिस्टमको बारेमा मलाई पनि त्यति थाहा थिएन । अहिले हाम्रा सञ्चालकज्यूहरु जुन जुन क्षेत्रबाट आउनु भएको छ, उहाँहरुको काम आएर सहि गर्ने मात्रै होइन । बोर्डको मेम्बर भएर उहाँहरुले फुल टाइम कम्पनीलाई दिईरहनु भएको छ । कम्पनीले हाल भएको बेथितिलाई न्यूनिकरण गर्न तथा कम्पनीलाई उचाईमा पुर्याउनको लागि उहाँहरु पूर्णरुपमा डेडिकेटेड हुनुहुन्छ । र, उहाँहरुलाई धन्यवाद पनि दिन चाहान्छु । सीईओ सर आउनासाथै हामीले सबैभन्दा पहिला व्यवस्थापन टीमसँग बस्यौं । कम्पनीलाई कसरी सुधारको बाटोतर्फ लैजाने भन्ने विषयमा छलफल भयो । विगतमा जे भयो भयो, अब एउटा न एउटा समितिले ब्रेकथ्रु त गर्नै पर्थ्यो । त्यसको लागि शुरुवात गर्ने क्रममा वार्षिक साधारण सभा गर्ने भन्ने निर्णय गर्यौं । निर्णय गर्दा हामीले संस्थागत रुपबाट विभिन्न उपसमितिहरु बनायौं । एजीएमको लागि तयारी समिति नै बनायौं । उक्त समितिले पूर्वकर्मचारी साथीहरु लगायत सेयर सदस्यहरुसँग विभिन्न विषयमा छलफल गर्यौं । र, म यो एजीएममार्फत के विश्वास दिलाउन चाहान्छु भने अब सेयर सदस्य, सञ्चालक समिति र व्यवस्थापन टीम प्रत्येक दुई दुई महिनामा बैठक बसेर पुँजी वृद्धिको योजनादेखि लिएर बीमा कम्पनीलाई उकास्नको लागि आवश्यक सरसल्लाह, आपसी समझदारी लगायत आपसी एकतासँगै सहकार्य गर्नेछौं । राष्ट्रिय बीमा कम्पनी अहिले हरेक विषयमा संस्थागत रुपमा निर्णय लिएर अगाडि बढी रहेको छ । हामीले जग्गाको बारेमा पनि त्यो जग्गासँग सम्बन्धित मन्त्रालयदेखि लिएर सम्बन्धित कार्यालय (मालपोत कार्यालय, खाद्य संस्था, मन्त्रालय) सम्मको लागि हामीले हाम्रो नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) सुवास कोइरालाज्यूको संयोजकत्वमा समिति गठन गरेका छौं । बोर्डको बैठक बस्दा पुराना धेरै सेवा सुविधाहरु थिए । जसमा गाडि किन्नेदेखि लिएर धेरै विषयहरु छन् । तर हामीले जबसम्म सेयर सदस्यहरुलाई विश्वास दिलाउन सक्दैनौं तबसम्म सबै सेवा सुविधाहरु नलिने भन्ने नयाँ निर्णय गर्यौं । किनभने उहाँहरुले अहिलेसम्म प्रतिफल पाउनु भएको छैन, त्यसैले उहाँहरुमा विश्वास नदिलाई हामीले गाडि लगायतका विभिन्न अनावश्यक सेवा सुविधाहरु लिनुहुन्न भनेर रोकेर राखेका छौं । हामीले त्यो सेवा सुविधा लिएर पछि सेयरधनीलाई केही दिन सकेनौं भने हामी कम्पनीमा आएको अर्थ हुने छैन । हामी कम्पनीमा केही कमाउन, केही खान भनेर आएका होइनौं । केही गरौं भनेर आएका हौं । गरेरै छोड्छौं पनि । त्यो विश्वास हामीले सेयरधनीलाई दिलाउन चाहन्छौं । अफिशको मोडलनै व्यवस्थित हुन नसकेपछि सबैतिर लथालिङ्ग हुने रहेछ । तर अहिले जहाँसम्म लाग्छ राष्ट्रिय बीमा कम्पनीको कर्मचारीहरु सबै पूर्णरुपमा सक्षम छन् । पहिले के थियो थाहाँ छैन । र, सबै कर्मचारीहरु सर्पोटिभ हुनुहुन्छ । सार्वजनिक भएको वित्तीय विवरणहरुमा कतिपय त्रुटीहरु भेटिएका छन् । कतिपय फाइलहरु हराएका थिए । धेरै विषयहरु नमिलेका थिए होलान् । अब त्यतातिर नजाऔं । हामीले अकाउन्ट मिलाउनको लागि मैले र सीईओ सर लगायत साथीहरु बसेर दुई जना चार्टर्ड अकाउन्टेन्टलाई करारमा नियुक्त गर्यौं । अब आउने एजीएममा कर्मचारी थप्छौं । अहिले भएका कर्मचारीहरुले पनि ओटीको सेवा सुविधामा काम गर्न सक्नुहुनेछ । त्यसमा रोकतोक हुँदैन । तर नतिजामा तलमाथि