विकासन्युज

अब निसेलढोरमै स्वास्थ्य सेवा

ढोरपाटन । ‘केटाकेटी बिरामी भइरहन्छन्, कहिलेकाँही हामी आफै पनि बिरामी हुन्छौँ, भनेको बेला गाडी पाइँदैन, अस्पतालमा पुग्न यहाँबाट एक दिन लाग्थ्यो, तर  अब गाउँमै स्वास्थ्य संस्था आएपछि भने खुसी लागेको छ’, निसीखोला गाउँपालिका–५का कमला विकले भने । विकका चार छोराछोरी छन् । उनीहरु विरामी पर्दा एक दिन खर्चेर अस्पताल जानु पर्दथ्यो । तर यसै साता गाउँपालिकाले निसेलढोरमा सामुदायिक स्वास्थ्य इकाइ स्थापना गरेपछि सामान्य उपचारका लागि अस्पताल पुग्नै पर्ने बाध्यता हटेकोमा उनीलगायतका स्थानीय खुसी छन् । निसेलढोर बागलुङको दुर्गममा पर्ने बस्ती हो । निसेलढोरका अधिकांश स्थानीय घुम्ती बसाइ गर्ने गर्छन् । असोज लागेपछि निसीखोला गाउँपालिका–५ को निसी गाउँ झर्ने र बर्खा लागेपछि निसेलढोर जाने स्थानीयको परम्परा नै हो । कहिले लेक त कहिले बेँसी गर्ने हुँदा निसेलढोरमा अहिलेसम्म स्वास्थ्य संस्था स्थापना हुन सकेका थिएन । एकदशक अगाडिसम्म निसेलढोरमा बाह्रै महिना बस्नेको सङ्ख्या निकै कम थियो । अहिले सडक सञ्जालले जोडिएपछि स्थायीरुपमा ६० घर परिवार बसिरहेका छन् । बिरामी हुँदा घरेलु ओखतीमुलो गर्दै आएका स्थानीयले अब स्वास्थ्य संस्थामा उपचार गराउनुका साथै औषधिसमेत पाउने भएका छन् । गाउँमा स्वास्थ्य संस्था नहुँदा बिरामीले अकालमा ज्यान गुमाउनु पर्ने अवस्था थियो । अब कसैले पनि अकालमा ज्यान गुमाउन नपर्ने उनको विश्वास छ । ‘सहर बजारभन्दा धेरै टाढा छौँ, गाउँमा डाक्टर थिएन्, अस्पताल थिएन, कोही बिरामी भयो भने झाँक्रीधामी गर्ने गथ्यौँ, धामीझाँक्रीले निको नबनाए मात्रै अस्पताल जान्थ्यौँ’, उनले भने, ‘अस्पताल लैजाँदै गर्दा कतिले त बाटोमै ज्यान गुमाए, अब त्यसरी अकालमा कसैलाई पनि मर्न पर्ने छैन, सरकारले गाउँमै अस्पताल ल्याइदियो, हामीहरु धेरै खुसी भएका छौँ ।’ सामुदायिक स्वास्थ्य इकाइ सञ्चालनमा आएपछि गाउँका सबै नागरिकले सहजरुपमा सेवा पाउने अवस्था भएकोस्थानीय प्रेमबहादुर पुनको भनाइ छ । यतिका वर्षसम्म सामान्य स्वास्थ्योपचारका लागि हजारौँ खर्च गर्नुपरेको भन्दै अब जटिल किसिमका रोगबाहेक अन्य उपचार गाउँमै गराउन पाइने भएपछि उनले खुसी व्यक्त गरे । सरकारले दुर्गमको स्वास्थ्य संस्थालाई प्राथमिकतामा राखेर औषधि र उपकरणको कमी हुन नदिन आग्रह गरे । उनले भने, ‘हामीहरु धेरै टाढा छौँ, अस्पताल सञ्चालनमा आयो भन्ने मात्रै नहोस् यहाँबाट प्रवाह हुने सेवा गुणस्तरीय र प्रभावकारी बनोस्, हामीहरु सामान्य उपचारका लागि ठूलाठूला अस्पतालमा जान नपरोस्, यसलाई राज्यले विशेष प्रथमिकतामा राख्न जरुरी छ ।’ यहाँ सामुदायिक स्वास्थ्य इकाइ सञ्चालनका लागि निसीखोला गाउँपालिकाले चालु आर्थिक वर्षमा १५ लाख रुपैयाँ विनियोजन गरेको थियो । गाउँपालिकाले तत्कालका लागि घर भाडामा लिएर एक जना अनमी र एक जना कार्यालय सहयोगी राखी सेवा विस्तार गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत दिलीपकुमार चन्दले जानकारी दिए । आगामी आवमा गाउँपालिकाले प्रदेश सरकारसँग सहकार्य गरी भवन निर्माण गरेर सेवालाई थप गुणस्तरीय र प्रभावकारी गराउने उनको भनाइ छ । निसीखोला गाउँपालिकामा स्वास्थ्यचौकी चार वटा, आधारभूत स्वास्थ्य इकाइ दुई वटा, सामुदायिक स्वास्थ्य इकाइ दुई वटा गरी आठ स्वास्थ्य संस्था सञ्चालनमा रहेको उनले बताए । अहिले वडा नं ४ को झिम्पामा पालिकास्तरीय १० शय्याको आधाभूत अस्पताल निर्माणको अन्तिम चरणमा रहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत चन्दको भनाइ छ । निसेलढोरमा अहिलेसम्म विद्युत्को पहुँच पुगेको छैन ।  रासस

