विकासन्युज

‘स्मार्ट’ बत्तीले झलमल बन्यो पोखरा

गण्डकी । पोखराको मुख्य सहरी क्षेत्र ‘हाईमास्ट’ र ‘स्मार्ट’ सडकबत्तीले झलमल बनेको छ । ‘उज्यालो पोखरा’ अभियानअन्तर्गत् २० मुख्य चोकमा ‘हाईमास्ट’ र करिब ५० किमी सडकमा एक हजार छ सय २४ वटा ‘स्मार्ट बत्ती’ जडान गरिएको छ । नेपाल विद्युत् प्राधिकरण र पोखरा महानगरपालिकाको साझेदारीमा बत्ती जडानको काम भइरहेको हो । पृथ्वीचोक, विरौटाचोक, शहीदचोक, बागलुङ बसपार्क, हेम्जा, फेवा किनारलगायत २० ठाउँमा ‘हाइमास्र्ट’ बत्ती जडान भइसकेको छ । चालु आवको कार्यक्रमअन्तर्गत् मुस्ताङ चोक, बाटुलेचौर मैदान र बेगनासतालमा ‘हाइमास्र्ट’ बत्ती जडानको काम भइरहेको प्राधिकरणको राष्ट्रिय सडकबत्ती प्रवद्र्धन आयोजनाका प्रमुख प्रमोद रिजालले जानकारी दिए । ‘हाईमास्ट र स्मार्ट बत्ती जडानको काम सँगसँगै भइरहेको छ, सम्झौता अनुसारको काम पूरा हुने चरणमा छ’, उनले भने, ‘उज्यालो पोखरा अभियानले अर्को वर्ष पनि निरन्तरता पाउँनेछ, महानगरले पनि कार्यक्रम माग गरेको छ ।’ चालीस मिटर परसम्म चारैतिर उज्यालो दिने ‘हाइमास्र्ट’ बत्तीले पोखराका मुख्य चोक झलमल बनेको आयोजना प्रमुख रिजालले बताए । ‘हाईमास्ट अन्तर्राष्ट्रिय गुणस्तरको टिकाउ बत्ती हो, आवश्यकताअनुसार यसको प्रकाश घटाउन र बढाउन सकिन्छ’, उनले भने, ‘मोबाइलको सर्भर प्रणालीबाट बत्तीलाई नियन्त्रण गर्न सकिन्छ ।’ सोह्र मिटर अग्लो पोलमा ‘हाईमास्ट’ बत्ती राखिन्छ । मानिस र सवारीसाधनको आउजाउ बढी हुने समयमा बत्तीलाई पूर्ण क्षमतामा बालिन्छ । रात छिप्पिँदै जाँदा भने बत्तीको प्रकाशलाई केही घटाउने गरिएको छ । बाहिर उज्यालो हुँदा बत्ती स्वचालित रुपमा निभ्ने र रात परेपछि बल्ने गर्छ ।‘स्मार्ट’ बत्ती नियन्त्रणका लागि ठाउँठाउँमा ‘कन्ट्रोल प्यानल’ राखिएको छ । ‘सफ्टवेयर’ प्रणालीबाट बत्ती बले/नबलेको जाँच गर्न सकिन्छ । बत्ती बिग्रिएमा उक्त प्रणालीमा सङ्केत आउँछ । विरौटादेखि– छोरेपाटन, न्यूरोडलगायत क्षेत्रमा ‘स्मार्ट’ सडकबत्ती जडान गरिएको महानगरका इञ्जिनियर धु्रव भट्टराईले बताए । उनका अनुसार ९० वाटका एक हजार एक सय २४ र एक सय २० वाटका पाँच सय २० ‘स्मार्ट’ बत्ती जडान गरिएको हो । चार सय ४० वटा नयाँ र बाँकी पुरानै बिजुलीका पोलमा ‘स्मार्ट’ बत्ती राखिएको छ । सडकबत्तीका लागि प्राधिकरणले छुट्टै ट्रान्सफर्मर जडान गरेको छ । कूल रु १२ करोड ७५ लाखको उक्त आयोजनामा प्राधिकरण र महानगरको ५०/५० प्रतिशत लागत साझेदारी रहेको छ । अर्को वर्ष ‘जिरो’ किमिदेखि फेँदीसम्म ‘स्मार्ट’ सडकबत्ती जडान गर्ने योजना रहेको इञ्जिनियर भट्टराईले बताए । ‘आवश्यकता हेरेर सहरका मुख्य चोक र सडकमा स्मार्ट बत्ती जडान गर्दै जाने महानगरको योजना छ’, उनले भने, ‘स्मार्ट बत्तीले एकातिर सहरी सौन्दर्य बढ्छ, अर्कातिर सहर सुरक्षित हुन्छ, यसबाट राति हुने आपराधिक क्रियाकलाप नियन्त्रणमा पनि सघाउ पुग्छ ।’ पोखरा महानगरका प्रवक्ता मोतीलाल तिम्सिनाले ‘उज्यालो पोखरा’ महानगरको प्राथमिकताप्राप्त कार्यक्रम रहेको बताए । ‘स्मार्ट’ बत्तीको झिलिमिलीले पर्यटकीय राजधानी पोखराको आकर्षण अझ बढ्ने उनको भनाइ थियो । ‘स्मार्ट बत्तीले सहरको रात्रिकालीन सौन्दर्य बढ्नाका साथै आपराधिक क्रियाकलाप र सवारी दुर्घटना न्यूनीकरणमा पनि टेवा पुग्छ’, प्रवक्ता तिम्सिनाले भने । सडक बत्तीको सञ्चालन र व्यवस्थापनको जिम्मा महानगरले लिएको छ । बत्तीको महसुल पनि उसैले तिर्छ । महानगरको ‘उज्यालो पोखरा’ अभियानसँगै सिङ्गै गण्डकी प्रदेशलाई पनि ‘उज्यालो प्रदेश’ घोषणा गर्ने तयारी भइरहेको छ । प्रदेश सरकारले आगामी आवभित्र प्रदेशका सबै घरधुरीमा विद्युत् सेवा पु¥याउने लक्ष्य लिएको छ । प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको तथ्याङ्क अनुसार ९९ दशमलव ५० प्रतिशत घरमा बिजुली पुगेको छ । शून्य दशमलव पाँच प्रतिशत घरधुरी मात्र बिजुलीको पहुँच बाहिर छन् । छुटेका घरधुरीमा बिजुली पु¥याएर ‘उज्यालो गण्डकी प्रदेश’ घोषणा गर्ने तयारीमा प्रदेश सरकार छ । प्रदेश स्थापनापछि विसं २०७४ मा गठित सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले दुई वर्षभित्रमा सबै घरमा बिजुली बाल्ने निर्णय गरेको थियो । वर्सेनि सरकारको नीति, कार्यक्रम र बजेटमा समेटिँदै आएको ‘उज्यालो गण्डकी प्रदेश’को लक्ष्य यो वर्ष पूरा हुन लागेको हो । राष्ट्रिय प्रसारण लाइन नपुगेका ठाउँमा लघुजलविद्युत् र घरेलु सौर्य ऊर्जामार्फत विद्युत् सेवा विस्तार गरिएको हो । मन्त्रालयको ऊर्जा शाखाका अनुसार बागलुङ, तनहुँ र नवलपुरका केही ठाउँमा मात्र विद्युत् सेवा पुग्न बाँकी छ । प्रदेशका पाँच लाख ७४ हजार सात सय ९८ घरधुरीमा विद्युत् सेवा पुगेकामा राष्ट्रिय प्रसारण लाइनको योगदान ९५ दशमलव ६८ प्रतिशत छ भने बाँकी लघुजलविद्युत् तथा सौर्य ऊर्जा आदिको छ । रासस