हुनु भएन । म अध्यक्ष भएर आईसकेपछि हामी नेपाल बीमा प्राधिकरणमा गएका थियौं । त्यसपछि महालेखा परीक्षण कार्यालयमा पनि गएका थियौं । त्यो अवस्थामा मैले के अनुभव गरेँ भने उहाँहरुले बीमा कम्पनीलाई हेर्ने नजर नै अर्कै रहेछ । यति अपमानित किन भइयो भनेर विचार गर्दा कम्पनीले काम नै गरेको रहेनछ । अब आजको सभाले विभिन्न बुँदाहरु पास गरेर गइसकेपछि हामीले बीमा प्राधिकरण, हामीले महालेखामा, हामीले अर्थमन्त्रालयमा र हामीले पर्यो भने प्रधानमन्त्री कार्यालयमा नै यी यी कामहरु गरेर आएका छौं भनेर भन्न सक्छौं । र, सेयरधनीलाई लाभांश वितरण गर्नको लागि सक्दो प्रयास गर्छौं । त्यसैले सेयरधनीहरुलाई के भन्न चाहन्छु भने हामी तपाईंहरुसँग छौं । के के गर्नुपर्छ अब हुने दुई दुई महिनाको बैठकमा सल्लाह सुझाव दिनुहोला । हामीबीच एक आपसमा छलफल भइरहनु पर्यो । जसले काम गर्नमा सहज बनाउँछ । तपाईंहरुले जुन किसिमको पारदर्शिता तथा सुशासन भन्नु हुन्छ, त्यो एकदम पाउनु हुनेछ । किनभने हामी नयाँ ढंगबाट कम्पनीमा आएका छौं । हामीले सबैभन्दा पहिला इमान्दारिता र कम्पनीको सुशासनमा चल्नुपर्छ । (राष्ट्रिय बीमा कम्पनीका अध्यक्ष उपाध्यायले कम्पनीको वार्षिक साधारणसभा राखेका मन्तव्यको सम्पादित अंश)
गर्मी बढेपछि भोजपुरको महभिर झरनामा पर्यटकको घुइँचो
भोजपुर । देशभर तापक्रम बढेसँगै जनजिवन प्रभावित बनेको छ । तापक्रम बढेसँगै भोजपुरको टेम्केमैयुङ गाउँपालिकास्थित महभिर झरनामा पर्यटकको घुइँचो लागेको छ । उनीहरु गर्मी छल्न यहाँ आउने गरेका छन् । झरनाबाट झरेको पानीको फोहोराले पर्यटकको मन लोभ्याउँछ । दैनिक सयौँको सङ्ख्यामा आन्तरिक पर्यटक यहाँ रमाइलो गर्न पुग्ने गरेका छन् । टेम्केमैयुङ–४ नागीमा रहेको यो झरना ६० मिटर लामो छ । भिरमौरी बस्ने भएकाले यो झरनाको नाम महभिर झर्ना रहेको स्थानीयको भनाइ छ । बाह्रै महिना भिरको छाँगोबाट झर्ने पानीले पर्यटकको मन लोभ्याउने गरेको छ । खास गरेर यहाँ गर्मीको समयमा बढी पर्यटक पुग्ने गरेका छन् । गाउँपालिकाले यहाँ पुग्ने बाटोको विस्तारसँगै झर्ना वरिपरि पर्यटकलाई लक्षित गरेर विभिन्न संरचना निर्माण गरेको प्रमुख प्रशासकीय अधिकृत सन्दिप न्यौपानेले बताए । विगतमा प्रचारप्रसारको अभावले ओझेलमा परेको झरनासम्म पुग्न गाउँपालिकाले पदमार्ग निर्माण गरेको छ । भोजपुर सदरमुकामबाट करिब २९ किलोमिटर र गाउँपालिका केन्द्रबाट करिब साढे चार किलोमिटर पश्चिममा अवस्थित यो झरनामा बाह्रै महिना पानी एकनासले बग्ने गरेको स्थानीयवासी शिवकुमार राईले बताए । भोजपुर र खोटाङ सदरमुकाम दिक्तेल जोड्ने मध्यपहाडी लोकमार्ग यही क्षेत्र भएर विस्तार भएकाले झरना हेर्नेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । झरना सडकबाट साढे दुई किलोमिटरभित्र रहेको छ । महभिर झरनालाई पर्यटकीय क्षेत्रको रुपमा स्थापित गराउने उद्देश्यका साथ काम अघि बढाइएको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताए । ‘गाउँपालिकालाई पर्यटकीय क्षेत्रको रुपमा स्थापित गर्ने लक्ष्य छ । धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि योजनाबद्ध रुपमा काम गरिरहेका छौँ’, उनले भने । अञ्चल डाँडाबाट महभिर हुँदै चखेवा भञ्याङ र वडा नं– ५ खावा, चोलन्तीलगायत क्षेत्रबाट आउने पर्यटकलाई