ईप्पान विभाजनतर्फ गयो, महासंघको तयारीमा मल्ल पक्षधर

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (ईप्पान) विभाजनको दिशामा गएको छ । जेठ ३२ गते भएको निर्वाचनमा उम्मेदवार बन्नबाट रोकिएका र विभिन्न चरणमा ईप्पानको निर्वाचनमा पराजित भएका उर्जा उत्पादकहरुले नयाँ संस्था खोल्ने तयारी थालेका छन् । गत साता सम्पन्न ईप्पानको निर्वाचनमा अध्यक्ष पदका आकांक्षी किरण मल्लको अन्तिम समयमा उम्मेदवारी खारेज भएको थियो । निर्वाचन मण्डलको उक्त निणर्यसँगै मल्ल र उनको समूहबाट उम्मेदवारी दर्ता गरेका केही व्यवसायीहरु संस्थापन समूहसँग आक्रोशित बनेका थिए । मल्लले निर्वाचनको अभियानमा आफूलाई सहयोग गर्ने व्यवसायीहरुलाई धन्यवाद दिन शनिवार सोल्टी होटलमा आयोजना गरेको रात्री भोजमा व्यवसायीहरुले ईप्पानको विकल्पमा नयाँ संस्था खोल्ने उद्घोष गरेका छन् । किरण मल्ल, गोरे शेर्पा, सूर्य प्रसाद अधिकारी, गोपाल निउरे, कृष्ण भण्डारी, लाककृष्ण केसी, कदम केसी लगायत व्यवसायीहरुले ईप्पानमा राजनीतिकरण धेरै भएको, ईप्पानले व्यवसायिका समस्या बोल्न छोडेको आरोप लगाए । उनीहरुले ईप्पानको विकल्पमा सबै उर्जा व्यवसायीलाई समेट्ने गरी उर्जा उत्पादक महासंघ बनाउने सम्मको घोषणा गरे । जलविद्युत उत्पादकहरुको मुख्य संस्था ईप्पान रहेपनि क्लिन इनर्जीको उत्पादन तथा व्यापार गर्ने ५ वटा संस्था दर्ता रहेको जानकारहरु बताउँछन् । मल्लले भने साधारणसभाबाट बनेको विधान संशोधन समितिमार्फत विधान संशोधन गराएर सबै व्यवसायीहरुलाई ईप्पानमा समेट्न पहिला जोड दिने बताए । यस्तो प्रयास सफल नभएमा नयाँ संस्था दर्ता गर्ने बताए । ईप्पानको साधारणसभाबाट भानु पोखरेल र हुमाकान्त चौलागाई रहेको विधान संशोधन समिति गठन भएको छ । त्यसमा कार्यसमितिबाट १ जना र विज्ञहरुबाट २ जना सदस्य थपेर ५ जनाको समिति बनाउने भनिएको छ । उक्त समिति गठन हुनुलाई मल्ल समूहले महत्वपूर्ण उपलब्धि मानेका छन् । समितिले ६ महिनाभित्र विधान संशोधनको लागि सुझाव दिने र त्यसलाई साधारणसभामा प्रस्तुत गर्ने योजना रहेको ईप्पानका नवनिर्वाचित अध्यक्ष गणेश कार्कीले बताए । असन्तुष्ट पक्षको माग अनुसार नै विधान संशोधन समिति गठन भएकोले सबै सदस्यहरुको सुझावलाई समेटेर विधान संशोधन हुने उनले बताए । संस्था दर्ता गर्न सजिलो भएको तर सदस्यहरुलाई संगठित गर्न र प्रभावकारी रुपमा सेवा दिन कठिन भएकाले नयाँ संस्था दर्ता हुने बित्तिकै त्यो प्रभावकारी नबन्ने पनि उनले बताए । ‘संस्था त अहिले धेरै छन्, तर ती संस्थाको संगठन कस्तो छ र प्रभावकारिता के छ भनेर पनि हेर्नुपर्छ,’ उनले भने ।

