विकासन्युज

दिब्यश्वरी हाईड्रोपावरको हकप्रद शेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स

काठमाडौं । दिब्यश्वरी हाइड्रोपावर कम्पनी लिमिटेडले शतप्रतिशत (कम्पनीले हाल कायम चुक्ता पुँजीको १ बराबर १ अनुपातमा) हकप्रद शेयर निष्काशन गर्नका लागि निष्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई नियुक्त गरेको छ । मेगा क्यापिटल मार्केट्स लिमिटेड र दिब्यश्वरी हाइड्रोपावर कम्पनी बिच असार १० गते एक कार्यक्रमका बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । जसमा मेगा क्यापिटलको तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत शुलभ श्रेष्ठ र बजार विभाग प्रमुख गिरिराज पोखरेलले हस्ताक्षर गरेका छन् भने कम्पनीको तर्फबाट दिव्यश्वरी हाइड्रोपावर कम्पनीका अध्यक्ष दधिराम निरौला र बुद्धकृष्ण मानन्धरले हस्ताक्षर गरेका छन् । उक्त हकप्रद शेयर विद्युत नियमन आयोगबाट सहमति लिई स्वीकृतिका लागि आगामी साधारण सभामा सिफारिस गरिने कम्पनीले जनाएको छ ।

‘आरबिबि म्युचुअल फण्ड २’ नेप्सेमा सूचीकृत, मंगलबारदेखि कारोबार हुने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक कोष प्रवर्द्धक रहेको आरबिबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दोश्रो बन्दमुखी योजना ‘आरबिबि म्युचुअल फण्ड २’ नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । उक्त फण्ड सूचीकरणको लागि नेप्से र आरबिबि मर्चेन्ट बैंकिङ्गबीच सम्झौता भएको हो । हालै जारी भई बाँडफाँड भएको ८ करोड ४६ लाख ११ हजार ९२९ इकाई अर्थात ८४ करोड ६१ लाख १९ हजा २९० रुपैयाँ बराबरको उक्त फण्ड असार ११ गते सोमबार नेप्सेमा सूचीकृत भएको हो । यससँगै उक्त फण्ड असार १२ गते मंगलबारदेखि किनबेच गर्न पाइने छ । उक्त म्युचुअल फण्डको योजना व्यवस्थापक तथा डिपोजिटरी राष्ट्रिय वाणिज्य बैंकको शतप्रतिशत लगानी रहेको सहायक कम्पनी आरबिबि मर्चेन्ट बैंकिङ्ग रहेको छ ।

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको छ । गत शनिबारदेखि महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका निर्देशक प्रा डा रत्नमणि गजुरेलले जानकारी दिए । चिकित्सक टोलीले राष्ट्रपति पौडेलको आवश्यक नियमित परीक्षण गरिरहेको निर्देशक गजुरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

‘आइएमई पे’ मा टिभी र ईन्टरनेटमा प्रोमोकोडको वर्षा

काठमाडौं । ‘आइएमई पे’ ले टिभी ईन्टरनेटमा प्रोमोकोडको वर्षा अफर सार्वजनिक गरेको छ । यो अफर असार ११ देखि असार १६ सम्म एक हप्ताका लागि चल्ने छ । यस अफर अन्तर्गत ग्राहकले आइएमई पे मार्फत टिभी तथा ईन्टरनेटको बिल भुक्त्तानी गर्दा प्रोमो कोडहरुको प्रयोग गरी १५० रुपैयाँसम्म १० प्रतिशत छुट पाउने छन् । एक हप्ताको अन्तराल भरिमा ग्राहकले सो प्रोमो कोड एक पटक मात्र प्रयोग गर्न पाउनेछन् । ‘आइएमई पे’ ले असार महिनामा मनसुनलाई लक्षित गर्दै सुरु गरेको ‘आइएमई पेमा क्यासब्याकको वर्षा’ नामक अभियानको यो निरन्तरता हो ।

पशुपति विकास कोषका पूर्व सदस्य सचिव ढकाल विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । पशुपति विकास कोषका पूर्व सदस्य सचिव डा. पदीप ढकाल विरुद्ध गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । आज विशेष अदालत काठमाडौंमा डा. ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिएका छन् । आयोगले ढकालमाथि १ करोड ४४ लाख ११ हजार रुपैंया स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर गरेको छ । ढकाल २०७४ साउन ३२ देखि २०७९ साल जेठ ३० गतेसम्म कोषको सदस्य सचिव भएको अवधिमा उनले आर्जन गरेको सम्पत्तिमाथि अनुसन्धान गरेको आयोगले जनाएको छ ।

