आजको मौसम : मनसुन देशभर फैलँदै
काठमाडौं । हाल देशको पूर्वी तथा मध्य भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भूभागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । यसका कारण देशका मध्य तथा पूर्वी भेगमा बदलीसँगै हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले कोशी, बागमती र गण्डकी प्रदेशका कतिपय स्थानमा हल्का वर्षा भइरहेको छ । गत जेठ ३१ गते बुधबार नेपालको पूर्वी भेग भएर मनसुन प्रणाली भित्रिएको थियो । देशको कोशी प्रदेश, मधेस प्रदेशको पूर्वी भूभाग, बागमती प्रदेशको अधिकांश भूभाग र गण्डकी प्रदेशका पूर्वी भूभागमा मनसुन आगमन भएको महाशाखाले मनसुन आगमनसम्बन्धी विशेष बुलेटिन निकालेर जानकारी दिएको थियो । मनसुन क्रमिकरुपमा फैलिरहेको र यो देशभर विस्तार हुन अझै एक साता लाग्ने महाशाखामा मौसमविद् रोजन लामिछानेले जानकारी दिए । ‘मनसुन सुस्त गतिमा छ, पश्चिमतिर फैलिन केही दिन लाग्छ, मनसुन प्रणाली केहीमात्रामा कमजोर रहे पनि वर्षा भने निरन्तर हनुेछ’, उनले भने । मनसुन सुस्त गतिमा रहेकाले देशको पश्चिम क्षेत्रमा फैलिन केही दिन लाग्ने महाशाखाले जनाएको छ । नेपालमा सरदर जुन १३ मा मनसुन भित्रन्छ । यसपाली एकदिन ढिला गरी मनसुन प्रवेश गरेको छ । पूर्वबाट झापा हुँदै नेपाल प्रवेश गर्ने मनसुन नेपालभर फैलिन केही दिन लाग्छ । यो वर्ष सरदरभन्दा कम वर्षा हुने जनाइएको छ । महाशाखाका अनुसार अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा थोरै स्थानमा र कोशी प्रदेशका तराईका भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
भारतमा नेपाली सिमेन्टको माग बढ्दो, उत्पादकले पठाउनै सकेनन्
काठमाडौं । भारतमा नेपाली समेन्टको माग बढ्दै गएको छ । नेपाल सिमेन्टमा आत्मनिर्भर भएसँगै भारतीय व्यवसायीहरुहरुले नेपाली सिमेन्टको माग गर्न थालेका हुन् । उद्योगी व्यवसायीहरु भारतमा नेपाली सिमेन्टको माग बढ्न थालेका बताउँछन् । तथ्यांकले पनि माग बढेको देखिन्छ । गत असारमा पाल्पा सिमेन्ट उद्योगले पहिलो पटक नेपाली सिमेन्ट भारत निर्यात गरेसँगै निर्यातको बाटो खुलेको थियो । भारत सरकारबाट निर्यातका लागि अनुमति माग गरेका व्यवसायीहरुले त्यसपछि नियमित रुपमा सिमेन्ट निर्यात गरिरहेका छन् । सिमेन्ट उत्पादक संघका महासचिव केशव उप्रेतीले भारतमा नेपाली सिमन्टको माग राम्रै भइरहेको बताए । उनका अनुसार भारतमा राम्रो माग भएपनि नेपाली उद्योगहरुले भने खासै निर्यात गर्न सकेका छैनन् । चालू आर्थिक वर्षका १० महिनामा ५५ करोड बढीको नेपाली सिमेन्ट निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको गत साउनदेखि बैशाखमसान्तसम्मको तथ्यांक अनुसार नेपालले ५५ करोड ४४ लाख २५ हजार रुपैयाँ बराबरको सिमेन्ट र क्लिंकर निर्यात गरेको हो । १० महिनाको अबधिमा ३० करोड २४ लाख ९३ हजार बराबरको क्लिंकर र २५ करोड १९ लाख ३२ हजार रुपैयाँ बराबरको सिमेन्ट निर्यात भएको हो । विभागको तथ्यांक