सनराइज बैंकको १५ औं साधारण सभा सम्पन्न, लक्ष्मीसँग मर्जरमा जान बाटो खुल्यो
काठमाडौं । सनराइज बैंकको १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको सभाले लक्ष्मी बैंकसँग मर्जरमा जाने प्रस्ताव पारित गरेको हो । सनराइज बैंक र लक्ष्मी बैंक एक आपसमा गाभ्ने तथा गाभिने सम्बन्धी संचालक समितिको विशेष प्रस्ताव र मर्जर प्रयोजनको लागि मुल्याङनकर्ताले तयार गरेको बैंकको चल अचल सम्पत्ति तथा दायित्व मुल्याङ्गन (डीडीए) प्रतिवेदन तथा अन्य सम्बद्ध व्यवस्था समेतका आधारमा निर्धारण गरिएको सेयर आदान प्रदान अनुपात र अन्तिम सम्झौता पत्र पारित गरेको हो । यस्तै, बैंकको सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ असरा मसान्तसम्मको वासलात, आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण प्रस्ताव पारित गरेको हो । साथै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गरेको छ ।
इन्ट्रा डे कै उच्च बिन्दुमा पुग्यो नेप्से परिसूचक, बैंकिङ्ग बाहेक सबै समूहमा छायो हरियाली
काठमाडौं । आइतबारको नेप्से परिसूचक इन्ट्रा डे कै उच्च बिन्दुमा पुगेको छ । कारोबार खुलेदेखि उतारचढाव देखिएको परिसूचक कारोबारको अन्तिम चरणमा भने निरन्तर रुपमा बढेर करिब २१ सय नजिक पुगेको छ । समग्रमा परिसूचक ५२.२६ अंकले बढेर २०९४.३३ बिन्दुमा पुगेको छ । जुन अघिल्लो कारोबारको तुलनामा २.५६ प्रतिशतले बढी हो । त्यस्तै, कारोबार रकममा पनि सुधार भएको छ । दिनभरको कारोबारमा ४ अर्ब ८६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसमध्ये सबैभन्दा बढी शिवम् सिमेन्टस्को सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन ३६ करोड ६४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको हो । त्यस्तै, सर्वाधिक कारोबार गर्नेको दोश्रो सूचीमा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स रहेको छ । जसको १६ करोड ९३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको हो । बजारमा अधिकांश कम्पनीको सेयर मूल्य बढेको छ । १० कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भएको छ । जसमध्ये ६ वटा कम्पनीको सेयर १० प्रतिशतले बढेको छ । जसमा नेपाल इन्स्योरेन्स, प्रभु लाइफ इन्स्योरेन्स, ग्रीन भेन्चर, सुपर म्यादी हाइड्रोपावर, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था, मेनछियम् हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । टप लुजरको सूचीको अग्रस्थानमा शुभम् पावर रहेको छ । जसको सेयर मूल्य ५.५८ प्रतिशतले घटेर प्रतिकित्ता ७२७ रुपैयाँमा झरेको छ । उच्च अंकले बढेको बजारमा बैंकिङ्ग बाहेक सबै समूहमा हरियाली छाएको छ । बैंकिङ्ग समूह भने ३.५५ अंकले घटेको छ ।
भारतीय पक्षले नेपाली भूमि अनाधिकृत रुपमा गरेको जाँचबारे छानबिन गर्न माग
काठमाडौं । सांसद ठाकुरप्रसाद गैरेले भारतले कपिलवस्तु र लुम्बिनीलाई आफ्नो सदनमा नक्साङ्कन गरी अत्यन्तै गलत काम गरेको टिप्पणी गरेका छन् । सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसद गैरेले आदिपुरुष सिनेमामा सीता भारतकी छोरी हुन् भन्ने अर्को भ्रमपूर्ण समाचार प्रवाह गर्नेसमेत गरेको भन्दै आपत्ति जनाए । उनले भने, ‘सिनेमाका लेखकले नेपाल भारतकै अङ्ग हो भनेर अत्यन्त गलत अन्र्तवार्तामार्फत अभिव्यक्ति दिइरहेका छन्, नेपाल सरकार के गर्दै छ ? के भारत सुघौली सन्धिबाट पछाडि हटेको हो ? सरकार स्पष्ट हुन जरुरी छ, यदि भातरले त्यसो गर्न खोजेको हो भने नेपालको रक्षाको निम्ति जुनसुकै मूल्य चुकाउन तयार छ ।’ नेपालको एक इञ्च भूमि पनि कसैलाई सुम्पिन तयार नभएको भन्दै उनले मुलुकको लागि एकजुट हुनुपर्नेमा जोड दिए । सांसद डोलप्रसाद अर्यालले भारतीय पक्षले नेपालको भूमि अनाधिकृत रुपमा नापजाँच गरेको विषयमाथि सत्यतथ्य छानबिन गर्न माग गराए । उनले भने, ‘असार १ गते भारतीय टोलीले इन्डियन नेशनल हाइवेयले सर्वे गर्ने भन्दै कञ्चनपुरको भुजेला गड्डाचौँकी हुँदै सुक्कासालसम्मको भू–भाग नापजाँच गरेको छ, सर्वेका सामानसहित आएका ती प्रतिनिधि प्राविधिक नेपाल प्रवेश गर्दा पनि सिमानामा सुरक्षामा खटिएका सुरक्षाले भने सुइँकोसमेत पाएनन्, के उनीहरुलाई जागिर खानका लागि मात्रै सिमानामा खटाइएको हो ?’ सांसद तारा लामा तामाङले गएराति कोशी प्रदेशका विभिन्न जिल्लामा आएको बाढीका कारण २५ जना बेपत्ता भएको र धनजनको क्षतिप्रति दुःख व्यक्त गराए । उनले देशैभरिका सामुदायिक विद्यालयका कर्मचारीको जायज माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद डा तोसिमा कार्कीले कालोबजारी मौलाउँदै गएको भन्दै सरकारको ध्यानाकर्षण गराए । सांसद दयालबहादुर शाहीले बाजुरा जिल्लामा भएको अविरल वर्षाका कारण त्यहाँका दलित समुदाय विस्थापित हुनुपरेको भन्दै सरकारको ध्यानाकर्षण गराए । सांसद दीलेन्द्रप्रसाद बडूले आन्दोलनरत शिक्षकका माग वार्ताका माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिए । सांसद दीपकबहादुर सिंहले खडेरीका कारण किसानको अन्नबाली नाश भइरहेको उल्लेख गर्दै धानको बीउ लगाउने बेलामा मलको हाहाकार भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराए । सांसद दामोदर पौडेल वैरागीले शिक्षा सेवा नियमावली जतिसक्दो चाँडो ल्याउन माग गराए । सांसदहरु दुर्गा राई, दीपा शर्मा, पुष्पबहादुर शाह, पूर्णबहादुर घर्तीमगर, प्रतिमा गौतम, प्रतिक्षा तिवारी, धनबहादुर बुढा, ध्रुवबहादुर प्रधान, निशा डाँडी, प्रभु शाह, प्रमु हजारा दुसाद, प्रेमबहादुर महर्जन, प्रेम सुवाल, वासुदेव घिमिरे, विन्दावासिनी कङ्साकार, विनिता कठायत, नवलकिशोर शाह, नारायणप्रसाद आचार्य, नागिना यादव र नारायणी शर्माले नागरिकता, खानेपानी, बाढिपहिरो, अविरल वर्षा, यातायातलगायत मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए ।
मेची राजमार्ग सुचारु गर्न बेलीब्रिज लगिँदै
फाइल फोटो काठमाडौं । मेची राजमार्गको हेवाखोलामा बेलीब्रिज राखिने भएको छ । गए रातिदेखिको अविरल वर्षा र बाढीले बिहान पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका जोड्ने पुल बगाएपछि उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको निर्देशनमा त्यहाँ बेलीब्रिज पठाउन लागिएको हो । उपप्रधानमन्त्री श्रेष्ठको उपस्थितिमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यसअघि नै मनसुन पूर्वतयारी एवम् प्रतिकार्य कार्ययोजना तयार पारिसकेको छ। प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले खोज तथा उद्दारका लागि सम्बन्धित निकायहरूको जिम्मेवारी तथा उपकरणहरूको विवरण तय भैसकेको र सोही कार्ययोजनाअनुसार बेलीब्रिज पठाउन लागिएको बताए । हेवाखोलामा सडक विभागको इटहरीस्थित कार्यालयबाट बेलीब्रिज पठाउन लागिएको हो । विभागका महानिर्देशक सुशीलबाबु ढकालले प्राविधिक टोलीसहित आजै बेलीबिज्र पठाउने तयारी भैरहेको जानकारी दिए । बाढीले पुल बगाएपछि मेची राजमार्ग पूर्णरूपमा अवरुद्ध छ ।