बाढीका कारण चार जलविद्युत आयोजनामा क्षति

काठमाडौं । हेवाखोलामा आएको बाढीले चार वटा जलविद्युत आयोजनामा क्षति पुगेको छ । बाढीले अपर हेवाखोला हाइड्रोपावर कम्पनीले सञ्चालनमा ल्याएको अपर हेवाखोला जलविद्युत, याङवरक गाउँपालिकामा रहेको रैराङ हाइड्रो, माउन्टेन ए र माउन्टेन बी जलविद्युत आयोजनामा क्षति पुगेको हो । ८.५ मेगावटको अपर हेवाखोला जलविद्युत आयोजनाको इन्टेक बक्समा असर परेको बताइएको छ । इन्टेक बक्समा क्षती पुगेपछि विद्युत उत्पादन बन्द भएको कम्पनीले जनाएका छ । आयोजनामा कति क्षती भयो भनेर विस्तृत जानकारी नआएपनि कम्पनीले भने करोडौंको क्षति भएको अनुमान गरेको छ । यस्तै, याङवरक गाउँपालिकामा रहेको रैराङ हाइड्रो पनि क्षती पुगेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरिक्षक दिवास कुँवरले बताए । उनका अनुसार रैराङ हाइड्रो ड्याम्मा क्षति भएको छ । माउन्टेन हाइड्रो ए र बी भने पूर्ण रुपमा क्षति भएको बुझिएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार हालसम्म बाढीले हेवाखोलामा रहेका चारवटा सडक पुल बगाएको छ। फिदिम–४ र हिलिहाङ–७ को सीमामा मेची राजमार्गको एक सडक पुल, तमोर करिडोर एक सडक पुल (बेलीब्रिज) बाढीले बगाएको छ ।

