विकासन्युज

विद्यालय कर्मचारीको आन्दोलन स्थगित, वार्ता हुँदै

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले समिति गठन गरेर वार्तामा आउन आमन्त्रण गरेपछि विद्यालय कर्मचारी परिषद्को जारी आन्दोलनका स्थगित भएको छ । कर्मचारीहरुले आन्दोलन स्थगनपछि वार्ताको थप वातावरण बनेकाले आज दिउँसोदेखि वार्ता आरम्भ गर्ने मन्त्रालयबाट गठित वार्ता समितिका संयोजक एवं शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चूडामणि पौडेलले बताए । वार्ता समितिमा अर्थ मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिवसमेत प्रतिनिधि हुन् । परिषद्का अध्यक्ष गङ्गाराम तिवारीले सरकारले वार्तामा आउन गरेको आग्रह र भावनालाई सम्मान गर्दै विगतमा भएको सहमति र सर्वाेच्च अदालतको आदेशको पालना गराउने गरी वार्तामा बस्न आफूहरु तयार भएको जानकारी दिए । परिषद् र सम्बन्धित संस्थाले आज मुलुकभरका सामुदायिक विद्यालय बन्दको कार्यक्रम घोषणा गरेका थिए । काठमाडौं महानगरपालिकाले त्यसरी विद्यालय बन्द गराइए कारबाही गर्ने चेतावनी दिएको थियो । नेपाल शिक्षक महासङ्घले पनि वार्तामा आउन आग्रह गरेको थियो । विद्यालय कर्मचारीले मासिक आठदेखि १२ हजार पाँच सय रुपैयाँ पारिश्रमिकमा काम गर्नु परेको, सर्वाेच्च अदालतको २०६७ माघ २३ को आदेशबमोजिम कर्मचारीको सेवा, शर्त, सुविधा उल्लेख गरी कानून बनाइ कार्यान्वयन गर्न आलटाल भएको, सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा आफूहरुको सुविधा बढाउने उल्लेख गरेर पनि बजेटमा कुनै सुनुवाइ नगरेको भन्दै आन्दोलन गर्दै आएका छन् । रासस

चार दलसहितको समाजवादी मोर्चा तयार, भोली घोषणा हुने

काठमाडौं । नेकपा माओवादीसहित ४ दलको समाजवादी मोर्चा भोलि घोषणा गरिने भएको छ । आइतबार बिहान प्रधानमन्त्री प्रचण्डसहित चार दलका शीर्ष नेताबीच बालुवाटारमा भएको बैठकले असार ४ गते समाजवादी मोर्चा घोषणा गर्ने निर्णय गरेको हो । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई पनि उक्त मोर्चामा समेटिन तयार भएपछि समाजवादी मोर्चा नै घोषणा गरिन लागेको हो । नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेपाल कम्युनिस्ट पार्टी मिलेर समाजवादी मोर्चा घोषणा गर्न लागेका हुन् । राष्ट्रिय सभागृहबाट सोमबार उपराह्रउक्त घोषणा हुने जनाईएको छ । नेताहरूबीच भएको सहमति अनुसार, मोर्चाको नेतृत्व आलोपालो हुनेछ । तत्काललाई केन्द्रीय मोर्चा घोषणा गर्ने र आवश्यकताका आधारमा तल्लो तहसम्म संरचना बनाउने सहमति जुटेको हो ।