अनुसार उक्त अबधिमा तीन लाख ७९ हजार क्लिंकर र ४ लाख १० हजार ७०३ टन सिमेन्ट निर्यात भएको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमा निर्यातमा छुटको घोषणा गरेसँगै नेपाली दुई सिमेन्ट उद्योगले नेपाली ब्राण्डका सिमेन्ट भारतमा गर्दै आएका छन् । २०७९ को असार २४ गतेदेखि पाल्पा सिमेन्टको ‘तानसेन’ ब्राण्ड र असोज ३१ गतेदेखि अर्घखाँची ब्राण्डको सिमेन्ट भारत निर्यात सुरु भएको हो । नियमित निर्यात पाल्पा र अर्घखाँची सिमेन्टरले भारतका विभिन्न सहरमा नेपाली सिमेन्ट निर्यात भैरहेको बताएका छन् । दशै, तिहार तथा निर्वाचनका क्रममा निर्यातमा केही सुस्तता आएपनि पछिल्लो समय नियमित रुपमा निर्यात भैरहेको बताइएको छ । सरकारले सिमेन्ट, स्टील लगायत सामान निर्यातमा ८ प्रतिशत अनुदान र वार्षिक दश करोड बढीको विद्युत खपत गर्ने उद्योगलाई २ देखि १५ प्रतिशतसम्म महसुलमा छुट दिने घोषणा गरेको थियो । सरकारले निर्यातमा छुटको घोषणा गरेसँगै हौसियर नेपाली सिमेन्ट उद्योगीहरुले निर्यात सुरु गरेका हुन् । सिमेन्ट उत्पादक संघले भारत सरकारबाट सिमेन्ट निर्यातमा गुणस्तर प्रमाणपत्रको पर्खाईमा धेरै सिमेन्ट उद्योग रहेको संघले जनाएको छ । नेपाली सिमेन्ट उद्योगले भारत निर्यातका लागि भारत सरकारबाट गुणस्तर प्रमाणीत प्रमाणपत्र लिनुपर्नेछ । सिमेन्ट उत्पादक संघको तथ्यांक अनुसार नेपालमा ५० भन्दा धेरै सिमेन्ट उद्योग सञ्चालनमा छन् । तीमध्ये करिब १५ वटाले सिमेन्ट र क्लिंकर दुवै उत्पादन गर्दै आएका छन । यी सिमेन्ट उद्योगको वार्षिक उत्पादन क्षमता झण्डै २ करोड २० लाख टन जति रहेको अनुमान छ । बालाजी सिमेन्ट इन्डस्ट्रिजले पनि नेपाली सिमेन्ट भारत निर्यात सुरु गरेको छ । कपिलवस्तुको चन्द्रौटामा उद्योग रहेको कम्पनीले जेठ २९ गतेदेखि बाहुबली तथा श्रृष्टी ब्राण्डका पीपीसी सिमेन्ट भारत निर्यात सुरु गरेका हो । भारत सरकार गुणस्तर विभागद्वारा ब्यूरो अफ इन्डियन स्ट्यान्डर्ड्स (बिआईएस) प्रदान गरेपछि निर्यात थालिएको उद्योगका संस्थापक ऋषिकेश अग्रवालले जानकारी दिए । उनले भारतमा नेपाली सिमेन्टको माग बढेपछि निर्यात सुरु गरेको र अब संख्या पनि बढाउने बताएका छन् । उनका अनुसार पहिलो चरणमा भारतको उत्तर प्रदेश, सिद्धार्थनगर जिल्लास्थित क्लासिक इन्टरप्राइजेज डिलरलाई ४२ टन सिमेन्ट पठाईएको हो । १ हजार ६ सय टन दैनिक उत्पादन क्षमता रहेको उद्योगले बाहुबली र श्रृष्टी ब्राण्डका ओपीसी ४३ ग्रेड र पीपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ ।
डिजिटल बैंकिङ्गमा माछापुच्छ्रे बैंकको सफलता, भारतले गर्यो सम्मान
