चालु बजेटका ११ महिना : आम्दानी र खर्च निकै न्यून
काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को ११ महिनामा सरकारको आय ६० प्रतिशत र व्यय ६५ प्रतिशत बराबर मात्रै देखिएको छ । सुरुआती विनियोजित लक्ष्यको तुलनामा जेठ मसान्तसम्मको सरकारी आम्दानी र खर्च निकै न्यून हो । महालेखा नियन्त्रक कार्यालयको जेठ मसान्तसम्मको तथ्याङ्कअनुसार यो अवधिसम्ममा बजेट खर्च ११ खर्ब ७६ अर्ब छ करोड ५७ लाख रुपैयाँ बराबर छ । जुन चालु आर्थिक वर्षको सुरुआती विनियोजनको ६५ दशमलव ५६ प्रतिशत बराबर हो । चालु आर्थिक वर्षका लागि सरकारले कुल १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँ बराबरको बजेट ल्याएको थियो । जेठ मसान्तसम्मको चालुगततर्फको खर्च सुरुआती विनियोजनको ७४ दशमलव १५ प्रतिशत बराबर छ । चालु आर्थिक वर्षका लागि चालुगत शीर्षकमा ११ खर्ब ८३ अर्ब २३ करोड ५१ लाख रुपैयाँ बराबर बजेट विनियोजन भएकामा हालसम्म आठ खर्ब ७७ अर्ब ३९ करोड ४४ लाख रुपैयाँ खर्च भएको छ । त्यस्तै, पुँजीगत शीर्षकमा तीन खर्ब ८० अर्ब ३८ करोड ४५ लाख रुपैयाँको वार्षिक बजेट रहेकामा जेठ मसान्तसम्ममा ४० दशमलव २४ प्रतिशत अर्थात् एक खर्ब ५३ अर्ब आठ करोड ४२ लाख रुपैयाँ बराबर खर्च भएको छ । वित्तीय व्यवस्थापन शीर्षकमा दुई खर्ब ३० अर्ब २१ करोड ७७ लाख रुपैयाँ वार्षिक बजेट विनियोजन भएकामा जेठ मसान्तसम्ममा सुरुआती विनियोजनको ६३ दशमलव २४ प्रतिशत अर्थात् एक खर्ब ४५ अर्ब ५८ करोड ७१ लाख बराबर खर्च भएको छ । जेठ मसान्तसम्मको राजस्व सङ्कलन पनि लक्ष्यभन्दा निकै न्यून छ । यो अवधिसम्मका सरकारको कुल राजस्व प्राप्ति वार्षिक लक्ष्यको ६० दशमलव ३६ प्रतिशत अर्थात् आठ खर्ब ८० अर्ब ३८ करोड ७९ लाख रुपैयाँ बराबर रहेको छ । सरकारले चालु आर्थिक वर्षका लागि १२ खर्ब ९५ अर्ब ३७ करोड ५८ लाख रुपैयाँ कर राजस्व, एक खर्ब सात अर्ब ७७ करोड १२ लाख रुपैयाँ गैरकर राजस्व र ५५ अर्ब ४५ लाख ८३ करोड रुपैयाँ वैदेशिक अनुदान लिने लक्ष्य राखिएको थियो । जेठ मसान्तसम्मको कर राजस्व सङ्कलन लक्ष्यको ५८ दशमलव ५९ प्रतिशत अर्थात् सात खर्ब ५९ अर्ब रुपैयाँ, गैरकर राजस्व सङ्कलन ७२ दशमलव २४ प्रतिशत अर्थात् ७७ अर्ब ८५ करोड ३७ लाख रुपैयाँ र वैदेशिक अनुदान आठ दशमलव ६६ प्रतिशत अर्थात् चार अर्ब ८० करोड २० लाख रुपैयाँ बराबर रहेको छ । यसरी सरकारको आयभन्दा व्यय धेरै हुँदा जेठ मसान्तसम्मको बजेट घाटा रु दुई खर्ब ९५ अर्ब ६७ करोड बराबर छ । दुईपटक संशोधन गर्दा पनि लक्ष्य भेटिनेमा शङ्का सरकारले गत जेठ १५ मा आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट प्रस्तुत गर्दै दोस्रोपटक बजेट संशोधन गरेको थियो । सरकारले चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षामार्फत