सङ्खुवासभा अपडेट : दुई जनाको उद्धार, १५ अझै बेपत्ता

सङ्खुवासभा । सङ्खुवासभाको हवाखोेलामा गएराति आएको बाढीले बगाएर बेपत्ता भएका दुई जना मजदुरको उद्धार भएको छ । अविलर वर्षासँगै गएराति आएको बाढीले सुपर हेवाखोला हाईड्रोपावरमा काम गर्ने १७ जना मजदुर बेपत्ता भएका थिए । बेपत्ता १७ जनामध्ये दुई जना गम्भीर घाइते अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए । उनका अनुसार सुपर हेवाखोला हाईड्रोपावरमा काम गर्ने बर्दिया नगरपालिका–७ का २४ वर्षीय टीकाराम चौधरी र ३५ वर्षीय दीपकराज थारु गम्भीर घाइते अवस्थामा फेला हुन् । घाइते दुवै जनाको सामुदायिक अस्पताल चैनपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । अविरल बर्षासँगै आएको बाढीले हेवाखोला किनारका सात घर बगाएको छ । बाढीले चैनपुर–४ मा निर्माण भइरहेको सुपर हेवा हाइड्रोमा पूर्णरुपले क्षति पु¥याएको प्रहरी नायब उपरीक्षक गोदारले जानकारी दिए । उनका अनुसार बाढीले पाँचखपन र चैनपुर जोड्ने निर्माणाधीन मोटरेबल पुलमा क्षति पु¥याएको छ । बेपत्ताको खोजी तथा उद्धारका लागि घटनास्थलमा इलाका प्रहरी कार्यालय चैनपुर र सशस्त्र प्रहरीको टोली खटिएका छन् । रासस

स्वास्थ्य बीमा कार्यक्रम : काभ्रेपलाञ्चोकमा ४० प्रतिशत सहभागी

काठमाडौं । सरकारले सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत काभ्रेपलाञ्चोकमा ४० प्रतिशत नागरिक आबद्ध भएका छन् । जिल्लास्थित स्वास्थ्य बीमा बोर्डका अनुसार ४० दशमलव १२ प्रतिशत अर्थात् एक लाख ४६ हजार ७४ नागरिक स्वास्थ्य बीमा कार्यक्रममा सहभागी भएका छन् । राष्ट्रिय जनगणना २०७८ अनुसार जिल्लाको कुल जनसङ्ख्या तीन लाख ६४ हजार ३९ मध्ये ७० हजार छ सय १७ पुरुष र ७५ हजार चार सय महिला सरकारी स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएका छन् । बोर्डका दर्ता अधिकारी सरस्वती सिग्देलका अनुसार बनेपा नगरपालिकामा सबैभन्दा बढी र खानीखोला गाउँपालिकामा सबैभन्दा कम नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएका छन् । जिल्लामा१३ स्थानीय तह छन् । हालसम्म बनेपा नगरमा २९ हजार दुई सय ६६, धुलिखेल नगरमा २८ हजार नौ सय, पनौती नगरमा २४ हजार सात सय एक जना, पाँचखाल नगरमा १७ हजार पाँच सय ६२ र मण्डनदेउपुर नगरमा १३ हजार चार सय ३३ नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएका छन् । यस्तै नमोबुद्ध नगरमा नौ हजार दुई सय ५३, रोशी गाउँपालिकामा सात हजार नौ सय दुई, तेमालमा दुई हजार दुई सय ९३, महाभारतमा एक हजार पाँच सय १६, चौँरीदेउरालीमा दुई हजार सात, भुम्लुमा पाँच हजार चार सय ९०, बेथानचोकमा दुई हजार आठ सय ५२ र खानीखोला गाउँपालिकामा आठ सय ९९ नागरिकले स्वास्थ्य बीमामा गराएका हुन् । बोर्डका अनुसार कूल विमितमध्ये आठ हजार आठ सय ७१ ज्येष्ठ नागरिक, दुई सय १२ एचआइभी सङ्क्रमित, तीन हजार एक सय १३ पूर्णअपाङ्गता भएका व्यक्ति, एक सय ५१ कुष्ठरोगी र आठ कडा खालको क्षयरोग लागेका व्यक्ति तथा दुई हजार छ सय ७३ महिला स्वास्थ्य स्वयम्सेविका छन् । सरकारले महिला स्वास्थ्य स्वयंसेविकालाई बीमा गर्दा ५० प्रतिशत छुट, ज्येष्ठ नागरिकको निःशुल्क, पूर्ण अपाङ्गता भएका, कुष्ठरोगी र एचआइभी सङ्क्रमितका परिवारलाई बीमा रकममा शतप्रतिशत छुट दिँदै आएको छ । काभ्रेपलाञ्चोकमा विसं २०७६ भदौ २४ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम लागू गरिएको हो । बीमा कार्यक्रमका लागि प्रत्येक वडामा एक सहयोगीका दरले एक सय ३५ सहयोगी खटाइएका छन् । जिल्लामा धुलिखेल सामुदायिक अस्पताल, मेथिनकोट प्रादेशिक अस्पताल, बनेपास्थित रेयुकाई एईको मासुनागा आँखा अस्पताल, पाँचखाल प्राथमिक स्वास्थ्य केन्द्र, धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्र, खोपासी प्राथमिक स्वास्थ्य केन्द्र र सुन्थान प्राथमिक स्वास्थ्य केन्द्रमा विमितलाई उपचार सुविधा उपलब्ध गराइएको छ । रासस