विभागमा २ दिनदेखि धर्ना दिँदै भन्सार प्रतिनिधि

काठमाडौं । भन्सार एजेन्ट प्रतिनिधि संघ नेपालले  दुई दिनदेखि भन्सार विभागमा धर्ना दिएको छ । संशोधित भन्सार ऐन २०६४ र नियमावली ०६४ ले भन्सार प्रतिनिधिले काम गर्न गरेको व्यावस्था नै खारेज गरेको भन्दै आइतबारदेखि त्रिपुरेश्वरस्थित भन्सार विभाग अगाडि संघले धर्ना दिएको हो । भन्सार एजेन्ट प्रतिनिधि संघका प्रतिनिधिहरुले भन्सार एजेन्ट प्रतिनिधिहरुलाई राज्यले उचित व्यवस्थापन गर्नुपर्नेमा उल्टो व्यवस्था खारेज गरेको भन्दै आन्दोलन तथा धर्ना दिनुपरेको बताए । देशभर कार्यरत ३०० भन्दा बढी भन्सार प्रतिनिधिहरु जेठ १५ गतेदेखि बेरोजगार भएको भन्दै भन्सार प्रतिनिधिले काम गर्न गरेको व्यवस्था कायम गर्न माग गरेका हुन् । भन्सार एजेन्ट प्रतिनिधि संघ नेपालद्वारा आयोजित धर्नाका संयोजक खड्गबहादुर कार्कीले सरकारले आगामी आर्थिक वर्षको बजेटमा भन्सार ऐन संशोधन गर्दा ३०० जनाको रोजगारी खोसिएको बताए । ३०० जनाको रोजगारीको ग्यारेन्टी गर्नको लागि सरकारलाई दबाब दिन धर्ना बसेको बताउँदै उनले आन्दोलनमा व्यवसायी संस्थाहरु सबैको साथ सहयोग रहेको बताए । मागहरु पूरा नभएसम्म आन्दोलन जारी राख्ने उनले बताए । मेची भन्सार एजेन्टका प्रतिनिधि शंकर थापाले सरकारले बजेटमार्फत भन्सार एजेन्टका रुपमा काम गर्ने पाउने व्यवस्था षड्यन्त्रपूर्वक खारेज गरेको बताए । भन्सार प्रतिनिधिले काम गर्न गरेको व्यावस्था नै खारेज गरेर सरकारले ३०० जनालाई सडकमा ल्याएको उनको आरोप छ । त्यस्तै, धर्नामा रहेका राष्ट्रिय भन्सार एजेन्ट परिषद् नेपालका अध्यक्ष भोलानाथ अर्यालले सरकारले आर्थिक ऐनमार्फत भन्सार एजेन्टहरु हटाएर भन्सार प्रतिनिधिहरुको रोजगारीमाथि लात हानेको बताए । २५ देखि ३० वर्षदेखि भन्सार एजेन्ट बनेर सरकारको राजश्व संकलनमा महत्वपूर्ण योगदान दिएको उनले बताए । भन्सार प्रतिनिधिले पटकपटक भन्सार विभाग, अर्थ मन्त्रालयलाई ध्यानाकर्षण, ज्ञापनपत्र बुझाउँदा पनि केही सुनुवाइ नगर्दा बाध्य भएर आन्दोलनमा जानुपरेको बताए । राज्यको यस्तो नीतिले गर्दा विगत २३ दिनदेखि नै भन्सार प्रतिनिधिहरुले कामकाज गर्नबाट वञ्चित भएको बताए ।

