सीमा विवाद नटुङ्गिँदा पूर्वाधार निर्माणमा समस्या
ढोरपाटन । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले जोडिनुपूर्व बागलुङ, पूर्वी रुकुम र रोल्पाको सिमाना पातीहाल्ने गुमनाम थियो । यहाँ तीन जिल्लाका भेडी गोठालाले भेडा चरन क्षेत्रका रुपमा प्रयोग गर्दै आएका थिए । स्थानीय तहको स्थापनापछि निसीखोला गाउँपालिकाले विसं २०७५ मा रिगतालको पहचिान गरी प्रचारप्रचार र पूर्वाधार निर्माण गरेको थियो । पातीहाल्ने क्षेत्र र रिग ताल प्रचारप्रसारपछि पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गए । सोही वर्ष पूर्वी रुकुमको भूमे गाउँपालिकाले बागलुङको भू-भागमा आएर प्रवेशद्वार निर्माण गरेपछि विवाद सिर्जाना भएको थियो । पाँच वर्ष अगाडिदेखि सुरु भएको विवाद अहिलेसम्म सुल्झिन सकेको छैन । सीमा विवाद नसुल्झिँदा पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माणको काम ठप्प भएको छ । सरोकारवालाले विवाद मिलाउन कोसिस गरे पनि अहिलेसम्म कुनै पनि निचोड निक्लिएको छैन । पातीहाल्ने दुई जिल्ला मात्रै नभएर गण्डकी र लुम्बिनी प्रदेशकै सीमा क्षेत्र पनि हो । दुवै जिल्लाका सरोकारवालाबीच पटक–पटक सहमति जुटाउने प्रयास विगतमा भए तर त्यसले कुनै सहमति नजुटेपछि विवाद कायमै रहेको हो । दुई वर्ष अगाडि सीमा विवाद टुङ्ग्याउन कार्यदलसमेत बनेको थियो । कार्यदलसमेत विवाद टुङ्याउन सकेन । दुवै जिल्लाका जनप्रतिनिधिले विवाद नसुल्झिएसम्म यस क्षेत्रमा विकास निर्माणका काम नगर्ने सहमति भए पनि भूमे गाउँपालिकाले बागलुङको भूभागतिर ल्याउने गरि सडक निर्माण गरिरहेको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले बताए । विवाद टुङ्गाएर काम गर्ने गरी निसीखोला गाउँपालिकाले चालु आर्थिक वर्षमा पाँच लाख विनियोजन गरेको उनको भनाइ छ । सहमतिविपरीत भूमे गाउँपालिकाले विवाद नटुङ्ग्याइ काम गरिरहेको अध्यक्ष घर्तीमगर भन्छन् । ‘पहिले सीमाको बारेमा कुनै विवादनै थिएन, जब निसीखोला गाउँपालिकाले रिग तालको विकास गर्न थाल्यो, पातीहाल्नेदेखि तालसम्म जोड्ने सडक बनायो, पर्यटक पनि आउन थाले त्यसपछि भूमे गाउँपालिकाले हाम्रो भने र दावी गर्न थाल्यो’, अध्यक्ष घर्तीमगरले भने, ‘यो भू–भाग बागलुङकै हो, यहाँ वर्षौंदेखि बागलुङै मान्छेले उपयोग गर्दै आएका थिए, विवाद मिलाउन धेरै पटक प्रयास भएका थिए, सफल नर्भपछि विवाद नरोकिएसम्म यस क्षेत्रमा कुनै पनि पालिकाले विकास निर्माणका काम नगर्ने भन्ने सहमति गर्यौँ तर उहाँहरुले अहिले काम गरी राख्नुभएको छ ।’ मध्यपहाडी लोकमार्गले दुई जिल्ला नजोडिँदा यस क्षेत्रमा निसीखोलाका स्थानीयले चरन क्षेत्रका रुपमा प्रयोग गर्दै आएको निसीखोला गाउँपालिका–६ का स्थानीय पानबहादुर विकले बताए । घर्तीले रिगतालमा पछिल्लो समय सयौँ पयर्कट आउन थालेपछि रुकुमले आफ्नो दाबी गरेको बताउछन् उनी भन्छन्, ‘पहिला यो ठाउँ सुनसान थियो, गोठालाबाहेक अरु कोही आउँदैनथे, बाह्रै महिना चिसो हुन्छ, अहिले पातीहाल्नेमा घर बनेर व्यापार पनि सुरु भएको छ, दिनदिनै गुम्न आउनेको भीड हुन्छ, वर्षौंदेखि हामीहरुले प्रयोग गर्दै आएको ठाउँलाई कसरी उनीहरुको भनेर स्वीकार गर्ने रु यो विवाद राज्यले मिलाउनुपर्छ ।’ रासस