बाढी र पहिरोले सडक र पुलमा मात्रै ५० करोडको क्षति

काठमाडौं । पूर्वी नेपालमा गएराति आएको भिषण बाढी पहिरोले सो क्षेत्रमा सडक र पुलमा क्षति पु¥याउँदा करिब ५० करोड रकम बराबरको क्षति भएको छ । प्रतिनिधिसभाको आज (आइतबार) को बैठकमा समय माग गरेर बोल्दै  भौतिक पूर्वाधार तथा यातायत व्यवस्थामन्त्री प्रकाश ज्वालाले सो विषयका बारेमा सदनलाई जानकारी गराएका हुन् । ‘ताप्लेजुङ, तेह्रथुम, सङ्खुवासभा, पाँचथरलगायत जिल्लामा गएराति आएको ठूलो बाढी पहिरोले जनधनको क्षति भएको, केही व्यक्तिको ज्यान गएको र केही बेपत्ता भएका छन्’, उनले भने, ‘म ज्यान गुमाउनेप्रति म र सरकारका तर्फबाट हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु ।’ मन्त्री ज्वालाले उद्धार र पीडितको राहत र सहयोगका लागि तीव्ररुपमा काम अघि बढाएको जानकारी दिए । त्यस क्षेत्रमा, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, सरकारी कर्मचारीहरु खोजी, उद्धार र राहतमा सक्रियताका साथ लागेका छन् । मन्त्री ज्वालाले भने, ‘ताप्लेजुङको हुवाखोलामा पुल बगाएपछि सो जिल्ला अन्य जिल्लासँगको पहुँच विच्छेद भएको छ । विद्युत्सम्पर्क पनि टुटेको छ । अरुण करिडोरमा पाँच सय मिटर सडक क्षति भएको छ’, उनले भने। मध्यपहाडी राजमार्गको पनि केही क्षेत्रमा क्षति पुगेको छ । सम्बन्धित कार्यालयमा कुरा गरी तत्काल बेलिब्रिज जडान गर्न उपकरण र आवश्यक जनशक्तिसहित कार्य प्रारम्भ भइसकेको उनले जानकारी दिए । बेलिब्रिज जडान नभएसम्मका लागि सतहबाट नै डाइभर्सन बनाएर यातायात सञ्चालन गर्न लागिपरेको उनको भनाइ छ । रासस

प्रभु महालक्ष्मी लाइफको लोगो सार्वजनिक, ९० करोडको एफपीओ जारी गर्ने

काठमाडौं । प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स मर्ज भएपछि बनेको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको लोगो सार्वजनिक भएको छ । दुई कम्पनी एक भएसँगै कम्पनीले प्रभु महालक्ष्मी लाइफको नयाँ लोगो सार्वजनिक भएको छ । उक्त लोगो मर्ज भएका दुई कम्पनीले एकीकृत कारोबार गरेपछि मात्रै प्रचलनमा आउने छ । मर्जरको लागि दुबै कम्पनीलाई नेपाल बीमा प्राधिकरणले गत जेठ २९ गते अन्तिम स्वीकृति दिइसकेको छ । यससँगै कम्पनीले चालु आर्थिक वर्षको असार महिनाभित्रमा एकीकृत कारोबार शुरु गर्ने भएको छ । दुई कम्पनीको देशैभर १६७ शाखा तथा उपशाखा सञ्चालनमा भई ४४९ जना कर्मचारी कार्यरत छन् । प्रभु लाइफले बोनस सेयर जारी पछि नयाँ बन्ने कम्पनीको चुक्ता पुँजी ४ अर्ब २९ करोड रुपैयाँ पुग्नेछ । यससँगै प्राधिकरणले तोकेको ५ अर्ब रुपैयाँ बराबरको पुँजी पुर्याउन कम्पनीले एफपीओ जारी गर्दै छ । कम्पनीले ९० करोेड रुपैयाँ बराबरको पुँजी पुर्याउन प्रिमियम मूल्यमा एफपीओ जारी गर्न लागेको हो ।

