विकासन्युज

बजेटपछि १०० किलोवाट क्षमताका गाडीको मूल्य बढ्यो

काठमाडौं । सरकारले ५० देखि १ सय किलोवाट क्षमताको विद्युतीय गाडीको भन्सार तथा अन्तशुल्क बढाएसँगै व्यवसायीहरुले गाडीको मूल्य बढाउन थालेका छन् । सरकारले आर्थिक विद्येयक २०८० मा करको दर परिवर्तन गरेसँगै व्यसायीहरुले मूल्य बढाउन थालेका हुन । यसअघि ५० देखि १ सय किलोवाट क्षमताका विद्युतीय गाडीको भन्सार र अन्तशुल्क महशुल १०/१० प्रतिशत रहेकोमा सरकारले विद्येयक मार्फत भन्सार महशुल बढाएको छ । १० प्रतिशत भन्सार महशुल रहेकोमा ५ प्रतिशत बढाएर १५ प्रतिशत बनाएको हो । विद्युतीय गाडीको भन्सार महशुल बढेपनि व्यवसायीहरुले न्यून मात्रै मूल्य बढाएका छन् । धेरै मूल्य बढाउँदा ग्राहकहरु डिजेल तथा अन्य कम्पनीका विद्युतीय गाडीमा आकर्षक हुने भन्दै व्यवसायाीहरुले न्यून मूल्य बढाएका हुन । सरकारले करका दरमा परिवर्तन गरेसँगै २५ देखि ३० प्रतिशतसम्म मूल्य बढने बताउँदै आएका गाडी व्यवसायीहरुले थोरै मूल्य बढाउँदा उपभोक्तालाई फाइदा हुनेभएको छ । सरकारले जारी गरेको आर्थिक विद्येयक २०८० अनुसार ५० देखि १०० किलोवाट क्षमताका गाडी बिक्री गर्दै आएका बिवाईडी, एमजी, नेटा भि, हुन्डाईको कोना र टाटाको नेक्सन गाडीमा त्यसको असर परेको छ । १ लाखले बढ्यो बिवाईडीको मूल्य बजेटमा १ सय किलाेवाट क्षमताका गाडीकाे अन्तशुल्क तथा भन्सार महसुलमा बृद्धि भएपछि बिवाईडी गाडीको मूल्य बढेको छ । चिनियाँ कम्पनीको बिवाईडी गाडीको आधिकारीक वितरक साइमेक्स इंकले सय किलोवटा क्षमताका बिवाईडी एटो थ्रीको मुल्य एक लाख रुपैयाँ मात्रै बढाएको छ । यस अघि ६४ लाखमा बिक्री हुँदै आएको एटो थ्रिमा कम्पनीले एक लाख रुपैयाँ बढाएर ६५ लाख रुपैयाँ बनाएको हो । सीजीले बढायो एक लाख सीजी मोटर्सले बिक्री गर्दै आएको गाडीको मूल्य एक लाख रुपैयाँले बढाएको छ । कम्पनीले यसअघि नेटा भी ३७ लाख ९९ हजार रुपैयाँमा बिक्री गर्दै आएको थियो । बजेटमा करका दर परिवर्तन भएपछि कम्पनीले एक लाख बढाएर ३८ लाख ९९ हजार रुपैयाँ बनाएको हो । ५० हजारले बढ्यो एमजीको मूल्य बजेट पछि एमजी गाडीको मूल्य ५० हजार रुपैयाँले बढेको छ । एमजी गाडीको आधिकारीक वितरक पारामाउन्ट मोटर्सले १ सय किलोवाट क्षमताको जेडएस ईभीको मूल्य ५० हजार रुपैयाँले बढाएको हो । यसअघि ५२ लाख ४९ हजार रुपैयाँ रहेको उक्त गाडीको मूल्य ५२ लाख ९९ हजार रुपैयाँ पुगेको छ । ४० हजारले बढ्यो हुन्डाईको कोना नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले कोना गाडीको मूूल्य बढाएको छ । कम्पनीले १ सय किलोवाट क्षमता रहेको कोनाको मूल्य ४० हजार रुपैयाँले बढाएर ६४ लाख ९६ हजार रुपैयाँ पुगेको छ । यसअघि उक्त गाडीको मूल्य ६४ लाख ५६ हजार रुपैयाँमा बिक्री भैरहेको थियो । कम्पनीले हालसम्म ८ सय गाडी बिक्री गरिसकेको छ ।

