‘आयातमा मात्र आलु प्याजमा भ्याट लाग्ने हो, आन्तरिक उत्पादनलाई यसले छुँदैन’
विराटनगर । आन्तरिक उत्पादनमा मद्दत पुगोस् र नेपाली उत्पादन प्रवद्र्धन होस् भनेर आयात हुने आलु र प्याजमा भ्याट लगाइएको अर्थमन्त्री डा. प्रकाशशरण महतले स्पष्ट पारेका छन् । मोरङ व्यापार संघको ६६औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले सो बताएका हुन् । ‘हामी कृषिप्रधान देश भन्छौं, आलु प्याज यति अर्बको आयात गर्ने, आलु प्याज यहाँ उत्पादन गर्न नसक्ने ? जमिन बाँझो छाड्ने ? विदेशबाट किनेर मात्रै खाने ? भन्ने बहसलाई मध्यनजर राखेर आलु प्याजमा कर लगाएका हौं । आम उपभोक्तालाई मर्का पार्न यो कर लगाइएको होइन । यो भन्सार दरले किसानका धेरै संगठनले स्वागत गरेका छन् । आयातमा मात्र भ्याट लाग्ने हो, आन्तरिक उत्पादनलाई यसले छुँदैन,’ डा. महतले भने । ‘अर्थतन्त्रको जीवनमा विराटनगर माथि थियो, अहिले तल झरेको छ । मलाई विश्वास छ, विराटनगर पूर्वको आर्थिक हबको रुपमा विकासित हुन्छ’ साधारणसभालाई सम्बोधन गर्दै मन्त्री डा. महतले भने, ‘यो क्षेत्रको विकास, यो क्षेत्रको व्यापार व्यवसाय र उद्योग प्रवद्र्धनका लागि नेपाल सरकार सम्पूर्ण रुपले साथमा रहन्छ ।’ कार्यक्रममा अर्थमन्त्रीले भने, ‘हाम्रो अर्थतन्त्रमा समस्याहरु छन्, यसअघि पनि मैले भनेकै हुँ, अहिले पूँजीगत खर्च कम भइरहेको छ । साधारण खर्च घटाउन सकिएको छैन । हाम्रो सामाजिक सुरक्षा र दायित्व बढी छ । विभिन्न किसिमका सौलियत, भत्ता हामीले प्रतिस्पर्धा गरेर नै दिऔं । हाम्रो अर्थतन्त्रले कति धान्न त्यतातिर ध्यान दिएनौं, तर हामीले दिने प्रतिवद्धता गरें, त्यो प्रतिवद्धताबाट पछाडि हट्ने अवस्था रहेन । त्यसैले साधारण खर्च घटाउन सक्ने अवस्थामा हामी थिएनौं, तर प्रशासनिक खर्च हामीले कम गर्ने कोसिस गरेका छौं ।’ ‘पूँजीगत खर्च २ खर्ब विनियोजन भएको छ, हाम्रो ऋण र ब्याजको दायित्व बढ्दै गएपछि पूँजीगत खर्च कम हुन पुगेको हो । भूकम्पका बेला लिएको ऋण अब तिर्ने बेला भयो । जसले गर्दा साधारण खर्च धेरै घटाउन नसक्ने, ऋण र ब्याजको दायित्व बढ्दै गएपछि पूँजीगत खर्चमा दबाब आयो, मन्त्री डा. महतले भने, ‘जसले गर्दा हामीले पूँजीगत खर्चका लागि १७ प्रतिशत मात्र बजेट विनियोजन गर्न सक्यौं ।’ ‘वास्तविक पूँजीगत खर्च २७ प्रतिशत छ । साधारण खर्चकै शीर्षकमा प्रदेश र स्थानीय तहलाई दिने, स्वास्थ्य र शिक्षाको शीर्षकमा पनि पूँजीगत खर्चबाटै गरिनेछ । यो जोड्दा २७ प्रतिशत पूँजीगत खर्च पुग्छ, मन्त्री डा. महतले भने, ‘पूँजीगत खर्चमा सुधार गर्नु पर्दैन भन्ने मेरो मान्यता होइन । पूँजीगत खर्चलाई बढाउनुपर्ने आवश्यकता छ । विनियोजित पूँजीगत खर्चलाई प्रभावकारितालाई बढाउन जरुरी छ । मलाई विश्वास छ, आउँदो वर्ष हामी पूँजीगत खर्च बढी गर्न सक्छौं, यसले अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत पुग्छ । अर्थतन्त्र चलायमान भयो भने राजस्व वृद्धिमा सहयोग पुग्छ ।’ ‘व्यवसायहरुको माग तीनवटा छन्, यो स्वभाविक हो, यो वर्षको अन्त्यमा आएर ब्याजदरमा सुधार आउन सक्छ, पूँजीगत खर्च र मौद्रिक नीतिले हाम्रो अर्थतन्त्रलाई चलायमान गर्छ, अहिले अर्थतन्त्रलाई चलायमान राख्न सकियो भने हामी अर्को वर्ष पूँजीगत खर्च बढाउन सक्छौं’, मन्त्री डा. महतको भनाइ थियो । ‘पूर्व-पश्चिम राजमार्गमा धेरै श्रोत परिचालन भएको छ । यति धेरै खर्चलाई हाम्रो ठाउँमा खर्च भएको मान्न कोही तयार छैनन् । मेरो गाउँमा, मेरो नगर र वडामा कति बजेट आयो, त्यसको मात्र हिसाबकिताब हुन्छ । हाम्रा सांसदहरुको प्रश्न पनि त्यसैमा केन्द्रित रहन्छ’ मन्त्री डा. महतले भने। विश्व बैंक र एसियाली विकास बैंकको सहयोग श्रोत पश्चिम दाङको लमहीदेखि पूर्व काँकटभिट्टासम्म निर्माणमा खर्च हुँदैछ । बजेटले कोशी प्रदेशलाई समेटेको छ भनेर हिसाब राख्न उनले अनुरोध गरे । उनले भने, ‘पूर्वपश्चिम विस्तार सडक र उत्तर-दक्षिणको सडक निर्माणले यो क्षेत्रको कायापलट हुन्छ भन्ने मलाई विश्वास छ । साथै विराटनगरको रिङरोडले विकासमा यो महानगरलाई विशिष्ट स्वरुप दिन मद्दत पुग्नेछ ।’ हालै सार्वजनिक भएको बजेट महान हो म भन्दिनँ, दुई महिनाको अवधिमा बजेट बनाएको हो, उनले भने, ‘सिस्टमलाई रुपान्तरण गर्न धेरै कुराको अभ्यास हुन जरुरी छ । त्यो अभ्यास गर्ने समय मसँग थिएन । जति समय मैले प्राप्त गरें, त्यो समय मैले भरपूर उपयोग गरेर इमान्दारीपूर्वक बजेट तयार गरेको हुँ ।’ रासस
सर्लाहीको गैरमा समृद्धि फाइनान्सको नयाँ शाखा विस्तार
काठमाडौं । समृद्धि फाइनान्स कम्पनीको नवौं शाखाको रुपमा शाखा कार्यालय गैर, सर्लाहीको समुद्घाटन भएको छ । साेमबार कविलासी नगरपालिकाका मेयर ब्रहम देव राय र समृद्धि फाईनान्सका संस्थापक संचालक सुजन अधिकारीले संयुक्त रुपमा उक्त शाखाको उद्धघाटन गरे । फाइनान्सको शाखा प्रबन्धक रामहरि निरौलाले संचालन गरेको उक्त कार्यक्रम संस्थाका संचालक सुजन अधिकारीको सभापतित्वमा कविलासी नगरपालिकाको मेयर प्रमुख अतिथि, नगरपालिकाको उपमेयर पुनम कर्ण र नेपाल सरकारको भूतपूर्व सहकारी अधिकृत तथा राजश्री बचत तथा ऋण सहकारी संस्थाको व्यवस्थापक प्रमुख रामलक्ष्यण राय विशिष्ट अतिथि रहेका थिए । उक्त कार्यक्रममा मेयर ब्रहम देव रायले यस भेगमा बैकको अत्यधिक आवश्यकता रहेको र रकम जम्मा तथा वैकिङ्खकारोबार गर्न यहाँका स्थानीय बासिन्दा धेरै अप्ठ्यारो परिरहेको परिस्थितिमा अव सो समस्याबाट यहाँका वासिन्दाले मुक्ती पा्ई सरल र सहज ढंगले गाउँमै सेवा लिन उपयुक्त अवसर भएको विचार व्यक्त गरे । कार्यक्रममा उपमेयर पुनम कर्णले यस ठाउँमा रहेको जनता अधिकांस कृषकहरु रहेको तथा उनीहरु कतिपयलाई कसरी वैकिङ्ख सेवा लिने सो सम्बन्धमा जानकारी समेत नभएकोले