सुधारको दिशामा बैंकिङ : तरलता बढ्दै, ब्याजदर घट्दै

काठमाडौं । लामो समय तरलताको समस्या भोगिरहेको बैंकिङ क्षेत्रमा केही सुधारको संकेत देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकले बैंकका महत्वपूर्ण सूचकहरु सुधारको गतिमा देखिएका हुन् । पछिल्लो समय प्रणालीमा निक्षेप बढेसँगै बैंकहरु सहज अवस्थामा पुगेका हुन् । तरलता अभावकै कारण बैंकहरुले लामो समय ब्याज बढाउनु पर्ने बाध्यता थियो भने व्यवसायीले पनि कर्जा नपाइरहेको अवस्था थियो । तर, पछिल्लो केही तथ्यांकले भने बैंकहरु सहज अवस्थामा पुगेका हुन् । लामो समय ७ प्रतिशतको हाराहारीमा बसेको अन्तर बैंक ब्याजदर पनि घटेर साढे ५ प्रतिशतको हारहारीमा झरिसकेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार अन्तर बैंक ब्याज दर ५ दशमलव ७४ प्रतिशत छ भने कर्जा निक्षेप अनुपात (सीडी रेसियो ८४.१९ प्रतिशत कायम भएको छ । यसअघि अधिकांश बैंकहरुको सीडी रेसियो ९० प्रतिशतको हाराहारीमा थियो । यस्तै, बैंकको निक्षेप पनि बढ्दै गएको देखिन्छ । राष्ट्र बैंकको तथ्यांक अनुसार बैंकहरुमा कुल ५५ खर्ब ४७ अर्ब निक्षेप छ भने कुल ४८ खर्ब ५३ अर्ब रुपैयाँ कर्जा लगानी भएको छ । बैंकिङ क्षेत्रमा प्रयाप्त तरलता हुँदा बैंकहरुले ब्याजदर पनि घटाउन थालेका छन् । असारमा बैंकहरुले सस्तोमै कर्जा लगानी गर्न थालेका छन् । बैंकहरुको आधारदर घटेसँगै कर्जाको ब्याजदर ०.२४ प्रतिशत बिन्दुले घटाएका छन् । असारमा बैंकहरुको औसत आधारदर १० प्रतिशत कायम भएको छ । चैतमा १०.४८ प्रतिशत रहेको बैंक तथा वित्तीय संस्थाको आधार दर वैशाखमा १०.२२ प्रतिशतमा झरेको छ । असारमा आधार दर घट्दै १० प्रतिशतमा आएको छ । राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरण श्रेष्ठले पछिल्ला केही सूचकहरुले बैंकिङमा सुधारको अवस्था देखिएको बताए । उनले पहिलेको तुलनामा अहिले सुधार हुँदै गएको बताए । उनले उद्योग क्षेत्रमा स्प्रेड नतोक्ने विषयमा पनि सम्बन्धित निकायले सोच्ने पर्ने धारणा राखे । उद्योगमा स्प्रेडदर नतोके उपभोक्तालाई पनि सहज हुने बताउँदै उनले उद्योगमा सहुलियत दिन यस्तो व्यवस्था गर्नु पर्ने बताए । यद्यपि, कर्जाको माग भने खासै नबढेको बैंकरहरुले बताएका छन् । कतिपय बैंकहरुलाई अझै पनि प्राथमिक पुँजी कोषको दबाब छ । पुँजी कोषको दबाबले बैंकहरुले अपेक्षा अनुसारको लगानी विस्तार गर्न सकेका छैनन् । पुँजीकोषमाथिको दबाब कम गर्न बैंकहरुले खराब कर्जा असुलीलाई बढाउनु पर्ने हुन्छ । तर, बैंकहरुको खराब कर्जा असुली हुन नसकेको बैंकरहरु बताइरहेका छन् । अहिले आधा दर्जन बैंकहरुको प्राथमिक पुँजी कोष ९ प्रतिशत तल छ । बैंकहरुले भने पुँजी कोषमाथिको दबाब कम गर्न हकप्रद सेयरको माग गरिरहेका छन् । तर, राष्ट्र बैंक त्यसमा तयार छैन । राष्ट्र बैंकले बैंकहरुलाई पुँजी बढाउनका लागि हकप्रद नदिने अनौपचारिक रुपमा बैंकहरुलाई भनिसकेको छ । राष्ट्र बैंकले हकप्रद सेयरको मागभन्दा खराब कर्जा असुलीमा जोड दिन बैंकहरुलाई भनिरहेको छ । उसो त पछिल्लो समय घरजग्गा क्षेत्रमा केही सहज हुँदा त्यसको प्रभाव पनि बैंकिङमा परेको हो । पछिल्लो घरजग्गा क्षेत्रमा केही सुधार भएको तथ्यांकले देखाउँछ । त्यसको प्रत्यक्ष प्रभाव बैंकमा परेको जानकारहरु बताउँछन् । बैंकहरुको अधिकांश लगानी घरजग्गामा भएकोले त्यो क्षेत्र समस्यामा पर्ने बित्तिकै बैंकमा पनि समस्या आएको थियो । अहिले सो क्षेत्रमा केही सुधार हुँदा त्यसको प्रभाव बैंकमा परेको हो ।