प्राधिकरणको सिष्टममा गडबडी हुँदा विद्युत आपूर्तिमा समस्या आयो – घिसिङ
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको सिष्टममा गडबडी आउँदा विद्युत आपूर्तिमा समस्या आएको बताएका छन्। आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै उनले सिष्टमका कारण मध्य र पश्चिम नेपालमा धेरै जिल्लामा अवरोध भएको बताएका हुन् । ‘प्राधिकरणको सिष्टममा गडबडीका कारण मध्य र पश्चिम नेपालका धेरै जिल्लामा आपूर्तिमा समस्या आएको हो, कुनै दिनमा ११ पटकसम्म अवरोध भयो’ उनले भने- ‘नेपालमै विद्युत कटौतीगरी भारत निर्यात गरियो भनिएको छ, यो सरासर गलत हो ।’ उनले नेपालको माग पूरा गरेर नै निर्यात भएको बताए । ‘तराईका अधिकांश जिल्लामा अहिले एकदमै माग धेरे आएको छ, यो हाम्रालागी राम्रो हो, तर माग धेरै हुदा २सय किलोवाड क्षमताका ट्रान्सफरमले नधान्ने अबस्था छ,’ उनले भने । उनले पछिल्लो समय २ हजार किलोवाट क्षमताको विद्युत आयोजनाले दिन थालेको भन्दै विस्तारै बढ्दै जाने बताए ।
हिसानद्वारा काठमाडौं महानगर विरुद्ध मुद्दा दायर, सिलवाल भन्छन्, ‘बालेनको गुण्डाराज बढ्यो’
काठमाडौं । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान)ले काठमाडौं महानगरपालिका विरुद्ध पाटन उच्च अदालतमा मुद्दा दायर गरेको छ । हिसानले महानगरले ‘आठौं कान्तिपुर एडुफेयर–२०२३’ माथि गैरकानुनी ढंगले हस्तक्षेप गरेको भन्दै मुद्दा दायर गरेको पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो । हिसानले जेठ ३२ गतेदेखि काठमाडौं भृकुटीमण्डपमा आयोजना भएको एडुफेयरमा काठमाडौं महानगरको हस्तक्षेपका कारण ३० करोडको क्षति भएको भन्दै उच्च अदालतमा मुद्दामार्फत मागदाबी गरेको हिसानका अध्यक्ष रमेश सिलवालले बताए । ‘हामीले आज मुद्दा दर्ता गरेका छौं, क्षमा माग्नुपर्छ, यो कार्यक्रमलाई निरन्तरता दिनुपर्छ र क्षतिपूर्तिको व्यवस्था हुनुपर्छ भनेर माग गरेका छौं’, उनले भने । महानगरले एडुफेयरमा हस्तक्षेप गरेपछि शिक्षा मन्त्रालय र गृह मन्त्रालयमा जाँदा फेयर सञ्चालन गर्नको लागि आवश्यक सुरक्षा दिने बताएपनि महानगरले हस्तक्षेप गर्दा समाज कल्याण परिषदले मुद्दा नहालेको अध्यक्ष सिलवालले बताएका थिए । सरकारको निरिहताकै कारण मेयर बालेनको गुण्डाराज बढेको उनको भनाइ थियो । ‘समाज कल्याण परिषद्ले किन मुद्दा हालेन, यहि निरिहताको कारणले हो बालेनको गुण्डाराज बढेको’, सिलवालले पत्रकार सम्मेलनमा बताए । आफूहरु नेपालको शिक्षा राम्रो बनाउने अभियानमा लागेको तर, विद्यार्थीलाई सूचना प्रदान गर्न आयोजना गरिएको कार्यक्रम रोक्दा बालेनको नियतमाथि नै प्रश्न उठेको भन्दै अध्यक्ष सिलवालले बालेन पनि विदेशी शैक्षिक संस्थाबाट परिचालित भएको हुनसक्ने भन्दै शंका व्यक्त गरेका थिए । ‘कतै बालेन शाह पनि विदेशी शिक्षण संस्थाहरुको बहकाउमा लागेर त यो गरिराख्नुभएको छैन, उहाँको नियतमाथि पनि प्रश्न उठेको छ’, उनले भने । पत्रकार सम्मेलनमा प्याब्सनका अध्यक्ष डिके ढुंगानाले एडुफेयर कार्यक्रममा महानगरको हस्तक्षेप गलत भएको बताएका थिए ।
‘काठमाडौं महानगरले गर्दा करोडौं घाटा भयो, क्षतिपूर्ति दिनुपर्छ’