पनि बजेट खर्चको अनुमान संशोधन गरेको थियो । दोस्रो पटकको संशोधित लक्ष्यअनुसार चालु आर्थिक वर्षमा सरकारले रु १५ खर्ब चार अर्ब ९९ करोड अर्थात् सुरुआती विनियोजनको ८३ दशमलव ९० प्रतिशत मात्रै बजेट खर्च हुने अनुमान गरेको छ । संशोधित लक्ष्य भेटाउनका लागि सरकारले चालु आर्थिक वर्षको अन्तिम महिना अर्थात् असारमा मात्रै तीन खर्ब २९ अर्ब रुपैयाँ बराबर बजेट खर्च गर्नुपर्ने देखिएको छ । दोस्रोपटकको संशोधित अनुमानअनुसार चालु खर्च १० खर्ब ४३ अर्ब ४९ करोड अर्थात् सुरुआती विनियोजनको ८८ दशमलव १८ र पुँजीगत खर्च दुई खर्ब ५८ अर्ब ३४ करोड रुपैयाँ अर्थात् सुरुआती विनियोजनको ६७ दशमलव ९१ प्रतिशत र वित्तीय व्यवस्था तर्फ दुई खर्ब तीन अर्ब २६ करोड अर्थात् सुरुआती विनियोजनको ८८ दशमलव २९ प्रतिशत खर्च हुने अनुमान गरिएको छ । चालु आर्थिक वर्षमा राजस्व सङ्कलन ११ खर्ब ७९ अर्ब ४४ करोड रुपैयाँ बराबर हुने संशोधित अनुमान छ । यो वार्षिक लक्ष्यको ८४ प्रतिशत हो भने गत वर्षको तुलनामा पाँच प्रतिशतले न्यून हो । जेठ मसान्तसम्मको अवस्था हेर्दा राजस्व सङ्कलनको संशोधित लक्ष्य भेटाउनका लागि पनि सरकारले असार महिनामा मात्र करिब तीन खर्ब रुपैयाँ राजस्व उठाउनुपर्ने देखिन्छ ।
मानुषी लघुवित्तको चौंथो वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको चौंथो वार्षिक साधारण सभा सम्पन भएको छ । उक्त सभा संस्थाकी अध्यक्ष पद्मासना शाक्यको अध्यक्षतामा जेठ ३२ गते सम्पन्न भएको हो । सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष शाक्यले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन प्रस्तुत गरिन् । सभामा वक्ताहरुले विश्व अर्थतन्त्र कोभिड पश्चात विस्तारै लयमा फर्कने संकेत भइरहेकोमा विश्व अर्थतन्त्रमा चुनौति थपिएको बताए । नेपालको सन्दर्भमा हाल तरलताको संकटले व्यवसाय चुनौतिपूर्ण भए पनि नियामक निकायले लिएको विभिन्न कदमहरुका कारणले आर्थिक वर्ष २०७८/०७९ मा सहज हुँदै गएको तर पछिल्लो समय लघुवित्त माथि चौतर्फी आक्रमण हुँदा चुनौति थपिएको उनीहरुको भनाई छ । लघुवित्तका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा संस्थाको सबै वित्तीय सूचाङ्कहरु उत्साहप्रद रहेको छ । सोही आवमा आइपीओ जारी गरी संस्थाले चुक्ता पुँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ पुर्याएको थियो । त्यस्तै, संस्थाले नाफा कूल १ करोड ७२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।
म्याग्दीको तातोपानी कुण्डलाई सुन्दर बनाईदै
