बागमती प्रदेशमा तामाङ र नेपाल भाषालाई सरकारी भाषाको रूपमा ल्याइने
काठमाडौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि तामाङ र नेपाल भाषा सरकारी कामकाजको भाषाको रूपमा प्रचलन ल्याउने घोषणा गरेको छ । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालयका मन्त्री बहादुर सिंह लामाले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै सो घोषणा गरेका हुन् ।
बढेर आयो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो । अघिल्लो पटकको मूल्यभन्दा पेट्रोल प्रतिलिटर ८६ पैसा तथा डिजेल ३७ पैसा बढेर आएको निगमले जनाएको छ । आईओसीले आफ्नो लागत तथा कच्चा तेलको मूल्यका आधारमा नयाँ मूल्यसूची पठाउँछ । सो अनुसार निगमले नेपालमा पनि मूल्य समायोजन गर्नुपर्ने व्यवस्था छ । यो पटक पेट्रोलियम पदार्थको मूल्य सामान्य बढेर आए पनि नेपालमा परिवर्तन नगर्ने निगमले जनाएको छ । हाल निगमले उपभोक्तालाई पेट्रोल प्रतिलिटर १७५ रुपैयाँ तथा डिजेल १५५ रुपैयाँमा बिक्री गर्दै आएको छ ।
एभरेष्ट बैंकले बाल अस्पताल बनाउन चाइल्ड हेल्थलाई दियो १० लाख रुपैयाँ
काठमाडौं । एभरेष्ट बैंकले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई दियो १० लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले अस्पताल भवन निर्माण कार्यका लागि उक्त संस्थालाई सो बराबरको आर्थिक सहयोग गरेको हो । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, संस्कृतिक प्रवद्र्धन, दर्गम क्षेत्रमा पूवाधार सुधार, सामाजिक रुपले पिछडिएका वर्गको आय आर्जन, वित्तीय साक्षरता, ग्राहक संरक्षण सम्बन्धी कार्यक्रम तथा विभिन्न परोपकारी कार्य गर्दै आईरहेको छ । काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ सबै प्रादेशिक बाल अस्पतालहरुका लागि श्रोत केन्द्रको रुपमा केन्द्रिय बाल अस्पताल सञ्चालनार्थ स्थापित संस्था हो । जसले बाल स्वास्थका क्षेत्रमा बहुविशिष्टीकृत अस्पताल सञ्चालन गर्न, तालिम तथा दक्ष जनशक्ति तयार गर्री, गुणस्तर वृद्दि र नियमनका विधि र प्रक्रियाको विकास तथा, निति निर्धारण गर्न लगायतका कार्य गर्दै आएको छ । सो सम्बन्धमा दुई संस्थाबीच सम्झौता भई एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र अस्पतालका अध्यक्ष प्रा. डा. भगवान कोइरालाले चेक हस्तान्तरण गरेका छन् । यसबाट बाल अस्पताल निमार्ण लक्ष्यमा टेवा पुग्ने र बालबालिकाहरुले सुलभ तथा गुणस्तरीय स्वास्थ सेवा प्राप्त गर्ने विश्वास बैंकले लिएको छ । बैंकले हाल १२५ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १६० एटीएम मार्फत बैंकिङ्ग सेवा सुविधा दिँदै आएको छ । त्यस्तै, बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिइरहेको छ ।
बागमती प्रदेशले भ्रमण खर्च नदिने, भत्ता पनि खारेज
काठमाडौं । बागमती प्रदेशले प्रदेश सरकारको खर्चमा वैदेशिक, अध्ययन तथा अवलोकन भ्रमण सञ्चालन नगर्ने भएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका मन्त्री बहादुर सिंह लामाले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै सो बताएका हुन् । विभिन्न निकायहरूबाट मापदण्ड कार्यविधि निर्देशिकामा व्यवस्था गरी प्रदान गरिने अतिरिक्त प्रोत्साहन र विशेष भत्ता खारेज गरेको पनि लामाले बताए ।
विद्युतीय सवारी साधन किन्न प्रभु बैंकले ऋण दिने, सबै शाखाबाट पाइने