काठमाडौं । माछपुच्छ्रे बैंक भारतको इन्फोसिस् फिनाकल कम्पनीबाट सम्मानित भएको छ । डिजिटल सेवाको गुणस्तर र कारोबार संख्यामा उल्लेखनीय वृद्धि गरेको भन्दै भारतको ब्याग्लोरस्थित इन्फोसिस् फिनाकलले बैंकलाई सम्मानित गरेको हो । यससँगै बैंकलाई ‘इन्फोसिस् फिनाकल इनोभेसन अवार्ड, २०२३-म्याक्सिमाइजिङ्ग कस्टुमर इन्गेजमेन्ट-गोल्ड’ नामक पुरस्कारबाट सम्मानित गरिएको हो । डिजिटल बैंकिङ्गमा सफलता हासिल गरेको भन्दै बैंक उक्त पुरस्कारबाट सम्मानित भएको हो । बैंकले विगत दुई वर्षमा आफ्नो डिजिटल सेवालाई निरन्तर परिष्कृत गर्नुका साथै उक्त सेवालाई सुरक्षित बनाउन नविनतम कदमहरू चालेको छ । इन्फोसिस् फिनाकलले हरेक वर्ष विभिन्न १० वटा विधामा अवार्ड प्रदान गर्दै आई रहेको छ । यस वर्ष विश्वभरिबाट २०० भन्दा बढी कम्पनीहरु विभिन्न विधाहरुमा मनोनयनमा परेका थिए । माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३३ शाखारहित बैंकिङ्ग सेवा, २०३ एटीएम मार्फत १४ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
दुगड़ ग्रुपका अध्यक्ष मोतीलाल दुगड़ अमेरिकामा सम्मानित
काठमाडौं । एमभी दुगड़ ग्रुपका अध्यक्ष मोतीलाल दुगड़ अमेरिकाको मेरिल्याण्ड राज्यसभाद्धारा कदर स्वरुप सम्मानित भएका छन् । विगत लामो समयदेखि नेपालको आर्थिक समृद्धि तथा रोजगारी सृजनामा उनले गरेको योगदानको लागि सम्मानित भएका हुन् । दुगड़ परिवारको व्यावसायिक यात्रालाई अझ समृद्ध र सबल बनाउँदै एम.भी. दुगड़ ग्रुप अन्तर्गत दर्जनौं उद्योग, फर्म तथा कम्पनीहरु मार्फत नेपालको उद्योग तथा व्यवसायको उत्थानमा लागि रहनु भएका मोतीलाल दुगड़ एम.भी. दुगड़ ग्रुपको कार्यकारी अध्यक्ष हुन् । नेपालको बैंकिङ्ग, लाइफ इन्सुरेन्स, जेनरल इन्सुरेन्स, जलविद्युत, कमर्सियल गाडी, कृषि सम्बन्धि उपकरण, निर्माण उपकरण लगायत आयात तथा बेचविखन कार्य गरिरहेको यो समुह नेपालको एक चिरपरिचित व्यावसायिक समूह हो ।
सानिमा जिआईसी इन्स्योरेन्सका अध्यक्ष कयालले लिए शपथ
काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सका नवनियुक्त अध्यक्ष कुनाल कयालले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । अध्यक्ष कुनालले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष शपथ लिएका हुन् । जेठ ३२ गते सम्पन्न कम्पनीको पाँचौ वार्षिक साधारण सभापछि बसेको सञ्चालक समितिको बैठकले कयाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । असार १ गते भएको शपथ ग्रहण कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक राजु रमण पौडेल, सानिमा जिआईसी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुद्युम्न प्रसाद उपाध्याय र कम्पनी सचिव तथा नायव महाप्रबन्धक सुवोध लाल श्रेष्ठको उपस्थिति थियो ।
बैंकमा काम गर्ने अवसर, नेपाल बैंकले माग्यो ४६ जना कर्मचारी
काठमाडौं । जागिर खोज्नेहरुको लागि खुसिको खबर छ । नेपाल बैंकले विभिन्न पदहरुमा कर्मचारीको माग गरेको छ । बैंकले चौथो तहदेखि छैटौंतहसम्मका पदहरुका लागि कर्मचारी माग गरेको हो । बैंकले ४६ जना कर्मचारी माग गरेको हो । बैंकले खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्न लागेको हो । बैंकले सहायक प्रबन्धक छैटौं तह र सहायक चौथो पदका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्य नेपाली नागरिकले आज १ असारदेखि २१ गतेसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ । दोब्बर दस्तुर तिरेर थप एक साता असार २८ गतेसम्म आवेदन दिन सकिनेछ ।