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ मा रहेको पर्यटकीय तथा प्राकृतिक तातोपानी कुण्डलाई सुन्दर बनाउन थालिएको छ । पोखरा पर्यटन बोर्डको सहयोगमा तातोपानी कुण्ड व्यवस्थापन समितिले सुन्दर बनाउन लागेको हो । सिङ्गा–तातोपानी कुण्ड व्यवस्थापन समितिका सचिव कृष्ण खड्काले कुण्ड परिसरका भौतिक संरचनालाई मौलिक र वरपर बगैँचा बनाएर आकर्षक बनाउन थालिएको बताए । ‘पहिलो चरणमा यस वर्ष मौलिकता झल्कने प्रवेशद्वार र कपडा फेर्ने ठाउँ बनाउन लागेका छौँ’, उनले भने, ‘बजारदेखि कुण्डमा जाने पैदलमार्गको वरपर र पाखोमा फूल रोपेर बगैँचा बनाइसकेका छौँ ।’ शरीर डुबाएर स्नान गर्न तलाउमा जाने प्रवेशद्वारलाई मौलिक बनाउन भक्तपुरे इँटा प्रयोग गरिएको सचिव खड्काले बताए । स्नानपछि कपडा फेर्न महिला र पुरुषका लागि छुट्टाछुट्टै कोठा बनाउन लागिएको छ । पर्यटन बोर्डका सहायक प्रमुख नवराज पोखरेलले यस वर्ष तातोपानी कुण्डको सौन्दर्यता थप्न १५ लाख बजेट विनियोजन गरिएको बताए । कुण्ड समितिको थप रु तीन लाख लागत साझेदारीमा सो काम सुरु गरिएको हो । आगामी वर्षमा पनि यो कार्यक्रमलाई निरन्तरता दिने बोर्डले जनाएको छ । दाताको सहयोगमा कुण्ड व्यवस्थापन समितिले यसअघि जलमाई मन्दिर र वुद्धको मूर्तिसहित स्तम्भ निर्माण गरेको थियो । म्याग्दी नदीको किनारबाट प्राकृतिकरूपमा निस्कने ५० डिग्री सेल्सियस तातोपानी सङ्कलन गरिएको तलाउमा स्नानसहितको उपचार र अवलोकनका लागि तातोपानीमा पाहुनाहरू आउने गर्छन् । कुण्ड परिसरको वातावरणलाई रमणीय र आकर्षक बनाइने कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले बताए । बिरेनुनको गन्ध आउने पानी सङ्कलन गरिएको पोखरीमा स्नान गरेर छाला, ग्यास्ट्रिक, बाथ, चोटपटक लागेको निको हुने त्यहाँ नुहाउन आउनेहरूको भनाइ थियो । प्राकृतिक उपचारस्थलका रूपमा परिचित तातोपानीमा स्नानका लागि देशभरका नागरिकका साथै विदेशबाट पनि मानिस आउने गर्छन् । विसं २०७९ साउनदेखि २०८० जेठ महिनासम्म १७ हजार नौ सय ९३ जनाले स्नान गरेका समितिका कर्मचारी रेशम कार्कीले बताए । तातोपानी सङ्कलन गरिएको तलाउमा एकपटकमा तीन सय ५० देखि चार सय जनाले स्नान गर्न सक्ने क्षमता छ । एक दिनमा दुईपटक दुई–दुई घण्टाका दरले तातोपानीको कुण्डमा शरीरलाई डुबाएर स्नान गरेपछि बाहिर निस्किएर पाँच–दश मिनेटसम्म पछ्यौरा, व्याल्यङ्केट, पलास्टिक, काम्लो आदि न्याना कपडा ओढेर शरीरबाट चिटचिट पसिना ननिस्कँदासम्म विश्राम गरिन्छ । सात दिनसम्म स्नानका लागि प्रतिव्यक्ति रु तीन सय ५० शुल्क तोकिएको छ । प्रवेशशुल्क र चन्दा सहयोगवापत उठ्ने रकममध्ये २५ प्रतिशत बेनी नगरपालिका र १३ प्रतिशत आन्तरिक राजस्व कार्यालयमा कर बुझाउनुपर्छ ।बचत भएको रकम कुण्डका कर्मचारीको तलब, सञ्चालन, पूर्वाधार निर्माण, विद्यालयलाई अनुदान र सामाजिक क्षेत्रमा खर्च गरिँदै आएको छ । विगत १३ वर्षदेखि सरस्वती माविका १६ जनामध्ये चार निजी शिक्षकको तलबका लागि तातोपानी कुण्डले मासिक रु एक लाखका दरले सहयोग गर्दै आएको छ । रासस