काठमाडौं । प्रभु बैंकले विद्युतीय सवारी साधान खरिद गर्न सवारी साधन कर्जा दिने भएको छ । बैंकले प्यारामाउण्ट मोटर्सद्धारा आयात गरिएको एम्जी मोडेल/ब्राण्डका इलेक्ट्रिक भेहिकल किन्न प्रतिस्पर्धी व्याजदरमा कर्जा दिने भएको हो । सो सम्बन्धमा प्रभु बैंक र प्यारामाउण्ट मोटर्स प्रा.लि. बीच विद्युतीय सवारीसाधनमा लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख व्यापार अधिकृत रेनुप्रसाद पाण्डे र प्यारामाउण्ट मोटर्स प्रा.लि.का तर्फबाट महाप्रबन्धक सचिन अर्यालले हस्ताक्षर गरेका हुन् । हाल बैंकले ३०१ वटै शाखाबाट नै कर्जा सुबिधा दिँदै आएको छ । यस सम्झौताबाट पेट्रोलियम पदार्थ खपतमा आधारित सवारीसाधनलाई विद्युतीय सवारीसाधनले प्रतिस्थापन गरी वातावरणिय सन्तुलनको दृष्टिकोणमा सहयोगी हुने बैंकले विश्वास लिएको छ ।
आइएमई पेको मोबाईल रिचार्जमा ५ प्रतिशतसम्म क्यासब्याक
काठमाडौं । ‘आइएमई पे’ ले मोबाईल रिचार्जमा दिईरहेको क्यासब्याकलाई निरन्तरता दिने भएको छ । आइएमईको २३ औँ वार्षिक उत्सवको अवसरमा आइएमई पे मार्फत मोबाईल रिचार्ज गर्दा पाइने क्यासब्याक निरन्तरता दिने निर्णय गरेको हो । केही समय यता सुरु गरिएको टपअप क्यासब्याक अन्तर्गत, रजिस्टर नम्बरमा रिचार्ज गर्द ग्राहकले ५ प्रतिशत क्यासब्याक पाउने छन् भने अन्य नम्बरमा रिचार्ज गर्दा २ प्रतिशत क्यासब्याक पाउने छन् ।
रिलायबल नेपाल लाइफको सभाले पारित गर्यो अघिल्लो आवको वित्तीय विवरण
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा असार १ गते कम्पनीका अध्यक्ष उदय नेपाली श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो । सभाले सञ्चालक समितिको छैठौं वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७८/०७९ को वित्तीय विवरणहरु र लेखापरीक्षकको नियुक्ति गर्ने प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको छ । सभामा सेयरधनीहरुले उठाएका जिज्ञासाहरुको जवाफ अध्यक्ष उदय नेपाली श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले दिएका थिए ।
विद्यालय पुग्न साढे दुई घण्टा पैदल !
बलेवा । बागलुङको गलकोट नगरपालिका-१ दुदिलाभटीको हलहलेका अश्विन पुनः बिहान साढे ७ बजे विद्यालय अध्ययनका लागि हिँडछन् । दुदिलाभाटीमा रहेको चौराहा माविमा कक्षा २ मा अध्ययन गर्ने पुन बिहानै घरबाट ननिस्के समयमा विद्यालय पुग्दैनन् । कक्षा ६ मा पढ्ने दाजु रोशन पुनसँगै उहाँ विद्यालय पुग्नुहुन्छ । विद्यालय जाँदा ओरालोबाटो साढे दुई घण्टामा विद्यालय पुग्ने पुनका दाजुभाइ घर फर्किंदा भने तीन घण्टा समय लाग्छ । रोशन र अस्विनका कान्छा भाइ भने चौराहा आधारभूत विद्यालय गाभिएपछि बनाइएको बालविकास केन्द्रमा अध्ययन गर्छन् । कक्षा १ पढ्न उहाँलाई पनि चौराहा मावि नै पुग्नुपर्ने बाध्यता छ । गाउँ नजिकै रहेको चौराहा आधारभूत विद्यालय चौराहा माविमा गाभिएपछि अश्विन साढे दुई घण्टाको यात्रा गरेर विद्यालय पुग्न बाध्य भए । उनका दाजु रोशन भने कक्षा ३ सम्म चौराहा आधारभूतमा अध्ययन गरेर कक्षा ४ देखि चौराहा माविमा भर्ना भएका थिए । ‘भएको खेतीपाती सबै यतै छ, बसोबास यतै भएकाले हामी अन्त जान सकेनौँ,’ उहाँहरुका बुबा रोम पुनले भने, ‘पायकमा विद्यालय नहुँदा बाबुहरुलाई असुविधा भएको छ, नजिकमा भएको विद्यालयसमेत गाभियो, हामी समस्यामा परेका छौँ ।’ विद्यालयबाट फर्किंदा छोराहरु थकित भएर फर्किने गरेको उनले सुनाए । स–साना बालबालिकालाई विद्यालय गाभिएपछि नजिकको विद्यालय पुग्न कठिन भएको उहाँको गुनासो छ । चौराहा आधारभूत विद्यालयमा कक्षा ३ सम्म पठनपाठन हुँदै आएको थियो । गलकोट नगरपालिकाले विद्यार्थी सङ्ख्या कम भएका विद्यालय नजिकको विद्यालयमा गाभ्ने मापदण्ड बनाएपछि चौराहा माविमा गाभिएको हो । नगरपालिकाले ‘विद्यालय मर्ज तथा तह मिलान मापदण्ड-२०७९’ तयार गरेर कार्यान्वयनमा ल्याएको छ । दुई जनाको दरबन्दी रहेको विद्यालयबाट एक जनाको दरबन्दी गत वर्ष नै अन्य विद्यालयमा समायोजन गरिएको थियो । विद्यालयका प्रधानाध्यापकसमेत रहनुभएका संस्थापक शिक्षक मनबहादुर विकलाई चौराहा माविमा हाजिर हुनेगरी विद्यालय गाभिएको हो । ‘कक्षा १ देखि ३ सम्म चार र बालविकास उमेर समूहका पाँचजना विद्यार्थी थिए,’ चौराहा आधारभूत विद्यालयका प्रधानाध्यापक विकले भने, ‘नगरको निर्देशन मान्नै पर्याे, विद्यालय समायोजन भएपछि हलहलेका बालबालिकालाई विद्यालय पुग्न कठिन भइरहेको छ ।’ शिक्षासँग सम्बन्धित कानुनहरुले स-साना बालबालिकाका लागि बढीमा आधा घण्टाको दूरीमा विद्यालय हुनुपर्ने व्यवस्था गरेको छ । तर, भौगोलिक कठिनाइ, स्रोत साधानको अभावलगायतका कारणले बालबालिका घण्टौँ पैदल हिँड्न बाध्य छन् । विसं २०४७ मा स्थापना भएको विद्यालयले तत्कालीन समयमा ४५ जना विद्यार्थीलाई पठनपाठन गराएर सेवा दिँदै आएको थियो । बसाइँसराइका कारण गाउँ नै रित्तिएपछि विद्यार्थी सङ्ख्या नपुगेर विद्यालय गाभिने अवस्था आएको विकले बताए । ‘गाउँमा बस्ती नै छैन्, बच्चा जन्माउने दर निकै कम छ’, विकले भने, ‘वैदेशिक रोजगारीको सिकार भयो विद्यालय, युवा विदेश गए, परिवारले गाउँ छोडे, परिवारसँगै बालबालिका बजार झर्दा विद्यालय गाभिने अवस्थामा पुग्यो ।’ विद्यालय गाभिँदा असहज हुने विद्यार्थीका लागि नगरपालिकाले सवारी साधन भाडा दिने नीति बनाएको छ । तर, विद्यार्थी र अभिभावकले भने त्यस विषयमा कुनै जानकारी नै नरहेको बताउँछन् । ‘टाढाका विद्यार्थीलाई उपयुक्त व्यवस्था गर्नुपर्ने हो, तर हामीलाई त कसैले हेर्दैन,’ अभिभावक रोम पुन भन्नुहुन्छ । वर्षाको समयमा पुन दाजुभाइलाई विद्यालय पुग्नै कठिन हुने गरेको छ । बालमैत्री घोषणा भएको नगरपालिकामा पढ्नकै लागि दैनिक पाँच घण्टा पैदल हिँड्नुपर्ने बाध्यता हुन दुर्भाग्य भएको गलकोटकै एक शिक्षकले बताए । गलकोट नगरपालिकाले केही हप्ता अघिमात्रै तामझामका साथ बालमैत्री नगर घोषणा गरेको थियो । गलकोट नगरपालिकाले कुनै स्थान विशेषभन्दा पनि समग्र नगरको अवस्था हेरेर विद्यालय गाभ्ने निर्णय गर्दा केही विद्यार्थीलाई असहज भएको जनाएको छ । ‘विद्यार्थी नै नभएको ठाउँमा सरकारले खर्चमात्रै गर्ने कुरा भएन, समस्या भएका बालबालिकालाई यातायात खर्च दिने गरी पत्राचार गरेर विद्यालय गाभिएको हो’, नगर शिक्षा अधिकारी रुद्रनारायण सापकोटाले भने, ‘यातायात खर्च दिँदासमेत समस्या हुने बालबालिकाका लागि आवासीय सुविधा दिने विषयमा समेत छलफल भइरहेको छ ।’ विद्यालयभन्दा टाढा रहेका विद्यार्थीका लागि यातायात खर्च उपलब्ध गराउन पाँच सदस्यीय समिति बनेको छ । ‘सरकारी खर्च त्यसै गर्न मिलेन, विधि बन्दैछ, हामी खर्च उपलब्ध गराउँछौँ’, उनले भने । गलकोटले चालु शैक्षिक सत्र सुरुआत हुनुपूर्व चार विद्यालय गाभेको छभने केही विद्यालयमा तह मिलान गरेको छ । रासस