नेप्सेको अध्यक्षमा भुपाल बराल

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को सञ्चालक समितिको अध्यक्षमा भुपाल बराल नियुक्त भएका छन् । जेठ ३२ गतेको मन्त्रीस्तरिय निर्णयले अर्थ मन्त्रालयका सहसचिव बराल नेप्सेको अध्यक्षमा नियुक्त भएका हुन् । वित्तीय क्षेत्र व्यस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख समेत रहेका अध्यक्ष बरालले आइतवार देखि कार्यभार सम्हालेका हुन् । । बराल अध्यक्ष भएपछि नेप्सेको पुनःसंरचनामा जाने विषयमा थप चासो बढेको छ । यसअघि अध्यक्ष रहेका सहसचिव चक्र बुढाको पर्यटन मन्त्रालयमा सरुवा भएपछि एक महिनादेखि अध्यक्ष पद रिक्त थियो ।

‘विद्युतमा थप लगानी चाहिन्छ, निर्यात गर्नु हुँदैन भनेर राष्ट्रघाती अभिव्यक्ति नदिनु’

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अब विद्युतमा लगानी आवश्यक रहेको बताएका छन् । आइतबार प्राधिकरणमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले अब जलविद्युत क्षेत्रमा झन बढी लगानीको आवश्यक रहेको बताएका हुन् । उनले जलविद्युत क्षेत्रमा लगानीकागर्नका लागि विदेशी र स्वदेशी लगानीकर्तालाई आग्रह गरे । उनले बिजुली बिक्री गर्नु हुँदैन भनेर राष्ट्रघाती अभिव्यक्ती नदिन पनि आग्रह गरेका छन् । उनले पछिल्लो समय बिजुली निर्यात गर्नु हुँदैन भनेर केहीले गलत अभिव्यक्ति दिएको बताउँदै त्यस्तो राष्ट्रघाती अभिव्यक्ति नदिन आग्रह गरेका हुन् । ‘केही विज्ञसाथीहरुले निर्यात गर्नु हुँदैन, बिजुली बिक्री गर्नु हुँदैन भनेर अभिव्यक्ती दिएको, सामाजिक सञ्जालमा लेखेको देखेको छु, यस्तो गलत अभिव्यक्ति दिनु हुँदैन, यो पनि एक किसिमको राष्ट्रघात हो,’ उनले भने । यस्तै, उनले यस्तो गलत काम नगरेर सहयोग गर्न आग्रह गरेका छन् । ‘हामीलाई बिद्युत कम भयो भने पुनः अर्को समस्या हुनेवाला छ, कार्यान्वयन तहमा सबैको अनरसिप चाहिन्छ, कहीँ पनि सहयोग नगर्ने अनि ट्रान्समिटर बनाएन भनेर हुँदैन, यो राज्यको दायित्व हो, वन, गृह, भूमी सुधार मन्त्रालयले पनि सहयोग गर्नु पर्छ, विद्युत प्राधिकरणलाई दोष लगाउनु हुँदैन,’ उनले भने । यस्तै, उनले सिष्टमका कारण मध्य र पश्चिम नेपालमा धेरै जिल्लामा विद्युत अवरोध भएको बताएका छन् । उनले नेपालको माग पूरा गरेर नै निर्यात भएको पनि बताएका छन् । तराईका अधिकांश जिल्लामा अहिले एकदमै माग धेरे आएको छ, यो हाम्रा लागि राम्रो हो, तर माग धेरै हुदा २ सय किलोवाड क्षमताका ट्रान्सफरमले नधान्ने अबस्था छ,’ उनले भने । उनले पछिल्लो समय २ हजार किलोवाट क्षमताको विद्युत आयोजनाले दिन थालेको भन्दै विस्तारै बढ्दै जाने बताए ।

