कुथेली बुखरी स्मलको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, स्थानीयलाई समय थप
काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । जेठ १९ गतेदेखि बिक्री खुला गरेको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले आज असार १ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीयले आवेदन दिने समय भने थप गरिएको छ । स्थानीय बासिन्दाले अब कम्पनीको आईपीओमा असार ५ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पूँजी १२ करोड १८ लाख ६७ हजार ५ सय रुपैयाँको १० प्रतिशत स्थानीय बासिन्दा र सर्वसाधारण लगानीकर्तालाई छुट्याइएको सेयरको १० प्रतिशत वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरेको हो । कम्पनीले १ करोड २१ लाख ८६ हजार ८ सय रुपैयाँको १ लाख २१ हजार ८६८ कित्ता सेयर दोलखाको कालिञ्चोक गाउँपालिका ९ (साविकको सुद्रावती गाविसका सम्पूर्ण वडा) र भिमेश्वर नगरपालिका १ का (साविकको सुष्पा क्षमावती गाविसका सम्पूर्ण वडा) स्थानीय बासिन्दालाई बिक्री गरेको हो । यस्तै, सर्वसाधारणलाई छुट्याइएको सेयरमध्ये १२ लाख १८ हजार ६ सय रुपैयाँ प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १२ हजार १८६ कित्ता सेयरमा विदेशमा रोजगार गरी रहेका नेपालीले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ । स्थानीय बासिन्दाले लक्ष्मी बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र सिद्धार्थ बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र मेरो सेयर अनलाइन मार्फत् आवेदन दिन सक्नेछन् । इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग त्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
सनराइज बैंकद्वारा नगद तथा चेक जम्मा गर्ने मेसिनको शुभारम्भ
काठमाडौं । सनराइज बैंकले मेसिनबाटै सोझै ग्राहकले नगद तथा चेक आफ्नो खातामा जम्मा गर्न सक्ने सेवाको शुभारम्भ गरेको छ । बिहीबार एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले उक्त नयाँ सेवाको शुभारम्भ गरेका हुन् । बैंकले नवीनतम् सेवा सुविधा दिने उद्देश्यका साथ ग्राहकलाई बैंकमा रहेको आफ्नो वा अन्य ग्राहकको खातामा नगद रकम जम्मा गर्न क्यास डिपोजिट मेसिन सञ्चालनमा ल्याएको हो । यस सेवा अन्तर्गत ग्राहकहरूले बैंक कर्मचारीको सहयोग विनै कुनै भौतिक फारम नभरी केवल खाता नम्बरको आधारमा मेसिनबाट सोझै नगद जम्मा गर्न सक्ने छन् र त्यस्तो रकम तुरुन्तै ग्राहकको खातामा जम्मा समेत हुने बैंकले जनाएको छ । यसै गरी ‘किओस्क’ मेसिनको प्रयोग गरी ग्राहकहरूले कुनै पनि समयमा बैंक कर्मचारीको सहयोग विनै आफैं क्लियरिङ चेक जम्मा गर्न सक्नेछन् । चेकहरू ग्राहकहरूको आवश्यकता तथा छनोट अनुसार सामान्य वा एक्सप्रेस क्लियरिङ अन्तर्गत जम्मा हुनेछ । ग्राहकहरुले खाता मौज्दात, खाताको जानकारी, मिनी स्टेटमेन्ट र स्टेटमेन्ट प्रिन्ट पनि यसै किओस्क