लोकसेवाको कार्यलाई थप प्रभावकारी बनाउन उपराष्ट्रपति यादवको आग्रह
काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले लोकसेवा आयोगका सेवा र कार्यलाई थप प्रभावकारी हुनुपर्नेमा जोड दिएका छन् । लोकसेवा आयोगको ७३औँ वार्षिक समारोहलाई सम्बोधन गर्दै उनले निजामती सेवाका पदको नियुक्तिका लागि उपयुक्त उम्मेदवार छनोट गर्ने र सो पदबाहेक नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अन्य सङ्घीय सरकारी सेवा र सङ्गठित संस्थाको पदपूर्तिका लागि लिखित परीक्षा सञ्चालन गर्ने आयोगको जिम्मेवारी सन्तोजनक रहेकाले सेवालाई थप प्रभावकारी बनाउन आग्रह गरेका हुन् । उनले जनतालाई सहज र सुलभरुपमा सेवा दिने निजामतीलगायत क्षेत्रका कर्मचारीको भर्ना र छनोट कार्य निष्पक्ष, स्वतन्त्र र विश्वसनीय रहेको र यसलाई निरन्तरता दिन पनि आग्रह गरेका छन् । आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले कर्मचारी भर्ना र छनोटको कार्यलाई थप वस्तुनिष्ट, समसामयिक र विश्वसनीय बनाउन तथा आयोगको संस्थागत क्षमता सुदृढीकरण गर्न आयोगले दोस्रो रणनीति योजना २०७९/८० तर्जुमा गरी कार्यान्वयननमाा ल्याइएको जानकारी दिए । उनले पाठ्यक्रम, परीक्षा पद्धतिमा सुधारका साथै उत्तरपुस्तिका प्रणालीलाई थप विश्वसनीय बनाउन कार्यदलको सुझावका आधारमा प्रणालीगत विकास गरिएको बताए । आयोगले अनलाइन प्रणालीको टेक्नोलोजी तथा आर्किटेक्चर अपग्रेड गरी विकास गरिएको नयाँ अनलाइन प्रणाली कार्यान्वयनमा ल्याएकाले तथ्याङ्क व्यवस्थापन कार्य आगामी दिन थप व्यवस्थित हुने पनि उनले स्पष्ट गरे । नेपालमा विसं २००८ भदौ १८ मा पहिलो पटक छ पदका लागि विज्ञापन गरेर आयोगले कार्यारम्भ गरेको थियो । कार्यक्रममा संवैधानिक निकायका प्रमुखहरु, आयोगका पूर्वअध्यक्षहरु, महान्यायाधिवक्ता, सरकारका मुख्यसचिवलगायत उच्चपदस्थ अधिकारीको उपस्थिति थियो ।
युनिग्लोबका विद्यार्थीले ऋण लिएर गरे ५ दिने व्यापार मेला, हजारौंले गरे अवलोकन
काठमाडौं । युनिग्लोब कलेजका विद्यार्थीले ऋण लिएर ५ दिने व्यापार मेला गरेका छन् । विद्यार्थीले कलेजबाट आर्थिक ऋण लिएर जेठ २९ गतेदेखि असार १ गतेसम्म उक्त मेला सम्पन्न गरेका हुन् । कलेजले विद्यार्थीहरुको उद्यमी क्षमता विकास गर्नुको साथसाथै उनीहरुलाई व्यापारको वास्तविक महत्व सिकाउने लक्ष्यका साथ उनीहरुलाई ऋण दिएको हो । जसबाट विद्यार्थीले आफ्नो व्यापार शुरु गरेका हुन् । २५ वटाभन्दा धेरै स्टल राखिएको उक्त मेलामा खानेकुरासहित बजारमा उत्पादन भएका सामानहरु राखिएको थियो । यसैगरि उक्त कार्यक्रमबाट