बालबालिकामा कुपोषणको समस्या हट्दै

काठमाडौं । शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरमा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा आएपछि बालबालिकामा देखिने कुपोषणको समस्या हट्दै गएको छ । तीन वर्षअघिदेखि सञ्चालन हुँदै आएको केन्द्रमा पहिलेको तुलनामा हाल नगन्य मात्रामा बालबालिकामा कुपोषणको समस्या रहेको पाइएको छ । ‘केन्द्र मातहत रहेका महिला स्वास्थ्य स्वयंसेविकालाई वर्षको सुरुमै घर-घरमा खटाएर पाँच वर्षमुनिका बालबालिकाको तथ्यांक संकलनकार्य गर्यौं’, केन्द्रका प्रमुख कृष्णराज जोशीले भने, ‘कुपोषित भएका बालबालिकाको पहिचान गर्ने कार्य गरी स्वास्थ्य केन्द्रमा उपचारका लागि ल्यायौँ ।’ तीन वर्षअघि कुपोषित हुने बालबालिकाको सङ्ख्या निकै बढी थियो । उपचारात्मक खानाको माध्यमबाट बालबालिकाको उपचार गरिएपछि हाल थोरैमात्रै बालबालिकामा कुपोषणको समस्या रहेको छ । गत वर्ष आठ जना बालबालिका कुपोषित रहेका थिए । यस वर्ष तीन जना बालबालिकामा मात्रै कुषोषणको समस्या रहेको छ । बालबालिका र आमालाई सन्तुलित खानाको प्रयोग गर्नुपर्दछ भन्ने कुरा घरमै गएर सम्झाउने गरेको महिला स्वास्थ्य स्वयंसेविका वृक्षी रानाले बताइन् । स्वास्थ्य केन्द्र स्थापना भएपछि प्रत्येक वर्ष कुपोषित बालबालिकाको सर्भेको कार्य हुँदै आएकाले पहिलेको तुलनामा कुपोषित हुने बालबालिकाको संख्या घट्दै गएको उनले बताइन्। ‘दुई वर्षमुनिका बालबालिकाको पाखुराको नाप लिने कार्यसँगै तौल र उचाइ उमेरअनुसार वृद्धि भए/नभएको यकिन गर्दछौँ’, उनले भनिन्, ‘त्यसकै आधारमा जेड स्कोर निकालेर कुपोषित भए/नभएको जानकारी हुन्छ, कुपोषित भए बालबालिकालाई उपचारका लागि केन्द्रमा पुर्याउँछौँ ।’ केन्द्रको कार्यक्षेत्रभित्रका टोलमा पुगेर सन्तुलित खानाबारे स्थानीय बासिन्दालाई सचेत पार्नका लागि खाद्य प्रदर्शनीको कार्य गरिएको केन्द्र प्रमुख जोशीको भनाइ छ । ‘खाद्य प्रदर्शनीमा पोषिलो खानाबारे जानकारी दिन्छौँ’, उनले भने, ‘कुपोषित बालबालिकाका लागि पुनःपरीक्षण र उपचार शिविरको आयोजना गर्ने कार्य हुँदै आएको छ ।’ उनका अनुसार आमा र बालबालिकालाई पोषिलो खानेकुरा खुवाउनुपर्छ भन्ने जानकारी अभिभावकले पाएपछि निकै सचेत भएका छन् । चालु आवदेखि प्रत्येक महिना पाखुराको नाप लिने र तौल लिने बालबालिकालाई वडा कार्यालयका तर्फबाट एक किलो आयोडिनयुक्त नुन र एक वटा साबुन निःशुल्क उपलव्ध गराउने व्यवस्था गरिएको छ । केन्द्रमा पुगेका एक सय ४९ बालबालिकाको नाप लिने र तौल लिने कार्य गरिएको छ । दुई वर्षमुनिका सबै बालबालिकालाई केन्द्रबाट बालभिटा र कुपोषित बालबालिकालाई उपचारात्मक खाना (आरयुटिएफ) दिइने गरेको छ । केन्द्रका स्वास्थ्यकर्मीका अनुसार बालबालिकाको प्रणालीबद्धरूपमा उपचार गरिँदै आइएको छ । जसअनुसार बालबालिकाको अवस्था हेरी भिटामिन ‘ए’ जुकाको औषधिसँगै अन्य रोगको औषधि उपलब्ध गराइँदै आएको छ । ‘महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीको प्रयासले अभिभाकलाई जनचेतना दिने कार्य गरिएपछि कुपोषणबारे अभिभावक सेचत भएका छन्’, वडाध्यक्ष शेरबहादुर साउदले भने, ‘ब्यालेन्स डाइट आमा र बालबालिकालाई खुवाउनुपर्छ भन्ने कुराको जानकारी पाएसँगै अभिभावकले त्यसको जोहो गर्दै आएका छन्, यसको परिणामस्वरुप बालबालिकामा देखिने कुपोषणको समस्या निराकरण हुँदै गएको छ ।’ वडाका सबै बासिन्दालाई सहजरूपमा स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि प्रयासरत रहेको उनले उल्लेख गरे । रासस

प्रतिकेजीको दुई रुपैयाँ पनि नपाएपछि किसानले सडकमा फाले गोलभेंडा

काठमाडौं । नेपाली गोलभेँडाले उचित मूल्य नपाएको भन्दै किसानले सडकमा नै फालेका छन् । आईतबार किसानहरुले कालीमाटी फलफूल तथा तरकारी बजार अगाडीको सडकमै गोलभेँडा फालेका हुन् । आफूहरूको परिश्रमानुसार मूल्य नपाएपछि भन्दै विभिन्न स्थानका किसानले बिक्रीका लागि ल्याएका गोलभेँडा कालीमाटीमा फालेका विरोध जनाएका हुन् । ४ रुपैयाँ किलोमा पनि गोलभेँडा ब्रिकी नभएको भन्दै उनीहरुले गोलभेँडा फालेर आन्दोलन गरेकोका लीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । अहिले कालीमाटी तरकारी बजारमा भारतीय गोलभेँडा ४० रुपैयाँ प्रतिकिलोमा ब्रिकी भइरहेको छ भने नेपाली टनेलको गोलभेँडा ६ रुपैयाँ केजीमा ब्रिकी भइरहेको छ ।

