विकासन्युज

डिशहोममा १ वर्षको रिचार्ज गर्दा २ वर्ष टिभी हेर्न पाइने

काठमाडौं । १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाईने भएको छ । ग्राहकहरुको विशेष आग्रहमा कम्पनीले फेरी यो योजना संचालनमा ल्याएको छ । यो योजना अन्तर्गत डिशहोम डिटिएचका ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर वा अनलाइन रिचार्ज सेवा आईएमई पे, खल्ती मार्फत बार्षिक रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने छन् । यो योजना नेपालभर सीमित अवधिको लागी लागू हुनेछ । विगत १४ वर्ष देखि डिश मिडिया नेटवर्क लिमिटेड पे टिभी इन्डस्ट्रीमा आफ्नो वेग्लै पहिचान बनाउन सफल रहेको छ । डिशहोमले ग्राहकहरुलाई उत्कृष्ट विभिन्न च्यानलहरु संगै गुणस्तरीय सेवा उपलव्ध गराउँदै आएको छ जस अनुसार डिशहोमले ग्राहकहरुलाई विभिन्न योजना मार्फत विभिन्न समयमा छुट तथा विविध अफरहरु प्रदान गर्दै आएको छ ।

बजेटमा असन्तुलन हुन गएको छ, यो सम्मानित सदनमा म क्षमाप्रार्थी छु : मन्त्री किराँती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले आर्थिक वर्ष २०८०/८१ को बजेट असन्तुलित भएको बताएका छन् । सोमवार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री किराँतीले आर्थिक वर्ष २०८०/८१ को बजेट असन्तुलित हुन गएको बताएका हुन् । उनले बजेट असन्तुलित भएकोमा माफी समेत मागेका छन् । उनले बजेटको सिलिङ कम भएका कारण सांसदहरुले दिएका धेरै योजनाहरु समेट्न नसकेको बताए । उनले सांसदहरुलाई खुशी बनाउन नसकेको भन्दै मन्त्रीले बाटो छलेर हिँड्नुपर्ने स्थिति रहेको बताए । मन्त्री किराँतीले सकभर देशभर सञ्चालन हुनेगरी बढीभन्दा बढी साना–साना बजेटका कार्यक्रमहरु समावेश गरिएको बताए । त्यस्तै प्रादेशिक सन्तुलनलाई ध्यान दिँदै प्रत्येक प्रदेशका महत्वपूर्ण सांस्कृतिक, धार्मिक एवं पर्यटन क्षेत्रलाई लक्षित गरी पर्यटन पुर्वाधार विकास गर्ने गरी बजेट व्यवस्था गरिएको उनले भने । ‘सदाझैँ यसपालि मन्त्रालयको सिलिङ बजेटको व्यवस्था भएन, हाम्रो मन्त्रालयमा जिरो थियो सिलिङ बजेट, पुरातत्व विभाग र पर्यटन विभागमाथि हामी भर पर्नु पर्यो, धरै योजनाहरु अटाउनै सकिएन, सबैको चित्त प्रशन्न बनाउनै सकिएन, बाटो छोडेर, छलेर हिँड्नुपर्ने स्थिति छ मन्त्रीको, स्वभाविक रुपमा बजेट असन्तुलन हुन गएको छ, त्यसको निम्ति यो सम्मानित सदनमा म क्षमाप्रार्थी छु’, उनले भने । उनले पशुपतिमा रहेको जलहरीको विषयमा अख्तियारले छानविन गरिएको छ बताए । उनले विमानस्थल थप्ने भन्दा पनि विमानस्थलको गुणस्तरमा ध्यान दिनुपर्ने बताए । उनले नेपाल वायुसेवा निगममा कर्मचारी थप्न कुनै दबाब नदिएको स्पष्ट पारे ।

