काठमाडौं । भन्सार एजेन्ट प्रतिनिधि संघ नेपालले दुई दिनदेखि भन्सार विभागमा धर्ना दिएको छ । संशोधित भन्सार ऐन २०६४ र नियमावली ०६४ ले भन्सार प्रतिनिधिले काम गर्न गरेको व्यावस्था नै खारेज गरेको भन्दै आइतबारदेखि त्रिपुरेश्वरस्थित भन्सार विभाग अगाडि संघले धर्ना दिएको हो ।
भन्सार एजेन्ट प्रतिनिधि संघका प्रतिनिधिहरुले भन्सार एजेन्ट प्रतिनिधिहरुलाई राज्यले उचित व्यवस्थापन गर्नुपर्नेमा उल्टो व्यवस्था खारेज गरेको भन्दै आन्दोलन तथा धर्ना दिनुपरेको बताए । देशभर कार्यरत ३०० भन्दा बढी भन्सार प्रतिनिधिहरु जेठ १५ गतेदेखि बेरोजगार भएको भन्दै भन्सार प्रतिनिधिले काम गर्न गरेको व्यवस्था कायम गर्न माग गरेका हुन् ।
भन्सार एजेन्ट प्रतिनिधि संघ नेपालद्वारा आयोजित धर्नाका संयोजक खड्गबहादुर कार्कीले सरकारले आगामी आर्थिक वर्षको बजेटमा भन्सार ऐन संशोधन गर्दा ३०० जनाको रोजगारी खोसिएको बताए । ३०० जनाको रोजगारीको ग्यारेन्टी गर्नको लागि सरकारलाई दबाब दिन धर्ना बसेको बताउँदै उनले आन्दोलनमा व्यवसायी संस्थाहरु सबैको साथ सहयोग रहेको बताए । मागहरु पूरा नभएसम्म आन्दोलन जारी राख्ने उनले बताए ।
मेची भन्सार एजेन्टका प्रतिनिधि शंकर थापाले सरकारले बजेटमार्फत भन्सार एजेन्टका रुपमा काम गर्ने पाउने व्यवस्था षड्यन्त्रपूर्वक खारेज गरेको बताए । भन्सार प्रतिनिधिले काम गर्न गरेको व्यावस्था नै खारेज गरेर सरकारले ३०० जनालाई सडकमा ल्याएको उनको आरोप छ ।
त्यस्तै, धर्नामा रहेका राष्ट्रिय भन्सार एजेन्ट परिषद् नेपालका अध्यक्ष भोलानाथ अर्यालले सरकारले आर्थिक ऐनमार्फत भन्सार एजेन्टहरु हटाएर भन्सार प्रतिनिधिहरुको रोजगारीमाथि लात हानेको बताए । २५ देखि ३० वर्षदेखि भन्सार एजेन्ट बनेर सरकारको राजश्व संकलनमा महत्वपूर्ण योगदान दिएको उनले बताए ।
भन्सार प्रतिनिधिले पटकपटक भन्सार विभाग, अर्थ मन्त्रालयलाई ध्यानाकर्षण, ज्ञापनपत्र बुझाउँदा पनि केही सुनुवाइ नगर्दा बाध्य भएर आन्दोलनमा जानुपरेको बताए । राज्यको यस्तो नीतिले गर्दा विगत २३ दिनदेखि नै भन्सार प्रतिनिधिहरुले कामकाज गर्नबाट वञ्चित भएको बताए ।