राष्ट्रिय वाणिज्य बैंकले ब्याज भुक्तानी गर्दा ५ % छुट दिने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले असार महिना भित्र ब्याज भुक्तानी गर्दा ५% छुट दिने भएको छ । बैंकले राष्ट्रको व्यवसायीक क्षेत्रमा भएको असहज परिस्थितिलाई मध्यनजर गर्दै मिति असार १ गतेदेखि ३१ गतेसम्म सबै प्रकारको कर्जाको ब्याज भुक्तानी गर्दा भुक्तानी गरिएको रकमको ५ प्रतिशत रकम सम्पूर्ण ऋणिहरुलाई छुट दिने जनाएको छ । ब्याज जुनसुकै प्रकारको कर्जाको वर्गीकरण (असल, सुक्ष्म निगरानी, कमशल, शंकास्पद, खराब), जतिसुकै अवधिको ओभरडिउ, नर्मल तथा पेनल ब्याजको आंशिक वा पूरा भुक्तानीमा समेत छुट प्रदान गरिने बैंकले जनाएको छ । ब्याज छुट रकम सम्बन्धित ऋणिको खातामा फिर्ता/जम्मा गरिनेछ । बैंक यो अवसरको लाभ लिन सम्बन्धित सम्पूर्ण ऋणिहरुलाई अनुरोध गरेको जनाएको छ ।