लघुवित्त बैंकर्स संघद्वारा शान्ति सुरक्षाको माग राख्दै सिडियोमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं । नेपाल लघुवित्त बैंकर्स संघले शान्ति सुरक्षाको माग राख्दै प्रमुख जिल्ला अधिकारी मार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । नेपाल लघुवित्त बैंकर्स संघका पदाधिकारीहरुले काठमाण्डौका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायलाई ज्ञापन पत्र बुझाएका हुन् । पछिल्लो केही समयदेखि लघुवित्त वित्तीय संस्थाहरुको बिरुद्धमा केही ब्यक्ति तथा समूहले लघुवित्त बिरुद्धको संर्घष समिति नामको अवैधानिक समूहमार्फत संस्थाहरुकोे कार्यालयमा ताल्चा लगाउने, कर्मचारीहरु माथि हातपात गर्ने, लघुवित्त कार्यक्रम बन्द गर्न लगाउने र विभिन्न धम्की दिएर कर्मचारीहरुको मनोबल गिराउने जस्ता अराजक गतिविधि भैरहेको जानकारी गराउँदै संघले देशका ७७ वटै जिल्लामा कर्मचारीहरुमार्फत ज्ञापन पत्र बुझाएका छन् । संघका पदाधिकारीले देशभर पछिल्लो समय घटेको घटनाले आम लघुवित्तकर्मी तथा नागरिकहरुमा त्रासको वातावरण सृजना भएको र त्यस्ता अराजक गतिविधिले देशको अर्थतन्त्रलाई नकारात्मक प्रभाव पारिरहेकोले विभिन्न समूहका कार्यक्रमलाई बन्द गराई लघुवित्तकर्मीहरुलाई तत्काल शान्ति सुरक्षा कायम गर्न माग गर्दै सबै जिल्लाका जिल्ला प्रशासन कार्यालयबाट नै ज्ञापन पत्र बुझाइएको हो । काठमाडांैका प्रमुख जिल्ला अधिकारी उपाध्यायले यस घटनाप्रति ध्यानाकर्षण भएको र लघुवित्तको क्षेत्रमा जानकार रहेकोले त्यसको समस्याको समाधानको लागि आफू प्रतिबद्ध रहेको लघुवित्त संघका पदाधिकारीहरुलाई आश्वासन दिएका छन् ।

जिल्ला अदालतका न्यायाधीश भट्टराईद्वारा पदबाट राजीनामा

काठमाडौं । अर्घखाँची जिल्ला अदालतका न्यायाधीश डा. श्रीकृष्ण भट्टराईले पदबाट राजीनामा दिएका छन् । आफैँले कानूनी र नैतिकरुपमा प्रश्न उठाएको व्यक्ति प्रधानन्यायाधीश भएको भन्दै उनले प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको मातहतमा बस्न असहज हुने भन्दै सोमबार राजीनामा दिएका हुन् । न्यायाधीश नियुक्तिको प्रक्रियाप्रति असन्तुष्टि व्यक्त गर्दै उनले राजनीतिक पार्टीका मानिसहरु न्याय परिषद्मा नियुक्ति हुने गरेको आरोप लगाए । न्यायपरिषद्ले न्यायाधीशमा राजनीतिक मानिसहरु अपारदर्शी ढंगबाट भर्ती गरिदिएपछि न्यायाधीशहरुको भविष्य नै अन्धकार भएको उनले बताए । राजनीतिक मानिसहरु पदमा आएर राजनीतिक आस्थाको लागि न्याय क्षेत्रमा काम गर्ने स्थिति देखिएको भन्दै उनले आपत्ति जनाए । प्रधानन्यायाधीश कार्की प्रधानन्यायाधीश हुनुपूर्व नै संसदीय समितिमा आफूले उजुरी हाले पनि संसदीय सुनुवाई समितिले विवेक प्रयोग गर्न नसकेको उनले बताए । संसदीय सुनुवाई समिति नै अवैध रहेको भन्दै उनले सुनुवाई समिति निष्पक्ष भएको खण्डमा कार्की प्रधानन्यायाधीश हुन नसक्ने स्थिति रहेको बताए । (सच्चाईएको)