कर्मचारीहरुले सो मा थप सहजीकरण गरि कुरा वुझाएर वैकिङ्ख दायरमा ल्याई वैकिङ्ख सेवा दिई विश्वासिलो ढंगले कार्य गर्न सुझाउँदै संस्थाको प्रगतिको शुभकामना दिए । उक्त नयाँ शाखा सहित देशभरि फाइनान्सको शाखा सञ्जाल नौ वटा पुगेको छ । संस्थाले यसै हप्ता थप ३ नयाँ शाखाहरु उद्घाटन गर्ने योजना रहेको जनाएको छ । संस्थाको आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, एसएमएस अलर्ट, क्लियरिङ्ग लगायतका सेवाहरु सञ्चालनमा रहेको छ । निक्षेपमा आकर्षक व्याजदर कायम गरेको सो संस्थाले हायर पर्चेज कर्जा, घर कर्जा, विपन्न वर्ग कर्जा, व्यावसाय कर्जा, व्यक्तिगत कर्जा लगायतका कर्जा प्रवाह गरिरहेको छ ।
आइजीआई प्रुडेन्सियल र किष्ट शिक्षण अस्पतालबीच क्यासलेस सेवा सम्झौता
काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र ललितपुरको ग्वार्कोमा रहेको किष्ट शिक्षण अस्पतालबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र किष्ट शिक्षण अस्पतालका प्रबन्ध निर्देशक डा.अभिशेक थापाले हस्ताक्षर गरे । यस सम्झौता पश्चात आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकको बीमालेखको सीमासम्म किष्ट शिक्षण अस्पतालबाट क्यासलेस हस्पिटलाईजेशस सुविधा प्राप्त गर्न सकिने छ । साथै, सोही अवसरमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले किष्ट शिक्षण अस्पतालले आफना ग्राहकलाई आइजीआई प्रुडेन्सियल इन्स्योरेन्ससँग औषधोपचार बीमालेख खरिद गर्ने बताए । त्यस्तै, अस्पतालसँग बीमालेखको सिमासम्म क्यासलेस हस्पिटलाईजेशस सेवा लिन उत्प्रेरित गर्ने अपेक्षा राख्दै अस्पताल र अस्पतालसँग आवद्ध सदस्यलाई औषधोपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सबाट प्राप्त गर्नसक्ने हुनाले ढुक्क भएर सेवा लिन आव्हान गरे ।
गोलभेँडा सडकमा फालिएको विषयमा छानबिन गर्न समितिको निर्देशन
काठमाडौं । राष्ट्रियसभा अन्तर्गतको दीगो विकास तथा सुशासन समितिले कालीमाटी तरकारी बजारमा आइतबार सडकमा गोलभेँडा फालेको घटना छानविन गरी प्रतिवेदन दिन सरकारलाई निर्देशन दिएको छ । समिति सभापति प्रकाश पन्थको अध्यक्षतामा बसेको बैठकले गोलभेँडा फालेको घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै तरकारी किन फाल्नु परेको हो भनि गृह र कृषि तथा पशुपक्षी मन्त्रालयसँग जानकारी माग गर्ने निर्णय गरेको हो । बैठकको निर्णयमा भनिएको छ, “यो किसान, उपभोक्ता र व्यवसायीको हितमा छ कि छैन ?, घटना प्रचलित कानुनबमोजिम दण्डनीय हो कि होइन ?” उक्त घटनामा संलग्नउपर छानविन गरी सत्यतथ्य सार्वजनिक गर्न सुझाव दिँदै समितिले कानुनबमोजिम सम्बन्धित निकायबाट छानविन गराई प्रतिवेदन पठाइ ती दुवै मन्त्रालयलाई पत्राचार गर्ने निर्णय गरेको छ । बैठकले उक्त घटनामा दोषी भए कानुनी कारबाही गरी जानकारी गराउन पनि भनेको छ । बजार अभाव र उत्पादन लागतको तुलनामा गोलभेँडाको बिक्री मूल्य अत्यन्त न्यून रहेको जनाउँदै किसानको नाममा विचौलिया व्यवसायीले गोलभेँडा सडकमा नष्ट गरेको उपभोक्ता पक्षको आरोप छ । रासस