नयाँ खिम्तीमा १३२ केभीको सबस्टेसन सञ्चालनमा; सिन्धुली, रामेछापमा विद्युत् आपूर्तिमा सुधार हुने
काठमाडौं । रामेछाप जिल्लाको मन्थली नगरपालिका–१३ साँखे (फुलासी)स्थित नयाँ खिम्ती सबस्टेसनमा निर्माण गरिएको १३२/३३/११ किलोभोल्ट (केभी) सबस्टेसन पूर्वाधार सञ्चालनमा आएको छ । रामेछाप (गज्र्याङ)–नयाँ खिम्ती १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि निर्माण गरिएको सबस्टेसन बिहीबारबाट सञ्चालनमा ल्याइएको हो । सबस्टेसनमा ३० एमभिए क्षमताका २ वटा र ३३/११ केभी, ६/८ एभिए क्षमताको १ वटा पावर ट्रान्सफर्मरहरु राखिएका छन् । स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि सबस्टेसनबाट ३३ केभीका ५ वटा र ११ केभीका तीन वटा फिडर लाइनहरु निकालिएका छन् । ३३ केभीका फिडरलाई बिहीबार चार्ज गरी रामेछापको मन्थली, दोरम्बा र दोलखाको केही भागमा विद्युत् आपूर्ति दिन सुरु गरिएको छ । ११ केभीको एउटा फिडर लाइनमार्फत खिम्ती ग्रामीण विद्युत् सहकारीलाई आपूर्ति दिइने छ । उक्त सहकारी दोलखा र रामेछापको केही क्षेत्रमा विद्युतीकरण गरेको छ । दोलखामा सञ्चालित ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले २२०/१३२ केभी क्षमताको नयाँ खिम्ती सबस्टेसन निर्माण गरेको थियो । तर, सबस्टेसनमा स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि कुनै व्यवस्था नभएपछि नेपाल विद्युत् प्राधिकरणले १३२/३३/११ केभीको सबस्टेसन पूर्वाधार बनाएको हो । १३२/३३ केभीको पूर्वाधार तयार भएपछि नयाँ खिम्ती सबस्टेसनबाट स्थानीय रुपमा विद्युत् आपूर्ति दिन सुरु भएको छ । नयाँ खिम्ती सबस्टेसनमा माथिल्लो तामाकोशीसहित खिम्ती र लिखू नदी करिडोरका जलविद्युत् आयोजनाहरुको विद्युत् जोडिएको छ । ती आयोजनाहरुबाट नयाँ खिम्ती सबस्टेसनमा प्रवाह भएको विद्युत्लाई १३२/३३ केभी सबस्टेसनमार्फत ३३ तथा ११ केभीमा झारेर स्थानीय रुपमा आपूर्ति गरिएको छ । बाँकी विद्युत्लाई २२० केभी प्रसारण लाइनमार्फत धनुषाको ढल्कबर र १३२ केभी लाइनमार्फत सिन्धुपाल्चोकको लामोसाँघू सबस्टेसनतर्फ प्रवाह गरिएको छ । १३२/३३/११ केभी सबस्टेसन सञ्चालनमा आएपछि रामेछाप र दोलखाको केही भागमा त्यहींबाट विद्युत् आपूर्ति दिइएको छ । रामेछाप जिल्लाको पूरै क्षेत्रमा र दोलखाको जिरी नगरपालिका, वैतेश्वर तथा तामाकोशी गाउँपालिका अन्तर्गतका क्षेत्रमा नयाँ खिम्ती सबस्टेसनबाट विद्युत् आपूर्ति दिइएको छ । दोलखाको ती क्षेत्रमा अहिले लामासाँघू सबस्टेसबाट विद्युत् आपूर्ति हुँदै आएको थियो । साथै, सिन्धुलीको सुनकोशी, फिकल र गोलाञ्जोर गाउँपालिकाअन्तर्गतका क्षेत्रमासमेत नयाँ खिम्ती सबस्टेसनबाट विद्युत् आपूर्ति दिइने छ । नयाँ खिम्ती सबस्टेसनबाट आपूर्ति दिन सुरु