अष्ट्रेलियाको सङ्ग्रहालयबाट नेपाली पूरातात्विक महत्वका कलाकृति फिर्ता ल्याइदै

काठमाडौं । अष्ट्रेलियाको ‘नेशनल ग्यालरी’ सङ्ग्रहालयमा रहेका नेपाली पूरातात्विक महत्वका चार थान काठका कलाकृति नेपाल फिर्ता ल्याइने भएकोछ । नेपाली कलाकारले २०औँ शताब्दीभन्दा अगाडि बनाएका काठका कलाकृति  विभिन्न माध्यमबाट क्यानबेरास्थित नेशनल ग्यालरी अफ अष्ट्रेलिया पुगेका थिए ।  नेशनल ग्यालरीले नै कलाकृति नेपाली दुतावासलाई हस्तान्तरण गरेको थियो । यसरी हस्तान्तरण गरिएका चार थान काठका कलाकृति सांग्रीला इन्टरनेशनल फ्रेट प्रालिले नेपाल ल्याउन लागेको हो । कूल २२ सेन्टिमिटर उचाइ  ४३ दशमलव छ  सेन्टिमिटर चौडाइ र ११ सेन्टिमिटर गहिराइको सानो आयताकार प्यानल एउटा र तीन वटा विभिन्न साइजका ‘आर्क’ शैलीका प्यानल छन् । पुरातात्विक महत्वका कलाकृतिलाई जम्मा तौल २६ केजी रहेको सांग्रिला कार्गोका कार्यकारी निर्देशक सौगात सिंहले जानकारी दिए । नेपाल ल्याएपछि ती पूरातात्विक महत्वका कलाकृतिहरु पुरातत्व विभागमा राखिनेछ । रासस

दिब्यश्वरी हाईड्रोपावरको हकप्रद शेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स

काठमाडौं । दिब्यश्वरी हाइड्रोपावर कम्पनी लिमिटेडले शतप्रतिशत (कम्पनीले हाल कायम चुक्ता पुँजीको १ बराबर १ अनुपातमा) हकप्रद शेयर निष्काशन गर्नका लागि निष्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई नियुक्त गरेको छ । मेगा क्यापिटल मार्केट्स लिमिटेड र दिब्यश्वरी हाइड्रोपावर कम्पनी बिच असार १० गते एक कार्यक्रमका बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । जसमा मेगा क्यापिटलको तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत शुलभ श्रेष्ठ र बजार विभाग प्रमुख गिरिराज पोखरेलले हस्ताक्षर गरेका छन् भने कम्पनीको तर्फबाट दिव्यश्वरी हाइड्रोपावर कम्पनीका अध्यक्ष दधिराम निरौला र बुद्धकृष्ण मानन्धरले हस्ताक्षर गरेका छन् । उक्त हकप्रद शेयर विद्युत नियमन आयोगबाट सहमति लिई स्वीकृतिका लागि आगामी साधारण सभामा सिफारिस गरिने कम्पनीले जनाएको छ ।

‘आरबिबि म्युचुअल फण्ड २’ नेप्सेमा सूचीकृत, मंगलबारदेखि कारोबार हुने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक कोष प्रवर्द्धक रहेको आरबिबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दोश्रो बन्दमुखी योजना ‘आरबिबि म्युचुअल फण्ड २’ नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । उक्त फण्ड सूचीकरणको लागि नेप्से र आरबिबि मर्चेन्ट बैंकिङ्गबीच सम्झौता भएको हो । हालै जारी भई बाँडफाँड भएको ८ करोड ४६ लाख ११ हजार ९२९ इकाई अर्थात ८४ करोड ६१ लाख १९ हजा २९० रुपैयाँ बराबरको उक्त फण्ड असार ११ गते सोमबार नेप्सेमा सूचीकृत भएको हो । यससँगै उक्त फण्ड असार १२ गते मंगलबारदेखि किनबेच गर्न पाइने छ । उक्त म्युचुअल फण्डको योजना व्यवस्थापक तथा डिपोजिटरी राष्ट्रिय वाणिज्य बैंकको शतप्रतिशत लगानी रहेको सहायक कम्पनी आरबिबि मर्चेन्ट बैंकिङ्ग रहेको छ ।

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको छ । गत शनिबारदेखि महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका निर्देशक प्रा डा रत्नमणि गजुरेलले जानकारी दिए । चिकित्सक टोलीले राष्ट्रपति पौडेलको आवश्यक नियमित परीक्षण गरिरहेको निर्देशक गजुरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।