श्रीलंकाको वित्तीय बजार ५ दिनसम्म बन्द

काठमाडौं । श्रीलंकाको सरकारले ५१ अर्ब अमेरिकी डलरभन्दा बढीको आन्तरिक ऋणको पुनर्संरचना गर्ने विवादास्पद कदम चाल्नुअघि श्रीलंकाका अधिकारीहरूले बिहीबारदेखि पाँच दिनका लागि वित्तीय बजार बन्द गर्ने घोषणा गरेका छन् । श्रीलंकाले गत वर्षको अप्रिलमा आर्थिक संकट घोषणा गर्दै आफ्नो विदेशी ऋणको लागि सम्झौता गरेको कानुनी दायित्व पुरा गर्न नसकेपछि मार्चमा सहमति भएको आईएमएफको ‘बेलआउट प्याकेज’को अनुरूप पुनर्संरचनाले सरकारी ऋणपत्रलाई असर गरेको छ । एक संसदीय अधिकारीका अनुसार ऋण पुनर्संरचना योजनालाई अनुमोदन गर्न यसै हप्ताको अन्त्यमा विधायिकाको विशेष अधिवेशन बोलाउने विषयमा छलफल गर्न सांसदहरूको मङ्गलबार बैठक बस्ने अपेक्षा गरिएको छ । केन्द्रीय बैंकका गभर्नर नन्दलाल वीरासिंघेका अनुसार अधिकारीहरूले बिहीबार र सोमबार पर्न गएको पर्व बिदाको अतिरिक्त शुक्रबार बिदा दिन आदेश दिएका छन् । उनले स्थानीय टेलिभिजन नेटवर्कसँग भने,’ऋण पुनर्संरचनाको बारेमा संसदमा छलफल भइरहेको बेला बजार खुला रहनु अस्वस्थकर हुनेछ ।’ उनले भने, ‘संवेदनशील ऋण पुनर्संरचनाको बारेमा छलफल हुँदा बजारले काम गर्नु हुँदैन । हामी आशा गर्छौं कि यो पाँच दिनभित्र पुनर्संरचना प्रक्रिया पूरा हुनेछ । यो निर्णयले व्यक्तिको निक्षेपमा कुनै असर पर्ने छैन, तर वाणिज्य बैंक र पेन्सन फण्डको ट्रेजरी बिल र ऋणपत्रको पुनर्संरचना गर्ने सरकारको योजना छ ।’ चार वर्षे २.९ अर्ब अमेरिकी डलरको आईएमएफ उद्धार प्याकेजलाई निरन्तरता दिन सरकारले आफ्ना विदेशी ऋणदाताहरूसँग बाह्य ऋणको पुनर्संरचनाका लागि वार्ता गरिरहेको छ । सरकारले गत अगष्टसम्ममा वैदेशिक ऋण पुनर्संरचनाको अपेक्षा गरेको थियो, तर देशको मुख्य द्विपक्षीय ऋणदाता चीनले सुरुमा कटौती गर्न अनिच्छुक भएको र यसको सट्टा पुरानो ऋण तिर्न थप कर्जा प्रस्ताव गरेको थियो । कुल वैदेशिक ऋणको १४ अर्ब डलरभन्दा बढी विदेशी सरकारहरूको द्विपक्षीय ऋण छ भने यसको ५२ प्रतिशत चीनलाई तिर्नुपर्छ । आईएमएफको शर्तअनुसार सरकारले आफ्नो खातालाई सन्तुलित बनाउन र टापु राष्ट्रको सबैभन्दा खराब आर्थिक संकटबाट बाहिर निस्कनका लागि आफ्नो आन्तरिक र विदेशी ऋण सेवालाई आधाभन्दा बढी घटाउनुपर्छ । गत वर्षको शुरुमा अत्यावश्यक वस्तुको आयातका लागि समेत भुक्तानी गर्न विदेशी मुद्राको अभाव भएको थियो जसका कारण खाद्यान्न, इन्धन र औषधिको नसोचिएको (अकल्पनीय) अभाव भएको थियो । अर्थव्यवस्थाको कुव्यवस्थापनको विरोधमा महिनौंसम्म चलेको विरोधप्रदर्शनका कारण जुलाईमा तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षलाई अपदस्थ गरिएको थियो । राजापाक्षका उत्तराधिकारी, छ पटक प्रधानमन्त्री बनेका रनिल विक्रमासिङ्घेले अर्थतन्त्रलाई स्थिर बनाउन प्रदर्शनमाथि कडा कदम चालेका छन्, मूल्य वृद्धि गरेका छन्, अनुदान खारेज गरेका छन् र कर दोब्बर पारेका छन्। यसै महिनाको सुरुमा आईएमएफले श्रीलंकाको अर्थतन्त्रमा ‘सुधारका अस्थायी सङ्केतहरू’ देखापरेको तर सुधार चुनौतीपूर्ण रहेको र कोलम्बोले पीडादायी सुधारहरू अघि बढाउनुपर्ने बताएको थियो । रासस

सानिमा रिलायन्समा शत प्रतिशत विलम्ब शुल्क छुटमा बीमालेख नवीकरण गर्न पाइने

काठमाडौं । सानिमा रिलायन्स लाईफ ईन्स्योरेन्सले नवीकरण नभएका बीमालेखका लागि शत प्रतिशत विलम्ब शुल्क छुट सहितकोे पुनर्जागरण अभियान शुरु गरेको छ । उक्त पुनर्जागरण अभियान असार ११ गते देखि २८ गते सम्म लागू हुने छ । पुनर्जागरण अभियान अन्तर्गत बिमालेख अवधिभित्र एक पटक मात्र ब्याज छुटको सुबिधा प्रदान गरिने कम्पनीले जनाएको छ । कुनैपनि बीमालेख ब्यतित रहँदा बिमितले रक्षावरण गुमाउनुका साथै विलम्ब शुल्क पनि ब्यहोर्न पर्ने हुनाले सो सुनौलो मौकाको फाईदा लिई बिमालेख नवीकरण गर्न कम्पनीले सबैमा अनुरोध गरेको छ ।