२४ गते एकीकृत कारोबार गर्दै लक्ष्मी सनराइज बैंक, कर्मचारीका लागि भिआरएस सुविधा

काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंकको एकीकृत कारोबारको मिति असार २४ गते तय भएको छ । लक्ष्मी बैंकका सञ्चालक दिनेश पौड्यालले दुई बैंकबीच असार २४ गते एकीकृत कारोबार हुने बताए । लक्ष्मी बैंकको आइतबार सम्पन्न विशेष साधारण सभाले सनराइज बैंकसँग मर्ज गर्ने विशेष प्रस्ताव पारित गरेसँगै एकीकृत कारोबारका लागि प्रक्रिया अघि बढाएको उनले बताए । मर्जरपश्चात् लक्ष्मी सनराइज बैंकको नामबाट एकीकृत कारोबार हुनेछ । कसैलाई पनि अफ्ठ्यारो नपर्ने गरी कर्मचारी व्यवस्थापन भइरहेको उनले बताए । ‘साधारणसभाले पारित गरेको पत्र आजभोलि राष्ट्र बैंकमा पठाउँछौं, राष्ट्र बैंकले पनि चाँडै स्वीकृति दिने अपेक्षा छ, त्यसपछि असार २४ गते एकीकृत कारोबार गर्ने तयारी छ,’ उनले भने, ‘सञ्चालक समितिको टुंगो लागिसकेको छ, अध्यक्ष र सीईओ लक्ष्मी बैंकले नै पाउँछ, आन्तरिक कामहरु तीव्र गतिमा भइरहेका छन्, कर्मचारी समायोजनको काम भइरहेको छ, दुवै बैंकको सिस्टम एउटै सफ्टवेयरमा प्रयोग भएकाले सहज हुन्छ ।’ सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई दोस्रो वरियता दिने सहमति भएको उनले बताए । यदि कुनै कर्मचारीलाई चित्त नबुझे संयुक्त मर्जर कमिटिले भिआरएस सुविधा ल्याउने उनको भनाइ छ । कर्मचारी समायोजन भने बराबरी हैसियतमा हुने सहमति भएको छ । दुवै बैंक समान हैसियतमा मर्जरमा जान लागेका हुन् । मर्जपश्चात् बैंकको सञ्चालक समिति अध्यक्ष लक्ष्मी बैंकबाट रमण नेपाल बन्ने छन् । यद्यपी सञ्चालक समितिको पहिलो बैठकले अध्यक्ष नियुक्त गर्नेछ । साथै, लक्ष्मी बैंकका सीईओ अजय बहादुर शाह मर्जरपश्चात् बन्ने बैंकको सीईओ नियुक्त हुने छन् । मर्जरपश्चात् पहिलो साधारणसभासम्मको लागि लक्ष्मीबाट ४ जना र सनराइजबाट तर्फबाट ३ जना गरी ७ सदस्यीय सञ्चालक समिति बन्नेछ । लक्ष्मी बैंकबाट हालका अध्यक्ष रमण नेपाल, सञ्चालकहरु डा. मनीष थापा, स्वाती रुङ्गटा र विद्या बस्नेत सञ्चालक बन्ने छन् । यस्तै, सनराइज बैंकबाट हालका अध्यक्ष मोतीलाल दुगड, इन्जिनियर बच्छराज तातेड र मालचन्द दुगड सञ्चालक बन्ने छन् । पहिलो साधारण सभा सम्पन्नपछि बन्ने सञ्चालक समिति ५ सदस्यीय हुने बैंकले जनाएको छ । जसमा २ जना संस्थापक, २ जना सर्वसाधाण र १ जना स्वतन्त्र सञ्चालक रहने लक्ष्मी बैंकले बताएको छ । मर्जर पश्चात् चुनौति बढिरहेको भएपनि त्यसलाई सामना गरेर अघि बढ्ने अध्यक्ष रमण नेपालको भनाइ छ । ‘समान हैसियतमा कर्मचारी समायोजन गर्ने भनेर सम्झौता गरेको हो, मर्जरपछि पनि कर्मचारीमा असमान व्यवहार हुँदैन,’ उनले भने, ‘साथीहरुले अध्यक्ष भनेर बधाइ तथा शुभकामना दिनु भएको छ, मर्जरपछि नै अध्यक्ष टुंगो लाग्नेछ, अहिले शुभकामना मात्रै स्वीकार गर्छु ।’ दुवै बैंकबीच मर्जरमा जानका लागि गत जेठ ७ गते अन्तिम सम्झौता भएको थियो । लक्ष्मी बैंकका अध्यक्ष रमण नेपाल र सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगडले गत पुस २५ गते मर्जरका लागि प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेका थिए । मर्जर प्रक्रियामा झण्डै २ करोड रुपैयाँ खर्च हुने बैंकले जनाएको छ । सनराइज बैंकले पनि आइतबार वार्षिक साधारणसभा गरेको छ । सनराइज बैंकका सेयरधनीले पनि लक्ष्मीसँग मर्जरमा जानका लागि अनुमोदन गरेका हुन् । मर्जरपश्चात् बैंकको चुुक्ता पूँजी २१ अर्ब ६७ करोड रुपैयाँ बढी हुनेछ । लक्ष्मी बैंकको चुक्ता पुँजी ११ अर्ब ५५ करोड १३ लाख र सनराइज बैंकको १० अर्ब ११ करोड ८८ लाख रुपैयाँ रहेको छ । यस्तै, बैंकको जगेडा कोष १२ अर्ब ८२ करोड रुपैयाँ पुग्नेछ । मर्जरपछि लक्ष्मी सनराइज बैंकको निक्षेप २ खर्ब ८१ अर्ब रुपैयाँ र कर्जा प्रवाह २ खर्ब ५० अर्ब रुपैयाँ पुग्नेछ । साथै, बैंकको शाखा सञ्जाल २७२ वटा पुग्ने छन् भने कर्मचारी संख्या ३ हजार १७० जना पुग्ने छन् ।

लक्ष्मी बैंकको विशेष साधारण सभा सम्पन्न, सनराइजसँगको मर्जर प्रस्ताव पारित

काठमाडौं । लक्ष्मी बैंकको विशेष साधारण सभाले सनराइज बैंकसँग मर्जरमा जाने प्रस्ताव पारित गरेको छ । आइतबार सम्पन्न भएको बैंकको विशेष सधारण सभामा सेयरधनीहरुले सनराइज बैंकसँग मर्जर जाने विशेष प्रस्ताव अनुमोदन गरेका हुन् । बैंकको सभाले लक्ष्मी बैंक र सनराइज बैंक एक आपसमा गाभ्ने तथा गाभिने सम्बन्धी संचालक समितिलाई अख्तियारी प्रदान गरेको छ । साथै, मर्जर प्रयोजनको लागि मुल्याङनकर्ताले तयार गरेको बैंकको चल अचल सम्पत्ति तथा दायित्व मुल्याङ्गन (डीडीए) प्रतिवेदन तथा अन्य सम्बद्ध व्यवस्था समेतका आधारमा निर्धारण गरिएको सेयर आदान प्रदान अनुपात र अन्तिम सम्झौता पत्र पारित गरेको छ । ड्यु डिलिजेन्स अडिटरको प्रतिवेदनका आधारमा दुवै बैंक १ः१ को स्वाप रेसियोमा मर्ज हुने, मर्ज भएपछि बन्ने संस्थाको नाम लक्ष्मी सनराइज बैंक लिमिटेड हुने छ । लक्ष्मी बैंकका हालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अजय विक्रम शाह मर्जरपछि बन्ने बैंकको सीईओ बन्नेछन् । गाभिएपछि बन्ने बैंकको सञ्चालक समितिको प्रथम बैठकले सञ्चालक समितिको अध्यक्षको चयन गर्नेछ ।