विद्यार्थीहरुले व्यावसायका लागि चाहिने बिजनेश प्रपोजल कसरी बनाउने, ऋण कसरी लिने देखि ब्यालेन्स सिट, मार्केटिङ, म्यानेजमेन्ट नेटवर्कीङको बारेमा विस्तृत रूपमा बुझ्ने अवसर पाएका छन् । जहाँ सिकेको विषय आफ्नो व्यापार व्यवसायमा समेत लगाउनेछन् र कतिपय विद्यार्थीहरुले त यो बिजनेश आइडियालाई नै अगाडी बढाउने लक्ष्य लिए कलेजले जानकारी गराएको छ । शिक्षक, शिक्षिका, विद्यार्थी, स्थानीय बासिन्दाको उपस्थिति रहेको उक्त मेलामा ५ हजार जनाले अवलोकन गरेका कलेजले जनाएको छ ।
आजदेखि भदौ मसान्तसम्म सडक खन्न रोक, अटेरी गरे कारबाही हुने
काठमाडौं । सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय बबरमहलले आजदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको छ । उक्त कार्यालयले एक सूचना प्रकाशन गरी वर्षायाममा पानीका धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मतसम्भार गरी पहिलेकै अवस्थामा ल्याउन गाह्रो पर्ने भएकाले सडक खन्न रोक लगाइएको जनाएको छ । सूचनामा भनिएको छ, ’सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयअन्तर्गतका सडक डिभिजन कार्यालय मातहत रहेका कुनै पनि सडक खन्ने स्वीकृति नदिइने र कसैले जबर्जस्ती सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन, २०३१ अनुसार कडा कारबाही गरिनेछ ।’ वर्षा लागेपछि सडक समयमै मर्मत गर्न नसकिने र आवागमनमा असुविधा पुग्ने हुँदा तीन महिना सडक खन्न रोक लगाइएको कार्यालयद्वारा प्रकाशित उक्त सूचनामा उल्लेख गरिएको छ । सरकारी निकायबीच समन्वय नहुँदा सहरी क्षेत्रमा सडक भत्काउने र बनाउनेक्रम चलिरहेको गुनासो बढ्ने गरेको पाइएको छ । त्यसैगरी वर्षात्का समयमा बाटो तथा ढल खन्दा हिलो भई सर्वसाधारण नागरिकलाई हिँडडुल गर्न तथा सवारी आवागमनमा पनि समस्या उत्पन्न हुने गरेको छ । साथै यसरी खनिएका सडक या ढलमा सवारीसाधन फसेर दुर्घटना पनि हुने गरेका आमनागरिकका गुनासा आउने गरेका पनि पाइएको छ ।
डिजिटल बैंकिङ्गलाई थप सुरक्षित बनाउँदै एनआईसी एशिया बैंक, परिमार्जन गर्यो वेबसाइट
काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो वेवसाइटलाई नयाँ डिजाइनमा स्तरोन्नति गरेको छ । बैंकले डिजिटल बैंकिङ्गलाई थप सहज, सरल र सुरक्षित बनाउने अठोटका साथ आफ्नो वेबसाइट एनआईसीबैंकडटकमलाई आकर्षक फिचरसहित नयाँ डिजाइनमा स्तरोन्नति गरेको हो । हाल सञ्चालनमा रहेकोे वेबसाइटलाई परिस्कृत एवं परिमार्जन गर्दै नयाँ डिजाइन सार्वजनिक गरेको हो । ग्राहकले खोजेका प्रोडक्ट, विवरण वा जानकारी आवाज (भ्वाइस कमाण्ड) द्वारा समेत सजिलैसँग खोज्न सकिने सुविधा यस वेबसाइटको प्रमुख विशेषता रहेको छ । साथै, ग्राहकले खोजेअनुसारको प्रोडक्ट र विवरणहरु