कारोबार सुचारु गरिदिन नयाँ ब्रोकर व्यवसायीको ज्ञापनपत्र, मासिक ४ करोड खर्च भइरहेको गुनासो

काठमाडौं । न्यु स्टक ब्रोकर एसोसिएसन नेपालले नेपाल धितोपत्र बोर्डलाई आवस्यक प्रकृयाँ अगाडी बढाएर कारोबार गर्ने अनुमति प्रदान गर्न अनुरोध गरेका छन् । उनिहरुले बोर्डलाइ ज्ञापनपत्र बुझाउदै यथाशक्य छोटो प्रकृयाँलाई अगाडि बढाउन नेपाल स्टक एक्सचेन्जलाई पत्रमार्फत निर्देशन प्रदान गरिदिन अनुरोध गरेका हुन् । धितोपत्र बोर्ड आफैमा स्वायत्त नियमनकारी निकाय रहेको र अर्थ समिति कुनै पनि दृष्टिकोणबाट नेपाल धितोपत्र बोर्डको प्रत्यक्ष नियमानकारी निकाय नरहेको कारण धितोपत्र बोर्डले अर्थसमितिको निर्देशन पालना गर्न बाध्य नहरेको नयाँ ब्रोकर व्यवसायीहरुको तर्क छ । हालसम्म नयाँ धितोपत्र दलाल व्यवसायी तथा व्यापारी कम्पनीहरुले नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र तथा सदश्यता प्राप्त गर्ने क्रममा इजाजत बापत मात्रै करिव १४ करोड राजस्व सरकारलाई तिरिसकेका छन् । ४३ कम्नपीबाट करिव ५०० जना कर्मचारीले प्रत्यक्ष रोजगारी पाइसकेका छन् । भौतिक पूर्वाधार बापत करिव ४० करवड जति रकम खर्च भइसकेको तथा अहिले पनि ४३ कम्पनीको मासिक औषत ४ करोड रुपैयाँ खर्च भइरहेको उनिहरुले धितोपत्र बोर्डलाई जानकारी गराएका छन् । नेपाल धितोपत्र बोर्डबाट मिति २०७९ असोज ०२ गते नयाँ धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको अनुमति दिने सम्बन्धमा सूचना जारी भएको थियो । यसै विषमा सर्वोच्च अदालतमा धितोपत्र बोर्ड विरुद्धमा मुद्दा समेत पर्यो । सर्वोच्च अदालतले गएको चैत २६ गते अन्तरिम आदेश मार्फत प्रकृयाँ अगाडी बढाउन फैसला गर्यो । यस पछि बोर्डले ४३ वटा नयाँ कम्पनीहरुलाई धितोपत्र दलाल व्यवसाय तथा धितोपत्र व्यापारी सम्बन्धी कार्य अगाडि बढाउन आशय पत्र जारी गरिसकेको छ । २ पटक गरेर धितोपत्र बोर्डबाट आवश्यक भौतिक पूर्वाधार पुगेका १८ वटा नयाँ धितोपत्र दलाल तथा व्यापारी कम्पनीलाई अनुमति प्रदान गरिसकेको छ । त्यसमध्ये ७ वटा कम्पनीले नेपाल स्टक एक्सचेन्ज लिमिटेडबाट सदस्यताका लागि आवश्यक रहने विद्युतिय कारोबार प्रणाली स्थापनाका लागि भौतिक पूर्वाधार तयारी गरेर जानकारी गराई नेप्सेको सदस्यताका लागि राजश्व समेत बुझाइसकेको परिप्रेक्ष्यमा जेष्ठ २९ गते सम्मानित अर्थ समितिबाट धितोपत्र दलाल तथा व्यापारीको इजाजत सम्बन्धी सबै प्रक्रियालाई रोक्न निर्देशन दिइएकोबाट धितोपत्र बोर्डबाट आशय पत्र एवं अनुमति पाइसकेका छन् । नेपाल स्टक एक्सचेन्जबाट समेत आशय पत्र पाइसकेका नयाँ धितोपत्र दलाल तथा व्यापारी कम्पनीहरुको इजाजत सम्बन्धि सम्पूर्ण प्रक्रिया रोकिन पुगेको भन्दै उनिहरुले पिडा भएको अवगत गराएका छन् । नेपाल धितोपत्र बोर्डबाट नेपाल मै पहिलोपटक कोटा प्रणालीलाई नै बन्द गरी ओपन इन्ट्री-ओपन यकजिट्स  विधिबाट पूँजी, अनुभव र योग्यताका आधारमा छनौट भएका धितोपत्र दलाल तथा व्यापारी थप्ने यो प्रक्रिया करिब १६ वर्ष पछि पहिलो पटक हुँदै गर्दा सम्माननीय प्रधानमन्त्रीको कार्यालय, मन्त्री परिषद, अर्थमन्त्रालय, नेपाल धितोपत्र बोर्डबाट पूँजी बजारको विकास र विस्तारमा चालिएको यस्तो सकारात्मक कदमको उनिहरुले स्वागत समेत गरेका छन् ।  