मसिनबाट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । बैंकले क्यास डिपोजिट मेसिन (सीडीएम) सेवा हालको लागि आफ्नो गैरीधारा शाखामा र क्यास डिपोजिट किओस्क सेवा गैरीधारा तथा न्यूरोड शाखामा सञ्चालनमा ल्याएको छ । अन्य शाखाहरूमा समेत यो सेवा विस्तार गर्ने योजना रहेको बैंकले जनाएको छ । यस्ता नयाँ प्रणालीहरुको प्रयोगबाट नगद तथा चेक जम्मा गर्ने लगायतका सेवाहरु प्राप्त गर्न भौतिक फारम भर्नु पर्ने तथा बैंकको काउन्टरमा लाइन बस्नु पर्ने हालको अवस्था अन्त्य भई ग्राहकलाई सहज सुविधा पुग्ने शर्माले बताए ।
अप्पर स्याङ्गे हाईड्रोले असार १० गतेदेखि आईपीओ बिक्री गर्ने
काठमाडौं । अप्पर स्याङ्गे हाईड्रोपावरले असार १० गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर बिक्री गरी बाँडफाँट गरेपश्चात् सर्वसाधारण लगानीकर्तालाई आईपीओ बिक्री गर्ने भएको हो । कम्पनीले जारी पूँजी २२ करोड रुपैयाँको २९.५५ प्रतिशत अर्थात् ६ करोड ५० लाख रुपैयाँ बराबरको ६ लाख ५० हजार कित्ता सेयरमध्ये १० प्रतिशत वैदेशिक रोजगारीमा रहेका नेपाली, ५ प्रतिशत सामूहिक लगानी कोष, २ प्रतिशत कर्मचारीलाई बिक्री गरेर बाँडफाँट पश्चात् बाँकी रहेको ५ लाख ३९ हजार ५ सय कित्ता सेयर सर्वसाधारण लगानीकर्तालाई बिक्री गर्ने भएको हो । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा लगानीकर्ताले छिटोमा असार १३ गते र ढिलोमा असार २४ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ । नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् । केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।
४ लाख ९५ हजारको स्क्र्याम्बलर अब ४ लाख ५५ हजारमा पाइने
काठमाडौं । मोटरहेड ब्रान्डको नेपालका लागि आधिकारिक बिक्रेता एसएलआर टेक्नो एन्ड टे«ड प्रालिले आफ्नो स्क्र्याम्बलर २५० को लागि नयाँ मूल्य सार्वजनिक गरेको छ । सो मूल्य असार १ गते देखि असार १५ गते सम्मका लागि लागू हुनेछ । यस अघि ४ लाख ९५ हजार रुपैयाँ बिक्री मूल्य रहेको उक्त मोडल अब भने ४ लाख ५५ हजार रुपैयाँमै प्राप्त हुनेछ । कम्पनीका अनुसार ग्राहकले सो नयाँ बिक्री मूल्यमा स्क्र्याम्बलर २५० का ४ वटा कलर, नयाँ मफलर डिजाइन र आकर्षक ग्राफिक सहित आफ्नो रोजाइमा बाइक खरीद गर्न पाउने छन् । २२३ सीसीको हाईप्रो इन्जिन क्षमता भएको सो बाइकमा आयलकुल्ड, ६ इयर, १२ भोल्ट ७ एएच ब्याट्रीको साथ पीजी ३० कार्बुरेटर रहेको छ । यस मोडलमा थप विशेषताको रुपमा यसको क्याफे रेसर डिजाइन, उच्चतम ग्राउन्ड क्लियरैन्स, १४ लिटरको इन्धन ट्यांकी, डिजिटल मिटर, यूएसबी चार्जरका साथै मेटल फिनिसिङ दिइएको छ । साथै, कम्पनीले एक्सचेन्ज र फाइनान्सको सुविधालाई समेत सहज बनाउँदै उक्त बाइकमा विभिन्न नगद छुट र फ्रि हेल्मेटको व्यवस्था समेत गरेको बताएको छ ।
बजेटपछि १०० किलोवाट क्षमताका गाडीको मूल्य बढ्यो