पैसा नभएको खाताबाट सेयरमा आवेदन दिए कारवाही हुने
काठमाडौं । बैंक खातामा प्रयाप्त रकम नराखी कुनै कम्पनीको आईपीओमा आवेदन भरेमा कारवाही हुने भएको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले पैसा नभएको वा सेयरका लागि अपुग रकम भएको बैंक खाताबाट सेयर भरेमा कारावही हुने बताएको हो । सिडिएसले एक सूचना सार्वजनिक गर्दै आवश्यक मौज्दात नभएको खाताबाट सेयर भरेमा कारबाही हुने बताएको हो । ‘संगठित संस्थाले जारी गरेको सार्वजनिक निस्कासन (सेयर) भर्दा आफ्नो बैंक खातामा मौज्दात नराखी वा खातामा मौज्दात रहेको भन्दा बढी रकमको आवेदन दिई संस्थाले जारी गरेको धितोपत्रको सार्वजनिक निस्कासनमा प्राप्त आवेदनको संख्या तथा परिमाणलाई प्रभावित पार्ने कार्य गरेमा सो कार्य धितोपत्र सम्बन्धी ऐन २०६३ अनुसार झूटा एवम् जालसाजीयुक्त कारोबार हुने भएकाले यस्ता कार्य गर्ने व्यक्ति वा संस्थालाई सो ऐनअनुसार कारबाही हुने ब्यहोरा जानकारी गराउँछौं,’ सिडिएसको सूचनामा भनिएको छ ।
सामान्य अङ्कले घट्यो नेप्से, ४ अर्ब ७४ करोडको कारोबार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज सामान्य अङ्कले घटेको छ । आज नेप्से परिसूचक दुई दशमलव ९४ अङ्कले घटेर दुई हजार ९१ दशमलव ३९ अङ्कमा कायम भएको हो । आज विभिन्न दुई सय ७६ वटा कम्पनीका एक करोड २९ लाख ७५ हजार एक सय ६८ कित्ता शेयर ६९ हजार एक सय ६८ पटक खरिदबिक्री हुँदा चार अर्ब ७४ करोड छ लाख आठ हजार आठ सय ८० रुपैयाँ बराबरको कारोबार भएको छ । आज विकास बैंक, वित्त, लगानी, म्युचुअल फन्ड र अन्य समूहको उपसूचक बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ । विकास बैंक एक सय ३१ दशमलव ३७, वित्त समूह ८९ दशमलव ९०, लगानी समूह दुई दशमलव २३, म्युचुअल फन्ड शून्य दशमलव ४६ र अन्य समूह ३३ दशमलव १३ अङ्कले बढेको छ । निर्जीवन बीमा समूह दुई सय ७७ दशमलव २५ र जीवन बीमा समूह एक सय ९३ दशमलव ८० अङ्कले घटेको छ । त्यस्तै, बैंकिङ आठ दशमलव ३२, होटल तथा पर्यटन ८१ दशमलव ८६, जलविद्युत् १९ दशमलव ८०, उत्पादन तथा प्रशोधन ५२ दशमलव ५४, लघुवित्त २९ दशमलव १३ र व्यापार समूह १२ दशमलव ०८ अङ्कले घटेको छ । आजको कारोबारमा सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेड, लक्ष्मी इक्विटी फन्ड, माउन्टेन इनर्जी नेपाल लिमिटेड, बिपिडब्ल्यू लघुवित्त वित्तीय संस्था लिमिटेड र मेन्छियम हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको २९ करोड ८२ लाख १३ हजार पाँच सय ७४ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड प्रमोटर शेयर ११ लाख ३५ हजार सात सय ९८ कित्ता किनबेच भएको छ ।