उपलब्ध गराउन भनेर वेबसाइटमा राखिएको ‘कष्टुमर जर्नी म्यापिङ’ सिस्टमबाट ग्राहकले सहजै सर्च हिस्ट्री थाहा पाउन सक्ने छन् । बैंकका अनुसार मोबाईल, कम्प्युटर, ल्यापटप, ट्याब जस्ता डिभाइसहरुमा फिट हुने गरी डिजाइन गरिएको नयाँ वेबसाइटमा प्रयोगकर्ताहरुको डाटा सुरक्षालाई ध्यानमा राखेर विशेष सुरक्षा प्रणाली अपनाइएको छ । वेबसाइटमार्फत अनलाईन खाता, भिडियो केवाईसी अद्यावधिक, खातामा प्यान अद्यावधिक, अनलाईन डिम्याट, सेयर आवेदन, मर्चेन्ट आवेदन, ई-सर्भिसमार्फत विभिन्न भुक्तानीहरु गर्न मिल्ने सुविधाको साथमा बैंकका शाखा, एक्स्टेन्सन काउण्टर, एटिएमहरुको स्थान पत्ता लगाउन सकिने लगायत बैंक सम्बन्धी विविध जानकारी तथा सहयोगका लागि चौबीसै घण्टा च्याटबट सेवा समेत उपलब्ध छन् । बैंकको मोबाइल बैंकिङ्ग एपमा रहेको ओम्निच्यानेल प्रणालीमा उपलब्ध सेवाहरु जस्तै नगद जम्मा तथा चेक जम्मा आवेदन, नयाँ डेबिट तथा प्रिपेड डलर कार्ड अनुरोध, मुद्दती खाता खोल्ने, चेक अनुरोध, ई-कमर्श सुचारु, स्कीम ट्रान्सफर, लकर सुविधा आवेदन लगायत दर्जनौ सेवाहरु वेबसाइटमार्फत उपभोग गर्न सकिनेछ । बैंकको नयाँ वेबसाइट सार्वजनिक भएसँगै डिजिटल प्रविधिको उच्चतम प्रयोग गरी ग्राहकलाई बैंकको बारेमा सम्पूर्ण जानकारी लिन र सेवा उपभोग गर्न अत्यन्त सहज र सरल हुने विश्वास बैंकले लिएको छ । बैंकले हाल ३६० शाखा कार्यालयहरू, ४७३ एटिएम, १०९ वटा विस्तारित काउन्टर एवं ६५ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ
लाइसेन्स वितरण प्रक्रियामा ब्रोकर कम्पनीको कुनै भूमिका छैन
काठमाडौं । पुराना ब्रोकर व्यवसायीहरुको छाता संगठन स्टक ब्रोकर एशोसिएसन अफ नेपालले आफूहरुले कसैलाई पनि गुमराहमा नपारेको स्पष्ट पारेको छ । नयाँ स्टक ब्रोकर व्यवसायीहरुले गुमराहमा परेर लाइसेन्स प्रक्रिया रोकेको आरोप लगाएपछि आफूहरु स्वस्थ प्रतिस्पर्धा गर्दै आएको र कसैलाई पनि गुमराहमा नपारेको पुराना ब्रोकर व्यवसायीहरुले बताएका हुन् । पुराना ब्रोकर व्यवसायीहरुको गुमराहमा परी अर्थसमितिले नयाँ ब्रोकर कम्पनीको लाइसेन्स प्रक्रिया रोकेको आरोप नयाँ स्टक ब्रोकर अफ एशोसिएसनले लगाएको थियो । बुधबार एक विज्ञप्ति जारी गर्दै नयाँ ब्रोकर व्यवसायीहरुको संगठन नयाँ ब्रोकर एशोसिएसनले सर्वोच्च अदालतलाई समेत चुनौति दिने गरी पुराना ब्रोकर व्यवसायीहरुको गुमराहमा परी प्रक्रिया रोक्न निर्देशन दिएको आरोप नयाँ ब्रोकर व्यवसायीहरुले लगाएका थिए । नयाँ ब्रोकर लाइसेन्स प्रक्रिया रोकेको आरोप पुराना ब्रोकर व्यवसायीलाई लगाएपछि स्टक ब्रोकर एशोसिएसन अफ नेपालले प्रतिवाद गर्दै झुठा, आधारहिन, कपोल्पल्पित र अवास्तिविक रहेको बताएको छ । धितोपत्रसम्बन्धी ऐन, नियम अन्तर्गत रही