काठमाडौं । सरकारले ५० देखि १ सय किलोवाट क्षमताको विद्युतीय गाडीको भन्सार तथा अन्तशुल्क बढाएसँगै व्यवसायीहरुले गाडीको मूल्य बढाउन थालेका छन् । सरकारले आर्थिक विद्येयक २०८० मा करको दर परिवर्तन गरेसँगै व्यसायीहरुले मूल्य बढाउन थालेका हुन । यसअघि ५० देखि १ सय किलोवाट क्षमताका विद्युतीय गाडीको भन्सार र अन्तशुल्क महशुल १०/१० प्रतिशत रहेकोमा सरकारले विद्येयक मार्फत भन्सार महशुल बढाएको छ । १० प्रतिशत भन्सार महशुल रहेकोमा ५ प्रतिशत बढाएर १५ प्रतिशत बनाएको हो । विद्युतीय गाडीको भन्सार महशुल बढेपनि व्यवसायीहरुले न्यून मात्रै मूल्य बढाएका छन् । धेरै मूल्य बढाउँदा ग्राहकहरु डिजेल तथा अन्य कम्पनीका विद्युतीय गाडीमा आकर्षक हुने भन्दै व्यवसायाीहरुले न्यून मूल्य बढाएका हुन । सरकारले करका दरमा परिवर्तन गरेसँगै २५ देखि ३० प्रतिशतसम्म मूल्य बढने बताउँदै आएका गाडी व्यवसायीहरुले थोरै मूल्य बढाउँदा उपभोक्तालाई फाइदा हुनेभएको छ । सरकारले जारी गरेको आर्थिक विद्येयक २०८० अनुसार ५० देखि १०० किलोवाट क्षमताका गाडी बिक्री गर्दै आएका बिवाईडी, एमजी, नेटा भि, हुन्डाईको कोना र टाटाको नेक्सन गाडीमा त्यसको असर परेको छ । १ लाखले बढ्यो बिवाईडीको मूल्य बजेटमा १ सय किलाेवाट क्षमताका गाडीकाे अन्तशुल्क तथा भन्सार महसुलमा बृद्धि भएपछि बिवाईडी गाडीको मूल्य बढेको छ । चिनियाँ कम्पनीको बिवाईडी गाडीको आधिकारीक वितरक साइमेक्स इंकले सय किलोवटा क्षमताका बिवाईडी एटो थ्रीको मुल्य एक लाख रुपैयाँ मात्रै बढाएको छ । यस अघि ६४ लाखमा बिक्री हुँदै आएको एटो थ्रिमा कम्पनीले एक लाख रुपैयाँ बढाएर ६५ लाख रुपैयाँ बनाएको हो । सीजीले बढायो एक लाख सीजी मोटर्सले बिक्री गर्दै आएको गाडीको मूल्य एक लाख रुपैयाँले बढाएको छ । कम्पनीले यसअघि नेटा भी ३७ लाख ९९ हजार रुपैयाँमा बिक्री गर्दै आएको थियो । बजेटमा करका दर परिवर्तन भएपछि कम्पनीले एक लाख बढाएर ३८ लाख ९९ हजार रुपैयाँ बनाएको हो । ५० हजारले बढ्यो एमजीको मूल्य बजेट पछि एमजी गाडीको मूल्य ५० हजार रुपैयाँले बढेको छ । एमजी गाडीको आधिकारीक वितरक पारामाउन्ट मोटर्सले १ सय किलोवाट क्षमताको जेडएस ईभीको मूल्य ५० हजार रुपैयाँले बढाएको हो । यसअघि ५२ लाख ४९ हजार रुपैयाँ रहेको उक्त गाडीको मूल्य ५२ लाख ९९ हजार रुपैयाँ पुगेको छ । ४० हजारले बढ्यो हुन्डाईको कोना नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले कोना गाडीको मूूल्य बढाएको छ । कम्पनीले १ सय किलोवाट क्षमता रहेको कोनाको मूल्य ४० हजार रुपैयाँले बढाएर ६४ लाख ९६ हजार रुपैयाँ पुगेको छ । यसअघि उक्त गाडीको मूल्य ६४ लाख ५६ हजार रुपैयाँमा बिक्री भैरहेको थियो । कम्पनीले हालसम्म ८ सय गाडी बिक्री गरिसकेको छ ।
डोलेश्वर–रत्नपार्क सीधा यातायात सेवा