भएपछि रामेछापलगायतका जिल्लाहरुको विद्युत् पर्याप्त, भरपर्दो र गुणस्तरीय भएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ‘नयाँ खिम्ती सबस्टेसनमा जोडिएका जलविद्युत् आयोजनाहरुको विद्युत् सिन्धुपाल्चोकको लामोसाँघु हुँदै काठमाडौं र धनुषाको ढल्केवरमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुने तथा बढी भएको ढल्केबर–मुजफ्फरपुर हुँदै भारततर्फ निर्यात हुदै आएको थियो, नयाँ खिम्तीमा स्थानीय रुपमा विद्युत आपूर्तिका लागि पूर्वाधार नहुँदा आफ्नै जिल्लामा ठूलो सबस्टेसन भएर पनि त्यहाँबाट आपूर्ति नपाउँदा त्यस भेगका उपभोक्ताहरु भरपर्दो र गुणस्तरीय विद्युत् उपभोगबाट बञ्चित थिए’, कार्यकारी निर्देशक घिसिङले भने । घिसिङका अनुसार नयाँ खिम्तीबाट २२० केभी प्रसारण लाइनमार्फत ढल्कबेर पुगेको विद्युत्लाई ३३ केभी प्रसारण लाइनबाट फेरि यतै ल्याएर सिन्धुली, रामेछापमा आपूर्ति गरिएको थियो, लामो लाइन हुँदा ट्रिपिङ, न्यून भोल्टेजलगायतका समस्या थिए, अब नयाँ खिम्तीबाट आपूर्ति हुन थालेपछि विद्युत् आपूर्तिमा रहेका समस्याहरु समाधान हुने छन् । ढल्केबरबाट मन्थलीसम्मको ३३ केभी प्रसारण लाइनको लम्बाइ करिब ८० किलोमिटर छ । लामो तथा जंगलैजंगलबाट आएको लाइनका कारण रामेछाप र सिन्धुलीका उपभोक्ताहरुले ट्रिपिङ, न्यून भोल्टेजलगायतका समस्या व्यहोर्दै आएका थिए । अहिले नयाँ खिम्तीबाट विद्युत् आपूर्ति दिन थालेपछि लाइनको लम्बाइ घट्दा त्यस क्षेत्रको विद्युत् आपूर्तिमा सुधार हुने, लाइन मर्मतसम्भारमा सजिलो हुने आयोजनाका प्रमुख अनुप गौतमले बताए । सिन्धुलीको खुर्कोटस्थित सबस्टेसनसम्म नयाँ खिम्ती सबस्टेसनबाटै विद्युत् आपूर्ति दिइने छ । त्यसपछि खुर्कोट सबस्टेसनबाट विद्युत् आपूर्ति हुने सिन्धुलीका सुनकोशी, गोलाञ्चोर र फिकल गाउँपालिकाहरुको विद्युत आपूर्तिमा पनि सुधार हुने छ । अहिले ती सबै क्षेत्रमा ढल्केबर सबस्टेसनमार्फत आएको लाइनबाट विद्युत् आपूर्ति हुँदै आएको छ । नयाँ खिम्तीमा १३२/३३ केभीको सबस्टेसन पूर्वाधार निर्माण आर्थिक वर्ष २०७६/७७मा सुरु गरिएको थियो । नेपाल सरकार तथा प्राधिकरणको लगानीमा निर्माण भएको सबस्टेसनको लागत करिब ८० करोड रुपैयाँ रहेको छ ।
प्रभु बैंक र नाथन एसोसिटिज लन्डनबीच इन्भेस्ट फर इम्प्याक्ट नेपाल कार्यक्रमका लागि सम्झौता
काठमाडौं । प्रभु बैंक र नाथन एसोसिटिज लन्डनबीच इन्भेस्ट फर इम्प्याक्ट नेपाल कार्यक्रमका लागि सम्झौता भएको छ । नाथन एसोसिटिज लन्डनका उपसभापति बुद्धिका सामारासिङ्घेको उपस्थितिमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन आइआइएनका तर्फबाट नाथन एसोसिटिज लन्डनका नेपाल प्रतिनिधि बिबेक श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात प्रभु बैंक र आइआइएनको संयुक्त सहकार्यबाट नेपाल लगायत विश्वभर इन्भायरमेन्त सोसल एन्ड गभर्नेन्स (ईएसजी) को बढ्दो महत्वलाई अझ विस्तृत रुपमा स्पष्ट पार्ने विश्वास बैंकले लिएको छ ।