काठमाडौं । शैक्षिक संगठनहरुले काठमाडौं महानगरपालिकाले गर्दा करोडौंकोे क्षति भएको आरोप लगाएका छन् । महानगरले कुनै सूचना वा जानकारी बिनानै भइरहेको ‘आठौं कान्तिपुर हिसान एडुफेयर २०२३’ लाई रोकेको भन्दै विभिन्न ९ वटा संगठनहरुले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै उक्त आरोप लगाएका हुन् । ‘४ दिनसम्म चल्ने स्वीकृतप्राप्त उक्त मेला आयोजनमा रोक लगाउदा करौडौंको आर्थिक क्षतिको जिम्मेवारी र जवाफ काठमाडौं महानगरले लिनुपर्ने देखिन्छ । मेलामा समुपस्थित अभिभावक, विद्यार्थी तथा अन्य प्रति भएको मानसिक दवावको जवाफदेहि महानगर बन्नु पर्दछ,’ विज्ञप्तिमा भनिएको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल, (हिसान) र कान्तिपुर पब्लिकेसन्सले गत जेठ ३२ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा उक्त मेला शुरु गरेका थिए । मेलाको पहिलो दिनमै महानगरले मेला सञ्चालन हुन नदिएपछि संगठनहरु आक्रोशित भएका छन् । ‘महानगरका तर्फबाट भएको गैरन्यायीक हस्तक्षेप प्रति क्षमायाचना र आर्थिक क्षतिपूर्ति सहित निर्वाध रुपमा शैक्षिक मेला सुचारू रूपले संचालन गर्न दिन र आगामी दिनमा यस खालका कुनै पनि क्रियाकलाप नगर्न नगराउन सरोकारवाला निकायप्रति जोडदार माग गर्दछौं,’ संगठनहरुले विज्ञप्तिमार्फत भनेका छन् । महिनौदेखी सुसुचित कार्यक्रमलाई बिथोल्नु, सूचना नदिनु, संवाद नगर्नु, संलग्न निवेदनहरुको लिखित जानकारी नगराउनु, आदी सम्पुर्ण हिसावले महानगरका तर्फबाट भएको गैरन्यायीक हस्तक्षेप रहेको संघठनहरु बताउँछन् । यसमा महानगरल माफी माग्नु पर्ने उनीहरुको माग छ । साथै, महानगरले आर्थिक क्षतिपूर्ति सहित शैक्षिक मेला सञ्चालन गर्न दिनुपर्ने शैक्षिक संगठनहरुको माग छ । उक्त माग हिसान, प्याब्सन, एन प्याब्सन, स्वास्थ्य विज्ञान तथा प्रविधि मञ्च, ओपन (पोखरा विश्वविद्यालय), पुक्यान(पूर्वाञ्चल विश्वविद्यालय), एईकोन, स्वास्थ्य विज्ञान शिक्षालय संघ (एशिया) र निजी प्राविधिक शिक्षालय महासंघ नेपाल लगायतका शैक्षिक संगठनले संयुक्त रुपमा मागेका हुन् ।
ताप्लेजुङ अपडेट : एक जनाको शव भेटियो, खोजी तथा उद्धार कार्य जारी
ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका–६ मेहेलेमा गएको पहिरोमा परी बेपत्ता भएका चार जनामध्ये एक जनाको शव फेला परेको छ । पहिरोमा परी बेपत्ता भएका ३० वर्षीय गणेश तामाङको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बेपत्ता तीन जनाको खोजीकार्य भइरहेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक राजन लिम्बूले मेहेलेमा भालुखोपका एकै परिवारका तीन जना बेपता भएका जानकारी दिए । उनकाअनुसार बेपत्ता हुनेमा यादव बुढा क्षेत्रीको ६३ वर्षीया श्रीमती भगीमाया बुढा क्षेत्री, उनकी बुहारी ३० वर्षीया सन्ध्या बुढा क्षेत्री र नाति नौ वर्षीय प्रज्वल बुढा क्षेत्री रहेका छन् । उनीहरुको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरी नायब उपरीक्षक लिम्बूले जानकारी दिए । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी कुशराम कार्कीका अनुसार पहिराले मेहेलेका यादव बुढाक्षेत्री र रामबहादुर तामाङको घर बगाएको छ । ‘यादव सिरिजङ्गा गाउँपालिका–५ पेदाङस्थित दिदीको घरमा जानु भएको थियो । पहिराले घरमा रहेका उहाँका श्रीमती, बुहारी र नातिलाई बगाएको हो’, उनले भने, ‘बुबाआमालाई सुरक्षित स्थानमा सार्दै गर्दा गणेशलाई पहिरोले बगाएको थियो ।’ जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरोले सिदिङ्वा गाउँपालिका–३ आङखोप इलाबोटेस्थितमा महेश्वर सेलिङ, प्रेम सेलिङ, डिल्ली सेलिङ र नरेश सेलिङका गरी चार वटा घर बगाएर पूर्णरुपमा क्षति पुर्याएको छ । मेहेलेस्थित सदाकुटी डाँडाबाट झरेको पहिराले करिब २० घरपरिवार जोखिममा परेका छन् । रासस