भक्तपुर । भक्तपुरको धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा परिचित सूर्यविनायक–८ डोलेश्वर मन्दिरबाट काठमाडौँको रत्नपार्कसम्म आजदेखि सार्वजनिक बस सेवा सुरु भएको छ । केदाननाथको शिरोभाग डोलेश्वर मन्दिरस्थित बसपार्कबाट बिहान ५ बजेदेखि काठमाडौँको रत्नपार्कसम्म सीधा सार्वजनिक बस सेबा सुरु भएको सूर्यविनायक नगरपालिका–८ का वडाध्यक्ष पुष्पराज बस्नेतले जानकारी दिए । डोलेश्वरबाट जगाती, सूर्यविनायक, कोटेश्वर, बानेश्वर, माइतीघर, सहिदगेट हुँदै रत्नपार्क रुटमा आजदेखि प्रत्येक आधा घण्टाको फरकमा डोलेश्वरबाट रत्नपार्कका लागि र रत्नपार्कबाट डोलेश्वरका लागि बस छुट्ने छ । सार्वजनिक बस सेवा सञ्चालनका लागि सूर्यविनायक नगरपालिका–८ कार्यालय, डोलेश्वर मन्दिर संरक्षण तथा विकास समिति र ख्वप भक्तपुर मिनिबस सेवा समितिबीच त्रिपक्षीय सम्झौता भएको हो । ख्वप भक्तपुर मिनिबस सेवा समितिले दैनिक आठ बस उक्त रुटमा सञ्चालन गर्ने छ । बागमती प्रदेशसभा सदस्य एवं स्थानीयवासी किरण थापाले ग्रामीण धार्मिक पर्यटकीय क्षेत्रका रुपमा रहेको यस क्षेत्रमा आजदेखि सुरु भएको सार्वजनिक यातायातको सेवाबाट डोलेश्वर मन्दिर दर्शन गर्न आउने धर्मावलम्बी लगायतलाई आवत जावतमा सहज हुने बताए । सीधा बस सेवा नियमितरूपमा सञ्चालन नहुँदा असुविधा भएको थियो । रासस
सरकारको विपद् व्यवस्थापन कोषमा ६ अर्ब मौज्दात
काठमाडौं । नेपाल सरकारको विपद् व्यवस्थापन कोषमा छ अर्ब रहेको छ । उक्त कोषको रकम विपद्जन्य घटनाको उद्धार, अस्थायी बसोबास, खाद्यान्न, आर्थिक सहायतलगायतमा खर्च हुन्छ । तोकिएका बाहेकको क्षेत्रमा यसको रकम खर्च गर्न नपाइने कानुनी व्यवस्था छ । कोषमा रहेको छ अर्ब तीन करोड १२ लाख ९५ हजारमध्ये सबैभन्दा बढी प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा तीन अर्ब १० करोड ६७ लाख १७ हजार मौज्दात रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए । यस्तै विपद् व्यवस्थापन कोषमा एक अर्ब ८१ करोड ८९ लाख ९० हजार छ । प्रदेश विपद् व्यवस्थापन कोषमा ५१ करोड ३३ लाख तथा जिल्ला विपद् व्यवस्थापन कोषमा ५९ करोड २२ लाख ८८ हजार रकम रहेको जनाइएको छ । यसपालिको मनसुनमा १२ लाख ५० हजार नागरिक प्रभावित हुने अनुमान गरिएकाले सोहीअनुसार विपद् प्रतिकार्य योजना बनाइ लागू गरिएको छ ।
लिचीको दाना घाँटीमा अड्किएर बालकको मृत्यु
सिन्धुली । सिन्धुलीमा गएराति घाँटीमा लिचीको दाना अड्किएर एक बालकको मृत्यु भएको छ । कमलामाई नगरपालिका–६ धुराबजारका तीन वर्षीय क्रियान तामाङको घाँटीमा लिचीको दाना अड्किएर मृत्यु भएको हो । लिचीको दाना अड्किएपछि राति नै उनलाई उपचारका लागि सिन्धुली अस्पताल लगिएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले बालकको लिचीको दाना अड्किएर मृत्यु भएको अस्पतालबाट जानकारी प्राप्त भएको बताए । यसैबीच सुनकोशी गाउँपालिका–२ गजुलीदहस्थित सुनकोशी नदी किनारमा एक बालकको शव फेला परेको छ । बिहीबार साँझ बालकको शव फेला परेको प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए । सुनकोशी–२ गजुलीदहस्थित सुनकोशी नदीको किनारमा नाम ठेगाना खुल्न नसकेको अवस्थामा अन्दाजी नौ वर्षको बालकको शव फेला परेको प्रहरीले जनाएको छ ।