बजेटपछि जेठमा मात्रै ११५ प्रतिशत बढ्यो राजश्व संकलन

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेसँगै सरकारी राजश्वमा समेत बृद्धि भएको छ । आन्तरिक राजश्व विभागले सार्वजनिक गरेको जेठ मसान्तसम्मको तथ्यांक अनुसार राजश्व संकलनमा बृद्धि भएको हो । २०७९ को जेठ महिनाको तुलनामा २०८० को जेठ महिनामा मात्रै ११५ प्रतिशतले राजश्व संकलनमा बृद्धि भएको हो । गत वर्षको तुलनामा चालु आवमा कम राजश्व संकलन भएतापनि गत जेठ महिनाको तुलनामा चालु आवको जेठ महिनामा राजश्व संकलन बढेको छ । २०८० जेठमा मात्रै ३६ अर्ब ९९ करोड ६९ लाख ४९ हजार रुपैयाँ राजस्व संकलन भएको छ । गत आवको जेठमा ३२ अर्ब १० करोड ५४ लाख रुपैयाँ मात्र राजस्व संकलन गरेका छ । गत वर्षको सोही अवधिमा यो वर्ष ४ अर्ब ८९ करोड १५ लाख रुपैयाँ बढी राजस्व संकलन भएको हो । आन्तरिक राजश्व विभागका सूचना अधिकारी राजुप्रसाद प्याकुरेल अन्य महिनाको तुलनामा जेठ महिनामा राजश्व संकलनमा बृद्धि भएको बताउँछन् । ‘बजेट सार्वजनिक हुने महिना जेठ हो, बजेटमा केही करका दर परिवर्तन हुने हल्लाले व्यवसायीहरुले एकैपटक ठूलो परिमाणमा आयात गर्दा राजश्व संकलन बढी भएको हो’, उनले भने, ‘आयातसँगै जेठ महिनामा विकास निर्माणका कामहरु समेत धेरै हुँदा त्यसको असर राजश्वमा देखिएको हो ।’ विभागले चालू आर्थिक वर्षको जेठसम्म ४ खर्ब ८ अर्ब ६४ करोड ५१ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । गत वर्षको सोही अबधिमा ४ खर्ब १० अर्ब ४३ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो । गत वर्षको तुलनामा यो वर्ष राजस्व संकलन १ अर्ब ७८ करोड ५१ लाख रुपैयाँ कम भएको आन्तरिक राजस्व विभागले जनाएको छ । विभागका अनुसार गत वर्षको तुलनामा आय कर ९४ प्रतिशत मात्रै संकलन भएको छ । विभागले सार्वजनिक गरेको विवरण अनुसार २०८० जेठसम्म १ खर्ब ७० अर्ब ४२ करोड रुपैयाँ मात्र आयकर उठेको छ । गत वर्षको यसै अवधिमा १ खर्ब ८२ करोड २३ लाख रुपैयाँ आयकर संकलन भएको थियो । गत वर्षको तुलनामा यो वर्ष आयकर ११ अर्ब ८१ करोड ५३ लाख रुपैयाँ कम उठेको विभागले जनाएको छ । यस्तै, जेठसम्म घरभाडा कर तर्फ २ अर्ब ४३ करोड ४७ लाख रुपैयाँ संकलन भएको छ । गत आवको सोही अवबधिमा २ अर्ब ३९ करोड ७९ लाख रुपैया घरभाडा कर उठेको थियो । स्वास्थ्य कर तर्फ जेठ महिनासम्म ६ अर्ब ३८ करोड ९४ लाख रुपैयाँ उठेको छ । गत वर्षको जेठसम्म ५ अर्ब ८१ करोड रुपैयाँमात्र असुली भएको थियो । गत आवको तुलनामा चालु आवमा ११० प्रतिशतले स्वास्थ्य कर बढेको छ । शिक्षा कर तर्फ १ अर्ब ६६ करोड ५७ लाख रुपैयाँ राजश्व संकलन भएको छ । गत आवको तुलनामा चालू आवको १५९ प्रतिशतले शिक्षा करको राजश्व संकलन बढेको हो । गत वर्षको जेठसम्ममा १ अर्ब ४ करोड ९७ लाख रुपैयाँमात्र उठेको थियो ।