स्याङ्जाको दरौँ खोलामा ‘ट्रस ब्रिज’ निर्माण
स्याङ्जा । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाको सदरमुकाम अर्जुनचौपारी बजार छेउ भएर बग्ने दरौँ खोलामा ‘ट्रस ब्रिज’ निर्माण गरिएको छ । अर्जुनचौपारी–१ र २ लाई जोड्न उक्त पुल निर्माण गरिएको हो । अर्जुनचौपारी बजारलाई दुई भागमा विभाजन गर्दै दरौँ खोला बगेको छ । मुख्य बजारको बीच भागमा तीन दशकअघि निर्माण गरिएको झोलुङ्गे पुल जीर्ण बनेपछि ट्रस ब्रिज निर्माण गरिएको हो । झोलुङ्गे पुलमा प्रयोग गरिएको काठ कुहिएपछि दुर्घटनाको जोखिम थियो । स–साना बालबालिकालाई विद्यालय जान असहज भएको थियो । ‘पुल जीर्ण बनेपछि आवतजावतमा समस्या भएको थियो’, अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले भने– ‘बजारको बीच भागमा रहेकाले लठ्ठा तानेर पुल बनाउन नमिल्ने भएपछि ‘ट्रस ब्रिज’ को डिजाइन गरी पुल निर्माण गरेका हौँ ।’ सङ्घीय सरकारको २९ लाख रुपैयाँ, गाउँपालिकाको २० लाख रुपैयाँ र स्थानीयवासीको एक लाख रुपैयाँको लागतमा पुल निर्माण सम्पन्न भएको हो । पुलको लम्बाइ ३२ मिटर रहेको छ । रासस
औषधि पसल सञ्चालक ९ भारतीय पक्राउ
कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनीमा अवैधरुपमा औषधि पसल सञ्चालन गर्ने नौ भारतीय नागरिक पक्राउ परेका छन् । उनीहरुलाई बुधबार पक्राउ गरिएको हो । दोधारा चाँदनी नगरपालिकाभित्र अवैधरुपमा औषधि पसल सञ्चालन गरेर औषधि बिक्री वितरण गर्दैआएका नौ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भरतराज गिरीले जानकारी दिए । ‘नौ भारतीय नागरिकलाई औषधिसहित नियन्त्रणमा लिएका छौँ’, उनले भने, ‘उनीहरुमाथि अनुसन्धान गरी कारबाहीका लागि स्वास्थ्य विभाग पठाउँछौँ ।’ पक्राउ पर्नेमा भारतको उधमसिंह नगरका सञ्जय विश्वास, कार्तीक सरदार, रवि विश्वास, निवास गाइन, निरन्जन अधिकारी र भूपेन्द्र पुरी तथा भारत पिलिभितका राजेश विश्वास, सन्तोष सरकार र सुधान्सु हल्दार रहेका छन् ।
बुधबारदेखि मनसुन भित्रियो
काठमाडौं । नेपालमा यस वर्षको मनसुन बुधबारदेखि भित्रिएको छ । नेपालमा मनसुन भित्रिने सरदर समय जुन १३ तारिख भए पनि यस वर्ष सरदर मितिभन्दा एक दिन ढिला मनसुन भित्रिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबार नेपाल भित्रिएको मनसुन कोशी, पूर्वी मधेस, बागमती प्रदेशका अधिकांश भू–भाग र गण्डकी प्रदेशका पूर्वी भूभागसम्म पुगेको मौषमविद् राजु प्रधानाङ्गले जानकारी दिए । उनका अनुसार नेपालका अन्य भू–भागमा भने केही दिनमा क्रमिकरुपमा मनसुन फैलिँदै जाने छ । यस वर्ष देशका अधिकांश स्थानमा औसतभन्दा कम वर्षा हुने प्रक्षेपण जल तथा मौसम विज्ञान विभागले यसअघि नै गरिसकेको छ । यद्यपि, यो सम्भावना स्थानपिच्छे फरक–फरक हुने जनाइएको छ । यसअघि गत दुई वर्ष लगातार औसतभन्दा बढी वर्षा हुने प्रक्षेपण विभागले गरेको थियो । गत वर्ष भने औसतमै वर्षा भएको थियो । नेपालमा जुन, जुलाई, अगस्त र सेप्टेम्बर चार महिनालाई मनसुनको अवधि मान्ने गरिएको मौषमविद् प्रधानाङगले बताए । यसपालिको मनसुनमा देशभर १२ लाख ५४ हजारभन्दा धेरै नागरिक प्रभावित हुने अनुमान गरिएको छ । विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार दुई लाख ८६ हजारभन्दा बढी घरपरिवारलाई यस वर्षको मनसुनले असर गर्नसक्ने सम्भावना छ । पछिल्लो २४ घण्टामा लमजुङको खदीबजारमा सबैभन्दा बढी एक सय ३५ दशमलव दुई मिलिमिटर वर्षा मापन गरिएको महाशाखाले जनाएको छ । त्यसैगरी बुधबार काठमाडौँमा ३९ दशमलव पाँच मिलिमिटर पानी परेको महाशाखाद्वारा जारी बुलेटिनमा उल्लेख छ ।