समता घरेलु लघुवित्त एफपीओ निष्कासन तयारीमा, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल
काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गर्ने भएको छ। संस्थाले बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गर्दै एफपीओ निष्कासन गर्ने जानकारी दिएको हो । समता र मुक्तिनाथबीच सोमबार सम्झौता भएको छ । सम्झौता पत्रमा घरेलु समता लघुवित्तका प्रमुख कार्यकारी अधिकृत मदन घिमिरे र मुक्तिनाथ क्यापिटलका तर्फबाट कार्यकारी अधिकृत कवीन्द्रध्वज जोशीले हस्ताक्षर गरेका हुन् । कम्पनीले वित्तीय संस्थाको प्रबन्धपत्रमा भएको व्यवस्था बमोजिम सेयर पुँजी संरचना संस्थापकको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत कायम हुनेगरी नपुग ३ करोड ३२ लाख ८५ हजार ६०० रुपैयाँ बराबरको ३ लाख ३२ हजार ८५६ कित्ता एफपीओ निष्कासन गर्ने भएको हो । हकप्रद निष्कासनका लागि धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि मात्र कम्पनीले सर्वसाधरणमा उक्त एफपीओ बिक्री गर्ने तयारी गरेको छ । हाल यस कम्पनीको चुक्ता पुँजी ३९ करोड ४१ लाख छ । नेप्सेमा ३९ लाख ४१ हजार ५५८ कित्ता सेयर सूचीकृत छ ।
घोराही सिमेन्टको आईपीओ निष्काशन स्थगित गर्न सेबोनको निर्देशन
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले घोराही सिमेन्ट इण्डष्ट्रीको आईपीओ निष्काशन प्रक्रिया स्थगित गर्न निर्देशन दिएको छ । कम्पनीको रेटिङ्ग र मागभन्दा बढी आवेदन पर्दा पनि समय थप गरेको विषयमा बोर्डले निष्काशन प्रक्रिया रोकेको हो । बोर्डले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैंकिङलाई पत्र पठाउँदै सार्वजनिक निष्काशन कार्य तत्काल स्थगन गर्न निर्देशन दिएको हो । बोर्डले केयर रेटिङ्ग नेपाललाई कम्पनीको रेटिङ्ग नियम विपरित भए÷नभएको बारेमा ३ दिन भित्र स्पष्टीकरण पेश गर्न गत जेठ ३० गते पत्राचार गरेको थियो । केयर रेटिङ्ग नेपालले स्पष्टीकरण नपठाई बिना आधार समय थप माग गरेको थियो । साथै, आईपीओमा मागभन्दा बढी आवेदन परेपनि निष्काशन समय थप गरिएको भन्दै तत्तकाल स्थगन गर्न बोर्डले निर्देशन दिएको हो । ‘कम्पनीको इस्युअर रेटिङ्ग, क्रेडिट रेटिङ्ग नियमावली, २०६८ को नियम ३४ को उपनियम (२) विपरित भए÷नभएको बारेमा केयर रेटिङ्ग नेपाललाई ३ दिन भित्र स्पष्ट गरी पेश गर्न जेठ ३० मा पत्राचार गरिएकोमा हालसम्म जानकारी पेश नगरी उपयुक्त आधार बिना म्याद थपको लागी अनुरोध गरेको र आईपीओमा माग भन्दा बढी कित्ता सेयरको लागि आवेदन प्राप्त हुँदा पनि समयावधि थप गर्न सूचना प्रकाशित गरेको देखिएकाले लगानीकर्ताको सुरक्षा तथा हित संरक्षणलाई मध्यनजर गर्दै कम्पनीको रेटिङ्ग र सार्वजनिक निष्काशन सम्बन्धी कैफियतको जाँचबुझका लागि हाललाई आईपीओ निष्काशनको सम्पूर्ण प्रक्रिया स्थगन गर्ने निर्णय भएको छ,’ बोर्डको पत्रमा भनिएको छ ।