एनसेलले ल्यायो आकर्षक अनलिमिटेड भ्वाइस प्याकहरु

काठमाडौं । एनसेलले आकर्षक अनलिमिटेड भ्वाइस प्याकहरु ल्याएको छ । एनसेलका सबै ग्राहकले अब नेपालका कुनैपनि मोबाइल नम्बरमा कल गर्न मिल्ने अनलिमिटेड अल–नेटवर्क र एनसेलकै नम्बरहरुमा कल गर्न मिल्ने अनलिमिटेड टकटाइमका प्याकहरुबाट फाइदा लिन सक्छन् । एनसेल आजियाटाले ग्राहकहरुको सञ्चार सेवाको आवश्यकतालाई ध्यानमा राख्दै अझै सुलभ दरमा सेवा लिन सकिने गरि तीन अनलिमिटेड भ्वाइस प्याकहरु संचालनमा ल्याएको जनाएको छ । प्रिपेड र पोष्टपेड दुवै सेवाका ग्राहकले प्रयोग गर्न सक्ने यी अनलिमिटेड टकटाइम रहेका प्याकहरु बिहिबारबाट संचालनमा आएका हुन् । आफ्नो भ्वाइस सेवाको आवश्यकता अनुसार ग्राहकले १ दिने अल–नेट अनलिमिटेड भ्वाइस प्याक, १ दिने अन–नेट अनलिमिटेड भ्वाइस प्याक वा ७ दिने समयासिमा रहेको अन–नेट अनलिमिटेड भ्वाइस प्याक लिन सक्छन् । १ दिने अल–नेट अनलिमिटेड प्याक अन्तर्गत ग्राहकले कर सहित मात्र २५ रुपैयाँमा बिहान ५ बजे देखि साझँ ५ बजे सम्म नेपालका देशका कुनैपनि मोबाइल नेटवर्कका नम्बरहरुमा अनलिमिटेड भ्वाइस सेवाको फाइदा लिन सक्छन् । ग्राहकले सजिलै *१७११८*१*५# डायल गरि यो प्याक लिन सक्छन् । त्यसैगरी *१७११८*३*४# डायल गरि एनसेलका अन्य नम्बरहरुमा २४ घन्टासम्म अनलिमिटेड कल गर्न सकिने १ दिने अन–नेट अनलिमिटेड टकटाइम कर सहित मात्र  ३० रुपैयाँमा सुचारु गर्न सक्छन् । एनसेलका अन्य नम्बरहरुमा कुराकानी गर्नका लागि धेरै टकटाइम आवश्यक भएका ग्राहकहरुले ७ दिन समयावधि रहेको अन–नेट अनलिमिटेड प्याक लिन सक्छन् । यो प्याकको कर सहित १५० रुपैयाँ पर्दछ । ग्राहकले *१७११८*४*३# डायल गरि यो प्याक सुचारु गर्न सक्छन् । आफ्ना ग्राहकलाई सुलभ दरमा सेवा प्रदान गर्ने कम्पनीको प्रतिवद्धता अनुसार यी अनलिमिटेड भ्वाइस प्याकहरु ल्याइएको एनसेलले जनाएको छ । अल–नेट होस् वा अन–नेट जुन सुकै नेटवर्कमा सहजै सम्पर्कमा रहिरहन यी प्याकहरुले ठूलो महत्व राख्ने विश्वास एनसेलले राखेको छ ।  