खुल्ला प्रतिस्पर्धाबाट पूँजीबजारको नियामक नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त गरी ब्रोकर कम्पनीहरु सञ्चालनमा रहेको विज्ञप्तिमा भनिएको छ । ‘धितोपत्र दलाल व्यवसायीको लाईसेन्स वितरण प्रक्रियामा कुनै पनि भूमिका छैन, लाईसेन्स वितरण प्रक्रियामा सरोकार राख्ने सम्बन्धित सबै सम्मानित निकायहरुलाई गुमराहमा पार्ने कुनै पनि प्रकारको प्रयासहरु धितोपत्र दलाल व्यवसायीहरुले गर्दैनन्, सम्मानित निकायहरु कसैको पनि गुमराहमा पर्न सक्छन् भन्ने विश्वास पनि गर्न सकिदैन,’ विज्ञप्तिमा भनिएको छ, ‘धितोपत्र दलाल व्यवसायीहरुको गुमराहमा परी सम्मानित अर्थ समितिले निर्देशन जारी गरेको भन्ने जस्ता अत्यन्तै संवेदनशिल, असान्दर्भीक तथा स्तरहिन आरोपप्रति संघको गम्भिर आपत्ति रहेको छ र यस्ता आधारहिन झूठा आरोपहरुबाट भ्रमित नहुन सरोकारवाला सबैलाई अनुरोध गर्दछौं ।’ नयाँ स्टक ब्रोकर व्यवसायीहरुले पुराना ब्रोकर व्यवसायीलाई विभिन्न आरोप लगाएपछि आफूहरु स्वच्छ प्रतिस्पर्धा गर्न तयार रहेको बताएका छन् । पुराना व्यवसायीलाई सिण्डिकेट र एकाधिकार गरेको आरोप लागेपछि भविष्यमा स्वच्छ प्रतिस्पर्धा गर्न तत्पर रहेको बताएका हुन् । ‘उच्च प्रतिस्पर्धाबाट नै स्थापित ब्रोकर कम्पनीहरु अहिले पनि एकआपसमा प्रतिस्पर्धात्मक वातावरणमा सेवा प्रदान गर्दै आईरहेका छन्, भविष्यमा पनि स्वस्थ प्रतिस्पर्धात्मक वातावरणमा समग्र पूँजीबजारको अग्रपङ्तीमा रही पूँजीबजारको वृहत्तर विकासको लागी लगानीकर्ताहरुको सेवामा सदैव समर्पित रहने छौं, सिण्डिकेट र एकाधिकार बजार चाहने हाल सञ्चालनमा रहेका धितोपत्र दलाल व्यवसायीहरुु भनी गरिएको झुठा, आधारहिन, कपोल्कल्पित र अवास्तविक आरोपप्रति खेद प्रकट गर्दै सदैव प्रतिस्पर्धात्मक वातावरणमा सेवा प्रदान गर्न तत्पर रहेको अनुरोध गर्दछौं,’ उनले भने । ब्रोकर कम्पनीको प्रयासले दैनिक करिब २२ अर्ब रुपैयाँसम्मको कारोबार भएको उनीहरुको दाबी छ । उक्त कारोबारको राफसाफ तथा फछर्यौट ब्रोकर कम्पनीले तोकिएको समयसीमा दिएको उनीहरुको भनाइ छ । ३० औं बर्षको ईतिहास हुँदा पनि पूँजीबजारमा विभिन्न काम हुन आवश्यक रहेको उनीहरुको बुझाइ छ । ‘३० औं बर्षको ईतिहासमा आजसम्म पनि पूँजीबजारको आधारभुत औजार राफसाफ कोष कार्यान्वयनमा नआएको अवस्था छ, अक्सन मार्केट उपलब्ध छैन, उधारो कारोबारबाट सिर्जित बिषम परिस्थिती तथा उधारो सङ्कलनको कुनै कानुनी प्रावधानहरुको व्यवस्था छैन, यस्तो बिषम परिस्थितिमा पनि ब्रोकर कम्पनीहरुबाट उच्च व्यवसायिक दायित्व निर्वाह गर्दै कुनै पनि दिन धितोपत्र कारोबारको राफसाफमा एक दिन पनि ढिलाई नभएको तथा समस्या नभएको ईतिहास छ,’ स्टक ब्रोकर एशोसिएसन अफ नेपालको विज्ञप्तिमा भनिएको छ ।