नबिल बैंकको ब्याजदर सार्वजनिक, आधार दर ९.८३ प्रतिशत
काठमाडौं । नबिल बैंकले असार महिनाका लागि ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा असार १ गतेदेखि लागू हुने गरी ब्याजदर सार्वजनिक गरेको हो । बैंकले निक्षेपमा जेठ महिनाको ब्याजदरलाई निरन्तरता दिएको छ । बैंकले असार महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ५.४० प्रतिशतदेखि अधिकतम ७.४० प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ । साथै, बैंकको रेमिट्यान्स खातामा भने ८.४० प्रतिशत ब्याजदर प्रदान गर्नेछ । यस्तै, बैंकले मुद्दति निक्षेपमा संस्थागत तर्फ ७.९९ प्रतिशत र ब्यक्तिगततर्फ ९.९९ प्रतिशतसम्म ब्याजदर निर्धार गरेको छ । बैंकले रेमिट्यान्स बचत खातामा १०.९९ प्रतिशत ब्याजदर तोकेको छ । बैंकले कर्जाको ब्याजदरमा भने बेसरेटमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम लिने भएको छ । बैंकले आधार दरमा प्रिमियम जोडेर कर्जाको ब्याजदर कायम गरिने जनाएको छ । बैंकको आधार दर ९.८३ प्रतिशत र ब्याजदर अन्तर (स्प्रेड रेट) ५.१४ प्रतिशत रहेको छ ।
अप्पर लोहोरे खोला हाइड्रोले असार ७ गतेदेखि आईपीओ बिक्री गर्दै
काठमाडौं । अप्पर लोहोरे खोला हाइड्रोपावरले असार ७ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशीक रोजगारीमा रहेका नेपालीहरुलाई आईपीओ निष्काशन गर्ने भएको हो । कम्पनीले जारी पूँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँको १० प्रतिशत अर्थात् ५ करोड ९ लाख ८० हजार ४ सय रुपैयाँ बराबरको ५ लाख ९ हजार ८०४ कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई बिक्री गर्नेछ । जसमध्ये ५० प्रतिशत अर्थात् २ लाख ५४ हजार ९०२ कित्ता अति प्रभावित क्षेत्र नौमुले गाँपालिका ३ र ५० प्रतिशत सेयर २ लाख ५४ हजार ९०२ कित्ता दैलेख जिल्ला बासीहरुलाई बिक्री गर्नेछ । साथै। सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् १ करोड ९८ लाख ८२ हजार ४ सय रुपैयाँ बराबरको १ लाख ९८ हजार ८२४ कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती लिई विदेशमा रोजगार गरीरहेका नेपालीहरुलाई बिक्री गर्नेछ । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा २१ गतेसम्म आवेदन दिन सकिनेछ । यदि आयोजना प्रभावित क्षेत्रका स्थानीयले सो समयमा पूर्ण आवेदन नदिएमा साउन ५ गतेसम्म लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ । स्थानीय बासिन्दाले आयोजना स्थल, एनआईसी एशिया बैंक, ग्लोबल आइएमई बैंक र प्रभु बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय तथा सिडिएस एण्ड क्लियरिङ्गले निर्माण गरेका मेरो सेयर मार्फत् आवेदन दिन सकिनेछ । केयर रटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।