जलवायुको अत्यधिक परिवर्तनले मानव अस्तित्व नै लोप हुने

ललितपुर । वायुमण्डलमा हुने कार्वनडाइअक्साइड नामक रसायनको मात्रा बढ्दै जाँदा जलवायुको अत्यधिक परिवर्तनले मानव अस्तित्व नै लोप हुने खतरा प्रवल हुँदै गएकोमा एक कार्यक्रमका सहभागीहरुले चिन्ता व्यक्त गरेका छन् । यस प्रकृयालाई राम्ररी नबुझेसम्म यस समस्याको भरपर्दो समाधान निकाल्न नसकिने विषय उनीहरुको छ । नेपाल इन्जिनियरिङ कलेज (नेक) मा भएको एक प्रवचन कार्यक्रममा प्रा डा ताराप्रकाश भट्टले यस विषयमा प्रकाश पारे । अन्तरराष्ट्रिय ख्यातिप्राप्त पेशागत जर्नलहरूमा दर्जनौं शोधपत्रहरू प्रकाशन गरिसकेका प्रा डा भट्ट अहिले अमेरिकाको टेक्सास राज्यमा रहेको टेक्सास ए एण्ड एम विश्वविद्यालयमा प्राध्यापन तथा शोध कार्य गर्छन् । केही पश्चिमा वैज्ञानिकहरूले पृथ्वी मुनी रहेको भौगोलिक प्लेटहरू माथि आउने क्रममा माटोमुनी रहेका रसायनहरू हावासँग प्रतक्ष्य सम्पर्कमा आई रसायनीय प्रकृयाबाट वायुमण्डलमा अक्सिजनको मात्रा बढ्न गई हावाको तापक्रम घट्ने संकेत दिइरहेको छ । प्रा डा भट्टले यहाँको माटोमा भएको जीवाणुहरूले प्रयोग गर्ने अक्सिजनको मात्रा पनि बढ्ने र माटोमा रहेको पाइराइट धातु अक्सिजनसँग रियाक्शन भई अक्सिजन फेरी माटोमै मिसिने भएकोले प्राकृतिक तवरबाट नै कार्वनडाइअक्साइड र अक्सिजनको सन्तुलन कायम हुने अनुमान आफ्नो शोधबाट आएको जानकारी दिए । विश्वका अन्य देशहरू र नेपालकै लाङटाङ हिमाल क्षेत्रमा गरिएको अनुसन्धानबाट एउटै निश्कर्ष निस्किएको जानकारी दिँदै प्रा डा भट्टले नेपालमा मात्र अनुसन्धान गर्न आधारभुत तथ्याङ्कको कमि रहेकोले विदेशी संस्थाहरूसँग सहकार्य गरी नेपाली र विदेशी क्षेत्रमा सँगै काम गर्दा शोध परिणामको वस्तुगत तुलना गर्न सकिने र यसले शोध परिणामको विश्वसनियता बढ्ने जानकारी दिए । नेपालमा जल तथा मौसम विज्ञानलाई नै आफ्नो पेशागत कार्यक्षेत्र बनाएमा विज्ञहरूको छाता समुह सोहम नेपाल तथा नेकको अन्तरविधा जलश्रोत व्यवस्थापन कार्यक्रमको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा सोहम नेपालका उपाध्यक्ष शिवकुमार महतो, महासचिव केएन दुलाल तथा नेकबाट रबर्ट डंगोल, प्रतिक सिं ठकुरी, डा नारायणप्रसाद कोजू तथा अन्तरविधा जलश्रोत व्यवस्थापन कार्यक्रमका विद्यार्थीहरूले भाग लिएका थिए । कार्यक्रमको अध्यक्ष तथा नेकका प्राचार्य तथा सोहम नेपालका अध्यक्ष प्रा डा हरिकृष्ण श्रेष्ठले यस प्रकारको शोध कार्यक्रममा नेपालका शोधकर्ताहरूलाई पनि समावेश गर्ने वातावरण बनाउनुपर्ने कुरामा जोड दिएका थिए ।