बाढीपहिरोले यातायात अवरुद्ध, उद्धारमा कठिनाइ

ताप्लेजुङ । निरन्तरको वर्षासँगै विभिन्न क्षेत्रमा बाढीपहिरोले सडक अवरुद्ध भएपछि ताप्लेजुङको आन्तरिक तथा बाह्य यातायात अवरुद्ध भएको छ । जिल्लाका अधिकांश ग्रामीण सडक बाढीपहिरोले क्षतिग्रस्त भएका छन् । बिहीबार राति आएको बाढीले मेहनले र खेवाङ जोड्ने पुल भत्काएको छ । अविरल वर्षासँगै गएराति मैवाखोलामा आएको बाढीले दोभान बजार हुँदै आठराई त्रिवेणी जाने सकड बगाएको छ । सडक वर्षा र पहिरोका कारण ग्रामीण भेगका अधिकांश स्थानमा यातायातका साधन चल्ने अवस्थामा छैनन् । सडकअवरुद्ध भएकाले पहिरोग्रस्त क्षेत्रमा सदरमुकामबाट राहत र उद्धारका लागि जानसमेत कठिनाइ भइरहेको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले जानकारी दिए । ‘अवरुद्ध बाटो सञ्चालनका लागि वैकल्पिक बाटोको व्यवस्था गर्ने सम्बन्धमा अहिले जिल्लास्थित सम्बन्ध निकायसँगको बैठक जारी छ’, उनले भने। बाढीपहिरो पीडितको राहत तथा उद्धारका लागि सम्बन्धित क्षेत्रका सुरक्षाकर्मी र स्थानीय तहसँग समन्वय भइरहेको प्रजिअ चेम्जोङको भनाइ थियो । उनका अनुसार बाढीपहिरोबाट जोखिममा परेका परिवारको उद्धार तथा राहतका लागि सङ्घ र प्रदेश सरकारसँग सहायता लिनेलगायत विषयमा पनि छलफल गरिनेछ । गएरातिकको बाढीले मेची राजमार्गअन्तर्गत पाँचथरको हिलिहाङ र फिदिम नगरपालिका जोड्ने हेवाखोला माथिको पुल बगाएपछि पाँचथर, इलामसहित तराईका जिल्लातर्फ जाने सवारी साधन सदरमुकाममा थन्किएका छन् । तमोर नदीसहित तमोर करिडोर अन्तर्गतका खोलामा बाढी आएकाले उक्त तमोर करिडोरको सडकसमेत अवरुद्ध छ । “गएराति पहिरोले घर बगाउँदा सिदिङ्वा गाउँपालिका–६ स्थित मेहेलेमा एकै परिवारका तीन जनासहित चार जना बेपत्ता छन्”, प्रजिअ चेम्जोङले भने, “आङ्खोपमा तीन घर बाढीले बगाएको छ भने दर्जनौँ घर जोखिममा परेका छन् ।” उनका अनुसार जोखिममा परेका घरका परिवार सुरक्षित क्षेत्रमा सरेर बसेका छन् । शुक्रबारदेखि निरन्तर परेको वर्षाले ग्रामीण क्षेत्रका नागरिक त्रसित छन् । दोभान बजार क्षेत्र मैवाखोलामा आएको बाढीले कटान गर्न थालेपछि आधाजसो परिवार मध्यरातमै सुरक्षित स्थानमा सरेका छन् । सिरीजङघाको याम्फुदिनमा काबेली खोलामा आएको बाढीले बस्ती कटान गरिरहेको छ । उक्त ठाउँका पाँच सरकारी कार्यालयसहित १५ परिवार अन्यत्र सरेका छन् । विभिन्न क्षेत्रका जलविद्युत आयोजनामासमेत बाढीपहिरोले क्षति पुगेको छ । विद्युत् आपूर्ति बन्द भएको छ । रातभर ठूलो वर्षा भएको ताप्लेजुङमा बिहानदेखि भने केही सामान्य भएको छ । गएरातिको वर्षा, बाढीपहिरोले पुगेको क्षतिको थप विवरण प्रहरीले सङ्कलन गरिरहेकाले विस्तृत विवरण आउन बाँकी छ । रासस

अप्पर हेवाखोलाको विद्युत उत्पादन बन्द

काठमाडौं । अप्पर हेवाखोला हाइड्रोपावर कम्पनीको विद्युत उत्पादन बन्द भएको छ । हाल सञ्चालनमा रहेको उक्त हाइड्रोको विद्युत असार २ गते राति सवा ९ बजेदेखि बन्द भएको हो । कम्पनीका अनुसार बाढीको कारणले उक्त ८.५ मेगावाटकोे इन्टेकमा क्षति भएको हो । विद्युत उत्पादन २०८० असार २ गते राति सवा ९ बजेदेखि बन्द भएको हो । त्यस्तै, विस्तृत जानकारी भने आउन बाँकी रहेको कम्पनीले जनाएको छ ।