नेपालपे क्यूआरमा ३ लाखभन्दा बढी मर्चेन्ट आवद्ध
काठमाडौं । बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरु मार्फत नेपालपे क्यूआरमा ३ लाखभन्दा बढी मर्चेन्ट आवद्ध भएका छन् । छोटो समयमा ३ लाखभन्दा बढी मर्चेन्टहरु कयूआरमा आवद्ध गरिनुले नेपालमा क्यूआर सम्बन्धी भुक्तानीको स्वीकार्यता तथा डिजिटल इकोसिस्टमको प्रवद्र्घनमा थप मद्दत पुग्ने कम्पनीले जनाएको छ । नेपाल क्लियरिङ्ग हाउसले कार्यान्वयनमा ल्याएको नेशनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल–क्यूआर स्ट्याण्डर्ड अनुसारको क्युआर अन्तरआवद्धता कायम गर्ने गरी नेपालपे क्युआर सञ्चालनमा ल्याइएको हो । क्यूआर स्कीमको रुपमा पनि उपलब्ध रहेको उक्त नेपालपे क्यूआरले मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तरआबद्धता कायम गर्न सक्ने व्यवस्था रहेको छ । हाल २३ बैंक वित्तीय संस्था तथा ३ भुक्तानी सेवा प्रदायक मार्फत व्यावसायिक ग्राहकहरुले नेपालपे क्यूआरमा आबद्ध हुन सक्दछन् भने २१ बैंक वित्तीय संस्था तथा ६ भुक्तानी सेवा प्रदायकका वालेटहरु मार्फत स्क्यान एण्ड पेको सुविधा उपलब्ध रहेको छ । विभिन्न व्यावसायिक ग्राहकले नेपालपे क्यूआरमा आबद्ध भई क्यूआरबाट भुक्तानी प्राप्त गर्न आफ्नो बैंक वित्तीय संस्था वा भुक्तानी सेवा प्रदायकसँग सम्पर्क गर्नुपर्ने हुन्छ । भौतिक रुपमा क्यूआर स्ट्यान्डी उपलब्ध गराई वा आफ्नो बिलिङ सिस्टममा डाइनामिक क्यूआर इन्टिग्रेट गरी वा इ–कमर्स पोर्टलमा क्यूआर गेटवे जोडी अथवा एण्डरोइड पीओएसमा इन्टिग्रेट गरी उक्त भुक्तानी सेवा सुचारु गर्न सकिन्छ । धेरै जसो बैंक वित्तीय संस्थाको मोबाइल बैंकिङ एप, विभिन्न भुक्तानी सेवा प्रदायकको वालेटको एप तथा कनेक्ट आईपीएस मोबाइल एप मार्फत नेपालपे क्यूआरस्क्यान गरी भुक्तानी गर्न सकिने प्रावधान रहेको छ । नेपालपे क्यूआरबाट भुक्तानी गर्न मोबाइल बैंकिङ वा वालेटको प्रयोगकर्ताले क्यूआर स्क्यान गर्ने अप्सनमा गई नेपालपे लोगो रहेको यकिन गर्नुपर्ने हुन्छ ।
एनएमबि बैंकको ब्याजदर सार्वजनिक
काठमाडौं । एनएमबि बैंकले असार महिनाका लागि ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा असार १ गतेदेखि लागू हुने गरी ब्याजदर सार्वजनिक गरेको हो । बैंकले निक्षेपमा जेठ महिनाको ब्याजदरलाई निरन्तरता दिएको छ । बैंकले असार महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ५.४० प्रतिशतदेखि अधिकतम ७.४० प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ । साथै, बैंकको एनएमबि जन्मभूमि बचत खाता (रेमिट्यान्स)मा भने ८.४० प्रतिशत ब्याजदर प्रदान गर्नेछ । यस्तै, बैंकले मुद्दति निक्षेपमा संस्थागत तर्फ ७.९९ प्रतिशत र ब्यक्तिगततर्फ ९.९९ प्रतिशतसम्म ब्याजदर निर्धार गरेको छ । बैंकले रेमिट्यान्स बचत खातामा १०.९९ प्रतिशत ब्याजदर तोकेको छ । बैंकले कर्जाको ब्याजदरमा भने बेसरेटमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम लिने भएको छ । बैंकले आधार दरमा प्रिमियम जोडेर कर्जाको ब्याजदर कायम गरिने जनाएको छ ।