लक्षित गरेर हुँगेबाट झरना हुँदै चखेवाभञ्याङसम्म पदमार्ग विस्तार गर्ने योजना रहेको उनको भनाइ छ । झरना आसपासमा स–साना दह निर्माण गरेर माछापालन, उद्यान निर्माण गर्नेलगायत गाउँपालिकाको योजना छ । महभिर झर्नाका साथै चखेवाभञ्याङ, टेम्के डाँडा र मैयुङडाँडा एकै पटकमा घुम्न मिल्ने गरी संरचना निर्माण गर्ने योजना छ । मुन्दुम पदमार्गले पनि यहाँका धेरै पर्यटकीय क्षेत्रलाई समेटेको छ । चखेवाडाँडा, टेम्केडाँडा र मैयुङडाँडा पनि यही मार्ग भएर जानुपर्ने हुन्छ । रासस
राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा बैरागी, लिए शपथ
काठमाडौं । सरकारले राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा शंकरदास बैरागीलाई नियुक्त गरेको छ । बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले मुख्यसचिवबाट राजीनामा गराएर राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त गरेको हो । राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त भएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैरागीले शपथसमेत गराइसकेका छन् । ३ महिनापछि मुख्यसचिवबाट अवकास पाउन लागेका बैरागीलाई सरकारले मन्त्रीसरहको सुविधा दिएर राष्ट्रिय सुरक्षा सल्लाहकार बनाएको हो । मुख्य सचिव हुनुअघि बैरागी परराष्ट्र सचिव थिए । त्यसअघि उनी संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी प्रतिनिधिसमेत थिए । यस्तै, बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डा. बैकुण्ठ अर्याललाई मुख्यसचिवका रुपमा नियुक्त गरेको छ ।
मुगुको सोरुमा खाद्यान्न सङ्कट
मुगु । मुगुको सोरु गाउँपालिका भीइ गाउँकी कमला नेपाली खाद्यान्न लिन चार घण्टा हिँडेर बुधबार सोरुकोट आए । बिहान बेलुका छाक टार्न मुस्किल भएपछि उनी खाद्यान्न लिन सोरुकोट खाद्य डिपो आएका थिए । ‘घरमा अन्न सकियो, त्यसैले चार घण्टा हिँडेर सोरुकोट चामल लिन आएकी हुँ’, नेपालीले भने, ‘गाउँमा भोकमरी छ, अनाज किन्न पाइँदैन ।’ नेपाली मात्रै नभई आठ गाउँका बासिन्दा चामल किन्न सोरुकोट आउने गरेका छन् । सोरुकोट डिपोमा पनि पर्याप्त मात्रामा चामल छैन । घण्टौँ लाइनमा बसेर पनि उनीहरुले चाहेजति चामल पाउन सकेका छैनन् । ‘भोकभोकै पैँतला दुखाएर सोरुकोट खाद्यान्न लिन आए’, भीइ गाउँकी पानमती डागरले भनिन्, ‘एक प्याकेट चामल पाउन पनि सास्ती भयो ।’ सोरु गाउँपालिकाका सबै गाउँमा खाद्यान्न अभाव चुलिएको छ । गत वर्ष असोजको बाढी पहिरोले गहुँ, जौँ नष्ट हुँदा स्थानीयलाई अनिकालले पिरोलेको हो । ज्यालादारी गरी कमाएको पैसा बोकेर स्थानीयवासी चामल खरिद गर्न खाद्य डिपोदेखि व्यापारीको दैलो चहार्न थालेका छन् । केही स्थानीयले खेतबारीमा पाकेको गहुँ र जौँबाटै गर्जो टार्न थालेका छन् । सोरुकोट खाद्य डिपोमा पनि पर्याप्त चामल नभएकाले गाउँघरमा भोकमरी भएको सोरु गाउँपालिका–३ का वडाध्यक्ष सिंहबहादुर धामीले बताए । सोरुकोट खाद्य डिपोको वार्षिक चामलको कोटा एक हजार पाँच सय क्विन्टल हो । उनीहरुलाई अनुदानको चामल पाउन मुस्किल हुने गरेको छ । सोरुकोट खाद्य डिपोमा वार्षिक कोटा नै कम भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिडेटका प्रमुख पुस्कर भामले बताए। ‘चामलको कोटा बढाउन काम गर्दै आएका छौँ’, उनले भने ।