डोलेश्वर–रत्नपार्क सीधा यातायात सेवा

भक्तपुर । भक्तपुरको धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा परिचित सूर्यविनायक–८ डोलेश्वर मन्दिरबाट काठमाडौँको रत्नपार्कसम्म आजदेखि सार्वजनिक बस सेवा सुरु भएको छ ।  केदाननाथको शिरोभाग डोलेश्वर मन्दिरस्थित बसपार्कबाट बिहान ५ बजेदेखि काठमाडौँको रत्नपार्कसम्म सीधा सार्वजनिक बस सेबा सुरु भएको सूर्यविनायक नगरपालिका–८ का वडाध्यक्ष पुष्पराज बस्नेतले जानकारी दिए । डोलेश्वरबाट जगाती, सूर्यविनायक, कोटेश्वर, बानेश्वर, माइतीघर, सहिदगेट हुँदै रत्नपार्क रुटमा आजदेखि प्रत्येक आधा घण्टाको फरकमा डोलेश्वरबाट रत्नपार्कका लागि र रत्नपार्कबाट डोलेश्वरका लागि बस छुट्ने छ ।   सार्वजनिक बस सेवा सञ्चालनका लागि सूर्यविनायक नगरपालिका–८ कार्यालय, डोलेश्वर मन्दिर संरक्षण तथा विकास समिति र ख्वप भक्तपुर मिनिबस सेवा समितिबीच त्रिपक्षीय सम्झौता भएको हो । ख्वप भक्तपुर मिनिबस सेवा समितिले दैनिक आठ बस उक्त रुटमा सञ्चालन गर्ने छ । बागमती प्रदेशसभा सदस्य एवं स्थानीयवासी किरण थापाले ग्रामीण धार्मिक पर्यटकीय क्षेत्रका रुपमा रहेको यस क्षेत्रमा आजदेखि सुरु भएको सार्वजनिक यातायातको सेवाबाट डोलेश्वर मन्दिर दर्शन गर्न आउने धर्मावलम्बी लगायतलाई आवत जावतमा सहज हुने बताए । सीधा बस सेवा नियमितरूपमा सञ्चालन नहुँदा असुविधा भएको थियो । रासस

सरकारको विपद् व्यवस्थापन कोषमा ६ अर्ब मौज्दात

काठमाडौं । नेपाल सरकारको विपद् व्यवस्थापन कोषमा छ अर्ब रहेको छ । उक्त कोषको रकम विपद्जन्य घटनाको उद्धार, अस्थायी बसोबास, खाद्यान्न, आर्थिक सहायतलगायतमा खर्च हुन्छ ।  तोकिएका बाहेकको क्षेत्रमा यसको रकम खर्च गर्न नपाइने कानुनी व्यवस्था छ । कोषमा रहेको छ अर्ब तीन करोड १२ लाख ९५ हजारमध्ये सबैभन्दा बढी प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा तीन अर्ब १० करोड ६७ लाख १७ हजार मौज्दात रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए ।  यस्तै विपद् व्यवस्थापन कोषमा एक अर्ब ८१ करोड ८९ लाख ९० हजार छ । प्रदेश विपद् व्यवस्थापन कोषमा ५१ करोड ३३ लाख तथा जिल्ला विपद् व्यवस्थापन कोषमा ५९ करोड २२ लाख ८८ हजार रकम रहेको जनाइएको छ ।  यसपालिको मनसुनमा १२ लाख ५० हजार नागरिक प्रभावित हुने अनुमान गरिएकाले सोहीअनुसार विपद् प्रतिकार्य योजना बनाइ लागू गरिएको छ । 

लिचीको दाना घाँटीमा अड्किएर बालकको मृत्यु

सिन्धुली । सिन्धुलीमा गएराति घाँटीमा लिचीको दाना अड्किएर एक बालकको मृत्यु भएको छ । कमलामाई नगरपालिका–६ धुराबजारका तीन वर्षीय क्रियान तामाङको घाँटीमा लिचीको दाना अड्किएर मृत्यु भएको हो । लिचीको दाना अड्किएपछि राति नै उनलाई उपचारका लागि सिन्धुली अस्पताल लगिएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले बालकको लिचीको दाना अड्किएर मृत्यु भएको अस्पतालबाट जानकारी प्राप्त भएको बताए । यसैबीच सुनकोशी गाउँपालिका–२ गजुलीदहस्थित सुनकोशी नदी किनारमा एक बालकको शव फेला परेको छ । बिहीबार साँझ बालकको शव फेला परेको प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए । सुनकोशी–२ गजुलीदहस्थित सुनकोशी नदीको किनारमा नाम ठेगाना खुल्न नसकेको अवस्थामा अन्दाजी नौ वर्षको बालकको शव फेला परेको प्रहरीले जनाएको छ ।

बालेनको प्रतिक्रियाका कारण काठमाडौंमा रोकियो भारतीय चलचित्र ‘आदिपुरुष’को प्रदर्शनी

काठमाडौं । काठमाडौं उपत्यका भित्रका चलचित्र हलमा भारतीय फिल्म ‘आदिपुरुष’को आज बिहानीको प्रदर्शनी रोकिएको छ । फिल्ममा जानकी भारतीय नारी हुन भन्ने विषयमा विवाद चर्किएपछि चलचित्र संघको निर्देशनमा काठमाडौं उपत्यकाका सबै फिल्म हलले शुक्रबार बिहानको प्रदर्शन रोकेका हुन् । क्यूएफएक्स, आइएनआई, बिग मूभिज, वान सिनेमाज्सहित मल्टिप्लेक्सले आजको बिहानी शोलाई स्थगित गरेका छन्। फिल्म हलको छाता संस्था चलचित्र संघले काठमाडौंको हलमा प्रदर्शनी रोक्न र उपत्यका बाहिर परिस्थिति हेरेर चलाउन निर्देशन दिएको छ । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह ‘बालेन’ले फिल्मको विषयमा दिएको प्रतिक्रियापछि उत्पन्न परिस्थितिलाई लिएर चलचित्र संघले आजै आकस्मिक बैठक समेत बोलाएको छ । बैठकमा बालेनको प्रतिक्रिया र आदिपुरुषको प्रदर्शनीको विषयमा छलफल हुने जनाइएको छ । महानगर प्रमुख शाहले विवादित अभिव्यक्ति भारतमा समेत नहटाएसम्म नेपालमा हिन्दी चलचित्र प्रदर्शन हुन नदिने बताएका छन् भने नेपालको सेन्सर बोर्डले भने विवादित अभिव्यक्ति हटाएर प्रदर्शनको अनुमति दिएको छ ।

आईएमई लाइफको आईपीओ बिक्री खुला, कति कित्ता आवेदन दिने ?

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले आजदेखि प्रिमियम मूल्यमा आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आज असार १ गतेदेखि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पूँजी ४ अर्बको ३० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १३६.९१ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३६.९१ रुपैयाँका दरले १ करोड २० लाख कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात् १२ लाख कित्ता नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरि विदेशमा रोजगारी गरिरहेका नेपालीका लागि, ५ प्रतिशत अर्थात् ६ लाख कित्ता सामूहिक लगानी कोषका लागि, ५ प्रतिशत अर्थात् ६ लाख कित्ता कर्मचारीका लागि र बाँकी रहेको ९६ लाख कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि छुट्याएको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले असार १५ गतेसम्म आवेदन दिन सक्नेछन् । यस्तै, सर्वसाधारण लगानीकर्ताले छिटोमा असार २४ गते र ढिलोमा साउन ४ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सेवा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपबाट आवेदन दिन सक्नेछन् ।

भारतले भटमास तेल र सूर्यमुखी तेलको आयातमा भन्सार शुल्क घटायो

एजेन्सी । भारत सरकारले बिहीबारदेखि लागू हुने गरी भटमास तेल र सूर्यमुखी तेलको आयातमा लाग्ने भन्सार शुल्कमा पाँच प्रतिशत कटौती गरेको छ । तेलको आयातमा लाग्ने भन्सार शुल्क १७।५ प्रतिशतबाट घटाएर १२.५ प्रतिशतमा झारेको संघीय अर्थ मन्त्रालयअन्तर्गतको राजस्व विभागले जारी गरेको आधिकारिक सूचनामा उल्लेख छ । भारतमा खाना पकाउने दुवै तेल मुख्यतया अर्जेन्टिना, ब्राजिल, युक्रेन र रूसलगायत देशबाट आयात हुने गरेको छ । घरेलु माग पूरा गर्न र खाना पकाउने तेलको बढ्दो मूल्यलाई नियन्त्रण गर्न यी दुई उत्पादनहरूको थप आयातलाई अनुमति दिने उद्देश्यले यो कदम चालिएको हो । करिब छ महिनापछि भन्सार महसुलको दर पुनरावलोकन गरिएको थियो । सूचनामा भनिएको छ, ‘सार्वजनिक हितमा त्यसो गर्न जरूरी छ । यो सूचना जून १५ देखि लागु हुनेछ ।’ इन्डियन एक्सप्रेसको एक समाचारमा विश्वको सबैभन्दा ठूलो वनस्पति तेल खरीदकर्ता भारतले प्रशोधित भटमास तेल र सूर्यमुखी तेलमा आधार आयात शुल्क घटाएको जनाइएको हो ।

काठमाडौं महानगरले रिङरोड भित्रका टिकट काउन्टरको बोर्ड आजदेखि हटाउने

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरको रिङरोड भित्र रहेका टिकट काउण्टरहरुको बोर्ड हटाउने भएको छ । बिहीबार महानगरले सो सम्बन्धी निर्णय गरेको हो । असार १ गतेबाट टिकट काउन्टरहरुको बोर्ड हटाउने निर्णय भएको महानगर प्रहरीले जनाएको छ । साथै उपयुक्त स्थानमा टिकट बुकिङ कार्यालय स्थापना गर्नको लागि महानगरले जगतमान श्रेष्ठको संयोजकत्वमा १४ सदस्यीय कार्यदल समेत गठन गरेको छ । यात्रुहरु बीचमा चढाउने तथा उतार्ने विषयमा पनि सोही कार्यदलले स्थान तोक्ने जनाइएको छ । कार्यदलको सदस्यमा उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रतिनिधि, भीमज्वाला राई, जगनाथ गौतम, दीपक केसी, डेकनाथ गौतम, राजन रोक्का, केदार क्षेत्री, राजेन्द्र आचार्य, नारायण भट्टराई, राजुनाथ पाण्डे, जिल्ला प्रहरी परिषद्, यातायात व्यवस्था विभाग र ल्होत्से बहुउद्देश्य प्रालि सदस्य रहेका छन् ।